बढि भावुक कुनै कुनै समय म भई दिन्छु । असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ । अझ दिनभरी काम नहुँदा र बात मार्ने साथी नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म आफैलाई समेत थाहा हुँदैन ।
यस्तै कल्पनामा उड्दै म चिसो हावाको खोजमा बाहिर निस्कन्छु । दोछायामा परेका बाङ्गा टिङ्गा लहराजस्ता छायाहरुले मलाई बिषालु साँपको भ्रममा पार्दछ ।साँपले मलाई डस्छ, मेरो मृत्यु निश्चित छ, म केवल एक घण्टा बाच्छु । म झस्किन्छु, म यो एक घण्टाको जीवनमा के गर्छु ? अहा मलाई यो जीवनको मोह उब्जिन्छ , कति अमुल्यवान यो प्राण छ— अफशोच लाग्छ ।तर कस्तो खराब बिचार यो मगजमा आउने गर्छ , मलाई साँपले डसेकै छैन । म सतर्क हुँदै आफ्नो मनको भ्रम निवारण गर्दै आफैलाई सम्झाउछु तर शङ्का उब्जिन्छ ।
केहि दिन अगाडी माछाको तरकारी खाँदा 'माछाको काडा घाटीमा अडकिएर ठुला ठुला धेरै मानिसहरु मरेका छन्' भन्ने सम्झदै खाईरहेको थिए । मेरो पनि घाटीमा काडा अडकिन्छ, गाडिन्छ कि म निकाल्ने सक्तिनँ 'भन्ने सम्झदै बढि सतर्क भएर माछाको एक टुक्रा छपाई रहेको थिए, बेसुधमा निलेछु एउटा काडा साँच्चै गाडिएको महसुस गरें । घाटीमा होइन जिब्रोको जरामा जसलाई मैले निकै निकाल्ने प्रयत्न गरें , हरेस खाएर डाक्टरकहाँ पुगेपछी मात्रै छुटकारा पाए । कस्तो साक्षात सोचाई, त्यस्तै आजको खराब सोचाई पनि साक्षात भयो भने ....
केवल एक घण्टा !
मात्र एक घण्टाको मेरो जीवन ।मेरा असख्य दायित्वहरु; एक घन्टाभित्र म के गर्छु ?
मेरा प्रियजनहरुको चेहरा मेरो आँखामा झुल्किन्छ ।मेरो प्रिय पत्नी, एक वर्ष नपुगेको छोरो, भर्खर स्कूल जान लागेकी छोरी । बैंशले छाडेका मातापिता , भाईबहिनी सब ममाथि आश्रित छन् ।आयु सिध्दिएको मृत्युको मुखमा भएको म उनीहरुलाई कस्तो शन्देस दिन्छु होला ।
पत्नीलाई— मेरो अभावमा तिम्रो सुखमा बाधा नपरोस ।तिमी विवाह अघि झैं स्वतन्त्र छौ, तर छोराछोरीलाई राम्रो लालन पालन गर्ने तिम्रो अभिभारा ।
मातापितालाई— दु:ख नमान्नु नातिनातिनीको चेहरामा मेरो अपूर्णताहरु पूर्ण भएको हेरर सन्तोष गर्नु । भाईबहिनीलाई— सधैं उन्नति र श्रम गरेर जीवनको उज्यालोले धरतीलाई आलोकित पार्नु ।
छोराछोरीलाई— आमालाई नसताउनु । मेरो अधुरो कामहरु पुरा गर्नु । मेरो हार्दिक कामना र आशिर्वाद ।
साच्चै म यस्तै कामनाहरु व्यक्त गर्छु होला त ।विवादास्पद कामनाहरु , म आफै शङ्का गर्छु । म त्यति महान भएर त्यस प्रकारको कामना सायद गर्न सक्तिन । यदि गरिहालें भने पनि बाँच्नेहरुले मेरो
शन्देसको पालना गर्न सक्ने छैनन् र त्यसभन्दा बेग्लै प्रकारको इच्छा पनि सायद म व्यक्त गर्न सक्तिनँ ।मेरो पत्नीलाई मैले स्वतन्त्रता दिएँ , सुख ब्रिध्दिको कामना साथै छोराछोरीको लालनपालनको अभिभारा सुम्पे तर्कसङ्गत छैन , व्यवहारमा साकार हुन् सक्तैन । त्यस्तै अरूप्रतिको मेरो इच्छा पनि ।
जसलाई पहिले आफ्नो मृत्युको निश्चितता थाहा भएको हुन्छ, उनीहरुले पनि यस्तै इच्छा व्यक्त गर्छन त । अँ ह मलाई थाहा छैन । बेग्लाबेग्लै इच्छा बेग्लाबेग्लै मानिसहरुले व्यक्त गरेका छन् जुन इच्छाहरुले वास्तवमा उनीहरुको जीवनको इच्छाको पूर्णताको झलक दिन सक्तैन । इच्छा, संदेश ,कामना सधैं अधुरो हुन्छ जसमा गर्नेको आदर्श पूर्णतया प्रतिविम्वित हुन सक्तैन । आदर्श प्राप्ति त बाँचेर निरन्तर सङ्घर्ष गर्दा केहि अंश अंशमा प्राप्त हुने वस्तु हो । साँच्चै म पनि एकै घण्टा बाच्ने भए भने ...
बाँच्ने अभिलाषा , जीवनप्रति मोह , स्नेह, विरक्ति , खिन्नताको भावहरुले भरिएको मेरो चेहरालाई हेरेर मेरा प्रियजनहरुको आँखामा आँसु ढळपळ भएको देख्दा म यी सन्देशहरु सायद भन्न सक्तिन होला ।अनि मलाई जीवनप्रति अगाध, असिम, अतुलनीय मोह उब्जेर एउटै मात्र चित्कार गर्न पुग्छु होला — मलाई बचाउ, म बाँच्न चाहन्छु ।
सायद म बाच्दिन भन्ने थाहा भएर पनि बाच्दिन वा बाँच्छु कि भन्ने आफ्नै विषयमा सोच्दा र बाँच्ने प्रयत्न गर्दागर्दै सायद अरु कसैको बारेमा सोच्ने पो सक्दिन कि ?आफ्नै बारेमा मात्र सोच्दासोच्दै मेरो प्राण पखेरु उडी हाल्छ कि ?....
म अझै कति वर्ष बाँच्छु , छि कस्तो दु:खदायी खराब सोचाई ।