आज रुबीको मनको खरानीले आगो ओकलेको दिन ।
रुबी महारानीको धन्दा खुसीले बन्द भएको छ । अब रुबी महारानीको अर्को नयाँ जीवन सुरु हुँदै छ भोलिदेखि ।
तातो खरानीलाई जिउँदो राखी लामो समयपछि आगो निक्लेकाले रुबी महारानीको मन हलुको भएको छ— आफ्नो उद्देश्य पूरा भएकोमा ।
मनभित्रको ज्वालामुखी जीवनको उत्तरार्द्धमा मत्थर पारेर उनी अब नयाँ, बिलकुल नयाँ बाटो हिँड्ने तयारीमा छिन् ।
आफ्ना सहकर्मी, साथी, परिवार जे भने पनि सबैसितको अन्तिम बिदाइको दिन हो रुबी महारानीको आज ।
आडम्बरी समाजको आँखामा पर्दा हाल्न ‘रिमा’ बाट ‘रुबी’ बनेकी रुबी महारानीले आफ्ना सबै ग्राहकदेखि ऊसित सम्पर्कमा बसेर गुजारा गर्नेहरूलाई ‘धन्दा बन्द’ को खबर गरिसकेकी छिन् ।
अर्थात् आजदेखि ‘रुबी महारानी’ फेरि ‘रिमा’ भएर आफ्नै संसारमा फर्कने क्रमको पूर्ण तयारी भएको छ ।
यो भव्य महलको चहलपहल बन्द हुनेछ अबदेखि । त्यसैले निस्फिक्री आजको साँझ रिमाको साँझ भएको छ । रिमाले आफूले आफैलाई एउटा नारकीय नाटकबाट मुक्त गरेकी छिन् ।
सबैलाई बहिनी, साथीको व्यवहार गर्ने रिमालाई नगरका वर हुन् कि वधू, जसले पनि रुबी महारानी भनेर चिन्थे र त्यसै गरी सम्बोधन गर्थे ।
धेरै मन्त्री, सांसद, प्रशासक, उच्च व्यापारीसित मात्र सम्पर्क सूत्र बनाएर अकुत सम्पत्ति कमाएकी रुबीको भव्य महल देख्दा उनी साँच्चिकै खानदानी महारानी भएको भान हुन्थ्यो । त्यही ठूलो कम्पाउन्डले घेरिएको भव्य महलले मन्त्री, सांसद र कथित उच्च घरानियाको अनैतिकतालाई छोपिराखेको थियो ।
‘निर्धक्क आउँथे, पिचासत्व शान्त पार्थे र जान्थे ।’ रुबीले खुइय गर्दै भनिन्, ‘ल है साथीहो, यो अन्तिम दिनको अन्तिम पेग... चियर्स !... चियर्स...चियर्स...’
बिदा हुने भै गयो बेला
फेरि भेट होला कि नहोला
... ... ...
कर्णप्रिय गीतसँगै नाचे मान्छेहरू टिलपिलटिलपिल आँखा पार्दै । एकअर्कालाई अँगालोमा बाँधे र शुभकामना बाँड्दै रसिला आँखा लिएर बिदा भए ।
रुबी झ्यालमा बसेर सबैलाई हात हल्लाउँदै बिदा गरेर टाढाटाढा क्षितिजमा आँखा घुमाउन थालिन् ।
जति बिर्सन खोजे पनि अन्धकारमा हराएको त्यो चीत्कार ! ...त्यो छटपटी... त्यो रात... सम्झेर रिमा उर्फ रुबीका आँखा अझै बर्सिन्छन् ।
रिमाको सपना टुटेको त्यो रात...; जीवन लथालिङ्ग, मन धुजाधुजा भएको त्यो रात ! एउटा सुमधुर खुसी बोकेर हिँडेको जीवनका सबै सपना चकनाचूर भएको त्यो रात... उफ् !
रोक्दारोक्दै फेरि आँसु झर्न थाल्छन् रुबीका आँखाबाट । नगरवधूकी मुखिया ‘रुबी महारानी’ आजैबाट स्वेच्छाले जीवन परिवर्तन गरी समाजसेवा गर्ने विचारले विस्थापित भएकी छिन् । मनभित्र बल्झेर रहेको एउटा घाउमा वर्षौंपछि मलहमपट्टी लगाउँदै रुबी अब फेरि रिमा भएर बाँच्ने रहरले भोलिदेखि यो सहरको कोलाहलबाट टाढा जाँदै छिन्, जहाँ पवित्र हावा र निस्कपट मायाको आफ्नै दुनियाँ छ ।
एउटा सम्पन्न परिवारमा हुर्किएकी रिमाले प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरिन् । कुशल डाक्टर बनेर समाजको सपना साकार पार्ने रहरले आफ्नो प्राणभन्दा प्यारो प्रेमीसाथ सहर आएकी रिमा काठमाडौँ आएको पहिलो रात नै सुरक्षाको खोल ओढेका नरपिचासहरूको यौनावेगको सिकार भएकी थिइन् ।
शान्ति सुरक्षाको बहानामा मध्य रातमा होटेलका कोठाकोठा बलजफती खोल्दै हिँडेका ‘प्रहरी’ नामका भोका राक्षसहरूले रिमाको प्रेमीलाई पक्रेर चौकीमा मात्र लगेनन्; रिमालाई वेश्या भन्दै रातभर बलात्कार गरे ।
भोलिपल्ट बिहान जब रिमालाई चौकीमा लगियो, उनी बेहोस थिइन् । आजीवन सहयोगी भएर बस्ने आकाङ्क्षा लिएको उनको प्रेमीले रिमाको सुरक्षा गर्न नसकेपछि प्रहरीले कागज गराएर छोडेको घण्टा बित्न नपाउँदै त्यसै होटलको कोठामा गएर आत्महत्या गरेको थियो ।
रिमालाई वेश्या भनेर उसको शारीरिक शोषण मात्र गरेनन्, जबरजस्ती थुनेर फोटो खिचे अनि पत्रकारहरूलाई बाँडेर आफ्नो आपराधिक पुरुषार्थ बचाउने प्रयास गरे ।
रिमाको कुरा प्रहरीले सुनेन । रिमाको अस्मितालाई धुजाधुजा पारेर आफ्नो कालो कर्तुत छोप्यो ।
रिमालाई वेश्याको पगरी गुताएर हप्तामा एक पटक हाजिर हुन आउने सर्तको कागजमा सही गराई सात दिनपछि मुक्त त गरे तर मृत्युको दोसाँधमा ।
उफ् ! रिमाका लागि सम्झिँदै कहालीलाग्ने त्यो अँध्यारो रात ।
...रिमा बेसहारा भई आँसुमा डुबी छटपटाइरहिन् । रक्तपिपासु प्रहरी धम्की र त्रास देखाउँदै राक्षसी हाँसो हाँस्थे— एउटा अनैतिक सिकार गर्न >पाएकोमा ।
उनको अगाडि बाटो भत्किएको थियो । जीवनको सहारा रोजेको उनको प्रेमी पनि अब रहेन यो संसारमा । वियोगको पीडा अनि आफैले भोगेको नृसंस घटनाबाट आफन्तहरूका अगाडि मुख देखाउन डर लाग्यो रिमालाई । त्यसैले उनले घर नफर्कने बरु काठमाडौँलाई नै सङ्घर्षस्थल बनाएर बस्ने अठोट गरिन् एउटा उद्देश्य मनभित्रै पालेर ।
एक हिसाबले मानसिक विक्षिप्त रिमा मर्ने उपाय खोजिरहेकी थिइन् ।
थुनामै भेटिएकी अर्की पीडित ज्योत्स्नासितको परिचय र उनको त्यस्तै दुर्दान्त भोगाइको प्रभावले बिस्तारै रिमाको मनको ज्वाला घट्दै गयो ।
डाक्टर बन्ने आकाङ्क्षा बलात्कार र प्रेमीको वियोगान्तले चकनाचूर पारिएकी रिमा ज्योत्स्नासितको बसाइले नगरवधू बनिन् ।
उनको नाम अब रुबी भयो । मनमा एउटा भयङ्कर विद्रोही सङ्कल्प बोकेकी रिमा काठमाडौँकी कुलीन नगरवधूमा सक्रिय भइन् ।
सुन्दरता र चलाखीपूर्ण व्यवहारले छोटो समयमै गतिलो पहुँच र स्तरीय वातावरण बनाउन सफल रिमा ‘रुबी महारानी’ को नामले सहरमा स्थापित भइन् । अकल्पनीय पीडालाई सहजीकरण गर्दै रिमा अगाडि बढिरहिन् ।
उनको पहुँच उच्च तहका प्रहरी, प्रशासक, नेता, मन्त्रीदेखि समाजसेवाको आवरणमा देशमा विकृतिको खेती गर्ने
एन.जी.ओ/आई.एन.जी.ओ. का हाकिमहरूसित पुगिसकेको छ ।
छोटो समयमै रिमा र ज्योत्स्नाको जोडीले भरपुर सम्पत्ति आर्जन ग्रयो । उनीहरूले एउटा भव्य महलको छतमा ‘महिला विकास र समाज सेवा’ नामको बोर्ड झुन्ड्याएर त्यहाँ आउनेहरूको कालो अनुहारलाई सेतो बनाइदिएका थिए ।
नारी अस्मिता किन–बेच मात्र होइन, रुबी महारानीको महलभित्र जुवाको खाल पनि निरन्तर चलिरहन्थ्यो ।
रुबी महारानी सबैबाट सुरक्षित छिन् । जो कारबाही गर्ने अधिकारी हुन्छ, ऊ पहिले नै उनका अगाडि नाङ्गिइसक्छ ।
मन्त्री हुन् कि सांसद, शासक हुन् कि प्रशासक, सेना होस् वा प्रहरीका हाकिम; कहिलेकाहीँ नगरवधूकै स्तरमा आमाचकारी गाली गर्छिन् तर अहँ, उनीहरूमा नकचरो हाँसोबाहेक केही भेटिन्न ।
सत्ताको चलखेलमा सांसदको मनोरञ्जनका लागि नगरवधूको क्याटरिङ गर्ने जिम्मा पाएकी रुबी महारानीलाई आफ्नो लक्ष्यनजिक पुग्न खासै गाह्रो परेन ।
त्यो रात ! जुन रातले रिमाको जिन्दगीमा सुनामी ल्याएको थियो— गोमनको आँखामा बसेको दुस्मनको छायाझैँ रिमाको जीवन बर्बाद गर्ने त्यस प्रहरीको घृणित अनुहार पलपल उनको सामुन्ने आइरहन्थ्यो । अनि बदलाको ज्वालामुखी आँखाबाट आँसु बनी बगिरहन्थ्यो ।
नातागोता अनि यो आडम्बरी समाजबाट आफूलाई अपरिचित राख्न रिमाले ज्योत्स्नाको सल्लाहमा नाम बदलेर ‘रुबी’ र पछि महारानी जोडिएको थियो ।
रिमाको मनभित्रको कुण्ठालाई सफल बनाउन एक अर्को कलुषित प्रहरी अधिकृत सहायक बनेर आयो । संवेदनविहीन भावना बोकेकी रुबी महारानीले आफ्नो शरीर मात्र सुम्पिइनन्, उसलाई श्रीमान्समेत भन्न थालिन् । जसको माध्यमबाट रुबी रिमाको जिन्दगी डुबाउने नरपिचास प्रहरीबारे एकएक सूचना सङ्कलन गर्न सफल भएकी थिइन् ।
रुबी महारानीले आफूभित्र भतभती पोलिरहेको पीडाको घाउ र बदलाको योजना आफ्नै मनबाहेक कसैलाई भनेकी छैनन्; यहाँसम्म कि लामो समयसँगै बसेकी ज्योत्स्नालाई समेत । हुन त ज्योत्स्ना केही वर्षपहिले नै एउटा लाहुरेसित बिहे गरी विदेश पुगिसकिन् ।
जाने बेलामा ज्योत्स्नाले भनेकी थिइन्— मेरो श्रीमान्लाई थाहा छैन मेरो पेसाबारेमा । उनी सीधा र सज्जन छन्, म उनलाई छोड्न चाहन्नँ । मैले अर्कै नामले परिचय बनाएकी छु । म यो नारकीय संसारबाट टाढा हुन चाहन्छु । कोहीसित सम्पर्क गर्न चाहन्नँ ।
ट्रिरिङ... ट्रिरिङ...
ए बाबू ! के छ तिम्रो खबर ?
ल, ल राम्रोसित पढ्नू ! धेरै काम नगर्नू....
ए ए... हुन्छ हुन्छ, ल बाई ।
अमेरिकामा पढ्न बसेको छोराको फोन थियो ।
रुबी फेरि रिमाको अतीतमा रुमलिन पुग्छिन् । त्यो कालो रात ...उनका चीत्कारहरू हावामा हराएको रात...
जहिलेसम्म उनी रिमा थिइन्— एउटा सज्जन प्रेमीकी प्रेमिका, जीवनसाथी, बाबुआमाकी सपनाकी भण्डार र मायाकी खानी... सुनौलो भविष्यकी कर्णधार... समाजकी आशा । सबै चकनाचूर भएका थिए ती सपना त्यही रात, अजिबको रात ! केही छिनअगिसम्म एउटा विश्वासको समर्पण थियो, सुमधुर मिलन थियो, जीवनभर साथ दिने प्रतिबद्धता थियो, हाँसो र खुसी थियो; साँच्चिकै अकल्पनीय र स्वर्णिम....
उफ् ! कताबाट आयो अपराधी हुरी ? सम्पूर्ण जीवनमै तुषारापात गर्ने....
रिमाको पेटमा एउटा भ्रूण हुर्किएर आयो ।
ज्योत्स्नाले ‘यो धन्दामा जीउ बिग्रेपछि के काम ? फ्याँकिदेऊ’ भनेर सल्लाह नदिएकी होइन तर रिमालाई ‘कतै यो आफ्नै जीवनसाथीको उपहार पनि हुन सक्छ, म यसलाई उसैको सम्झनामा
समालेर राख्छु’ भनेर जन्माएकी हुन् ।
हुर्केपछि छोरालाई ‘बोडर्सका बोडर्स’ नै उतैबाट उच्च शिक्षाका लागि अमेरिका पठाएकी थिइन् ।
समय बित्तै गयो । रुबी आफ्नो धन्दासँगै खरानी बनेको जीवनको एउटा आगोलाई कतै झोस्ने र बदला लिने प्रयासमा लागिरहिन् । रिमाको जीवन अन्धकारको दलदलमा धकेलिन बाध्य पार्ने त्यो प्रहरी भर्खरै सोवा निवृत्त भएको खबर उनले पाइसकेकी छिन् । त्यसकी एउटी छोरी र रुबीकी साथी जमुनाकी सौतेली छोरी एउटै कलेजमा पढ्छन् ।
जमुनाले त सौतेली छोरीलाई आफूसँगै सम्मिलित गराइसकेकी थिई । ऊमार्फत कलेज पढ्दै गरेका सीधासाधा यौवनालाई ललाइफकाइ घरमा ल्याउने र त्यहाँ आउने पुरुषसित सम्पर्क गराई आकर्षक प्रलोभनमा फसाउने गर्थी जमुना ।
पूर्वयोजनाअनुसार जमुनाकी सौतेली छोरीले त्यो बलात्कारी प्रहरीकी छोरीलाई रुबीको घर ल्याउने–लैजाने गर्न थाली ।
रुबीले निकै माया पोखिन् उसमाथि— मीठोमीठो खुवाउने, आउँदै गर है भन्दै दुई–चार हजार हातमा थमाइदिने गर्न थालिन् । बिस्तारबिस्तार क्रूर प्रहरीकी त्यो अन्जान छोरी फुर्सद पायो कि रुबी महारानीको घर आउने–जाने गर्न थाली । रुबीको खरानी भएको मनभित्रको ज्वालामुखी विस्फोट हुने अवस्थामा पुग्यो ।
एक दिनको कुरा हो, रुबीले खानेकुरा दिने बहानामा जुसको गिलासमा नशा मिसाएर उनलाई बेहोस पारिन् अनि जसरी रिमा छटपटीले चिच्च्याएकी थिइन् त्यही अवस्थाका लागि एउटा समाजसेवाको मुखुन्डो लगाएर त्यहाँ आफ्नो पिचासत्व शान्त पार्न आइपुगेको धनाढ्यलाई सुम्पिइन्......
रुबीलाई किञ्चित् पश्चात्ताप भएन यो महापाप गरेकोमा । उनीभित्रको त्यो घाऊ अझै आलो छ, जुन उही नरपिचास प्रहरीले उनको प्रेमीलाई अँगालोबाट छुटाएर पिट्दै चौकी लग्यो; ...अनि रिमालाई ‘रन्डी, वेश्या, नाटक गर्छेस् ? भन् कति हो तेरो रेट ?
सतीसावित्रीको नाटक गर्छेस् ?’ भन्दै रातभर बाहिर ढोकामा प्रहरीलाई पालो राखेर बलात्कार गरेको थियो ।
कहाँ जान निस्केकी थिइन् घरबाट । बाबुआमाले शुभसाइत भन्दै घडा राखी आँखाभरि आँसु लिएर मायाले बिदा गरेका थिए । कहाँ पुगिन्... रिमा...? कहिलेकहीँ त असह्य वेदनाले आफ्नो कपाल आफै लुच्छे गर्थिन् ।
... ... ... ... ... ... ... ... ... ... ...
‘के रे के रे ? के भनिस् ? ...को होस् तँ ?’
‘रन्डी भै तेरी छोरी आजदेखि... ... जसरी तैँले मलाई जबरजस्ती रन्डी बनाइस् । ...मेरो ...प्रेमी, मेरो जीवनसाथी, मेरो लोग्नेलाई आत्महत्या गर्न बाध्य पारेको थिइस् । ...याद छ तँलाई ?
तँलाई भ्रम होला ? अरू कतिको जिन्दगी पनि त खतम पारेको होलास् नि तैँले ? बिर्सेको भए सुन म त्यही हुँ... ... ...’
हा हा हा हा... रुबी हुँ म रुबी महारानी हा हा... हा हा....
त्यो महापापयुक्त बदलाको सफलतासँगै रुबीमा वैराग्य सुरु भयो— आखिर मेरो खरानी भएको मनले अर्की रुबी जन्माउने खेल मात्र त भयो......
त्यसैले गाउँ गएर फेरि रिमाकै नाममा समाजसेवी भएर बाँकी जीवन बिताउने अठोटमा यो भ्रमपूर्ण ‘अलकापुरी कान्तिपुरी नगरी’ बाट भोलि बिहानदेखि सदाका लागि बिदा मागेर हिँड्ने तयारी पूरा भएको छ रिमाको ।
निक्कै बेर कौसीमा बसेर सोचमग्न रिमाले टप्किएका आँसु पुछिन् । भोलिको नयाँ संसार, नयाँ सङ्गत र नयाँ कामको लेखाजोखा गर्दै रिमाका थकित आँखा लोलाउन थाले ।