क्रान्तिको राग अलापेर, सिद्धान्तको स्लोक फलाकेर, पिडितहरुको मुक्तिदाता बनि, क्रान्तिमा होमिएकाहरु एउटा काल खण्ड पार गरीसके पछि जनवलको आधारमा पद वा ओहदाको हकदार बनिसके पछि सत्ता र भत्ताको चास्निमा रुमल्लिएर पटक-पटक पिडितका सपना तुहाउने मात्र होइन, आफैँ पिडक बनेर निस्कने गरेको एथार्थता पिडितहरुको मनमा सुल भएर गाडिने क्रम निरन्तर चल्दो छ। यसको अन्त्य काहाँ गएर हुने हो ?
आकासलोकमा हाल-सालै वि-भिन्न काल खण्डमा क्रान्तिका नाममा विरगति प्राप्त गर्न पुगेका नयाँ-पुराना शहिदहरुको सम्मेलन भयो। सम्मेलनको उदेश्य थियो, आफुहरुले गरेको योगदानको पृथ्वीलोकको नेपाल खण्डका जीवात्माहरुले कति कदर गरे ! आफुहरु शहिद हुदाँ जुन उदेश्य प्राप्तिका निम्ति भइएको थियो त्यो पुरा भयोकि भएन ! सर्व प्रथम बुढा शहिदहरुले आफ्नो समिक्षा सुनाए, हाम्रो योगदान जाहाँनिया शासन अन्त्य गर्नका निम्ति थियो, तर परिवर्तनका बाहक शक्तिहरुले आफैँ भित्र कलह गरेर, लोकको भलो गर्नुत कता हो कता बाँचेकाहरुले हाम्रो वलिदानको पनि मान राख्न सकेनन्। अर्को निरंकुशतन्त्र जन्मियो। हाम्रा टाउकामा उहि निरंकुशतन्त्रको पुर्खालाई राखियो, अझ ठूलो शहिद जस्तो।
अधवैँसे शहिदहरुको प्रतिकृया आयो, हजुरहरु(बुढाहरुतिर संकेत गर्दै)ले हिँडेको बाटो हिँड्न हामि तम्सियौ। हामिलाई भनियो, हिजोका गल्ति अव दोहोर्याइने छैन। हाम्रो योगदानले प्रजातन्त्र त आयो, तर आइसके पछि प्रजा एकातिर तन्त्र अर्कातिर हुन पुग्यो। तन्त्रका साधकहरु मादक पदार्थ सेवन गरे जस्तै लठ्ठ भएर बहुलठ्ठि पाराले जे मनमा आयो त्यहि गर्न लागे। प्रजा यीनका मानसपटलबाट हराए। हुक्के चिलिमे वैठके आदिका दिन फिरे। एकातिरबाट आक्रोसतन्त्रको भुत र अर्कातिरबाट निरंकुसतन्त्रको भुत एकसाथ जाग्न थाल्यो। यी दुई भुत कहिले एक त कहिले अनेक भएर आक्रमण गर्न थाले। प्रजा एकातिर तन्त्र अर्कैतिर भएको शासन फेरि ढल्यो। हामि याहाँबाट रमिता हेरेका हेर्यै भयौँ।
अव पालो थियो जवान शहिदहरुको ! भन्न थाले, हाम्रो पनि योगदानको कथा-व्यथा उस्तै हुन लागेको छ। हाम्रा योगदानहरु पनि हाम्रा आफ्नै सहकर्मि र सहधर्मिहरुले आफ्ना स्वार्थका पैताला मुनि थिचिसकेका छन्। गाऊँ-घरमा बुढा बा-आमा, विधवा श्रीमति वा विधुर श्रीमान, टुहुरा लाला-वालाहरु गरिवि, वेरोजगारिका कारण अभावको जीवन जीइ रहेका छन्। हामिलाई शगिद हुन प्रेरित गर्नेहरु भने शहरतिर घरजम गरेर मस्तिमा छन्। महंगा गाडिमा सवार हुनु पर्ने, वातानुकुलित महलमा वास बस्नु पर्ने, महंगा रिसोट र स्टार होटलहरुमा सेमिनार र गोष्टि गर्नु पर्ने, एउटा वैठक बस्दाको खाना र खाजा खर्च लाखौँ हुने, तर हिजो पल्ला घरबाट नुन, तल्ला घरबाट भुटुन, माथ्ला घरबाट पिठो आदि जम्मा गरेर यीनको आँतको भोक मेटाउने दुर-दराजको गरिवको पिडा जाहाँको त्यहिँ छ। यससरि त हाम्रो योगदानको पो के मान रह्यो र ! एउटा झिनो आशाको त्यान्द्रो बाँकि छ एउटा अवधि तोकेका छन् तै पनि परिवर्तनलाई संस्थागत गर्छन् कि !
यसरि सवैका कुरा सभा समक्ष आईसके पछि शहिदहरुको सम्मेलन आफु र आफ्नो योगदानको ज्युँदा सहकर्मि र सह धर्मिहरुबाट कुनै कदर नभएको कुरामा एकमत हुन पुग्दा निजहरुका नाममा निम्न व्यहोराको पत्र लेखि सचेत गराउने निर्णय गरियो।
प्रिय सहकर्मि तथा सहधर्मि मित्रहरु,
आकासलोकबाट याहाँहरु सवैलाई एकमुष्ट क्रान्तिकारि अभिवादन !
याहाँहरुका कुरामा विश्वास गरेर बेला-बेलामा भए गरेका क्रान्ति तथा आन्दोलनमा सहभागि हुने क्रममा वैरिको दमनमा परि मृत्यू वरण गर्न पुग्दा “शहिद” मृतात्मा हुन पुगेकाहरु तपाँइ जीवात्माहरुको काम कारवाहि देखेर आज आफैँ संग लज्जित भएका छौँ। नेपाल आमाको मुहारमा मुस्कान भर्न अनि नेपाली मात्रका दुख: कष्ट हर्न भनेर हामि युद्धको विलिवेदिमा होमिएका र हाँसि-हाँसि मृत्यू वरण गर्न पुगि “शहिद”को नामले पुकारिन पाउदा आफुलाई भाग्यसालि ठानेका थियौ। तपाइँ जीवात्माहरुले हामि मृतात्माहरुको वलिदानलाई खेर जान दिनुहुने छैन भन्ने विश्वास लिएर आफ्नो मातृभूमि र आफन्तजनको भविष्य तपाइँहरुलाई सुम्पिएर यता लागेका हौँ। तर आज हामि याहाँबाट देखिरहेछौ, हामिले देखेका सपनाहरु हामि संगै शहिद भएका छन्। तपाइँहरुमा उहि पुरानो परिपाटिको भुत सवार भएको छ। घट्नाहरुको पुनरावृत्ति छर्लङ्ग देखिएको छ। सत्ता “सिनो” भएको छ भने तपाइँहरु “गिद्ध”। पटक-पटकको तपाइँहरुको वेइमानिलाई गल्ति सम्झेर हामिले जो साथ दियौँ अव फेरि त्यो हुनेवाला छैन। तपाइँहरुको पछि लाग्दा समाजमा जन्मिएका विधवा, विधुर, अपाङ्ग र टुहुराहरुको हालतले तपाइँहरुलाई छुदैन ? हिजो झुपडिको बास र ढिडो रोटोको गाँसले शान्त हुने तपाइँहरुको तन किन आज यति सुबिधा भोगि भएको छ ? कति खेल्नु हुन्छ शहिदहरुको रगतमा होलि ! के जनताले हिजो तपाइँलाई गासँ काटेर पालेको र हामिले जीवन आहुति दिएको यहि दिन देख्नलाई हो ? यदि होइन भने समय छँदै सच्चिनुस्। परिवर्तनलाई संस्थागत गरिदिनुस्। शान्ति सुव्यबस्था कायम गरिदिनुस्। जनताले आफ्नो भाग्यको फैसला आफैँ गर्ने छन्। अन्यथा कालजयी कोहि छैन, तपाइँहरुको हालत पनि अतितका जन पिडकको जस्तै हुने छ। हामिले हाम्रो कर्तव्य ठानि सम्मेलनको निर्णय बमोजिम् सर्वसम्मतिले यो पत्र मार्फत तपाइँ जीवात्माहरुलाई कर्तव्यबोधका खातिर सचेत गराएका छौँ। भिरमा लड्न जाने गोरुलाई राम भन्न त सकिन्छ तर काधँ थाप्न सकिदैन। आगे याहाँहरुकै मर्जि।
उहि तपाइँहरुको भनाईमा विश्वास गरेर शहिद हुन पुगेका
शहिदहरु.......
मिति:--वि.सं. १९९७ देखि २०६२ | ६३ सम्म