उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो ।
वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै केही पनि डिमाण्ड थिएन । यस्तो भए खान्छु । उस्तो भए खाँदिन कहिल्यै पनि भनेन । जे दियो त्यसैलाई खुशी मानेर खाइदियो । रमाइलो मानेर लाइदियो । यस्तै यस्तै चर्चा सुनिन्थे उसका वारेमा ।
ऊ ठूलै भए पछि घरमा अंश वण्डा भयो । दाजुहरूले भए भरको राम्रो राम्रो जग्गा जमीन आ – आफ्नो नाममा पार्दा मात्र होइन आमाको मुत्यु पछि बाबुले कान्छी आमा भित्र्याए । वचेखुचेको सम्पति कान्छी आमाले दावी गर्दा पनि उसले कुनै गुनासो गरेन ।
अरु के डी भी परेर अमेरिका गएको अति मिल्ने साथीले तँलाई केही चाँहिन्छ कि भन, भन्दा समेत उसले केही चाँहिदैन भन्यो ।
तर आज अचम्म भएको छ । ऊ दुई हात पसारेर केही मागिरहेको छ । सवैसंग याचना गरिरहेको छ । तर उसको याचना कुनै भौतिक सम्पति प्राप्तिको लागि भने थिएन । उसले त आफू उभिएको एक पाइला माटो मागिरहेको थियो । किन भने उस्ले टेकेको माटो विखण्डित गर्ने प्रपंच भैरहेको थियो ।
॥ इति ॥
~केशु बिरही
~तेह्रथुम