पात्रहरु :
१) बौद्द भिक्षु
२) युवक ( प्रभाकर )
३) युवती ( अनामिका )
४) युवक २
५) बृद्द
६) पत्रीका व्यापारी
( दृष्य - १ )
*
स्थान: एक गुम्बा
समय : बिहान
बातावरण : ( बिहान भए पनि कालो बादल लागेकोले अँध्यारो छ । गुम्बाको चारैतिर मानव चित्कारको कोलाहल सुनिन्छ । गुम्बा परिसरको एक छेउमा एउटा वेवारिसे लाश देखिन्छ । अर्को छेउमा एक युवक चुरोट तान्दै झोक्राइरहेकोछ । एउटा बौद्द भिक्षु हातमा दियो बोकेर गुम्बा परिक्रमा गर्दै - ॐ मानेपेमे ... ॐ मानेपेमे ... अलापिरहेकोछ । अचानक उसका आँखा गुम्बाको अग्र भागको एक छेउमा पुग्छन् । भिक्षु आश्चर्य चकित हुन्छ । )
*
भिक्षु :- ( अत्ताल्लिएर माला जाप्दै ) ॐ मानेपेमे)... ॐ मानेपेमे... हे भगवान ! के अनर्थ देख्दैछु एकाबिहानै यि आँखाले ? मान्छेको लाश... ? हेर चुर्लुम्मै रगतमा डुबेको ... ? आलै जस्तो छ । कस्तो अपसगुन ? कस्तो घोर अनर्थ ...? गुम्बाभित्रै मान्छेको हत्या दिनदहाडै ? कसले मार्यो होला यसलाई ...? किन मार्यो होला ? के बिगारेको थियो यसले...? जसले यो मान्छेलाई मार्यो, के फाईदा भयो होला त्यसलाई ? कस्तो नौजवान युवक, कसको छोरो होला ? स्वास्नी छोराछोरी पनि थिए कि ? तिनिहरुको कत्ती बिल्लिबाठ भयो होला ? कठै,... च्व... च्व... च्व... । शान्ती पावस् बिचराको आत्माले । ( गुम्बाभित्र अवस्थित बुद्दको मूर्तितिर फर्केर )ॐ मानेपेमे... ॐ शान्ती । हे गुरु ! हे शान्तीका अग्र दूत ! यो कस्तो घोर अनर्थ भइरहेछ तिम्रो आँगनमा । तिम्रै आँखाको अगाडि तिम्रै सन्तानहरु यसरी ढल्न थालिसके । तिमीले शान्तिको बिउ छरेको धर्तिमा हिंसाका काँडेझाडीहरु झाँगीरहेका छन् । तिमीले स्नान गरेको पवित्र नदीहरुमा निरिह र निर्दोष मान्छेहरुको रगत बग्न थालेको छ आजकल । जङ्गलका चराचुरुङ्गी र जनावरहरु पनि बसाईं सर्न थालिसके । यो धर्ती पनि पिडाले काँपिरहेकोछ,आकाश रोइरहेकोछ,छटपटाइरहेकोछ असह्य बेदनाले । यो बुढो सगरमाथा पनि धेरै माथिबाट टुलुटुलु हेर्दै आँशु पुछ्न बाहेक केही गर्न सकिरहेको छैन । हे मानवताका शिखा ! हे अहिंसाका पूजारी ! हे शान्तीका सर्वोच्च नायक ! यहाँ मानवता दुखिरहेकोछ, यहाँ शान्ती छटपटाइरहेकोछ, यहाँ अहिंसा चाहर्याइरहेकोछ । त्यसैले अब आँखा खोलिदेऊ... ( लाशतिर देखाउँदै ) यि हेर, के यो दर्दनाक स्थिती तिम्रा आँखा ले निसंकोच हेरिरहन सक्छन् ? तिमीले सिकाएको अहिंसाको पाठलाई अपमान गरेर तिम्रै काखमा यती बिघ्न निर्मम र बर्बर हिंसा भइरहेकोछ । त्यसैले म एउटा भिक्षु,तिम्रो सच्चा शिष्य यही एउटा भिक्षा मागिरहेकोछ । ब्यूँझिदेउ एक पटक,सिर्फ एकपटक र छरिदेउ एकपटक फेरी यि अज्ञानीहरुका सबै इन्द्रियमा दिब्य ज्ञानको ज्योति, पोखिदेऊ शान्तिका किरणहरु यो जगमा... । ( फेरी छेवैको युवकतिर लम्किंदै ) ॐ नमो बुद्दाय... ॐ शान्ती... बाबु ! तिमी को हौ ? यती धेरै अगाडिदेखी मूर्तिवत यहाँ बसिरहेका छौ, यो बेवारीसे लाशका सम्बन्धमा केही जानकारी छ तिमीलाई ?
*
युवक : ( चुरोट तान्दै ) यही अनविज्ञता र जिज्ञासा म तपाईं समक्ष राख्न चाहन्छु । यस सम्बन्धमा तपाईं जती जानकार हुनुहुन्छ, म त्यसको एक कण जती पनि छैन । किनकी धर्तिमा उज्यालो खस्नु अगावै घटना भइसकेको हुनुपर्दछ । यसर्थमा बरु तपाईंलाई नै थाहा हुन सक्छ ।
भिक्षु : घटनाको पूर्व प्रकृति मलाई थाहा छैन । जतिबेला मैले थाहा पाएँ, त्यतिबेला मेरा यि आँखाले सिर्फ ढलेको लाश मात्र देखेको हुँ, जुन अहिले तिमीले पनि देखिरहेका छौ ।
*
युवक : घटनाको यो बिन्दुभन्दा अघिल्लो श्रीङ्खला कसरी घट्यो, त्यो त तपाईंलाई थाहा होला नि ?
भिक्षु : अँ हँ ... त्यो पनि केही थाहा छैन मलाई ।
युवक : त्यसो भए आज राती तपाईं गुम्बामा बस्नुभएन ?
भिक्षु : बस्न त गुम्बामै बसेको थिएँ, केहीबेर ध्यानमा मग्न भएँ, त्यसपछी बिश्राम सँगै भुसुक्क निदाएछु, बिचमा केही थाहा भएन । बिहान उठेर हेर्दा यस्तो घोर अनर्थ देख्नुपर्यो ।
युवक : सम्भवत यो घटना रातको अन्तिम प्रहरमा घटेको हुनुपर्दछ र शायद यो घटना गुम्बाभित्र नभएर यतै कतै नजिकै छेउछाउमा भएको हुनुपर्दछ ।
भिक्षु : तर यो लाश ?
युवक : घाइते अवस्थामा ऊ भगवानको शरणमा छटपटाउँदै आएको हुन सक्छ र भगवानको काखमा उसले प्राण त्यागेको हुन सक्छ ।
भिक्षु : ( लामो सास तानेर ) धन्य भगवान ! बिचराको आत्माले शान्ती पाओस् । ॐ शान्ती... ॐ नमो बुद्दाय... ॐ मानेपेमे... अँ त बाबु, तिमी हेर्दा निक्कै भलाद्मी र चिन्तित मुद्रामा देखिन्छौ । को हौ तिमी, के चिन्ता छ तिमीलाई ?
युवक : म समयसँगको पौंठेजोरीमा नराम्ररी पछारिएको मान्छे हुँ । आफ्नो जिन्दगीदेखी आँफै डराएर भागेको मान्छे हुँ म । आफ्नै जीवनको अर्थ नभेटेर भौंतारीईरहेकोछु म ।
भिक्षु : के भयो तिमीलाई त्यस्तो ?
युवक : म लुटिएकोछु, म ठगिएकोछु, जिन्दगीले मलाई नराम्रो गरी धोका दिएकोछ । ( लाशतिर देखाउँदै ) मान्छे यसरी अकालमै मर्दैछन् र मारिदैछन् । म त मर्न चाहन्छु र पनि मर्न र मारिन सकिरहेको छैन । नियतिले ममाथी ठुलो अन्याय गरिरहेकोछ ।
भिक्षु : तन्नेरी छौ, वलिष्ठ छौ, जोश र जाँगर लिएर जीवनपथमा हिँड्नुको सट्टा किन हिम्मत हार्दैछौ ?
युवक : तन्नेरी र वलिष्ठ त त्यो मुर्दाको रुपमा ढलिरहेको युवक पनि थियो । हुन त त्यो बाँच्ने रहर हुँदाहुँदै मारिएको हुन सक्छ । तर मेरो संसार त्यती सुन्दर छैन । मेरो मुटु कालेजो लुटिएकोछ, मेरो सर्वश्व अपहरण भएकोछ, छियाछिया भएर मेरो मन मुटु भग्न भएकोछ । म केही भएर पनि केही हुन सकिरहेको छैन । कुनै अस्तित्व र छवी छैन मेरो । मेरो चारैतिर खाली खाली छ, खोक्रो खोक्रो छ ।
भिक्षु : परिस्थितीसँग मुकाबिला गर्ने साहस गर्नुपर्दछ तिमीले । हरेक समय सधैं एकखालको हुँदैन । हिजो, आज जस्तो थिएन र भोली, आज जस्तो पक्कै हुनेछैन । तसर्थ तिम्रो जीवन भोली फूल्न पनि त सक्छ नि ।
युवक : समयका हरेक शर्तहरुसँग सम्झौता गरिसकें मैले । समयको गर्भभित्र जती पनि प्राणीहरु छन्, हरेकले हरेकलाई मास्न खोजिरहेका छन् । मान्छेहरुभित्र मानवताको पर्खाल भात्किएको छ । प्रेमको दियी निभिसकेकोछ । यहाँका एक एक प्राणीहरु त्यसमा पनि मान्छेहरु कुटिल र घिनलाग्दो स्वार्थको दलदलमा भासिएका छन्, कहिल्यै नानीस्किने गरी । मान्छेद्वारा सताइएको मान्छे हुँ म । मेरो चारैतिर मान्छेले थापेको धोका र विश्वासघातका एम्बुसहरु छन् । जीवन मर्नु बाँच्नुको दोसाँधमा भिरको चिण्डो भएर छटपटाइरहेकोछु । जीवन र मृत्युमा केही भिन्नता छैन यहाँ । स्वार्थी र दमनरुपी मान्छेको समाजमा प्राणलाई खुकुरीको धारमा राखेर अनर्थ जिउनु भन्दा मृत्युको अर्को लोकमा शान्ती पाउने आशा गरेकोछु मैले । त्यसैले यस्तो अभागी,घिनलाग्दो,उराठ र उदास जीवनभन्दा मृत्यु नै बढी उत्तम ठानेकोछु मैले ।
भिक्षु : मान्छेले चाहेको बेला मर्ने र चाहेको बेला बाँच्ने गर्न सक्ने भए शायद श्रष्टाको नीती नियम र भगवानको अस्तित्व यो संसारमा रहने थिएन होला । मान्छेको आयु,जीवन र मृत्यु त उसले जन्मदै लिएर आएको हुन्छ । यो सब भगवानको खटन हो । मान्छेले आफ्नो कर्म अनुसारको फल पाउँछ । राम्रो काम गर्नेले राम्रै पाउँछ र नराम्रो काम गर्नेले नराम्रै । भगवानका आँखा सबैका लागि समान छन्, भगवान ले सबैलाई सही मार्ग निर्देशन गर्दछन् । बाटो छोडेर कुबाटो हिंड्न खोज्ने र हिंड्नेलाई पनि भगवान ले हरेक तरिकाले सुझाव र चेतावनी दिएका हुन्छन् । त्यो दिव्य हुन्छ, बुझ्न सक्नु पर्दछ । त्यती हुँदाहुँदै पनि कुकर्म नै गरिरहने र खराब बाटो नै हिँडिरहनेले भगवानको सजायको भागी बन्नै पर्दछ । तिमी किन आत्तिन्छौ ? भगवानमा विश्वास राख, दु:खमा आत्तिने र सुखमा मात्तिने कहिल्यै नगर । इमान्दार र बफादार बन, भगवानले तिम्रो रक्षा गर्नेछन् ।
( भिक्षु ॐ मानेपेमे ... ॐ शान्ती,... ॐ नमोबुद्दाय .. भन्दै माला जप्न थाल्दछ । युवक फेरी चुरोट सल्काउँछ, र केही सोचे झैं एकोहोरिन्छ । कालो बादलको मुस्लो झन मडारिन्छ,मानौ रात जस्तै अन्धकार हुन्छ त्यहाँ । यसैबिच एक पागल चिच्याउँदै प्रवेश गर्छ । )
*
पागल : खबरदार... ! यहाँ कसैले कसैलाई मार्न पाउने छैन... । ( युवकतिर हेर्दै ) एई... तँलाई के भो ? पिर परेकोछ ? किन बोल्दैनस् ? चुरोट खाको ? खै ले मलाई पनि । किन एक्लै खान्छस् ? कती खान्छस् एक्लै ? अझै अघाइनस् ? होइन, किन बोल्दैन यो ? के तेरो पनि भाई मर्यो ? के तेरो भाईलाई पनि तिनिहरुले मारे ? के तेरी स्वास्नीलाई पनि अपहरण गरे ? के तेरी अर्धाङ्गिनीको पनि बलत्कार गरेर हत्या भयो ? के तेरी मायालु पनि तँलाई छोडेर गई मलाई जस्तै ? तेरो प्रेम खोसियो ? ( युवक अझै बोल्दैन ) होइन, किन बोल्दैनस् हँ तँ ? कि यो मान्छे होइन... ? मूर्ती पो जस्तो छ । ( गलल हाँस्छ र एक्लै फतफताइरहन्छ ) थुइक्क... म पनि कस्तो नबोल्ने मुर्ती सँग पो गफ गरिरहेको रहेछु । ए तँ राम होस् ? कृष्ण होस् ? महादेव होस् ? कि अल्लाह होस् ? कि यशुख्रिष्ट होस्... ? होइन, होइन तँ बुद्द होस् । किनभने गुम्बामा तँ बस्छस् । हे भगवान ! मलाई माफ गरिदेउ । सारा चिजहरुको हत्या भइसक्यो । खाली मेरो खोक्रो शरीर मात्र बाँकी छ । बिन्ती चढाउँछु प्रभु, ति राक्षसहरुले गर्नु गरे । ( रिसाउँदै ) ए यो त भगवान होइन जस्तो छ । ( युवक अर्को चुरोट सल्काउँछ ) फेरी चुरोट पो सल्कायो यसले त... । यसलाई पनि पक्कै ठुलै पिर परेजस्तो छ । तेरो पनि भाई,स्वास्नी मेरो जस्तै हो...? पख्, अब हामी दुबै मिलेर खोजौं । ( छेउको लाशलाई देख्छ र चिच्याउँदै )एई,... यता हेर तेरो भाई यहाँ रहेछ । आरामले सुतिरहेको रहेछ । आइज, उठाऔं र लैजाऔं । ( लाशलाई चलाउँछ,छाम्छ, सुम्सुम्याउँछ र फेरी चिच्याउँछ ) भेटें... मेरो भाई भेटें । यो तेरो भाई होइन, मेरो भाई हो बुझिस्... । ( उठाउन खोज्दै ) उठ् मेरो भाई, कहाँ गएको थिस् मलाई छोडेर ? तेरी भाउजु खोइ ? ( शरीरभरी रगत देख्छ र झन् चिच्याउँदै ) तँलाई कसले यो हालत बनायो मेरो भाई ? तँ कती दिन देखी वेवारीसे छस् हगी ?
तेरो लाशलाई उठाउने मलामी सम्म पाइनस् हगी तैंले ? कसैले वास्ता गरेन हगी तँलाई ? ( युवकतिर हेर्दै ) यो हरिलट्ठकले केही सहयोग गरेन हगी तँलाई ? के गर्थ्यो, यो आँफै मरेतुल्य छ । तर तेरो आत्माले अवश्य शान्ती पाउनेछ, किनभने तेरो प्राण बुद्दको काखमा गएकोछ । तँ धन्दा नमान भाई, म तेरो लागि मलामी खोजेर ल्याउँछु । ( युवकतिर हेर्दै ) एई,... मेरो भाईलाई छोलास् नि ? म आउन्जेल त्यहीं बस्दै गर है ! ( पागल बाहिरिन्छ )
( पागलको प्रस्थानसँगै ठुलो आँधिहुरी चल्न शुरु हुन्छ, मेघ गर्जनसहित बिजुली चम्किन्छ । कालो बादल झन् बाक्लिंदै जान्छ । नेपथ्यमा गोला बारुद र बन्दुक पड्केको आवाज कानै फुट्ला जस्तो गरी सुनिन्छ । नेपथ्यबाटै हत्या... हिंसा... अपहरण... बलात्कार... शब्द सहित गुहार... गुहार... मान्छेको चित्कार सुनिन्छ । )
*
युवक : कस्तो अभागी पुस्तामा जन्मेछु म ... अनि यि जबर्जस्ती बाँचेका मान्छेहरु । ( एक्लै गुनगुनाउँदै ) बुद्दको छातीमा बारुदको गन्ध आइरहेकोछ, शान्ती र अहिंसाको मुटुमा भाला रोपीईरहेकोछ जताततै । अशान्ती,कल,झगडा,वैमनस्यता,हत्या,हिंसा,अपहरण,बलात्कार... उफ्... युगले कती नमिठोगरी ठग्यो मलाई । त्यो पागल, बिचरा... मर्नुभन्दा बहुलाउनुको नियती स्वीकारीरहेकोछ जबर्जस्ती... । ( बम र मान्छेको कोकोहोलो झन् तिब्र सुनिन्छ । ) हे भगवान ! यहाँ फेरी के अनर्थ हुन लाग्यो... ? यो पृथ्वी नै किन भासिंदैन... ?? यो सारा जगत नै किन डुब्दैन... ???
( युवक २ को प्रवेश )
*
युवक २ : ( आत्तिंदै आएर युवक १ लाई समाउँदै ) गुहार... गुहार... लौ न म त बर्बाद भएँ । ए दाई, लौ न केही त गर्नै पर्यो ।
युवक १ : के भयो तिमीलाई ?
युवक २ : मेरो त सर्वश्व नै भयो नि दाई । मेरो अधिकार खोसियो,मेरो खुशी लुटियो । म पढ्न चाहन्छु, मा आफ्नै खुशीले हिंडडुल गर्न चाहन्छु, आफ्नो घरमा आनन्दले निस्फिक्री बस्न र रमाउन चाहन्छु म... ।
युवक १ : तर यो सब कसरी भयो जुन ? फलाकीरहेका छौ ।
युवक २ : घरबाहिर बन्दुक पड्काइयो, घरभित्र आगो लगाइयो,लुटिइयो,पिटीइयो,अपहरण गरियो... तर म बाँच्न चाहन्छु,भाग्न चाहन्छु... लौ न दाई केही गर्नु पर्यो ।
युवक १ : म केही गर्न सक्ने भए शायद, यसरी समयको कोर्रा खाइरहनु पर्ने थिएन होला । जाऊ,भगवानसँग गुनासो पोख ।
( यसैबिचमा फेरी एक बृद्दको प्रवेश हुन्छ । )
*