बृद्द : लौ न हजुर,... मेरो जहाज डुब्यो,मेरो उठिबास भयो । मैले आफ्ना छोराछोरी,बुहारी,स्वास्नी,खेत-बारी,घर-सम्पत्ती... केही भन्न पाइन, सबै तहसनहस भयो, सबै खरानी भयो । ( युवकतिर हेर्दै ) लौ न हजुर, अब के गर्ने होला ?
युवक १ : कतै तपाईंको पनि घरमा बन्दुक पड्काइएन ? आगो त लगाइएन ?
बृद्द : हो हजुर, मेरो बुढेसकालको लौरो भाँचियो,ओत लाग्ने छानो भत्कियो । मार्ने नै भए मै बुढोलाई मार्नु नि बरु ! किन मेरो खाउँखाउँ-लाउँलाउँ उमेरको छोरालाई मार्नु ? सत्यानाशै भयो नि प्रभु... !
युवक : व्यथा सबैको उस्तै हो । तपाईंको,मेरो, उसको, हामी सबैको... । समयले आज सबैलाई झटारो हानिरहेको छ अन्धाधुन्ध अन्धकारमा । त्यो क्रुर समयको निर्दयी ढुंगाले हिजो मलाई लाग्यो, आज तपाईंलाई लाग्यो र भोली उसलाई लाग्नेछ , तर लाग्छ सबैलाई अवश्य ।
युवक २ : आखिर किन यस्तो भइरहेछ ? जन्मेपछी बाँच्न पाउनु मान्छेमात्रको नभएर सारा प्राणी मात्रको नैसर्गिक अधिकार होइन र ?
युवक १ : यो सबै मान्छेप्रती मान्छेको रिस र डाहको उपज हो । बाँच्न त उनिहरु पनि चाहन्छन्, जसले अरु मान्छेको बाँच्न पाउने अधिकार खोसिरहेका छन् । तर मान्छेको बिबेक शुन्य भएपछी बहुलाउँदोरहेछ ।
बृद्द : यो धर्तिमा पापी नै पापीको साम्राज्य भइसक्यो । मान्छे नै मान्छेसँग मिल्न सकेन भने त्यो भन्दा बिडम्बना के हुन सक्छ र ? अब भगवान ले फेरी एकपल्ट अवतार नलीई हुँदैन यहाँ ।
*
युवक १ : वास्तवमा अब ईतिहासको पुनरागमन जरुरी भइसकेको छ । त्यो ईतिहास, जहाँ सत्य थियो, मानवता थियो,मेलमिलाप थियो । युद्द र बिरोध त त्यतिबेला पनि हुन्थ्यो तर त्यो युद्दमा बहुजन हिताय को सिद्दान्त छर्लङ्ग थियो । त्यो युद्दमा स्वार्थ थिएन,कप्ट्याईं थिएन अनि साम्प्रदायिकता थिएन । त्यहाँ एउटा भक्ती,अमरसिंह र भलभद्र मर्दथ्यो तर सिङ्गो जात,धर्म,सँस्कृतिको लागि अनि सिङ्गो भूगोल रक्षाको लागि मर्दथ्यो । स्थायित्व,शान्ती र अमनचयनको लागि लड्दथ्यो र बलिदानी हुन्थ्यो । जुन समस्त लोक हित को पक्षमा हुन्थ्यो । त्यो युद्दमा,त्यो मृत्युमा अनि त्यो प्राप्तिमा सारा जगतले गर्व गर्दथ्यो र अमरताको गीत गाउँदै शिर उठाएर जिन्दाबाद भन्दथ्यो । जुन ओजिलो गीत अहिलेको पुस्ताले पनि भुल्न सकिरहेको छैन । तर आजको युद्द... लडाईं... झगडा... ! भुस्याहा कुकुरहरु कुहिएको सिनोमा अझ भनौं एउटा किरा परिसकेको हड्डीमा लुछातानी गरिरहेका छन् । छ्या... ! सम्झिदा पनि घिन लागेर आउँछ ।
युवक २ : तर यो सब कसरी र किन भइरहेछ ? यसको समाधानको कुनै उपाय छैन ?
युवक १ : यहाँ सबै स्वार्थी र मतीभ्रष्टहरु मात्र छन् । समस्या बग्रेल्ती जन्माउँछन् तर समाधान खोज्नुको सट्टा खोंचे थापेर परिस्थिती चर्काउँछन् । बिष रोपेर अमृतको आशा गर्नेहरु, कटमेरो महत्वकांक्षाको बिजारोपण गरेर लंका जित्ने सपना देख्ने ठेट्नाहरु र अण्डा नै नफुटाई अम्लेट खान खोज्ने पाखण्डीहरु जबसम्म सखाप हुँदैनन्, तबसम्म जगतले यस्तै अपसगुन व्यहोर्नु पर्नेछ शायद... ।
*
बृद्द : तपाईं जस्ता विवेकी सन्तानहरु किन अरु पनि जन्माइनन् आमाले ? तपाईंले धेरै ज्ञानका कुरा गर्नुभो, के तपाईंहरु जस्ताको प्रयासले यो समस्या किनरा नलाग्ला ?
युवक १ : लाग्न सक्छ, तर यहाँ राम्रो कुरालाई समर्थन र सहयोग कहाँ हुन्छ र ? फेरी मैले त देखेको र भोगेको कुरा राखेको मात्र हुँ । त्यसमा पनि मेरो जीवन त झन् तपाईंहरुको भन्दा जर्जर छ, म आँफै पुरै रित्तिसकेको छु । मैले के गर्न सक्छु र एक्लैले ? यो समस्याको समाधानको लागि कि त यहाँ एकपटक बुद्द नै जन्मिनु पर्दछ कि त यहाँका मान्छेहरुमा बुद्दत्व भरिनुपर्दछ । ( यत्तिकैमा केही आवाज आउँछ, सबै चुप लाग्छन् । )
दृष्य - २
स्थान : उही
समय : त्यही
बातावरण : उस्तै
( भिक्षु आफ्नै धुनमा माला जप्दै ध्यानमग्न छ । बृद्द र युवक २ त्यहाँबाट अलप हुन्छन् । कालो बादल झन् उग्र हुँदै मडारिंदैछ । पानी अझ बढ्ला जस्तो छ । त्यसैले युवक १ गुम्बाको छेवैको पाटीमा चुरोट तान्दै केही सोचिरहेको भान हुन्छ । गुम्बाको वरिपरी र भित्र बलिरहेका दियोहरु हावाको झोक्काले केही निभ्दैछन् भने केही निभ्न खोज्दै फेरी बल्ने कोशीस गरिरहेका छन् । पहिले देखिएको युवक को लाश यथास्थानमै देखिन्छ । घरी-घरी गर्जने चर्को मेघ र बिजुली चम्काइले बातावरण लाई झन् भयावह बनाइरहेकोछ । )
*
युवक :- ( एक्लै गुनगुनाउँदै ) उफ्... मान्छेले मान्छेलाई मार्ने जमाना, चोर्ने जमाना, लुट्ने जमाना,घात गर्ने जमाना,अबिश्वासी जमाना... खै कस्तो जमाना हो यो ? नियतिको लट्ठी पनि कस्तो निर्दयी ? अबोध,निरिह र कमजोरहरु माथी नै बज्रिरहने निरन्तर । घडीको सुइ जस्तै अथक । मान्छेहरु बाँच्ने रहर हुँदाहुँदै पनि जबर्जस्ती मर्न विवश हुन्छन् । कोही भने मृत्युको ढोका सम्म पुगेर पनि फर्केर उही निरस जीवन जिउन वाध्य हुन्छन् । हरेक मान्छेलाई नियतिले ठगेपछी जीवन गलाको पासो बन्दोरहेछ । उफ्... मेरो मन किन भाँडिदैछ ? मेरो मनको मैदानमा किन मृत्यु र जीवनको दोहोरो भिडन्त भइरहेछ ? किन जीवन र मृत्यु एउटालाई रोज्ने साहस आएन ममा ? किन दिग्भ्रमित छ मेरो मन ? किन दुधको दुध पानीको पानी हुन सक्दैन म भित्रको मन ? दोधार र दोसाँधमा कतिन्जेल जिउने ? के पाउनु र गुमाउनु, सुख र दु:ख,उज्यालो र अँध्यारो हरेक जीवनको लागि श्रष्टाले सुम्पेको स्वभाविक श्रीङ्खला होइन र ? किन मेरो मन प्राप्तिलाई मात्र सर्वोपरी ठान्छ ? पिडा,बिरक्ती र दु:खाइ त जहाँ पनि ब्याप्त छन् नि । ऐश,आराम र खुशी मात्रै भयो भने पनि जिन्दगी जिउनुको के मज्जा आउला र ? त्यो युवक, जसको त्यती कलिलो किशोरावस्था छ, सर्वश्व नै लुटिंदा पनि ऊ अदम्य साहसका साथ समाधान खोज्न उत्सुक छ । त्यो बृद्द, जसको संसार चुर्लुम्मै डुबेकोछ र पनि अझै केही गर्नु पर्दछ भन्ने हिम्मत बोकेर हिंडेकोछ । आखिर त्यो पागल पनि त बहुलाउनुको नियती भोगेरै पनि बाँच्दैछ । बुद्द जन्मेको,राम जन्मेको,रावण जन्मेको अनि हिटलर जन्मेको पनि समय नै थियो । अनि यो पनि समयको एउटा पाटो रहेछ । त्यसबेला पनि मान्छे बाँचेकै थिए । श्रष्टाको बिधान अनुसरण गर्नुभन्दा अर्को बिकल्प कहाँ रहेछ र खै... ! ( लामो सास तान्छ । )
( यत्तिकैमा एक युवती चिच्याउँदै प्रवेश गर्छे । ऊ पनिले भिजेकिछे, उसको केशराशीबाट पानीका थोपा शरीरतर्फ झरिरहेका छन् । भिजेकोले गर्दा उसले लगाएको कपडा र मासुको सम्बन्ध नजिक देखिन्छ । भनौ, कपडा बहिर बाटै उसको शरीरका संबेदनशिल अङ्गहरु प्रष्टै देखिन्छन् । )
*
युवती : बचाऊ... बचाऊ... । ए, लौ न कोही छ यहाँ ... ?
युवक : ( आवाज आएको ईलाकातिर हेर्दै नहेरी आफ्नै धुनमा बोल्दै ) यहाँ थुप्रै छन् । यो गुम्बा, ध्यानमग्न भिक्षु, बुद्द, एउटा वेवारीसे लाश र एउटा जिउँदो लाश पनि । त यो आवाज कुन लोक बाट ?
युवती : यही लोकबाट,यहीं बाट, तपाईंकै नजिक बाट । कस्तो निर्दयी र उदेक लाग्दो कुरा गर्दैहुनुहुन्छ तपाईं ? यो आवाज हृदयको दु:खाईबाट, आत्माको चित्कारबाट अनि यो आवाज तपाईं जस्तै मान्छेको मुटुको घाउबाट ।
युवक : के छ यो आवाजमा... ?
युवती : पश्चातापको आँधी... निरासाको भूमरी... अनि जीवनप्रतिको वितृष्णा... ।
युवक : ( आश्चर्य मान्दै युवतीतर्फ फर्केर ) कस्तो कुरा गर्दैछ्यौ तिमी ? बचाऊ,बचाऊ भन्दै जीवनप्रती गुहार पनि मागिरहेकी छ्यौ, अनि त्यही जिवनप्रती वितृष्णा पनि जाहेर गरीरहेकी छ्यौ ?
युवती : ( युवकलाई चिने झैं गरेर ) हँ,... प्रभाकर तिमी ... ?
युवक : ( स्मृतितर्फ फर्कंदै ) यदी मेरो ठम्याई गलत नभए, ति... मी अनामिका हुनुपर्छ ।
युवती हो,.. हो... म अनामिका नै हुँ । ( उनी युवक को सामुन्नेमा जान्छिन् । )
युवक : अनि किन आयौ त यहाँ ?
युवती : म जीवन र मृत्युको दोसाँधमा छटपटिदै भौंतारीईरहेकी थिएँ, शायद गलत ठाउँमा आइपुगेछु ।
युवक : त्यसो नभन अनामिका, तिमी एकदम सही ठाउँमा आएकी छ्यौ ।
युवती : तर म मर्न चाहन्छु ।
युवक : मर्न त म पनि चाहन्थें, तर अब बाँच्न चाहन्छु ।
युवती : फेरी कस्तो कुरा गर्दैछौ तिमी ? मर्नु र बाँच्नु दुई बिपरित ध्रुब हुन् । मर्न चाहन्थ्यौ र फेरी बाँच्न चाहन्छौ, के अर्थ छ यसमा ?
युवक : तिमीसँगको बिछोड पछी ममा जीवनप्रती निराशा छायो । जीवन उदास,उराठ र निराश लाग्न थाल्यो । समाजका हरेक कुरालाई म घ्रिणा गर्न थालें, र समाजले पनि मलाई घ्रिणाको पात्र बनायो । जताततै स्वार्थ, घात,हिंसा,अशान्ती ... जीवन झन् भद्दा र बेकार लाग्न थाल्यो । मन बुझाउने कोही भेटिन । देशका ब्वाँसा र समाजका धमिराहरुले मलाई सुखले बाँच्न पनि दिएनन् । मेरो घर पनि खोक्रो बनाइदिए । म घर मा बस्न सकिन, भर कसैको भएन, जीवनको अर्थ नै रहेन ।
युवती : अनि, अध्ययन कहाँ पुर्यायौ ?
युवक : के अध्ययन को कुर गर्छ्यौ ? जसको जीवन नै साँचो अर्थमा जीवन रहेन भने त्यसको अन्य कुरा र प्रगतीको के ... ?
युवती : ( बिचैमा ) तर आज फेरी ... ?
युवक : आज तिमीलाई देखेर, तिमीसँग भेट भएर बाँच्ने रहर जागेर आयो । जिन्दगीको अर्थ भेटे जस्तो लाग्दैछ ।
युवती : तर म तिमीभन्दा परकी भइसकेकी छु । तिम्रो र मेरो सामिप्यतामा ठुलो दुरी छ अब । म तिम्रो संसारबाट अलग्गीईसकेकिछु ।
युवक : त्यसो भए तिम्रो लागि सुन्दर संसार हुँदाहुँदै किन मर्न चाहन्छ्यौ ?
युवती : अहिले मेरो कुनै संसार नै छैन । न मेरो कुनै अस्तित्व र परिचय छ । तसर्थ, म यस्तो अर्थ बिहिन जीवन जिउनु भन्दा मर्न चाहन्छु ।
युवक : ( आश्चर्य मान्दै ) अनि तिम्रो श्रीमान ? घर परिवार ?
युवती : ( रुँदै ) भो प्रभाकर ! मलाई यहाँ भन्दा बढी नकोट्याउ । ममा सामर्थ्य पनि छैन, यो भन्दा अघी बढ्ने ।
युवक : तर तिमीले भन्नै पर्छ यथार्थ कुरा ।
युवती : मलाई धेरै कर नगर प्रभाकर । यदी तिमीले मेरो वास्तविकता थाहा पायौ भने, मेरो त हालत यस्तै हो , तिमी पनि दुखी हुन सक्छौ ।
युवक : तर त्यो सब सहन सक्ने सामर्थ्य छ ममा । किनकी मैले दर्जनौं दु:खका जङ्घारहरु तरीसकेकोछु ।
*