युवक : ( रिसाएर कड्किंदै ) यो हद भयो अनामिका,... नबनाउ मलाई अब धेरै कठपुतली । तिम्रो गलामा के छ ? म निस्सासिसकें, छिटो खोलिदेउ त्यो रहस्य । चाँडो फुटाउ तिम्रो वाक्य... । नत्र भगवानले तिमीलाई फेरी सजाय गर्नेछन् ।
*
युवती : मेरो पेटमा अबैध बच्चा हुर्किरहेकोछ प्रभाकर... । ( बेस्सरी रुन्छे । )
( यत्तिकैमा ठुलो आवाजमा मेघ गर्जिन्छ, बिजुली चम्किन्छ,आँधीहुरी चल्छ । )
*
युवक : तिम्रो पेटमा बच्चा छ, अझ तिमी मर्न चाहन्छ्यौ ? आफु त मर्छ्यौ, तर पेटभित्र रहेको शिशुलाई पनि मार्न चाहन्छ्यौ ? के पाउँछ्यौ तिमीले यो निर्दोष भ्रुण हत्या गरेर... ?
युवती : तर म आमा बन्न चाहन्न ।
युवक : किन ?
युवती : किनकी यहाँ धेरै आमाहरुलाई ईतिहासले कलङ्कको टिका लगाइसकेकोछ । कयौं आमाहरु पश्चातापले तड्पिरहेका छन् । त्यसैले म फेरी अर्की कलङ्कित आमाको संख्या थप्न चाहन्न ।
युवक : के तथ्य छ तिमीसँग ?
युवती : तथ्य सबैको सामु छर्लङ्ग छ । ती तिमीले, मैले हामी सबले देखेका भोगेका छौं । नपत्याए हेर त,... तिनै आमाहरुले जन्माएका कपुतहरुले आमालाई धर्धरी रुवाएका ! आमाको कोखमै प्रश्न चिन्ह लगाउने कुलङघारहरुलाई जन्म दिनु भन्दा त... !
युवक : तर तिमीले यो बच्चालाई जम्न दिनै पर्दछ ।
युवती : मैले अघी नै भनिसकें नि... ।
( यसैवीचमा एउटा पत्रीका व्यापारीको प्रवेश हुन्छ )
*
पत्रीका व्यापारी : ( पानी परिरहेकोछ, प्लाष्टिकको आधा भागले टाउको र आधा भागले पत्रीका ढाकेकोछ । ख्याउटे शरीर एउटा हातमा पत्रीका हल्लाउँदै चिच्याउँदैछ ) लौ... आयो हजुर, ताजा खबर ! आज पनि राजाधनीको मुटुमै भिडन्त, तिस जनाको घटनास्थलमै मृत्यु, सयौं घाइते, सयौको अपहरण, मारिनेको संख्या अझै बढी भएको आशंका । लौ, पढिहाल्नुस् हजुर आजको ताजा खबर... ! ( प्रभाकर ले एउटा पत्रीका लिन्छ, पत्रीका व्यापारी एवम रितले कराउँदै अर्को दिशातर्फ मोडिन्छ । )
युवक : देख्यौ त अनामिका... ? यहाँ मृत्यु कत्ती सस्तो छ । अनि हेर यो पत्रीका व्यापारीलाई, कत्ती मिठो जीवन संघर्ष गरिरहेछ यसले । युवती : बाँच्न चाहने सबैले संघर्ष त गर्नै पर्दछ नि हैन र ?
युवक : यही कुराको आत्माबोध तिमीमा होस् भन्ने म चाहन्छु ।
*
( एक्कासी कालो बादल झन् मडारिएर आउँछ । आँधीहुरी सहित मुसलधारे वर्षा हुन्छ । चर्को आवाजमा मेघ गर्जिन्छ, बिजुली चम्किन्छ । नेपथ्यमा फेरी मानव पिडाको चित्कार सुनिन्छ । )
*
युवती : मलाई लाग्दैछ, यहाँ फेरी कुनै अनौठो र भयावह घटना घट्ला जस्तो छ ।
युवक : यसमा कुनै अनौठो कुरा छैन । किनकी यहाँका हरेक परिवेशको लागि हरेक खाले घटनाहरु स्वभाविक भइसकेका छन् । अनि यहाँका हरेक प्राणीहरु घटना घटाउन र घटनाबाट प्रभावित हुन अभ्यस्त भइसकेका छन् । फेरी मान्छेको जीवन घटनै घटनाको एउटा श्रीङखला त हो नि, होइन र ?
युवती : कसरी ?
*
युवक : मान्छे जन्मिन्छ त्यो पनि एउटा घटना हो । जीवनभरी अनेकौं घटनाहरु घटिरहन्छन् उसको जीवनमा । र अन्तमा उसको मृत्यु हुन्छ, त्यो पनि एउटा घटना नै हो । तिमी र मेरै कुरा गरौं न, हाम्रो जीवनमा कती घटनाहरु घटे होलान् । चिनजान, प्रेम, मिलन, बिछोड फेरी पुनर्मिलन... यो अन्तरालमा कती साना ठुला घटनाहरु घटे होलान् ।
*
युवती : त्यसैले त म पनि जीवनको अन्तिम घटना घटाउन चाहन्छु ।
युवक : फेरी उही अपसगुन अलाप्दैछ्यौ ?
युवती : त म के गरुँ ?
युवक : बाँकी जीवन हाँसेर बिताउने, सिर्जना र निर्माणमा खर्च गर्ने ।
युवती : तर यो एकदमै असम्भव छ ।
युवक : सम्भावनाको सानो फाँटमा प्रयासको एउटा बिरुवा रोपेर त हेर... !
युवती : फेरी यो पेटको.... ???
युवक : ( बिचैमा बोल्दै ) मैले धेरै पटक भनिसकें, जन्मन पाउनु पर्छ यसले ।
युवती : तिम्रो मतलव, म फेरी एउटा कुपुतलाई जन्म दिएर एुती कलङ्कित आमा बनूँ ।
युवक : कसलाई थाहा छ ? यो ईतिहासको सबभन्दा उत्तम युगपुरुष / नारी को रुपमा जन्मिन पनि सक्छ । बुद्दको प्रतिनिधिको रुपमा पनि त आउन सक्छ यस धर्तिमा ?
युवती : छोरा नै जन्मेला भन्ने के पक्का छ ?
युवक : के छोरीले चाँही युग नायिका बन्ने सामर्थ्य राख्दैनन् र ?
युवती : यो गर्भ अबैध हो, कसले दिन्छ यसलाई वैधानिकता ?
युवक : के म यो भार बहन गर्न सक्दिन ? के म लायक छैन र ?
युवती : यो तिमी के भन्दैछौ प्रभाकर ?
युवक : के हामी पुन: एउटै बाटो हिंड्न सक्दैनौ ? हाम्रो अधुरो प्रेमलाई मूर्त रुप दिन सक्दैनौ फेरी ?
युवती : यसको मतलव, अझै तिमी मलाई स्वीकार्ने पक्षमा छौ, प्रभाकर... ?
*
युवक : हरेक समस्याको समाधान भनेकै समझदारी हो । मान्छेले नै गर्छ भूल, तर सुध्रिनको लागि सहज बाटो पाएन भने अझ धेरै भूलहरु हुँदै जान्छन् । तिमीले मलाई छोडेर जानु एउटा सानो भूल थियो तिम्रो । तर जबर्जस्ती तिमी बलात्कृत भएर तिम्रो पेटमा हुर्किंदै गरेको शिशुको कुनै भूल छैन । यती सानो कुरालाई पनि हृदयंगम गर्न सकिन भने मैले के मानवताको कुरा गर्नु ? यो जटिल घडीमा हामीबिच आपसी सद्भाव रहन सकेन भने, हामी दुबैको जिन्दगी बर्बाद हुन सक्छ । मैले आफ्नो देश र समाजप्रतिको दायित्व झन्डै भूल्ने अवस्था सम्म पुग्नु तिम्रो प्रेम पिडाको कारण पनि हुन सक्छ । झगडा होइन, मिलेर समाधान खोज्नुपर्छ अब । सानातिना कुराहरुलाई पहाड बनाइनु हुँदैन । शान्तिपूर्ण आपसी समझदारी नै समाधानको उपयुक्त उपाय हो भन्ने वस्तुनिष्ठ तथ्य पेश गर्न चाहन्छु म यो अबुझ र द्वन्दग्रस्त समाजलाई । अनि यो खराब समाजको कुरुप चित्रलाई परिवर्तनको युगान्तकारी क्यानभासमा उतार्दै अग्रगमनतिर धकेल्न चाहन्छु । यो काम हामीले नै शुरु गरेर देखाइदिन सके,अरुले पनि सिक्ने थिए कि जस्तो लाग्छ मलाई... ।
*
युवती : ( आँखाबाट आँशु झार्दै ) तिमी महान छौ प्रभाकर । म छताछुल्ल भएँ तिम्रो उत्कृष्ठ मानवता देखेर । युगले तिम्रै पक्षमा सहिछाप गर्नेछ ।
*
युवक : ( भावुक हुँदै ) यो संसार थाम्ने चिज मायाँ र विश्वाश रहेछ अनामिका ! तिम्रो अभावमा मेरो जिन्दगी धेरै विषम बन्यो । उदास,उराठ र निराश मन लिएर निक्कै भौंतारिएँ म पिडाको भारी बोकेर । जीवन आँफैलाई भार हुन थालेको थियो । जिन्दगीदेखी अघाएर झन्डै-झण्डै मृत्युसँग सम्झौता गर्ने अठोट सम्म पुर्यायो मलाई यही मायाँले । मेरो मनभित्र एउटा नमिठो आर्तनाद भित्रभित्रै चहर्याइरहेथ्यो । तिम्रो अनुपास्थितिको जिन्दगी अभिषाप झैं लाग्दैथियो । कत्ती गहिरो प्रेम गरेको रहेछु मैले तिमीलाई । आँफै रुँदै, आँफै मन बुझाउँदै गर्दै थिएँ यो हिंसक र स्वार्थी समाजको रमिता बनेर । यहाँ, गुम्बामा आएर दुर्लभ शान्तिको खोजी गर्दै थिएँ , भिक्षुका कुराले अलिकती प्रेरणा मिल्यो बाँच्ने । प्राप्ती मात्र प्रेम होइन, भन्ठानेर जीवन संघर्ष गर्ने झिनो प्रयास हुर्काउँदै थिएँ । तिमी आयौ, मुटुमा बिझेको काँढा निस्किए झैं लाग्यो । सबैथोक पाए जस्तो अनुभव भयो । मरीसकेका रहरहरु फेरी बौरिए । बाँच्ने इच्छा प्रवल भएर आयो ममा एकाएक । समयको खेलले हामीमा सामिप्यताको ध्रुवीकरण ल्याए पनि अन्तत: मेरो पवित्र प्रेमको शक्तीका कारण तिमीलाई कसैले हर्न सकेन मबाट । अब हामीले मान्छेलाई मानवताको डुंगा खियाउने तरिका देखाउन मात्र सक्यौं भने पनि यो भूगोलमा बिद्द्यमान शत्रुताको बाढी केही हद सम्म सङ्लिन्छ कि जस्तो लाग्छ मलाई । ( छेउको उही लाश देखाउँदै ) यि हेर, यो वेवारीसे लाश... लामो समयदेखी अलपत्र छ । एउटा पागल आएको थियो, मलामी खोज्न गएको उतै हरायो । शायद ऊ पनि कसैको निशानामा पर्यो होला । एउटा बृद्द र एक किशोर आफ्नो अपहरित खुशी र अधिकारको रिहाई माग्दै भौँतारिदै थिए,कहाँ पुगे होलान् ? साँच्चै अनामिका, अब मानवताको लागि केही गर्ने जाँगर पलाउनै पर्दछ हामीमा । ( युवतीको हात समात्दै ) आऊ ! शान्ती,समझदारी,भाइचारा र मेलमिलापको यात्रा हामीबाटै शुरु गरौं । यही बिन्दु,प्रसङ्ग र मुद्दाबाट थालौं सानातिना कुरालाई बिर्सेंर एकार्कालाई स्वीकार्नु पर्दछ भन्ने मान्यताको श्रीङ्खला । हामी नै नमुना बनेर देखाइदिऔं, यो समाजका पथभ्रष्ट पथिकहरुलाई । आऊ ! अब हामी यो वेवारीसे लाशलाई आफ्नोपन दिएर उठाऔं । मान्छेले लगाएको मान्छेको घाउमा महलम पट्टी लगाऔं । शन्ती र सद्भावको शङ्खघोष गरौं । आपसी वैमनश्यता हाम्रा आ-आफ्ना विगत सँगै छोडिदिऔं । अब अलग बाटो होइन, एउटै बाटो हिंडौ । एक्लै होइन, सँगै हिंडौ । " आऊ ! हामी सँगै हिँडौ ।" त्यो सुदूर,सुन्दर र उज्यालो गनतव्य छुन... ।
*
( युवक र युवती हातेमालो गर्दै लाशतर्फ लम्किन्छन् । मन्चमा एकाएक उज्यालो प्रकाश देखिन्छ । गुम्बाभित्र र वरिपरी पुन: दियोहरु बल्न थाल्दछन् । नेपथ्यबाट ॐ शान्ति... ॐ शान्ति... ॐ नमो बुद्दाय... ॐ नमो बुद्दाय... ॐ शान्ति... गुन्जिरहन्छ,निरन्तर... निरन्तर... । )
*
।। पटाक्षेप ।।
*
[ पर्दा खस्छ ]
*
( रचनाकाल : २०६२ )
*