जब मैले त्यस बालकलाई नानी भन्न पाएथेँ, उसको तोतेले म ब्यूँझदै गएँ, ऊ बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन् ।
मलाई नरम र कोमल सब चीज आएर त्यसबेला स्पर्श गर्थे, जब मलाई देखेर उसका दुई–आधारे नजर मुस्काउँथे । म सानो ईश्वर बनेझैँ उसको दुनियाँलाई आधार दिन्थेँ, ऊ प्रकृतिले नै बुझिरहेकी थिई ।
उसको आफूमाथिको आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु वा हिँसा गर्नु मानव प्रकृतिको विरुद्ध रहेछ । मैले कोपिलाहरूलाई चुँड्न सकिनँ, घाँसका मुनाहरू उखेल्न सकिनँ ।
मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे ।
आफूमा आधार र पूर्ण विश्वास लिने वस्तु पाउनु मलाई कुवेरको जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको कोमलता र सुगन्ध भर्न मन लाग्यो ।
मलाई एउटा माली बनूँ–बनूँ लाग्यो र बीउ बिनी–बिनी रोपूँ जस्तो लाग्यो । मेरा भावनाहरू अप्रकट थिए तर हृदयले हृदयलाई नबताए पनि त्यसै बुझ्दथ्यो ।
ऊ बिरामी हुन्थी, बराबर मेरो हृदय जापक बन्दथ्यो । म अविदितको पुजारी बन्न लाग्थेँ, जब उसको आत्मा दुःखको शब्द निकाल्न लाग्थ्यो ।
मैले मेरो जीवन बुझेँ त्यस बेला, जब उसले आधार खोज्दथी । म कथा भन्न लागेँ, भन्दाभन्दै तिनमा विश्वास गर्न लागे, रामचन्द्र र कृष्णजी साँचा हुन् भन्ने उसैले बुझाउन लागी ।
म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु, म हत्याराहरूसँग क्रूर लडाई गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजिक हिँड्दै आउन लागेको देख्तछु !
म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवाफदेही राख्तछु ।