छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव !
फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् !
सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी !
ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ?
रसाल भार रेशमी विचित्र चित्र रेखिए !
बन्यौ कि फूलले तिमी ? सुगन्ध ली हवा बहे !
रङ्गीन ज्यान झ्यालकी ! बजारबीचकी उषा !
उपास्दथें म अम्बिका ! झसङ्ग झैं यहाँ भएँ !
शरन्निशा तिमी झुकी, झिकी लजालु घूँघट,
स्मिति–प्रयोगिनी बनी, जिती सफेद चाँदनी,
सितारिंदी उदाउँछयौ ? बनाइ अङ्ग मख्मली ?
टुना गरेर चित्तमा चकोरका झिलीमिली ?
अनङ्गबाण झैं बस्यौ ? मिलिन्द डाक्न चञ्चली !
स्वरुप–शिल्पकारको टुना गवाउनाकन ?
म हूँ सितार स्नायुको, बजीरहेछु झन्किँदै !
समुद्र आज हो बडो छचल्किँदो जुनेलिँदै !