दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।
म थिएँ त्यस बेला बेनामी अड्डाको बहीदार । अड्डा बेनामी भन्दैमा आफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि । खासखुसबहादुर खतिवडा भनेपछि सिंहदरबारदेखि लिएर कमिलाकुटीसम्म मलाई नचिन्ने कोही थिएन । बाहिर छउन्जेल घुम्ने, भित्र छउन्जेल उभ्ने भएकोले कोही मलाई बहीदारको सट्टा फुइँदार पनि भन्ने गर्थे । तर के गर्नु र ! प्रमोसन पाउने बेला भयो कि आइपुग्थ्यो अर्कै जगरसेठ, कहिले नेतामार्का, कहिले नातामार्का ।
मलाई एक दिन झोकै चल्यो, दर्जाको पछाडि एउटा ‘टर’ नझुन्डिएको जागिर के खानु ? किनभने जमानै ‘टर’ को छ हेर्नोस् न- मिनिस्टर, डाइरेक्टर, इन्सपेक्टर, मास्टर, डाक्टर, एडिटर, अडिटर इत्यादि । पुलिस इन्सपेक्टर नपाए बस कन्डक्टर नै सही, एडिटर नपाए कम्पोजिटर नै सही, एउटा ‘टर’ त झुन्ड्याउनै पर्छ बा ! यो जाबो बहीदार सधैँको दिक्दार । यस्तै कुरा सोच्तै मकैमार्का बेसनको लड्डु खाएर चुइँचुइँ कराउने साइकिलरुपी छुचुन्द्रोमा गणपति लम्केझैँ ढल्किँदैढल्किँदै हल्लिरहेको थिएँ ! नयाँसडकको मूल ढोकैमा प्रसिद्ध नेता कछुवाकान्त कार्की भेट भए । साइकिलबाट ओर्ह्लंदै नमस्कारपूर्वक मैले सोधेँ- “नेताजी कता ?”