ओएलपिसि एक सस्तो शैक्षिक ल्यापटप कम्प्युटर हो जसलाई विश्वभरका हरेक बालबालिकाहरू माझ बाँड्ने योजना बनाइएको छ, खास गरेर विकासोन्मुख मुलुकहरूमा। १०० डलरको ल्यापटप वा प्रति बच्चा एक ल्यापटप भनेर चिनिने यस ल्यापटपको आधिकारिक नाम XO-1 हो। नेपालमा यस ल्यापटपलाई 'मेरो सानो साथी' भनेर नामकरण गरिएको छ। यस ल्यापटपको मुख्य उद्देश्य ज्ञान र शिक्षाको आधुनिक रूपको पहुँच बालबालिकाहरू माझ पुर्याउनु रहेको छ। यस ल्यापटपको विकास प्रति बच्चा एक ल्यापटप (अर्थात, One Laptop Per Child, OLPC) ले गरिरहेको छ। ओएलपिसि अमेरिका स्थित एक गैर सरकारी नाफा रहित संस्था हो, जसको स्थापना एमआइटि मिडिया ल्याबका अध्यापकहरूले त्यस ल्यापटपको परिकल्पना, निर्माण र वितरणका लागी गरेका हुन्।
विशेषत: बलियो तथा कम उर्जा प्रयोग गर्ने यो ल्यापटपमा हार्ड डिस्कको सट्टामा फ्ल्यास मेमोरी राखिएको छ र सञ्चालन प्रणालीको रुपमा लिनक्स राखिएको छ। यसमा रहेको ताररहित सञ्जालको सुविधाद्वारा एक भन्दा बढि ल्यापटप बीच सूचना आदानप्रदान गर्ने सुविधा पनि यस ल्यापटपमा रहेको छ।
यस ल्यापटपलाई बालबालिकाहरूका अभिभावकले किन्ने नभइ सरकारी तवरमा देशका हरेक बच्चालाई बाँड्ने लक्ष्य राखिएको छ। यस ल्यापटपको मूल्य अहिले १३५ देखि १७५ डलरसम्म पर्ने गर्दछ। तर सन् २००८ सम्ममा ठुलो मात्रामा उत्पादन गर्दा यसको मूल्य १०० डलर सम्ममा झार्ने लक्ष्य राखिएको छ। यस ल्यापटपको उत्पादन गर्ने ठेक्का ताइवानको क्वान्टा नामक कम्पनीले पाएको छ। ओएलपिसिलाई ए.एम्.डि, इ-बे, गुगल, मार्भल, न्युज कर्पोरेसन, रेड ह्याट जस्ता बिभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले प्रायोजन गरेको छ। पछिल्लो समयमा इन्टेल पनि यो सुचीमा थपिएको छ। त्यस्तै संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले पनि यस ल्यापटपलाई सहयोग पुर्याउने बताएका छन्।