हजुर पाल्नुहुँदा सिमला पुरी
मकन ल्याइदिनु सुनका चुरी ।
लोकप्रियादेवी व्यक्तिगत रूपमा जति असल थिइन् त्यति नै प्रतिभाकी धनी
पनि थिइन् । पण्डित तिलमाधव देवकोटाकी छोरी भएका नाताले मात्र नभई र महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी भएका नाताले मात्र पनि नभई लोकप्रियादेवी स्वयं नै एउटी प्रतिभासम्पन्न कवयित्री थिइन् । आफूले एकपटक सुनेको जुनसुकै श्लोक पनि उनलाई कण्ठ हुन्थ्यो । कसैले कथा भन्यो भने त्यो पनि उनी पानी पार्थिन् ।
लोकप्रियादेवी सानैदेखि काव्य लेख्थिन् । कुनै विषय वा प्रसङ्ग लेख्नुपर्यो भने उनी कवितामा नै लेख्ने गर्थिन् । त्यसैले उनी कसैलाई चिठी लेख्ता पनि कवितामा नै आफ्नो मन खोल्ने गर्थिन् । आफ्ना पति भारत जाँदा पनि उनले कवितामा चिठी लेख्ने गर्थिन् । आफूलाई चाहिने चिजबिज पनि उनले कवितामार्फत नै पतिसँग माग्ने गर्थिन् ।
पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीदेवीका छ छोरा र सात छोरीमध्ये लोकप्रियादेवी काइँली छोरी थिइन् । यिनी संवत् १९५५ जेठ महिनामा काठमाडौंमा जन्मेकी थिइन् । यिनको चिनाको नाउँचाहिँ हुतलक्ष्मी थियो । तर यिनलाई घरमा कसैले पनि हुतलक्ष्मी भन्दैनथे; घरमा यिनलाई काइँलीमैयाँ भनेर बोलाउने गरिन्थ्यो ।
लोकप्रियादेवीको बाल्यकाल बाबुआमाको अपार मायामा बित्यो । उनी सोझी, सरल र इमानदार थिइन् । उनको बानीबेहोराले घरका सबैले उनीप्रति विशेष स्नेह राख्थे । त्यतिमात्र होइन आफ्ना घरमा आउनेजाने र छरछिमेकीले पनि उनलाई बिछट्टै माया गर्थे । उनको बालकलाको धेरैले तारिफ गर्थे किनभने उनका बोलीवचन पनि काव्यात्मक ढाँचाका हुन्थे । यीबाहेक उनी मिलनसार र मायालु स्वभावले भरिएकी नारी थिइन् । सानै उमेरदेखि नै अरूको अड्को पड्को पनि उनी बुझ्ने गर्थिन् ।