कोशीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोगव्याधि फिंजियो । ती असहायका सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि स्वयंसेवकको दल लिएर एउटा गाउँमा पगें । साथमा कुइनेन, क्लोरोडाइन, पोटाश पर्मेगनेट इत्यादि औषधि थिए ।
बनारसबाट हिंड्दा हामीहरूले सारा प्लान छलफल गरिसकेका थियौं । एउटा इलाकामा पुगेर त्यहाँका गाउँ-गाउँमा गई औषधि बाँड्ने प्रत्येकले आफूलाई चाहिने कुरा लिएर हिंड्नुपर्थ्यो । मैले औषधि त लिएँ लिएँ झूल पनि बोकें, तर दुर्भाग्यवश पुस्तक लिन बिर्सेछु ।
इलाकाको इलाका पानीमा थियो । पानीबाट माथि उठेका झारहरूमा फट्याङ्ग्रा, कमिला र अरू साना-साना कीराले आश्रय लिएका थिए । एक-दुई नडुबेका अग्ला ठाउँमा लोग्नेमानिस, स्वास्नीमानिस, बालकबालिकाहरू कमिलैसरह स्याउँस्याउँती थिए । रोग र भोकले व्याकुल ती किसानहरू उभिन नसकेर त्यसै जथाभाबी लडिरहेका थिए - चितामा सुतेका जस्ता । तिनीहरूमध्ये कतिले सुत्तासुत्तै अन्तिम सास फेरिसकेका थिए, तर नजिकै टाँसिएर सुतेका अरू अझै बाँचिरहेकालाई यो कुरा थाहै थिएन । एउटा बान्ता गर्दागर्दै पानी नेर मुन्टो गाडेर पछारियो । बेला-बेलामा मर्नुभन्दा पहिले निर्धक्क भएर चिच्याएको कुकुरजस्तो क्रन्दन सुनिन्थ्यो । यो त मैले त्यो ठाउँको वर्णन गरें जुन ठाउँ बाढीको सबभन्दा ठूलो प्रकोपमा परेकि थियो । सरकारी विज्ञप्तिमा यो ठाउँमा प्राय: १०,००० मान्छे मरेको सूचना थियो ।
हामीहरूले यसैलाई आफ्नो क्षेत्र छान्यौं । यै ठाउँमा कम्मर कसेर काममा लाग्यौं । हाम्रो मुख्यो काम थियो मरिसकेको संस्कारको प्रबन्ध गर्नु, बाँचेकाको पेटमा अन्न पार्नु र रोगीलाई औषधि र पथ्य दिनु । मरिसकेकालाई हामीले छुट्ट्यायौं । बाँचेका मध्ये पनि रोगी र निरोगीलाई छुट्ट्यायौं । नजिकैको गाउँसम्म बोकेर लैजान सक्नेलाई बोकेर पुर्यायौं र वहीं उसको खाने र औषधिको प्रबन्ध गर्यौं । अरूलाई त्यहीं बाँधमै खानेकुराहरू पुर्याउन थाल्यौं । धेरैलाई यसरी बचायौं भन्ने विश्वासले हामी दिन-रात केही नमानेर भोक-तिर्खाको वास्ता नगरेर मिहिनेत गरिरह्यौं ।