आँसु खसाली रोइरहेथेँ जीवन-वनको बीच,
खोजी खोजी कतै तपाई मेरा मनको चीज ।
टुटे फुटेको आशामाथि नयन दुःखीका नीर !
कहाँ कहाँको, कता कताको, मेरो मनको पीर !
लालसाले मोहिनीको रुप गरी धारण,
बोली, गहना झलकाई “रुन्छौ तिमी कुन कारण !
विलासको यो महल मनोहर, हुन्छु म तिम्री रानी ।“
मैले बोलें, “हुन्छ सबै यो भोलि धुलो र खरानी ।“
कुबेर बोले, “नोकरि लेऊ दिन्छु म दौलत अनगिन्ती,
मेरो सेवक हेर उज्याला, सेज सुनौला झुल्छन् ती !”
मैले बोले, “धनका मालिक ! संझन्छु धनको मोल,
अन्तस्करणको स्वतन्त्रता यो तर छ अहा ! अनमोल ।“
ताज सुनौला माथ लगाई यश आई फुसलायो,
“मेरो पछि आऊ भाइ ! मौका सुन्दर आयो !
छाँट काँटमा मिलिकन आऊ, परिचित गर्छु तिमीलाई ।“
मैले बोले, “चिथरा लाउँछु, ठग्दछु सत्य म भाइ ।“
शक्ति प्रियाले आई बोलिन्, “दिन्छु म मीठा मेवा ।“
मैले बोले, “मेरो अमृत मानिसहरुको सेवा ।“