क्षितिजपारी कुन दूरदेशमा थकित छौ तिमी
कसैको मनमा रोज अभिनन्दित छौ तिमी
सम्झनु र तिम्रा लागि ब्यग्र हुनु मेरो नियति भो
किन मेरो प्रेमिल मनसंग अनभिज्ञ छौ तिमी
क्षितिजपारी कुन दूरदेशमा थकित छौ तिमी
कसैको मनमा रोज अभिनन्दित छौ तिमी
सम्झनु र तिम्रा लागि ब्यग्र हुनु मेरो नियति भो
किन मेरो प्रेमिल मनसंग अनभिज्ञ छौ तिमी
न मुस्कुराउँछन् यी ओठहरु, न सजिलै मर्छ जीवन
न त्याग्न सकिन्छ उनलाई, न सजिलै चल्छ जीवन
टुक्रिएका सिसा झै छन् जीवनका कुरूप तस्बिरहरू
न जोडिन्छन् ती फेरि, न रोकिन्छ बग्न यो जीवन ।
दिनगन्तीका हिसाबले यो आठौँ दिन भए पनि उसको एउटा विषय र प्रसङ्गको समाप्ति भएको दिन हो आज । बाहिर झमझम पानी परिरहेछ । नीलालाई पानी परेको सारै मन पर्छ । पानी भन्ने दृश्य र शब्दसँगै पनि उसको ठूलो मोह छ । उसका मनपर्ने वस्तुहरूको सूचीमा पानीको नाम एक नम्बरमै राख्नुपर्ला । तर उसलाई यति विघ्न मनपर्ने पानीको विध्वंस देख्दै, सुन्दै र बुझ्दै आएपछि हिजोआज पानी पर्दा पनि उसलाई डर लाग्छ । आफूले जन्माएको सन्तान विध्वंसक भएपछिको सन्तानप्रतिको मोहजस्तै भएको छ— पानी हिजोआज उसका लागि । यही पानीका कारण हजारौँ मानिस मरेका र लाखौँ मानिस घरबारविहीन भएको समाचार टेलिभिजनमा हेरेपछि पानीप्रतिको उसको वितृष्णा बर्सेनि बढ्दै गएको हो । त्यसैले हिजोआज आफ्नो हट्टाकट्टा लायकदार र सुन्दर आबारा छोरोजस्तै भएको छ पानी उसका लागि । उसको कोठाको झ्यालबाट वर्षाको सङ्गीत सुन्दै र एकनासको बर्साइ हेर्दै ऊ आनन्द र पीडाको दोसाँधमा पौडिइरहेकी छ, तर वर्षालाई नीलाका अनुभूतिसँग कुनै सरोकार छैन । मान्छेका विकासका ठूलठूला उपलब्धिलाई निमेषभरमै तुच्छ तुल्याउन सक्ने प्रकृतिको लीलाबाट मानवजाति अझैसम्म पराजित भएको कुराले पनि उसलाई नमीठो पीडा दिने गर्छ ।
वर्षाको गति अलि मत्थर भएजस्तो छ । केहीअघि बर्सेको पानी पोख्ने क्रममा बलेँसीको धारो अग्रगतिमा छ, तर पानी त्यतिविधि मनपर्ने नीलालाई बलेँसीको पानीको धारो भने मन पर्दैन । पानी रोकिएको धेरै बेरसम्म पनि बलेँसीको धारो खसिरहँदा उसको मन यसैयसै विरक्त हुन खोज्छ ।
अब पानी पर्न पूरै छोडेको छ र बलेँसीबाट पानी खसिरहेको कर्कश आवाज भने उसका कानमा ठोक्किइरहेको छ । हिजोमात्र किनेको कोरियन कम्बलले टाउकोसमेत छोपेर उसले आफूलाई त्यो आवाजबाट पर पार्न खोजी, तर त्यो आवाजले भने उसलाई कम्बलभित्र पनि लखेटिरह्यो । बरु भरखरै किनिएको नयाँ कम्बलको एक किसिमको बास्ना भने उसको नाकले सम्हाल्न लागेको छ । धेरै बेरसम्म ऊ मुख छोपेर सुत्नै सक्तिन । बानी नै छैन । एकदम निसास्सिन्छे । त्यसैले केही बेरमै उसले आफ्नो मुखबाट कम्बल हटाई । लामोलामो सास फेरेर आफूलाई कैदमुक्त अनुभूतिमा ल्याइप्रुयाई । बलेँसीको पानी खसेको आवाज अझै एकनासले कोठाको वातावरणमा फैलिएका कारण उसको मन एकतमासको भइरह्यो । नयाँ कम्बलको गन्धले भने उसको मनमा एक किसिमको आनन्द छाउन खोजेको छ । बलेँसीको धाराले डुबाउन लागेको बेला नयाँ कम्बलको हरकले बचाउन लागेको जस्तो लाग्यो उसलाई । मानिसलाई डुबाउन र बचाउन कत्ति पनि बेर नलाग्ने कुरा पनि यस बेला उसका मनमा आए ।
ओछ्यानमा लमतन्न परेर नै ऊ आफ्नो नयाँ कोठा नियाल्दै छे । एकजना मानिसलाई जीवनयापनका लागि चाहिने सबै कुरा छन्— उसको यो एककोठे घरमा । एउटा सुत्ने कोठा, सँगै टाँसिएको सानो भान्साघर र सँगै स्नानगृह भएको शौचालयले गर्दा यहाँ उसका सामान्य आवश्यकता सजिलै पूरा हुन्छन् । यसबाहेक टी.भी., फ्रिज, ओभन, वासिङमेसिन, इमेल र इन्टरनेट जोडिएको कम्प्युटरसमेतको व्यवस्थाले गर्दा उसको यो घर कुनै पनि सम्पन्न मानिसको घरकै हाराहारीको सुविधादायी थियो । त्यसो त इमेल र इन्टरनेटका बारे उसलाई त्यति राम्रो ज्ञान पनि छैन र उसको राख्ने विचार पनि थिएन । तर उसकी छोरी स्मृतिले सारै नै रहर गरेकी हुनाले उसले पनि इमेल र इन्टरनेट राखेकी हो । “मामु, तिमीले इन्टरनेट र इमेल राखिनौ भने म बेलायत गएपछि कसरी हामी कुराकानी गर्ने ?” स्मृतिले त्यसपछि इमेल र इन्टरनेटका फाइदाहरूको बेलीबिस्तार लगाएकी थिई । छोरीको रहर पूरा गर्ने इच्छाले नै उसले कम्प्युटर र इमेल पनि आफ्नो घरमा राखेकी हो । यो उसको सानो घरमा सबै कुरा हुँदाहुँदै पनि यस घरमा पाहुनापाछाका लागि भने कुनै व्यवस्था छैन र त्यसरी व्यवस्था नभएको कुराले उसलाई नमज्जा हुनुको सट्टा मज्जा लागेको छ; किनभने आजसम्मको अनुभवले पाहुनाहरूबाट कुनै रमाइलो अनुभूति सँगाल्ने अवसर उसले पाएकी छैन । सुखका बेलामा डकारीडकारी खाने तिनै पाहुनाले दुःखका बेला उपहास गरेको अनुभव पनि उसले सँगालेकी छ । त्यसैले अबको यो नयाँ घरमा पाहुनाको ‘प’का लागि पनि स्थान नराख्दा उसलाई एक किसिमको अनौठो सुखद मिठास भएको छ । त्यसो त यो तयारी घर किन्ने क्रममा दुईओटा र तीनओटा सुत्ने कोठा भएका घरहरू पनि दलालद्वारा उसलाई नदेखाइएका होइनन् । आफ्नी एकमात्र छोरी स्मृति पनि लगत्तैजसो विदेश पढ्न जाने र उसका लागि छुट्टै कोठाको व्यवस्था गर्ने कुरामा स्वयम् स्मृतिले नै पनि अस्वीकार गरेकी हुनाले उसले यही एककोठे घर नै रोजेकी हो । त्यसैले आफूसँग पर्याप्त धन हुँदाहुँदै पनि उसले आफूबाहेक अरूका लागि नहुने यो घर किनेकी हो ।
हिजोसम्म मानिस भन्ने जीवसँगको आत्मीय न्यानोले भिज्ने उसलाई आज तिनै मानिसको सूक्ष्मांशले पनि पिरोल्न थालेको छ । मानिसको गल्लो स्वादले आजित भएकी ऊ अब मानिससँग ननजिकिने निर्णयमा पनि पुगेकी छ ।
धेरै दिनदेखि मेरो मनःस्थिति असन्तुलित छ । यी गाउँ र सहरहरूको भविष्यसँग वर्तमानले खेलबाड गरेको देख्ता मलाई वर्तमानसँगै घृणा पैदा भएको छ । यो देशका प्रत्येक मानवीय जीवनसँग जोरी खोजिरहेको परिस्थितिले मेरो हृदय कम्प गराइरहेछ । म भन्न अनि निश्चित गर्न सक्तिनँ धेरै दिनदेखि मलाई किन यस्तो भइरहेछ ? मेरा प्रत्येक अङ्ग–प्रत्यङ्गहरू कामेर जुरमुराउन खोज्छन् केही निश्चित बाटो पहिल्याउन, सुन्दर भविष्य तयार गर्न, तर पनि स्थिति यति विकराल छ जहाँ म खुट्याउन पनि सक्तिनँ । आज म सबेरै बिउँझिएको छु । दैनिक कार्यतालिकाअनुसार मेरो चिया आइपुगेको छैन । चिया आइपुग्न अझै दुई घण्टा बाँकी छ । चियाका लागि मैले दुई घण्टा प्रतीक्षा गर्नु छ । मैले निश्चय गरेँ, आज बिहानको चिया म मेरो साथी जीवनकहाँ पिउँछु । यो विचार गरी म घरबाट निस्किएँ ।
जीवन मेरा धेरै पुराना साथी हुन् । उनी एक सरकारी कार्यालयमा नायवसुब्बा छन् । काठमाडौँको ठाउँ, एउटा सानो डेरा ! बस्, राम्रै छ । उनकी श्रीमती आफैँ खाना बनाउँछिन् । दुई बच्चा स–साना, स्कुलमा पठाउने बेला भइसकेको छ । जीवन अफिस जानुअघि र अफिसबाट फर्किएपछि छोराछोरीसँग भुल्ने गर्छन् । किनभने उनकी श्रीमतीलाई उनले बिहान–बेलुका बच्चाबाट फुर्सद पनि त दिनु छ ! उनको पारिवारिक सुख देख्ता मलाई आहारिस लाग्छ । कति रमाइलो वातावरण छ उनको घरमा ! सबै काम विनानोकर टाकटुक सकिन्छ ।
जीवनको कोठाको ढोकामा नपुग्दै अनायास मेरो खुट्टा रोकिन्छ । भित्र दुई लोग्नेस्वास्नीबिचमा भएको गनगन सुन्न पुगेँ । मैले जीवनलाई बोलाउने हिम्मत गर्न सकिनँ र त्यहाँभन्दा अगाडि बढ्न पनि सकिनँ । ती दुईको कुराकानी म टड्कारो सुनिरहेको छु ।
“तिमी किन कुरा बुझ्दिनौ बाबा ! मात्र कचकच गरिरहन्छ्यौ । पैसा हुनेले बोर्डिङमा पढाउन्, दार्जिलिङ पठाउन् र लन्डन प्रुयाउन्, मलाई केको मतलब छ ? भएको खान देऊ । घरमै पढाऊ । अर्को साल त्यो दोबाटोको प्राइमरी स्कुलमा भर्ना गरिदिउँला । मेरो प्रमोसन पनि हुन्छ र पैसाले पनि पुग्छ ।”
“हजुरले पोहोर साल पनि त त्यसै भन्नुभएको थियो ! छोरो छ वर्ष पुगिसक्यो, छोरी चार वर्ष पुगिसकी । कहिले स्कुल भर्ना गर्ने, केही निधो भएन । उहाँ रामकृष्णका छोराछोरी परारदेखि नै बोर्डिङ्मा पढ्दै छन् । हजुरकै जस्तो सुब्बासाहेब दर्जा त हो नि उसको !”
श्रीमतीले कुरा नबुझेकीमा जीवन झर्कँदै भन्छन्— “तिमी कस्ती अबुझ छ्यौ ! तिमीलाई थाहा छ मेरो तलब कति छ ? त्यसबाट घर राम्रो गरी चल्छ कि चल्दैन ? कति महिना भइसक्यो चिया खान छाडेको । बिहान– बेलुका उसिना चामलले मात्र तिम्रो पेट भर्न सकेको छैन भने कसरी यो साल केटाकेटीलाई स्कुल पठाउनु ! भन्न सजिलो छ, स्कुल पठाउने त हो नि ! लुगा हालिदेऊ, किताब किन, तिर स्कुलको फिस । अब तिमी कुरा गर्छ्यौ रामकृष्णको । उसले किन नपढाउनु ! त्रिभुवन एयरपोर्ट भन्सार कार्यालयको जागिरे नासु । उसको दैनिक आम्दानीले उसकै तीन महिनाको तलबलाई जित्छ । त्यति मात्रै ? एक वर्ष टिक्यो भने जिन्दगीभर सुती–सुती खान पुग्छ । अब हेर न, दुई वर्षअगाडि खरदार हुँदा तीन महिना बस्न पाएको थियो । उसको स्ट्यान्डर नै अर्कै भयो । उसको कुरा गरेर पनि हामीलाई हुन्छ ? भो नकराऊ, भात पकाउन जाऊ । अफिस जान अबेर हुन्छ ।”
पुराना ति घाऊ हरु बल्झिएर रोए कती
थाकेका यि पाउ हरु अल्झिएर रोए कती
बिर्षौ भन्छु मनले नसकिन्दो रहेछ साथी
छातीभित्र आगो हरु सल्किएर रोए कती
वर्षौ पछी टोलाउदैछु उही यादमा फेरी
परेली मा आशु हरु छल्किएर रोए कती
नत देखे नत सोधे कसैले ढलेको पल
धुलोसरी इच्छा हरु कुल्चिएर रोए कती
कसलाई भनु म शहिद, मृत्यु-दण्ड दिई झुण्डाईयो, जसलाई
कसलाई भनु कर्मबिर, देशका लागि रगतका बगाए,उसलाई
या जिउदै मर्न बिबश ती, सहिदका आमा र बिधवाहरुलाई
या ब्यर्थै झुन्डाएका, ती मास्टर र उनका परिवारलाई - !
हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा ।
अरु ता मैले के गर्न सक्थेँ ! अपढ-अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी ।
घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी ।
यिनको वास बिर्साइदिन्छ वरको परको,
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको ।
जो मैले गुँथेँ पहिर भाइ ! पहिर बहिनी !
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि ।
नेपाली माटो स्वर्गको किरण भरेर झन्क्यो मूल,
नेपाली वास्ना भएर निस्के अत्तर देशी फूल,
एकान्त वनमा फूलपरी रङ्गमा पस्सिए फुर्फुरी,
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी ।
सबैसँग मिल्न थाल्दा
साथी बड्न थाल्यो
रिसराग फाली दिदा
शत्रु घट्नु थालयो ।
राम्रो बानी गुणा गर्दा
सबैजना खुशी भए
नराम्रो बानी भाग गरे
औधी माया पाए ।
बोल्दैनौ किन म संग आजकल
कुरा खोल्दैनौ अन्तरमनका आजकल
जीवनका नियतिका बहावमा टाढिदैछु पलपल
बहाना व्यस्तताको बनाई बदलिदैछौ आजकल - !