शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए ।
सशस्त्र द्बण्दको सास्ती खेपेर पहिलोपल्ट उत्मुक्त श्वास फेर्न पाएका ग्रामिण भेगका जनताको यथार्थ स्थिति थाहा पाउन जनयुद्धका कमाण्डर गाउँ जाने निधो गरे । राष्ट्रसंघका प्रतिनिधि पनि साथै जाने कुरा पक्का भयो । गाउँ जाने सबै जना चढेको हेलिकप्टर डाडाखर्कको चाक्ले बारीमा धुलोको कुहिरीमण्डल पारेर उत्रियो । नेताको पूर्व आदेश अनुरुप पुराना मिलिसियाहरु हातमा फूलमाला लिएर बारीको डोरामा तैनाथ भए । पल्लावारी भरी मान्छेको कुँडुलो लागेको थियो ।