मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि' चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे । उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए ।
मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही दफामा आफ्नो बुढी औठा थिचे । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धानको लर्को अझै तानिँदै छ ।