आइन् वर्षा हररर चढी वायुपङ्खी विमान,
पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान ।
झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा,
चूली नाघिन् प्रकृति कलिलिन्, देखिंदै दूर टाढा ।
बाफैको हो रथ त हलुका, शानले त्यो विशाल
पत्रे बुट्टा रजत–तहमा पर्छ कल्सिन्छ छाल ।
मुस्किन् विद्युत् वरुणदुहिता साँवली कोमलाभा
गोरा डाँडा विचरन चुली उल्किई, देखिंदामा ।
फर्फर पार्छिन् चदर हलुका, लत्रिंदो, मेघ ह्वैन,
लाखौं मोती—लुङ नपहिरी चित्त बुझ्ने हुँदैन ।
पोल्टो झोली रतन—निधिका स्नेहले मुस्कुराइन्,
यौटा मोती—लुङ चुँडिन गै शैलमा झर्झराइन् ।
नाच्दी, कुद्दी, हरष उछली, यानमै आजलाई
आएकी ती तुहिन–कलिली पार्वती भेट्नलाई,
गाँऊ भन्छिन् जगत् छहरी स्वर्गको दिव्य तान,
ठाडा बन्छन् श्रवण कविका शीतलो सुन्न गान ।
आशङ्काले भुरभुर गुँडै सम्झिंदा पङ्ख नाना
जाओ बच्चाहरु नतरसून् गर्जिदा स्वर्ग–छाना,
लर्बर् गर्दा कुशल कमिला ! लौ गरे हे हतार,
तेसै ओर्ली चिर चकँरिंदो चील ! होला अबेर ।
तस्वीरै झैं अलि छिन उडी वायुले पक्ष फेर्दा,
सन्नाटामा तरुवरहरु ! उक्लिंदो खात हेर्दा,
पर्खी बस्थ्यो पवन पहिलो सुन्न फर्मान दूर
तिम्रा राजा सलिलनिधिका ! लौ सुने यो नुहेर !