आज हामीले पाएको स्वतन्त्रता, नागरिक हक र अधिकार सजिलै पाएका होइनौं । विभिन्न किसिमका बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वभरिका जनता निरङ्कुशताविरुद्ध लडेका छन् । फलस्वरुप अधिकार प्राप्तिको लागि विभिन्न कालखण्डमा भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । सहिद त्यो हो जसले लोकहितमा बिना स्वार्थ आफूलाई समर्पित गर्ने गर्दछ । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर स्वस्फुर्त निरन्तररुपमा लड्दछ ।
नेपालमा जहानीया शासनविरुद्ध धेरै सहिदले जीवन बलिदान दिए । फलस्वरुप हामीले जहानीया राणा शासनबाट छुटकारा पायौं । देशबाहिर उर्लेका स्वतन्त्रता तथा मानव अधिकार आन्दोलनका प्रकाशले नेपालमा पनि राजनीतिक परिवर्तन भए । आन्दोलनमार्फत् प्रजा नागरिक भएका हुन् । त्यसैले ज्ञात, अज्ञात सहिदलाई सम्झेर इतिहासप्रति कृतज्ञता जनाउन भुल्नु हुँदैन ।
हाम्रो देश नेपालमा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले आफूविरुद्ध प्रचारप्रसार गरेको अभियोगमा वि. स. १९३३ फागुन २० गते लखन थापा मगरलाई मनकामना मन्दिर नजिकै जङ्गलको एक रुखमा झुन्ड्याएर सहिद बनाइदिए । स्वतन्त्रताको मूल्यखातिर राणाविरुद्ध लखन थापा मगरले विद्रोह गरेका थिए । उनले राणा शासनको अंग्रेजपरस्त नीति तथा निरङ्कुशताविरुद्ध जीवन बलिदान दिए । राणाशासनविरुद्ध यो पहिलो बलिदानी थियो ।
इतिहास र वर्तमान भन्छ, शाह,राणा नेपाललाई आफ्नो बपौती ठान्दछन् । राणा शासनले जनतालाई शासित प्रजाका रुपमा अत्याचारपूर्वक शासन गर्यो । देशलाई सधै अन्धकारमय बनाएर राखे । राणा शासनले लामो कालसम्म शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाबाट देश र जनतालाई वञ्चित तुल्यायो । फलस्वरुप देशमा राणाशासनविरुद्ध लहर उर्लियो । वि.स. १९९७ मा निरङ्कुश राणा सरकारले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई काठमाडौं टेकु पचलीस्थित रुखमा झुन्ड्याएर तथा गोली हानेर सहिद बनायो । नेपाली प्रजातान्त्रिक आन्दोलनमा चारजना वीर सपूतहरूले ज्यान बलिदान दिए । उनीहरू जनताको हक र हितको खातिर प्रजातान्त्रिक आन्दोलनमा अमर सहिद बने ।