आज हामीले पाएको स्वतन्त्रता, नागरिक हक र अधिकार सजिलै पाएका होइनौं । विभिन्न किसिमका बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वभरिका जनता निरङ्कुशताविरुद्ध लडेका छन् । फलस्वरुप अधिकार प्राप्तिको लागि विभिन्न कालखण्डमा भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । सहिद त्यो हो जसले लोकहितमा बिना स्वार्थ आफूलाई समर्पित गर्ने गर्दछ । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर स्वस्फुर्त निरन्तररुपमा लड्दछ ।
नेपालमा जहानीया शासनविरुद्ध धेरै सहिदले जीवन बलिदान दिए । फलस्वरुप हामीले जहानीया राणा शासनबाट छुटकारा पायौं । देशबाहिर उर्लेका स्वतन्त्रता तथा मानव अधिकार आन्दोलनका प्रकाशले नेपालमा पनि राजनीतिक परिवर्तन भए । आन्दोलनमार्फत् प्रजा नागरिक भएका हुन् । त्यसैले ज्ञात, अज्ञात सहिदलाई सम्झेर इतिहासप्रति कृतज्ञता जनाउन भुल्नु हुँदैन ।
हाम्रो देश नेपालमा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले आफूविरुद्ध प्रचारप्रसार गरेको अभियोगमा वि. स. १९३३ फागुन २० गते लखन थापा मगरलाई मनकामना मन्दिर नजिकै जङ्गलको एक रुखमा झुन्ड्याएर सहिद बनाइदिए । स्वतन्त्रताको मूल्यखातिर राणाविरुद्ध लखन थापा मगरले विद्रोह गरेका थिए । उनले राणा शासनको अंग्रेजपरस्त नीति तथा निरङ्कुशताविरुद्ध जीवन बलिदान दिए । राणाशासनविरुद्ध यो पहिलो बलिदानी थियो ।
इतिहास र वर्तमान भन्छ, शाह,राणा नेपाललाई आफ्नो बपौती ठान्दछन् । राणा शासनले जनतालाई शासित प्रजाका रुपमा अत्याचारपूर्वक शासन गर्यो । देशलाई सधै अन्धकारमय बनाएर राखे । राणा शासनले लामो कालसम्म शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाबाट देश र जनतालाई वञ्चित तुल्यायो । फलस्वरुप देशमा राणाशासनविरुद्ध लहर उर्लियो । वि.स. १९९७ मा निरङ्कुश राणा सरकारले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई काठमाडौं टेकु पचलीस्थित रुखमा झुन्ड्याएर तथा गोली हानेर सहिद बनायो । नेपाली प्रजातान्त्रिक आन्दोलनमा चारजना वीर सपूतहरूले ज्यान बलिदान दिए । उनीहरू जनताको हक र हितको खातिर प्रजातान्त्रिक आन्दोलनमा अमर सहिद बने ।
राणाहरूले शाह राजालाई पनि चङ्गुलमा परेका थिए । राणा प्रधानमन्त्रीले शाह राजालाई समेत प्रभाव पारेका थिए । राणाको नियन्त्रणविरुद्ध राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिए । उनी सपरिवार भारतीय राजदूतावासमार्फत् भारतको नयाँ दिल्लीमा पुगे । राजा त्रिभुवन, राणा परिवार र प्रजातन्त्रिक शक्तिबीचमा भारतले दिल्लीमा राजनीतिक सन्धि सम्पन्न भयो । फलस्वरुप, राणा नै प्रधानमंत्री बने तापनि राणाले हडपेको राजाको शक्ति फिर्ता भयो । राजा त्रिभुवन राजगद्दिमा पुनः आसिन भए । यसरी नेपालमा २००७ सालमा प्रजातन्त्र आएको घोषणा भयो । आज हामी यही घटनालाई प्रजातन्त्र दिवसको रुपमा मनाउँछौं । यद्यपि यसलाई राजनीतिक क्षेत्रमा धोखापूर्ण दिल्ली सम्झौता मानिन्छ जहाँबाट नेपालमा भारतको हस्तक्षेप सुरु भयो ।
२००७ सालपछि राजा त्रिभुवन नेपालका राष्ट्रपिता बनेको पाठ पढाइयो । राजा त्रिभुवनले भारतमा लिएको शरण अपमानजनक रहेको र यसले नेपाललाई दीर्घकालीन प्रभाव परेको तथ्य, राजा महेन्द्र र वीरेन्द्रको डायरी युट्युब च्यानलबाट हालै नेपालको गुप्तचरले प्रकाशमा ल्याएको छ । जेहोस्, त्यसपछि राणाले पछिल्लो कालमा सहिद बनाएका चारजनालाई सहिद घोषणा गरियो । यही सन्देश दिन काठमाडौं टुँडिखेलमा सहिदगेट बन्यो । जहाँ राजा त्रिभुवन र चार सहिदको प्रतिमा राखियो । बिडम्बना, राणाविरुद्ध जंगबहादुरकै पालामा लडेका प्रथम सहिद लखन थापा मगरको सालिक भने त्यहाँ बनेन ।
सत्ताले सहिदमाथि खेलवाड गर्ने गर्दछ । देशमा राणा शासन समाप्त भएको औपचारिक घोषणा गरिए तापनि वास्तवमा नेपालको शासन प्रणालीमा राणाहरूको वर्चश्व कायम थियो । त्यसैले आफ्नाविरुद्ध लागेका प्रथम सहिद लखन थापा मगरलाई श्री ५ को सरकारले २००७ सालपछि तत्काल सम्मान गरेन । राणा शासन सकिएपछि पनि उनीहरूको प्रभावले त्यो भयो । जनचेतना र जनदवाका फलस्वरुप लखन थापा मगरलाई वि.स. २०५६ मा मात्र नेपालको पहिलो सहिद भनी घोषणा गरियो ।
लखन थापा मगर समग्र नेपालीका प्रतिनिधि पात्र हुन् । उनले आदिवासीका भावनालाई पनि सम्मान गरेका थिए । जंगबहादुरले जालझेल गरी सत्ता लिएको लखन थापा मगरलाई मन परेन । जंगबहादुरले सत्ता पाएपछि अंग्रेजसित अनावश्यक हेलमेल गरेर देश बेचेको कुरा उनलाई मन परेन । राणाशासनले सन् १८५४ को मुलुकी ऐनद्वारा जनजातिलाई तल्लो जातमा राखेको, राज्यले छुवाछुत र भेदभाव बढावा गरेको लखन थापा मगरलाई झन मन परेन । अन्यायपूर्ण नियम कानुन ल्याएको, शिक्षाको अवसरबाट जनतालाई बञ्चित राखेकामा अब राज्यविरुद्ध उठेनै पर्ने उनले सङ्कल्प गरे । अन्याय, अत्याचारका विरुद्धमा लखन थापा मगरले साहसिक कदम चाले ।
जंगबहादुरलाई सत्ताच्यूच गर्न मगरले मनकामना गढमा मानिस संगठित गरे । उनले वि.स. १९३२ मा चेतनाको दियो बालेर राँके जुलुस निकाले । यसरी सत्ताविरुद्ध उनले शङ्खघोष गरे । जनचेतना र विद्रोहको आगो सल्केकाले त्यसलाई निभाउन जंगबहादुर उत्रिए । अत्याचारी राणाशासनले लखन थापा मगरलाई वि.स. १९३३ मा सहिद बनायो । देशको मुहार फेर्ने सपना बोकेका एक वीर सुपुत्र देशले गुमायो ।
शाहकालीन निरङ्कुश राणाशासनले सामाजिक भेदभाव बढायो । राणाशासनले आदिवासीका भाषा लिपि र संस्कृतिलाई माथि पनि दमन गर्ने नीति लियो । तत्कालीन सत्ताले पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी लिम्बूका भाषा र लिपिमाथि नियन्त्रण गर्यो । भाषा र लिपिमार्फत जातीय एकता गरेर राज्यविप्लव गर्लान् भन्ने त्रास शाह तथा राणा शासकमा व्याप्त थियो । यही क्रममा गोरखा राज्य विस्तार गरेपछि तत्कालीन गोरखाली शासकले वि.स. १८४५ मा तेअङ्सी सिङ (सेन) थेबेलाई चैनपुरबाट लखेटिदियो । थेबेलाई लिम्बू भाषा, लिपि तथा संस्कृति प्रचारप्रसार गरेको आरोपमा तत्कालीन गोरखाली शासकले देशनिकाला गरिदियो ।
थेबे ज्यान जोगाउन त्यहाँबाट सिक्किम भागे । उनले त्यहाँ पनि लिम्बू भाषा, लिपि सिकाउने कामलाई निरन्तरता दिए । त्यसबेला सिक्किममा बौद्ध धर्मावलम्बी शासन गर्दथे । उनीहरू अन्य भाषा, लिपि र संस्कृतिको उपस्थिति सहदैनथे । फलस्वरुप लिम्बू भाषा र लिपिको प्रचारले बौद्ध परम्परामा असर पर्ने ठानेर त्यहाँका लामाहरूले तेअङ्सी सिङ (सेन) थेबेको उपस्थिति असह्य भयो । एकदिन लामाहरूले थेबेलाई पक्रेर अमानवीय तवरले हत्या गरिदिए । यसरी तेअङ्सी सिङ (सेन) थेबे लिम्बू भाषा र लिपिका निम्ति जीवन बलिदान गर्ने वीर सहिद बने । यद्यपि, नेपाल सरकारले उनलाई चिनेको देखिदैन । नेपालको संविधान २०७२ अनुसार नेपालमा बोलिने मातृभाषा नेपाली राष्ट्रभाषा भएका छन् । बिडम्बना, मूलधारको नेपाली खस भाषा साहित्य जगतले नेपालकै किरात लिम्बू राष्ट्रभाषाका सहिद थेबेबारे सोधखोज गर्ने औचित्य देख्दैन ।
नेपाल एकीकरण वा गोरखा विस्तार भएपछि पराजित आदिवासी लिम्बू भाषा र संस्कृतिलाई उसैको रैथाने भूमिमा हुर्कन, बढ्न दिइएन । लिम्बू भाषा र लिपिलाई नेपालमा मात्र हैन लिम्बू बहुल क्षेत्र रहेको सिक्किम, दार्जिलिङमा समेत राणामैत्री अंग्रेज शासनले तुषारापात गरिदियो । जनस्तरमा यदाकदा भित्रभित्रै भाषा, लिपि प्रयोग गरेको थाहा पाएमा जासुस लगाएर उसको खेदो खन्ने, लखेट्ने वा हत्या गरिदिने जस्ता जघन्य काम त्यसबेलाका शासकले गर्ने गर्दथे भनी बूढापाका घटनाक्रम सुनाउँछन् । त्यही डर, त्रासले गर्दा ज्यान जोगाउन आफ्नो परम्परागत भाषा र लिपि त्याग्नु परेको ब्यथा–वृत्तान्त बृद्ध किरात लिम्बूमाझ सुनिन्थ्यो।
फलस्वरुप, आज किरात लिम्बू भाषा, साहित्य मासिएको अवस्थामा छ । किरात लिम्बू भाषा साहित्यका पुस्तक, पाण्डुलिपि तत्कालिन शासकले जफत गरेर जलाइदिएको जनगुनासो समाजमा छ। यसर्थ, मानव संस्कृति, भाषा साहित्यको इतिहास खोतल्दा वा आदिवासी मन छाम्दा त्यसभित्र अत्याचारी शासकले पिल्स्याएका डाम यत्रतत्र भेटिन्छन् ।
सहिदको बलिदानीले नै नेपालको राजनीतिक स्वरूप र संरचना फेरिएको हो । नेपालमा लोकतान्त्रिक संघीय गणतन्त्र आएपछि आदिवासीका भाषा, लिपि र संस्कृतिले अवसर पाएका छन् । आज आदिवासीका मनका कुरा खुलेर आएका छन् । उनीहरूले गुनासो पोख्न पाएका छन् ।
मातृभाषा र लिपिको संरक्षण र विकासमा विभिन्न जाति जागरुक बनेका छन् । गाउँपालिकास्तरमा मातृभाषा पढाउने चलन चलेको छ । पाठ्यक्रम, पाठ्यपुस्तकसहित विद्यालयमा पढाइ हुन थालेका छन् । अब महाविद्यालय, विश्वविद्यालयका खोल्ने सपना आदिवासीले देख्न थालेका छन् । यसलाई पक्कै सकारात्मक मान्नुपर्दछ । हालको यो अवस्था पनि सहिदको कारणले नै आएको हो ।
नेपाली समाजमा सत्ताको सेप महिलालाई पनि लाग्यो । धर्मशास्त्रको आडमा राज्यले महिलालाई कानुनी रुपमै दोस्रो दर्जामा राखेको थियो । यस्तो अन्यायपूर्ण परिबन्द मिलाउनमा स्वार्थ समूह, सत्ता र राजनीतिको ठूलो हात थियो । लिच्छवीकाल, मल्लकाल र राणाकालमा बालविवाह, बहुविवाह, सतिप्रथा जस्ता कुरीतिले महिलालाई अँठ्यायो । समाजमा नारी पशुतुल्य, वस्तुतुल्य भएका थिए । यसरी समाजले नारी अस्मिता र स्वतन्त्रताको चित्कारलाई लामो कालसम्म कुल्चिह्यो ।
पूर्वी नेपालमा महिलाविरुद्ध व्याप्त अन्याय अत्याचार, सामाजिक कुरीति र कुसंस्कारबिरुद्ध महिलाले नै विद्रोह गरे । भोजपुरमा जन्मेकी योगमाया न्यौपानेको नेतृत्वमा महिलाहरूले सामाजिक उत्पिडनबाट मुक्तिका निम्ति जीवन बलिदान गरे । वि.स. १९९८ सालमा योगमायालगायत ६७ जना महिलाले सामुहिक रुपमा कोशी नदीमा जलसमाधि लिए । उनीहरूले महिला अत्याचारविरुद्ध आफ्नो जीवन बलिदान दिए ।
पूर्वी पहाडी जिल्लामा महिलाहरूद्वारा गरिएको साहसिक सामाजिक अभियानबाट राणाविरुद्ध क्रान्तिको सूत्रपात भयो । फलस्वरुप रुढीग्रस्त समाजविरुद्ध सामाजिक आन्दोलनले उग्र रुप लिन गयो । नारीहरूको त्यो जीवनउत्सर्गबाट उत्पन्न भावनात्मक बलले समाज रुपान्तरणमा ठोस बल पुग्यो । नारीहरूको बलिदानी सन्देशले अन्यायविरुद्ध सामाजिक एकता निर्माण भयो, फलस्वरुप राणाशासन ढल्यो । समाजमा व्याप्त अन्धविश्वास, कुरीति, कुसंस्कारविरुद्ध सहिदका बलिदानले राजनीतिक तरङ्ग आयो ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा मात्र नभएर वातावरण संरक्षणको क्षेत्रमा पनि नेपालमा सहिद जन्मिएका छन् । नेपालको वनजङ्गल नदीनालाका प्राकृतिक साधनस्रोतलाई दोहन गरेर वातावरणलाई विनास गर्न नाफाखोर पल्केका छन् । त्यस्ता गिरोहको संख्या दिनहुँ बृद्धि भएको छ । वातावरणविरोधी समूहसंग लड्दा आफ्नो ज्यान बलिदान दिने वीर नेपाली सपूत हामीले भरखरै पायौं ।
नेपालको चुरे क्षेत्रमा चलेको प्राकृतिक सम्पदादोहन रोक्न मिथिला नगरपालिका वडा न. ५ का दिलिप (ओमप्रकाश) महतोले भगिरथ प्रयत्न गरे । आफ्नो स्वार्थमा बाधा उत्पन्न भएपछि नदीजन्य स्रोतदोहनमा लिप्त नाफाखोरले २०७६ सालमा दिलिप महतोको हत्या गर्यो । दोहनस्थलमा रोक्न जाँदा उनलाई डोजरले कुल्चेर क्रूर हत्या गरियो । वातावरण संरक्षण तथा चुरेदोहन नियन्त्रण अभियानमा महतोले आफ्नो अमूल्य जीवन बलिदान दिए । यसरी दिलिप (ओमप्रकाश) महतो नेपालको वातावरण संरक्षण अभियानको पहिलो सहिद बनेका छन् ।
दिलिप महतोलाई सहिद घोषणा गर्न स्वार्थ समूहको पकडमा रहने सरकारले कन्जुस्याई गरेको छ । यद्यपि, इतिहासले उनको योगदानलाई उच्च सम्मान गर्नेछ । समयमा त्यसको मूल्याङ्कन हुनेछ । हामी आशावादी भएर जीवन र जगतलाई हेरौं । जहिले पनि सत्ता र स्वार्थी तत्वले बहुसंख्यक सहिदको रगत बिनामूल्य पिउँछन् । इतिहासले ओझेलमा परेका वा पारिएका सहिदको हिसाबकिताब राखेको हुन्छ । एकदिन समय आउँछ, किनभने समय वलवान हुन्छ ।
आज सहिद दिवसको दिन । राजनीतिक तथा सामाजिक क्षेत्रमा बिरलै उदाउने त्यस्ता वीर सपूत एकएकलाई चिनौं । सहिद दिवसको प्रातःकालमा उनीहरूको योगदान स्मरण गरौं । उनीहरूको योगदानलाई शिर झुकाएर नमन गरौँ । ज्ञात र अज्ञात सहिदहरूको सपना साकार होस् । जय सहिद ।