बीपी कोइरालाको पहिलो काठमाडौँ आगमन र उहाँसँग जोडिएका केही रमाइला प्रसंग मेरो स्मृतिपटमा ताजै छन् । कृष्णप्रसाद भट्टराईलाई साथ लिएर बीपी काठमाडौँ आउँदा उहाँहरूलाई भूमिगत राखेर सुरक्षाको बन्दोबस्त मिलाउने काम तत्कालीन नेपाली कांग्रेसका 'कोरग्रुप'का सदस्यका अतिरिक्त संगठन विस्तारमा लागेका हामीहरू जस्ताकै थियो ।
विसं २००४ को दसैँ-तिहारतिर हुनुपर्छ, बीपी बनेपा हुँदै काठमाडौँ प्रवेश गर्नुभयो । उहाँहरूको उद्देश्य संगठन विस्तारका साथसाथै केही व्यक्तिहरूलाई भेटेर पूर्णकालीन कार्यकर्ता बनाउने र पार्टी सञ्चालनका निम्ति चन्दा संकलन गर्ने पनि रहेछ । उहाँ काठमाडौँ छिरेपछि हामीले कहिले डिल्लीबजार त कहिले मैतीदेवी, कहिले असन त कहिले इन्द्रचोकका भित्री घरहरूमा बस्ने प्रबन्ध मिलायौँ । कहिलेकाहीँ त मुख्य सडकसँगै जोडिएका घरहरूमा पनि राख्यौँ, ताकि कसैलाई शंका नहोस् । त्यसै क्रममा उहाँ केही समय पूर्णबहादुर एमएको घरमा पनि बस्नुभयो ।
कतिपय अवस्थामा बीपीलाई हामीले वहालबाला कर्मचारीकै घरमा पनि लगेर राख्यौँ । त्रिरत्न साहूका अतिरिक्त डिल्लीबजारका सूर्यबहादुर बस्नेतको घर बीपी कोइरालाका लागि उपयुक्त स्थल हो भन्ने हाम्रो बुझाइ थियो । तर दुर्भाग्य, त्रिरत्न साहूको घरबाटै बीपी पक्राउ पर्नुभयो । उनी जवाहरातका व्यापारी थिए । बीपीसँग उनको कलकत्तामै छँदा चिनजान भएको रहेछ । उनले दुःखका बेला कहिलेकाहीँ सहयोग गरेका पनि रहेछन् । पछिसम्म पनि बीपी उनको कुरा गररिहनुहुन्थ्यो ।