वि.सं. २०६७ कात्तिक ४ गते झमक घिमिरेको घर पुग्दा बिहानको साढे दस बजेको थियो । धनकुटा ३ कचिडेस्थित उनको घर मलाई आज अरू दिनभन्दा शान्त स्निग्ध र सफा लागिरहेको थियो । म यो चौथो पटक झमकको घर जाँदैछु । आज म उनको घर पुगिने सल्लेरीको वनको बाटो नगएर उनकै घरभन्दा झन्नै एक किलोमिटर माथिको गाडी स्ट्यान्डमा हिले वसन्तपुर जाने माइक्रो बसबाट ओरालो झरेर गएको थिएँ । कटेरा मास्तिरको बाटो देखिनै सफा पारेर बढारिएको थियो । ढुङ्गा छापेको आँगनको एक छेऊमा चकटी ओछ्याएर झमक र उनकी कान्छीबहिनी अनामिका बसिरहेका थिए ।
मैले उनलाई देख्ने वित्तिकै "नमस्कार" भनेँ । उनले मलाई आदरपूर्वक हेरेर अलिकति मुस्कुराइन् । तत्कालै कान्छीबहिनी उठेर उनको कोठामा गइन् र एउटा कापी, डटपेन र झमकको चस्मा ल्याइदिइन् । तबसम्म मैले "धनकुटामा धेरै जाडो भइसकेको छ कि क्या हो ? घाम तापेर वस्नु भएको रहेछ ? " भनेर प्रश्न गरिसकेको थिएँ । उनले खुट्टाले चस्मा लगाइन्, खुट्टाले नै डटपेन च्यापिन् र खुट्टैले कापीका पाना पल्टाएर "नमस्कार" लेखिन् र फेरि "धनकुटामा जाडो हुन थालिसकेको छ । बिहान बेलुका निकै जाडो हुन्छ ।" लेखिन् ।
मलाई अनामिकाले झमक भएकै ठाउँ आँगनमा कुर्सी ल्याइदिइन् र मैले उनको चर्चित कृति "जीवन काँडा कि फूल" को कुरा उठाएँ । "तपाईंको त्यो चर्चित कृति दुईपटक पढिसकेँ, त्यो कृतिमा मैले ग्रहण गर्ने कुरालाई साधा धर्कोले रेखाङ्कन गरेको छु । तपाईंका लेखाइसँग असहमत भएका अनुच्छेद, वाक्य वा शब्दलाई प्रश्नवाचक चिन्ह दिएर रेखाङ्कन गरेको छु भनेर सुनाएँ र मैले रेखाङ्कन गरेका ठाउँ देखाएँ ।
"म तपाईंभन्दा जेठो भएकाले तपाईंका लेखले तपाईंलाई सानोमा गरिएका व्यवहारको नढाँटीकन प्रष्ट पार्नुभयो । त्यो राम्रो पक्ष हो तर बुबाआमाले पालनपोषण गर्दा उठाएका दुःखका कुरालाई चटक्क बिर्सनु भएकाले म तपाईंका केही कुरामा असहमत छु ।" भने ।
"अरू भन्नुहोस् म सुन्न चाहन्छु" भनेर फेरि कापीमा लेखिन् । मैले "जीवन काँडा कि फूल" पढी सकेपछि तत्कालै यहाँ आएको हुँ, तपाईंसँग डटेर गुनासो सुनाउने मन थियो तर तपाईंको लेखनको उचाइ, अदम्य साहसले भरिपूर्ण भएको चेतनापुञ्ज बोकेर सङ्घर्षपूर्ण जीवन कहानीले पुरिएकी तपाईंसँग अरू गुनासो गर्न डर लागेको छ ।" भनेपछि मूकप्राणी भएर पनि अक्षर लेखेर आफ्ना विचार प्रकाश पार्न सक्ने अथक सङ्घर्षको कहानी बोकेकी झमकले फेरि कापीमा लेखेर भनिन् "यो किताव लेख्ने मेरो उमेर भएको थिएन होला तर समयले यसै गरायो । मेरो जीवनको अहिलेसम्मको इतिवृत्तान्त सुन्न चाहने र म उदाङ्गो भएको पढ्न चाहँदै मलाई बारम्बार खोतल्न चाहनेहरूका लागि एउटा लेखक भएका नाताले उदाङ्गो पारिदिनु मेरो दायित्व थियो । त्यसकारण लेख्नु परेपछि किन बाँकी राखेर लेख्ने भनेर सबैकुरा लेखेकी हुँ । मेरा परिवारले गरेका गल्तीहरू लुकाउनु पर्छ भन्ने मैले ठानिनँ । म लेखक भएका नाताले म लेखकको कोणबाट मात्र प्रस्तुत भएँ ।"
शीतका थोपा बटुकामा बटुलेर सिन्काले अक्षराभ्यास गर्दै पहिलो शब्द 'कलम' लेखेर अक्षरोत्सव मनाएकी झमक घिमिरेले आत्मजीवनीपरक निवन्ध "जीवन काँडा कि फूल" कृतिको आशाका किरणहरू शीर्षकमा लेखेकी छिन् । "अँध्यारोपनलाई आफूबाट लखेट्न चाहन्थें । ज्ञानले स्वप्रज्ज्वलित हुने चाहना राख्थें । किताबका पानाहरू छुन पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो र बहिनीका छेउमा बसेर उसले थाहा नपाई किताबका चिल्ला पानाहरू स्पर्श गर्थें र आनन्दको आभास हुन्थ्यो" भनेर संस्मरणात्मक विवरण प्रकाश गरेकी झमकले २०५५ देखि अहिलेसम्म विविध विधाका नौ ओटा कृति लेखिसकेकी र प्रकाशित गरेर नेपाली साहित्यका पाठकलाई सचेत गराइसकेकी छन् । झमक घिमिरेलाई धेरैले क्यामेरामा कैद गरेर दृश्यमा देखाइसकेका छन्, र धेरै लेखकहरूले कलमले सेता कागजमा सुन्दर शब्द समायोजन गरिसकेका छन् । त्यसकारण झमक मात्र होइन, त्यो दृश्य बनाउने तथा कलम चलाउनेहरू पनि चर्चामा आएका छन् । ती क्यामरा र लेखकहरूका कारण पनि झमक पहिले नै चर्चामा आइसकेकी हुन् तर अहिलेको त्यो आत्मजीवनीपरक कितावले गर्दा धेरै चर्चामा आएकी छन् । "जीवन काँडा कि फूल" पढ्न चाहने सचेत पाठकको अत्यधिक मागलाई दृष्टिगत गरेर उनको त्यो चर्चित कृति "जीवन काँडा कि फूल" को चौथो संस्करण निस्किइसकेको छ ।
त्यही कितावको एक ठाउँमा झमकले बडो मार्मिक ढङ्गले लेखेकी छन् । "मेरा हातहरूले केही नसमातेपछि खुट्टाको औँलाको प्रयोग नगरेको भए अहिले यो शरीर जिउँदो लास सरह हुने थियो । यतिखेर म कुनै अँध्यारो कुनामा काल पर्खिरहेकी हुन्थेँ । धन्न म जिउँदो लास हुनबाट जोगिएँ छु ।"
हाम्रो सामाजिक परिवेश, झमकको शारीरिक अवस्था देख्ने जो कोहीले पनि जीवनीमूलक त्यो पुस्तक पढेपछि उनका यी उक्ति स्वीकार्छ । यथार्थको धरातलमा उभिएर लेखेकी हुन् भन्न जो कोहीलाई पनि कर लाग्छ । झमकका बुबा कृष्णबहादुर घिमिरेलाई मैले झमकले लेखेका कुराको प्रसङ्ग कोट्याएँ । उहाँले भन्नुभयो "हात चल्दैन थिए । देखिहाल्नु भयो अहिले पनि चल्दैनन् । खुट्टाले हिँड्न सक्ने अवस्था थिएन र अहिले पनि छैन । मुखबाट र्याल चुहिरहने र दिशापिसाब गराउनु पर्ने अवस्था अहिले पनि छ भने सानामा कस्ती थिई होली ? बाक्लै केटाकेटी, आफ्नो गरिवीले जेठो सन्तान यस्तो हुँदा भनियो होला पनि ।"
"किताबमा लेखिएका कुरा सबै ठीक र सही छन् त ?" मैले किताबकै प्रसङ्ग कोट्याउँदा उहाँले भन्नुभयो "कुरा त सबै सही छन् । केही ढाँटेकी छैन । हामी बाबुआमाका सेखपछि यसको हेरचाह कसले गरिदेला भन्ने मात्र हामीलाई चिन्ता लाग्दथ्यो, यसले पढ्ली यत्रो नाम र सुकीर्ति कमाउली उसका नामले हामी चिनिउँला भन्ने त त्यो बेला सोचेकै थिएन पनि । उसले निरन्तर प्रयास गरेर आज यत्रा किताव लेख्ने भई, देश विदेशका मान्छे उसलाई हेर्न आउँछन् । हालसालै जर्मनीहरू दोभाषे लिएर आएका थिए । अब केही दिनपछि झमकका लागि आधुनिक शौचालय बनाइदिने भएका छन् । त्यो आधुनिक सुलभ शौचालयलाई झमक एक्लैले पनि प्रयोग गर्न सक्ने हुनेछ भन्थे ।"
"झमकलाई सानामा दुःख दिएका कुरा पढ्ने पाठकले तपाईंहरूलाई गाली गरेका छैनन् ?" भनेर फेरि मैले प्रश्न गर्दा, खिन्नता र प्रशन्नता मिसिएको लामो हाँसो हाँसेर कृष्णबहादुर घिमिरेले भन्नुभयो ।
"एकजना गुल्मी हो कि लमजुङ हो कहाँका मान्छेले अगाडि भए कुटुँलाझैँ गरेर फोनमा धेरैवेर हप्काए । काठमाडौँका एकजनाले पनि फोनमा धेरै गाली गरेपछि केटाकेटीलाई त्यसो गर्नु हुँदैनथ्यो भनेर यस्तै बोली पारेर मलाई सम्झाए । रूकुमको खोइ के थरिको हुँ भन्थे उनले पनि पहिले हप्काए । झमकका वुबा भएकोमा बधाई दिए । हङकङ हो कि कुन विदेशबाट पनि फोन आएका थिए अरे मैले त सुन्न पाइनँ । यस्ता फोन आइरहन्छन् । त्यो पुस्तक देश विदेश सबैतिर पुगेछ ।"
"यी फोन आउँदा कस्तो लाग्छ त ?": मैले फेरि प्रसङ्ग यथावत् राख्न पश्न गर्दा उहाँले भन्नुभयो "नजानेका न बुझेका मान्छेहरू हप्काउँछन् तर जसले जानेको छ अनि आजसम्म हामीले गरेको कर्तव्यलाई जसले बुझेको छ उहाँहरूका अथवा पूर्वतर्फका मान्छेहरूका फोन आएका छैनन् ।"
झमकको वाल्यावस्थाको स्मरण गर्दै उहाँले भन्नुभयो "कसरी कसरी अक्षर चिनिछ हामीले थाहा पाएनौं । एक दिन "मैले अक्षर लेख्न जानेकी छु" भनेर मलाई इशाराले भनी "लु लेखेर देखात भनेको त" केही अक्षर लेखेर देखाई मलाई पनि खुसी लाग्यो । अनि एउटा किताबको पन्नाका सबै अक्षर लेखेर देखाउन भने त्यो पनि सारेर देखाई । त्यसपछि ऊ प्रयत्न गर्दै गई, सफल हुँदै गई । अक्षर लेख्न नसक्दाका बेलामा उसले त्यो किताबमा भनेजस्तो भोक लागेपछि मुख बाइ दिन्थी, तिर्खा लागे लोहोटा देखाउँथी, दिशापिसाव लागे पनि उसले भने जस्तै गर्थी ।
अहिले हामी उसका इशाराले सबै कुरा बुझ्दछौं । कुनैकुनै कुरा राम्ररी बुझिँदैनन् र लेखी माग्नु पर्छ । उसलाई सरकारले मासिक भत्ता दिएको छ ।
"झमकलाई भेट्न मान्छेहरू कत्तिको आउँछन् त ?" भनेर मैले प्रश्न गर्दा "मान्छे त आइरहन्छन् । कोही पढ्ने किताब, लिएर आउँछन् । कोही लेख्ने कापी डटपेनहरू पनि लिएर आउछन् । अनि कोही खानेकुरा लिएर आउँछन् । म झमकका बुबाका नाताले चिनिएको छु । मलाई यसैमा खुसी लागेको छ ।"
"अबका बाँच्ने पलहरू निकै लोभ लाग्दा हुनेछन् । हिजोका दुर्भाग्यका दिनहरू टुक्राटुक्रा भएर जुटिसकेका छन्" भन्ने उत्साह र उमङ्ग बोकेकी झमकसँग मैले झन्नै चार घण्टा बिताएँ ।
"जे जति बाँचे पनि मैले अब समाज देश, विश्वका लागि बाँच्नु पर्छ । मलाई अब एउटै कुराको चिन्ता छ, युगले अपेक्षा गरे अनुसार मैले सिर्जनाका फूल फुलाउन सक्ने हुँ कि होइन ? मलाई गिज्याएर मृत्यु नआओस् । त्यो पनि असमयमै नआओस् किनभने समयलाई मैले अझै धेरै कुरो दिनु छ ।" भन्ने अथक, अविराम, अविरल तथा युगसापेक्ष र सकारात्मक जीवन जिउन चाहने प्रयत्नमा झमक घिमिरे रहेकी मैले पाएँ । झमक घिमिरेले लेखेको "जीवन काँडा कि फूल" पढेर उनलाई प्रत्यक्ष देखेपछि मान्छेमा रहेको अदम्य साहस, धैर्यता र दूरदर्शितापूर्ण यथार्थ वर्णन गर्ने क्षमता हुनु जस्तो क्षमता हुँदैन । त्यसका लागि निरन्तर सभ्यास र सकारात्मक सोंच भएपछि मात्र हुन्छ भन्ने कुरा झमक घिमिरेले प्रमाणित गरिदिएकी छन् ।