केही समय यता लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने भाइरस तथा कम्प्युटर ह्यकिङग हुने समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क भई विश्वका धेरै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग तथा सूचना प्रविधि सम्बन्धी अन्तरराष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ। तर लिनक्स चलाउन चाहने जोसुकै सबै भन्दा पहिले लिनक्सका सयौं प्रकारहरूका बीच हराउने गर्दछन्। लिनक्सका बारेमा पहिले सुन्नु भएको छ भने पक्कै पनि तपाईले रेडह्याट, फेडोरा, उबुन्टु जस्ता विभिन्न लिनक्सका प्रकारका बारेमा सुन्नु भएको होला। यस्ता लिनक्सका प्रकारहरूलाई Distribution वा छोटकरीमा Distro भन्ने गरिन्छ। अहिलेसम्म पाच सय भन्दा बढि यस्ता डिस्ट्रोहरूको विकास भैसकेको छ।