आइतबार
धेरै दिनदेखि मेरो मनःस्थिति असन्तुलित छ । यी गाउँ र सहरहरूको भविष्यसँग वर्तमानले खेलबाड गरेको देख्ता मलाई वर्तमानसँगै घृणा पैदा भएको छ । यो देशका प्रत्येक मानवीय जीवनसँग जोरी खोजिरहेको परिस्थितिले मेरो हृदय कम्प गराइरहेछ । म भन्न अनि निश्चित गर्न सक्तिनँ धेरै दिनदेखि मलाई किन यस्तो भइरहेछ ? मेरा प्रत्येक अङ्ग–प्रत्यङ्गहरू कामेर जुरमुराउन खोज्छन् केही निश्चित बाटो पहिल्याउन, सुन्दर भविष्य तयार गर्न, तर पनि स्थिति यति विकराल छ जहाँ म खुट्याउन पनि सक्तिनँ । आज म सबेरै बिउँझिएको छु । दैनिक कार्यतालिकाअनुसार मेरो चिया आइपुगेको छैन । चिया आइपुग्न अझै दुई घण्टा बाँकी छ । चियाका लागि मैले दुई घण्टा प्रतीक्षा गर्नु छ । मैले निश्चय गरेँ, आज बिहानको चिया म मेरो साथी जीवनकहाँ पिउँछु । यो विचार गरी म घरबाट निस्किएँ ।
जीवन मेरा धेरै पुराना साथी हुन् । उनी एक सरकारी कार्यालयमा नायवसुब्बा छन् । काठमाडौँको ठाउँ, एउटा सानो डेरा ! बस्, राम्रै छ । उनकी श्रीमती आफैँ खाना बनाउँछिन् । दुई बच्चा स–साना, स्कुलमा पठाउने बेला भइसकेको छ । जीवन अफिस जानुअघि र अफिसबाट फर्किएपछि छोराछोरीसँग भुल्ने गर्छन् । किनभने उनकी श्रीमतीलाई उनले बिहान–बेलुका बच्चाबाट फुर्सद पनि त दिनु छ ! उनको पारिवारिक सुख देख्ता मलाई आहारिस लाग्छ । कति रमाइलो वातावरण छ उनको घरमा ! सबै काम विनानोकर टाकटुक सकिन्छ ।
जीवनको कोठाको ढोकामा नपुग्दै अनायास मेरो खुट्टा रोकिन्छ । भित्र दुई लोग्नेस्वास्नीबिचमा भएको गनगन सुन्न पुगेँ । मैले जीवनलाई बोलाउने हिम्मत गर्न सकिनँ र त्यहाँभन्दा अगाडि बढ्न पनि सकिनँ । ती दुईको कुराकानी म टड्कारो सुनिरहेको छु ।
“तिमी किन कुरा बुझ्दिनौ बाबा ! मात्र कचकच गरिरहन्छ्यौ । पैसा हुनेले बोर्डिङमा पढाउन्, दार्जिलिङ पठाउन् र लन्डन प्रुयाउन्, मलाई केको मतलब छ ? भएको खान देऊ । घरमै पढाऊ । अर्को साल त्यो दोबाटोको प्राइमरी स्कुलमा भर्ना गरिदिउँला । मेरो प्रमोसन पनि हुन्छ र पैसाले पनि पुग्छ ।”
“हजुरले पोहोर साल पनि त त्यसै भन्नुभएको थियो ! छोरो छ वर्ष पुगिसक्यो, छोरी चार वर्ष पुगिसकी । कहिले स्कुल भर्ना गर्ने, केही निधो भएन । उहाँ रामकृष्णका छोराछोरी परारदेखि नै बोर्डिङ्मा पढ्दै छन् । हजुरकै जस्तो सुब्बासाहेब दर्जा त हो नि उसको !”
श्रीमतीले कुरा नबुझेकीमा जीवन झर्कँदै भन्छन्— “तिमी कस्ती अबुझ छ्यौ ! तिमीलाई थाहा छ मेरो तलब कति छ ? त्यसबाट घर राम्रो गरी चल्छ कि चल्दैन ? कति महिना भइसक्यो चिया खान छाडेको । बिहान– बेलुका उसिना चामलले मात्र तिम्रो पेट भर्न सकेको छैन भने कसरी यो साल केटाकेटीलाई स्कुल पठाउनु ! भन्न सजिलो छ, स्कुल पठाउने त हो नि ! लुगा हालिदेऊ, किताब किन, तिर स्कुलको फिस । अब तिमी कुरा गर्छ्यौ रामकृष्णको । उसले किन नपढाउनु ! त्रिभुवन एयरपोर्ट भन्सार कार्यालयको जागिरे नासु । उसको दैनिक आम्दानीले उसकै तीन महिनाको तलबलाई जित्छ । त्यति मात्रै ? एक वर्ष टिक्यो भने जिन्दगीभर सुती–सुती खान पुग्छ । अब हेर न, दुई वर्षअगाडि खरदार हुँदा तीन महिना बस्न पाएको थियो । उसको स्ट्यान्डर नै अर्कै भयो । उसको कुरा गरेर पनि हामीलाई हुन्छ ? भो नकराऊ, भात पकाउन जाऊ । अफिस जान अबेर हुन्छ ।”
बढी उत्सुक हुँदै जीवनकी श्रीमती सोध्छिन् — “यो त्रिभुवन एयरपोर्ट भन्सार कहाँ छ ?
कुरा टुङ्ग्याउन खोज्दै जीवन उत्तर दिन्छन्– गौचर भन्सार के !”
“तब हजुरले पनि त्यहीँ सरुवा हुनुप्रयो यो प्रमोसनभन्दा ।”
झर्कँदै जीवन भन्छन्– अँ, तिम्रो बाबुको पेवा हो एयरपोर्ट भन्सार, भन्नेबित्तिकै सरुवा भइहालूँ !”
एकछिनको मौनतापछि जीवन बरबराउन थाल्छन् –“मेरो को छ पावरमा ? कतैबाट नाता लगाउँदा पनि सचिव आफ्नो नाता पर्दैन । चाकडी गर्न सुरु गरुँ, घरमा केटाकेटी नहेरे चुलो बल्दैन । दिउँसो अफिसमा केही कुरा गर्ने कुरै भएन । कोसेलीपात ओसार्न आफूसँग केही छैन । अनि म कसरी आम्दानी हुने अड्डामा सरुवा हुनु ! अस्ति मात्र एक जनालाई आफ्नै टेबलमा राखी महिनौँ सिकाएँ, सघाएँ । अब त सचिवज्यू खुसी हुनुहोला, कर, अन्तःशुल्क र भन्सार कुनै ठाउँमा परुँला भन्ने ठुलो आशा बोकेको थिएँ तर के गर्नु, कर्ममा नभएपछि हुँदो रहेनछ । उही मैले सिकाएको केटो पो छोटी भन्सारको हाकिम हुन पुग्यो । अब एक वर्षपछि ऊ घर फर्कँदा बोक्न नसक्ने गरी रुपियाँ भिœयाउँछ । किन मौका नपाउनु त्यस्ताले ! सचिवज्यूको सालोको ज्वाइँ न ठह्रयो ! आशाले मानिसलाई बचाउँछ । चिन्ता नगर । मेरो पनि मौका आउला । त्यसपछि छोराछोरीलाई बोर्डिङमा पढाउँला, तिमीलाई सुनै सुनले सजाउँला । जाऊ खाना बनाउन । साढे ६ बजिसक्यो ।”
यही बिच छोराछोरी रुन थाल्छन् । सायद केटाकेटी भर्खरै बिउँझिए । उनीहरूको कुराको विषय अर्कैतिर मोडिन्छ । जीवन भन्छन् – आज पाउरोटी छैन, चाँडो खाना बनाऊ ।”
म जीवनको घर नगएको धेरै भइसकेको थियो । बाहिर बाटोमा हिँड्दा उनको मुस्कान छरिएको अनुहारसँग मात्र म परिचित रहेछु । जीवनको घरमा चिया बन्न छाडेको पनि त महिनौँ भइसकेछ ! केटाकेटीका लागि पाउरोटीसम्म नभएको जीवनको घरमा बिहान मैले चियाको आशा राख्नु बेठिक सम्झेँ । फेरि जीवनलाई बोलाउनसमेत हिचकिचाहट पैदा भयो । सोचेँ, दिउँसो कार्यालयमा भेट्न जान्छु ।
जीवनसँग गाँसिएको आशा र धैर्यले उनलाई ड्रोयाएकोसम्म छ, सायद बाँच्ने सहारा दिएको छ । काठमाडौँ सहरमा बसेर पनि उनी बर्सौँसम्म छोरालाई पढाउन चाहँदैनन्, उसिना चामल पेटभर खान खोज्दैनन् । आफ्नो बासको खोजी छैन उनलाई । यस्तै तर्क उठ्छ उनीप्रति मेरो हृदयमा ।
यत्तिकैमा म घर पुग्छु । सात बजेको छ । मेरो कोठामा चियाको प्याला आइपुग्छ । चियाको बाफ मेरो अनुहारको अगाडिबाट उडिरहेको छ । समय–समयमा मेरो चुस्की क्रमबद्ध छ कप नपिएसम्म । मेरा आँखा अगाडि जीवनजस्ता मेरा सयौँ दौँतरीहरू खेल्न थाल्छन् । कहाँ छन्, के छन्, कस्तो स्थिति छ, कसरी सहन गर्छन् आदि–आदि प्रश्नले मेरो रित्तो छाती कोरिन्छ र म एउटा सिङ्गो प्रश्न बन्ने अठोट गर्छु यो वर्तमान समाजमा ।
म जीवनको अफिसमा पुगेर सोध्छु–“दस बजिसक्यो । कर्मचारी कोही आएका छैनन् ?”
“कसलाई भेट्नु छ ?”–एउटा अधबैँसे व्यक्ति मलाई प्रश्नात्मक उत्तर दिन्छन् ।
“जीवन सुब्बासाहेब ।”–मैले आफ्ना ओजपूर्ण आँखा मेच, टेबल र कोठामा चारैतिर घुमाउँदै भनेँ–“सुब्बासाहेब बस्ने कोठा यही हो ?”
“हजुर !”–उनी मुन्टो हल्लाउँदै औँल्याउन थाले– “यहाँ खरदारसाहेब बस्ने, यहाँ सुब्बासाहेब बस्ने । ऊ त्यहाँ भित्र उपसचिवज्यू बस्ने ।”
मैले हाँस्दै सोधेँ – “तपाईं कहाँ बस्ने त ?”
उनी अलमलिए र एकै छिनपछि जवाफ दिए –“कहाँ बस्ने र ! पिउन जाबोलाई मेचमा बस्नु पनि नपर्ने र बस्ने ठाउँ पनि छैन । कोठाबाहिर बसिरह्यो, घन्टी बजाउँछन्, भित्र पस्यो । चिया भन्छन्, चिया बनायो । चुरोट भन्छन्, चुरोट ल्यायो । बस्नु किन प्रयो र ?”
उनले आफ्नो कामलाई त्यति सजिलोसँग व्यक्त गरेकाले उनीप्रति मनमा झन् उत्सुकता बढ्यो र रमैले सोधेँ—“कति वर्षदेखि तपाईं यहाँ काम गर्दै हुनुहुन्छ ?”
“चौबिस पुगेर पच्चिस लाग्यो ।”— नअलमलिईकन उनले जवाफ दिए र टेबलको कुनामा रहेको मेचलाई सङ्केत गर्दै भने—“बस्नुहोस् न त्यहाँ ! सुब्बा साहेबको टेबल पनि त्यही हो । म अर्को कोठा खोल्न जान्छु ।”
खाली कोठामा म एक्लै छु । मेरा नजर कोठाका चारैतिर दौड्न थाले । कोठामा स्टिलका तीनओटा बन्द दराज र तिनमाथि अस्तव्यस्त कागजपत्र र फाइलहरू छन् । कोठाको कुनामा हिटर, चियादानी, कप–प्लेटहरू र भित्तामा क्यालेन्डर छन् । पर्दा भएको एक ढोकामा पर्दाको चेपबाट उपसचिवको कोठाको एक रिवल्भिङ चेयर र टेबल मात्र देखिन्छ । प्रवेश–निषेधको बोर्ड झुन्डिएको छ । त्यहाँ बस्ने उपसचिव कस्ता होलान् ? प्रश्न कोरिन्छ मेरो दिमागमा । यत्तिकैमा जीवनको आवाज सुनिन्छ —“कृष्णबहादुर !” जीवन कोठामा प्रवेश गर्नेबित्तिकै मलाई देख्ता झस्कन्छन् र भन्छन् — “अहो ! कहाँबाट यहाँ ? धेरै काल भयो भेट पनि नभएको !”
“अँ, तिमीलाई नै भेटूँ भनेर । दसै बजे आइपुगेको थिएँ ।”
प्रफुल्ल मुद्रामा जीवनले भने — “हेर न ! घरबाट साढे नौ बजे निस्किएँ । बस चढ्न पनि अफिस समयमा ज्यादै भिड । म त हिँडेर नै आउँछु । जति चाँडो आऊँ भने पनि सवा दस — साढे दस भइहाल्छ । चाँडो आएर पनि के गर्नु ! उपसचिवज्यू एघार नबजी आउनुहुन्न । उहाँ नआए कामै छैन ।”
जीवन दराजतर्फ लम्किए र दराजबाट चार–पाँचओटा फाइल निकाली आफ्नो टेबलमा राखे । त्यत्तिकैमा कृष्णबहादुर कोठामा प्रवेश गरेर भने— “हजुरले मलाई बोलाएको ?”
कृष्णबहादुरलाई चिया तयार गर्ने सङ्केत गर्दै जीवन भन्छन्— “खरदारसाहेब आउनुभएको छैन ?”
“आज उहाँलाई उपसचिवज्यूले काममा पठाउनुभएको छ । हिजै अफिस आउन्नँ भनेर भन्नुहुन्थ्यो । सुब्बासाहेबलाई थाहा छैन ?”— कृष्णबहादुरले भने ।
“के भन्नु ? कर्मचारीहरूलाई त यी हाकिमहरूले बाँधा जत्तिकै सम्झन्छन् । महिनामा पन्ध्र दिन त उनकै काम गर्नुपर्छ ।”— लामो सास लिँदै जीवन भन्छन्—“ के गर्नु, सरकारी कार्यालयमा नोकरी गरेको छु भनेर नाक फुलाउनु पनि व्यर्थ हो । नगरूँ भने हाकिम रिसाइहाल्ने ! हाकिम रिसाएपछि सरुवा हुने वा राजिनामा दिनेबाहेक अरू कुनै उपाय नै रहँदैन । हाकिमलाई खुसी तुल्याए रेकर्ड पनि राम्रो हुने, आफूले सहुलियत पनि मनग्गे पाइने । फाइदा हेर्नु कि बेफाइदा हेर्नु, भन त ?” मतर्फ हेर्दै जीवन आफ्नो मनको गरुङ्गो भारी बिसाउँछन् ।
म अलमलमा छु । कार्यालयको रीतिस्थिति आफूले नबुझेको, आफूले नभोगेको । यसै हो भन्न पनि नसकिने, तर जीवनले भने मैले पनि बुझेकैजस्तो गरी बयान गरे । केवल प्रश्नवाचक आँखा जीवनका अनुहारमा परे । मैले केही जवाफ दिन सकिनँ ।
“आज सचिवज्यूले यो फाइल बनाएर ल्याउनू भनी भन्नुभएको छ । आफ्नो विवेक र बुद्धिले भ्याएको कुरा लेखिसकेको थिएँ तर उहाँलाई चित्त बुझेन । अब म यो फाइल कसरी बनाऊँ ! मेरो दिमागले काम दिएको छैन ।”– जीवनले हातबाट फाइल टेबलमा राखी टोपी हल्लाउन थाले र भने —“उहाँले भनेजस्तो गरूँ भने मेरो विवेकले दिँदैन, नगरूँ भने यसबाट फुर्सद पाइएन ।”
अझै उनको कुरा मेरो समझभन्दा टाढा छ । म केही बोल्ने स्थितिमा छुइनँ । यसैबिच जीवनले मलाई सोधे — “विशेष केही थियो कि ?”
तुरुन्त उनलाई मैले केही जवाफ दिन सकिनँ, किनकि उनलाई भेट्ने मेरो विशेष केही थिएन । म त केवल जीवनको घरको बिहानको गन्थनका सन्दर्भमा उनलाई भेट्नपुगेको थिएँ । उनका बारेमा केही जान्ने उत्सुकता बोकी उनको कार्यालयसम्म आएको हुँ ।
उनलाई मैले घबराहटमा नै भनेँ — “विशेष त केही थिएन । बस्, तिमीलाई भेटूँ भनेर । धेरै भयो भेट नभएको, त्यसैले ।”
म पूर्णरूपमा नखुलेकोमा उनलाई आश्चर्य लाग्यो होला । किनभने केही वर्षअघि हामी साह्रै मिल्ने साथीमध्येका हौँ । आज परिस्थितिले हामीलाई सङ्कोच पैदा गराएको छ । जीवन एक जिम्मेवार कर्मचारीका साथै घरका जिम्मेवार मालिक पनि हुन् । जीवन फेरि दोह्रोयाउँछन् — “केही त अवश्य होला !”
यसैबिच कृष्णबहादुरले दुई कप चिया टेबलमा राख्छन् । कुरा थाल्ने बिन्दु तयार हुन्छ चिया !
मैले भनेँ — “भर्खर खाना खाएर आएको होइन र ? अहिले चिया पिउने ?
जीवन अलि रोकिँदै जवाफ दिन्छन् — “अँ, बिहान खाना रुच्तै रुच्तैन । फेरि अफिसमा आएपछि चिया खाने आदत पनि बसिसकेको छ । के गर्नु, यो चिया पनि सरकारी सहुलियतमध्येकै हो । यसको उपभोग गर्नुपर्छ नै । हामीजस्ता साना कर्मचारीलाई विशेष के सहुलियत छ र ! यो पनि हाकिमको तजबिजको कुरो हो । पाउनुपर्छ भन्ने केही छैन । हाकिमलाई मन लागेन भने भोलि रोक लागिहाल्छ ।”
सहुलियतको चियामा मेरो हात पर्छ । चियाको चुस्कीसँगै मेरो ध्यान बिहानको वार्तालापमा केन्द्रित हुन पुग्दछ । जीवनले सायद खाना खान मन नभएर कम खाएका होइनन् । नासु को जागिर, काठमाडौँको बसाइ, घटीमा एक सय पचास रुपियाँ घरभाडा, कति नै पुग्दो हो र चार प्राणीका लागि । उसिना चामलै खाए पनि चार जनालाई महिनामा सत्तरी केजी लागिहाल्छ । तरकारी, नुन, तेल, मसला लाग्ने नै भयो । यो त महिनाको खर्च भयो । वार्षिक खर्चमा चाडपर्व, लुगाफाटो र आउनापाहुना हिसाब गर्दा, म त जीवनको घरको बजेटै बनाउन असमर्थ छु । कसरी चलाएका छन् ?
टेबलको दुईतर्फबाट आएको चियाको चुस्कीलाई चिर्दै म भन्छु — “जीवन ! तिमीले जागिर खाएको कति भयो ?”
“यस्तै दस वर्ष । तिमीलाई थाहै छ जब मेरो घरबाट पैसा आउन छाड्यो, मैले आफ्ना कलेजको पढाइलाई बाध्य भएर रोक्नुप्रयो । यिनै मेरा हाकिम उपसचिव हाम्रै क्लासका साथी शिवनाथ शर्मा हुन् । उनका रुपियाँ बलिया थिए, उच्च शिक्षा हासिल गरे । उनले जागिर खाएको छ वर्ष त भयो ! उनी मेरा हाकिम छन् । जागिरको दृष्टिकोणले उनीभन्दा म चार वर्ष जेठो छु । दर्जाको दृष्टिकोणले मभन्दा उनी दुई तह बढी छन् र तलबको हिसाबले मेरोभन्दा तीन गुना बढी छ ।”
“ए ! उही शिवनाथ ?”— मैले भनेँ — “उनका बाबु काफी धनी थिए रे ! राणाका पालाका डिट्ठा ! पकनाजोलमा घर हुने होइन ?”
“हो, उनै !” — जीवनले निराशापूर्वक जवाफ दिए — “के गर्नु, उनको घरमा साथी भएर गएका थियौँ । आजभोलि उनको नोकरका रूपमा बिजुलीको पैसा तिर्ने, टेलिफोनको पैसा तिर्ने र चाडबाडमा किनमेल गरिदिने गर्नुपर्छ ।”
मैले जीवनलाई भनेँ— “आफ्नो साथी हाकिम भएका अड्डामा त झन् राम्रो हुनुपर्ने, होइन र?”
जीवन भन्छन् — “हाम्रो यस सरकारी अड्डाको परम्परा नै यस्तो छ कि हाकिमको हातमा नै कर्मचारीको जीवन हुन्छ । हाकिमलाई कुनै कर्मचारी मन परेन भने त्यसलाई सताउने अनेक नियम–उपनियमको व्यवस्था छ । फेरि अर्कातर्फ कुनै नियम–उपनियम नभए पनि हाकिमले चाहेमा आफूभन्दा माथिको हाकिमको हवाला दिँदै पेल्ने परम्परा छ । त्यसैले यसभित्र सबै छिर्नैपर्छ, नछिरी धरै छैन । फेरि हाम्रो हाकिमले पनि माथिको हाकिमलाई रिझाउनुपर्छ । हाकिमले चाहेमा महिनौँ दिनमा हामीलाई लखपति बनाउन सक्छन् । यो वास्तविकता हो । त्यही आशामा हामीले उनीहरूलाई रिझाउनुपर्छ । यो हाम्रो परम्परा नै भइसकेको छ ।”
जीवनसँग म धेरै कुरा सोध्न चाहेर पनि सोध्न सक्तिनँ । हाम्रो मित्रतामा कुनै कमी छैन, तर पनि म सोध्न सक्तिनँ । जीवनको वास्तविकतासँग अब म धेरै टाढा छुइनँ । म उनको मुखबाट नै सुन्न पाए पूर्णता सम्झन्छु । उनी फाइल लिएर सचिवज्यूकहाँ जाने तरखरमा छन् । यत्तिकैमा हामीतर्फ हेर्दै नहेरी शिवनाथ आफ्नो कोठामा प्रवेश गर्दछन् । साथै जीवन पनि आफ्नो सलामी चढाउन कोठामा प्रवेश गर्दछन् । केही क्षणमै जीवन कोठामा आई मलाई भन्छन् — “म यो फाइलको काममा सचिवज्यूकहाँ जान्छु, तिमी तबसम्म शिवनाथजीसँग कुराकानी गर । म आइपुगिहाल्छु ।”
जीवन चाँडै आउने आश्वासन दिँदै मसँग बिदा हुन्छन् । मलाई शिवनाथ भेट्ने कुतूहल जाग्छ । कृष्णबहादुरलाई बोलाई शिवनाथकहाँ आफ्नो नामको स्लिप प्रुयाउने सङ्केत गरेँ । मेरो अनुरोधअनुसार कृष्णबहादुरले स्लिप प्रुयाए, तर शिवनाथले मलाई तुरुन्त बोलाएनन् । ‘एकै छिन बस न’ भनी पठाए । कृष्णबहादुरप्रति मेरो ध्यान आकर्षित भयो ।
हाकिमको घन्टीको तालमा भित्र–बाहिर गर्न सिपालु कृष्णबहादुरले जागिर खाएको पच्चिस वर्ष भएछ । उनी जुन बखत जागिरे थिए, सायद शिवनाथले बाह्रखरी खारेका थिएनन् होला । सरकारी कार्यालयमा पिउनभन्दा मुनिको दर्जा त अवश्य छैन । त्यसैले कृष्णबहादुरले सुरुमै पिउनमा जागिर खाएको हुनुपर्दछ र सायद पिउनबाट नै अवकाश पाउँछन् । यो कस्तो निजामती नियम हो ? पिउनमा जागिरे हुन नेपाली लेखापढी चाहिन्छ, तर सिपाही र पुलिसमा भर्ती हुन भने अनिवार्य छैन । पुलिसमा सुरुमा कन्स्टेबलमा भर्ना भएको व्यक्ति इन्स्पेक्टर र एस पी हुनमा कुनै रोक छैन । सिपाहीमा भर्ती भएर पनि पेन्सन पकाउँदा सुबेदार र लप्टन हुन सक्छन् । तर पिउनको नोकरी पच्चिस वर्ष हुँदा उसको एक तहसम्म नबढ्ने ! सुनेको थिएँ, राणाको पालामा सिपाही र लेख्न जान्ने सिपाहीको वर्गीकरण गर्दै नौसिन्दा हुँदै बहिदार हुन्थे रे ! उनी आफ्नो पदमा रमाएकै देखिन्छन् । कार्यालयमा पनि सबैभन्दा चाँडै उपस्थित हुन सक्छन्, सबैभन्दा पछिसम्म पनि उनी नै बस्छन् ।
नेपाली वेशभूषामा एक युवक कोठामा प्रवेश गर्छन् । यिनी यसै कार्यालयका शाखाअधिकृत हुन् भन्ने कुरा एउटा सुसज्जित टेबलमा गएर बसेपछि मैले निश्चय गरेँ । आफूले नचिनेको अनुहार भएको हुँदा उनीतर्फ म आकर्षित हुने आवश्यकता ठानिनँ । केही क्षणमा उनी शिवनाथको कोठामा प्रवेश गरे । शिवनाथले उनलाई अबेला भएको कारणको सोधाइको उत्तरमा भन्न लागे, जो म स्पष्ट सुन्न सक्तिनँ ।
“सचिवज्यूका छोराको... जाउलाखेल... सेन्ट जेवियर्स... भिड बस ... !” शाखाअधिकृत बाहिर कोठामा आउँछन् । शिवनाथको कोठाबाट बोलावटको विद्युत् घन्टी बज्छ । घन्टीको आवाज नटुङ्गिँदै कृष्णबहादुर हुत्तिएर कोठाभित्र पस्छन् र कोठाबाट बाहिर आई मलाई कोठाभित्र प्रवेश गर्ने सङ्केत गर्दछन् ।
म कोठाभित्र प्रवेश गरी शिवनाथसँग हात मिलाई औपचारिकता पूरा गर्छु । शिवनाथ मसँग खुलेर बस्न सकिरहेका छैनन् । हुन सक्छ, उनलाई आफ्नो पदको घमन्ड छ । मलाई लाग्छ, उनले असजिलो महसुस गरिरहेका छन् । शिवनाथको आँखा टेबलको चारैतर्फ घुमिरहेछ, मानौँ केही हराएको वस्तुको खोजमा आँखा दौडिरहेछ । कोठामा छाएको मौनताको पर्दा खिच्तै मैले भनेँ — “शिवनाथजी ! तपाईं यहाँ हुनुहुन्छ भन्ने कुरा मलाई थाहै थिएन । कहिलेदेखि तपाईं यहाँ ?”
“प्रमोसन भएदेखि, करिब एक वर्ष हुन लाग्यो ।” — शिवनाथ बडो गम्भीर मुद्रामा उत्तर दिन्छन् ।
हामी दुईको कुराकानी नभएको पनि धेरै समय भइसकेको थियो । हिजो र आजका शिवनाथमा आकाश–जमिनको अन्तर छ । औपचारिक कुराकानी टुङ्गिन लाग्दा पनि उनी राम्रो गरी मसँग खुल्न सकेका छैनन् । मैले विद्यार्थी– जीवनको केही सम्झना फुकाउँदा उनमा केही स्पष्टता देखिन थाल्यो । मेराबारेमा उनको सोधाइ विशेष थिएन । मैले खुला हृदयले आफ्ना अतीतका दिनहरूको बयान गरेँ, मेरो भविष्यका सम्बन्धमा निश्चितता नभएको बेहोरा सुनाएँ । साथै शिवनाथलाई मैले सोधेँ—“कुन–कुन कार्यालयमा काम गर्नुभयो ? अब कहीँ सरुवा हुने विचार त छैन ?’’
“लोकसेवाले यसै मन्त्रालयमा छ वर्षअगाडि खटाएको थियो । एक वर्ष यसै मन्त्रालयमा काम गरेँ । त्यसपछि अन्तःशुल्क, कर कार्यालयहरूमा दुई वर्ष काम गरेँ । अब पाए वीरगन्ज या विराटनगर भन्सारमा जाने तरखरमा छु ।”—शिवनाथले आफ्नो कुरालाई पुष्टि दिँदै भने—“यो मन्त्रालयमा बसेर के गर्नु ? दस–पाँच बजाउने मात्र काम छ । काम छ भनूँ भने पनि छैन, छैन भनूँ भने पनि एक–दुईओटा तलबाट आएका फाइल माथि फरवार्ड गर्ने । यत्ति त हो ! यही मन्त्रालयमा बसिरह्यो भने मानिसको मानसिक, शारीरिक र आर्थिक शक्ति क्षीण हुन्छ । म त चाहन्छु कुनै व्यस्त हुने कार्यालयमा जाऊँ । हेरौँ, के हुन्छ !”
शिवनाथको चित्तवृत्ति सहजै बुझ्ने मौका पाएँ । मप्रति उनको सङ्कोच हराएजस्तो छ । सङ्कोच लिनुपर्ने अवस्था पनि त छैन ! म एक साधारण नागरिक, मेरो अगाडि शिवनाथजस्ताले आफ्नो गुणगान सुनाउँदा उनकै मूल्य बढ्दछ । मैले पनि यही मौकामा कुरा थपेँ — “चार वर्षसम्मको अन्तःशुल्क र कर कार्यालयको अनुभवले निश्चय पनि तपाईंलाई भन्सार कार्यालयमा काम गर्न योग्य तुल्याएको होला !”
“यहाँ अनुभवको आधार कहाँ हेरिन्छ र !” — शिवनाथ आफ्ना बारेमा स्पष्टीकरण दिन्छन्— “लोकसेवाले यहाँ मलाई खटाउँदा कत्रो सोर्स लगाउनुप्रयो । मेरै बुबाले तालिम गराएका व्यक्ति लोकसेवामा रहेछन्, उनीकहाँ बुबा आफैँ गई जसरी पनि अर्थ या परराष्ट्रमा पार्न कोसिस गर्दा पो त यहाँ सिफारिस भई आएँ । यहाँ आएर पनि मलाई एक वर्षसम्म कुनै कामको जिम्मा दिइएन । पछि बडो कोसिस गरी अन्तःशुल्कमा गएँ, तब मात्र मेरो जिन्दगीको बाटो राम्रो गरी बन्यो ।”
मैले मनमनै विचार गरेँ, शिवनाथले अन्तःशुल्क र करमा बस्दा मनग्गे पैसा कमाएको हुन सक्छ । अब फेरि भन्सारमा जाने ताकमा छन् । आर्थिक स्थिति बडो बलियो बनाउने तरखरमा लागेका शिवनाथ पैसा नकमाइने अड्डा र पैसा नकमाउने मानिसलाई बेकम्मा ठान्दा रहेछन् । उनको प्रस्तुतीकरणमा मेरो कुनै प्रतिक्रिया छैन । यसै सिलसिलामा मैले सोधेँ— “तपाईंको तलब कति आउँछ ?”
उपहासको मुस्कान दिँदै भने— “कति भन्नु, चुरोटसम्म महिनाभरि पुग्छ । त्यही चार सय चानचुन हात पर्छ । घर बनाउन तेजारथ सापटी लिएको थिएँ, कट्टा भइहाल्छ । फेरि सञ्चयकोष कट्टी गर्दा त केही हात पर्दैन भने पनि हुन्छ ।”
“घर कहाँ बनाउनुभयो ?”
“ठमेलमा बनाएको छु । सरकारी सापटीको रकमले जग्गा किन्न पनि पुगेन ।” — खुसीको लामो सास फेर्दै भने — “दुई लाखजति आफूसँग थियो, एउटा सानो बङ्गला बनाएँ । घरको अंश केही लिइनँ मैले त !”
“छोरो भएर पैतृक सम्पत्तिको आश गर्नु राम्रो पनि त होइन !” — मैले उनको कुरामा जोड दिँदै भनेँ — “जे छ, दुःखजिलो आफैँले गर्नु बेस होइन र ?” शिवनाथको विचारको विपरीत मेरो विचार व्यक्त छैन । उनलाई अब
एउटा कार किन्ने साह्रै ठुलो धोको बाँकी रहेछ । यति मात्र होइन, त्यसलाई प्रयोग गर्न सक्ने क्षमता हासिल गर्नमा पनि उनी निश्चित छन् । उनलाई उनको हाकिमप्रति पूर्ण विश्वास र भरोसा छ कि निकट भविष्यमै उनी भन्सारको हाकिम हुन जाँदै छन् ।
मैले सोधेँ — “वीरगन्ज र विराटनगर भन्सारमा कुन राम्रो छ ?” “त्यस्तै हो दुवै ! अझ विशेष वीरगन्ज राम्रो छ, किनभने काठमाडौँको ढोका हो त्यो ।”
“ए ! त्यहाँ बढी राम्रो भए त्यहीँ जानुपर्छ ।” — म अझ उनको कुरालाई पुष्टि गर्छु ।
“कर र अन्तःशुल्कमा बसुन्जेल चौबिसै घण्टा त्रासमा बाँच्नुपर्ने । भन्सारमा त माथिसम्म थाहा भएको कुरा हो । तलदेखि माथिसम्म दर्जाअनुसार भाग लागेर आउने कुरा कसलाई थाहा छैन र ? कमबेसीसम्म मात्र हो । फेरि इच्छा लाग्यो भने अनुचित नै गरे पनि मालामाल । यो कुरा त राणाको पालादेखि चलिआएकै कुरा हो ।”
“अनुचित कार्य नगरीकनै आउने त उचित नै भयो !” — म उनको कुरालाई बढावा दिँदै भन्छु — “कस्तो आम्दानी छ त्यहाँ ?”
“यही महिनाको अठार हजारदेखि बिससम्म पुग्छ । अरू त के कुरा, जाबो कारिन्दो बहिदारको भागमा चार हजार पर्छ । फेरि तलब बाँडेको भोलिपल्ट एकाउन्टेन्टले नै त्यो सलामी रकम बाँड्दछ । यसले गर्दा कसैद्वारा छुपेको छैन । अनुचित रकम भन्न पनि नमिल्ने । त्यसैले त मेरो पूर्ण कोसिस त्यसैमा छ !”
टेबलमा भएको टेलिफोनको घन्टीले हाम्रो कुरालाई रोकिदिन्छ । शिवनाथले हातको इसाराले ‘एकै छिन’ भन्दै आफ्नो हात टेलिफोनमा बढाउँछन् ।
“हलो ... हजुर, नमस्कार हजुर ... !” — टेलिफोनमा शिवनाथ बोल्दै जान्छन् — “हजुर ... मैले जीवनलाई भनेको थिएँ ... त्यहीँ फाइल लिएर आएका छन् हजुर ... हजुर ... उसको दिमागले भ्याउँदैन । म यहाँ सेक्सन अफिसर र जीवनलाई गर्न लगाइदिन्छु, पठाइबक्सियोस् हजुर ... हजुर ... नमस्कार हजुर !”
टेलिफोन राखेर मतिर हेर्छन् र भन्छन् — “सचिवज्यूको कुरा कर्मचारी नबुझ्ने, कर्मचारीको कुरा सचिवज्यू नबुझ्ने । आफू परेँ बिचमा, दुवैको मध्यस्थता गर्नुपर्ने ।”
विषयवस्तुसँग आफू परिचित नभएको हुँदा केही नबोली उनको कुरामा सम्मतिसम्म जनाएँ । यत्तिकैमा जीवन कोठामा प्रवेश गर्छन् । जीवन मलाई हेर्दै नहेरी टेबलको अर्को छेउ, शिवनाथको कुर्सीको छेउमा गएर उभिए । फाइलको विषय सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गर्न लागे — “यो फाइलमा सचिवज्यूले भनेजस्तो गर्न आर्थिक नियमले दिँदै–दिँदैन । म कसरी आर्थिक नियमविपरीत लेखौँ ? सचिवज्यू भन्नुहुन्छ, ‘नियमसियम सबै मिलाएर ल्याउनू’ । नियममा उहाँले भनेजस्तो छैन । लौ विचार गर्नुहोस् हाकिमसाहेब, ठेक्काको काम सम्झौताअनुसार समाप्त भइसक्यो । पाउने रकम ठेकेदारले पाइसक्यो । अब यो नचाहिँदो दावी कसरी श्री ५ को सरकारले स्वीकार गर्ने ? पचास–साठी हजार भए एउटा कुरा, असी लाखको दावी ! खोइ, म त केही विचार गर्न सक्तिनँ । हामी त साना कर्मचारी, जागिरको भरमा जीवन बचाउनुपर्छ । भोलि विशेष प्रहरी विभाग अथवा अख्तियार दुरुपयोगले छानबिन ग्रयो भने के बुझाउने ? लौ हाकिमसाहेब, तपाईं नै विचार गर्नुहोस् ।”
“खोइ फाइल ल्याउनुहोस् !” — शिवनाथ जीवनको हातबाट फाइल समात्दै फाइल पल्टाउन थाल्छन् र भन्दछन् — “सचिवज्यूले आज्ञा भएको कुरामा तपाईं धेरै तर्क नगर्नुहोस् । तपाईंको गए सानो जागिर, सचिवज्यूको गए विचार गर्न सक्नुहुन्छ ? उहाँले भनेपछि हामीले कुनै हालतमा पनि मिलाउनुपर्छ । फेरि निर्णय गर्ने अधिकारी सचिवज्यू हो । सचिवज्यू त केवल एकै मन्त्रालयमा एकै फाइलको टिप्पणीमा राय नफाटोस् भन्नेसम्म चाहनुहुन्छ । आफै डस्ने काम उहाँ निश्चय पनि गर्नुहुन्न । फेरि फसे नै पनि उहाँलाई नेपालमा केही गर्न सक्ने कसैको तागत छैन । उहाँ कसको मान्छे, तपाईंलाई के थाहा ! जे होस्, हामीले नुन खाएका छौँ, उहाँको आज्ञा शिरोपर गरी काम गर्नुपर्छ ।”
केही मिनेटको फाइलको अध्ययनपछि शिवनाथजी भन्दछन्—“लौ, लेख्ने बाटो पाइहाल्नुभयो । यस किसिमबाट लेख्नुहोस् । निर्माण–यातायात मन्त्रालयले पनि दिनुपर्ने किसिमको राय दिएकै रहेछ । यसैको आधारमा सम्झौताअनुसार ठेकेदारले काम सक्नुपर्नेमा बढ्दै गएको महँगाइ र नक्सा– इस्टिमेटभन्दा केही बढी काम ठेकेदारले गर्नुपर्नेसमेत ठेकेदारको मिति–मितिको पत्रबाट ज्ञात हुन आएको र सम्बन्धित मन्त्रालयको समेत दिनुपर्ने किसिमको राय भएको हुँदा आर्थिक नियममा उल्लेख नभएको परिस्थिति सृजना भएकाले हाल एक पटकलाई ठेकेदारको दावीबमोजिम असी लाख दिनुपर्ने देखिएकाले निकासाका लागि बेहोरा प्रस्तुत गर्दछु भनेर लेखिदिए भइहाल्छ । तपाईं–हाम्रो घर–घरानाबाट जाने होइन ! दिनेले दिन इच्छा गरेपछि तपाईं–हामीलाई के टाउको दुखाइ ! जानुहोस्, आजै फाइल पेस गर्नुपर्छ ।”
शिवनाथको सजिलो बयान जीवनको मस्तिष्कमा घुसेको छैन । जीवन फाइल समात्नसम्म पनि हिचकिचाएका छन् । शिवनाथको दुई–तीन पटकको आदेशपछि फाइल समातेर केही नबोली जीवन कोठाबाट बाहिर निस्कन्छन् । शिवनाथ हाँस्तै भन्छन् — “जीवन हाम्रो सहपाठी हो । चिन्नुभएन ?
कस्तो कुरा नबुझ्ने ! त्यसैले त उसको उन्नति भएको छैन । जागिर खाएको दस वर्ष भइसक्यो ।”
टेलिफोनको घन्टी बज्दछ । शिवनाथ टेलिफोनमा बोल्न सुरु गर्छन् — “हेलो... नमस्कार हजुर !... हजुर... लगाइसकेँ हजुर... हजुर... आजै पेस हुन्छ हजुर... हजुर... हवस्, म आइहालेँ । नमस्कार हजुर !”
मतिर हेर्दै शिवनाथ भन्छन् — “मलाई सचिवज्यूकहाँ जानुप्रयो । भोलि– भोलि आउनुहोस् न, गफ गरौँ । अहिले म जाऊँ कि ?”
शिवनाथ र म कोठाबाट बाहिर निस्कियौँ । शिवनाथ गए र म बाहिरको कोठामा अलमलिएँ । जीवनले उनको टेबलको मेचमा बस्ने सङ्केत गरे । त्यहीँ बसेँ । शाखाअधिकृतको नजरमा म नौलो भएको हुँदा जीवन र मेरो अनुहार बारम्बार हेरिरहन्थे । यसैबिच जीवनले मेरो परिचय शाखा अधिकृतलाई दिन्छन्, मलाई शाखाअधिकृतको । मैले गरेको नमस्कारको प्रतिउत्तर खुसी मुद्रामा नमस्कार फिर्ती गर्दछन् । हाम्रो साधारण कुरा सुरु हुन थाल्दछ । उनी पनि नोकरीमा भर्खरै प्रवेश गरेका रहेछन्, तीन वर्ष मात्र भएको रहेछ । सरसर्ती हेर्दा साधारण पोसाक, कुनै तडकभडक छैन । मलाई लाग्छ, यिनले जागिरको रसरङ्ग पाएका छैनन् । यिनी सुख्खा तलबमा आश्रित छन् ।
शाखा अधिकृतलाई सम्बोधन गर्दै जीवन भन्छन्—“भन्नुहोस् हाकिमसाहेब, यो फाइल कसरी बनाउने सचिवज्यूको अनुकूल ?”
“हेर्नुहोस् सुब्बासाहेब ! तपाईं जस्तो टिप्पणी लेख्नुहुन्छ, म त्यसैमा दस्तखत गरी माथि पठाउने हुँ । फेरि तपाईंलाई उपसचिवज्यूले भनिसक्नुभएको छ भने फेरि किन यस विषयमा वादविवाद गरिरहने ! जागिरखान मन छैन भने राजिनामा लेख्ने हो, खान मन छ भने भनेजस्तो गर्ने हो । बिनसित्तिमा समय बर्बाद गरेर केही फाइदा छैन ।”
जीवन बोल्दै नबोली फाइल पल्टाएर टिप्पणी ड्राफ्ट गर्न सुरु गर्न लागे । नगरेर पनि के गर्नु ! जीवन नोकरीसँग जोरी खोज्न सक्तैनन् । जागिर छोडेर गर्ने पेसा उनको केही छैन । जीवनका लागि नायब सुब्बाको जागिर सिङ्गो जीवन हो ।
यस कोठाको गन्थन र समस्यासँग मलाई केही चाख छैन, किनकि यो मेरो विषय नै होइन र मेरो सुझबुझभित्र पस्न पनि सक्तैन । मलाई त केवल वर्तमानको जीवनसँग मात्र वास्ता छ । यसै प्रसङ्गमा मलाई शाखा अधिकृत कृष्णगोपालजीसँग केही सोध्ने उत्सुकता बढ्दछ । कृष्णगोपालजीलाई सम्बो धन गर्दै म भन्दछु — “कृष्णगोपालजी ! जागिरे जीवन तपाईंलाई कस्तो लाग्यो ?” मेरो प्रश्नले उनको अनुहारमा गम्भीरता छायो । उनले तत्काल उत्तर
दिन सकेनन् । फेरि मलाई मेरो प्रश्न दोह्रोयाउन आग्रह गरेर मैले प्रश्न दोह्रोयाएँ । उनको अनुहारमा ज्वारभाटा पैदा भयो । उनले गम्भीर स्वरमा भने — “बडो कठिन प्रश्न गर्नुभयो तपाईंले ।”
मैले हाँसेर भनेँ — “कुनै अप्ठ्यारो महसुस गर्नुभएको छ भने भैगो ! मैले यस कारणले जान्न चाहेको कि रमाइलो रहेछ भने म पनि जागिर खाने तरखर गरौँ भनेर । अरू विशेष केही होइन ।”
कृष्णगोपालजी भन्दछन् — “कुनै अप्ठ्यारो त छैन मलाई । तर तपाईंको तीन सेकेन्डको प्रश्नमा मेरो तीन घण्टाको उत्तर छ । त्यसैले मैले भन्न हिचकिचाएको । सरकारी उच्च ओहदामा तपाईंका कोही नजिकका नातेदार छन् भने जागिर खानुहोस्, होइन भने कुकुरले नपाएको दुःख पाउनुहुन्छ । अँ, अर्को उपाय एउटा छ । तपाईं तेल बेसार घस्न सिपालु हुनुहुन्छ भने पनि हुन्छ ।”
जीवन बिचैमा बोल्छन् — “सोझै भनिदिनुहोस् न हाकिमसाहेब — तीन ‘च’ अर्थात् चाकडी, चुक्ली र चम्चागिरी !” जीवनले व्यक्त गरेको तीन ‘च’ को अर्थले ममा हाँसो छुटायो । तीनै जना हाँस्न लाग्यौँ । कोठाको वातावरण नै रमाइलो हुन लागेको थियो । जीवनको अनुहारमा गम्भीरता छायो । उनी उही ठेक्कासम्बन्धी फाइल केलाउँदै छन् । उनको अनुहारमा मेरो नजर पर्ने बित्तिकै स्थिति विषयमा मलाई सोच्न कर लाग्यो, कस्तो परिस्थितिमा जीवनका दिन गुज्रिरहेका रहेछन् । उनले यस्ता दिनहरू हजारौँ बिताइसके । धन्य हो सहनशीलता र सहिष्णुताका लागि । मानिसले मौकाको पर्खाइमा कति कष्ट सहनुपर्दो रहेछ ! अभावको दौडमा चलेको घरमा उनलाई के शान्ति मिलेको होला र, अनुचितताको कार्यतालिकामा चलेको कार्यालयमा उनलाई के आराम मिलेको होला ! तथापि उनले नरमाएको कुनै सङ्केत देखिँदैन, किनभने उनी नेपाली हुन् । गाउँ र सहरको हावामा सम्मिश्रित एउटा जीवन ।
जीवनलाई फाइल कोर्न बाध्य गराउने हाकिमहरूको मनोवृत्ति सम्बन्धमा खोज्ने र जान्ने कुनै अधिकार छैन उनलाई । उनको विवेकले सरकारी राजस्वको असी लाख दिन चाहँदैन । विवश छन् उनी । नचाहेर पनि उनले लेख्नु छ, टिप्पणीको सुरुवात गर्नु छ । दैनिक दस रुपियाँमा बितेको जीवन । उनले सिङ्गो जीवनलाई बेचेका छन् ।
जीवन फाइलमा आफ्नो काम समाप्त गरी शाखा अधिकृतको टेबलमा फाइल दिँदै भन्छन् — “लौ, माथि पठाउनुहोस् । जागिर जोगाएँ मैले त !” कृष्णगोपालजी फाइल पल्टाउँदै भन्छन्— “यति गरेअनुसार अन्तःशुल्क
या कर कार्यालयमा जान पाइयो भने त बेसै भयो ।”
कृष्णगोपालको आशावादी वाक्यसँग सहमति जनाउँदै जीवन भन्छन् — “कोसिस गर्नुहोस् हाकिमसाहेब, सरुवा हुन कोसिस गर्नुहोस् भन्दा तपाईं गर्नुहुन्न । तपाईंलाई बसी–बसी कसले दिन आउँछ ?”
“त्यही न भयो ! के गर्नु जीवनजी ! भनेको त हो नि, नहुने ! तपाईं– हाम्रो कोही भएको भए यसरी थच्चिएर बस्नुपर्थ्यो ? हेर्नुहोस् न, हरिकान्त भर्ना हुनेबित्तिकै अन्तःशुल्कको पनि डिस्टिलरी शाखामा खटिए । मोहर आफूले लगाउनु पनि नपर्ने, घरमा बसी–बसी महिनाको पच्चिसौँ हजार बुझाउन पनि ल्याउने ! अब उसले एम ए पास ग्रयो भन्दा केको उदेक ! हाल फेरि सप्तरीको मालपोत कार्यालयमा सरुवा भएको छ । केही नभए पनि वर्षको पाँच लाख भिœयाइहाल्छ । त्यही सरहका हामीलाई एक छाक मिठो गरेर मासु खान त परै जाओस् असनको तरकारी खानसम्म रहर छ ।”
जीवन भन्छन् — “तिनी त हाम्रा मन्त्रीजीका भान्जा भए, छाडिदिऊँ । शिवबहादुरकै कुरा गरौँ न ! स्थानीय विकास विभागमा खरदार छँदा कुन गति थियो । फेरि जिल्ला कार्यालयमा अस्थायी नासुमा काम गर्दा पनि त्यति केही देखिएको थिएन । जब यहाँ आएर भन्सारमा छ महिना बसेका थिए, हेर्नुहोस् उनको बिल्डिङ ! अब उनले किन जागिर खानुप्रयो । घरको बहाल मात्रले तपाईंजस्ता सात हाकिम खाने भए । हुन त मसान कुरेपछि मुर्दा पक्कै फेला पर्छ । हेर्दै जाऊँ । हामी लाटाका खुट्टा पनि त बाटामा पर्लान् नि !” कृष्णगोपाल र जीवनका बिचका कुरामा मैले प्रतिक्रिया जनाइनँ, किनभने यस्ता कुराकानी उनीहरूको दैनिक तालिकाभित्र पर्छन् । कृष्णबहादुर आफ्नो ड्युटीमा सतर्क छन् । हाकिमसाहेबलाई चिया ल्याउन सोधेकोमा सकारात्मक सङ्केत पाउँछन् । तुरुन्तै तीन कप गरम–गरम चिया टेबलमा आइपुग्छ । चिया पिउँदै कृष्णगोपाल भन्छन् — “जीवनजी ! म आज चाँडै जान्छु । अलि सस्तो डेरा बानेश्वरतर्फ छ अरे, हेर्न जानु छ । कसैले सोधे ‘अफिसकै कामले गएको छ’ भनिदिनुहोला । ए ! यो फाइल सचिवज्यूको कोठामा लगिदिनुहोस् ।”
कृष्णगोपाल कोठाबाट बाहिर निस्कन्छन् । कोठामा जीवन र म मात्र हुन्छौँ । जीवन आफ्ना बारेमा मसँग केही भन्न लागेको जस्तो अनुहारमा फाइल ओल्टाइपल्टाइ गरिरहेका छन् । उनले केही बोल्न सकेका हुँदैनन् । मैले बिचैमा छेडिदिएँ— “जीवन ! घरमा बच्चाहरू र भाउजूलाई सन्चै छ ?” “ठिकै छ बच्चाहरू कहिले स्वस्थ कहिले अस्वस्थ, यस्तै छ ।” “बच्चाहरूलाई स्कुलमा राख्ने बेला भयो, होइन ?”—मैले सुस्तसँग कुरा उक्काएँ ।
“बेला त भइसक्यो । तर...!” — सम्हालिँदै उनले भने—“आगे साल राख्ने विचारमा छु ।” “जीवन अझै मसँग लुकाउन खोज्छन् आफ्नो वास्तविक जीवन । नेपाली समाजको यस्तै मनोवृत्ति छ । जस्तै दुःख परे पनि नआत्तिने । ‘इज्जत’ को त्रास । कसैले आफ्नो वास्तविकता थाहा नपाओस् भन्ने धारणा । यो कहिलेसम्म टिक्न सक्छ ?
जीवन मेरा बारेमा धेरै–धेरै प्रश्नहरू अगाडि ल्याउँछन् । म आफ्नै किसिमबाट उत्तर दिँदै जान्छु । जीवन मेरो बयानमा सन्तुष्ट हुँदैनन् । विशेष कारणवश म जीवनलाई भेट्न आएको होइन । मेरो उत्सुकताले तानेर ल्याएको कुरा म भन्न सक्तिनँ । तैपनि साथीभाइका विषयमा कुरा सुरु भएपछि उनी शङ्का रहित भए । उनलाई सचिवज्यूकहाँ फाइल लिएर जानु छ । त्यसैले छोटकरीमा कुरासम्म टुङ्ग्याई मलाई केही बेर त्यहीँ बस्न भनेर जीवन निस्के । कोठामा म एक्लै छु । मेरो नजर कृष्णबहादुरको खोजीमा छ । केही बेरपछि कृष्णबहादुर कोठामा पस्छन् । मैले उनलाई रोक्ने विचारले कुरा निकालिहालेँ र भनेँ — “कृष्णबहादुरजी ! तपाईं चिया बडो राम्रो बनाउनुहुँदो रहेछ ।”
“के राम्रो हुन्थ्यो र !” — मेरो नजिकै आई लजाएजस्तो गरी भने — “होटलको जस्तो कहाँ बनाउन जान्नु ? हाकिमसाहेब चिया नै नराम्रो भयो भनेर गाली गरिरहनुहुन्छ ।”
“त्यसो भन्नु त हाकिमहरूको बानी हो ।” मैले भनेँ — “साँच्चै राम्रो छ ।”
कृष्णबहादुरको अनुहारमा खुसी छायो । उनी मसँग केही भन्न र सोध्न खोजेजस्तो गरी यताउता हेर्न लागे । मैले नजिकैको मेचमा बस्न आग्रह गरेँ । मेच अलि पर सारी मेचको एक छेउमा टुसुक्क बसेर उनले भने — “हजुर आज दिनभरि बस्नुभयो । फेरि ठुला–साना सबै हाकिमलाई चिन्नुभएको रहेछ । बिहान त सुब्बासाहेबलाई मात्र खोज्नुहुन्थ्यो !”
मैले आफ्नो टाउको मात्र हल्लाई उनलाई सकारात्मक जवाफ दिएँ र भनेँ — “कृष्णबहादुरजी ! तपाईंले पच्चिस वर्षसम्म यही कोठामा मात्र काम गर्नुभयो ? मेरो प्रश्नले उनलाई हाँसो फुटायो । केही सम्हालिएर उनले भने — “के हुन्थ्यो यही कोठामा मात्रै ! यो कोठामा त तीन वर्ष भयो । यही पिउन भएर मैले धेरै अड्डामा काम गरेको छु । कति ओटा मन्त्रीको कोठामा पनि बसेँ । चार मन्त्रालयको काम गरिसकेँ अहिलेसम्म । अब कति गर्नुपर्ने हो !”
“तपाईंको तलब कति छ नि ?”
“सुरु–सुरुमा अस्थायी जागिर खाइयो, पछि स्थायी भएपछि जम्मा भएको ग्रेडसमेतले गर्दा अझै दुईसय पुगेको छैन । चार वर्षपछि दुई सय पुग्ला ।” “घर कहाँ नि ?”
“दहचोक । यहाँबाट कस्सिएर हिँड्दा तपाईंहरूलाई तीन घण्टा, हामीलाई दुई घण्टा लाग्छ ।”
“अहो ! त्यत्ति टाढादेखि दिनहुँ आउनुहुन्छ ?” “नआएर के गर्नु, हामी हाकिम होइनौँ ।” “किन, हाकिम भए आउनुपर्दैन र ?”
“आए पनि उनको खुस, नआए पनि उनको खुस । घरसम्म मोटर लिन जाँदा त एघार नबजी कुनै आइपुग्दैनन् । फेरि हाजिर बजाएपछि पुगिहाल्यो । साना कर्मचारीलाई पो छड्के लाग्छ, उनीहरूलाई लाग्दैन ।”
कृष्णबहादुरका रमाइला कुरामा म आफैँ हराउँदै जान्छु । पच्चिस वर्षसम्म विभिन्न सरकारी कार्यालय र हाकिम छानेका कृष्णबहादुर निश्चय पनि भुक्तभोगी भइसकेको मलाई अनुभव हुन्छ । उनको भनाइमा स्पष्टता छ । धेरै बुझिसकेको कारणले धक र डर हराएको छ उनमा । सायद उनका हाकिमको अभावमा उनले आफूलाई स्वतन्त्र महसुस गरेका हुन सक्छन् । “कृष्णबहादुरजी ! तपाईंलाई तलबले खान पुग्छ ?”– म मुख्य प्रश्न फुकाउँछु ।
मतर्फ फरक्क फर्केर कृष्णबहादुर नमिठो हाँसोमा भन्छन् — “तपाईंले बुझ पचाएर सोध्नुभएको यस्तो कुरा ? कृष्णबहादुरको अर्थ म एउटा सिङ्गो शरीर मात्र त होइन ! मसँग सम्बन्धित मेरा जहान–छोराछोरी पनि त छन् ! बरु यसरी सोध्नुहोस्, तपाईंको तलबले घरको नुनतेलसम्म त चल्छ ?” कृष्णबहादुरको तीक्ष्ण दिमाग देखेर म केही छिन रनभुल्लमा परेँ ।
मेरो एक प्रश्नको अनेक उत्तर पाउँदा तुरुन्त मैले प्रश्न गर्ने हिम्मत गर्न सकिनँ । मैले आश्चर्यचकित अनुहारमा उनलाई हेर्दै गएँ । फेरि कुराकानीको विषयवस्तु बदल्दै मैले भनेँ— “यति लामो अवधिसम्म जागिर खानुभएका तपाईंले नेपालका ठुला–ठुला मानिस पनि त चिन्नुभएको होला ?”
“किन नचिन्नु ! मन्त्री, सचिव, डाइरेक्टर, हाकिम कति हो कतिको चाकरी गरियो । किन नचिन्नु । बेसरी चिनिन्छ ।” — एकैछिन मौन रही कृष्णबहादुर भन्दै जान्छन् — “हामी गरिबका लागि कोही चिनेर पनि काम छैन । आफ्नो दुःख आफूसँगै छ । धेरै हाकिमहरूको गुह्य हामीलाई थाहा छ । त्यही फुस्काउला भनेर अफिस छोडेपछि पनि भेट भएपछि ‘कृष्णबहादुर, अझै जागिरमै छौ ? कहाँ छौ ? लौ चिया खाऊ’ भनेर एउटा रुपियाँ फालिदिन्छन् ।” उनी फेरि भन्दै जान्छन्— “यो हातले कति हाकिमहरूको स्वागत गरियो, गरियो । अड्डाको चालामाला बुझ्न सुरु–सुरुमा ‘कृष्णबहादुर’ सिवाय हाकिमको मुखमा अरू केही हुँदैन । जब बुझेर अलि सप्रन थाल्छन्, घन्टी लगाउन बिर्सेर ‘घन्टी सुनिनस् ?’ भनी उल्टै झपार्न थाल्छन् । पछि त मैले उनका मनको कुरा बुझेर काम गर्नुपर्दछ ।”
“के तपाईंले हाकिमहरूलाई अफिसको चालामाला बुझाउनुपर्छ ?”— नजानिदो स्वरमा मैले भनेँ ।
“सबैले कहाँ जानेर आएका हुँदा रहेछन् र ! अर्को कुरा, एउटा हाकिमले गरेको व्यवहार अर्कालाई नसुनाउँदा रहेछन् नि ! नयाँ हाकिमलाई महिनौँ दिनसम्म त मैले भन्नुपर्छ । फाइल यहाँ छ । फलानाको घर यहाँ छ । फलानोले फलानोसँग यसरी भेट्छ । साबिक हाकिमसँग सम्पर्क भइरहेका व्यक्ति यी– यी हुन् । यस्तै त हो नि ! नमोटाउन्जेल मानिसको व्यवहार एउटा हुन्छ, मोटाइसकेपछि अर्कै हुन्छ ।”
भाग्यलाई दोष दिई चित्त बुझाउने कृष्णबहादुर आफ्नो काममा त्यति असन्तुष्ट देखिँदैनन् । कसैले पैसा कमाई अत्यन्त धनी भएकोमा पनि उनलाई कुनै ईर्ष्या छैन । कामअनुसारको तलब नभएकोमा असन्तुष्टि व्यक्त गरे पनि उनीसँग पूर्तिको उपाय शून्य छ । त्यसैले उनी सन्तुष्ट नै देखिन्छन् । यो हाम्रो नेपाली समाजको गुण भन्नु या दोष ?
कृष्णबहादुरलाई कुन कार्यालयमा कति कमाइन्छ त्यो थाहा छैन, तर कुन हाकिमले कति कमायो निश्चित रूपमा उनलाई थाहा छ । हाकिमको पुरानो घर वा डेरा उनलाई थाहा छ । साथै नयाँ घरका चोटा–कोठा पनि उनले गनिसकेका छन् । हाकिम हुन दैवी शक्तिको आवश्यकता हुन्छ भन्नेमा उनी पूर्ण विश्वस्त छन् । त्यसैले प्रत्येक हाकिमलाई ईश्वरीय शक्तिका रूपमा उनले मानिआएका छन् । उनलाई कहिलेकाहीँ साधारण रोगले सताएको बेलामा हाकिमले हप्काउँदा रोग भागेको एक दुई घटना मलाई सुनाउँछन् । पन्ध्रौँ दिनसम्म एक दाना अन्न मुखमा नहाली दैनिक चार घण्टाको घोडेदौड गर्दै अफिस धाई जागिर जोगाइराखेको घटना सुनाउँछन् । छोरीको बिहेमा रुपियाँको अभाव हुँदा भोग्नुपरेको दुःख र छोरीको घर नभएर माइतमै राख्नुपर्नेजस्ता दुःखपूर्ण घटना बोकेका कृष्णबहादुर पाएमा हाकिमी पद चलाउन सक्ने व्यहोरा मलाई सुनाउँछन् ।
पिउन दर्जामा काम गरिरहेका कृष्णबहादुर आफ्नो अनुभवका आधारमा हाकिमी चलाउन सक्ने अठोट व्यक्त गर्दा म आश्चर्यमा पर्दछु । उनको साधारण हिसाबकिताब छ । “कुरा गर्ने, साधारण नेपाली लेखापढी गर्ने र सहीछाप गर्ने त हो ! मुख्य काम खरदार र सुब्बाले सकिहाल्दछन् । बाँकी रह्यो सहीछाप !” — यसै सिलसिलामा उनले भने— “जिम्मेवारी कसैको छँदै छैन । काम बिग्रियो भने ‘माथिबाट भएको’ भनी थोपरिदिन्छन् । कहाँ माथि ? कति माथि ? माथिको टुङ्गो छैन । त्यति भनेर फुर्सद पाइरहेका हाकिम मैले पनि देखेको छु । भन्नुहोस् त ! त्यसो भन्न पाए मैले हाकिमी चलाउँदिनँ ?” कृष्णबहादुर आफ्नो होस सम्हाल्दै भन्छन्— “हुन त आफूलाई यो
कुरा ‘आकाशको फल आँखा तरी मर्’ भनेजस्तै हो । आफ्नो त जातै पिउन बाबुआमाले जन्माउँदा जुनसुकै जात दिए पनि परिस्थितिले आफ्नो जात कायम गरिदिएको छ । पच्चिसौँ वर्ष त कृष्णबहादुर पिउन भनेर भनाइयो भने अब कति नै बाँचिन्छ र यसलाई हेला गर्नु । फेरि हाम्रो शास्त्रले भनेको छ, ‘जो आफ्नो छ त्यसलाई हेला नगर्नू ।”
कृष्णबहादुरको कुरा नटुङ्गिदै जीवन आइपुग्छन् । उनी ज्यादै खुसी अनुहारमा आफ्नो टेबुलतर्फ लम्कँदै भन्छन्— “हेर न, सचिवज्यूकहाँ क्युमा बसी पस्नुपर्ने, अबेर भइहाल्यो ।”
जीवनको अनुहार हँसिलो छ । बिहानको भन्दा जीवन अहिले रमाएका देखिन्छन् । विशेष कुरा नपरी जीवनमा यत्रो परिवर्तन पक्कै पनि आएको छैन । बसौँको सुख्खा आशामा कोपिला लागेको जस्तो छ । उनको अनुहारबाट म सहजै बुझ्न सक्छु, उनीदेखि सचिव खुसी भएछन् । मैले उनीसँग सोधेँ — “तिम्रो कामदेखि तिम्रा हाकिम खुसी भए ?”
मेरो कुरा सुनेर जीवन झस्किए । ओठलाई कमाउँदै, अचम्म पर्दै भने — “कसरी थाहा पायौ ?”
मैले हाँसेर जवाफ दिएँ— “कुन ठुलो कुरा हो र ? भन न बरु, के भयो ?”
कृष्णबहादुरलाई बाहिर गएर बस्ने सङ्केत गर्दै जीवन लामो सास लिन्छन् र भन्छन् — “सचिवज्यूको आजको जस्तो ‘मुड’ त मैले जिन्दगीभर देखेको थिइनँ । जानेबित्तिकै मैले फाइलको बेहोरा अवगत गराएँ, घर्रामा राख्न भन्नुभयो, राखिदिएँ । टेबलकै छेउमा आज्ञा लिन उभिएको थिएँ, सचिवज्यूबाट आज्ञा भयो — ‘सुरुदेखि नै मन्त्रालयमा नै छौ ?’ मैले ‘हजुर’ भन्न नपाउँदै ‘कुन कार्यालयमा जाने विचार गरेका छौ ?’ भनेर सोध्नुभयो । एक्कासि त्यस्तो कुरा सुन्दा मेरो सम्पूर्ण शरीर काम्न थाल्यो । भन्न खोजेर पनि मेरो ओठ जोरिएन । केही भन्न नसकी दुवै हात जोरी निहुरिएर बसेँ ।”
सचिवज्यूको कोठामा भएको घटना मलाई बताउँदा अहिले पनि उनको शरीर कामेको म देख्तै छु । उनको अनुहारमा लाली चढिसकेको छ । मानौँ उनी सचिवकै कोठामा छन् । भन्दाभन्दै उनको वाक्य बन्द हुन्छ । उनले केही भनेका छैनन् तर उनको परिवर्तित अनुहारले टड्कारो मलाई बताइरहेछ । उनलाई मैले बिउँझाउँदै भनेँ— “अनि के भयो जीवन ?” जीवन स्वयं सम्हालिँदै भन्छन् — “अँ ! सचिवज्यूले मलाई ‘लाटा’ भनी सम्बोधन गर्नुभयो । मैले अझ केही बोलिनँ । ‘हेर, तिमीलाई मात्र यो छान्ने मौका दिएको हुँ’ भन्ने मर्जी भयो । मेरो मस्तिष्कमा ज्वारभाटा उत्पन्न भयो । कहाँ राम्रो कहाँ नराम्रो, ठम्याउन सकिनँ । आफू बसेको ठाउँबाहेक सबै राम्रो देखेको छु । जिन्दगीमा आएको पहिलो मौका राम्रै ठाउँमा भन्नुप्रयो । त्यो राम्रो स्थान मेरो मस्तिष्कमा चढेन । मेरो मुखमा केवल यति मात्र आएछ ‘साह्रै दुःख पाएको छु, जहाँ आज्ञा हुन्छ ।’ सचिवज्यूबाट आज्ञा भयो, ‘करमा जान्छौ ? भैगो, मारवाडीसँग चाँजो मिलाउन तिमी सक्तैनौ’ । मेरो मुटु काम्न थाल्यो । एउटा अगाडि आएको कार्यालयको मौका क्षणमै गुम्यो । मेरो दिमागमा आयो कतै रसुवाको माल कार्यालयमा त नखटाइयोस् ! आफ्नो होस सम्हाल्दै भनेँ ‘भन्सार जान पाए हुने थियो !’ मेरो मुखबाट फुत्केको वाक्यले सचिवज्यूमा हाँसो फुट्यो । ‘अघि नै किन नभनेको लाटा ?’ भन्ने मर्जी भयो । भन्न त भनेँ, फेरि मलाई अर्को ताप प्रयो । कतै उत्तरी भेकको भन्सारमा पठाए भने त यत्रो मौका गुम्यो । कसरी मैले आफ्नो इच्छा बताउने भन्ने द्विविधामा थिएँ । फेरि सचिवज्यूबाट आज्ञा भयो ‘छोटी भन्सार जाने कि ?’ लक्ष्य त मेरो प्राप्ति भयो, जसको प्रतीक्षामा मेरो दस वर्षका दुःखका दिनहरू कटे । सुन्नेबित्तिकै मैले आनन्दको सास लिएँ । यही प्रस्तावलाई ‘हुन्छ’ भन्ने लागेको मात्र थिएँ, मेरो नजरमा रामकृष्णको स्ट्यान्डर घुम्न थाल्यो । उसका केटाकेटीले हँसिलो अनुहारमा स्कुलबस कुरेको सम्झेँ । आफ्नो इच्छा व्यक्त गर्ने दृढ निश्चय गरी एक पाइला पछाडि हटी हात जोड्दै भनेँ ‘निगाह हुन्छ भने एयरपोर्ट भन्सार पाऊँ’ । मेरो कुरा टुङ्गिनेबित्तिकै सचिवज्यूबाट आज्ञा भयो ‘त्यहाँ जाने त भन्छौ, चलन थाहा छ ?’ यथार्थमा कुरा नबुझे पनि सारांशमा कुरा बुझिहालेँ । त्यसैले मुन्टो हल्लाएर सम्मति जनाएँ । उहाँबाट आज्ञा भयो ‘भोलि नै शिवनाथलाई मैले भनेको भनी टिप्पणी ल्याउन भन्नू’ । हर्षले मेरो खुट्टा टेकिएन । पछि हट्तै म बाहिर निस्किएँ ।”
यति सुनाइसकेपछि उनको शरीरमा कम्पन सुस्ताउँदै गएको छ । उनी ज्यादै खुसी देखिन्छन् । उनले आफ्नो कमजोरी बताउँदैनथे होला म यस बखत यहाँ नभएको भए । जीवनका बारेमा मैले यहाँभन्दा जान्नु जरुरी सम्झिनँ । अब म कुनै प्रश्न गर्ने पक्षमा छुइनँ । केवल उनको खुसीमा साथ दिँदै मैले भनेँ — “धेरै राम्रो भयो आज । अब केही दिनपछि त एयरपोर्टतिर भेट हुन्छ हगि ?” “धेरै होइन, धेरै–धेरै राम्रो भयो ।” — जीवनले तुरुन्त व्यक्त गरे । “तिमीलाई थाहा छैन मेरा दुःखका दिनहरूको सम्बन्धमा । अब भगवान्ले दिए भने केही महिनामै बास जोड्न सक्छु ।”
जीवन आफूले विगतमा गरेका मूर्खतापूर्ण कुरालाई अगाडि बढाउँदै भन्छन् — “हेर न, जुन फाइलमा म केही लेख्न चाहन्नथेँ त्यही फाइलले मेरो जीवन बदलिदियो । मैले आजसम्म यही नगरेर नै दुःख पाएको रहेछु । जागिर खाएपछि सुझबुझलाई बिर्सिएर आज्ञापालन गर्नुपर्ने रहेछ ।”
जीवनले आफ्नो सुखमय भविष्यका सम्बन्धमा मलाई धेरै कुरा सुनाए । अर्को त्रासको कुरा पनि गरे, त्यहाँ विशेष निगरानी पनि छ रे । भए पनि सबैलाई चाहिने त्यही त हो नि ! त्यो भएपछि कसैले केही गर्न सक्तैनन् भन्नेमा पनि उनी विश्वस्त छन् ।
धेरै समय भइसकेको हुँदा म जीवनसँग बिदा हुन खोज्छु । उनी मलाई कुराले अलमल्याउँदै जान्छन् । अन्तमा जीवन मलाई एक कप चिया पिलाएर मात्र बिदा दिन मन्जुर हुन्छन् । उनको अनुरोध म काट्न सक्तिनँ । जीवनको आज्ञाअनुसार कृष्णबहादुर चिया बनाउन जान्छन् ।
रातको दस बजिसक्यो । निद्रा आएको छैन । बिछ्यौनामा पूरा शरीर फ्याँकेर सुतेको छु । मेरा आँखाको वरपर जीवनको घरको घटनादेखि कार्यालयको स्थिति र पछि सचिवको आश्वासनपछि जीवनमा आएको परिवर्तन एक–एक गरी आउँदै जान्छन् । शिवनाथ र कृष्णगोपालजस्ता जिम्मेवार व्यक्तिको चित्तवृत्ति सम्बन्धमा सोच्ता म आफैँ डराउँछु । मेरो शरीर आरामरहित छ । घण्टौँसम्म कृष्णबहादुरका सम्बन्धमा आएको सोचाइपछि फेरि जीवन घुम्न थाल्छन् मेरो मस्तिष्कभित्र । मेरो मनस्थिति असन्तुलित हुँदै जान्छ ।