बिहीबार
बिहानको खाना खानुअघि नै पुलचोकसम्म गई मोटर देखाएर आऊँ भन्ने विचार हुँदाहुँदै पनि म खाना नखाई घरबाट निस्कन पाउन्नँ । ‘सधैँभरि चिसो भात कति खान मन लागेको ?’ भन्ने घरको कचकच सुन्न मन लागेन । त्यसैले जतिसुकै अबेर भए पनि खाना खाएर निस्कने निश्चय गरेँ । एकै दिनको ‘गोरखापत्र’ को विज्ञापनले मेरो मोटर बिक्ने स्थितिमा पुगेको हुँदा म मनमनै प्रसन्न छु । मलाई कहिले गएर मोटर देखाऊँजस्तो भइरहेछ । घरका सबै जहानलाई पानी बोक्न लगाई मोटर साबुनपानीले धोएर चिल्लो बनाइसकेको छु । केवल मलाई ‘दोर्जेसदन’ पुग्न बेर छ । टेलिफोनबाट मलाई भनेअनुसार दोर्जेसदन पुलचोक दोबाटोकै ओल्टेकोल्टे हुनुपर्छ ।
म मनमनै विचार गर्न लागेँ— ‘दोर्जेसदन मलाई बोलाइएको छ, तर टेलिफोनमा नाम भने ‘छिरिङ’ भनिएको छ । हुन सक्छ ‘छिरिङ दोर्जे’ उनको नाम होला र आफ्नो पछिल्लो नामबाट घरको नाम राखिएको होला । बिहानै टेलिफोन गर्नुको अर्थ छिरिङ दोर्जेलाई मोटरको ज्यादै नै आवश्यक भएको हुनुपर्छ ।’ अनि मैले निश्चय गरेँ— यो पटक त एक–दुई हजार घटी नै मूल्य तोके पनि मोटर छोडेर आउने छु ।
मलाई पुलचोक पुग्न ज्यादै हतारो भएको हुँदा चाँडो–चाँडो खाना खाई भान्साबाट फुर्सद लिन्छु । हतार–हतार कपडा लगाई पुलचोकका लागि प्रस्थान गर्छु । बाटोभरि सोच्न लागेँ— ‘मोटरको मूल्य कति बताउने ? धेरै बताउँदा कुरै नगरी पठाउने हो कि ? थोरै बताउँदा आफूलाई नोक्सान हुने ।’ यो पटक मैले मोटरको मूल्य नबताउने निश्चय गरेँ । यदि उनले मोटरको मूल्य सुन्ने धेरै नै इच्छा गरे भने यति मात्र भन्छु— ‘यही कम्पनीले बनाएको नयाँ मोटरको दाम तपाईँलाई थाहै छ, अब यो त दसौँ वर्ष पुरानो भइसक्यो । तपाईँ नै मूल्यनिर्धारण गर्नुहोस् !’ यति भनेपछि उनलाई केही न केही मूल्य बताउन कर लाग्छ । उनले तोकेको मूल्यमा एक–दुई हजार नहेरी आँखा चिम्लिएर फालिदिन्छु ।
पुलचोक दोबाटोमा मोटर अड्याई बाटो हिँडिरहेको एउटा व्यक्तिलाई सोधेँ — “दाइ ! दोर्जेसदन कहाँ छ ।
उनी हिँड्दाहिँड्दै टक्क अडिए र सोच्तै भने— “दोर्जेसदन ? यहीँ पुलचोकमा भनेको थियो !”
“हो, पुलचोक दोबाटोबाट अलिकति भित्र भनेको थियो ।”
उनले तुरुन्त भने— “ए ! स्मगलर दोर्जे ? हो, पुलचोकमा हो ! यो बाटो जानुहोस्, दाहिनेपट्टि विशाल रङ्गीचङ्गी घर देख्नुहुन्छ । त्यही हो ।”
उनलाई धन्यवाद दिँदै म आफ्नो मोटरतर्फ बढेँ । मैले सोचेको थिएँ, मात्र छिरिङ दोर्जे । यहाँ एक व्यक्तिबाट सुनेँ । दोर्जे मात्रले नचिनिने । ती मलाई बिहान टेलिफोन गर्ने व्यक्तिको मेरो हृदयमा जुन रूप कोरिएको थियो, ‘स्मगलर’ भन्ने शब्द नामका अगाडि जोडिएको सुन्नेबित्तिकै उनीप्रतिको मेरो पहिलेको सोचाइ टुक्रियो । मेरो दिमागले उनको रूपलाई कल्पना गर्न सकेन । बरु मेरो मस्तिष्कमा नाना किसिमका प्रश्नहरू आउन थाले — ‘यी दोर्जे कस्ता होलान् ? रूप, जीउ–डाल तिनको कस्तो होला ? उनको विचार कस्तो होला ? उनले मसँग कस्तो व्यवहार गर्लान् ?’
यत्तिकैमा म निर्दिष्ट ठाउँमा पुग्छु । बाहिरी ढोकामै ‘दोर्जेसदन’ लेखिएको छ । ढोकाकै छेउमा ‘पत्रमञ्जुषा’ र ‘कुकुरदेखि सवधान’ लेखिएको छ । मोटरको स्टार्ट बन्द गरी हर्न लगाउन थालेँ । एक व्यक्ति ढोकाबाट बाहिर निस्कँदै भन्छन् — “कसलाई खोज्नुभएको ?”
“छिरिङ दोर्जेलाई ।”
“छिरिङसाहेबलाई कि दोर्जेसाहेबलाई ?”
उनको कुरा सुनेर म अलमल्लमा परेँ । मैले सोचेको थिएँ, छिरिङ दोर्जे एकै होलान् । मलाई बिहान टेलिफोन त छिरिङले गरेका थिए । यही सोची मैले भनेँ — “छिरिङलाई ।”
‘हुन्छ, म छिरिङसाहेबलाई सोधेर आउँछु । बोलाउनुभयो भने भेट्नु होला’ भन्दै उनले मलाई सोधे — “तपाईँ कहाँबाट आउनुभएको ?”
“बिहान टेलिफोन गरेको मानिस भनेर भनिदिनुहोस् ।”
‘हस्’ भन्दै उनी ढोकाभित्र पस्छन् । म दोर्जेलाई भेट्न सक्तिनँ, ती व्यक्तिको भनाइअनुसार छिरिङलाई मात्र भेट्न पाउँछु । पुलचोक दोबाटोमा भेटिएको व्यक्तिको एक शब्दको प्रयोगले मलाई दोर्जेसँग भेट गर्ने इच्छा बढिरहेछ ।
बाहिरी ढोका खोलेर मलाई पहिलेकै व्यक्तिले स्वागत गर्छन् । म आफ्नो मोटर भित्र क्याम्पमा प्रवेश गराउँछु । ती व्यक्तिले मलाई बाहिरी खुला बैठकमा बस्न भन्छन् । म गई बाहिरी बैठकको एक गद्दादार मेचमा बस्छु । तीनतर्फबाट फूल र लहराहरूले सम्पूर्ण बैठकलाई ढाकेको छ । मानौँ यो ‘बैठक–बगैँचा’ हो ।
एक युवक बैठकमा प्रवेश गर्दै भन्छन्— “यहाँलाई नै हो मैले बिहान फोन गरेको ?”
“हो, तपाईँ छिरिङ हुनुहुन्छ ?”
“हजुर” भन्दै हात मिलाउन मतर्फ बढेर नजिकैको मेचमा बस्दै उनले भने—“गाडी यही हो ?”
“हजुर, यही हो ।”
“यो त ज्यादै थोत्रो रहेछ ।” “थोत्रो होइन, पुरानो पक्कै हो ।” “कति मोल राख्नुभएको छ ?”
“के मोल राख्ने पुरानो मोटरको ! चलाई हेर्नुहोस् ! इन्जिन सबै बनाएको छु । टायर सबै नयाँ छन् । मोटर हेरेर आफैँ मोल गर्नुहोस् । ”
उनी मोटरको साँचो माग्दै भन्छन् —“जाऊँ न स्टार्ट गरिहेरौँ ।” हामी दुवै मोटरतर्फ जान्छौँ । उनी ड्राइभरसिटमा बसी स्टार्ट गर्न थाल्छन् । मेरो नजर क्याम्पको चारैतर्फ फिँजिन थाल्छ । एकाएक मेरो आँखा मोटरग्यारेजमा पर्छ । एकसेएक चम्किला र नयाँ मोडेलका चार ओटा कारहरू देख्छु । ती मोटरको दाँजोमा मेरो त मोटर नै भन्न नमिल्ने किसिमको छ । मलाई लाज लाग्न थाल्यो । घरमा चार–चार ओटा मोटर भएर पनि किन मोटर किन्न खोजे ? यसमा मलाई आश्चर्य लाग्यो । मोटरको हेरदेखपछि छिरिङ र म फेरि बैठकमा आयौँ । मेरो टाउको लाजले निहुरियो । म केही सोध्न नसक्ने स्थितिमा पुगेँ । ‘आफैँले मोटर हेर्नुहोस्’ भनेर हेर्न लगाएको छिरिङसँग ‘कस्तो छ त ?’ भनेर सोध्न सकिनँ । उनले नै सोधे—“मोल कति राख्नुभएको छ ?” मैले उनको कुरा काट्तै बिस्तारै भनेँ— “त्यो ग्यारेजको मोटर तपाईँकै
होइन ?”
“गाडी त हाम्रै हो । यी सबै दोर्जेसाहेबका मन परेका गाडी हुन् । प्रायः उहाँ मात्र चढ्नुहुन्छ । नयाँ गाडी लिन लागेको उहाँको मेनेजरका लागि हो ।” उत्सुकतासाथ मैले सोधेँ— “यो दोर्जेसाहेब को हुनुहुन्छ ? मैले त सोचेको थिएँ, तपाईँको नाम नै छिरिङ दोर्जे होला भनेर । टेलिफोनमा छिरिङ भन्नुभयो, घर ‘दोर्जेसदन’ भन्नुभयो ।”
“दोर्जेसाहेब मेरा बोस हुनुहुन्छ । म उहाँको सेक्रेटरी हुँ ।” “ए, दोर्जेसाहेब यहीँ बस्नुहुन्छ ?”
“हो, यहीँ बस्नुहुन्छ काठमाडौँ बस्ता ।” “मतलब उहाँ अरू ठाउँमा पनि बस्नुहुन्छ “उहाँका न्युयोर्क र ह्यामबर्गमा पनि घर छन् ।” “ए, यसको मतलब धेरै समय उतैतिर रहनुहुन्छ ?”
“वर्षभरि नै भन्नुहोस् न ! यहाँ त वर्षको आठ–नौ खेप आउनुहुन्छ । हप्ता–पन्ध्र दिन बस्नुहुन्छ ।”
“अहिले कहाँ हुनुहुन्छ उहाँ ?”
“अहिले त यहीँ हुनुहुन्छ ।” दोर्जेका बारेमा मैले जति कुरा सुनेँ, त्यसबाट मेरो उनीसँग भेट्ने इच्छा झन् बढ्दै गइरहेछ । म कसरी भेट्ने इच्छा व्यक्त गरौँ ! सोझै छिरिङलाई मैले दोर्जे भेट्ने इच्छा व्यक्त गर्दैमा भेट्न पाइएला भन्नेमा म विश्वस्त छैन । तैपनि मैले छिरिङलाई बिस्तारै भनेँ — “के दोर्जेसाहेबलाई म भेट्न सक्छु ?” उनले मेरो प्रश्न नै नबुझी जवाफ दिए— “यो एउटा गाडी खरिद गर्न
मै सक्छु । उहाँले मलाई यस्तो सानोतिनो काम गर्ने फुल पावर दिनुभएको छ । दोर्जेसाहेबसँग कुरा गर्नुपर्ने आवश्यकता नै छैन ।”
मैले उनको सबै कुरा बुझेँ, तर मेरो कुराको आशय उनले बुझेनन् । मैले उनलाई विचार बदल्दै आफ्नो राय व्यक्त गरेँ— “यो ज्यादै पुरानो मोटर छ । फेरि दोर्जेसाहेबजस्ताले उहाँका मेनेजरलाई खरिद गरेर दिने मोटर राम्रै हुनुप्रयो । बरु कतिसम्म तिर्ने यहाँको विचार छ, म साथीहरूलाई भनिदिउँला ।”
“त्यो त गाडी हेरेर भन्ने कुरा हो । राम्रो गाडी भएमा एक लाखसम्म तिर्न सकिन्छ ।”
मैले मनमनै भनेँ— ‘यो रकमले त मेराजस्ता पाँच–छ ओटा गाडी खरिद गर्न सक्छ । जो सम्झेर म घरबाट निस्केको थिएँ, त्यसमा असफल भएँ ।’ यहाँ आइपुगेपछि ती महापुरुष, जसको अमेरिका र जर्मनीमा पनि
घर छ, सँग भेट्ने अभिलाषा भित्री मनमा जागिरहेछ । म अब त्यही योजना बनाउनमा व्यस्त छु । म सोच्तै गएँ— धेरै समय युरोप र अमेरिकामा बस्ने दोर्जेको घरको बगैँचा र यो महलको बाहिरी आकृति पूर्ण युरोपीय शैलीमा देखिरहेछु, घरको भित्री सजावट कस्तो होला ? जो म कल्पनासम्म पनि गर्न सक्तिनँ ।
छिरिङ र मेरो कुराकानीबाट मेरो मोटर उनका लागि अयोग्य साबित भइसकेको छ । म अब मोटर बेच्ने पक्षमा छैन । मेरो उद्देश्यमा परिवर्तन आइसक्यो । म यस घरको वातावरणसम्बन्धमा जानकारी लिने पक्षमा छु । मैले छिरिङलाई सम्बोधन गर्दै भनेँ— “तपाईँको कुरा गराइबाट तपाईँ दार्जिलिङको जस्तो देखिनुहुन्छ, हो ?” “हजुर, त्यतै हो, कालिम्पोङ ।”
“यहाँ कति भयो काठमाडौँ बस्नुभएको ?”
“दुई वर्ष हुन लाग्यो ।”
“दुई वर्षदेखि नै दोर्जे साहेबकहाँ हुनुहुन्छ ?”
“होइन, डेढ वर्ष भयो । त्यसभन्दा अगाडि एउटा बोर्डिङ स्कुलमा पढाउँथे । छ महिना स्कुलमा शिक्षक भई काम गरेँ ।”
मैले काठमाडौँको स्थिति अगाडि राख्तै उनलाई भनेँ–“हो, शिक्षणपेसाले काठमाडौँमा बाँच्नै कठिन छ । तपाईँले पनि अनुभव गर्नुभयो । कस्तो लाग्यो तपाईँलाई ?”
“त्यही कारणले त मैले शिक्षणपेसा छाडेको ! हुन त जुन बोर्डिङमा म पढाउँथेँ, त्यो बोर्डिङले मलाई राम्रै तनखा दिएको थियो । तर महिनाको छ सय पचास रुपियाँले म एक्लोलाई पनि नपुग्ने ! काठमाडौँको स्ट्यान्डर यही हो । के गर्नु, बाँच्नैप्रयो !”
“दोर्जेसाहेबकहाँ त तपाईँलाई राम्रै होला नि
“एकदम राम्रो । बस्न यहीँ बस्छु । खाना पनि फ्री छ । मोटरको सुविधा छ । तलब पनि हेन्डसम छ । काम पनि त्यति भिड छैन ।”
उनले साधारण किसिमबाट आफ्नो स्थिति मेरा अगाडि राखे पनि मेरा लागि दोर्जेसाहेबको महŒव झन् बढ्दै छ । दोर्जेसाहेबसँग भेट्ने उपाय रच्तै मैले छिरिङलाई भनेँ — “दोर्जेसाहेबसँग भेट्ने मलाई साह्रै ठुलो इच्छा छ । उहाँको नामका सम्बन्धमा परिचित थिएँ । आज संयोगले यहीँ आइपुगियो । चिनाजानी भयो भने म पनि उहाँलाई कुनै सेवा प्रुयाउन सक्थेँ कि ?” उनले एक छिनसम्म केही जवाफ दिएनन् । केही बेरपछि उनले भने
— “हुन त परिचय हुनु ज्यादै राम्रो कुरा हो । गाडी त तपाईँसँग मिलेन, तर हाम्रो चिनाजानी त गाडीकै माध्यमबाट भयो । तपाईँले जो दोर्जेसाहेबसँग भेट्ने कुरा गर्नुभयो, त्यो म अहिले भन्न सक्तिनँ ।”
विनम्रतापूर्वक छिरिङलाई आफ्नो आशय व्यक्त गरेँ — “तपाईँसँग परिचय भयो । अब एक–अर्कालाई परिआएको समस्याप्रति सक्तो सहयोग पनि निश्चय प्राप्त हुन्छ । त्यसैले चिनाजानी भनेको ठुलो कुरा हो । उहाँको नामले गर्दा मलाई धेरै समयदेखि उहाँसँग चिनाजानी गर्ने इच्छा थियो । आज साँच्चै भनूँ भने मोटर देखाउन मात्र होइन, म उहाँलाई पनि भेट्न आएको हुँ । छिरिङजी, कृपापूर्वक तपाईँले मद्दत गर्नुभयो भने मेरो बर्सौँको इच्छापूर्ति हुन्छ ।”
उनी मेरो कुरा सुनेर टोलिए । केही भन्न सकेनन् । सायद उनले सोचे होलान् — ‘यो को हो ? किन भेट्न चाहन्छ उनको मनको शङ्कालाई हटाउँदै मैले भनेँ —“छिरिङजी ! तपाईँ दोर्जेसाहेबलाई यत्ति भनिदिनुहोस् ‘एकजना अपरिचित स्थानीय व्यक्ति भेट्न आएका छन् । तपाईँलाई सहयोग गर्छु भन्ने इच्छा व्यक्त गर्छन् । भेट्टाऊँ कि नभेट्टाऊँ ?’ यसोभन्दा उहाँले भेट्ने इच्छा व्यक्त गर्नुभएन भने नभेटुँला । यहाँले त्यति कष्ट गरिदिनुप्रयो मेरा लागि ।” ‘ठिक छ, तपाईँको यही इच्छा हो भने म एक पल्ट भनिदिन्छु, एक छिन बस्नुहोस्’ भन्दै बैठकबाट बगैँचातर्फ लागे ।
दस मिनेटपछि उनी आई मसँग मेराबारेमा सोध्न लागे — तपाईँको नाम के ? कहाँ बस्नुहुन्छ ? किन भेट्ने ? के काम गर्नुहुन्छ ? मैले छिरिङलाई एक–एक प्रश्नको उत्तर दिएँ । आफ्नो कामका सम्बन्धमा विशेष केही नभएको हुँदा ‘काम त केही गर्दिनँ’ भनेर भनेँ । यो पनि जोडेँ कि राम्रो कामको खोजीमा छु । उनी फेरि मलाई त्यहीँ एक्लै छाडी गए ।
पाँच मिनेटपछि छिरिङ प्रसन्न मुद्रामा मेरा सामु आएर भने— “हिँड्नुहोस्, तर उहाँसँग धेरै टाइम त छैन ।”
हामी दुवै खुला बैठकबाट बगैँचातर्फ झ्रयौँ । मैले मनमनै छिरिङलाई धन्यवाद दिएँ । उनले मैले भनेभन्दा लम्बेचौडे फुर्का नजोडीकन दोर्जेसाहेबले भेट्ने इच्छा व्यक्त गरेका छैनन् । निश्चय पनि उनको काममा सम्मिलित हुन आएको कुरा छिरिङले दोर्जेसाहेबलाई बताएको हुनुपर्छ । मलाई त केवल दोर्जेसाहेब कस्ता छन्, उनको रहनसहन कस्तो छ, पुलचोकमा भेटेको व्यक्तिले भनेको शब्द र वास्तविकतामा कति मेल छ, जान्नु छ । हामी एउटा ठुलो हलमा प्रवेश गर्छौँ । यो मुख्य बैठक रहेछ । त्यहाँ एक
छिन बस्न लगाई छिरिङ त्यसभन्दा भित्रको कोठातर्फ लाग्छन् । यो बैठकको चारैतर्फ पूर्ण आरामी सोफाहरूले घेरिएको छ । यसको बिच भागमा आगो बाल्ने आतसखाना र वरपर नेपाली शैलीका मूर्तिहरू र हस्तकलाका सामानले बैठकका भित्ताहरू सिँगारिएका छन् । बैठकको सबैजसो भाग ऊनको गलैँचाले छोपिएको छ ।
एकै छिनमा छिरिङ बाहिर आउँदै मलाई भित्र कोठामा आउने इसारा गर्छन् । म भित्रको कोठामा प्रवेश गर्छु । मैले त्यहाँ कुनै दोर्जेसाहेबलाई देखिनँ । सिङ्गल सोफामा एउटा मानिस बसिरहेको मात्र देखेँ, जसलाई म राम्ररी चिन्दछु । मैले सोचेँ— उनी पनि दोर्जेसाहेबलाई नै भेट्न आएका होलान् । दोर्जेसाहेबको प्रतीक्षामा मजस्तै उनी पनि छन् । मैले त्यसतर्फ ध्यान नदिएर छिरिङतर्फ हेर्दै भनेँ — “दोर्जेसाहेब अझ यहाँभन्दा पनि भित्र ?”
मेरो प्रश्न सुन्नेबित्तिकै छिरिङ अलमलिए । एक छिन् केही भन्न सकेनन् । एक छिनपछि उनले भने— “उहाँ नै हुनुहुन्छ दोर्जेसाहेब !”
मेरो विश्वासको विपरीत उनले भनेकोमा म पनि एक क्षण अलमलिएँ । मैले दोर्जेसाहेब को–को न होलान् भनेको त एउटा साधारण मानिस पो रहेछन् ! त्यसमा पनि मैले पहिल्यैदेखि चिनेका !
दोर्जेसाहेब भनिएका व्यक्ति आजभन्दा आठ वर्षपहिले मैले चिनेको हुँ । तिब्बतियन शरणार्थीका रूपमा नेपाल प्रवेश गर्ने यी व्यक्तिले नेपाली भाषा नजानेका हुँदा यिनलाई मैले मदत गरेको थिएँ । क्षेत्रपाटीमा दुई सय रुपियाँ प्रतिमहिनामा डेरा खोजेर मैले नै व्यवस्था गरिदिएको थिएँ । यिनको र मेरो त्यसैताक दुई वर्षसम्म बाटोघाटोमा बराबर भेट भइरहन्थ्यो । पाँच–छ वर्षदेखि यिनलाई मैले देखेको थिइनँ । आज देखेँ दोर्जेसाहेबका रूपमा ।
मैले उनीतर्फ बढ्दै भनेँ— “तपाईँ हो दोर्जेसाहेब ? मलाई चिन्नुभयो ?” “किन नचिन्नु !” — शान्त स्वभावमा उनले भने — “बस्नुहोस् !” उनले मलाई चिनेकोमा खुसी लाग्यो । ढोकानजिकै उभिएर बसेका छिरिङलाई दोर्जेले बाहिर जाने इसारा गर्छन् र छिरिङ बाहिर निस्कन्छन् । कोठामा म र दोर्जे मात्र हुन्छौँ ।
मैले दोर्जेलाई पुरानो सम्झना दिलाउँदै भनेँ — “होइन, तपाईँको नाम दुक्पा होइन र !”
“हो ”
“कसरी दोर्जे भयो त ?”
“दुक्पा लामा काठमाडौँको गल्लीमा मरिसक्यो । यो त दोर्जे बाँचेको छ ।”
उनको कुरा सुनेर म हाँस्न पुगेँ । उनले पनि मेरो हाँसोमा स्वर मिलाउँदै हाँस्तै भने— “दुःखको दिन दुक्पाको थियो, सुखको दिन दोर्जेको हुन्छ ।”
हुन त उनको र मेरो कुनै घनिष्ठता थिएन । उनी जब तिब्बतबाट भारत हुँदै नेपाल प्रवेश गरे, त्यसबखत उनी नेपाली भाषा पटक्कै बोल्न जान्दैनथे । एक जना साथीकहाँ उनको र मेरो परिचय भयो । त्यसताका प्रायः उनी अङ्ग्रेजी नै बोल्दथे । हिन्दी बुझ्थे, बोल्न सक्तैनथे । उनीसँग बाँच्नेसम्मको केही पैसा थियो होला । उनले क्षेत्रपाटीमा डेरा गरेर बसेपछि पनि काठमाडौँका सडक–गल्लीमा प्रायः भेट भइरहन्थ्यो । उनी के काम गर्थे, मैले उनलाई कहिल्यै सोधिनँ । मैले यति जानेको थिएँ उनी काठमाडौँमा तिब्बतियन शरणार्थीका रूपमा छन् । आज एकाएक यस अवस्थामा देख्ता मैले उनलाई दोर्जेसाहेब भनेर तुरुन्त स्वीकार नगर्नु स्वाभाविक हो ।
मैले उनलाई सुस्तरी सोधेँ — “दोर्जेजी ! यत्रो प्रगति कसरी गर्नुभयो ?” मेरो प्रश्नलाई रोक्तै उनले भने— “छोडिदिनुहोस् यो कुरा । के पिउनुहुन्छ ?
बियर या स्कच ?”
“धन्यवाद ! म पिउँदिनँ ।” —मैले उनलाई भनेँ —“हुन सक्छ भने एक कप कफी ।”
‘बस्, कफी मात्र ?” भन्दै इन्टरकमसेटबाट दुई ओटा कफीको आदेश दिन्छन् अनि मलाई सम्बोधन गर्दै भन्छन्—“तपाईँ के गर्दै हुनुहुन्छ ?”
“काम त विशेष केही छैन ।”
“केही काम नगरी काठमाडौँमा बाँच्ने कसरी ?”
“खेतीपातीबाट आएकोबाट जसरी पनि प्रुयाएर ।”
“प्रुयाउने कसरी ?अमेरिका र युरोपभन्दा काठमाडौँमा खाना महँगो छ ।” “जस्तो भए पनि बेहोर्नैपर्छ । खानका लागि हामी बाँचेका भए पो खानलाई धेरै खर्च हुन्छ । हामी त बाँच्नका लागि खान्छौँ । हामीलाई थोरै भए पनि चल्छ ।”
मेरो विचार उनलाई मनासिब लागेछ क्यारे, उनी रमाउँदै भन्छन् — “ठिक भन्नुभयो । त्यस्तो दिन मैले पनि गुजारेँ । मेरो मतलब काठमाडौँमा साधारण खाने वस्तु पनि अरू ठाउँको तुलनामा महँगो नै छ ।”
यसैबिच फोन आउँछ । उनी फोनमा कुरा गर्न थाल्छन् — “हेलो, दोर्जे स्पिकिङ... गुडमर्निङ एस.पी. साहेब भन्नुहोस्... के पक्डाउ खायो ? कहाँ ? हाम्रो एयरपोर्टमा ? ... बैङ्कक एयरपोर्टमा त हुनै नपर्ने ... के एयरपोर्टमा सुटकेस जम्मा नगरी सिटी गएछ ? ... आज सिङ्गापुरबाट टेलेक्स आउँछ भनेर कुरेर बसेको ... ब्याड न्युज ... थ्याङ्क्यू, ओ.के. बाई !”
टेलिफोन राख्तै मतर्फ फर्कदै भन्न लागे — “कच्चा मान्छेलाई काम लगाएपछि धोकामा परिन्छ ।”
वास्तविकतासँग अनभिज्ञ भए पनि एकोहोरो टेलिफोनिक वार्तालापबाट केही अनुमान गर्दै मैले दोर्जेलाई भनेँ — “कस्तो मूर्ख रहेछ ?”
मेरो प्रश्नको उत्तर दिन उनलाई कर लाग्यो । उनी मलाई तलदेखि माथिसम्म हेर्दै भन्छन् — “त्यही त भनेको ! कच्चा मान्छे, बैङ्ककको रमझम, साँझ बिताउन हतारिएर निस्कियो होला । पक्डाउ खायो । त्यो पनि आजै इन्टरपोलले खबर गरेको रहेछ । जानकारी त छिटै पाएँ । अहिले म के गर्न सक्छु र !”
उनको नोक्सानीप्रति सहानुभूति देखाउँदै भनेँ— “धेरै नै प्रयो कि ?” उनले आफ्नो खुट्टा कफी टेबलमा सोझ्याएर दुवै हात मुखनजिकै लगेर विचार गर्दै भन्न लागे — “होइन, धेरै त होइन, सिङ्गापुर पुगेको भए पाँच लाख यू.एस. डलरको थियो । अब नपुगेको हुँदा पाँच लाख रुपियाँको माल खरिद र आठ लाख रुपियाँ मिसलिनस खर्च गर्दा तेह्र लाखको नोक्सान भयो ।”
मैले बिस्तारै सोधेँ — “माल के थियो कुन्नि ?”
उनी मेरो कुरामा ध्यानै नदिई विचारमग्न भएर सोफामा लेटिरहेका छन् । एकै छिनमा इन्टरकमसेटबाट छिरिङलाई बोलाएर भन्छन् — “अहिले सिङ्गापुर कन्ट्याक्ट गरेर माल नआइपुग्ने कुरा पार्टीलाई बताइदेऊ, साथै जुम्ला र दाङमा पनि खबर पठाऊ । सात दिनभित्र त्यति नै माल तयार हुनुपर्छ ।”
“माल सिङ्गापुर नपुग्ने भयो ? गुरुङ कहाँ गएछ ?”
“पक्डाउ खाएछ बैङ्कक एयरपोर्टमा । इन्टरपोलले यहाँ खबर गरेछ । मैले भर्खर खबर पाएँ । खबर त चाँडो पाएँ, तर के गर्न सक्छु र ! त्यसैले माल तुरुन्त पठाउनुप्रयो ।”
छिरिङले दोर्जेलाई सम्झाउँदै भने— “सोनामसँग पनि दस लाखको माल छ भनेर अस्ति खबर गरेका थिए । त्यो बुक गरिदिऊँ
“हुन्छ । त्यो पनि खरिद गर र जुम्ला र दाङमा पनि अडर गर ।” छिरिङ बाहिर जान्छन् । दोर्जे आफ्नै कामविषयमा सोचिरहेका छन् । यत्तिकैमा कलकत्ताबाट ट्रङ्ककल आउँछ । उनी टेलिफोनमा कुरा गर्दै भन्छन् — “हेलो दोर्जे स्पिकिङ हियर ... एस ... काठमाडौँ ... ओ.के. ... हो, दोर्जे बोलेको ... चलिसक्यो ? ... डाइरेक्ट जर्मनवाला सिप होइन ? ... ठिक छ ल, राम्रो ... तिमी आजै काठमाडौँ आए हुन्छ ... ओ.के. !”
उनी लामो सास फेर्दै भन्छन् — “एउटा ठुलो हेड्याक पार भयो ।” उनको मनको कुरा म बुझ्न सक्तिनँ । उनी मसँग स्पष्ट कुरा गर्न चाहिरहेका छैनन् । जति एकोहोरो कुरा सुनेँ त्यसबाट केही अन्दाज लगाउन सके पनि म यस विषयमा उनीसँग कुरा गर्न सक्तिनँ । मेरा एक–दुई प्रश्नको उत्तर दिन पनि उनी हिच्किचाएका छन् । यस विषयमा मैले पूर्ण जानकारी नपाउने निधो गरी म अर्को विषयमा प्रवेश गर्छु र सोद्धछु— “दोर्जेजी ! तपाईँको न्युयोर्क र पश्चिम जर्मनीमा पनि कारोबार छ भन्ने कुरा सुनेको थिएँ । त्यहाँको कारोबार कस्तो चलेको छ ?”
“कसरी थाहा पाउनुभयो ?”
“दोर्जेजी !तपाईँको नाम त ज्यादै ठुलो व्यापारीमा गनिन थालेको छ । तपाईँको रूपसँग परिचित नभए पनि धेरै मानिसले तपाईँको नाम सुनेका छन् । यति कुरा किन थाहा नपाउनु ?”
उनले मेरो कुरा सुनेर छक्क पर्दै भने— “के म यस्तो प्रचारमा आइसकेको छु ? तब त मुस्किल प्रयो !”
“केको मुस्किल ? नाम चल्नु त राम्रै हो !”
“प्रचारमा आएपछि मैले त्यति पैसा कमाउन सक्तिनँ जति प्रचारमा नआउँदा कमाउन सक्छु । मैले सोचेको थिएँ, केवल म तारे होटेल र प्रहरीसँग मात्र परिचित छु । त्यसो भए तपाईँ पनि मलाई भेट्न आउनुभएको प्रचारको कारणले नै हो त ?”
उनको शङ्का निवारण गर्दै मैले म आएको कारण बताएँ । मेरो मोटर छिरिङले मन नपराएको र काम नलाग्ने पुरानो भएकोले खरिद–बिक्री नभए पनि घरको मालिकसँग भेटूँ भन्ने इच्छा पैदा भएको हुँदा भेट भएको कुरा बिस्तारसँग प्रस्तुत गरेँ ।
विस्तृत रूपमा म भेट्न आएको कारण बताइसकेपछि उनले भने— “हो, ह्याम्बर्ग र न्युयोर्कमा कारोबार छ । यही हाम्रो नेपाली हस्तकलाका सामान र तिब्बेतियन र नेपाली गलैँचाको बिक्रीकक्ष खोलेको छु । सबैतिर आफैँले हेर्नुपर्छ । वर्षमा धेरैजसो उतै बस्छु । सानो–सानो फ्ल्याट पनि छ । केटाकेटीहरू पनि उतै बस्छन् ।”
मैले उनलाई सोधेँ— “त्यसो भए तपाईँ उतैतिरको नागरिक बनिसक्नुभयो कि ?”
“होइन, यहीँको नागरिक छु । त्यहाँको नागरिक हुन स्टेटका फर्मालिटिज पूरा गर्नुपर्छ । बढी गाह्रो छ । यहाँको जस्तो होइन ।”
“ए, यहाँको नागरिकता लिइसक्नुभएको छ ?”
“लौ ! नलिए यति ठुलो व्यापार मैले कसरी गर्ने ? लिइसकेँ । यसैबाट त मैले यति ठुलो कारोबार गर्ने मौका पाएँ ।”
उनले विषयवस्तु बदल्दै मलाई भने— “के तपाईँ मसँग काम गर्न चाहनुहुन्छ ? तपाईँ मेरो पुरानो परिचयको मान्छे । तपाईँलाई मेरो पहिलेको सबै कुरा थाहा छ । जतिसुकै म धनी भएर दोर्जेसाहेब भए पनि तपाईँको नजरमा दुक्पा लामा नै छु । तपाईँको मनमा परिवर्तन मसँग मिलेर काम गरेपछि मात्र हुन्छ । तपाईँले मलाई साथी सम्झेर मसँग काम गर्नुभएमा तपाईँलाई ठुलो लाभ हुने छ ।”
मैले काम खोज्न दोर्जेलाई भेट्न चाहेको होइन । मलाई त केवल दोर्जेको काम कस्तो छ, त्यही बुझ्नु थियो । स्थिति ठिक आएको हुँदा मैले उनलाई भनेँ— “हेर्नुहोस् दोर्जेजी ! काम गर्छु मात्र भनेर हुँदैन । त्यसका साथै समयले पनि साथ दिनुपर्छ । फेरि मसँग पैसा छैन । यति ठुलो काम, म तपाईँसँग मिलेर कसरी गर्न सक्छु ? मलाई तपाईँले उपहास गरेजस्तो लाग्यो । न म गर्न सक्छु, न तपाईँ गराउनुहुन्छ ।”
दोर्जे मलाई सम्झाउँदै भन्छन्— “केवल तपाईँ गर्न इच्छा मात्र गर्नुहोस्, बाँकी बन्दोबस्त म सबै मिलाउँछु । तपाईँजस्तो स्थानीय व्यक्तिको मलाई धेरै आवश्यकता छ । त्यसमा पनि तपाईँ मेरो पुरानो परिचित व्यक्ति । तपाईँलाई सहयोग नगर्ने कुनै कारण छैन । यो लाइनको काम पैसा भएर मात्रै गर्ने काम होइन । यो त बुद्धि र चालबाट कसैको सहयोगद्वारा गरिने काम हो । यो लाइनमा प्रवेश गर्न भित्री दिललाई बाँधेर आफूलाई यसमा समर्पित गर्नुपर्छ, तब जादू गरेजस्तो दिन दोब्बर रात चौबर प्रगति हुँदै जान्छ । फेरि यो देशमा यो काम गर्न बडो सजिलो छ । यो मौका सधैँ रहँदैन ।”
उनी भन्दै जान्छन्— “हेर्नुहोस्, तपाईँलाई थाहै भएको कुरा हो म काठमाडौँ आउँदा कुन स्थितिको थिएँ । तपाईँहरूले नै मदत गर्नुपर्ने मेरो स्थिति थियो । आज मैले ... गर्दै गएँ र म यो हैसियतमा पुगेँ । त्यसैले ... गर्नका लागि एउटा अठोट बनाउनुपर्छ र गर्दै जानुपर्छ । समय आफैँ सृजित भई हाम्रो सामु खडा हुन्छ । समयले हामीलाई बनाउने होइन, हामीले समय बनाउनुपर्छ ।”
दोर्जेको मनसाय मैले बुझेँ । मेरो माध्यमबाट अरू कुनै काम गर्न चाहन्छन् । उनलाई अझ रुपियाँले पुगेको छैन । यो रुपियाँ कमाउने मानिसको नशा कहिले नटुङ्गिने क्षितिजजस्तो हुँदो रहेछ । यिनलाई यत्रो धन–दौलत भएर पनि यिनले काम छोडेका छैनन् । म उनको विचारको प्रतिकूल जान चाहन्नँ । उनको विचारलाई बढावा दिँदै भनेँ— “दोर्जेजी ! यहाँको विचार शतप्रतिशत ठिक हो । समय हामीले बनाउनुपर्छ । समयले हामीलाई चलायो भने त हामी केही गर्न सक्तैनौँ ।” उनी मप्रति आकृष्ट हुँदै छन् । पहिले केही नबताउन चाहेका दोर्जे अब आफ्नो गाँठो बिस्तारै फुकाउँदै छन् ।
यसैबिच एउटी भर्खरकी केटी दुवै हातमा ट्रे समातेर कफीपट ल्याई हाम्रो अगाडि राखिदिन्छिन् र दोर्जेको आदेशनुसार दुवै कपमा कफी बनाइदिन्छिन् । हामी दुवै कफी चुस्न थाल्छौँ । युवती कोठाबाट बाहिर निस्किन्छिन् ।
कफी पिउँदापिउँदै दोर्जे भन्दछन्— “हेर्नुहोस् ! यो व्यापारका बारेमा तपाईँलाई म सानो नमुना पेस गर्छु, जो मेरो जीवनसँग सम्बन्धित छ । तपाईँले पनि मेरो प्रगतिबारे सोध्नुभयो । त्यसैले तपाईँलाई कुनै कुरा नलुकाई भन्छु । किनभने तपाईँले मेरा हिजोका दिनहरू पनि देख्नुभएको छ । मेरो जीवनमा घटेको घटना बताउँछु, सुन्नुहोस् । जब म काठमाडौँको गल्ली चहारेर साँझ एउटा रेस्टुराँमा शान्तिका लागि रक्सी पिउन थाल्थेँ, त्यहाँ मैले धेरै विदेशी साथीहरू बनाउँदै गएँ । अकस्मात् एक दिन मेरो टेबलको साइडमा एक जर्मन बसेर नक्सा कोरिरहेको देखेँ । उनको र मेरो बिचमा कुरा हुन लाग्यो । घन्टौँसम्म कुरा भएपछि उनको र मेरो दोस्ती कायम भयो । उनले लेखेको नक्साबारेमा उनको होटलको कोठामा गई सम्झाउने इच्छा व्यक्त गरेअनुसार म त्यहीँबाट उनको होटलको कोठामा गएँ । उनले मलाई देवताको मूर्ति देखाउँदै भने— ‘यो यहाँ छ, मन्दिरमा यति ओटा ढोका छन्, ढोका यस किसिमबाट लाग्छ, यति समयदेखि यति समयसम्म मानिस रहन्छन् ।’ सब वैज्ञानिक तरिकाले विश्लेषण गरेको कागज दिए र भने— यदि यो मूर्ति काठमाडौँमै हेन्डओभर गरे पचास हजार दिने, जर्मनीमा प्रुयाइदिए तीन लाख दिने । पचास रुपियाँ गोजीमा नभएको म त्यस मन्दिरमा घुम्न लागेँ । निकै दिनको प्रयासपछि एउटा स्थानीय व्यक्तिको सहयोगले मेरो डेरामा मूर्ति आइपुग्यो । जसले सहयोग ग्रयो, त्यसलाई एक हजार दिएँ । सम्झौताअनुसार जर्मनले मलाई दिएको पैसाबाट मैले आफ्नो बिजनेस जमाउन थालेँ । पछि म बिजनेसको क्रममा जर्मनी पुगेको थिएँ । जर्मनीमा एक जना साथीको ड्रइङ रुमको आकर्षणको केन्द्र भई त्यो मूर्ति रहेको रहेछ । मैले उनलाई मूर्तिका बारेमा सोधखोज गरेँ, एकजना फ्रेन्चले एक लाख मार्कमा बेचेको रहेछ । मैले उनलाई ‘अब कति पाए बेच्छौ’ भन्दा ‘छ लाख मार्क पाए बेच्छु’ भने । म न्युयोर्क गई त्यही मूर्तिको पाँच लाख डलर तय गरी आएँ । पछि जर्मनीबाट त्यो मूर्ति न्युयोर्क प्रुयाई पाँच लाख डलरमा बेचेँ । अब भन्नुहोस् यो बिजनेसको कुनै सीमा रहेछ ? हुन सक्छ त्यो मूर्ति अझ कतिमा बिक्ने हो ! जुन मूर्तिको सर्वप्रथम एक हजार मूल्य निर्धारण भएको थियो, त्यही मूर्ति मैले दुई पल्ट बेचेँ । प्रत्येक पटक स्थितिअनुसार म्याक्सिमम मुनाफा कमाएँ । साँच्चै भनूँ भने मेरो लाइफ नै त्यही मूर्तिले बनायो ।”
उनी भन्दै जान्छन्— “तपाईँलाई के भन्ने ! यो काममा हामीलाई सबैतर्फबाट सहयोग छ । साथै काठमाडौँका जति पनि ठुला भनी भन्नुहुन्छ, प्रायः सबैले यस्तै अवैध भनिएका काम गरेका छन् । किनभने रुपियाँ यसैमा छ ! रुपियाँमा इज्जत छ । सम्झनुहोस्, काठमाडौँमा चम्कने कार चिप्लाउने व्यक्तिका आँखामा हेर्नुहोस्, स्पष्टसँग तपाईँले अवैध व्यापार चम्किरहेको देख्न सक्नुहुने छ । सानो अवैध ! ठुलो अवैध ! बस्, फरक यत्ति छ ।”
उनको कुरा नटुङ्गिदै इन्टरकमसेटको घन्टी बज्छ । उनी सेटमा कुरा गर्न थाल्छन्— “हैलो... राजासाहेब... भित्र पठाइदेऊ ।”
दोर्जेले रिसिभर नराख्तै एक व्यक्ति कोठामा प्रवेश गर्छन् । “आउनुहोस् ! राजासाहेब आउनुहवस् !”— दोर्जे ती व्यक्तिको स्वागत
गर्दै भन्छन्— “धेरै समयपछि दर्शन पाइयो हजुरको !”
म बसेको ठिक अगाडिको सोफामा बस्तै उनी मलाई नियाल्न थाल्छन् । मलाई विश्वास छ, मलाई उनी चिन्दैनन् । तर म उनलाई चिन्दछु, किनभने उनी नेपालका एक कहलिएका समाजसेवी हुन् । ‘ठुलो बाबुसाहेब’ भनेपछि पश्चिमाञ्चलका बच्चाबच्चाले चिन्दछन् । काठमाडौँमा पनि उनलाई धेरैले चिन्दछन् । कुन त्यस्तो सामाजिक संस्था नेपालमा होला, ठुलो बाबुसाहेबले योगदान नगरेको ! मैले उनलाई आदरको दृष्टिले हेर्ने गरेको थिएँ, तर एकाएक यहाँ देखेर म छक्क परेँ । मेरो परिचय दिँदै दोर्जेले बाबुसाहेबलाई भने— “उहाँ मेरो पुरानो साथी हो । उहाँ पनि मसँग काम गर्न लाग्नुभइरहेछ ।” बाबुसाहेबको परिचय दिँदै दोर्जेले भने— “राजासाहेब हाम्रा संरक्षक भने पनि हुन्छ । उहाँकै सहयोगबाट हामीले काम गरिरहेका छौँ । तपाईँलाई यो पनि भनिदिऊँ, राजासाहेबकै सहयोगबाट मैले नागरिकता बनाएको हो ।” दोर्जेको स्पष्ट कुराले बाबुसाहेबलाई अप्ठ्यारो भयो । उनले आफ्नो लज्जित अनुहारलाई प्रसन्न बनाउँदै भने— “के कुरा गरेको दोर्जेसाहेबले पनि ? तपाईँ मनाङमा जन्मनुभएको मानिसलाई नागरिकता बनाउन केको मदत गर्नुपर्छ ? त्यो त तपाईँको जन्मसिद्ध अधिकार हो !”
बाबुसाहेबले मेरा अगाडि केही कुरा गर्न चाहेनन् । त्यसैले उनले दोर्जेलाई अर्को कोठामा गई गोप्य गर्ने आशय व्यक्त गरे । दोर्जेले मलाई एकै छिन बस्न भन्दै दुवै अर्को कोठातर्फ गए । करिब पन्ध्र मिनेटपछि दोर्जेले म बसेको कोठामा प्रवेश गर्दै भने— “राजासाहेब हिँड्नुभयो । यिनीहरूलाई ब्यालेन्समा राख्न बडो मुस्किल छ । काम गर्छन् छेरुवा तालले, खान खोज्छन् शेरको छाँटले ।”
मैले बुझ्न सकिनँ उनको भनाइको अर्थ, कोट्याउने पनि कुरा भएन । मैले बाबुसाहेबका बारेमा कुरा निकाल्ने ठाउँ नै छैन । म चुपचाप नै रहेँ । दोर्जे आफ्नो स्थानमा आई बसेर भने— “म काठमाडौँ एक हप्ता बसेँ भने तीन–चार लाख त बाँड्दै ठिक हुन्छ । तर जे होस्, खाएअनुसार आजसम्म राम्रै गरेका छन् ।”
मैले उनको कुरालाई बढावा दिँदै भनेँ— “यसरी दिन सक्ने आफूसँग क्षमता हुनु राम्रै हो । फेरि तपाईँको नुन खाएपछि तपाईँको सोझो पनि त चिताउँछन् !”
मेरो कुरा नटुङ्गिदै उनले सहमति जनाउँदै भने— “ठिक भन्नुभयो । यहाँका मान्छे त साह्रै सिधा छन् । एक छाक मात्र खान पाए पनि दिनभर सलाम ठोकेर बस्छन् । दिन र खुवाउन सक्नुपर्छ, यिनले बाबुआमा बराबर मान्यता दिन्छन् र यति इमानदार छन् जति एउटा मालिकप्रति कुकुर हुन्छ ।” दोर्जेको यो वाक्य मेरो चेतन मस्तिष्कले स्वीकार्न सक्तैन । मलाई कता–कता नराम्रोसँग बिझ्दछ । त्यस शब्दको विरोधमा म भीषण प्रतिक्रिया जनाउन खोज्छु । तर केवल दोर्जे र म मात्र भएको बन्द कोठामा म बौलाहा साबित हुन सक्छु । मैले आफू सम्हालिँदै शिष्ट भाषामा दोर्जेलाई भनेँ— “दोर्जेजी ! तपाईँ यहीँ बसेर यहीँको नागरिकका रूपमा संसारमा चिनिनु भएको छ, तर यहाँका मानिसहरूलाई तपाईँ किन यति निच सम्झनुहुन्छ ?” जवाफमा उनले भने— “मैले त यहाँका मान्छेको इमानदारीको एग्जाम्पल दिएको । मेरो भनाइ यहाँका मान्छेमा इमानदारी काफी छ । यो कुरा छोडिदिऊँ ! कामको विषयमा कुरा गरौँ ।”
दोर्जेले मेरो मनको भावना बुझेर विषयवस्तुलाई पन्छाउँदै अर्को विषय उल्लेख गर्न लागे ।
मैले सोचेँ— यिनीसँग मात्र यस विषयमा बहस गर्नु बेमनासिब हो । जो उनको अनुभव थियो, त्यो व्यक्त गरे । अनुत्तरदायी नागरिक भएको यो समाजमा एकले अर्काको प्रतिनिधित्व गर्न सक्तैन । आ–आफ्नो डम्फूले नचाइरहेछ सबैलाई चाहेर होस् या नचाहेर पनि । दोर्जेले बदलेको विषयवस्तुमा मैले चाख नदेखाउँदा पनि उनी भन्दै जान्छन्— “बुझ्नुहोस् र विचार गर्नुहोस् तपाईँ ! यो हाम्रो काम कैयाँहरूले गरेजस्तो देश खोक्रो पार्ने काम होइन । हामी कृत्रिम अभाव खडा गरी मूल्यलाई उतार–चढाव गर्दैनौँ । पाँच प्रतिशतको खर्चमा लाइसेन्स निकालेर शतप्रतिशत जनताद्वारा निकाल्दैनौँ । राजस्वलाई धक्का दिँदैनौँ । हाम्रो त फियर बिजनेस छ । सडेपडेर जाने जङ्गलका वस्तुहरू उपयोगमा ल्याउँछौँ । अनुत्पादित मूल्यहीन वस्तुको मूल्यनिर्धारण गर्छौँ, जसबाट कसैलाई बेफाइदा छैन । जसले यो काम गर्छ, त्यसलाई फाइदैफाइदा छ ।” दोर्जे आफ्नो कामलाई अरूको कामसँग दाँज्दै भन्दै जान्छन्— “हेर्नुस् !
हामी त्यस्तो काम गर्दैनौँ, जसले यो देशलाई नोक्सान होस् ! आफ्नो दायित्व र अख्तियारलाई बिर्सेर धनको लालचमा आँखा चिम्लेर सहिछाप गरेर देशलाई धोका दिँदैनौँ । जनप्रतिनिधि भनाउँदाले जस्तो ‘मुखमा रामराम बगलीमा छुरा’ राख्नु हामीलाई पर्दैन । हाम्रो काम त स्ट्रेट फरवार्ड छ । त्यसैले यसमा काम गर्न हिच्किचाउनुपर्ने कुनै कारण छैन ।”
दोर्जेको दृष्टिकोण मेरा सामु स्पष्ट आइसक्यो । निर्भीकताका साथ उनले आफ्नो विचार व्यक्त गरे । उनको काममा उनी पूर्ण सन्तुष्ट छन् । अरूको कामभन्दा उनको काम स्वच्छ र निर्मल छ भन्ने पनि उनी घमन्ड गर्छन् । उनको भनाइअनुसार मैले उनीसँग प्रश्न गर्ने कुनै ठाउँ पाउँदिनँ । म चुपचाप उनको भनाइ मात्र सुन्दै गइरहेछु ।
उनी भन्दै जान्छन्— “यहाँका मान्छेमा हिम्मत छैन ! सम्झनुहोस्, बुद्धि छैन । हुन त म यसै कारणले नै दुक्पाबाट दोर्जे भएँ, केही वर्षमा नै मेरो यति हैसियत भयो । मेरो व्यक्तिगत लाभको दृष्टिकोणले त यो हुनु राम्रै हो,तर पनि म चाहन्छु सबै मजस्तै हैसियतवाला हुन सकून् । केही यहाँका इज्जतदारहरू त यो काममा सरिक छन् । त्यसैले म तपाईँलाई जोड गर्छु कि प्रवेश गर्नुहोस् तपाईँ यो काममा आँखा चिम्लिएर ।”
म टोलिएर उनको कुरा सुनिरहेको छु । म उनको कुरामा असहमति जनाउन सक्तिनँ । उनको आग्रहलाई स्वीकार गर्न पनि सक्तिनँ । उनको भनाइ जति स्पष्ट भए पनि मेरो नजरमा उनको काम अवैध छ । यही आफ्नो विचारलाई स्पष्ट गराउने इच्छाले म बिस्तारै भन्छु— “दोर्जेजी ! जो यो काम भन्नुभयो, यो ऐन–नियमको विपरीत काम कसरी गर्ने ? फेरि कानुनी बन्धनबाट उम्कन सधैँ सकिँदैन !”
मैले आफ्नो विचार पूरा गर्न नपाउँदै उनी भन्न थाले— “तपाईँ मलाई बताउन सक्नुहुन्छ कि यस्तो काम गर्ने मानिस कहिले र कहाँ कानुनको नजरमा परेको छ ?”
“समाचारपत्रमा कहिलेकाहीँ पढेको छु ।”
“के त्यो समाचारपत्रमा छापेको खबरअनुसार पक्डाउ खाएको मानिस हामीजस्तो हो ?”
“त्यो त भन्न सक्तिनँ”
“तब ? हेर्नुहोस्, ती त साधारण कामदार हुन् जसलाई हामी एक या दुई हप्तामा कानुनबाट मुक्त गराइछोड्छौँ । कहिले त काम गरेको देखाउन हामीसँगै सोधी पक्डाउ गर्छन् । यो त केवल पराईजस्तो साधारण मान्छेको आँखामा छारो हालेको हो । त्यसले कानुनको नजर यसमा पनि छ भनेर साबित गराउने गर्छ । कोही यसै विषयको आधारमा सजाय पाएर बसेका छन् भने ती सबै परिबन्दमा फसाइ राखिएका हुन् । जो वास्तविक रूपमा यो काम गर्छ, त्यो कहिल्यै फस्न सक्तैन । म यो दावाको साथ भन्न सक्छु, विश्वास गर्नुहोस् ! हाम्रो ग्याङमा तलदेखि माथिसम्म सेटिङ मिलाएका छौँ । हालको स्थितिमा हामी सबै क्षेत्रबाट संरक्षित छौँ । हामीलाई कसैले केही गर्न सक्तैन । तपाईँलाई थाहा छ ? केही महिनाअघि पाँच लाखको अवैध सामान पक्डाउ खाएको व्यक्ति अहिले आरामसँग हिँडिरहेछ । उसलाई कानुनले कुनै छेकथुन गर्न सकेन । भन्नुहोस्, अब यो कामलाई सरकारले नियन्त्रण गर्न सक्छ ? बन्द गराउन सक्छ ?तपाईँलाई म विश्वास दिलाउन चाहन्छु र म स्पष्ट भन्छु कि यो हामीसम्म पुग्नै सक्तैन । तपाईँ जो अवैध भन्नुहुन्छ त्यो वैध हो, किनभने कानुनको नजरमा हामी सधैँ सफा छौँ ! राम्रा छौँ ! असल छौँ !”
दोर्जेको विचारको प्रतिकूल म विवाद खडा गर्न चाहन्नँ, किनभने उनले वर्तमान स्थितिलाई पूरा बुझी तर्क प्रस्तुत गरेका छन् । उनको भनाइ कत्तिको ठिक हो भनी म वर्तमानसँग तुलना गर्न थाल्छु । उनको भनाइ शतप्रतिशत मिल्दो छ मेरो समाजको वर्तमान स्थितिसँग ।
मैले दोर्जेसँग बिदा माग्दै भनेँ— “दोर्जेजी ! धेरै समय तपाईँको लिएँ ! परिचय भयो । फेरि आउँदै गरौँला, अब जाऊँ पनि ।”
उनको कुरामा सहमति मैले नजनाएको हुँदा उनले त्यस कुरालाई फेरि दोह्रोयाउन थाले । उनीसँग मिलेर काम गर्ने उनको आग्रह बारम्बार दोह्रोयाउन थाले । मैले उनलाई यति नै भनेँ — “दोर्जेजी ! अब परिचय भयो, आउँदै गर्छु । तपाईँसँग मिलेर काम गर्नेबारेमा केही दिन म विचार गरूँ । केही दिनपछि फेरि म आउँछु ।”
त्यसपछि उनले मलाई रोक्न सकेनन्, अन्तमा उनले यही भने — “जरुर आउनुहोला ! सदैव तपाईँलाई स्वागत छ !”
दोर्जेसँग बिदा हुँदै म भित्री कोठाबाट निस्केँ । बाहिर बैठकमा चार–पाँच जना बसिरहेका देखेँ । एकाएक म ती व्यक्तिहरूको अनुहार नियाल्न पुग्छु । मैले कहिल्यै नदेखेका अनुहारहरू पनि मलाई निशाना लगाउँछन् । छिरिङको खोजीमा मेरा आँखा फेरि बैठकका चारैतर्फ दौडन्छन् । म छिरिङलाई देख्तिनँ । बाहिर बगैँचामा अर्का एक व्यक्तिसँग कुरा गरिरहेका छिरिङले मलाई देख्नेबित्तिकै अनौठो अनुहार लगाउँदै मतर्फ बढेर भने— “अहो ! तपाईँले त धेरै टाइम पाउनुभयो । यहाँ दोर्जेसाहेबलाई भेट्न कति मानिस आइसक्नुभयो । कुराकानी कस्तो भयो ? फ्रुटफुल ?”
“अँ, भन्नुप्रयो ।”
“तब त आउँदै गर्नुहोला ।”
“हेरूँ !”
“हेरूँ के ? आउनुहोस् जरुर ! हाम्रा साहेब यति लामो समयसम्म कहिल्यै कुरा गर्नुहुन्नथ्यो । बढी गर्नुभयो भने पाँच–दस मिनेट । आजको तपाईँहरूको बसाइ देखेर त म सहजै अनुमान गर्न सक्छु कि तपाईँहरूले एउटा विशेष योजना तयार गरेको हुनुपर्दछ ।”
“होइन, कुनै योजना बनेको छैन ।”
“जे होस्, तपाईँ आउनुपर्छ ।”
“हस् ।” — मैले हाँस्तै औपचारिकता पूरा गरेँ ।
म दोर्जेसदनबाट आफ्नो घरतर्फ लागेँ । बाटोभरि मलाई दोर्जेको त्यो अर्ध उज्यालो बन्द कोठाभित्र नै बसिरहेको अनुभव भयो । मेरो मनभित्र उत्तररहित प्रश्नहरू आउन लागे — इमानदारी ? नैतिकता ?? सत्यता ???