बुधवार
“दाइ ! दाइ !!” मेरो कानमा गुन्जन्छ । म झस्केर बिउँझन्छु । मेरो आँखा मेरो भाइको अत्यासपूर्ण अनुहारमा पर्छ । उनले मलाई सोधे — “के भयो दाइ ? के भयो ? के भयो ?”
म केही सोच्न सक्तिनँ, किन मलाई सोधिरहेछन् । मैले जवाफ दिने ठाउँ पनि छैन । म घडीतर्फ आफ्ना आँखा बढाउँछु । पौने छ बजेको रहेछ । साधारणतया म छ बजे बिउँझन्थेँ । मेरो समयअनुसार पनि केवल पन्ध्र मिनेटको मात्र फरक पाएँ । म आफ्नो टाउकोसम्म सिरानीबाट उठाई भाइलाई सोधेँ— “किन ? के भयो ?”
“तपाईँ कोसँग कुरा गर्न लागेको ?”—उत्सुकतापूर्वक भाइले सोधे — “म यहाँ कोठामा पस्ता ‘नमस्ते हजुर ! नमस्ते ! मलाई चिन्नुभएन ? बिर्सनुभयो ?’ भनेर भन्दै हुनुहुन्थ्यो । कोसँग कुरा गर्नुभएको ?”
भाइको कुराले मलाई आश्चर्यमा प्रायो । मैले कुनै कुरा गरेको सम्झना छैन । फेरि सबेरै बिछ्यौनामा कसैसँग भेट्ने कुरा पनि भएन । पक्कै मैले सपनाको क्रममा कसैलाई केही भने हुँला । एक छिन आँखा चिम्ली सम्झन कोसिस गरेँ । मेरो आँखामा सपनाका घटनाहरू खेल्न थाले । मैले भाइलाई भनेँ— “सपना देखेको रहेछु ।” भाइले हाँस्तै सोधे— “कस्तो सपना देख्नुभयो ‘नमस्ते हजुर ! नमस्ते !’ भन्नुपर्ने ? पक्कै पनि तपाईँले ठूलै मान्छेको सपना देखेको हुनुपर्छ ।”
“हो ! एउटा मानिस हिजो मैले रेस्टुराँमा भेटेको थिएँ । उनले आफूलाई भूतपूर्व मन्त्री भनेका थिए । उनी धेरै पटक मन्त्री भइसकेका रहेछन् । हो, तिनै पूर्वमन्त्रीले फेरि मन्त्री हुने कुरा पनि मलाई विश्वास दिलाएका थिए । उनै भूतपूर्व मन्त्री फेरि मन्त्री भएको सपना देखेँछु ।”
मेरा भाइ मेरो कुरामा चाख लिँदै बिछ्यौनामा बस्न आए । मैले खुट्टा खुम्च्याई उनलाई बस्ने स्थान दिएँ । भाइले मलाई सोधे— “हिजो के तपाईँ होटल जानुभएको थियो ?”
“हो, एउटा न्युरोडको रेस्टुराँमा ध्रुवनाथले मलाई हिजो डिनर दिएका थिए ।”
मेरा भाइ साँझ धेरै अबेर घर पस्छन् । आजभोलि परीक्षाको तयारीका लागि साथीकहाँ व्यस्त छन् । हाम्रो भेट बिहान हुन्छ । दिनभरको कार्यक्रम त्यसै बेला तयार हुन्छ । उनले चिने–जानेको व्यक्तिको नाम सुन्नेबित्तिकै उनले भने— “ए ! हाम्रा ध्रुवदाइ ?”
“हो । उसको प्रमोसन भएको उपलक्ष्यमा मलाई होटलमा खान डाकेको ।”
“अनि तपाईँहरू दुई जना मात्रै ?” “दुई जना मात्रै गएको त हो नि !” “अनि को मन्त्रीको कुरा गरेको त ?”
भाइलाई हिजोको घटना आद्योपान्त सुनाउन मलाई कर लाग्यो । हाम्रो चिया पनि आएको छैन । हामी दुवै भाइ चियाको प्रतीक्षामा छौँ । हिजोको घटना मेरो मस्तिष्कमा ताजै छ । उनको उत्सुकतालाई पूरा गर्न पनि मैले हिजोको घटना बताउन थालेँ ।
“ध्रुवनाथको प्रमोसन भएकोमा उनले मलाई एउटा राम्रो होटलमा डिनर दिने कबुल गरेका थिए । अचानक हिजो साँझ पौने आठ बजे यहाँ आएर भन्न लागे — “लौ होटल जानुप्रयो, आज मलाई फुर्सद छ । भोलिदेखि पन्ध्र दिनसम्म पाउँदिनँ । फेरि तिमी ढिलो भएकोमा रिसाउँछौ । आजै जाने निश्चय गरी म आएको !”
घरमा खाना खाने बेला भइसकेको थियो, म द्विविधामा परेँ । उनको आग्रहलाई काट्न पनि सकिनँ ।
हामी होटलमा पुग्दा करिब नौ बजिसकेको थियो । रेस्टुराँ विदेशी पर्यटक र नेपालीहरूले खचाखच भरिएको थियो । टेबल कुनै खाली थिएन । एक चक्कर लगाई काउन्टरमा आई सोध्यौँ— “खोइ, खाली रहेनछ नि
उनले औँल्याउँदै एउटा टेबल देखाए जहाँ एक जना मात्र बसिरहेका थिए । टेबलको तीन सिट खाली थियो । हामी त्यसतर्फ अघि बढ्यौँ र ती भलादमी देखिने व्यक्तिसँग खाली मेचमा बस्नका लागि आज्ञा माग्यौँ । उनले तलदेखि माथिसम्म हामीलाई एक–एक गरी हेरेर रेस्टुराँको अरू भागमा नजर घुमाएपछि बस्नका लागि आज्ञा दिए ।
त्यो टेबलमा केवल तीन ओटा प्लेट छन्, जो एउटा उनको अगाडि र दुई ओटा हाम्रो अगाडि पर्न आएको छ । हाम्रातर्फ दुई खाली ग्लास पनि छन् । आधा रक्सी बाँकी नै रहेको एउटा ग्लास हाम्रो अगाडिका व्यक्तिले दाहिने हातले मुठ्याएर राखेका छन् । किङसाइजको सिग्रेट बायाँ हातमा च्यापेका छन् । उनको ध्यान रेस्टुराँको बाँकी भागमा छ । हामी दुवैको ध्यान उनीप्रति नै आकर्षित छ । ध्रुवनाथजी पनि उनका विषयमा त्यस बखत अनेक विचार गर्न थालेका हुन सक्छन् । मैले त उनका बारेमा धेरै–धेरै कुरा सोच्न थालेँ । हेर्दा भलादमी देखिने ती मान्छे यही र यहीँका हुन् भनेर छुट्याउन सकिनँ । बोली सुन्दा नेपाली देखिने तिनको रूपरङ्ग र ढङ्गबाट नेपाली नै हो भनेर निश्चित गर्न मुस्किल थियो । समय–समयमा हामी दुई मुखामुख गर्थ्यौँ । ती अगाडि बसेका व्यक्तिका बारेमा निश्चित कुरा पहिल्याउन हामी विचारमग्न थियौँ । विनाभाषाप्रयोगले कुराकानी गर्थ्यौँ ।
बेरा टेबलमा आई खाली प्लेट उठाउन उनीसँग आज्ञा माग्यो । उनले खाली दुई ग्लास पनि लाने इसारा गर्दै एक पेग ल्याउन अर्डर दिए । अब टेबलमा एउटा एस्ट्रे र उनको मुठीभित्रको एउटा ग्लास मात्र छ । सभ्य र शान्त देखिने ती व्यक्तिले पुरानो सिग्रेटलाई एस्ट्रेमा मिच्तै नयाँ सिग्रेट सल्काउँछन् । सिग्रेट र सिग्रेटलाइटर मेरो आँखामा पर्छ । सोच्न थालेँ, पाँच सय पचपन्न सिग्रेट कति समुद्र पार गरी यिनलाई आनन्द दिन आएको होला । त्यो सङ्गीतमय लाइटर कुन देशमा बनेको होला जो यिनलाई क्षणिक आनन्द प्रदान गरिरहेछ !
केही मिनेटको पर्खाइपछि अडरकिपर हाम्रो सामु खडा हुन्छ । ध्रुवनाथजी आफूलाई मन पर्ने शाकाहारी खाना मगाउँछन् । खाना तयार हुन केही समय लाग्ने कुरा अडरकिपरले बताएपछि तयार रहेको टमाटो सुप एक–एक पट मगाई समय बिताउने निधो गर्छौँं ।
हाम्रा अगाडिका व्यक्ति हामीलाई बिस्तारै नियाल्न थाल्छन् । उनका आँखामा लाली चढिसकेको छ । हामीतर्फ हेर्दै उनी मुसुक्क हाँस्छन् । प्रतिउत्तरमा हामी दुवैले हाँसेर औपचारिकता पूरा गर्छौँ । उनी हामीसँग केही भन्न सक्तैनन् । बोल्न खोजेर पनि उनको मुख खुल्दैन, किनभने हामी दुवै उनीसँग अपरिचित थियौँ ।
हाम्रो सुपको अनुपातमा नै उनको रक्सीको ग्लास रित्तिँदै जान्छ । उनी एक–एक पेग माग्दै जान्छन् । हाम्रो सुप समाप्त नहुँदै खाना आइपुग्छ । उनी पनि चिकेन चिल्ली मगाउँछन् ।
अर्को एक पेग मगाएको प्रतिउत्तरमा अडरकिपर आई आदरपूर्वक भन्छन् — “हजुर ! स्कच सिद्धिसक्यो । कन्ट्रिलिकर टक्र्याऊँ ?”
उनी अडरकिपरलाई तलदेखि माथिसम्म हेरेर भन्छन् — “म यहाँको रक्सी खान्नँ भन्ने थाहा छैन ? खाने भए अघि नै खान्थेँ नि ! जसरी पनि ल्याऊ । यदि तिमीकहाँ छैन भने बाहिरबाट मगाऊ ।”
उनले आदरपूर्वक अनुरोध गरे— “हामीकहाँ सिद्धियो, फेरि दस बजिसक्यो । स्कच जहाँ पायो उहीँ पाइँदैन । हाम्रो यत्रो स्टार होटलमा त सकियो भने अरू कहाँ पाइएला ?”
अडरकिपरको अनुरोधलाई कुनै वास्ता नगरी ती व्यक्तिले आफ्नो मागलाई जोड दिँदै भने— “मलाई स्कच नै चाहिन्छ । जहाँबाट ल्याऊ, मलाई मतलब छैन । या त अघि नै खान बस्ने बेलामा यति पेग मात्र स्कच छ भन्नुपर्थ्यो । अब खान थालेपछि बिचैमा छैन भन्न मिल्छ ? माथि होटलको स्टोर खोलेर पनि ल्याऊ । मलाई स्कच चाहिन्छ ।”
अडरकिपर फर्केर जान्छ । हामी आफ्नो खानामा व्यस्त हुन्छौँ । एक्कासि हामीलाई सम्बोधन गर्दै उनी भन्छन्— “नन्सेन्स ! खाँदाखाँदै छैन भन्छन् । जहाँबाट ल्याओस् न, हामीलाई खान देओस् । हामी ग्राहकलाई त खानासँग मतलब छ, होइन त ?”
हामीलाई उनको कुराको जवाफ दिने कुनै औचित्य नै छैन । अपरिचित व्यक्ति, त्यसमा पनि उनी नसामा मस्त छन् । त्यसैले सानो मुस्कानका साथ सहमतिसम्म जनाउँछौँ आफूलाई मन नलागेर पनि ।
उनी भन्दै जान्छन् — “म जतिसुकै बेला भए पनि पुग्दो नलिई जाँदै जान्नँ । यस्तो अधकल्चो लिने आफ्नो बानी नै छैन ।”
काउन्टरमा बसिरहेका रेस्टुराँ–सुपरभाइजर आई उनलाई अनुरोध गर्न लागे — “साढे दस बज्न लाग्यो हजुर ! अनफर्च्युनेट्ली आज स्कच सिद्धियो । प्लिज ... माफ गर्नुहोस् आजलाई !”
हातको ग्लास टेबलमा ठटाउँदै भन्न लागे— “छैन भन्ने कुरै नगर्नुहोस् । मलाई स्कच ल्याउनुहोस् । तपाईँलाई पैसासँग मतलब हो, मलाई स्कचसँग । दस बजोस् कि बाह्र, मलाई समयसँग मतलब छैन ।”
“के गरूँ हजुर ! उपायरहित छु आज ।”
उनी ठुलो–ठुलो स्वरले कराउन थाले— “मलाई केही सुन्नु छैन ! तपाईँ दिनुहुन्छ या दिनुहुन्न, यत्ति भन्नुहोस् ।”
सबै ग्राहकहरूको केन्द्रबिन्दु हाम्रो टेबल हुन गयो ! सबैले हामीलाई हेर्न लाग्दा हामीलाई समेत लाज महसुस भयो । अर्को टेबलमा जाऊँ भने खाना सिद्धिएको छैन । हाम्रो खाना खल्लो हुँदै छ ।
यत्तिकैमा बिलसहित मेनेजर आएर उनका अगाडि उभिएर बिल दिँदै भने — “महाशय ! तपाईँले मात्र पैँतिस पेग स्कच खानुभएछ । कृपापूर्वक यो हेरिदिनुहोस् । आज हाम्रो स्टक निल भयो । माफ गर्नुहोस् ।”
मेनेजरतर्फ फर्कँदै गर्जँदै उनले भने — “पैँतिस पेग स्कच मैले मात्र खाएको भन्नुहुन्छ ? मेरा अरू दुई साथी पनि त थिए !”
“जे होस्, तपाईँको बिलमा पैँतिस पेग छ ।”
“म स्कच नपाएसम्म यो बिल पेमेन्ट गर्दिनँ’ भन्दै मेनेजरको हातबाट बिल उनले थुते । झगडा बढ्दै गयो । हामीले आफ्नो खाना खाँदाखाँदै छोड्यौँ । तबसम्म रेस्टुराँका तीन–चार स्टाफ हाम्रो टेबलको वरपर बसिसकेका थिए । मेनेजरले उनलाई भने— “पेमेन्ट नगरी यो रेस्टुराँबाट बाहिर जान पनि सक्नुहुन्न । यो पनि ख्याल राख्नुहोस् !”
उनले आफ्नो हात टेबलमा पछार्दै भने— “मलाई चिनेको छस् ! म त भूतपूर्व मन्त्री हुँ । मात्र मन्त्री होइन, क्याबिनेट मन्त्री ! मलाई धम्की दिन्छस् ? देखाइदिऊँ तँलाई ?”
मेनेजरले नम्रतापूर्वक भने — “मन्त्रीजी ! छैन, हजुर छैन ! नभएको कुरा के गर्नु ! एघार बज्न लागिसक्यो । जहाँ पायो उहीँ पाइने भए पो हजुरलाई टक्र्याउनु !” उनले दाह्रा किट्तै भने— “मेरो मुख खोलाइस् ! म चुपचाप पिउँदै थिएँ । अब अरू म जान्दिनँ ! मेरो इज्जतका लागि पनि मैले पिएरै जानुपर्छ । मलाई स्कच ले !”
मेनेजर र कर्मचारी खासखुस गर्दै काउन्टरतिर लाग्छन् ।
सबै विदेशीहरू ‘हि इज एन एक्स मिनिस्टर अफ दिस कन्ट्री’ भन्दै गुनगुनाउन थाले । कति त टेबल छोड्दै हिँड्न लागे । हामी पनि आफ्नो खाना बाँकी नै भए पनि नखाने निधोमा पुगिसक्यौँ । अभाग्यवश हामी यो टेबलमा कसरी आयौँ ? अब हामी फुत्कने दाउमा मात्र छौँ ।
उनले हामीलाई भने— “भाइ ! यो रेस्टुराँले के फुर्ति गर्छ ! सालेलाई भोलि बन्द गराइदिन्छु । ब्ल्याकबाट स्कच ल्याएर बेच्छ, हामीलाई थाहा छैन र ! एक पेग स्कचको साढे छब्बिस रुपियाँ लिन्छ । उसले भनेजति तिरेर पनि हामीले खान नपाउने ?”
हामी दुवै मुखामुख गछौँ, उनको कुराको जवाफ दिन सक्तैनौँ । उनको हातबाट बिल टेबलमा झर्छ । बिलको अन्तिम अङ्क तेह्र सय पचास रुपियाँ पच्चिस पैसामा मेरो नजर पर्छ । कसरी भयो होला यत्रो रकम भनी मनमनै हिसाब लगाएँ । छब्बिस रुपियाँ पचास पैसाको दरले स्कच नै नौ सय सत्ताइस रुपियाँ पचास पैसाको हुँदो रहेछ । त्यसमा पच्चिस रुपियाँ प्याकेट पाँच सय पचपन्न, स्न्याक्स, अरू तीन जनाको खाना र दस प्रतिशत सर्भिस चार्ज गर्दा ठिकै लाग्यो ।”
मेरा भाइले बिचैमा कुरा काट्तै भने— “एउटा मान्छेले एक साँझमा तेह्र सय पचास रुपियाँ पच्चिस पैसा खर्च ग्रयो ?”
मेरा भाइ जो विद्यार्थी जीवन बिताइरहेछन्, उनले घरबाट फुर्मास खर्च साठी रुपियाँ पाउँछन् । त्यो साठी रुपियाँबाट बस खर्च, चिया खर्च र सिनेमासमेत भ्याउनुपर्छ । उनलाई अचम्म लाग्नु स्वाभाविक हो । साथै उनले त्यति ठुलो रकम देखेका पनि त छैनन् ! मैले उनलाई सम्झाउँदै भनेँ — “अझ उसले कति खाने थियो होला ! होटलवालाले दिइराखेको भए त्यो रकम अझ बढ्ने थियो ।”
अर्थशास्त्रको विद्यार्थीका नाताले मेरा भाइ जिज्ञासापूर्वक मलाई सोध्छन् — “प्रतिव्यक्ति वार्षिक आय हाम्रो देशको कति छ ?”
“करिब आठ सय पचास पुग्न खोज्छ ।”
“तब एक साँझको मनोरञ्जनमा एक जनाले अर्काको अठार महिनाको खाना खायो त ?”
उनको प्रश्नमा मेरो उत्तर छैन । म उनलाई यसका सम्बन्धमा व्याख्या गर्न पनि सक्तिनँ । उनी फेरि मलाई प्रश्न गर्छन्— “यस्ता भूतपूर्व मन्त्री नेपालमा कति होलान् ?”
मैले हिसाब नलगाई भनिदिएँ— “होलान् करिब एक सयभन्दा बढी । तर यो नसोच सबै यस्तै छन् ।”
उनले भने— “सबैलाई मैले यस्तै भन्न खोजेको पनि होइन । जो आफ्नो अगाडि छ उसको त हिसाब लगाउन सकिन्छ ।”
“त्यो त सकिन्छ ।”
“तब तिनकै कुरा लिऊँ । तिनी एक जनाको वर्षभरिको मनोरञ्जनले अरू करिब दुई सय नेपालीको पेटमा वर्षभरि लात हान्छ भन्ने कुरा त तपाईँ मान्नुहुन्छ ?”
उनको तर्कपूर्ण कुरासँग म असहमत छैन, तर उनको कुरामा सही लगाउने पक्षमा पनि छैन । म मौन रही उनको अनुहार मात्र नियालिरहेको छु । उनी भन्दछन् — “दाइ ! तपाईँलाई थाहा छ यो देशमा निरपेक्ष गरिबीको रेखामुनि कति प्रतिशत छन्?
योजना आयोगबाट प्राप्त रिपोर्टअनुसार मैले भनिदिएँ— “चालिस प्रतिशतभन्दा बढी ।”
उनले तुरुन्त मेरो वाक्यांशलाई समाते — “भन्दा बढी भन्नाले कति बुझाउँछ ? मलाई स्पष्ट गर्न सक्नुहुन्छ तपाईँ ?”
म परेँ फसादमा । ‘भन्दा बढी’ भन्नाले जति पनि हुन्छ । अब योजना आयोगका अनुसार मैले भनिहालेँ । प्रतिशत बढाउने मलाई कुनै आधार छैन, जसको आधारमा म किट्न सकूँ । यसैका आधारमा मैले भनेँ— “चालिस प्रतिशतभन्दा बढी भन्नाले लगभग चालिस प्रतिशत नै मान्नुपर्छ ।”
“होइन !” — उनले मेरो कुरा काट्तै भने — “काठमाडौँसमेत यो देशका अरू सहरलाई बिर्सेर, त्यो तराईको मैदान जहाँ उब्जनी कम हुन्छ, त्यो पहाडको अनुत्पादित पखेरो जहाँ ढुङ्ग्यानसिवाय छैन, लाई सम्झनुहोस् अनि हिसाब लगाउनुहोस् । तपाईँलाई छर्लङ्ग हुन्छ । म एउटा अर्थशास्त्रको विद्यार्थीको नाताले किटेर भन्न सक्छु, निरपेक्ष गरिबीको रेखामुनि यहाँ असी प्रतिशत छन् ।”
“हुन सक्छ ।”
“कुनै आयोगले निकालेको हिसाबमा पनि विश्वस्त हुने यहाँ ठाउँ छैन । उत्तरी र दक्षिण ध्रुवको जति फरक हुन्छ चालिस र असीको, तर उनीहरूको हिसाबमा भने त्यो फरक मान्दैनन् ।”
“जुन कार्यको जिम्मा जसले लिएको छ, त्यसको हिसाबलाई पनि त मान्नुपर्छ !”
“कसरी मान्ने, जो हिसाब आँखामा छारो हाल्ने मात्र छ !”
उनले आफ्नो बहसका क्रममा देशमा सञ्चालित भूमिसुधार योजनासम्बन्धमा सङ्क्षेपमा प्रकाश पारे । मेरो आँखाअगाडि गुज्रेको कुरा मैले मान्न करै लाग्यो । यही स्थितिमा अब सय वर्षमा पनि यो देशमा शोषणरहित समाजको सृजना नहुने तथ्यलाई उनी औँल्याउँछन् । मैले उनको तर्कलाई काट्ने आवश्यकता देखिनँ । म चुपचाप उनको विचार सुन्दै गएँ ।
यत्तिकैमा हामी दुवैको हातमा चियाको कप आइपुग्छ । उनले आफ्नो बहसको क्रम रोक्छन् । केही विचारमग्न भई चिया पिउन थाल्छन् ।
मेरो हिजोको बयान टुङ्गिएको छैन । उनी मलाई सम्झाउँदै भन्छन् — “अनि ती भूतपूर्व मन्त्रीले पछि स्कच खान पाए कि पाएनन् ?”
“अँ, कहाँ खानु ! उनले मन्त्रीको पोज दिएर टेबल ठटाउन लागे । बिचरा रेस्टुराँका मेनेजरसमेत कर्मचारी स्कच खोज्न बाहिर गए क्यारे । तर स्कच ल्याएनन् ।
रेस्टुराँ प्रायः शून्य हुन लागिसकेको थियो । मन्त्रीजी उठ्ने तरखर गर्दैनन्, न हामीलाई नै उठ्न दिए । मन्त्रीजीलाई स्कचको प्रतीक्षामा रेस्टुराँमा बस्नु थियो, त्यसैले हामीलाई पनि उठ्न नदिई कुरामा अलमल्याउन थाले । उनी भन्थे— “मलाई पैसाको केही मतलब छैन । आफूले चाहेको कुरा पाउनुपर्छ । यो देशमा चार पटकसम्म मन्त्री भएँ । सहायक मन्त्री, राज्यमन्त्री र क्याबिनेटमन्त्री भएँ । कोही एक पटक पाउँदैनन्, मलाई भने यो देशले चार– चार पटक आवश्यकता महसुस ग्रयो । यो कम कुरा हो, ल भन्नुहोस् ? मलाई विश्वास छ फेरि मन्त्री बन्छु ।”
ध्रुवनाथजीले मन्त्रीसँग परिचय गर्दा राम्रै हुन्छ भन्ने सम्झी होला आफ्नो परिचय दिएर सोधे— “हजुरको कुन मन्त्रालय थियो ?” उनले आफ्नो आँखालाई बटार्दै भने— “मैले धेरै मन्त्रालयमा काम गरेँ । कुनको मात्र नाम लिनु ! सम्झँदै भन्नुपर्छ ।”
“होइन, हजुर क्याबिनेटमन्त्री छँदा कुन मन्त्रालय थियो कुन्नि “ए ! त्यो त वन हो ।”
समय बित्दै जाँदा मन्त्रीजीको स्थिति पनि बिग्रँदै गएको मैले देखेँ । मैले अनुरोधपूर्वक मन्त्रीजीलाई भनेँ— “हजुरले आराम गर्ने बेला पनि भयो । अब घर गइबक्से पनि बेस हुन्थ्यो ।”
मेरो अनुहारमा मदमत्त आँखा पिर्लिक्क हेरेर भने— “खोइ, स्कच नल्याउने भएछ ?”
“स्कच ल्याएर पनि हजुरले पिउनु ठीक छैन ।”– मैले भनेँ– “हजुरको घर जाने साधन केही छ कि ?”
“मेरो गाडी बाहिर होला !” — मुन्टो उठाउँदै हातले ढोकातर्फ औँल्याउँदै बिस्तारै भने — “कहाँ पुग्ने हो तपाईँहरू ? तपाईँहरूलाई पनि म प्रुयाइदिन्छु ।”
उनी फेरि भन्दै जान्छन् — “तपाईँहरूले मलाई चिन्नुभएको थियो ? चिनजान थिएन भने पनि अब भइहाल्यो ! मन्त्री भएँ भने जरुर भेट्नुहोला मलाई । म तपाईँहरूलाई पनि केही गरूँला । यसैगरी भेट भएका मेरा धेरै साथीहरूलाई मैले बनाइदिएको छु ।”
म मनमनै खुसी भएँ एउटा वर्तमान मन्त्री नभए पनि भूतपूर्व मन्त्री साथी हुन आएकोमा । उनको भनाइअनुसार चार पटक मन्त्री भइसकेका छन् । मेरो भाग्यले साथ दियो भने पाँचौँ पटक पनि हुन्छन् नै । मैले भनेँ — “अब मन्त्री हुनुभयो भने कुन मन्त्री हुनुहुन्छ होला ?”
“उद्योग–वाणिज्यमा काम गर्ने रहर छ ।” “उद्योग–वाणिज्यमा हामीले गर्ने कुरा के छ र ?” “मूल धन नै त्यहीँ त छ !” “काम के पाउँछौँ त ?”
“कोटा दिउँला, लाइसेन्स दिउँला ! गर्न सके काम गर्नुहोला, नसके त्यो बेच्नुहोला ।”
ध्रुवनाथ खुसी हुँदै मन्त्रीजीलाई भन्छन्— “अब मन्त्रीज्यूसँग हाम्रो परिचय भइहाल्यो । बिर्सिनु त हुन्न मन्त्रीज्यू ?”
“के बिर्सिन्थेँ । बिर्सिहालेँ भने पनि एकान्त ठाउँमा यो होटलमा भेट भएको भनी सम्झाइदिनुहोस्, सम्झिहाल्छु ।”
मैले आफ्नो शङ्काको निवारण गर्न भनेँ — “होइन, अहिले तपाईँ मन्त्री हुनुहुन्न त हामी जहाँ पनि, जसरी पनि भेटौँला । भोलि मन्त्री भएपछि त तपाईँलाई हामी यति सजिलोसँग कसरी भेट्न सक्छौँ ? घर र अफिसमा मान्छेको भिड, मोटरमा गार्ड र ड्राइभर, अनि कुन बखत तपाईँलाई फुर्सद हुन्छ र एकान्त गर्नु ?”
“कुरा मनासिब भन्नुभयो, तर उपाय छ । हामी तपाईँहरूजस्तै जनताका प्रतिनिधि हौँ । हामीलाई कहीँ–कतै प्रतिबन्ध छैन भेट र कुरा गर्नलाई । बस्, तपाईँ यत्ति भन्नुहोस् ‘मन्त्रीजीसँग मेरो गोप्य छ’ । समय निकाली तपाईँसँग भेटिहाल्छु ।”
उनकै मुखबाट सुनेको उपायमा मेरो शङ्का निवारण हुन्छ । करिब एघार बजेर पन्ध्र मिनेट भइसक्यो । मन्त्रीजीको स्कच आएको छैन । यति खेर हामी मन्त्रीजीलाई छाडेर जाने पक्षमा पनि छैनौँ ।
करिब एघार बजेर तिस मिनेट गएपछि हामीछेउ रेस्टुराँका मेनेजर आई आदरपूर्वक मन्त्रीजीलाई भन्दछन्— “हजुर ! धेरै कोसिस गरेँ । सबै कर्मचारीलाई खोज्न पठाएँ ! आफूकहाँ नभएपछि सबैकहाँ शून्य भयो । पाउन सकिनँ हजुर, माफ गरिबक्स्योस् ।”
यसैबिच मैले पनि कुरा थपेँ — “मन्त्रीज्यूलाई पुगिसकेको छ । अब पिउनु ठिक पनि छैन । रात धेरै बितिसक्यो ।”
उनले मेरो अनुहार नियालेर हेर्छन् अनि मुसुक्क हाँस्छन् र भन्छन् — “अब मेरो टेबलकै साथीले त्यसो भनेपछि भइहाल्यो । कति भयो ? हिसाब ल्याउनुहोस् ।”
मेनेजरले झुक्तै दुई हात माड्दै भने— “मैले हिसाब अघि नै टक्र्याइसकेँ । त्यहीँ होला बिल ।”
बिल टेबलमा छैन । मन्त्रीजीले आफ्नो गोजीमा छाम्दै गोजीमा भएका कागज र नोटहरू टेबलमा राख्तै गए । बिल पाउन सकिएन । मेनेजरले काउन्टरबाट नक्कली बिल ल्याए । मन्त्रीजीले बिलबमोजिम भुक्तानी गर्न टेबलमा छरिएका रुपियाँहरू मतर्फ बढाइदिए । करिब बिस–पच्चिस हजार अनुमान गर्न सकिने रुपियाँबाट एक हजारको एक नोट र सयका चार नोट निकाली अरू सबै मन्त्रीजीलाई दिएँ । मन्त्रीजीले त्यो नोट मेनेजरलाई दिन इसारा गर्दै भने — “यी भाइहरूको पनि त्यसैबाट कटाउनू र बाँकी बेराहरूलाई बाँडिदिनू ।”
‘हवस्’ भनेर मन्त्रीजीलाई सलाम गर्दै मेनेजर काउन्टरतर्फ लागे । मन्त्रीजीले गरेको निर्णयको विपरीत जाने हाम्रो साहस भएन । ध्रुवनाथजीले मेरो मुख मात्र हेरिरहे, केही बोल्न सकेनन् । ‘हाम्रो रुपियाँ हामी नै तिर्छौँ, मन्त्रीज्यूलाई केको दुःख’ भन्नेसम्म पनि हामीले भन्न सकेनौँ । मन्त्रीजीसँगको मित्रतामा अझ हाम्रो विश्वास बढ्यो ।
मैले उनलाई घर जान आग्रह गरेँ । मेरो अनुरोधमा उनी मेचबाट उठ्न खोजे, तर उठ्न नसकी त्यही मेचमा थचारिए । मैले सोचेँ — ‘यिनलाई काफी रक्सी लागिसकेको छ । यिनलाई भर गरी होटेलबाहिर प्रुयाइदिऊँ !’
मेरो इसाराअनुसार ध्रुवनाथजीले उनको दायाँ पाखुरामा भर दिए र पछि मैले बायाँ पाखुरामा भर दिई टेबलबाट उठायौँ र बिस्तारै फुटपाथमा ल्यायौँ । सडक प्रायः शून्य छ । एक–दुई गाडी मात्र समय–समयमा गुज्रिरहेछन् । मैले भनेँ— “हजुरको गाडी कुन हो ?”
उनले पार्किङ गरिरहेको गाडी एक–एक गरी नजिकै गई नियाल्न लागे । हामीले उनलाई छाडेका छैनौँ । एउटा गाडीको छेउमा गएर भने — “यही हो मेरो गाडी ।” गोजीबाट साँचो छामछाम–छुमछुम गरी निकाले र साँचो मलाई दिँदै भने — “ल ! गाडीको साँचो यही हो कि होइन, हेर्नुहोस् त ! गाडी खोल्नुहोस् !” उनले दिएको साँचो गाडीकै रहेछ । गाडी खोलिदिएँ अनि उनलाई मैले
भनेँ — “ड्राइभर छैन ?”
“छैन ।”
“कसले गाडी हाँक्छ त ?”
“मै हाँक्छु ।”
उनले गाडी हाँक्न सक्छन् भन्नेमा मलाई शङ्का पैदा भयो । गाडीको साँचोसम्म ठम्याउन नसक्नेले कसरी गाडी घर प्रुयाउलान् ?
मैले उनलाई गाडीमा बस्न अनुरोध गरेँ । उनी गाडीमा बस्न ध्रुवनाथजीलाई हटाउँदै गाडीमा पस्न खोजेका थिए, तर उनी गाडीको ढोकामा ठक्कर खाई लडे । हामी दुवैले फेरि भर दिएर उनलाई उठायौँ र गाडीमा बस्न अनुरोध ग्रयौँ । उनी यो पटक गाडीको ढोकालाई अँगालो मार्न पुगी ढोकामै झुन्डिए । यस्तो अवस्थामा उनलाई उनको गाडीमा नपठाउने निश्चय ग्रयौँ । यसैबिच ध्रुवनाथजीले मेनेजरलाई बोलाएर भने — “यो गाडी भोलि मन्त्रीजीको ड्राइभर लिन आउँछ । आज यहीँ रहन्छ, रेखदेख गरिदिनुप्रयो ।”
गाडीको पूर्ण रेखदेख हुने कुरामा मेनेजरले हामीलाई विश्वास दिलाए । मन्त्रीजीलाई मेरो गाडीमा बसालेँ । गाडी स्टार्ट गर्दै सोधेँ — “हजुरलाई
कहाँ छोडिदिऊँ
उनी निद्रामा पर्न लागिसकेका रहेछन्, झस्कँदै भने— “हँ ! सिंहदरबार हुँदै नयाँ बाटो निस्कनुहोस् न थापाथलीको !”
गाडी अगाडि बढाएँ । केही छिनमै उनले मलाई भने— “त्यहाँ क्यासेट प्लेयर खोल्नुहोस् त !”
“मेरो गाडीमा क्यासेट प्लेयर छैन ।”
“के यो तपाईँको गाडी हो ? मेरो गाडी खोइ त ?” “हजुरको गाडी उहीँ होटलबाहिर छ । मेनेजरलाई रेखदेख गर्न लगाई आएका छौँ । भोलि बिहान ड्राइभर पठाए भइहाल्छ । राम्रो गरी हेर्नू भनेर मेनेजरलाई भनेका छौँ ।”
‘राम्रो गरी भन्नुभएको छ होइन ? ठिक छ !’ भन्दै उनले सोधे — “यो कहाँ आइपुगियो ।
ध्रुवनाथजीले जवाफ दिए — “हामीले भरखर न्युरोड छोड्यौँ हजुर !” “भद्रकाली पुगेपछि मलाई भन्नुहोस् है !”
“हस् !” — ध्रुवनाथजीले जवाफ दिए ।
भद्रकाली पुगेपछि गाडीको स्पिड कम गर्दै भनेँ— “मन्त्रीज्यू ! भद्रकाली आइपुग्यो ।”
भद्रकालीको उत्तरतर्फ आएपछि ‘यहीँ रोक्नुहोस्’ भने, गाडी रोकिदिएँ । गाडीबाट हामी दुवैलाई ओराल्दै उनी सडकमा उत्रिए । मैले भनेँ — “किन, यहाँ के काम छ र ?”
‘होइन, तपाईँहरू पिसाब नगर्ने :’ भन्दै सडकको किनारमा गए । नाम सुन्नेबित्तिकै हामीलाई पनि च्याप्यो र हामी दुवै एक–एकतर्फ काम समाप्त गर्नलाग्यौँ ।
हामी फर्केर आइसक्ता पनि उनी नआउँदा हामी दुवै उनी भएको ठाउँमा गयौँ । उनको बिजोग देख्ता हामीलाई हाँसो उठ्यो । उनले त पाइन्ट नै फुकाउन भ्याएनछन् र फुकाउन पनि सकेका रहेनछन् । उनलाई दुवैले घिच्याउँदै मोटरको छेउमा ल्यायौँ । टक्क रोकिएर भन्न लागे — “यो फ्ल्यागपोस्ट देख्नुभयो ।
ध्रुवनाथजीले भने — “हजुर ! देख्यौँ ।” “हो, अस्ति मेरो मोटर त्यहीँ ठोकियो ।” ध्रुवनाथजीले सोधे — “अनि के भयो त ?”
“के हुन्थ्यो ? एक्सिडेन्ट ! बेकार वर्कसपमा पाँच हजार रुपियाँ बुझाउनुप्रयो ।” ध्रुवनाथजीले सोद्धै गए — “हजुरलाई त केही भएन ?” “लौ ! भएको भए आज तपाईँहरू भेट्नुहुन्थ्यो ?” “होइन, मेरो मतलब घाउ–चोट ?”
“मलाई त केही भएनछ । भोलिपल्ट घरमा आफूलाई ठिक पाएँ । भनेँ नि, मोटर अलिकति बिग्रिएको रहेछ ।”
“अनि राति हजुर कसरी घर गइबक्सियो त ?”
“त्यो त थाहा छैन ।”
आजका जस्ता घटना उनको दैनिक कार्यतालिकाभित्रका नियम रहेछन् । उनका कुरा सुन्दा हामीलाई एकतर्फ हाँसो उठ्यो त अर्कोतर्फ त्यस्ता उच्च ओहदा सम्हाल्ने व्यक्ति यस्ता भएकोमा चिन्ता लाग्यो ।
रात धेरै भइसकेको थियो । उनको कुरा सुन्न हामी इच्छुक थिएनौँ । उनी भन्न र कुरा गर्न धेरै चाहन्थे । उनले चाहँदाचाहँदै पनि हामी रोक्तै थियौँ । यसैबिच एउटा गाडी एकाएक हाम्रो अगाडि आई रोकियो । तीन–चार जना मानिसहरू सडकमा निस्किए र हामीतर्फ आएर सोधे — “तपाईँहरू के गर्न लागेको ?”
ती त घुम्ती प्रहरी पो रहेछन् ! तिनीहरूलाई मैले जवाफ दिएँ — “हामीहरू घर जान लागेका, त्यो मान्छेलाई पनि घर प्रुयाउनु छ ।”
ती प्रहरीमध्येका एक जनाले भने — “को ? जँड्याहा हो ?” अर्काले भने — “जँड्याहा भए हामीलाई छोडिदिनुहोस् !”
फेरि अर्काले भने — “हाम्रो डिउटी पनि अफ हुन्छ । हुन्छ, लगौँ ।” ध्रुवनाथले मन्त्रीजीलाई समाति राखेका छन् । मैले प्रहरीलाई समात्दै
भनेँ — “होइन, त्यस्तो नराम्रो जँड्याहा त होइन !”
तुरुन्तै एक जना प्रहरीले भने — “जँड्याहा पनि राम्रो नराम्रो हुन्छ र ? अर्काले भने — “जँड्याहा राम्रो–नराम्रो पहिल्याउने यो को हो ?”
फेरि अर्काले त्यसै कुरासँग थप्तै भने— “यसलाई पनि लगौँ न जँड्याहासँगै ।”
अर्काले मेरो पाखुरामा ट्याप्प समातेर भने— “हो–हो ! लगौँ यसलाई पनि !”
मैले केही बोल्न नपाउँदै घिच्याएर उनका गाडीको छेउमा प्रुयाए । मोटरको झ्यालबाट टाउको निकालिरहेको अफिसरलाई सलाम गर्दै ‘जँड्याहाहरू रहेछन् सर !’ भनेर सोधे । ती अफिसरले ‘त्यो मोटर कसको रहेछ त ?” भनेर भने । मैले केही भन्न नपाउँदै ‘यी जँड्याहाहरूकै हो सर !’ भनेर भने यसै मौकामा मैले भनेँ —“मोटर मेरो हो, म जँड्याहा होइन ।” मेरा र प्रहरीका बिचमा कुरा बाझिएको हुँदा ती अफिसर मेरो नजिकै आउन मोटरबाट उत्रिएर भने— “तपाईँको मोटर हो ?”
“हो ।”
“कहाँ गएर आउनुभएको ?”
मैले होटलमा डिनर खान गएको वृत्तान्त बिस्तार गर्दै एक जना ज्यादै नशामा भएको हुँदा घर प्रुयाउन मैले सहयोग प्रुयाएको कुरा सुनाएँ । यसैबिच बाँकी तीन जना प्रहरीले ध्रुवनाथजीसमेत दुई जनालाई घिच्याउँदै हामी भएको छेउमा ल्याए । ती मन्त्रीजीले ‘ए, मलाई चिनिनस् ! ए मलाई चिनिन्स !’ भन्दाभन्दै प्रहरीले आफ्नो कर्तव्य पालना ग्रयो ।
प्रहरीअफिसरले ती मन्त्रीजीलाई चिनेका रहेछन् । ती अफिसरले मन्त्रीजीलाई सम्बोधन गर्दै भने — “ओहो ! हजुर पो ? किन यति बेलासम्म यहाँ ?”
“हेर्नुहोस् न, यसो रमाइलो गरी आएको । साथीहरूसँग घर जान लागेको । अझ केही सोधपुछ छ ?”
“छैन हजुर, गइबक्सियोस् ।”
‘हस्, गुडनाइट’ भन्दै ध्रुवनाथजीलाई समाती मेरो मोटरतर्फ उनीहरू लम्किए ।
प्रहरीजवानलाई मोटरमा बस्न अर्डर गर्दै ती अफिसर भन्दछन् — “माफ गर्नुहोस् है ! तपाईँहरूको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो । हवस् त ! राम्रो गरी उहाँलाई लगिदिनुहोस् ।”
यति भनी ती अफिसर गाडीमा चढ्छन् । प्रहरीको गाडी अगाडि बढ्छ । म आफ्नो गाडीमा फर्कन्छु । म केही कुराकानी गर्ने पक्षमा छैन । ध्रुवनाथजीलाई उनलाई गाडीमा राख्न लगाएर आफ्नो गाडी बढाएँ । मन्त्रीजीले आफ्नो घर औँल्याउँदै मलाई गाडी रोक्न हातले इसारा गरे ।
एउटा भव्य भवनका अगाडि मेरो गाडी रोकियो । मन्त्रीजी उत्रँदै भन्दछन् — “यही हो मेरो कुटी ।”
मैले भनेँ — “मन्त्रीजी ! यो भवन तपाईँको होइन र ?”
उनले फेरि भने — “यही त हो मेरो कुटी ! कुटी भन्नुहोस् न कुटी, केको भवन !”
ध्रुवनाथजीले भने — “मन्त्रीजी ! फेरि भेट हुँदा नबिर्सिबक्सियोस् ।” ध्रुवनाथजीतर्फ उनले भने— “केको बिर्सिने तपाईँहरूलाई ! आज तपाईँहरूले यत्रो सहयोग गर्नुभयो मलाई ! यो कहिल्यै बिर्सन नसक्ने गुन लाउनुभयो ।”
“त्यसो त नभनिबक्सियोस् न !” — ध्रुवनाथजीले हात जोडे ।
“आज रात प्रयो । तपाईँहरूलाई मेरो कुटीमा एक कप चियासम्म पनि खान दिन सकिनँ । भोलि बिहानै दुवै जना पक्कै आउनुहोस्, सँगै चिया खाउँला ।”
हामी दुवै जनाले केही जवाफ दिन सकेनौँ । फेरि उनले जोड दिँदै भने— “पक्का आउनुहोस् है ! तपाईँहरू नआएसम्म म चिया नै नखाई बस्छु ।” ध्रुवनाथजीले स्वीकृति दिँदै भने— “कति बजे आउँदा हजुरको अनुकूल
समय होला ?”
“आठदेखि दस बजेसम्म जति बेला आउनुहोस्, स्वागत छ । तर पक्कै आउनुपर्छ ।” मन्त्रीजीको आग्रहमा पनि ‘हस्’ भन्न कर लाग्यो । मन्त्रीजीको ‘गुडनाइट’ भनाइको सँगसँगै मैले आफ्नो गाडी बढाएँ । ध्रुवनाथजीलाई घर प्रुयाउनु थियो । उनको घर हुँदै म घर फर्किएँ ।”
भाइले मलाई सोधे— “दाइ फर्कँदा धेरै रात भइसकेको थियो ? मैले त थाहा नै पाइनँ ।”
“रात त धेरै भइसकेको थियो ।”
“अनि सपना के देख्नुभयो नि ?”
“के हुन्थ्यो, त्यही ! हिजोका मन्त्रीजी फररर्र झन्डा हल्लाउँदै एउटा विशाल भवनमा प्रवेश गर्दै रहेछन् । म पनि त्यही विशाल भवनको ढोकामा उभिएर बसेको रहेछु । मन्त्रीले मसँग बोल्लान्, ‘के छ ?’ भनेर सोध्लान् भन्ने आशा बोकी, वरपर उभिएर बसेकाहरूका अगाडि इज्जत नै आउने भयो भन्ने सम्झी झन् गजक्क फुलेर बसेका थिएँ । उनी त मसँग बोल्दै नबोली, देखेको नदेख्यै गरी सरासर भवनभित्र प्रवेश गरे । मैले सोचेँ देखेनन् होला । अनि कार्यालयमै गएर भेट्छु भनेर पछिपछि गएँ । म उनको नजिकै पुग्न आँटेको थिएँ, उनी कार्यालयको ढोकाभित्र पस्छन्, ढोका बन्द हुन्छ । मन्त्रीजीलाई भेट्न म लाइनमा बस्छु । भेट्न आउने मान्छेको घुइँचो छ । एकपछि अर्कोको भेट्ने पालो आइरहेको छ । घन्टौँ कुरिसकेँ, आफ्नो पालो आउँदैन । चिनेजानेका व्यक्ति हुँदा मलाई स्वागतै गर्लान् भन्ने सम्झी पालै नआए पनि जबर्जस्ती कोठामा प्रवेश गरेछु । मन्त्रीजी लचकदार घुमाउने मेचमा लेटेर बसेका रहेछन् । मैले उनलाई नमस्कारका साथ अभिवादन गरेँ । उनले नमस्कारसम्म फर्काएनन् । मैले धेरै किसिमबाट सम्झाउँदा पनि उनले मलाई चिन्न इन्कार गरिदिए । त्यत्तिकैमा तिमीले आई बिउँझाइदियौ ।”
मैले सुनाएको हिजोको घटना र रातिको सपना एक–एक सुनेपछि एक क्षणको मौनतापछि भाइले भने— “तपाईँले सत्य सपना देख्नुभयो । वास्तविकतामा पनि तपाईँ यही पाउनुहुन्थ्यो जो सपनामा पाउनुभयो ।”
“अँ, मलाई पनि त्यस्तै लाग्यो । हुन त उनको हिजोको कुराअनुसार हाम्रो गहिरो मित्रता कायम रहन्छ । तर म विश्वास गर्ने पक्षमा भने छैन ।” भाइले भने— “त्यस्ता अनैतिकसँग मित्रता गरेर पनि के फाइदा ?” मैले उनलाई सम्झाउँदै भनेँ— “नैतिक र अनैतिकको कुरा होइन । तिमीले अनैतिक सम्झेको कुरा उनले नैतिक सम्झेको पनि हुन सक्छ । जे होस्, हामीलाई उनको व्यक्तिगत आदतसँग कुनै मतलब छैन । उनले कति काम गर्न सक्छन् भन्ने कुरासँग मात्र हामीलाई मतलब छ ।”
हाम्रो कुरा नटुङ्गिदै ध्रुवनाथजी मकहाँ हतारिँदै आइपुगे । कोठामा प्रवेश गर्दै उनले भने— “अहो ! अहिलेसम बिछ्यौनामै ? मन्त्रीजीकहाँ जान अबेर भएन ?”
मैले हाँस्तै उत्तर दिएँ— “हिजोको घटना भाइलाई सुनाइरहेको ।” उनले मलाई सम्झाउँदै भने— “हिजोको कुरा याद छ ? उनले हामी नपुगी चिया पनि पिउँदिनँ भनेका छन् ।”
मलाई हिजोको मन्त्रीजीको निमन्त्रणा सम्झना भयो । ध्रुवनाथजी मन्त्रीजीकहाँ जान तयार भएर आएका रहेछन् । मैले ‘जान्नँ’ भन्न सकिनँ । एक छिन ध्रुवनाथजीलाई बस्न लगाई म आफ्नो बिहानको कार्यबाट फुर्सद लिन बाथरुम पसेँ । उनीसँग मेरो भाइले हिजोकै घटनाका सम्बन्धमा अझ बढी जानकारी हासिल गर्दै रहेछन् । म जति सक्यो चाँडो घरबाट फुर्सद लिई ध्रुवनाथजीसँग मन्त्रीजीकहाँ जान निस्किएँ ।
हामी दुवै मन्त्रीजीको क्याम्पभित्र पुग्यौँ । ढोकामा पहरा गरिरहेको आएलसेसन कुकुरको डरले घरतर्फ बढ्ने हिम्मत गरेनौँ । मेरो नजर क्याम्पको चारैतिर फिँजिन लाग्यो । मैले खुला ग्यारेजमा हिजोको गाडी देखेँ । ध्रुवनाथजीलाई गाडी देखाउँदै भनेँ— “हिजोको गाडी आइसकेको रहेछ ।” गाडी बिहानै आइपुगेकोमा ध्रुवनाथजीलाई कुनै आश्चर्य नलागेको कुरा उनको अनुहारले बताएको छ । उनको नजर भवनको पहिलो र दोस्रो तल्लामा केन्द्रित छ । चारैतर्फ कोही पनि देखिँदैनन्, केवल एउटा कुकुरबाहेक । म पनि समय–समयमा भवनका झ्यालहरूमा नजर दौडाउँछु ।
निकै बेरपछि एक जना त्यही घरका कामदारजस्ता देखिने व्यक्ति दुवै हातमा झोला बोकी बाहिरबाट क्याम्पभित्र प्रवेश गर्छन् । हामी उनीतर्फ बढ्दै भन्छौँ — “भाइ यो घरको मान्छे हो ?” “हजुर, के भन्नुप्रयो ?” “मन्त्रीजी हुनुहुन्छ ?” “हुनुहुन्छ होला ।”
“हुनुहुन्छ भने बाहिर मान्छे भेट्न आएका छन् भनिदिनुहोस् ।”
‘हवस्’ भन्दै उनी भवनभित्र प्रवेश गरे । करिब पाँच मिनेटपछि फेरि तिनै व्यक्ति बाहिर निस्किए । हामी दुवै उनको छेउमा गई उत्सुकतापूर्वक सोध्यौँ — “के भन्नुभयो ?”
‘ए मैले त भन्नै बिर्सेछु’ भन्दै फेरि फर्किएर गए । करिब पाँच मिनेटपछि आएर ‘मन्त्रीज्यू त बाथरुममा हुनुहुन्छ, एक छिन पर्खनुहोस्’ भन्दै उनी क्याम्पबाहिर गए ।
मन्त्रीजी घरैमा हुनुहुँदो रहेछ । भेट हुने त हामीलाई पूर्ण आशा भयो, ढिलो र चाँडो मात्र । हामी कुर्दै गयौँ । अझै कोही व्यक्ति देखिएका छैनन् । हामी दुई त्यो भवनको विषयमा आफ्नो अनुमान सुरु गर्न लाग्यौँ । मैले ध्रुवनाथजीलाई बिस्तारै भनेँ — “यो भवन कहिले बनेको होला ?”
“हालसालै बनेको जस्तो देखिन्छ । हेर्नुहोस् न, सबै नयाँ छन् ।” “कति स्क्वायर फिटमा बनेको होला, तपाईँ अनुमान गर्न सक्नुहुन्छ ?” “करिब पाँच हजार स्क्वायर फिटमा बनेको होला ।”
“तीन तल्ला भएपछि यसको स्पेस पन्ध्र हजार स्क्वायरफिट भयो, होइन ?” “हो, पन्ध्र हजार स्क्वायरफिट भयो ।”
“तब पन्ध्रै जना जहान भए पनि प्रतिव्यक्ति एक हजार स्क्वायरफिट स्पेस पर्न आयो । तपाईँ अनुमान गर्न सक्नुहुन्छ ध्रुवनाथजी, यो घर कति रकममा बन्यो होला ?”
“खोइ, भित्रको सजावट देख्न पाइएको छैन । यसो बाहिरी रूपले विचार गर्दा दसदेखि पन्ध्र लाखको अनुमान गर्न सकिन्छ ।” हाम्रो कुरा टुङ्गिएको छैन । त्यत्तिकैमा ती पहिलेकै व्यक्ति फेरि एक हातमा झोला बोकेर प्रवेश गरे । हामीनजिकै आई ‘ए, भेट्नुभएको छैन ? म तुरुन्त खबर प्रुयाएँछु’ भन्दै हतारिँदै घरभित्र पसे । करिब दुई मिनेटपछि उनी फेरि बाहिर निस्किए, हामीलाई घरतर्फ आउने इसारा गरे । उनले औँल्याइदिएको कोठामा प्रवेश ग्रयौँ । भव्य बैठकमा कोही पनि देखेनौँ । ती व्यक्ति आई भने— “तपाईँहरू एक छिन बस्तै गर्नुहोस् । मन्त्रीज्यू आउनुहुन्छ ।” एउटा लामो सोफामा हामी दुवै गई सँगै बस्यौँ । बैठकको ढोका बन्द
भयो । बैठकमा हामी दुई जना मात्र छौँ । हामीलाई यहाँ कुरा गर्न मनभित्र त्रास पैदा भयो । दुवै केही नबोली चुपचाप बैठकको सजावट मात्र हेर्न व्यस्त रह्यौँ ।
करिब पन्ध्र मिनेटको प्रतीक्षापछि एकान्तलाई चिर्दै मन्त्रीजी बैठकमा प्रवेश गरे । हामी दुवै उठी अभिवादन ग्रयौँ । हाम्रै छेउको सिङ्गल सोफामा आई उनी बसे । प्रसन्न र खुसी अनुहारमा उनले हामीलाई भने— “यहाँहरूलाई केही बेर कुराएँ । माफ गर्नुहोस् ! यहाँहरू सन्चै हुनुहुन्छ ?”
हामी दुवैले मुखामुख ग्रयौँ । उनले हामीलाई ठ्याम्मै चिन्न सकेका छैनन् । उनको सन्चो–बिसन्चो हामीले सोध्नुपर्नेमा उनले हामीलाई सोधे । उनले कूटनीतिक तरिकाले हामीसँग राम्रै व्यवहार त गरे, तर उनले हामीलाई राम्रै गरी चिनेर होइन ।
केही क्षणपछि हामी दुवैले एकै चोटि भन्न पुग्यौँ— “राम्रै छ ! यहाँलाई ?” “के हुन्थ्यो ? बाँचेकै छु भन्नुप्रयो ।” — उनले भने— “के सेवा छ मेरोलायक, भन्नुहोस् !”
मन्त्रीजीले हामीलाई सम्झन सकेनन्, तर पनि उनको अभिनयमा कुनै कमी छैन । यही अभिनयको कारणले त उनले यत्रो सफलता हाँसिल गरे । ध्रुवनाथजी चिनिने पक्षमा गई भन्न लागे— “मन्त्रीजीले हिजो हामीलाई चिया पिउन डाक्नुभएको थियो, होइन र ?”
“हो–हो ! किन होइन ?”— उनका शरमले भरिएका आँखा हामीबाट अन्यत्र पार्दै भन्छन् — “त्यसैले त तपाईँहरूलाई कुरिराखेको !” उनी नजिकको कलिङबेलको बटम दबाउँछन् । कामदार बैठकमा प्रवेश गर्नेबित्तिकै तीन ओटा गरम कफीको आदेश गर्दै भन्छन् — “मलाई तपाईँहरूले हिजो खुब ठुलो मदत गर्नुभयो । त्यसका लागि म तपाईँहरूप्रति आभारी छु । भन्नुहोस् मेरोलायक कुनै सेवा छ भने, म तपाईँहरूलाई पनि गर्ने छु ।” मन्त्रीजीबाट यति कुरा सुन्नेबित्तिकै हाम्रो हृदय प्रफुल्लित हुन्छ । तत्काल हामीले उनीबाट पाउने आशा त गरेका छैनौँ, तर पनि हामीले भन्यौँ — “त्यस्तो कुनै दुःख दिनुपर्ने खण्ड आयो भने हामी आइहाल्छौँ । हजुरलाई नभने हामीले कसलाई भन्ने ?”
“तपाईँहरूले अप्ठ्यारो नमानी भने हुन्छ ।” — उनले भने — “मैले जो सक्छु गरिदिन्छु ।”
यही मौकामा मैले आज देखेको सपनाका सम्बन्धमा कुरा सुनाएँ । मन्त्रीजीले चिन्न इन्कार गर्नुभएको पनि भनेँ । मेरो कुरा सुन्नेबित्तिकै उनी खुला दिल गरेर हाँस्न लागे । हाँस्ताहाँस्तै उनले भने — “म त्यस्तो रहेछु त ? भन्नुहोस् ! तपाईँको सपना गलत हो ।”
उनको प्रामाणिक कुरालाई मैले मान्न करै लाग्यो । यसै सन्दर्भमा मैले सोधेँ — “हजुर कहिले मन्त्री हुने त ?”
“यही समय भनेर त कसरी भन्नु ! तर हुन्छु जरुर । हेर्नुहोस् न, आजकालका मन्त्रीहरू कस्ता–कस्ता अनुहारका छन् ! यिनले कति दिन चलाउन सक्ने हुन् र ? हामी नै आउनुपर्छ । यसमा म निश्चिन्त छु ।” आफ्नो कुरामा जोड दिँदै उनले भने— “अब हेर्नुहोस् न ! मजस्ताले चलाएको ठाउँमा अहिले एउटा पुरानो लकडीकै व्यवसायी ल्याएर राखिएको छ । अब भन्नुहोस्, उसले आफूले पाएको स्वाद बिर्सन सक्ला ? पोहोरसम्म पनि काठमाडौँका उडवर्क्सका मालिकहरू सुनचाँप खोज्न उनको घरमा धुइरो लागेको मैले आँखाले देखेको छु । मैले सुनेको थिएँ, एक पटक त उनले जिल्लाभरिको सुनचाँपलाई आफ्नै घरबारीको भनी स्वीकृति लिई जिल्ला निकासी गरेका थिए । यो कुरा हो कि होइन भनी जिल्ला टुरमा जाँदा बुझेको थिएँ । वास्तविकता त्यही रहेछ जो मैले सुनेको थिएँ । कति कुरा कागजी प्रमाण नभएर पनि प्रत्येक mव्यक्ति–व्यत्तिको हृदयमा छाप परिसकेको हुन्छ, जसलाई थुन्न र छेक्न सकिन्न । अब भन्नुहोस्, यस्ता व्यवसायीले अधिकार पाएपछि बाँकी राख्छन् नेपालको जङ्गल ?”
हामीले बुझ्न नसक्ने कुरा उनी बयान गर्दै छन् । हामी यी कुराहरूमा अनभिज्ञ छौँ जो उनी सुनाउँदै छन् । तर पनि हामी विषयवस्तु बदल्न सक्तैनौँ । हामी उनको बयान सुनिरहन्छौँ । उनी भन्दै जान्छन् — “मेरो पालामा त चाँजोपाँजो सबै मिलाएर नियम–नीतिभन्दा बाहिर नगई बडो विचार प्रुयाएर जङ्गल बचाएको थिएँ । अहिले हेर्नुहोस् ! प्लटका प्लट बिदेसिँदै छन् । कुनै चट्टा नेपालको गाउँ–सहरमा पसेको छैन । यही क्रमले यिनीहरूले गर्दै जाने हो भने केही वर्षमै नेपालले दैवी प्रकोपको मुकाबिला गर्नुपर्छ ।”
उनी भन्दै जान्छन्— “हिजो एउटा मान्छेले आएर मलाई भन्यो — ‘हजुर ! हजुरले हालका मन्त्रीज्यूलाई आज्ञा दिनुप्रयो, धमाधम जर्नानिकासीको आदेश दिँदै छन् । मलाई धेरै चाहिने होइन, दुई सय ट्रक जर्नानिकासीको आदेश भए पुग्छ । आदेश लिएर गलगलिया स्टेसन पुग्नेबित्तिकै प्रतिट्रक पाँच सय भारु पाइन्छ । आफूले नलगाई एक लाख भारुको बचत हुन्छ । हजुरले भनिदिनुप्रयो ।’ मैले ‘हेर्नुहोस्, मेरो हातमा केही छैन । मैले भनेको मान्दैनन् । हाल म यो कामका लागि उपायरहित छु’ भनी फर्काएँ । यसबाट यो बुझ्न सकिन्छ कि त्यहाँ मनपर्दो गरिरहेको छ ।”
उनी एक छिन मौन रही फेरि जोसिँदै भन्दछन् — “कति दिन टिक्ने हो र यो ? हामीलाई यिनले ल्याउनैपर्छ !”
मन्त्रीज्यूकै कुराको सिलसिलामा मैले बिस्तारै भनेँ— “यसरी मनपर्दो गरेकोमा कुनै कहीँ कार्यवाही गर्ने अड्डा छैन र ?”
“त्यो त किन छैन ? छ नि !”
“भए त हेर्नुपर्ने होइन र ?”
“हेरेकै त छ नि ! आँखा चिम्लेको छैन !”
बडो नाटकीय ढङ्गले उनले यो वाक्य प्रयोग गरे । हामी सबै हाँस्यौँ । यत्तिकैमा कफी आइपुग्छ । मन्त्रीजीको घरको गरमागरम कफीको स्वाद हामीले नौलो पायौँ । विषयवस्तु बदलिएर कफीतिर केन्द्रित हुन्छ । यो कफी उनले लन्डनबाट मगाएका रहेछन् । उनका धेरै बानीहरू विदेशी वस्तुहरूमा भएको हामीले सहजै अनुमान ग्रयौँ ।
मन्त्रीजीले माग्नुभएअनुसार हामी दुवैले पूर्ण परिचय दियौँ । आफूले गरिरहेको काम र आफ्नो परिवारका बारेमा पनि जानकारी दियौँ । अब हामीलाई मन्त्रीज्यूका बारेमा जानकारी पाउन बाटो खुल्यो । मैले सोधेँ — “मन्त्रीज्यूका जहानबच्चा कति छन् कुन्नि ?”
“यसो त जहानबच्चा आठ जना छौँ । यहाँ नोकरहरूबाहेक चार जना छौँ ।”
“अरू कहाँ छन् त ?’’
“गाउँमा दुई जना छन् । दुई जना बाहिर पढ्न गएका छन् ।” “अनि के गाउँमा दुई जना बच्चा मात्रै कि ...?”
“होइन, मेरी जहान छिन् ।”
“ए ! त्यसो भए यहाँ मन्त्राणीज्यू बस्नुहुन्न ?”
“गाउँमा एक जना, यहाँ दुई जना बस्छन् । अहिले मेरा तीन जना जहान छन् ।”
आश्चर्यपूर्वक मलाई ‘ए !’ भन्न आयो । उनी साधारण किसिमबाट जवाफ दिँदै छन् । फेरि मैले सोधेँ— “दुई जना बाहिर पढ्न गएका बच्चाहरू ?” ‘हो, एउटा छोरा र एउटी छोरी । ठुली छोरी लन्डनमा पढ्छिन्, ठुलो
छोरा दार्जिलिङमा पढ्छ’ भन्दै उनी गम्भीर मुद्रामा भन्छन्— “आगे साल छोरो पनि लन्डन पठाउँदै छु ।”
मन्त्रीजी र हाम्रोबिचमा भएको कुराकानीदेखि हामी पूर्ण सन्तुष्ट छौँ । उनी धेरै कुरामा स्पष्ट देखिन्छन् । उनीसँग कुराकानी गर्दा हामीले उनलाई हिजो मात्र चिनेजस्तो हामीलाई महसुस भएन । हामीलाई लाग्यो हामी बसौँ पुराना साथी हौँ ।
उनी आफ्ना पुराना कुरा निकाल्दै भन्छन् — “मेरो पालामा मैले काम गर्दा कुनै नराम्रो काम गरिनँ । देश र जनताका लागि नै मैले मरिमेटी काम गरेँ । फेरि म जनताका बिचबाट आएको एउटा जनप्रतिनिधि पनि त हुँ ! जनताको एउटा सेवक पनि त हुँ ! जसले जनताको सदैव हित चिताउनुपर्छ । त्यहीअनुरूप मैले काम गरेँ । हेर्नुहोस् ! मेरो पालामा एउटासम्म पनि नराम्रो काम ग्रयो भनेर उजुरसम्म परेन । भन्नुहोस् ! यो भाग्यको कुरा होइन ? मैले आफूले काम गर्दा तलदेखि माथिसम्म अनुपात मिलाएर काम गर्दथेँ । नीति– नियममा बाधा नपर्ने गरी काम टुङ्ग्याउँथेँ । अलिअलि बाधा नै पर्ने स्थिति भए पनि छेउ–पुच्छर बचाएर कामलाई समाप्त गर्दथेँ । लौ भन्नुहोस् ! कसैले भन्न सक्छ मैले कुनै बदमासी गरेको छु भनेर ? कसैले भन्न सक्तैन । यो मलाई पूरा विश्वास छ । त्यसैले त मलाई यो पनि विश्वास छ यो देशमा मेरो फेरि आवश्यकता पर्दछ ।”
उनको कुरा नटुङ्गिदै फेरि कफी आइपुग्छ । हामी सबै कफी पिउन व्यस्त हुन्छौँ । उनको कुरा अझै टुङ्गिएको हुँदैन । धेरै समय बितिसकेको र कफी पिएपछि बिदा दिने उनले निश्चय गरेका हुँदा उनी मौन रहन्छन् । कफीको समाप्तिका साथसाथ हामी बिदा माग्छौँ । उनले स्वीकृति दिँदै भन्छन् — “आउँदै गर्नुहोस् ! अर्को नसम्झिनुहोस् !”
सोफाबाट उठ्दै ध्रुवनाथजीले भने— “फेरि–फेरि आई हजुरसँग बात गरौँला । हजुरसँग बिहान त सबै दिन भेट हुन्छ होला ?”
“अँ, सबै दिन । कुनै पनि समय आउनुहोस्, स्वागत छ !”
उनको बेसारे बोलीले मलाई केही क्षण प्रभावित प्रायो नै, तर त्यसमा लुकेको कृत्रिमताको झल्कोले मलाई झ्वास्स घोच्यो । यत्तिकैमा हामी दुवै नमस्कार गर्दै निस्क्यौँ ।