लेखकको कलमबाट
‘कालो सूर्य’को पाँचौँ संस्करण प्रकाशित हुन लागेकोमा मलाई खुसी लाग्नु स्वाभाविक हो । स्वच्छ, इमान्दार र विश्वासयोग्य व्यक्तिहरूको बस्तीले बाहुल्य पाएको प्रकाशमय नेपाली समाजमा एकाएक झूठ, बेइमानी र अनैतिकता सल्बलाउन थाल्यो, यसैगरी स्वार्थी एवं औसरवादीहरूको बोलवाला चल्न थालेपछि विस्तारै नेपाली समाजलाई अन्धकारले घेराबन्दी ठोक्न थाल्यो । हो, यस्तै नेपाली समाजको अवस्था र त्यसको उतारचढाउको अनुभवको धरातलमा उभिएर ‘कालो सूर्य’ जन्मिएको हो ।
अपरिचित हिमालको आरोहण–यात्रामा समर्पित म एकल यात्रीले गन्तव्यविन्दुको पहुँचका लागि अनेकानेक माध्यम प्रयोग गर्दै अगाडि बढिरहेको छु । यस्तो अनौठो यात्रामा मैले साहित्यको माध्यमलाई प्रयोग गरी आफ्नो गन्तव्यको खोजी जारी राखें । विचारलाई विभिन्न कसीमा रगड्दै, परीक्षणमा उत्रँदै र प्रयोग गर्दै मेरा मन, मस्तिष्क, प्रयत्न र कलम अगाडि बढ्दै गए । यसै परिप्रेक्ष्यमा २०३६ सालमा नेपाली समाज र नेपाली भाषाभाषीको माझमा उदाएको ‘कालो सूर्य’ नेपालमा मात्र सीमित नरही विश्वका अन्य भू–भागमा समेत फैलन समर्थ भयो ।
अङ्ग्रेजी भाषाको अतिरिक्त बढी जनसङ्ख्याले पढ्ने रुसी र चिनियाँ भाषामा समेत अनूदित भएर ‘कालो सूर्य’ ले हाल विश्वबजारमा चलेका अन्य साहित्यसँग प्रतिस्पर्धा गर्न कस्सिएर लागेको छ । ‘कालो सूर्य’ले नेपाली भाषाको मूल्य र मान्यता मात्र होइन नेपाली वाङ्मयलाई विश्वभर चलेका अन्य भाषाभाषीका बीच राम्ररी चिनारी गराउने छ भन्ने मैले बलियो विश्वास लिएको छु ।
मलाई थाहा थिएन सोभियत रुस र जापानजस्ता शक्तिसम्पन्न मुलुकका नागरिकको आर्थिक तथा सामाजिक रीतिस्थिति र अवस्था पनि पिछडिएको भनी कहलिएका हामी नेपालीको सामाजिक मूल्यमान्यता तथा जनजीवनसँग मिल्दोजुल्दो हुँदो रहेछ भनेर ! यो सत्यताको बोध मलाई त्यतिखेर हुनगयो जतिखेर ती देशका अनुवादकहरूले ‘कालो सूर्य’ अनुवाद गर्ने क्रममा स्वीकृतिका लागि म समक्ष प्रस्ताव राख्न थाले । वास्तवमा विश्वका कुनै पनि साना वा ठूला मुलुकहरूमा बसोवास गर्ने नागरिकमा एकै किसिमका मनोदशा र समस्या हुँदा रहेछन् ।
सर्वप्रथम अङ्ग्रेजी भाषामा ‘कालो सूर्य’ अनूदित भएर ‘द ब्ल्याक सन’ नामक पुस्तक प्रकाशित भएपछि क्रमशः हिन्दी, बङ्गला, जापानी, चिनियाँ, रुसी, हुँदै विश्वको चौध भाषामा अनूदित भएर प्रकाशित भयो । साथै यो उपन्यास साहित्य र कला संगमको नाममा चित्रमा अनूदित भएर विश्वप्रसिद्धि प्राप्त गर्न सफल भएकोमा मलाई अत्यन्तै खुसी लागेको छ । अन्तमा, यो ‘कालो सूर्य’ विक्रमीय एक्काईसौँ शताब्दीको तीसको दशकमा तत्कालीन नेपाली समाजमा विद्यमान आर्थिक तथा सामाजिक परिवेशमा रचना भएको हुँदा पाठकहरूलाई त्यही परिवेशको आधारमा यसको मूल्याङ्कन गर्नुहुन सादर अनुरोध गर्दछु ।
२०८० साल मंसिर १०
भरत जङ्गम