मङ्गलबार
एउटा सरकारी कार्यालयको कोठामा म घण्टौँदेखि बसिरहेछु । मेरो काम भइरहेको छैन । यी फाँटवालालाई मसँग बोल्नेसम्म पनि फुर्सद देखिएको छैन । मसमेत चार जना अझै कामको पर्खाइमा छौँ । उनले मलाई जानेबित्तिकै ‘एकै छिन पर्खनुहोस्, तपाईँको काम गरिदिन्छु’ भनेर दिएको आश्वासनले म अलमलिएको छु । यो कोठामा मेचको अभाव छ । म कहिले उभिन्छु, कहिले एउटा अपरिचित व्यक्ति बसिरहेको मेचको कुनामा बेसरम बस्न पुग्छु । धेरै बेर बस्ता शरीर अप्ठ्यारो हुन्छ, त्यसैले कहिले कोठाबाहिर निस्कन्छु । मैले यो बिचमा फाँटवालालाई दुई पटक अनुरोध गरिसकेँ ‘मेरो कागज अर्को फाँटमा पठाइदिनुहोस् न’ भनेर । ‘काम गरिरहेको देख्नुहुन्न ?’ भन्दै झन्झट मानेर दिएको ओठेजवाफले मलाई फेरि भन्न मन लागेको छैन ।
आज म यस कार्यालयमा दुई हप्तापछि प्रवेश गरेको छु । महिनौँदेखि अलमलिएको यो काम कुनै जटिल थिएन । काम सकूँ भनेर लाग्ने हो भने करिब बिस मिनेटमा सकिने मेरो काम, बिस पटकको धावाले पनि केही हुन सकेको छैन । काम साधारण छ । मैले केही महिनाअघि त्यसै कार्यालयमा एक कर्मचारीको सल्लाहअनुसार तीन सय पच्चिस रुपियाँ बुझाएको थिएँ । नियमतः त्यो काम नहुने जानकारी पाएँ । काम नभएपछि त्यो तीन सय पच्चिस रुपियाँ मलाई फिर्ता गर्न मौखिक आश्वासन दिएअनुसार कार्यालय धाउन थालेँ । रुपियाँ नपाउने पनि भन्दैनन् । पाउने चाँडो कार्यवाही पनि हुँदैन । धेरै–थोरै जति भए पनि पैसाको माया हुन्छ । त्यसमा पनि आफूले बुझाएको पैसा ! मेरो सानो रकमको काम भएर हो कि फाँटवालाले मेरो काममा ध्यान नदिएको ? मैले तरिका बुझ्न नसकेर हो कि मेरो काम नभएको ? मैले तीन सय पच्चिस रुपियाँका लागि त्योभन्दा पनि बढी खर्च गरिसकेँ । मेरो समयको पनि मूल्य हुन्छ र यहाँ आइपुग्न पनि मलाई केही खर्च लाग्छ । प्रत्येक पटकमा घटीमा मैले दुई घण्टा बिताएको छु । बिसौँ पटकको धावामा घन्टौँको प्रतीक्षापछि पनि काम नहुँदा फेरि नधाउने निश्चय गरेर रुपियाँलाई माया मारी कार्यालयबाट फर्कन्छु तर केही दिनपछि ‘आफ्नो पाउने रुपियाँ किन छोड्ने ? पाएमा एउटा काम त चल्दछ’ भन्ने आशामा फेरि कार्यालयमा धाएको हुन्छु ।
म कोठामा आफ्नो कामको पर्खाइमा उभिइरहेको छु । फाँटवाला एउटा फाइलको काममा व्यस्त देखिन्छन् । उनले मसँग र अरू मजस्तै उनको टेबलअगाडि बस्नेहरूसँग पनि बोल्ने फुर्सद देखाइरहेका छैनन् । यही वातावरणलाई खलबल्याउँदै एउटा मानिस कोठामा प्रवेश गर्दै भन्दछन् — “ओ, हजुर ! मेरो काम भयो ?”
उनलाई देख्नेबित्तिकै चिनेँ । उनी महेशकुमार केडिया हुन् । उनलाई म दसौँ वर्षदेखि चिन्दछु, उनी काठमाडौँ प्रवेश गरेदेखि ।
उनको गरुङ्गो आवाज फाँटवालाको कानमा नपुग्दै मेचबाट जुरुक्क उठी भन्न लागे — “आउनुहोस्, आउनुहोस् महेशकुमारजी !”
फाँटवालाले महेशकुमारलाई सँगैको टेबलको एक मेच तान्दै बस्न अनुरोध गरे । महेशकुमारले भने मलाई समेत तान्दै मेचतर्फ बढाए ।
उनी मेचमा बसे र म उनकै मेचको हातमा टुसुक्क बसेँ । मेरो बारेमा सोधे । मैले आफ्नो कामका लागि आएको कुरा बताएँ । उनी पनि इम्पोर्ट लाइसेन्सको काममा आएका रहेछन् ।
फाँटवालाले आदरपूर्वक उनलाई भने — “महेशकुमारजी ! तपाईँ हिजो नै आउनुहुन्छ भन्ने लागेको थियो । काम सब सकेर तयार राखेको छु, केवल डाइरेक्टरसाहेबको सहीछाप बाँकी छ ।”
हाँस्तै महेशकुमारले भने — “मै हिजो आउन सकेन । मै आज आयो । चाँडो काम सक्याउनुस् ।” फाँटवालाले महेशकुमारको आज्ञापालन गर्दै दराजबाट फाइल निकाले र भने — “तपाईँ एकै छिन बस्नुहोस् । म डाइरेक्टरसाहेबको सहिछाप गराई ल्याउँछु ।”
“कोही बात छयन ।”
फाँटवाला फाइल लिई कोठाबाहिर निस्किए । मैले जिज्ञासापूर्वक सोधेँ — “महेशकुमारजी ! अहिले विदेश–व्यापार आफैँले सुरु गरेको ?”
मेरो प्रश्न सुन्नेबित्तिकै मेरो हात समातेर हलुकासँग दबाउँदै अहिले मौन रहने इसारा गरे उनले । मुखले केही जवाफ नदिएकाले मलाई उनीप्रति शङ्का उत्पन्न हुन लाग्यो । हुन पनि उनी भारतीय पासपोर्टबाट नै तीन महिनाअगाडि हङकङ गएको मलाई थाहा थियो । दस वर्षदेखि काठमाडौँमा बसे पनि उनी आफूलाई नेपाली नागरिक बनाउने तरखरमा नलागेको कुरा पनि मलाई थाहा छ । बर्मामा जन्म भएका महेशकुमार बर्माबाट निस्काशित भएर नेपालमा बसोबास गर्न थाले पनि आफूलाई भारतीय नागरिक भन्नमा गर्व गर्दथे । यसैबिच म एउटा सरकारी नीति सम्झन्छु — ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि विदेशीले यो व्यापार गर्न सक्तैन ।’ यस नीतिको विरुद्ध एउटा विदेशीलाई किन यति बढी स्वागत छ ? किन यति बढी सहुलियत छ ? मेरो मनमा एउटा कुतूहल पैदा भयो यस विषयमा जान्ने र बुझ्ने । महेशकुमारले मलाई सोधे — “तपाईँको धेरइ काम छ ?”
मेरो काम भएमा धेरै बेरको त थिएन । नभएको हुँदा छैन भने पनि हुन्छ किनकि आज नै मेरो काम नगर्ने स्थिति मैले देखिसकेको छु । त्यसैले उनलाई मैले जवाफ दिएँ — “सानो काम छ । सायद आज हुँदैन होला ।”
उनले सोधे — “तपाईँ गाडीमा या पैदल ?”
“पैदल नै आएको । हामीजस्ताले यस्तो महँगो पेट्रोल हाली सधैँ गाडी चढ्न सक्छौँ र ?”– मैले उनलाई भनेँ– पैदल हिँड्नु स्वास्थ्यका दृष्टिकोणले पनि राम्रै छ ।”
यत्तिकैमा फाँटवाला भित्र पस्दै भन्छन् — “महेशकुमारजी ! काम सकियो । यो फाइल लानुहोस् र पैठारी शाखामा दिनुहोस् । तपाईँको कागज यहीँ छ । त्यहीँबाट बुझिलिनुहोस् ।” फाँटवालाले महेशकुमारलाई फाइल दिए । महेशकुमार मलाई ‘एक मिनट’ भन्दै फाइल लिई कोठाबाट बाहिर निस्किए । मैले फाँटवालाई मेरो कामका बारेमा अनुरोध गरेँ । उनले आज काम नभ्याउने कुरा मलाई जनाउँदै ‘भोलि आउनुहोस्, तपाईँको काम गरिदिउँला’ भने । भोलि नै पनि हुने कुनै लक्षण म देख्तिनँ । उनले ‘भोलि गरिदिन्छु’ मात्र भनेको भए पनि म आशा लिएर भोलिका लागि फर्कने थिएँ होला तर उनले ‘गरिदिउँला’ भन्ने अनिश्चित वाक्यको प्रयोग गरे र म निराश भएर केही नबोली ‘हवस्, भोलि आउँछु’ भनेर कोठाबाट निस्केँ ।
म कार्यालयको तल ढोकामा मात्र पुगेको छु । महेशकुमार आफ्नो काम समाप्त गरी मेरा अगाडि आइपुगे । मैले उनलाई भनेँ — “यति चाँडै काम सक्नुभयो ?”
“हाँ तो ! धेरइ समय लगाउने कुनै बातै छयन ।”
“कति दिनदेखि ‘पेन्डिङ’ काम हो यो ?”
“बस्, अस्ति मात्र दिएको । धेरइ दिन भयो भने मुल्लाहरूले खान पनि त पाउँदैन ।”
मेरो मनमा जेसुकै गुज्रिएको भए पनि ओठमा हाँसो ल्याई भनेँ — “बडो चाँडो काम सक्नुहुँदो रहेछ । हुन पनि तपाईँहरूजस्ता व्यापारीलाई धेरै फुर्सद पनि त हुँदैन ! जति सक्यो चाँडै काम सक्नु राम्रो पनि हो ।”
उनले मेरो कामका बारेमा सोद्धै भने — “तपाईँको काम सकियो ?” “आज कामले भ्याएन रे, भोलि बोलाएका छन् ।”
“क्या ? सकिएन ? मै भनिदिन्थेँ आफ्नै मान्छे भनेर । पहिले किन भन्नुभएन मैलाई ?”
उनको कुरा सुन्दा मलाई उदेक लाग्यो, आफ्नो देशमा उनी एक विदेशी मान्छे भनेर मैले चिनिनुपर्ने स्थिति देखेर । हुन त उनले मेरै फाइदाका लागि भनेका हुन् । यो कुरा मेरा लागि फाइदै भए पनि सहन गर्न सक्तिनँ म । मैले मनमनै भनेँ, बरु मेरो काम नहोस् तर यस्तो स्थिति कहिल्यै नआओस् !
मैले उनका कुराको कुनै प्रतिक्रिया जनाइनँ । म मौन रहेँ । उनले भने — “तपाईँ अब कहाँ जानुहुन्छ ?”
मेरो आजको काम त्यही थियो जो हुन सकेन । विशेष कहीँ जाने काम थिएन । त्यसैले मैले भनेँ — “घरै जान्छु होला ।”
“दिनमै घर जाने ? फुर्सद छ भने मैसँग चल्नुस् ।”
“कहाँ ?”
“मेरो अफिसमा ।”
मैले उनीसँग जाने सम्मति जनाएँ । उनी कारतर्फ बढे र म पनि । कारको फ्रन्ट सिटमा दुवै बस्यौँ । गाडी उनको अफिसतिर लाग्यो । उनले कुरा निकाले — “तपाईँ पनि फरेन ट्रेडमा लाग्नुभयो ?”
“लागेको त छैन । लाग्ने विचारले कार्यालय धाउन थालेको । खोइ, नहुने भयो । हामीजस्ताले कसरी गर्ने ?”
सम्भवतः मलाई उनले विदेश–व्यापारका बारेमा सल्लाह गर्न उनको अफिसमा लाँदै छन् । मैले उनलाई बिस्तारै सोधेँ — “के तपाईँले विदेश– व्यापार सुरु गर्नुभयो ?”
“विदेश–व्यापार त मै पहिलेदेखि गर्थेँ । तपाईँलाई थाहै छ, पहिले अर्काको इम्पोर्ट लाइसेन्स खरिदेर गर्थेँ, अहिले आफ्नै फर्म छ । बस्, फर्क तेति हो ।”
मैले उनलाई सम्झाउँदै भनेँ — “तपाईँ त भारतीय नागरिक, कसरी आफ्नो फर्म रजिस्ट्रेसन गर्नुभयो ? कि नेपाली नागरिकता लिइसक्नुभयो तपाईँका साथी धारीवालले जस्तो ?”
“पछि भनूँला ।” — उनले कुरा टुङ्ग्याउँदै भने ।
उनका काठमाडौँका सुरु–सुरुका दुःखका दिनहरू पनि मैले राम्रो गरी देखेको छु । उनले दुई सय पचासको नोकरीमा काठमाडौँका फुटपाथहरू माडेका छन् । एउटा कोठामा पचास रुपियाँ तिरी उनले महिना गुजारेका हुन् । आज महेशकुमारका तीन–तीन ओटा कारहरू अठार सयको बङ्गलाको ग्यारेजमा मौजुद छन् । उनी आफ्नो कुनै पनि कुरा मलाई बताउन हिचकिचाउँदैनन् तर अहिले किन बताएनन्, मैले बुझ्न सकिनँ । हामी उनको अफिसको मुनि सडकमा आइपुग्यौँ । उनले आफ्नो गाडी रोक्तै भने — “मै तपाईँसँग सल्लाह गर्न चाहेको छु । जाऊँ माथि अफिसमा ।” हामी दुवै उनको अफिसमा पुग्यौँ । म करिब तीन महिना भइसकेको
थियो उनको अफिसमा नआएको । अफिसमा ठुलो परिवर्तन भइसकेको रहेछ । स्टाफहरू पनि थपिएका रहेछन् । उनको छुट्टै केबिन रहेछ । पुग्नेबित्तिकै उनले मलाई ‘गरम या ठन्डा’ खाने प्रस्ताव गरे ।
उनले आफ्नो अफिसको पिउनलाई बोलाउँदै भने — “बहादुर ! ए बहादुर !”
एउटा नवयुवक कोठाको ढोका खोली उपस्थित भए— “किन सा’प ?” मैले यस्तो बहादुर भन्ने शब्द भारतको कलकत्ता, दिल्ली र बम्बईमा मात्र सुनेको थिएँ । आज काठमाडौँमा पनि सुनेँ । सुन्नेबित्तिकै मेरो मनमस्तिष्कमा झस्को प्रयो । मलाई महेशकुमारप्रति नराम्रो भावना पैदा भयो । यस विषयमा केही नबोली म चुप बस्न सकिनँ र त्यो युवकलाई सोधेँ — “भाइ ! तिम्रो नाम बहादुर हो ?”
युवकले जवाफ दिए — “हो हजुर ।”
उनको कुरामा अविश्वास गर्दै भनेँ — “के बहादुर मात्र नाम हुन्छ ?” “यहाँ सा’पले बहादुर भन्नुहुन्छ । त्यसैले मेरो नाउँ नै बहादुर भयो ।” “यहाँ नोकरी गरेको कति भयो ?”
“तीन महिना हुन लाग्यो ।”
“यहाँभन्दा पहिले के नाम थियो तिम्रो ?”
“नाम त रामप्रसाद हो ।”
“तब किन बहादुर भनेको त, रामप्रसाद भन न !”
महेशकुमारले मेरो आशय बुझे । उनले अप्ठ्यारो मान्दै भने — “रामप्रसादभन्दा बढी लामो नाम छ । ‘कान्छा’ भनूँ भने अर्को मान्छेको नाम पनि ‘कान्छा’ छ, त्यसैले सजिलोका लागि ‘बहादुर’ भनेको ।”
मैले उनलाई सम्झाउँदै भनेँ — “यिनले केही बहादुरी गरेको भए ‘बहादुर’ भन्दा राम्रै थियो । यिनले कुनै बहादुरी गरेजस्तो त लाग्दैन, किन बिनसित्तिमा ‘बहादुर’ को उपाधि दिएको ?”
महेशकुमार नमिठो मुख लगाउँदै भन्न लागे — “बहादुरी गरेको थियो कुनै जवानामा नेपालीले, त्यसैले बहादुर त राम्रो हो । होइन ? सबै त नोकरलाई ‘कान्छा’, ‘बहादुर’ भन्छन् !”
“बहादुर शब्द त राम्रै हो, तर पनि हामीलाई सुन्दा नराम्रो लाग्छ ।” “अच्छा, यो कुरा छोडिदिऊँ ।” — उनले भने — “आजकल क्या गर्दै हुनुहुन्छ ?”
‘काम त केही विशेष छैन’ भन्दै मैले उनलाई भनेँ — “आफ्नै घरको कामकाज र कारोबार हेर्दै छु ।”
उनी आफ्नो अफिसको फाइल केलाउन थाले । एकै छिनको मौनतापछि मैले सोधेँ — “महेशकुमारजी ! आजकल विदेश–व्यापार के आफ्नै फर्मबाटै गर्दै हुनुहुन्छ ?”
“हाँ तो, क्या गर्ने ! नेपाल सरकारको नीति कुनै ठिक छयन । कहिले क्या हुन्छ त कहिले क्या हुन्छ । जस्तो–जस्तो नीतिमा उनले परिवर्तन गरे, हामीले पनि आफ्नो व्यापारमा परिवर्तन गर्नैपर्छ । तपाईँलाई थाहा थियो, पहिले एक सय साठी प्रतिशतको भाउमा इम्पोर्ट लाइसेन्स खरिद गरेर हामीले काम गरेको हो । अब सरकारी नीति बदलियो । एक्सपोर्टको बोनस नदिने हिसाब बैठायो । कहाँबाट हाम्रो काम चल्ने ? जस्तो सरकारको नीतिमा बदल हुन्छ, हाम्रो पनि त्यही हुनुपर्ने । त्यसैले आफ्नै फर्म रजिस्ट्रेसन गरेँ । आफूलाई चाहिने माल आफैँ मगाउँछु । लाइसेन्स आफैँ झिक्छु । काम चलाउनैप्रयो । भन्नुहोस्, क्या गर्ने !”
मैले उनीसँग सोधेँ — “के सरकारको नीति परिवर्तन भइरहन्छ ? एउटा कुनै ठोस नीति रहँदैन ?”
उनले जवाफ दिए — “कहाँ एउटा नीति रहन्छ ? कहिले बोनसमा इम्पोर्ट लाइसेन्स दिन्छ त कहिले डलरलाई बाह्र र सोह्र गरी दुई विनिमय रेट कायम गरेर इम्पोर्ट फ्री गर्छ । कहिले सोह्रलाई घटाई चौध गर्छ । जे गरे पनि हामी व्यापारीलाई नुक्सान दिनचाहिँ सक्तैन । हाम्रै सल्लाहअनुसार त सब हुन्छ !”
मैले उत्सुकतापूर्वक सोधेँ — “कसको सल्लाहअनुसार ?” “हाम्रो ग्रुपको सल्लाहअनुसार ।”
“तपाईँहरूको ग्रुप कस्तो छ ?”
उनले उपहासको हाँसो हाँस्तै मलाई भने — “यो कुनै तपाईँले देख्ने ग्रुप हुन्छ ? हामी नेपालमा कसरी टिकेका छौँ? क्या तपाईँ सम्झनुहुन्छ मै एक्लै काम गरिरहेछु ? हामी ठुला–ठुला व्यापारीको एउटा ग्रुप छ । त्यसमा शक्तिशाली पावरका व्यक्ति पनि छन् । हामीलाई आवश्यक भयो भने साना– ठुला सरकारी कर्मचारी पनि मिलाउँछौँ । हाम्रो भेटघाट धेरइ टेलिफोनमा हुन्छ । तपाईँलाई मै ग्रुप देखाउन सक्तिनँ ।”
उनको भनाइअनुसार नेपालको व्यापार उनको मुठीभित्र छ । उनले जे गर्न पनि सक्छन् । उनले धक फुकाएर बयान गरेको सुन्दा म उनको कुरामा कुनै शङ्का गर्ने ठाउँ पाउँदिनँ । मेरै आँखाले आज सरकारी कार्यालयमा उनलाई गरेको इज्जत देखेको छु । उनले मलाई ‘मेरो मान्छे’ भनेको भरमा काम टुङ्गिने कुरा पनि बताएका थिए । यसैले यो होइन, हुन सक्तैन भन्ने पक्षमा मैले सोच्ने कुरै रहेन । म टोलिएर उनको कुरा सुन्दै जान्छु ।
उनी भन्दै जान्छन्— “तपाईँले देख्नुभयो आजको मेरो काम ? मै जानेसाथै सबै काम हुन्छ । हामी कुनै पनि काम गर्दा ढिलासुस्ती मन पराउँदैनौँ । हामीले सबै हाकिमहरूलाई आफ्नो कामका बारेमा फोनबाट जानकारी दिन्छौँ । काम चाँडो सक्छौँ ।”
उनी भन्दै जान्छन् — “मलाई लाग्छ, तपाईँको त्यो आपिसमा धेरइ दिनदेखि काम अलमलमा छ । क्या काम हो, मलाई भन्न सक्नुहुन्छ ?” उनले स्पष्टतासाथ सबै कुरा बताउँदै छन् भने मैले आफ्नो काम लुकाउनु पनि मनासिब देखिनँ र भनेँ — “काम त ठुलो होइन । मैले एउटा कामका लागि तीन सय पच्चिस रुपियाँ बुझाएको थिएँ । नियमअनुसार त्यो काम हुन सकेन भनेर मैले जानकारी पाएँ । काम नभएपछि आफूले राखेको धरौटी रुपियाँ फिर्ता पाउने नियम रहेछ । त्यही पैसा फिर्ता लिन गएको हुँ ।” “कति पटक जानुभयो ?”
“जान त धेरै पटक गएँ ।”
“धेरइ पटकको मतलब चार–पाँच पटक ?”
“होइन, त्योभन्दा पनि धेरै ।”
“तब तो तपाईँले सजिलो हिसाबले पाउनुहुन्न । सम्झनुहोस्, तपाईँले पाउने रुपियाँमध्ये दस–पन्ध्र प्रतिशत उनलाई दिन मन्जुर हुनुहुन्छ भने तुरुन्त पाउनुहुन्छ ।”
“किन, आफ्नो रुपियाँ लिन पनि उनलाई कबुल्नुपर्छ ।
“क्या गर्नुहुन्छ ! तपाईँको आपिसको नियमै त्यस्तो छ । दिन मन्जुर गर्नुहोस् या सबै छोडिदिनुहोस् ।”
“मैले त्यस्तो कुरा कसरी गर्ने कार्यालयमा ?”
“सोझै भन्नुहोस् या घुमाएर भन्नुहोस् । तपाईँले नबोलेसम्म उसले बुझ्दैन । नबुझेसम्म काम गर्दैन । आपिसमा एक्लै पारेर भन्नुहोस् या सडकमा भेटेर भन्नुहोस् । त्यति भनेपछि मन्त्र गरेजस्तो काम भइहाल्छ । मै तो यहीँ बोलाउँछु आफ्नो कामका लागि ।”
उनले गरिरहेको व्यवहार म गर्न सक्तिनँ । उनलाई थाहा भएको कुरा मलाई थाहा छैन । त्यसैले त उनमा र ममा ठुलो अन्तर छ । उनले पाँच वर्षमा गरेको प्रगति मेरो जिन्दगीभरमा हुँदैन । उनको भनाइ मेरो भलाइका लागि हो । उनका अनुसार गर्ने मेरो साहस छैन । साथै मेरो क्षमताभन्दा बाहिरको कुरा म गर्न पनि सक्तिनँ । यसै सन्दर्भमा म उनलाई भन्छु — “के तपाईँको कामका लागि बोलाउँदा सरकारी कर्मचारी यहीँ आउँछन् ?”
उनले हाँस्तै भने — “लौ ! क्या भन्नुभयो ? आउनैपर्छ ! नआई उनको कामै चल्दैन । कति आपिसको मानिसलाई हामीले तलब दिएर राखेका छौँ । मेरो मतलब सरकारी तलब होइन, हाम्रो काम गरेबापत हामीबाट पाउने तलब । यदि हामीले अलग तलब नदिएमा हाम्रो काम ढिला भैजान्छ । ढिला भयो कि काम बिग्रियो । व्यापारमा चाँडो–चाँडो काम हुन चाहिन्छ । अच्छा !तपाईँले भन्नुहोस्, हाम्रो सम्पर्कको आपिसको मान्छे अहिले बोलाऊँ? हामीले धेरइ बोलाएपछि सबै काम छाडी यहाँ आउँछन् । यसमा त उनलाई फाइदा छ । हामीले धेरइ बोलाएपछि धेरइ पैसा उनले पाउँछन् । क्या कुरा गर्नुभएको तपाईँले !”
टेलिफोनको घन्टीले उनको कुरा रोकिन्छ । उनी टेलिफोनमा कुरा गर्न लाग्छन् — “हेलो... क्या दस लाख... ठिक... ठिक ... एक लाख घाटा... के कुनै भयो... हाँ... ठिक... अच्छा !”
उनको टेलिफोन नसकिँदै गरम कफी टेबलमा आइसकेको छ । टेलिफोनको रिसिभर राख्तै मलाई कफी लिन हातले इसारा गर्छन् । कफीको कप हातमा लिँदै म भन्छु— “महेशकुमारजी ! साँच्चै तपाईँ यहाँ कुनै सरकारी कर्मचारी बोलाउन सक्नुहुन्छ ?”
“तपाईँले मलाई अविश्वास गर्नुभयो ?”
“विश्वास नगरेको त होइन । यो कार्यालय–समयमा सरकारी कर्मचारी तपाईँकहाँ कसरी आउँछन् भन्ने विषयमा मलाई शङ्का भने निश्चय छ ।” “भन्नुहोस् तो, त्यसो भए कुन आपिसको बुलाऊँ ?”
उनको कुराले झन् मलाई आश्चर्यचकित बनायो । उनी मलाई ‘कुन अफिस’ भनेर सोध्दै छन् । यसको मतलब सबै अफिससँग उनको सम्पर्क छ । अब म कुन भनूँ, मलाई नै अप्ठ्यारो स्थिति पैदा भयो । मैले उनलाई फेरि सोधेँ— “जुनसुकै अफिसको ? मतलब नेपालमा भएका सबै अफिसको ?” “त्यो होइन ! तपाईँ भन्नुहोला युनिभर्सिटीको मास्टर बुलाऊ । म बुलाउन सक्तिनँ । हाम्रो व्यापारसँग सम्बन्धित सबै आपिस भनेको मैले ।” तत्काल दिमागमा त्यही कार्यालय अगाडि आयो जुन कार्यालयमा आज
म गएको थिएँ । मैले भनेँ— “अघि हामी भेट भएको कार्यालयको अफिसरलाई बोलाउनुहोस् । फाँटवालालाई होइन नि !”
“कुन अफिसरलाई ?”
फेरि मलाई फसाद प्रयो । को भन्नु ! चिनेको कोही छैन । मैले विचार गरेँ, फाँटवालाभन्दा माथिको व्यक्तिसँग परिचय भयो भने आफ्नो तीन सय पच्चिस पनि आउने । त्यसैले मैले भनेँ — “फाँटवालाभन्दा माथिको कोही पनि अफिसर बोलाउनुहोस्, जो तपाईँले भन्दा तुरुन्त आउँछन् ।”
‘ठिक छ ! तपाईँको शङ्का दूर गरिदिन्छु’ भन्दै उनले टेलिफोन मिलाए । टेलिफोनमा कुरा गर्दै भने — “हेलो ... को बोल्नुभयो ... आपिसरसाहेबहरू कोही हुनुहुन्छ ? ... हुन्छ ... मै महेशकुमार, न्युरोडबाट .... तपाईँ मैकहाँ अहिले आउन सक्नुहुन्छ ? ... आउनुस् है, मै बसिरहेको छु ।”
टेलिफोन राख्तै उनले भने — “आपिसर दुई–तीन जना मिटिङमा बाहिर गएका रहेछन् । एउटा आपिसर भेटेँ, बोलाएको छु ।”
महेशकुमारले मसँग व्यापारका सम्बन्धमा कुरा छेडे । जुन कामका लागि उनी मसँग सल्लाह गर्न चाहन्थे, त्यही विषयमा बिस्तारै उनले कुरा निकाले । उनले मप्रति सहानुभूति राख्तै विदेश–व्यापार सुरु गर्ने सल्लाह दिन थाले । उनले यो पनि भने — “यो मौकामा हामीसँग मिलेर काम गर्दा धेरै नै फाइदा हुने छ ।”
उनको भनाइअनुसार मैले सरकारी नीतिका विरुद्ध केही गर्नु थियो, जो म गर्न सक्तिनथेँ । जब उनको पूर्ण आशय बुझेँ, त्यसपछि उनलाई मैले सोझै जवाफ दिएँ— “यो मबाट हुन सक्तैन, यसरी रुपियाँ कमाउने मलाई आवश्यकता पनि छैन ।”
मेरो यत्तिकै जवाफमा उनी चुप रहेनन् । उनी झन् जोसिँदै हिन्दी भाषामा रुपियाँको महŒवका बारेमा मलाई धेरै सम्झाए ।
हाम्रो कुराकानीको दौरान नटुङ्गिदै एक जना अपरिचित व्यक्ति कोठामा प्रवेश गर्दछन् । महेशकुमार उनलाई स्वागत गर्दै भन्दछन्—“आउनुहोस्, आउनुहोस् ! बढी चाँडै आउनुभयो, बस्नुहोस् !”
महेशकुमारले परिचय गराए । तिनी त त्यही सरकारी कार्यालयका शाखाअधिकृत शिवराम पो रहेछन्, जुन कार्यालयमा म बिसौँ दिन धाउँदा कुनै कर्मचारीलाई मसँग एक मिनेटसम्म बोल्ने फुर्सद थिएन ।
महेशकुमारले मेरो काम अलमलिएको बारेमा सुनाए र हुन सक्छ भने कामका लागि मद्दत गर्न समेत अह्राए ।
अधिकृतले मतर्फ फर्कँदै भने — “कति दिन भयो काम अलमलिएको ? कसको फाँटमा छ ?”
“करिब तीन महिना भयो मैले रुपियाँ बुझाएको । मलाई रुपियाँ फिर्ता गर्ने भनेको अढाई महिना भयो होला । धेरै पटक कार्यालयमा धाएँ । फेरि भोलि बोलाएका छन् । भोलि काम हुन्छ कि ?”
“भोलि तपाईँ कार्यालय आउनुहुन्छ भने पहिले मलाई भेट्नुहोस् । जुनसुकै फाँटमा भए पनि म काम टुङ्ग्याइदिन्छु ।”
महेशकुमार मलाई सम्बोधन गर्दै भन्छन् — “तपाईँ निश्चिन्त रहनुहोस्, काम भयो । उहाँले भनेजस्तो आपिस जानेबित्तिकै उहाँलाई भेट्नुहोस् । सब काम भइहाल्छ ।”
अधिकृत महेशकुमारको कुरालाई पुष्टि दिँदै भन्छन् — “हँ–हँ, सबै काम भइहाल्छ । चिन्ता गर्नुपर्ने कुरै छैन ।”
जुन कुरा म हृदयदेखि चाहन्नथेँ, त्यही भयो । मैले चाहेर होइन, नचाहेर पनि यो वातावरण नै अनायास सृजना भयो ।
अधिकृत र महेशकुमार बिच आपसी सन्चो–बिसन्चोबारे कुरा भयो । मानौँ यी दुईको गहिरो मित्रता छ । महेशकुमारले आज कार्यालय आएको र डाइरेक्टर साहेबलाई भेट्न नसकेको कुरा पनि अधिकृतलाई भने । अरू कामका विषयमा अधिकृतले सोधेको प्रश्नका उत्तरमा महेशकुमारले भने — “उहाँको कामका लागि मात्र तपाईँलाई दुःख दिएको ।”
अधिकृतलाई जुनसुकै कारणले बोलाएको भए पनि बाठा महेशकुमारले भने—“यस्तो कुरा फोनबाट भन्न मनासिब नभएको हुँदा तपाईँलाई दुःख दिएको हुँ ।”
प्रतिउत्तरमा उनले भने — “ठिक गर्नुभयो ! कुनै पनि कुरा भेटघाटमै गर्नु राम्रो हुन्छ ।”
महेशकुमारले उनलाई चिया पिउन आग्रह गरे, तर उनले चिया नपिएर नै जाने विचार व्यक्त गरे । महेशकुमारको उनीसँग कुनै काम छैन । उनले त मेरो शङ्काको निवारण गर्न मात्र अधिकृतलाई डाकेका हुन् । संयोगले त्यही कार्यालय पर्न गएको हुँदा मेरो काम पनि बिचमै झुन्डियो । अन्यथा यो अवस्था नै आउने थिएन ।
महेशकुमारले अधिकृतलाई बिदा दिँदै भने — “भोलि साँझ मेरो घरमा आउनुहोस्, डाइरेक्टरसाहेबलाई केही सामान पठाउनु छ ।”
‘भोलि साँझ ? हुन्छ’ भन्दै अधिकृत कोठाबाट निस्किए ।
एक क्षणको मौनतापछि महेशकुमार भन्छन्— “देख्नुभयो नोटको तागत ?” मेरो ओठबाट एक वाक्यसम्म फुट्तैन । म टोलिएर उनलाई मात्र हेरिरहेको छु । उनले जो भने त्यो सत्य रहेछ । म मनमनै सोच्छु हिजोको महेशकुमार र आजको महेशकुमारलाई । दुवै महेशकुमार मेरो आँखाको वरपर घुमिरहेछ । एउटा विदेशी अर्काको देशमा आएर जो हिम्मत र साहस देखाइरहेको छ, त्यो अनुकरणीय हो वा होइन ? मैले छुट्याउन सकिरहेको छैन । मेरो मौनतापछि बिउँझाउँदै उनी भन्छन्— “तपाईँ केही गर्नुहोस् । गर्नुभएन भने पछि पछुताउनुहोला । तपाईँका छोराछोरीले पछि श्राप देलान् ।” मैले बिस्तारै आफ्नो विचार व्यक्त गरेँ — “केही गर्न त मलाई पनि
इच्छा छ । तर तपाईँले जो भन्नुभयो त्यो गर्न भने मलाई मन छैन भनूँ वा हिम्मत छैन । बरु अर्कै सरल र योग्य काम बताउनुहोस्, म गर्न तयार छु । तपाईँसँग मिलेर गरूँ या म एक्लै गरूँ, त्यो पछि विचार गरौँला । व्यापार नगरी त मेरो पनि घर चल्न मुस्किल छ ।”
उनले मेरो कुरा काट्तै भने — “तपाईँ सिधासाधाले नोट बनाउन सक्नुहुन्न । टेढो अङ्गुली लगाएर मात्र केही चिज निस्कन्छ । म जो भन्छु तपाईँ मान्नुहोस् । मान्नुभएन भने केही दिनमा गाडी बिकिजान्छ । केही वर्षमा घर बिकि जान्छ । भोलि बच्चाबच्चीलाई दुःख दिनुहुन्छ । आज त तपाईँ पेट्रोल खरिद्न नसकेर गाडी चढ्न सक्नुहुन्न । यस्तै भोलितक गाडी मेन्टन गर्न सक्नुहोला भन्ने मलाई विश्वास छैन । त्यसैले आँखा चिम्म गरी आउनुहोस् ।” उनको कुरामा मैले आफ्नो प्रतिक्रिया जनाउँदै भनेँ — “हेर्नुहोस् महेशकुमारजी ! तपाईँले भनेको कुरा म मान्दछु । पैसाले सबै थोक हुन्छ तर पनि म तपाईँले भनेको कुरा गर्न तयार छैन । कारण, यो मेरो जन्मस्थल हो । यहाँ मेरा इष्टमित्र, नाता–कुटुम्ब र चिनेजानेकाहरू छन् । रुपियाँको फेरोमा कहीँ–कतै मेरो इज्जतमा दाग लाग्यो भने रानीपोखरीमा गएर हामफाल्नेबाहेक अरू कुनै बाटो रहँदैन । जुन आफ्नो समाज छ, त्यो समाजबाट घृणित भएर म बाँच्न चाहन्नँ । त्यसैले मेरो इच्छा छ, सिधा काम गर्छु । जो छैन, त्यसको खोजी गर्दिनँ । तपाईँ पो आफ्नो देशबाट बाहिर हुनुहुन्छ, आफ्नो समाजबाट बाहिर हुनुहुन्छ । तपाईँको एउटै लक्ष्य हुन्छ रुपियाँ कमाउने । तपाईँको चौबिसै घण्टा तनमन त्यसैमा लागेको छ । कथंकदाचित् कुनै नराम्रै भयो भने तपाईँको इज्जतमा भने धब्बा लाग्दैन, किनकि तपाईँका देख्ने मानिस कोही हुँदैनन् । तपाईँ आफ्नो घरमा रुपियाँको पोको बोकेर जाँदा तपाईँको झन् बढी इज्जत हुन्छ । त्यसैले महेशकुमारजी !जति तपाईँ आफ्नो इज्जतको वास्ता नराखी निश्चिन्त भएर काम गर्न सक्नुहुन्छ, म सक्तिनँ । यो मेरो कमजोरी सम्झनुहोस् वा नैतिक सिद्धान्त ।”
मेरो कुरा टुङ्गिन नपाउँदै कोठामा दुई जना मानिस प्रवेश गर्छन् । महेशकुमारकै समान वर्गका देखिने ती दुई व्यक्ति टेबलका अगाडि साइडमा रहेको मेचमा बस्छन् र आफ्नै भाषामा व्यापारको कुरा गर्न थाल्छन् । म चुपचाप तीनै जनाको मुख एक–एक गरी हेर्न थालेँ । करिब पाँच मिनेटको उनीहरूको कुराकानीपछि ती दुवै व्यक्तिको ध्यान मप्रति आकृष्ट भयो । एक जनाले महेशकुमारलाई ‘यो को ?’ भनेर उनकै भाषामा सोधे । मैले नबुझेजस्तो आफ्नो आँखा तर्काएँ । महेशकुमारले उनकै भाषामा भने– “यो स्थानीय मान्छे हो । यसबाट ठुलो काम लिन सकिन्छ । मूर्खले बुझिरहेको छैन, सम्झाउँदै छु । यदि यसले साथ दियो भने हामी यो साल काफी पैसा फाइदा गर्न सक्छौँ । जो पायो उहीलाई सुम्प्यौँ भने हामीलाई नै लगेर फसाइदिन्छ । मैले सोचेको छु यिनीद्वारा काम गर्ने । यिनलाई म धेरै वर्षदेखि चिन्दछु । रुपैयाँमा धोका हुँदैन ।”
अर्काले थपे — “हेर्दा मलाई पनि त्यस्तै लाग्यो ।”
यति कुरा टुङ्ग्याएपछि महेशकुमारले मलाई ती दुई व्यक्तिको परिचय दिँदै भने — “उहाँहरू ठुला व्यापारी हुनुहुन्छ । उहाँ शान्तराम जेटिया र उहाँ किसुन केवडीवाला । उहाँहरू अहिले नेपालका ठुला व्यापारीमा गनिनुहुन्छ ।” शान्तरामले भने — “महेश हो ठुलो व्यापारी, हामी होइन ! हामी त
साना व्यापारी ! आफू पन्छेर हामीलाई ठुलो बनाउँछ ।” महेशकुमारले बर्मेली कुरा सुरु गरे । तीनै जना बर्मेली भाषामा कुरा गर्न लागे । मैले सहजै अनुमान गरेँ, यी तीनै एउटै मूलका रहेछन् । सायद साथै काठमाडौँ प्रवेश गरेका हुन् । करिब पन्ध्र मिनेटसम्म त्यही कुरा चल्छ, जो एक शब्दसम्म बुझ्न सक्तिनँ । उनको गोप्य कुरा टुङ्गियो होला अथवा मैले असजिलो मानेको महेशकुमारले महसुस गरे होलान्, अब हिन्दीमा कुरा गर्न लागे ।
किसुनको पानी जहाजमा आएको सामान हराएछ । इन्स्योरेन्सलाई क्लेम गर्नु–नगर्नु बेकार भएछ, कारण अन्डर इन्भ्वाइसमा ल्याएको माल हराएकोमा क्लेम गर्दा आफ्नो मोल नउठ्ने रहेछ । पचास लाखको माललाई पाँच लाखको इन्भ्वाइस बनाएर ल्याएकोमा इन्स्योरेन्स कम्पनीले पूरा जाँचपडतालपछि मात्र पाँच लाख मात्र दिने भएकोले क्लेम गर्नु–नगर्नु बेकार भएछ ।
कुरा सुन्नेबित्तिकै मेरो त होसै गुम भयो । सोझै पैँतालीस लाख घाटा परेको किसुन केवडीवाला चिन्तारहित हाँसी–हाँसी कुरा गर्दै छन् । मेरो त गोजीबाट एक रुपियाँसम्म गुम भयो भने पनि म त्यति प्रसन्न रहन सक्तिनँ, जति पचास लाखको गुमाइमा केवडीवाला प्रसन्न छन् । उनीहरूको कुराअनुसार त्यो पाँच लाखको पनि इन्स्योरेन्स कम्पनीसँग क्लेम नगर्ने विचार छ । शान्तरामको चाहिँ दस प्रतिशत माल मात्र गुम भएको रहेछ । त्यो पनि हिजो मात्र वीरगन्ज भन्सारमा माल आइपुगेपछि पो थाहा भएछ । शान्तरामलाई पनि सात लाखको नोक्सानले कुनै फरक परेको देखिँदैन । माल हराएको उल्लेख गर्दै केवडीवाला भन्छन् — “हङकङबाट हिँडेको जहाज तीन महिनासम्म गायब भयो । मैले त रुपियाँ त्यसै बखत माया मारिसकेको थिएँ । कोरियामा अनलोडमा परेको हुन सक्छ । तर कसरी खोज्नु ? कोरियाबाट लोड क्लियर गरेर हिँडिसकेपछि माल त्यहाँ कहाँ पाउन सकिन्छ ? त्यसैले माया मार्नुबाहेक अरू कुनै उपाय नै छैन ।”
नेपालमा यति ठुला व्यापारी छन् भनेजस्तो मलाई लागेको थिएन । यो काठमाडौँ हेर्दा मात्र सानो, यहाँका व्यापारीको छाती त योभन्दा ठुलो रहेछ । उनको चित्त बुझाउने कुरा पनि सुनेँ । केवडीवालाले ओभर इन्भ्वाइसमा
जति कमाए, त्यसको दस प्रतिशत पनि नोक्सान भएनछ । शान्तरामले त चिठ्ठा नै पारेछन्, पहिले पनि कमाइ, अहिले पनि कमाइ । कुराको सिलसिला नचलेको भए पनि म अनुमान गर्न सक्छु, महेशकुमारको पनि त्यस्तै होला जो शान्तरामको छ ।
यत्तिकैमा फोनको घन्टीले सबैको ध्यान खिच्छ । महेशकुमार फोन शान्तरामलाई दिँदै भन्छन्— “तिमी यहाँ हुन्छु भनेर भनेका थियौ ?”
फोनमा कुरा गर्दै शान्तराम भन्छन्—“हेलो...के भयो शर्माजी ?...काम नगर्ने भयो ?...भन्नुहोस् न सालेलाई दुई लात खालास् ...मान्दैन : सालेलाई तीन लातभन्दा नदिनुहोस् ... त्यसो भए म यहीँ महेशको अफिसमा छु, आउनुहोस् ...राखिदिऊँ ?”
शान्तराम फोन राख्तै भन्छन्—“सालेहरूको मुख बढी ठुलो भइसक्यो । पहिले हजारले हुने काम अहिले लाखले हुँदैन ।”
केवडीवालाले भने— “सिकायौ तिमीले लाखको चाल, खेल्न त खेल्छन् !दस लाख कमाउँछौ त एक लाख दिन्छौ !”
शान्तरामले भने— “नब्बे प्रतिशत खान पनि मुस्किल छ । तिमीहरूलाई थाहै भएको कुरा हो नि तीन महिना अगाडिको सिमेन्टको लाइसेन्स सम्बन्धमा दस लाखको कुराकानी टुङ्गिएको कुरा लम्बे–चौडे हुँदै सचिव, मन्त्री सबैतिरबाट च्यापिएर तिस लाखमा गई टुङ्गो लाग्यो । अब अहिले मुनाफा हिसाब गर्दा पच्चिस लाखसिवाय वचत नहुने भयो ।”
उनको कुरा काट्तै महेशकुमारले भने— “त्यसो भए पच्चिस लाखमा मै सकार्छु, दिने हो ?”
शान्तरामले हाँस्तै भने— “कसरी दिने ? महिनौँदेखि बैङ्क एलसी खोलिराखेको बैङ्क–कमिसन, रुपियाँको ब्याज, कामदारको ज्याला, अझ फुटकर खर्च कसले बेहोर्ने ? मेरो मतलब सबै कट्टा गर्दा पच्चिस लाखमा तिमीलाई दिन सक्छु । तिमीले सकार्ने नै हो भने तिस लाख गधाहरूको खाना, बैङ्क– कमिसन र ब्याज तीन महिनाको हिसाब गर्दा दस लाख कामदारको ज्याला छोडिदिऊँ, अरू फुटकर खर्च पाँच लाख, पच्चिस लाख मेरो खुद मुनाफा र दस लाख उपरको सलामी जम्मा सत्तरी लाख देऊ, सकार ! म दिन मन्जुर छु ।” केवडीवाला महेशकुमारलाई उत्तेजित पार्दै भन्छन् — “महेश ! सत्तरी लाखमा तिमी सकार ! तिमीलाई शतप्रतिशत मुनाफा हुन्छ । यसमा तिमीले कुनै चिन्ता गर्नुपर्ने कुरै छैन । तिमीलाई थाहा छ ? सिमेन्टको भाउ वर्ल्डमार्केटमा बढ्दै छ । बाहिर सिमेन्टको भाउ बढेपछि यहाँको सिमेन्ट कारखानाले पनि बढाउनैपर्छ । होइन भने हामी बढाउने उपाय गरौँला । शान्तरामको सिमेन्ट पुरानो भाउमा आइसकेको छ । सिमेन्टको भाउ पन्ध्रदेखि बिस प्रतिशत बढ्छ । त्यस बखत तिमीलाई खुद नाफा असीदेखि नब्बे लाख हुन्छ । यसमा कुनै चिन्ता मान्ने कुरा नै छैन । नेपालको कुल आवश्यकताको तिस प्रतिशत पनि पूर्ति गर्न सकको छैन सिमेन्ट कारखानाले । सत्तरी प्रतिशत त तिम्रै हातमा हुन्छ । भाउ हामी जसरी पनि तय गरौँला । निर्धक्कसँग सकार ।” महेशकुमार भन्छन्— “किसुन ! तिमी गर्छौ त आधा हिस्सा ? यदि तिमीले आधा लियौ भने मैले सकारेँ ।”
केवडीवालाले तुरुन्तै सकार गर्छन् । शान्तरामलाई तुरुन्तै लाखौँफाइदा हुन्छ । कुरा सुन्दा मेरो मनस्थिति ठाउँमा रहेन । मलाई यो व्यापार होइन गफ गरेजस्तो लाग्यो । शान्तरामले लामो सास फेर्दै भने— “पैसा मैले कहिले पाउने ?”
महेशकुमार र केवडीवालाले आँखा–आँखामा कुरा गरे । त्यत्तिकैमा महेशले चेकबुक निकाली शान्तरामको नाउँमा दस लाखको चेक अग्रिम पेस्कीका रूपमा दिन्छन् ।
यसैबिच एक व्यक्ति कोठामा प्रवेश गर्छन् । मैले उनलाई देख्नेबित्तिकै चिनेँ । उनी तोयनाथ शर्मा हुन् । करिब पैँतालीस–पचास वर्ष उमेर भएका शर्माजीलाई म आदरपूर्वक नमस्कार गर्छु । उनी मसँगैको मेचमा आई बसे । शर्माजी केही वर्षअगाडि सरकारी नोकरीमा थिए । आफ्नो नोकरीका क्रममा उनी उपसचिव, सहसचिव र एक–दुई कार्यालयका डाइरेक्टर पनि रहिसकेको मलाई थाहा छ । जहाँसम्म मलाई थाहा छ, शर्माजीको आफ्नो समयमा उनी एक इमानदार र दक्ष प्रशासकमा गनिन्थे । मैले सोचेँ, सायद शर्माजीले अवकाश–जीवन व्यापारमा बिताउँदै छन् ।
शर्माजी आएर बस्नेबित्तिकै ब्रिफकेसबाट केही कागजात निकाली शान्तरामलाई दिन्छन् । शान्तराम कागज हेर्न तल्लीन हुन्छन् । शर्माजी मतर्फ फर्कँदै भन्छन्— “भाइलाई आनन्दै ? यहाँ कताबाट ?”
“बेसै छ, महेशकुमारजीकहाँ आएको ।”
“काम पनि गर्दै हुनुहुन्छ कि “अहँ, काम त केही गरेको छैन ।” “केही काम त गर्नुप्रयो नि !” “सोचौँ, भन्नेबित्तिकै त हुँदैन ।”
शान्तराम बिचैमा भन्छन्— “शर्माजीले चिन्नुहुन्छ उहाँलाई ? हाम्रो शर्माजीले नचिन्ने मान्छे पनि कोही छैनन् काठमाडौँमा ।”
शान्तराम फेरि शर्माजीलाई भन्छन्— “के तीन लाखले मानिरहेको छैन ?” “हजुर !”
“तब कति माग्दै छन् त
दस ।”
“जाबो त्यति कामका लागि दस लाख ! नगर्ने, छोडिदिनुहोस् । गोल्छाले नै गरुन् !”— शान्तराम झन्झट मान्दै भन्छन्— “यिनीहरूले सोचेका होलान् हाम्रो काम छैन, त्यसैले हामी उनका पछि–पछि धाएका छौँ । मलाई कामको खाँचो छैन ! दस लाख म तिर्दिनँ ! दुई वर्षअघि केडियाले एक लाखमा मिलायो । पोहर साल अढाई लाखमा गोल्छाले मिलायो । यो साल तीन लाख दिँदै छु । मैले नपाउने ? नगर्ने शर्माजी, नगर्ने !”
शर्माजीले बिस्तारै भने— “हामीले यो साल जसरी पनि लाइसेन्स निकाल्ने भनेर चारैतर्फबाट दाल एकठ्ठा ग्रयौँ । लाइसेन्स अर्काको हातमा प्रयो भने त भाउ पनि उसैले बसाल्छ । उसको भाउमा दाल नदिई हामी एक साल गोडाउन राख्न पनि सक्तैनौँ । फेरि सिङ्गापुरको पार्टीबाट लिएको दुई लाख डलर एड्भान्स पनि छ हाम्रा अगाडि । मेरो विचारले त यो सालको लाइसेन्स छोड्नु हुँदैन ।”
शर्माजीको कुराले शान्तरामलाई शोचनीय स्थितिमा पार्छ । उनले आवेशमा आएर जो चाहिँदैन भनेका थिए, त्यसमा उनी अड्न नसक्ने स्थितिमा छन् । एकै छिन सोचेर उनले भने— “दस लाख तलदेखि माथिसम्म सबैका लागि मागेका हुन् कि अरू कुनै फुटकर खर्च पनि लाग्छ ?”
“अरू फुटकर खर्च लाग्दैन होला ।”
“तब तपाईँको त्यस्तै विचार छ भने आठ लाखसम्ममा तय गर्नुहोस् । निकासी लाइसेन्स भने तुरुन्त चाहिन्छ ।”
शर्माजीले भने— “हस्, म कोसिस गर्छु । त्यतिसम्ममा त हुनुपर्ने हो ! जाऊँ पनि !”
शर्माजी हामी सबैसँग बिदा भएर जान्छन् । शर्माजी जानेबित्तिकै मैले शान्तरामलाई सोधेँ— “सेठजी ! शर्माजीसँग तपाईँको पार्टनरसिप हो ?” उनले हाँस्तै जवाफ दिए— “यिनी त मेरो नौकर हो ।”
ताजुब हुँदै सोधेँ — “नोकर ?”
“हँ–हँ नौकर ! कामदार ! मेरो कार्यालयसम्बन्धी काम हेर्छन् । पुराना साथी हुन् । उनको नोकरी गयो । पेन्सनले खर्च चलेन । उनको दुःखको स्थिति मलाई बताएपछि मलाई उनीप्रति दया आयो । मैले काफी रुपियाँ तलब दिएर काममा लगाएँ ।”
“शर्माजी कति तलब पाउँछन् ?”
“अठार सय महिनाको दिएको छु । त्यसको अलावा घुमफिर गर्न एउटा गाडी । रुपियाँ सबै उनकै हातबाट खर्च हुन्छ । बडा इमानदार छन् ।”
मैले मनमनै भनेँ, किन शर्माजीलाई यस्तो कुबुद्धि लागेछ ! अठार सय महिनाको खाएर अर्कालाई अठार लाख कमाउने मौका दिइरहेछन् ! एउटा प्रभावशाली प्रशासक कसरी हुन पुग्यो व्यापारीको नोकर !
मेरो मनको उत्सुकता निभाउँदै शान्तरामलाई मैले विस्तारै सोधेँ — “सेठजी ! तपाईँ यहाँ नागरिकता नलिईकन कसरी विदेश–व्यापार गर्नुहुन्छ ?” मेरो कुरा सुन्नेबित्तिकै उनी मसँग झनक्क रिसाएर भने— “तपाईँ मूर्ख हुनुहुन्छ ? के कुरा गरेको मसँग ? यो प्रश्न आजसम्म कसैले सोध्न सकेन, तपाईँ सोध्ने को हो ?”
उनले मसँग नराम्रो वचन गरे पनि मैले त्यसतर्फ केही नसोची आफ्नो अनुहार हँसिलो बनाउँदै भनेँ— “सेठजी ! मूर्ख सम्झनुहोस् वा अनजान, मेरो प्रश्नप्रति नराम्रो लाग्यो भने म फिर्ता लिन्छु । यसमा तपाईँ अन्यथा नसम्झनुहोस् ।”
उनी जोसिँदै भन्न लागे— “यहाँ को नागरिक, को अनागरिक ! नोट जसको साथमा छ त्यो नागरिक ! नोट जसको साथमा छैन त्यो अनागरिक ! यहाँका रुँगटा या अग्रवाल, दुगड या फुगड, फौनिहार या रौनिहार, टिबडेवाल या केवडीवालालाई यहाँ घर छैन ! केवल यिनको यहाँ कारोबार छ । नोट बनाउने ठाउँ हो यो । नोट बनाउँछन्, भोलि हिँड्छन् । यहाँ यिनीहरूका जो घर देख्नुहुन्छ, त्यो त केवल बहाल बचाउने तरिका मात्र हो । जानुहोस् जयपुर, गाउँ–गाउँ घुम्नुहोस्, तब तपाईँलाई पता चल्छ वास्तविक उनको घर कहाँ छ । त्यसैले तपाईँलाई मेरो यो सल्लाह हो कि कसैलाई यो नागरिक हो कि होइन सोध्ने कोसिस नगर्नुहोस् ।”
महेशकुमार सम्झाउँदै भन्छन्— “शान्तराम ! शान्त होऊ । तिमीलाई ब्लडप्रेसर छ । धेरै बोल्नु ठिक छैन । उहाँले कुनै नराम्रो भावले सोध्नुभएको होइन । उहाँले तिमीलाई नचिनेको हुनाले सोध्नु ठिकै छ ।”
शान्तराम शान्त नभएर अझ झोकिँदै भन्दै जान्छन्— “तपाईँलाई थाहा छ, तपाईँको नेपालमा हामी आएर फरेन ट्रेड कति माथि प्रुयाइदियौँ ? यति माथि त यसअघि कहिल्यै थिएन । जो पैसा मार्केटमा आज देख्नुभएको छ, त्यो हाम्रै कारणबाट भएको हो । तपाईँको सरकारी रेकर्डमा गएर हेर्नुहोस्, दस वर्षयता कति फरेन ट्रेड बढेको रहेछ ! हामीले नै यहाँका भोट्याहरूलाई यस काममा सरिक गरायौँ । आज तपाईँको काठमाडौँ हङकङ बनाइदिएका छौँ । मलाई प्रश्न गर्नुहुन्छ नागरिकताका सम्बन्धमा ?”
महेशकुमार उनको कुरा बिचैमा काट्तै भन्छन् — “शान्तराम !तिमी धेरइ नबोल । उहाँलाई तिमीले चिनेका छयनौ । उहाँको कुरा कुनै नेगेटिभ होइन । तिमी बुझ्ने प्रयास गर, बर्ता नबोल ।”
शान्तराम फेरि मनको तीव्र वृत्ति झल्काउँदै भन्छन् — “म यसै बसेको हो यो देशमा ? मलाई अनुरोध गरी राखिएको छ । म प्रतिवर्ष बिस लाख आयकर बुझाउँछु । मजस्ताले बुझाएको आयकर मात्र हिसाब गर्दा करौडौँ हुन्छ । हामीले सरकारी ढुकुटी भरिदिएका छौँ । यसै बसेका छैनौँ ।” महेशकुमार फेरि उनलाई रोक्तै भन्छन् — “भयो–भयो, धेरइ कुरा
नगर ! तिमीले बिस लाख आयकर तिरेका छौ भने करोडौँ कमाएका पनि छौ । तिमीले यो देशलाई कुनै एहसान गरेका छैनौ । तिमीलाई बरु यो देशले एहसान गरेको छ । अब धेरइ नबोल । उहाँलाई यी सब कुरा बताउनुपर्ने आवश्यकता छइन । चुप लाग !”
शान्तराम महेशकुमारपट्टि फर्कँदै भन्छन् — “के भनेको ? यो देशले एहसान गरेको छ हामीलाई ? कुन आधारमा तिमीले भनेको ? मलाई बताऊ ।” महेशकुमारले कुरा टुङ्ग्याउन खोजेका हुन्, तर शान्तराम भने महेशकुमारतर्फ खनिए । सायद महेशकुमारलाई नराम्रो लाग्यो होला शान्तरामले मेरो बेइज्जत गरेकोमा । किनभने आज म महेशकुमारको पाहुनाका रूपमा उनको अफिसमा गएको हुँ ।
शान्तरामलाई महेशकुमारले काठमाडौँका पुराना दिनहरू सम्झाउँदै भने — “आज पशुपतिनाथको जो कृपाले यति पैसा कमाएका छौ, घमन्ड नगर ! यो देशले तिमीलाई एहसान गरेको छ । अर्को नसोच । बरु यति भन जिन्दगीका सबैभन्दा आरामका दिनहरू काठमाडौँमा गुज्रिए । मै त्यो पशुपतिनाथसँग यही प्रार्थना गर्छु, सारा जीवन यस्तै व्यापारमा गुज्रियोस् । यहाँको जस्तो नोट छपाइ संसारको कुनै पनि मुलुकमा छयन ।”
शान्तराम एक छिनसम्म केही बोल्दैनन् । महेशकुमारको भनाइलाई केवडीवालाले पनि दोह्रोयाउँछन् र यो पनि जोड्दै भन्छन्— “यहाँको मान्छेमा चेतना नआएसम्म हामीले बटुलिसक्नुपर्छ ।”
एक छिनको मौनतापछि शान्तराम भन्दै जान्छन्—“यो देशको आर्थिक स्तर उठाउन यहाँका ठुला–ठुला मान्छेले हाम्रो आवश्यकता महसुस गरे । यसै कारणले हामी यहाँ टिक्न सक्यौँ । दुवैतर्फलाई फाइदा हुने गरी हामी आफ्नोचालअनुसार काम गर्दैछौँ । यो नसम्झनुहोस् तपाईँ, हामी आफ्नै फाइदाका लागि मात्र यहाँ बसेका छौँ । यो देशको आर्थिक नीतिलाई तपाईँ के सम्झनुहुन्छ ? बालुवाले बनाएको घर हो, जो कुनै पनि समयमा कणकण छुट्टिन सक्तछ । त्यसैले त्यसलाई सिमेन्ट भर्न हाम्रो खाँचो छ । साथै, तपाईँले नागरिकताको प्रश्न गर्नुभयो, यस विषयमा पनि म तपाईँलाई क्लियर गर्छु,सुन्नुहोस् । मलाई नागरिकताका लागि तीन–तीन पटक अफर आयो, झट्टै लिने विचार गरेको थिइनँ । यही पछिल्लो साल मात्र मैले यो देशको नागरिकता स्विकारेँ, जब बोनस सिस्टम अन्त भएको थियो । म तपाईँसरह यो देशको हकदार छु । बस्, यति सम्झनुहोस् अहिले म यो देशको नागरिक हुँ ।”
मैले हाँस्तै भनेँ— “यही त मेरो भनाइ हो ! व्यापार नेपाली नागरिककै हैसियतले गरेको हुनुपर्दछ ! अनागरिकताको हैसियतले तपाईँले व्यापार गर्नुभयो भन्ने मेरो भनाइ होइन । मेरो मतलब यहाँले बुझ्नुभएन, यसै रिसाउनुभयो ।”
मेरो जवाफ केवडीवालाले दिँदै भने— “यिनको स्वभाव यस्तै छ । फेरि ब्लडप्रेसर पनि छ । एकै वेगमा रिसाउँछन् । यिनले रिसाएर भने पनि नराम्रो नमान्नुहोस् ! हामी व्यापारीलाई कोहीसँग रिसाएर केही फाइदा छैन ।” टेलिफोनको घन्टी बज्छ । महेशकुमारले टेलिफोन उठाई शान्तरामलाई दिन्छन् । शान्तरामलाई उनको अफिसमा एक जना भूतपूर्व मन्त्री भेट्न आएको खबर पाउनेबित्तिकै महेशकुमारसँग छुट्टी लिँदै शान्तराम र केवडीवाला बाहिर निस्कन्छन् ।
शान्तरामले हिँड्ने बेलामा मसँग केही बोल्न सकेनन् । आँखाले मात्र जान लागेँ भन्ने इसारा गरे । शान्तराममा धनको तेज देखेँ । यदि म महेशकुमारको कार्यालयमा महेशकुमारका अगाडि नभइदिएको भए मेरो त सातोपुत्लो उडाउने रहेछन् । के गर्नु, सहनुपर्ने ! स्थिति यस्तै छ । महेशकुमारले भने— “बेकारमा तपाईँले शान्तरामलाई प्रश्न गरेर गर्मागर्मी भयो ।”
मैले उनलाई भनेँ — “यो प्रश्न मेरो मनमस्तिष्कमा खुलदुली गरिरहने प्रश्न हो, जो मैले तपाईँलाई पहिले पनि सोधेको थिएँ । तपाईँले जवाफ दिनुभएन ।”
उनले हाँस्तै भने— “हाँ–हाँ, यो कुरा मैलाई पनि तपाईँले सोध्नुभएको थियो । तर मैले जवाफ दिइनँ, किन ? त्यो बताउन तपाईँलाई आवश्यक सम्झिनँ । मैले नबताएसम्म तपाईँलाई थाहा हुँदैन । थाहा नभएपछि मेरो व्यापार गोप्य रहन्छ । कुनै पनि व्यापारीको मुख्य कुरा नै गोपनीयता हो । सबैले थाहा पायो भने त काम बिग्रन्छ ।”
“त्यसो हो भने मलाई सुन्न पनि आवश्यक छैन ।”
“नसुन्नु तपाईँले बेस हुन्छ । तपाईँलाई थाहै छ, मै भारतीय नागरिक हुँ । अहिलेसम्म पनि त छु, भोलि पनि रहने छु । मै शान्तरामको जस्तै गैरकानुनी नागरिकता प्राप्त गर्न चाहन्नँ । यदि मैलाई आवश्यक भयो भने इमानदारीपूर्वक आफ्नो देशको नागरिकता छोडी बस्छु । डबल नाउमा पैर राख्तिनँ ।”
“बडो राम्रो विचार !”
“मै तो यही जान्दछु, हामीलाई यहाँ बढी स्वतन्त्रतापूर्वक व्यापार गर्ने मौका प्रदान गरिएको छ । हाम्रो जातका पुराना बासिन्दाले पनि हामीलाई ज्यादै ठुलो सघाउ प्रुयाएका छन् । सबै क्षेत्रबाट हामीलाई सहयोग छ । हामी यति घुलमिल भइसक्यौँ अब हामीलाई कसैले औँल्याउन सक्ने स्थिति नै छयन ।”
उनले नयाँ कार्यसम्बन्धमा जोड गर्दै भन्न लागे— “धेरै राम्रो हुन्छ, तपाईँ मसँग मिलेर काम गर्नुहोस् । तपाईँले देखिहाल्नुभयो शान्तरामको फुर्ति । यो सब नोटको करामत हो ।”
“महेशकुमारजी ! कुनै पनि काम सोचविचार नगरी गर्नु ठिक छैन । फेरि सरकारी नीतिको विरोधमा गर्नुपर्ने काम त झन् डरलाग्दो हुन्छ । त्यसैले म आज ‘हुन्छ’ भन्ने पक्षमा छैन ।”
“मैले यति जोड गर्दा पनि तपाईँ मानिरहनुभएको छयन । तपाईँ ठन्डा दिमागले सोचविचार गर्नुहोस् र मलाई एक–दुई दिनमा जवाफ दिनुहोस् ।”
समय धेरै बितिसकेको हुँदा महेशकुमारको अफिसबाट छुट्टी लिने निश्चय गरी उनीसँग भनेँ— “लौ त म जाऊँ पनि ।”
उनले तुरुन्त भने— “हुन्छ ! मेरो योजना विषयमा विचार गरी भोलि खबर पाऊँ ।”
म बसेको मेचबाट उठ्तै मैले भनेँ— “धेरै–धेरै धन्यवाद तपाईँको कफीका लागि । तपाईँको अफिसमा केही समयको बसाइमा पनि धेरै कुरा जानकारी पाएँ । त्यसका लागि पनि धन्यवाद !”
यति भनेर म ढोकातर्फ बढ्छु । म कोठाको ढोकामा नपुग्दै उनी भन्छन्— “शान्तरामको कुरामा माइन्ड नगर्नुस् ! भोलिसम्ममा पक्का खबर पाऊँ है !”
‘केही छैन, बातचितका क्रममा यस्तै त हुन्छ नि’ भन्दै म कोठाबाट बाहिर निस्किएँ । बाहिर कोठामा तीन जना नेपालीहरू आ–आफ्ना टेबलमा बसेर काम गरिरहेको देखेँ । त्यसमध्ये मैले चिनेकी एउटी केटी देखेँ जसलाई म राम्रो गरी चिन्दछु । सुश्री शशी राणाले अर्थशास्त्रमा एम.ए. गरेर पनि नोकरी पाएकी थिइनन् । मैले उनलाई देख्नेबित्तिकै मेरा पाइला उनका टेबलतर्फ बढे । उनको टेबलमा हात राख्तै मैले भनेँ — “बहिनी ! तिमी यहाँ ?”
“नमस्ते दाइ ! तपाईँ यहाँ किन ?”
“महेशकुमारजीसँग कुराकानी गरी निस्किएको । तिमी कहिलेदेखि यहाँ ?” “तीन महिना हुन लाग्यो । एक वर्षदेखि नोकरी खोजेको, बल्ल यहाँ
काम पाएँ ।”
“ए, ल त म जाऊँ है?”
“हस् ! नमस्ते दाइ !”
म सडकमा आइपुगेँ । मेरो दिल–दिमाग भने महेशकुमारकै अफिसमा छ । उनको अफिसमा भएका एक–एक कुरा मेरो मस्तिष्कमा आउँदै जान्छन् । बहादुर नेपालीले सेवा प्रुयाएको महेशकुमार ! शर्माजीजस्तो अनुभवी नेपालीले सेवा प्रुयाएको शान्तराम ! टेबलमा कुराकानी गरेको भरमा लाखौँलाखको कारोबार ! मैले अझ रहस्य बुझ्न सकेको छैन । मैले उनको वास्तविकता खुट्याउनै सकेको छैन ।
मेरो आँखाका अगाडि विशाल बजारको बोर्ड पर्छ । यो बजार खुलेदेखि म पसेको छैन । अनायास मेरो पाउ त्यसतर्फ लम्कन्छ । म बजारको मध्यभागमा पुगी आफ्नो आँखालाई चारैतिर कुदाउँछु । शान्तरामको एकै वाक्य मेरो कानमा गुन्जन्छ— “आज तपाईँको काठमाडौँ हङकङ बनाइदिएका छौँ ।”