![कालो सूर्य (Kalo Surya)BP Koirala Letter](/images/Articles/Kalo-Surya-BP-Koirala-Message.jpg)
प्रकाशकीय
‘कालो सूर्य’ उपन्यासको प्रकाशन गर्ने अभिभारा प्राप्त गरेकोमा उपन्यासकार भरत जङ्गमप्रति शब्दयात्रा प्रकाशन आभारी छ । आफ्नै सल्लाहकार तथा आजीवन सदस्यले लेखेर अन्तर्राष्ट्रिय ख्याति आर्जन गरिसकेको पुस्तकको प्रकाशक हुन पाउनु संस्थाका लागि त्यसै पनि गौरवको विषय हो ।
काठमाडौँ उपत्यकाको प्राचीन नगर भक्तपुरस्थित टौमढी टोलमा २००४ साल मङ्सिर १० गते जन्मनु भएका र काठमाडौँको बानेश्वरमा बस्नुभएका भरत जङ्गम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्ति हुनुभएकाले उहाँका बारेमा र उहाँले गर्नुभएका कार्यहरूका बारेमा विश्वप्रसिद्ध विकिपिडिया, सर्च इन्जिन गुगल र विभिन्न वेबसाइटले उल्लेख गरेका छन् ।
भरत जङ्गमका बारेमा ‘भरत जङ्गम : विचार र दृष्टिकोण’ (अन्तर्वार्ता सङ्ग्रह), ‘कालजयी व्यक्तित्व भरत जङ्गम’ (अभिनन्दनग्रन्थ), ‘भरतेन्दु’ (महाकाव्य), ‘कालो सूर्यका उज्याला किरण’ (समीक्षा), ‘भरतांशु’ (महाकाव्य), ‘भरत’ (महाकाव्य), ‘भ्रष्टविरोधी शास्त्रका प्रवर्तक : नवीन दर्शनका दार्शनिक’ (कालजयी व्यक्तित्व भरत जङ्गम : दोस्रो भाग) र ‘शिरोवर्ती भरत जङ्गम’ जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँ र उहाँको सिर्जनाका विषयमा त्रिभुवन विश्वविद्यालयबाट १८ जनालाई स्नातकोत्तर तहको शोध र नेपाल संस्कृत विश्वविद्यालयबाट एकजनालाई विद्यावारिधि गराइएको छ । उहाँका बारेमा लेखिएको एउटा महाकाव्य प्रकाशोन्मुख छ भने एकजना विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँले २०७३ सालमा विश्वप्राज्ञिक समाजलाई नेपालका तर्फबाट भ्रष्टविरोधी शास्त्र (एन्टिकरप्टोलोजी) उपहार दिनुभएको हुँदा उहाँकै कारणबाट विश्वले पहिलोपटक भ्रष्टविरोधी शास्त्रका रूपमा भ्रष्टाचारविरोधी विज्ञान पाएको छ । उहाँले प्रतिपादन गर्नुभएको भ्रष्टाचारविरुद्धका विषयमा नेपालको त्रिभुवन विश्वविद्यालयमा अध्ययन–अध्यापन प्रारम्भ भइसकेको छ । त्यसैले उहाँ भ्रष्टाचारविरोधी विज्ञानका पिता (अ फादर अफ एन्टिकरप्सन साइन्स) हुनुहुन्छ । भ्रष्टविरोधी शास्त्र विभिन्न भाषामा अनुवाद भएका छन् र भइरहेका पनि छन् ।
भरत जङ्गमका प्रकाशित पुस्तकहरू ‘कालो सूर्य’, ‘व्यूहचक्र’, ‘रातो घाम’, ‘पचास प्रसङ्ग’, ‘नेपाली काङ्ग्रेसको सामान्य ज्ञान’, ‘भ्रष्टाचार : वैचारिक आन्दोलन’, ‘ख्वपदेश’, ‘उर्लिएका लहरहरू’, ‘छचल्किएका रहरहरू’, ‘निर्बन्ध बन्धन’, ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ र ‘भ्रष्टविरोधी शास्त्र’ हुन् । यी पुस्तकहरूमध्ये ‘कालो सूर्य’, ‘व्यूहचक्र’, ‘रातो घाम’ र ‘भ्रष्टविरोधी शास्त्र’ नेपाली बाहेकका विभिन्न भाषाहरूमा अनुवाद भएका छन् ।
भरत जङ्गमका प्रकाशित पुस्तकहरू ‘कालो सूर्य’, ‘व्यूहचक्र’, ‘रातो घाम’, ‘पचास प्रसङ्ग’, ‘नेपाली काङ्ग्रेसको सामान्य ज्ञान’, ‘भ्रष्टाचार : वैचारिक आन्दोलन’, ‘ख्वपदेश’, ‘उर्लिएका लहरहरू’, ‘छचल्किएका रहरहरू’, ‘निर्बन्ध बन्धन’, ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ र ‘भ्रष्टविरोधी शास्त्र’ हुन्। यी पुस्तकहरूमध्ये ‘कालो सूर्य’, ‘व्यूहचक्र’, ‘रातो घाम’ र ‘भ्रष्टविरोधी शास्त्र’ नेपालीबाहेकका विभिन्न भाषाहरूमा अनुवाद भएका छन् ।
भरत जङ्गमलाई अनेक व्यक्तित्व भएका एक व्यक्ति मानिन्छ । समाजमा फैलिएका र फैलिरहने अनेक विकृतिहरू हटाउने विषयमा चिन्तन गर्दै २०२७ सालदेखि भ्रष्टाचार विरुद्धको अभियानमा समर्पित भएर नेपाली समाजमा क्रियाशील रहनुभएका उहाँसफल पत्रकार, शीर्षस्थ साहित्यकार, कुशल अभियन्ता, कडा प्रशासक, कानुनका ज्ञाता, कर्तव्यमा समर्पित कर्मयोगी, इतिहास र संस्कृतिका मर्मज्ञ तथा भ्रष्टविरोधी विज्ञानका प्रवर्तक एवं विश्वप्राज्ञिक क्षेत्रमा भ्रष्टविरोधी शास्त्रका पिताका रूपमा स्थापित हुनुभएको छ । उहाँको व्यक्तित्वका यिनै बहुआयामहरूले उहाँलाई नवीन दर्शनका दार्शनिकका रूपमा स्थापित गराएका छन् ।
यसरी भरत जङ्गमलाई समुन्नत, सभ्य, सुसंस्कृत र भ्रष्टाचाररहित मानव–समाजको परिकल्पना गरी साहित्य, पत्रकारिता, राजनीतिक चिन्तन, प्रशासन, अध्यात्म, कानुन, समाजसेवा, इतिहास, पुरातत्त्वसम्बन्धी अनुसन्धान, भ्रष्टाचारविरोधी अभियान तथा भ्रष्टाचारविरोधी विज्ञान आदि विविध क्षेत्रबाट सर्वतोमुखी मानव–कल्याणका लागि समर्पित विश्व वाङ्मयका अमूल्य निधि भ्रष्टविरोधी शास्त्रका प्रवर्तक एवं नवीन दर्शनका दार्शनिक भन्न सकिन्छ ।
यसबाहेक नेपालको राजनीतिक, प्रशासनिक, कानुनी, न्यायिक, साहित्यिक र सामाजिक वृत्तमा देखिने भ्रष्ट आचार–विचार र व्यवहारहरूका विरुद्ध लामो समयदेखि व्यक्तिगत, संस्थागत र सामाजिक रूपमा सङ्घर्ष गर्दै नेतृत्व तहदेखि सामान्य तहसम्म हुनुपर्ने सदाचारी जीवन–पद्धतिका निम्ति आफ्नो जीवन समर्पण गर्नुभएका भरत जङ्गमसँग सम्बन्धित केही अभिलेखहरू पनि जोडिएका छन् । नेपालमा एउटै व्यक्तिका बारेमा दुईपटक सार्वजनिक रूपमा जनस्तरीय अभिनन्दन गर्न राष्ट्रका विशिष्ट व्यक्तित्वहरू सम्मिलित समारोह समिति बनेको र दुवैपटक करिब नौ–नौ सय पृष्ठको अभिनन्दन ग्रन्थ निस्केको व्यक्ति भरत जङ्गम नै हुनुहुन्छ ।
नेपालमा पहिलोपल्ट उहाँकै ६० औँ जन्मोत्सवलाई मोती महोत्सवका रूपमा मनाइएको थियो । आफ्नै विषयमा १८ वटा शोधप्रबन्ध तयार पारी त्रिभुवन विश्वविद्यालयका छात्रछात्राले स्नातकोत्तर तह उत्तीर्ण गरेको देख्ने लेखक पनि उहाँ नै हुनुहुन्छ । पूर्वमन्त्रीले शोधप्रबन्ध लेखी विद्यावारिधि उत्तीर्ण गर्नका लागि कृति छानिएका नेपालका जीवित लेखक पनि उहाँ नै हुनुहुन्छ । उहाँ आफ्नै जीवनकालमा आफ्ना विषयमा लेखिएका तीनवटा महाकाव्य पढ्न पाउने र दुईवटा महाकाव्य लेखिँदै गरेको जानकारी पाउने भाग्यमानी नेपाली लेखक पनि हुनुहुन्छ । आफ्नो पहिलो साहित्यिक कृति नै विश्वका १५ वटा भाषामा अनूदित भई धेरै भाषामा अनूदित हुने कृतिका रूपमा स्थापित भएको देख्ने नेपाली लेखकका रूपमा पनि उहाँ सुपरिचित हुनुहुन्छ । आफ्नो विधामा ख्याति आर्जन गरेका विभिन्न अनुसन्धाताहरूले अनेकौँ अनुसन्धान गरी स्थापित गरिसकेको ऐतिहासिक मान्यतालाई छुट्टै प्रमाण र तर्क दिएर एकैपटक गलत सावित गर्न आँट गर्ने व्यक्तिको परिचय पनि उहाँले पाउनुभएको छ । उहाँ पत्रकारका रूपमा, इतिहासकारका रूपमा, कानुनविद्का रूपमा, समाजसेवीका रूपमा, आध्यात्मिक अभियन्ताका रूपमा, सामाजिक अभियन्ताका रूपमा, दार्शनिकका रूपमा, व्यवसायीका रूपमा, प्रशासकका रूपमा, अनुसन्धाताका रूपमा र चिन्तकका रूपमा प्रसिद्धि पाएका साहित्यकार हुनुहुन्छ । करिब साढे पाँच दशकसम्म एउटै अभियानमा निरन्तर र अथक रूपमा लागिरहने र त्यसको सफलताका लागि वाङ्मय क्षेत्रका अनेकौँ विधालाई माध्यम बनाउने व्यक्ति तथा आफू पूर्णकालीन राजनीतिकर्मी नभएर पनि सडक–आन्दोलन र विद्युतीय सञ्चार–माध्यमबाट राजनीतिक खबरदारी गरिरहने नेपाली लेखकको परिचय पनि उहाँले प्राप्त गर्नुभएको छ । एक्काइसौँ शताब्दीको विश्वलाई नेपालका तर्फबाट नवीन दर्शन र सिद्धान्त उपहार दिई विश्वमानचित्रमा नेपालको गौरव बढाउने र त्यही सिद्धान्तलाई विश्वका विभिन्न विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रमको पाठ्यक्रममा स्वीकृत गराई विश्वविद्यालयभित्र त्यसैका लागि छुट्टै विभाग खोलेर नियमित रूपमा अध्ययन– अध्यापन गराउन सक्ने व्यक्ति पनि उहाँ नै हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री तथा साहित्यकार बीपी कोइरालाले तत्कालीन समाजको जीवन्त अभिलेखका रूपमा चित्रण गरेपछि भरत जङ्गमको ‘कालो सूर्य’ उपन्यासको चर्चा एकाएक चुलिएको थियो । २०३६ सालमा इन्दु प्रकाशन प्रकाशक बनी इन्डियाको बनारसबाट प्रकाशन भएयता यो उपन्यास नेपाली भाषाको चौथो संस्करणसम्ममा लाखौँ पाठकको हातमा परिसकेको छ । त्यो संस्करण पनि बजारमा पाइन छाडेपछि उपन्यासकार भरत जङ्गमको सदिच्छाबमोजिम पाँचौँ संस्करणका रूपमा शब्दयात्रा प्रकाशनबाट यो उपन्यास प्रकाशन हुन लागेको हो । यसबाट यस संस्थाको गौरव र गरिमामा बृद्धि भएको हामीलाई लागेको छ ।
आफ्नो बहुचर्चित र विश्वप्रसिद्ध उपन्यासको प्रकाशनका लागि शब्दयात्रा प्रकाशनको स्मरण गर्नुभएकोमा भरत जङ्गमप्रति पुनः आभार व्यक्त गर्दछु । प्रकाशनका सन्दर्भमा आ–आफ्ना तर्फबाट सहयोग गर्ने सबैलाई यस संस्थाका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
१० मङ्सिर, २०८०
हरि मञ्जुश्री
संस्थापक अध्यक्ष