शनिबार
म आज पशुपतिनाथजीको दर्शनका लागि बिहानै घरबाट निस्कने तरखरमा छु । म पशुपतिमन्दिरमा नगएको महिनौँ भइसक्यो । दुई वर्षअघिसम्म मैले प्रत्येक हप्ता कम्तीमा एक पटक जाने गरेको थिएँ । त्यो क्रम अविच्छिन्न रूपमा दस वर्षसम्म चल्यो । पशुपति नगएको हप्ता म आफैँलाई फिका लाग्दथ्यो । पशुपति गएपछि एक–दुई घण्टा मन्दिरको वरपर बिताउने नियम नै बनिसकेको थियो । तर दुई वर्षयता म पशुपति मन्दिर गएकै छैन भने पनि हुन्छ । यो अवधिमा म मुस्किलले पाँच पटक मात्र पुगेको हुँला । हिजोआज किन हो किन मलाई त्यस मन्दिरमा जाने फुर्सद छैन र जाने रहर पनि मेटिएको छ । साँच्चै भनूँ भने पशुपतिनाथजीको मलाई सम्झना नै आउन छोडिसकेको छ ।
बिहानको आफ्नो नित्य काम समाप्त गरी म पशुपतिनाथजीको मन्दिरमा जान तयार छु । बाहिर निस्कने बखतमा दैनिक आवश्यकताका सामानहरू किनमेल गर्न आफ्नी श्रीमतीबाट प्रायशः एउटा सानो टिपोट र झोला पाउने गरेको हुन्छु । त्यही प्रतीक्षामा म ढोकानजिकै उभिएर बसेँ । मेरी श्रीमतीले आएर भनिन्— “आज आमालाई भेटेर मात्र बाहिर जानुहोस् ।”
श्रीमतीको हातमा झोला नभएको देख्ता म मनमनै खुसी हुन्छु आज किनमेल रहेनछ भनेर । मलाई किनमेल गर्न ज्यादै झन्झट लाग्छ । किनमेलको टिपोट नलिई घरबाट निस्कन पाउँदा मलाई विशेष आनन्दको अनुभव हुन्छ । श्रीमतीलाई म सम्झाउन खोज्दिनँ उनले झोला र टिपोट कागज बिर्सेकोमा । म चुपचाप केही नबोली आमाको कोठातर्फ लाग्छु ।
आमा मलाई देख्नेबित्तिकै भन्नुहुन्छ— “होइन, त्यो बाबुबाजेको छालामा अर्काले रजाइँ गरोस् ? तिमीहरूलाई एक मिनेटसम्म पनि फुर्सद छैन ? साथी ठुलो वकिल बनिसक्यो भनेको सुनेकी थिएँ । उनैसँग गएर पनि सल्लाह गरे हुने थियो । के गरेर खान्छौ खोइ ?”
आमाले यस विषयमा मलाई धेरैपटक भन्नुभइसक्यो । मलाई फुर्सद थिएन र जान पनि सकेको थिइनँ । मलाई त्यो घडेरीको माया नलागेको पनि होइन । भक्तपुर नगरक्षेत्रभित्रको त्यो घडेरी अहिले बिसौँ हजार रुपियाँले पनि प्राप्त हुन सक्तैन । रुपियाँको मात्र कुरा होइन, आफ्नो बाबुबाजेको सम्पत्ति मैले संरक्षण नगरिदिए आफ्ना सन्ततिले कसरी पाउँछन् ? मलाई सबै कुरा थाहा भएर पनि त्यो घडेरीको रक्षा गर्नेतर्फ भने मैले आफ्नो पाइलो चालेको छैन । लटँकुमार भनिने रत्नकुमारले आफ्नो ‘घर पाताल’ भनी त्यसै घडेरीमा घर बनाउन नक्सापास गराइसकेको छ । म एक दिन आफैँ गई घर बनाउनसम्म रोक लगाएर आएँ । मसँग त्यो घडेरीको कुनै प्रमाण–कागज छैन । लटँकुमारसँग भने घर बनाउने नक्सापास गरेको प्रमाण–कागज छ । छरछिमेकी र सँधियारहरूले मेरो जग्गा होइन भनेर भन्नसकेका छैनन् । यसैका आधारमा मात्र मेरो जग्गा मेरो हातबाट फुत्कँदैन भन्नेमा म विश्वस्त छु । म आमालाई सम्झाउँदै भन्छु — “अस्ति गएर घर बनाउन रोकिहालेँ । आज–भोलि फुर्सदै छ । अब वकिलकहाँ गएर कानुनी सल्लाह गरी त्यहीअनुसार आफ्नो जग्गा मिलाइहाल्छु नि ! किन धेरै चिन्ता गर्नुहुन्छ !”
“देखादेख आफ्नो पुर्खाको सम्पत्ति अर्कोले खान लागिसक्यो ! अनि पीर नगरेर के गर्नु?”
आमाको आशय हो यसमा मैले दत्तचित्त दिएर चाँडो काम गर्नु । त्यसैले मैले आमालाई विश्वास दिलाएँ कि म आजै वकिलकहाँ गएर कानुनी सल्लाह गर्छु ।
सबेरै भएको हुँदा बाटोमा त्यति धेरै मानिसहरू देखिँदैनन् । सोचेँ, पशुपतिनाथको मन्दिरमा आज होलैसँग दर्शन गर्न पाइएला । आज धेरै दिनपछि म मन्दिर जाँदै छु । पशुपतिनाथप्रति अगाध श्रद्धा र विश्वास छ मेरो हृदयमा र म उनका अनन्य भक्तहरूमध्येको एक हुँ । तर पनि यी दिनहरूमा मैले उनलाई सेवा प्रुयाउन सकेको छैन । मेरो मन मरेर गएको छ, हृदयमा श्रद्धा भएर पनि । किनभने एकदिन उनका पुजारीले मसँग अप्रिय व्यवहार गरेका थिए । त्यसैले त्यस दिनदेखि उनको र मेरो सम्बन्धमा ह्रास आउन थालेको थियो । म आज भित्री हृदयदेखि प्रसन्न छु महिनौँपछि मेरो मनमा पशुपतिनाथजीको दर्शन गर्ने इच्छा जागरण भएकोमा ।
बत्तीसपुतलीको लामो बाटोको पछिल्लो किनारसम्म मेरो आँखाको पहुँच पुग्दछ । एकतर्फ लामा–लामा आकासिँदै गएका रुखहरू देख्छु र अर्कोतर्फ झापा र मोरङका झोडा फाँडिएजस्ता नाङ्गा र छोटा ठुटाहरू मात्र देख्छु । मलाई पूरा सम्झना छ, करिब तेह्र वर्ष अगाडि मात्र बाटोका दुवै किनारमा एकै पटक वृक्षरोपण भएको थियो । दुवैतर्फ रुखहरू यसैगरी बढेका भए यो बाटो कति सुन्दर हुन्थ्यो होला भन्ने विचार गर्दागर्दै मेरा आँखा विद्युत् प्रसारण लाइनमा पर्छन् । मैले यकिन गरेँ, बिजुलीको तार माथिबाट हिँडेको हुँदा तलका बोट– बिरुवा काटेको हुन सक्छ । मेरो मस्तिष्कमा एउटा कुराको यकिनका लागि अनेक प्रश्न आउँछन्, के वृक्षरोपण गर्दा यी बिजुलीका खम्बाहरू थिएनन् ? बिजुलीका खम्बा गाडिएकै थिए भने वृक्षरोपण गर्दाको अवस्थाका स–साना बोट–बिरुवाहरू ठुला र अग्ला हुन्छन् भन्ने थाहा थिएन ? विद्युत् प्रसारण लाइन र वृक्षरोपण लाइन कसरी एउटै रेखामा पर्न गए ? मेरो गिदीले प्रश्नको जवाफ खोज्न भ्याउँदैनन् । निर्दिष्ट स्थानमा पुग्ने उद्देश्यले त्यही बाटोमा म लम्केर हिँडिरहेछु ।
एकाएक मेरो अगाडि साइकल रोकिन्छ । साइकल चालक ‘नमस्ते’ भनेर मेरो अगाडि उभिएपछि म उनलाई चिन्छु । उनलाई देख्नेबित्तिकै मलाई आमाले अह्राउनु भएको काम सम्बन्धमा सम्झना हुन्छ । नमस्ते फिर्ता गरिसकेपछि म सोध्दछु— “विष्णुकान्तजीसँग अहिले नौ बजेतिर कहाँ भेट हुन्छ ?”
सोमनाथले जवाफ दिए — “आफ्नै फर्ममा ।”
“मलाई आज उनीसँग भेट्नु छ । म नौ बजेतिर आइपुग्छु भनेर भनिदिनुहोस् न, ल !”
“हस् ! कता हिँड्नुभएको, टाढै ?”
“होइन, पशुपतिसम्म मात्र !”
सोमनाथ मसँग छुट्टिएर गए । म आफ्नो गन्तव्यस्थानतर्फ लागेँ । सोमनाथ विष्णुकान्तको सहायकका रूपमा काम गर्छन् ! विष्णुकान्त नेपालका नाम चलेका वकिलमध्येका हुन् । वकालत पेसा गरेको पन्ध्रौँ वर्षभित्रमा विष्णुकान्तले आफ्नो इज्जतलाई धेरै माथि उठाइसकेका छन् । जुन पायो उही मुद्दा लिँदैनन् । जो लिन्छन् त्यसलाई सफल पनि बनाउँछन् । त्यसैले पनि उनी उच्च कोटिको वकिलका रूपमा चिनिन थालेका छन् ।
पशुपति मन्दिरको चोकमा मानिसको भिड छ । पश्चिमढोका मात्र खुलेको हुँदा दर्शन गर्न नपाएर अलमलमा परेकाहरू त्यसै मोहडातर्फ रल्लिएर बसेका छन् । म पनि एक चक्कर लगाई अवसर लिने फेरमा त्यसैतर्फ आएँ । आज बिदाको दिन परेकोले होला यो भीड भएको । बडो मुस्किलले आफ्नो उद्देश्यपूर्ति गरी त्यहाँबाट हिँडेँ ।
दिएको समयभन्दा केही मिनेट अगाडि नै म विष्णुकान्तको घरमा पुगेँ, जहाँ उनको आफ्नो निजी अफिस पनि छ । म उनको अफिसकोठामा प्रवेश गरी उनको टेबलको छेउमा गई टुसुक्क मात्र बसेको छु । यसैबिच ‘बत्तीसका बत्तीस झारिदिन्छु यिनका दाँतहरू ! के खुत्याउँछन् यिनले’ भन्दै विष्णुकान्त एक्कासि ममाथि खनिए ।
विष्णुकान्त ममाथि रिसाएका आँखाले हेर्न लागे । मदेखि रिसाउनुपर्ने कुनै कारण नै छैन । यसरी रिसाउनुपर्ने रहस्य मैले बुझिनँ । उनीसँग मेरो मित्रता भएको पनि पन्ध्रौँ वर्ष भइसक्यो । उनको ठट्टा गर्ने बानीबाट म अनभिज्ञ छैन । तर यसरी रिसाएको भने मैले कहिल्यै देखेको थिइनँ । आज यी विष्णुकान्तलाई के भयो, मैले बुझ्न सकिनँ ।
मैले केही भन्न नपाउँदै फेरि उनले आफ्ना सहायकलाई भने— “ए सोमनाथजी ! के हेरिरहेको, ल्याउनुस् न सनासो ! फुकालिदिऊँ यिनका दाँत ! खुबै मोतीका दानाजस्ता भनेर धक्कु लाउँथे । मोतीका दाना रहेछन् कि मकैका दाना रहेछन्, देखाइदिऊँ !”
मैले विष्णुकान्तलाई सम्बोधन गर्दै विनम्रतापूर्वक सोधेँ— “होइन विष्णु ! के भनेको तिमीले ? कसको दाँतको कुरा गरेको ?”
मतर्फ फरक्क फर्कंदै मलाई नै खाउँलाझैँ गरी भने — “तिम्रा दाँत ! तिम्रा !”
उनको झम्टाइबाट म पनि उत्तेजित भएँ र उनको भनाइलाई आक्रमण गर्दै सोधेँ — “के भनेको तिमीले ? तिमी पागल त भएनौ ? के दाँतको कुरा गरिरहेको ?”
‘हो, म पागल हो ! अरू केही भन्नु छ ? ल्याउनुहोस् न सनासो । तपाईँले कान सुन्नुभएन ?”
विष्णुकान्तको आदेशअनुसार सोमनाथले सनासो ल्याई टेबलमा राखिदिन्छन् । विष्णुकान्त सनासो दाहिने हातले समाउँदै भन्छन् — “तिम्रा अगाडिका माथिल्ला चार ओटा दाँत झिकिदिन्छु । एक, दुई, तीन, चार गरी गनेर चार ओटा यो टेबलमा राख्छु । तिमी मलाई के गर्न सक्छौ ?”
“तिम्रो काम अब केही भएन र नचाहिँदो कुरा गर्न लाग्यौ ?’’
‘केही काम नभएर त तिम्रो दाँत झिक्न तम्सिएको म !’ भन्दै बायाँ हातले मेरो च्यापु समाउन आइपुगे ।
विष्णुकान्तको यो तरिका देख्नेबित्तिकै मलाई झनक्क रिस उठ्यो । म जुरुक्क मेचबाट उठेर आफू पनि तयार हुँदै भनेँ— “तिमीले के खोजेको, झगडा गर्न ?”
उनले आफ्नो जोसपूर्ण अनुहारलाई अलिकति घटाउँदै बिस्तारै भने — “होइन, झगडा गर्न खोजेको होइन । केवल तिम्रो दाँत झिक्न खोजेको हो । जबरजस्ती अहिले म तिम्रो दाँत झिक्छु । तिम्रो दाँत झिकेबापत तिर्नुपर्ने दण्ड–जरिवाना तिर्छु । यीः दुई सय चालिस रुपियाँ ठिक्क पारेर राखेको छु ।” टेबलमा दुई सय चालिस रुपियाँ र सनासो साथसाथै छ । मेरा अगाडिका
चार ओटा दाँत, भनौँ सम्पूर्ण जीवनको सुन्दरता, जसको मूल्य नै छैन, त्यसलाई दुई सय चालिस मूल्य निर्धारण गरी विष्णुकान्त झिक्ने तरखरमा छन् ।
यो वास्तविकता हो कि नाटक हो, मैले बुझ्न सकेको छैन । विष्णुकान्तदेखि मलाई रिस उठ्छ । म आवेशमा आएर उनलाई भन्छु — “तिम्रो दुई सय चालिस तिमी राख । मलाई आफ्नो सुन्दरता गुमाउनु छैन ।”
म रिसाउनेबित्तिकै विष्णुकान्तको अनुहार गम्भीर हुँदै आयो । मैले आफ्नो रिसलाई थाम्न नसकी उनलाई भन्दै गएँ — “तिम्रो दाँत झिक्छु र तिमीले दिने रकमभन्दा दस दोब्बर बढी दिन्छु । किन एउटा दाँतको साठी रुपियाँ मात्र ? म तिमीलाई छ सय रुपियाँ दिन्छु ! बेमतलबको दाँतको कुरा गरेर !म के काममा आएको थिएँ, कस्तो काममा आएको थिएँ, यत्रो जिम्मेवार मान्छे भएर नचाहिँदो कुरा गरेर बस्छौ ?”
उनी गम्भीर र शान्त हुँदै एउटा फाइल पल्टाउन थाले । केही बेरसम्म म पनि मौन रहेँ । उनी बिस्तारै हाँस्तै भन्न लागे —“यो फाइल यही केससम्बन्धी हो । तिमी आउँछौ भनेर सोमनाथले खबर ल्याए । तिमीसँग केही उपाय पाउँछु कि भनेर वातावरणको मात्र सृजना गरेको हुँ । नराम्रो नमान । मैले त ठट्टा गरेको हुँ ।”
उनले आफ्नो सफाइ पेस गरिनसक्दै एक अधबैँसे महिला हतारिँदै कोठाभित्र प्रवेश गर्छिन् । ‘म त मरेँ वकिलबाजे !’ भन्दै मेरै नजिकैको मेचमा आई बस्छिन् । हामी सबैको ध्यान तिनीतर्फ कन्द्रित हुन्छ । उनी आफ्नो टाउको समाउँदै भन्न थालिन्— “फेरि मुद्दा हारियो ! म के गरूँ ? अब त मरिगए पनि हुन्छ ! अठार वर्षसम्म मुद्दा गरियो । जुन आशाले बचाएको थियो, त्यो पनि रहेन ।”
विष्णुकान्तले तिनको कुरा सुनेर आश्चर्यचकित हुँदै भने— “के ? मुद्दा हारियो ? कसरी हरायो त ?”
ती महिलाले बिस्तारै भन्दै गइन्— “म र मेरो छोराले अंश नपाउने रे । सुरु अदालतले अंश पाउने ठह्रयाएको हो तापनि ‘अंश पाउने भन्ने बदर ठहर्छ’ भनेर फैसला गरिदियो । अब के उपाय छ वकिलबाजे ? भन्नुहोस् !” विष्णुकान्तले महिलालाई सम्झाउँदै भन्न लागे— “यो क्षत्रीयले हराउँदैमा मुद्दा बिग्रियो नै त भन्न सकिन्न । अझै जाऊँ भने दुई–तीन तह बाँकी नै छ । तर कानुनबमोजिम तपाईँको लोग्नेको चलसम्पत्ति अंशबन्डाका लागि दावी गरेर पाउन सक्नुहुन्न । यो कुरा तपाईँलाई मैले पहिले पनि भनिसकेको थिएँ ।” मैले विष्णुकान्तको कुरा बिचैमा काट्तै भनेँ— “के स्वास्नीले लोग्नेको चलसम्पत्ति अंश नपाउने ?”
“हो, चलसम्पत्ति अड्डाले अंश दिलाइदिएको आजसम्म रेकर्ड छैन ।” उपायको खोजी गर्दै ती महिलाले सोधिन्— “के त सर्वोच्चले स्वास्नी ठहराएर छोराको न्वारन गर्नुपर्ने गरेको फैसला बदर भयो त ? छोरा र स्वास्नी प्रमाणित गराउन तेह्र वर्ष लागेको यसै मेटियो त ?”
ती महिलाको कुरा म बिस्तारै बुझ्दै छु । चालिस वर्षकी जति अड्कल्न सकिने ती महिलाले झन्नै उनको जीवनको आधा भाग अदालत धाएर बिताएकी रहिछन् । उनको लोग्नेले ‘स्वास्नी होइन’ भनेर निकालेपछि समाजको भनाइ जोगाउन र हकका लागि पनि अदालतमा शरण लिन पुगिछन् । अठार वर्षसम्म पनि उनको हकको संरक्षण हुन नसकेकोमा स्वयं जिउँदै मरेको अनुभव गरेकी रहिछन् । कुरा गर्दै जाँदा बिचबिचमा उनी भन्दै जान्थिन्— “अब म के गरूँ ? मरूँ ?” उनको प्रश्नको समाधान छैन । उनको प्रश्न प्रश्न नै रहन्छ । विष्णुकान्त आज मसँग कुरा गर्न अठोट बाँधेर बसेको हुँदा ती महिलालाई भोलि बिहान आउने समय दिँदै बिदा गर्ने तरखरमा लाग्छन् । उनी ती महिलालाई सम्बोधन गर्दै भन्छन्— “दिदी, धेरै पीर नगर्नुहोस् ! हुने हुनामी नभई छाड्दैन । मैले तपाईँलाई जमान गरेको छु कि तपाईँको मुद्धा नसकिएसम्म म निःशुल्क मद्दत गर्छु । पिर नगर्नुहोस् ! आज म विचार गरूँ, भोलि बिहान यही समयमा सल्लाह गरौँ ।”
‘हस्, हजुरकै भरमा छु है हजुर !’ भन्दै विष्णुकान्तलाई प्रणाम गर्दै कोठाबाट बाहिर निस्कन्छिन् ।
सोमनाथले विष्णुकान्तलाई फाइल दिँदै भने — “यो भोलि दर्ता गर्नुपर्ने मुद्दा भएकोले आजै वादी लेखिदिनुप्रयो ।”
“कुन मुद्दा ?”
“चाबहिलको मेघराजको खुट्टा भाँचिएको मुद्दा !”
“ए, ल्याउनुहोस् ।”
विष्णुकान्त मतर्फ हेर्दै भन्छन् — “कस्तो–कस्तो मुद्दा हो ? कस्तो–कस्तो कानुन हो ? म त बुझ्नै नसक्ने भइसकेँ । मानिस खुट्टा भाँचिएर अस्पतालमा छ । अवधिभित्र मुद्दा दायर नगरेर पनि भएको छैन । फेरि कानुनबमोजिम मुद्दा टुङ्गो लाग्दा पनि वादीलाई उसको खट्टाको लाख गुना कम पनि फाइदा हुँदैन । यस्तो मुद्दा त मलाई हेर्नै मन लाग्दैन । आफ्नो पक्षलाई फाइदा नहुने मुद्दा के हेर्नु !”
उनी मलाई सम्बोधन गर्दै फेरि भन्छन् — “हेर ! कथंकदाचित कुनै मूर्खले अङ्गभङ्ग गरिदियो भने अपाङ्ग हुनुबाहेक केही उपाय छैन ।”
म कानुनका बुँदा–बुँदा बुझ्न सक्तिनँ । तथापि विष्णुकान्तको भनाइ चुपचाप सुन्न पनि सकिनँ र मैले जिज्ञासापूर्वक सोधेँ — “के अङ्गभङ्ग भयो भने कानुनले सुरक्षा गर्दैन ?”
उनले तुरुन्त उत्तर दिए — “सुरक्षा त किन गर्दैन ? सुरक्षा अवश्य गर्छ, तर जति तिम्रो क्षति भएको हो त्यसको बराबर पुग्न सक्तैन ।” विष्णुकान्तको कुरा सुनेपछि मेरो शरीरका प्रत्येक अङ्ग मैले असुरक्षित सम्झेँ । मेरो भित्री ह्दयमा त्रास पैदा भयो — कोही मानिसले मेरो दाँत झारिदियो अथवा हात–खुट्टा भाँचिदियो भने म उपायरहित रहेछु, म अपाङ्ग बन्नुपर्ने रहेछ ...!
कानुन र व्यवहारमा आएको अन्तरका सम्बन्धमा विष्णुकान्तले मलाई धेरै सम्झाए, धेरै–धेरै समस्याहरू मेरा अगाडि राखे, जो उनले वर्तमानमा भोगिरहेका छन् । उनको भनाइ रहेछ, व्यवहार र कानुनमा सामञ्जस्य ल्याउनुपर्थ्यो । उनले देखाएका समस्यै–समस्याले मलाई उनीसँग प्रश्न गर्न बाध्य गरायो । त्यसैले मैले उनलाई प्रश्न गरेँ — “तिमी समस्या मात्र अगाडि राख्छौ कि समाधान पनि छ ?” मेरो प्रश्न सुन्नेबित्तिकै विष्णुकान्त नरमाइलो किसिमबाट भन्दै जान्छन् — “तिमीलाई थाहा छ ? अशुद्धता त्यति खेर मात्र खुट्टिन्छ जति खेर शुद्धताको जानकारी हुन्छ । प्रत्येक समस्याको पछाडि समाधान छ, प्रत्येक त्रुटिको पछाडि सुधार । यो पूरक छ । मुख्यतः यसलाई पहिल्याउन गाह्रो छ ।”
स्पष्ट रूपले अझ म बुझ्न सक्तिनँ उनले के भन्न लागिरहेका छन् । बुझ्दै नबुझेर पनि बुझ्ने चाख छैन ममा । म केवल उनीकहाँ मेरो घडेरी अर्काले बेदखल गरेकोमा कानुनी सल्लाह लिन गएको थिएँ, जो मैले एक–दुई पटक भनिसक्ता पनि विष्णुकान्तले ध्यान दिएका छैनन् ।
विवादको विषय बदल्न चाहेर मैले उनलाई भनेँ — “आजकल कत्तिको अदालत जान्छौ ?”
“के जानु अदालत ? एउटा मुद्दा बहस गर्न महिनौँ धाउनुपर्दछ । कुनै दिन यस्तो छैन कि मुद्दा पेसी गरिएको दिन मुद्दा हेरिएको होस् । दिनभरि अदालतको चौरमा घाम ताप्यो, साँझ घर फर्कियो । अदालत गइन्छ भन्नु कि गइन्न भन्नु ? यस्तै छ !”
मैले कुनै शब्द बोल्न नपाउँदै उनी फेरि भन्दै जान्छन् — “के गर्नु अदालत गएर ? प्रायः यस्तो मुद्दा छैन जो अर्को तरहले विपरीत निर्णय नलिइएको होस् ! सुनेको थिएँ, राणाको पालामा डिट्ठा–बिचारीहरूले न्याय दिँदा बडो विचार प्रुयाई जागिरलाई नै साक्षी राखी न्याय दिन्थे रे ! कारण, उनीहरूले छिनेको मुद्दा पाँच प्रतिशत मात्र उल्टियो भने पनि पगरी बुझाउनुपर्थ्यो रे ! आज त्यो छैन ! शतप्रतिशत मुद्दा उल्टे पनि केही फरक पर्दैन । एक मुद्दा अन्तिम भई पूर्ण निर्णय पुग्न दस वर्ष लाग्नु साधारण हुन लागिसक्यो । के गर्नु ! मनले नमानेर पनि अदालत जानैपर्छ । जो पेसा अपनाइयो त्यसलाई छोड्न पनि सकिँदैन । साथै कानुनी राज्यमा कानुनको मर्यादा राख्नुपर्छ । जस्तोसुकै त्रुटि भए पनि सहन गर्नु नै पर्छ । फेरि आफ्नो पेसा पनि यस्तै भयो । त्यसैले जस्तोसुकै भए पनि अदालत जानैपर्छ ।”
विष्णुकान्तको मनभित्र गुम्सिएर बस्न नसकेका मनोव्यथा मैले सुन्ने नै निश्चय गरेँ । उनको अभिप्राय पनि यही छ कि मैले सुनूँ । मलाई थाहा छ, उनले पोखेको मनोविश्लेषणले उनलाई शान्ति प्राप्त हुन्छ । विष्णुकान्त मेरा पुराना साथीमध्येका हुन् । केही वर्षअघि एउटै संस्थामा बसी कार्य गरेका हुँदा हामी दुई ज्यादै नजिकिन पुगेका हौँ । केवल उनी र म मात्र मित्र होइनौँ, हाम्रो दुवै घरका परिवारहरूको पनि एक–अर्कासँग त्यत्तिकै मेल छ । हामीले एक–अर्काको सहयोग निःस्वार्थ भावले गर्ने गरेका छौँ । यसैबिच एकजना नौलो मानिस कोठामा प्रवेश गर्छन् । विष्णुकान्तलाई नमस्कार गर्दै उनको टेबलको छेउ अर्थात् मेरो ठिक सामुन्नेको मेचमा बस्तै भन्दछन्— “बडो दुःख पाइयो वकिलसाहेब ! सर्वोच्चले हिजो हराइदियो !” विष्णुकान्त अनौठो मान्दै भन्छन् — “के ? हराइदियो ? हार्नै नपर्ने मुद्दा !” “यही आशामा बाह्र वर्ष गुज्रियो । हार्नै नपर्ने मुद्दा । मेरा पुर्खाको
पालादेखि हिँडिरहेको बाटो, छरछमेकी सबैलाई थाहै भएको कुरा हो । के गर्नु !” मलाई सम्बोधन गर्दै विष्णुकान्त कुर्लिन्छन् — “लौ हेर्नुहोस् ! उहाँको
मुद्दा क्षत्रीय अदातलमा जितेको, कानुनतः अन्तिम निर्णय नै भएको हो । फेरि अनुमतिबाट हराइदियो ।”
बिचैमा ती अपरिचित मानिस भन्छन्— “मात्र क्षत्रीय अदालतबाट जितेको हुँ र ? सुरुको जिल्ला अदालतबाट पनि त जितेको हुँ ! अञ्चलले पनि मेरो बाटो नै होइन त भन्न सकेन ! केवल पर्खाल लगाइसकेको हुँदा बाटो खोल्न नमिल्नेसम्म न भनेको हो ! सोह्रै आना मेरो सनातनको बाटोलाई बाटो नै होइन भनेर हिजो फैसला गरिदियो । अब भन्नुहोस् वकिलसाहेब, के गर्ने ?” विष्णुकान्तले ती व्यक्तिलाई सोधे — “तपाईँको उमेर कति भयो बा ?” “अब यो जेठले छपन्न लाग्छु ।”
“तपाईँको यो झगडा सुरु हुँदा कति उमेर थियो ?”
“पैतालीस वर्षको थिएँ ।”
“अब बाह्र वर्षपछि टुङ्गो लाग्यो भने तपाईँ कति वर्षको हुनुहुन्छ ?” ती व्यक्ति झर्कँदै विष्णुकान्तलाई भन्छन् — “के भनेको वकिलसाहेब ?
बाटो नै छोडिदिऊँ ? अब मेरो पक्षमा न्याय नै हुँदैन त ?”
विष्णुकान्त सम्झाउँदै भन्छन्— “न्याय हुँदैन भनेर म कसरी भन्न सक्छु ! न्यायव्यवस्था प्रभावकारी बनाउन कैयौँ सिद्धान्तहरू प्रतिपादन भइराखेका छन् । न्याय सुलभ बनाउन अनगिन्ती प्रयोगहरू भइरहेछन् । न्यायसुधार गर्न विभिन्न आयोगहरू बनिरहेका छन् । यो कानुनी राज्यमा न्याय पाइँदैन भनेर भन्न सकिन्नँ । न्याय जरुर पाइन्छ, तर कसरी पाइन्छ त्यो तपाईँले भोग्नुभएको छ ।”
मप्रति सङ्केत गर्दै उनी भन्छन् — “अदालतमा मुद्दा जानुको अर्थ हो घटीमा पाँच वर्षको अमूल्य समयलाई नष्ट गर्नु । त्यो पनि सानोतिनो मुद्दा भयो र झगडियाले धेरै ताकिता गरे भने । होइन भनेर मुद्दाका लागि दस–बिस वर्ष भनेको मामुली हो । अहिले पनि चौबिस वर्षका दुईटा मुद्दा र पच्चिस वर्षको एउटा मुद्दा मेरो फर्ममा दर्ता छ । भन्नुहोस्, आजको जस्तो समयमा मानिसले यत्ति लामो अवधिसम्म मुद्दामा अल्झिरहनुपर्दछ ... ।”
बिचैमा कुरा काट्तै ती अपरिचित व्यक्ति भन्छन् — “न्याय व्यवस्था त राणाकै पालामा राम्रो थियो ! अरू विषयमा तिनीहरूले जेसुकै गरेको भए पनि न्याय दिन भने पछि हट्तैनथे । न्यायका लागि त ‘स्वर्णिम युग’ भने पनि हुन्छ । आज बाह्र वर्षमा नटुङ्गिएको काम बाह्र मिनेटमा टुङ्गो लाग्थ्यो ।” उनको कुरा काट्तै मैले भनेँ— “त्यो समयमा थोरै मानिस थिए । थोरै मुद्दाहरू हुन्थे । फेरि त्यो हुकुमी शासन, उनले बोलिदिए पुग्दथ्यो । अहिले त त्यो सम्भव छैन र हुँदैन पनि ।”
“गरे किन हुँदैन ? धेरै मानिसहरू छन् र धेरै मुद्दा छन् भने धेरै अड्डा– अदालत पनि त छन् ! यहाँ गरिने तरिका नै ठिक छैन । तपाईँले सुनिहाल्नुभयो मेरो मुद्दा परेको बाह्र वर्ष भयो । यो अवधिभित्र अड्डा–अदालत धाउँदा, वकिललाई दिँदा कति खर्च भयो होला ? वकिल साहेबको अहिलेको भनाइअनुसार अझ बाह्र वर्षमा पनि टुङ्गो लाग्ने स्थितिमा छैन । यसरी युगौँयुगसम्म अदालत मात्र धाउनुपर्ने, कस्तो हो यो परिस्थिति ?”
म जुन कामले विष्णुकान्तकहाँ आएको थिएँ, त्यस विषयको मैले कुरा नै गर्न पाएको छैन । मैले घडी हेरेँ । म आएको धेरै नै समय भइसकेको रहेछ । विष्णुकान्ततर्फ फर्कँदै बिस्तारै मैले भनेँ — “विष्णु ! म केही कानुनी सल्लाह लिऊँ भनेर तिमीकहाँ आएको ।” उनले हतारिँदै भने — “अघि नै किन नभनेको ? भन ! भन !”
“अघि नै कसरी भन्ने ? आउने बित्तिकै नाटक देखाउन थालिहाल्यौ ।” “छाडिदिऊँ यो कुरा ! मैले सोचेँ तिमी यहाँ कुरा गर्न आएको । भन,
कस्तो कानुनी सल्लाह चाहियो ?”
“मेरो नगरक्षेत्रभित्र करिब दुई हजार स्क्वायरफिटको घडेरी जग्गा छ । पहिले पुर्खाको पालामा घर थियो रे ! हाल घरको चिह्नसम्म त देखिन्छ नै । सहरी क्षेत्रभित्र पहिले कुनै तिरोतिरान थिएन । तिरोतिरान नभएपछि कुनै कागजी प्रमाण हुने कुरा पनि भएन । यो पछिल्लो नापीमा घर पाताल मात्र जनाई नापी भएछ । त्यो नापी हुँदा कसैलाई कुनै वास्ता नराखी नापी भएको तिमीलाई पनि त थाहा छ ! त्यसैले त्यसमा कसैको नाम पनि जनिने कुरा भएन । अब अहिले आएर एक जनाले ‘यो मेरो घर पाताल हो’ भनी घर बनाउन नक्सा स्वीकृत गराई ल्याएछ । साँध–सिमानाका मानिसहरू मकहाँ आई खबर गरे । खुद मेरा पुर्खाको सम्पत्ति अर्काले खान लाग्यो । यसमा केही उपाय छ कि ?”
मेरो कुरा सुनेपछि विष्णुकान्तले ओठ लेप्य्राउँदै भने — “तिम्रो भन्ने कुराको प्रमाण छैन । थियो अरे भनेको भरमा मुद्दा जित्ने पनि कुरा छैन । हुन त जसले घर बनाउन नक्सापास ग्रयो, त्यसको पनि त्यो जग्गामा प्रमाण छैन होला । किनभने वास्तविकतामा त्यो जग्गा तिम्रो हो । मुद्दा गर्न सकिन्छ र मुद्दा लाग्छ पनि । तर तिम्रो आफ्नो जग्गा आफ्नो गराउन दस–पन्ध्र वर्ष लाग्छ । समय मात्र त लागे केही छैन, पैसा पनि लाग्छ । मेरो विचारले त छोडिदेऊ ।” “के मैले छोड्नु ? मेरो पुर्ख्यौली सम्पत्तिमा अर्काले घर बनाओस् ? के भनेको ?”
“बनाउन देऊ !दुई हजार स्क्वायरफिट जमिनका लागि बिसौँ हजार नगद लाग्छ । त्यति खर्च लागेर पनि पछि तिम्रै पक्षमा निर्णय हुनुपर्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन । तिमी आफैँ भन्दै छौ प्रमाण छैन । अनि कसरी हुन्छ?” “तिमीले कस्तो कुरा नबुझेका ! काठमाडौँ उपत्यकाभित्रको सहरी क्षेत्रमा पहिले तिरो थिएन । अनि कसरी प्रमाण हुन्छ ? मेरो हो भन्ने कुरा त्यहाँका साँध–सँधियार र छरछिमेकीले बताइहाल्छन् नि !”
“जतिसुकैले बताउन्, तिम्रो प्रमाणित नहुन पनि सक्छ । कति तह छ अदालतको ? तिमीलाई थाहै हुनुपर्छ । झोक या आवेशमा आएर मुद्दा दायर गर्न सजिलो छ, तर त्यसको परिणाम सहन गर्न गाह्रो छ । म त तिमीलाई मित्रको नाताले सल्लाह दिन्छु— छोडिदेऊ ।”
म कत्रो उत्साह लिएर विष्णुकान्तकहाँ आएको थिएँ । मेरो मित्र कानुन व्यवसायी छ भन्ने मलाई कत्रो घमन्ड थियो । मेरो विश्वासमा आँच आयो । उनको सल्लाहको विपरीत गई बहस गर्नु पनि मनासिब देखिनँ । मात्र मैले उनलाई सोधेँ— “के छोडि नै दिनु त ?”
उनले भने— “बिर्सनुमा कल्याण छ ! यो बुझ तिमी, जसको हातमा लौरो हुन्छ, उसैको हुन्छ वस्तु ।”
घडीतर्फ नजर बढाउँछु, दिनको बाह्र बज्न लागिसकेको रहेछ । समय धेरै बितिसकेको हुँदा फेरि अर्को दिन आउने विश्वास दिलाउँदै विष्णुकान्तसँग म बिदा लिन्छु ।
मध्य दिन छ । शून्य बाटोलाई आफू पछाडि छोड्दै म घरतर्फ बढ्दै छु । मलाई एक–एक गरी सम्झना आउँदै जान्छन् विष्णुकान्तले गरेको अभिनय, उनका कार्यालयको कुराकानी र मलाई विष्णुकान्तले दिएको कानुनी सल्लाह । सम्झँदै जाँदा मलाई झन् त्रास बढ्दै जान्छ । कतै केही पनि सुरक्षा देख्तिनँ । सबैतिर अँध्यारो नै अँध्यारो देख्छु ।
मेरा सबै साँझ र बिहानहरू चीलको पन्जाभित्रका चल्लाजस्ता छन् । मेरा सबै दिनहरू भोको गिद्धले घेरेका सिनोहरूजस्ता छन् । यस्तो असहाय परि स्थितिमा लपेटिएका मेरा वर्तमानका कथाहरू कहिल्यै नटुङ्गिने क्षितिजजस्ता छन् ।
ॐ शिवम् भूयात्