सोमबार
यो देशजस्तै मेरो घर पनि प्रत्येक दिन अभावले सताइएको छ । प्रत्येक दिन श्रीमतीको गनगन सुन्नुपर्छ मैले । कहिले नुन छैन, कहिले तेल छैन, कहिले दाउरा छैन त कहिले चामलै छैन । महिनाको किनमेल पूरा रूपले गर्न चाहेर पनि हुँदैन । बजारमा सबै दिन सबै थोक पाइँदैन । प्रत्येक दिन मूल्यपरिवर्तनको सरकारी घोषणाले आफ्नो बजेट असन्तुलित भइदिन्छ । कुनै चिज कम ल्याए पनि टार्नु–प्रुयाउनुपर्नेमा अभाव घोषणा नहुन्जेलसम्म मेरी श्रीमती बजारमा अभाव छ भन्नेमा विश्वस्त हुन्नन् । म घर हेर्दिनँ, घरको आवश्यकतालाई ध्यान दिन्नँ भन्ने मात्र उनको भनाइ हुन्छ मप्रति ।
आज सबेरै मैले सुनेँ, ‘चिनी छैन ।’ मैले मनमनै विचार गरेँ, ‘जो सुन्नुपर्थ्यो, सुनेँ ।’ अस्ति मात्र डिल्लीबजारमा एक घण्टा क्युमा बसी ल्याएको आधा केजी चिनी आज सिद्धिएको सुन्दा कुनै आश्चर्य पनि लागेको छैन । अर्कोतर्फ पूरा देशमा छैन भनिएको वस्तु मेरो घरमा पनि छैन । केको अचम्म ? यो दुई हप्तामा चिनीको मूल्य दुई पटक वृद्धि भइसकेको छ । पहिलो पटकको वृद्धि दश प्रतिशत भयो भने दोस्रो पटककोमा पैँतालिस प्रतिशत वृद्धि भइसकेको छ । मेरो सानो बुद्धिले भन्छ, यत्रो मूल्यवृद्धि भइसक्ता पनि यो कसरी अभाव हुन सक्छ ?
अभावको कारणले मूल्यवृद्धि गरिएको कुरा सरकारी घोषणापत्रमा उल्लेख छैन । बरु सबैतिर चिनी उपलब्ध गराइएको समाचार झुन्ड्याइएको छ । अनि घरमा बस्ने मेरी श्रीमतीले कसरी विश्वास गर्ने कि चिनी पाइँदैन भनेर, उनलाई यो थाहा छैन । यहाँ वास्तविकता एउटा र समाचार अर्कै हुन्छ । म उनीसँग बहस गर्न सक्तिनँ र सम्झाउन पनि । किनभने उनीसँग प्रमाण छ, मसँग छैन । त्यसैले मैले अभावको शृङ्खला तोडी अभावपूर्ति गर्नु छ । बानेश्वरका प्रत्येक पसलमा पसिसकेँ । पसलेहरूको नकारात्मक मुन्टोहल्लाइमा मेरो पाउ अगाडि बढ्दै छ । घट्टेकुलोको सुरुको पसलदेखि पस्तै हिँड्न लागेँ । कोही मलाई देखी हाँस्छन् । कोही झर्केर ‘छैन’ भन्छन् । कसैलाई मेरो सोधाइको उत्तरमा मुन्टो हल्लाउनेसम्म चाख देखिँदैन । घरका लागि चिनी उपलब्ध गराउने जिम्मा बोकेर हिँडेको म कुनै पसलेलाई नसोधी छोड्न सक्तिनँ । म सोद्धै जान्छु । एकाएक मेरो आँखामा पर्न जान्छ ठुला–ठुला अक्षरले लेखिएको रातो बोर्ड ‘यहाँ साल्ट ट्रेडिङ लिमिटेडबाट उपलब्ध चिनी र नुन बिक्री हुन्छ, चिनी मूल्य रु. ... के.जी, नुन मूल्य रु. ... केजी ।’ मूल्य लेखिनुपर्ने स्थानमा सेतो कागज टाँसिएको छ । खुसीको लामो सास फेर्दै टक्क उभिएँ र गोजीमा रुपियाँ छाम्दै सोचेँ, नुन पनि लगिराख्नु बेस हो । आफ्नो हातको झोला अगाडि बढाउँदै दुई केजी चिनी र चार केजी नुन राखिदिन दोकानदारलाई अनुरोध गरेँ ।
दोकानदारले मलाई तलदेखि माथिसम्म हेरी झर्कंदै भने — “तपाईंलाई थाहा छैन, चिनी छैन भनेको ?”
एकछिन त मैले उनको कुरा बुझिनँ । समझमा आएपछि मैले भनेँ — “तपाईंको दोकानमा म भर्खरै आउँदै छु । कसरी थाहा पाउने तपाईँकहाँ छैन भनेर ?”
“छैन भनेर थाहा पाउँदा पनि मानिसहरू सोधिरहेछन्, सोधिरहेछन् !” — दोकानदार झन्झट अनुभव गर्दै भन्छन् — “अरू थोक मात्र बेच्नु नपर्ने हो भने दोकान बन्द गर्थेँ ।”
दोकानदारको गनगनमा मलाई विश्वास हुँदैन । नजिकै रहेको सानो स्टुलमा बस्तै मैले भनेँ — “त्यो माथि झुन्ड्याइएको बोर्डमा ‘छैन’ भनेको छैन । मलाई के थाहा ? मैले त बोर्ड हेरेँ, तपाईँको दोकानभित्र पसेँ ।” दोकानदार कुनै उत्तर दिन इच्छुक देखिँदैनन् । हुन सक्छ बिहानैदेखि मजस्ता कति ग्राहकलाई भन्दा–भन्दा थाकेर मलाई पनि भनिसकेको अनुमान गरे । म पनि त कैयौँ पसलबाट गुज्रिँदै यहाँ आइपुगेँ । म उनलाई कसरी सम्झाऊँ ! केही समयको मौनतापछि सौम्य तरिकाले दोकानदारले भने– “आज मात्र चिनी नभएको हो र ? कैयौँ दिन भइसक्यो । तपाईँहरू बुझ्नुहुन्न । बोर्डको कुरा गर्नुहुन्छ तपाईँ ! यो हाम्रो रहरले झुन्ड्याइएको होइन । यो त साल्ट ट्रेडिङले आफ्नो काम देखाउन ठाउँ–ठाउँमा मेराजस्ता धेरै पसलहरूमा झुन्ड्याएको छ । हामी उसका डिलर होइनौँ भनेका छैनौँ, पक्कै हौँ । त्यहीअनुसार हामीलाई बिक्रीका लागि चिनी उपलब्ध गराइदिनुपर्दैन ? भन्नुहोस् त ! के भन्नु ! उनीहरू कोठाभित्र घुमाउने मेचमा छन् । हामीले भने ग्राहकहरूसँग रातो–पिरो हुनुपर्छ ।”
“साँच्चै नै चिनी छैन ?– म विश्वस्त हुन चाहन्छु ।
“छैन । भए आफूलाई फाइदा नै हुने हो । नभएको के लाग्छ ।” “यो के कारणले अभाव भएको हो ?”
“खोइ, कारण त हामीलाई पनि के थाहा हुन्छ र ! अहिले मूल्य बढेपछि पाउनुपर्ने हो । अस्ति अफिसमा जाँदा पाइन्छ, रुपियाँ बुझाई जानुहोस् भनेअनुसार बिस बोराको रुपियाँ दाखिल गरेर आएँ । रोज एक जनाले साल्ट ट्रेडिङको चक्कर लगाउँदा पनि पाइएको छैन । आजदेखि डिलरहरूलाई खाली नहुने किसिमबाट एक–एक बोरा दिने भन्ने पनि सुनेको छु । त्यही एक बोरा मात्र पाए एक पाउ, दुई पाउ गरी आएका मानिसलाई दिन पाइयो भने बेसै हुन्थ्यो !”
मैले तुरुन्तै भनेँ — “साहुजी ! त्यसो भए भरे यहाँ आउँदा आधा के.जी. पाउँछु त मैले ?”
उनले नरमाइलो हाँसो हाँस्तै भने — “के विश्वास यस्ता कर्मचारीका कुराको ! तपाईँ भन्नुहोस्, आज दस दिनदेखि रुपियाँ जम्मा गर्न लगाएर त आजसम्म दिएका छैनन् ! अब यो एक बोरा दिने भन्नेमा कसरी विश्वास गर्नु ? म त यी निगमका कर्मचारीहरूदेखि वाक्क भइसकेको छु । यिनीहरू व्यापारी भए पो व्यापार गर्न जान्दछन् ! कागजपत्र लेखापढी गर्न जान्दैमा व्यापारी हुने भए सबै पढेकाले व्यापार गर्ने थिए, धन कमाउँथे, टाठा र बिडला हुन्थे । यो नेपालमा त कसले के गर्न सक्छ कसले के गर्न सक्तैन भन्ने कुरा नै छानबिन छैन । जसले जे गरे पनि हुन्छ । विचार गर्नुहोस् ! मेरो भनाइको अर्थ हो जुन व्यापार निगमहरूलाई जिम्मा दिइएको छ, के त्यो सफल छ ?” दोकानदारले व्यक्त गरेको यो विचारप्रति म आकृष्ट भएँ । मेरो अनुहारले उनलाई कुरा अगाडि बढाउन प्रेरणा दिइरहेको छ । उनी भन्दै जान्छन् — “यो चिनीको अभावको कारण डिजेल अरे ! भन्नुहोस्, डिजेलको पनि त यही हप्तामा नै भाउ बढेको हो !यी निगमहरूले जनतालाई झुक्याएर हुने कुरा हो र ? विश्वासै गर्न नसकिने तर्क दिन्छन् । डिजेलको अभावको कारणले त्रिभुवन राजपथ रोकियो भनेको भए विश्वास गर्ने कुरा हो । त्यो पनि त रोकिएको छैन ! त्यसमाथि पनि अर्को एक संस्थानको रोपवे पनि त चल्छ ! सारांशमा कुरो यही हो कि व्यापारीले व्यापार गरेको भए पो इज्जत बचाउन जस्तोसुकै स्थितिको पनि सामना गरी सामान उपलब्ध गराउँथ्यो ! यो त प्रयो कर्मचारीको हातमा ! यस्तो अभाव हुँदा झन् उसको मूल्य बढ्छ । स–साना व्यापारी चाकरीमा आउँछन् । ठुला व्यापारीले होटलमा निम्तो गर्छन् । स्वास्नी, छोराछोरी र नातेदारसम्मलाई भनसुन सुरु हुन्छ । अनि ? यस्तो अभाव नभए पनि गराउँछन् ।”
उनी भन्दाभन्दै एक्कासि रोकिन्छन् र हातले कोट्याउँदै मलाई सजग गराउँछन् । सडकको पारिपट्टि फुटपाथमा हिँडिरहेको एक अधबैँसे मानिसलाई औँल्याउँदै उनी हतारिँदै भन्दछन्— “त्यो मानिस चिन्नुहुन्छ ?”
दोकानदारको कुरामा केन्द्रित मेरो मस्तिष्कले फुटपाथतर्फ झट्ट दृष्टि दिन सक्तैन । म अलमलिएर फेरि सोद्धछु — “को ? को ?’’
“ऊ त्यो क्या मोटो–मोटो !”
“ए ! अहँ, म चिन्दिनँ ।”
“त्यस्तो मान्छेलाई तपाईं नचिन्ने ?”
“त्यो मान्छेलाई मैले कहिल्यै देखेको छैन ।”
“तपाईँको घर कहाँ प्रयो ?” “घर त यहीँ काठमाडौँ नै हो ।” तब त चिन्नै पर्ने हो ।”
“पाँच लाख जनसङ्ख्या भएको सहरमा सबैले सबैलाई चिन्न सक्छ र ? सम्पर्क–सम्बन्ध जोसँग छ त्यसलाई पो चिनिन्छ ।” “खैर, नचिनेको पनि हुन सक्छ ।”— उनको विश्वासमा आँच आएको हुँदा लामो सास खिचेर आफ्नो अनुहारलाई बदल्दै भन्छन्—“ठिक हो । तपाईँलाई पनि त म चिन्दिनँ ।”
उनी मौन हुन्छन् । सिलसिलाको कुरा मोडिइसकेको छ । त्यो व्यक्तिका विषयमा मलाई जान्ने कुतूहल पैदा भयो । पक्कै यो विशेष मान्छे हुनुपर्छ । मैले बिस्तारै दोकानदारतर्फ हेर्दै भनेँ—“को हो त्यो मान्छे ?”
उनले बडो सरल किसिमबाट भने—“उही खाद्य संस्थानको हाकिम त हो नि !”
“किन त मोटरबिना पैदल हिँडेका छन् ?”
“भूत भइसकेकाले । पावरमा हुँदा यसरी कहाँ देख्न पाउनु ! उनका चाकरीदार मात्र पनि भेट्न मुस्किल । अब जनतासँग घुलमिल गर्न फुटपाथमा हिँड्न सुरु गरेको हुन सक्छ । के नपुगेर हिँडेको हो र ? निगमहरूमा यस्ता– यस्ता मान्छे भएर त बजार यो स्थितिमा पुगेको छ ! अब हेर्नुहोस् ! संस्थानलाई घाटा पारे, जनतालाई मारे । उनीहरू नै छाती फुकाएर, नाक ठाडो पारेर निर्धक्क हिँडिरहेका छन् । लाज पटक्कै छैन । हामी देख्नेले लाज मान्नुपरेको छ ।”
मलाई केही महिनाअगाडिको ‘गोरखापत्र’ को समाचार सम्झना आउँछ । त्यही समाचारका सम्बन्धमा मैले भनेँ — “साहुजी ! खाद्य संस्थानले दूषित तेल बेचेको अभियोगमा केही व्यक्तिहरूलाई सरकारी स्तरमा कार्यवाही चलाएको भन्ने केही महिनाअगाडि समाचार पढेको थिएँ । त्यही संस्थान हो ?” “हो, त्यही संस्थान । अँ, तेलको कुरा भन्नुभयो । त्यही दूषित तेल त जनताले खान पाएनन् ।”
पचास–पचपन्नजति उमेर भएका यी दोकानदार स्पष्ट देखिन्छन् । मसँग निःसङ्कोच आफ्ना विचारहरू व्यक्त गर्दै छन् । सायद यस घडी मनले रमाइलो महसुस गरेका छन् । उनलाई फुर्सत छ, किनकि दिनको एघार बजेको छ । मेरो कुतूहलको त्यो व्यक्तिका सम्बन्धमा कुरा उक्काउँदै भनेँ — “त्यो अघिको मान्छेका बारेमा कुरा त्यसै रोकियो ।” “आ ! के कुरा गर्नु त्यस्ता अत्याचारीहरूको ! मैले त तपाईँले पनि चिन्नुभएको होला भनेर देखाइदिएको । त्यस्ताका बारेमा सम्झनेबित्तिकै मेरो त दिल–दिमाग खलबलिन्छ, रगत तातेर आउँछ । यी देश र जनताको रगत चुसुवाहरूलाई भुत्ते खुकुरीले छ्याकछ्याक पारी दोसाँधमा प्रुयाउन मन लाग्छ । के गर्नु ! आफूसँग शक्ति छैन । हात हालूँ, आफैँ बौलाहा भइहालिन्छ । अनि के गर्नु ! यही असन्तोष व्यक्त गर्नुबाहेक अरू हाम्रो के उपाय छ ?” उमेरमा बुढा देखिए तापनि उनका जोसपूर्ण कुराले अझै केही गर्न घचघच्याइरहेको मानवीय शक्ति म स्पष्ट देखिरहेछु । दोकान केवल उनको पेसा हो भन्ने मैले सम्झेँ । भावनाअनुसार अझै मौका पाए केही गर्ने उनमा जोस रहेछ । उनी जे भन्दै छन्, उनको यसमा स्वार्थ छैन ।
म त्यहाँ बस्ताबस्तै दसौँ व्यक्ति चिनीको खोजमा आए, तर सबै निराश भएर फर्के । कसैले भने — ‘भोटाहिटीमा चिनी दिँदै छ, त्यहीँ जानुप्रयो ।’ मैले सोचेँ, मानिसलाई चिनी किन यति महŒवपूर्ण हुँदै गयो ? चिनीबिना मानिस बाँच्नै सक्तैन कि ? किन यसरी समय बरबाद गरी हिँडिरहेछन् ? यसको उत्तर सिङ्गो मै पो रहेछु । मेरो पनि त समय बरबाद भइरहेछ । यसै सन्दर्भमा मैले कुरा उक्काएँ — “चिनीको माग पूर्ति गर्न नसकेपछि सरकार स्पष्ट रूपमा किन घोषणा गर्दैन ? छैन भनेपछि मानिसले उपाय खोजिहाल्छ नि ! होइन र ?” “यहाँको विचार सोह्रै आना ठिक हो । यस्तै सरकारी नीतिले त दुनियाले
दुःख पाउनुपरेको छ ! जो चिज छैन, त्यसको विकल्प मानिसले तुरुन्त खोज्छ । यो मानिसको गुण हो । यहाँ त मानिसलाई दोधारमा पारेर लुट्नुपरेको छ । अनि किन त्यसो गर्नु ?तपाईँलाई थाहा छ, चौबिस घण्टाको कृत्रिम अभाव देखाउन सफल भए भने काठमाडौँ सहरमा मात्र प्रत्येक वस्तुमा पाचौँ लाख उपभोक्ताबाट शोषण हुन्छ ? यस्तै सट्टाले त कर्मचारी र ठुला–ठुला व्यापारी रातोरात मालामाल हुन्छन् । अँ, सुन्नुहोस् ! तपाईँलाई अचम्म लाग्ला । अस्ति चिनीको भाउ बढेकामा एकै व्यापारीले पहिलो पटक सात लाख रुपियाँ र दोस्रो पटक बिस लाख रुपैयाँ नाफा कमाए । अब त्यो कसले हेर्ने ? बजारमा चिनीको अभावै छ । चिनी खानेले चिनी खान छाडे भनेजस्तोचाहिँ मलाई लाग्दैन । तपाईँलाई चिनीको आवश्यकता छ भने तपाईं जति पनि तिरी किन्नुहुन्छ । तपाईँका लागि दुई–तीन रुपैयाँको त फरक पर्ने हो नि ! होइन त ?” मुन्टोसम्म हल्लाएर म उनको विचारमा सम्मिलित हुन्छु । उनी भन्दै जान्छन् — “यो देशलाई कर्मचारी भए पुग्छ । शासन चलाउने कर्मचारी, उद्योग गर्ने कर्मचारी, ठेक्कापट्टा लिने कर्मचारी, व्यापार गर्ने कर्मचारी । सबै कर्मचारीले नै त चलाइरहेका छन् ! तपाईँ भन्न सक्नुहुन्छ, यहाँ कुन त्यस्तो महŒवपूर्ण कुरा छ जो कर्मचारीले चलाएका छैनन् ?”
“तस्करी ।” — मेरो समझले देखेको कुरा तुरुन्त भनेँ ।
“त्यो पनि कर्मचारीको सहयोगबिना भएको ठान्नुहुन्छ ?”
उनको प्रश्नको उत्तर मसँग छैन । उनमा अझ मैसँग कुरा गर्ने उत्साह बढिरहेछ । उनी भन्छन् — “यो समयमा चामलको भाउ घट्ने समय हो, तर दिनप्रतिदिन बढ्दो छ । यही रूपले चामलको भाउ बढ्ने हो भने वर्षासम्म यति बढ्छ कि सीमित आय हुने व्यक्तिले चामल खान बाध्य भएर छोड्नुपर्छ । सागपात र दाल हेर्नुहोस्, गत वर्षभन्दा दोब्बर भइसक्यो । केही चिज बेचिसक्नु छैन । आफू त सानो व्यापारी । जुन रेटमा खरिद पर्छ, त्यहीअनुसार मुनाफा राखी बेच्नुपर्छ । मलाई मनमा भने सन्तोष छैन । सन्तोष नभएर पेसा छोड्न पनि त सक्तिनँ ! यो मेरो मात्र होइन, हाम्रो कमजोरी हो ।”
मैले विस्तारै सोधेँ—“तपाईँले दोकान राख्नुभएको कति भयो ?” “यही पाँच वर्ष भयो ।”
“नोकरीमा थिएँ, महालेखा परीक्षकको कार्यालयमा । सुरुमा जागिर त नौसिन्दामा कुमारीचोकमा खाएको हुँ ।”
“धेरै अगाडि ?”
“पद्मशमशेरका पालामा । जीवनको धेरै लामो अवधि जागिरमा बिताएँ । पेन्सन पाकिसकेको थियो, राजीनामा गरी निस्किएँ ।”
“ए !”
“राजिनामा गर्नुको पनि विशेष कारण छ । आफ्नो स्वभाव प्रयो लन्ठ्याङमन्ठ्याङ मन नपर्ने । त्यहाँ नियमित केही देखिँदैन । राजस्वको कुरा, मनले मान्दैन छोड्न । समातूँ, छेउ समातूँ कि टुप्पो ! आँखाले देखादेख निचोरिएर बस्नुपर्छ । ध्यान दिएर गर्ने हो भने यति बेरुजु पक्रिन सकिन्छ, जो सय वर्षमा पनि फर्स्यौट हुन सक्तैन । त्यस्तो गर्न नसक्ने भएपछि राजस्वलाई घाटा दिई तलब खानु उचित सम्झिनँ । मैले छाडिदिएँ । नोकरी छोडेपछि केही काम नगरी कसरी बस्ने भनी सोचेँ । कामको खोजमा उद्योग विभाग धाउन थालेँ । आफूसँग जो नोकरी छोड्दा आएको रुपियाँ थियो, त्यसैले काम गर्नु थियो । सुहाउँदो उद्योग खोल्न स्वीकृति माग्दा ‘यो त बन्द छ’ भन्ने जानकारी पाएँ । जुन पायो उही उद्योग खोल्दा नेपालमा बजार छैन । बजार मिल्न सक्ने स्थितिको उद्योग ठुला–ठुलाले ओगटिसकेका रहेछन् । एउटाले कुनै उद्योग खोल्न स्वीकृति लिएपछि त्यस ठाउँमा त्यस्तै अर्को उद्योगको स्वीकृति नदिने सरकारी नीतिले गर्दा बर्सौँसम्म धाउँदा पनि उद्योग खोल्न असफल भएँ । अन्तमा यही दोकानदारीको शरण लिनुप्रयो ।”
केही समयको बसाइमा दोकानदारको र मेरो बिचमा घनिष्ठता कायम भयो । यो भएको उनकै स्पष्टताका कारणले हो । दोकानदारलाई पहिले मैले जुन दृष्टिले हेरेको थिएँ, अब त्यो दृष्टि रहेन । अहिले उनीप्रति पनि श्रद्धा जागेर आयो । भोलिका दिनहरूदेखि त्यो बाटो हिँड्दा मुख मोड्नु नपरोस् भन्ने दृष्टिले उनको नाम सोधेँ । आफ्नो पनि परिचय दिएँ ।
रत्नबहादुरजस्ता परिपक्व र भलादमी दोकानदार काठमाडौँमा बिरलै पाइन्छन् होला । उनमा व्यापारी मनोवृत्तिको अभाव पाएँ । उनका कुराबाट बजारका अरू धूर्त व्यापारीभन्दा उनको अलग्गै व्यक्तित्वको अनुभव मलाई भयो । यस्तै व्यापारी बजारभरि भए त बजार साँच्चै नै ‘आदर्श बजार’ हुने थियो होला ।
बजारमा बढ्दै गएको महँगीलाई रोक्ने उपायका बारेमा सोधिएको मेरो प्रश्नको उत्तरमा उनी भन्छन् — “यो महँगी प्रशासनिक कमजोरीबाट हुन गएको हो । साथै, सरकारी नीतिले पनि यसमा प्रभाव पारेको छ । बजार– नियन्त्रण गर्ने पूर्ण अधिकार भएर पनि प्रशासन मौन रहन्छ । एउटा अप्ठ्यारो प्रशासनलाई परेको हुन सक्छ । त्यो हो निगम र संस्थानहरूको मनोमानी मूल्यनिर्धारण । त्योभन्दा बाहेकका अरू वस्तुहरू पनि छन् जो खुला बजारमा मनोमानी भाउमा बिकिरहेका छन् । त्यसलाई सम्म त हेर्न सक्छ ! विचार गर्नुहोस् त, दोब्बर मूल्य लिई बजारमा माल बेचेका छन् । विदेशी वस्तु बेच्ने दोकानमा तपाईँको जाने हिम्मत आउँदैन । त्यहाँ त चाहेको मोल छ । त्यहाँको एउटा नमुना सुन्नुहोस् । जुन इलेक्ट्रोनिक घडी आजभोलि एक सय पचासमा पाउनुहुन्छ, त्यो घडी त्यही बजारमा आठ सय पचाससम्ममा बिकेको थियो । भन्नुहोस्, आज एक सय पचासमा बेच्ता पनि पक्कै मुनाफामा बेचेका छन् भने आठ सय पचासले बेच्ता कति बढी लिए ! आफैँ हिसाब गर्नुहोस् । यसरी प्रत्येक वस्तुमा हेर्दै जानुहोस्, यस्तै पाउनुहुन्छ । खैर, छोडिदिउँ विदेशी वस्तुका कुरा । अब जानुहोस् लत्ताकपडापट्टि । नेपाली र भारतीय कपडामा पचास प्रतिशतभन्दा बढी नाफा लिएर बेच्छन् भने जापानी र हङकङका कपडामा शतप्रतिशत नाफामा आरामसँग बेचेका छन् । के प्रशासन अन्धो छ ? छानबिन गर्ने उसलाई अधिकार छैन ? नियम र ऐनको व्यवस्था केवल पुस्तकको शोभा मात्र हो ?”
मलाई ‘गोरखापत्र’ को समय–समयको समाचार सम्झना आउँछ र भन्छु— “होइन, प्रशासनले समय–समयमा कालाबजारीलाई कार्वाही गरी दण्डसमेत गरेको समाचार पढेको छु । तपाईँ भन्नुहुन्छ केही कार्वाही गरेकै छैन । के हो, मैले त बुझ्नै सकिनँ ।”
“तपाईँले पढ्नुभएको समाचारमा कालाबजारीलाई दस हजार, पाँच हजार र एक हजारसम्म दण्ड गरेको पढ्नुभएको छ
“यस्तै पाँच रुपियाँदेखि एक सय पचास रुपियाँसम्म दण्ड गरेको पढेको छु ।” “तब ? यो एक–डेढ सय दण्ड गरेको ठुला स्टकिस्टलाई होइन । ठुला व्यापारीलाई त कसैले छुनै सक्तैन । पहिलो कुरा त उससँग पैसाको शक्ति हुन्छ । दोस्रो कुरा, हाम्रो भइरहेको ऐन–नियम यति सरल छ जो भएभरको हद तोक्दा पनि ठुला व्यापारीलाई कुनै असर पर्दैन । खैर, यो छोडिदिऊँ, सरकारी नीतितर्फ विचार गरौँ । भन्नुहोस्, हाम्रोजस्तो गरिब मुलुकले खाद्यान्नजस्तो वस्तु निर्यात गर्न छुट दिन्छ । देशभित्र उब्जेको अन्नले देशभित्रकालाई प्रशस्त खान पुग्नेमा खाना कटाई डलर जमाउने नीति राख्छ । फलस्वरूप मुठ्ठीभर व्यक्तिलाई फाइदा हुन्छ, अधिकांश जनता भोकै पर्छन् । दाल, खोर्सानी, अदुवा, लसुन र भटमासजस्ता कम उब्जाउ हुने वस्तुहरू निर्यातका लागि योग्य ठहरिन्छन् । अनि कसरी सस्तो हुन्छ ?” रत्नबहादुरजी ज्यादै अनुभवी रहेछन् । हुन सक्छ, उनले यो देशको नीति र प्रशासनिक दक्षता बुझेर खली पचाएका छन् । पद्मशमशेरको पालादेखि जागिर खाएर विभिन्न सरकारी कार्यालय छामेका रहेछन्, बुझेका रहेछन् । उनीबाट धेरै महŒवपूर्ण कुरा पाउने आशाले मैले सोधेँ — “मूल्य नियन्त्रण गर्ने केही उपाय छ ?”
उनले तुरुन्त जवाफ दिए—“निश्चय छ । हाम्रो देशको कुनै पनि सहरको मुटुको बजार कसको हातमा छ, थाहा छ तपाईँलाई ? हो, यिनीहरूले नै हाम्रो देशलाई महँगीग्रस्त बनाएका हुन् । मेचीदेखि महाकालीसम्म हेर्नुहोस्, यिनै छन् । काठमाडौँको बजारमा हेर्नुहोस्, मुटुमा यिनै छन् । यिनीहरूको मनोवृत्ति केवल धन जम्मा गरेर घर प्रुयाउनु मात्र हुन्छ । हुन त जन्मसिद्ध नागरिक ठहरिएका हामीसमानका यो देशका नागरिकको हामीसमानको हक सुरक्षित छ । त्यसका साथसाथै उनका ठाउँमा पनि त्यत्तिकै सुरक्षित छन् । यी दुवै हातमा लड्डु लिएर बसेकाहरू कसैप्रति इमानदार छैनन्, केवल ‘धन’ प्रति मात्र छन् । यसमाथि नियन्त्रण अनिवार्य छ । मैले भनिसकेँ, सरकारी नीति हाम्रो आवश्यकताअनुकूल हुनुप्रयो । निगम–संस्थानका कर्मचारीलाई स्वतन्त्रता प्रदान गर्नु भएन । प्रशासन दत्तचित्त भएर मूल्यनियन्त्रणमा लाग्नुप्रयो ।” चित्तबुझ्दो जवाफ पाएँ । ममा अरू कुनै प्रश्न गर्ने हिम्मत पनि भएन । मलाई चिनी खोज्नु छ । चिनीबिना घर नफर्कने अठोट लिएर निस्केको म । घण्टौँ बसियो रत्नबहादुरजीको दोकानमा । जतिसुकै तिरेर पनि चिनी लान्छु भनी भोटाहिटी पुग्ने निश्चय गरेँ र भनेँ — “धेरै–धेरै खुसी लाग्यो यहाँसँग भेट भएकामा । अब त चिनापर्ची भयो । पछि पनि भेट होला । साथै मेरो हार्दिक धन्यवाद तपाईँलाई महŒवपूर्ण कुरा जानकारी दिनुभएकोमा । अहिले म बिदा पनि भएँ । मलाई चिनी खोज्नु छ ।”
रत्नबहादुरजीसँग बिदा भएर पूर्ववत् कार्यमा लागेँ । म सडकका वारि र पारिका पसलमा पस्न व्यस्त छु । म एउटा दोकानबाट निस्केर अर्को दोकानमा पस्न लाग्दा एउटा व्यक्तिले मेरो ध्यान आकर्षित गर्छन् — “दाजु ! यो असन हो ?” एउटा झोला काँधमा भिरेका भरखरका युवक, बिस–बाइससम्म अड्कल
गर्न सकिने, मैलो, खद्दरको दौरा–सुरुवालको पहिरन, त्यसमाथि वेस्टकोट । वेस्टकोटका खल्ती ज्यादा प्रयोगले झोल्लिएका । सानो धरो कम्मरमा पटुकी कसेका । खुट्टा खाली भए पनि अव्यवस्थित टोपी दाहिने ढल्काएर टपक्क लगाएका । म सहजै अड्कल गर्न सक्छु, यिनी काठमाडौँका लागि नौलो अनुहार र उनका लागि काठमाडौँ नौलो ।
मैले सोधेँ — “भाइको घर कहाँ हो ?”
“घर त पहाड, पूर्व तीन नम्बर सोलु हो ।” — टोलिएर भने — “असन यही हो ?”
“भाइ ! यो असन होइन ।”
“यस्तै घरैघर भएको, चारैतिर पसल भएको भन्थे । यो होइन ? कहाँ त ?” “यहाँबाट केही टाढा छ । भाइ काठमाडौँ पहिलो पटक आएका हौ ?” मुन्टो हल्लाएर उनले मेरो प्रश्नलाई सकारे । मलाई पनि भोटाहिटीसम्म
जानु छ । मैले भनेँ—“एकै छिन पख है ! मलाई पनि उतै जानु छ ।”
मेरो एक–दुई पसलको सोधपुछसम्म उनी एकै ठाउँमा बसी मेरो प्रतीक्षा गर्न लागे । केही मिनेटमा म त्यहाँबाट अवकाश लिएर उनीसँग भोटाहिटीका लागि प्रस्थान गरेँ ।
“भाइ ! असनमा के काम छ ?”
“किनमेल छ । घरबाट किनमेल गर्न आएको ।”
“कहिले यहाँ आइपुग्यौ ? पहिले पनि आएका थियौ कि पहिलो पटक आएका हौ ?”
“हिजो बाह्रबिसेबाट बस चढेर आएको, बाटैमा छोडिदियो । आफू नौलो मान्छे, कहिल्यै नआएको ... !”
“किन बसले बाटैमा छोडिदियो ? बस बिग्रियो ?”
“खोइ, बिग्रियो कि के भयो थाहा छैन । तेल सिद्धियो पनि भन्दथे । बस त्यहीँ बस्यो, मान्छे सबै हिँडे । म पनि हिँडेँ । पैसा त पूरै लिएको थियो ।” “राति कहाँ बास बस्यौ त ?”
“यतै बसेँ । खोइ, कहाँ हो कहाँ हो ! बास बसेको घरमा उनले कुरा गरेको म बुझ्दैनथेँ । ती त नबुझ्ने कुरा पो गर्थे । अँ, त्यस्तै कुरा गर्नेले त मेरो कुखुरा लिए !”
“के ? कुखुरा लिए ?”
“अँ ! मेरो मन नहुँदा नहुँदै पनि कुखुरा लिए ।”
“पैसा दिएनन् ?”
“होइन, पैसा त दिए, पुग्दो दिएनन् ।”
“कति दिए ?”
“एक सय, एक बिस र छ रुपियाँ ।”
“कति कुखुरा थिए ?” “एक बिस र एउटा ।” “किन त्यति मात्र त ?”
“त्यही त भनेको ! दिन्नँ भन्दा पनि आठ–दस जनाले घेरी नाना थरीका कुरा गर्न थाले । ‘ढाकर बोकेर पनि नेपाल जानु हुन्छ, पैसा बोकी आरामले बसमा चढेर नेपाल जाऊ’ भन्न लागे । बसको मान्छेलाई सोधेको त कुखुरा लाने गरेको छैन, लग्नैप्रयो भने धेरै पैसा लाग्छ भन्यो । आफू परियो एक्लो, अनि के गर्नु ! छोड्नैप्रयो !”
“यहाँ ल्याएर बेचेको भए धेरै पैसा पाइन्छ भन्ने थाहा थिएन ?” “थाहा भएर त ल्याएको नि ! अब बाटैमा त्यस्तो होला भन्ने थाहा
थिएन । ठुला–ठुला महाजनले त्यसरी कम पैसा देलान् भन्ने के पत्तो ! ए, त्यसो भए यहाँ धेरै नै पैसा आउँथ्यो ?”
“त्यहाँ पाएको भन्दा चौगुना पाउन सक्थ्यौ । अब सिद्धिएको कुरा छोडिदेऊ । काठमाडौँमा के किनमेल गर्न आएका नि ?
“वर्षभरिलाई चाहिने नुन, मट्टितेल, कपडा ।”
“ए !भाइको नाम के नि ?”
“तोपबहादुर भन्नुप्रयो । गाउँघरमा रिट्ठे भन्छन् !”
सगरमाथाको काख सोलुमा हुर्किएका तोपबहादुर अति नै सरल र शुद्ध देखिन्छन् । लोभलालसा र लप्पनछप्पन नभएका, शुद्ध पहाडी प्रकृतिमा घुलेमिलेका श्रमजीवी देखिने तोपबहादुरको अनुहारमा म सिङ्गो नेपाल देख्छु । म सहजै अनुमान गर्न सक्छु, उनको गोजीको रुपियाँबाट उनको आवश्यकता पूर्ति हुँदैन । उनको घरबाट गरिएको हिसाब र अब गरिने हिसाबमा मेल नखाएपछि यिनले के सोच्ने हुन् र त्यसको पूर्ति यिनले कसरी गर्छन् ? यी प्रश्न मलाई कोट्याउन मन लाग्यो र भनेँ — “भाइ ! तिमीसँग कति रुपियाँ छ ?”
“बाह्रबिसेमा हिजो पाएको पैसा आज बिहान हिसाब गर्दा एक सय चार रुपियाँ थियो । बिहान पाँच रुपियाँको खाने कुरा खाइयो । अब एक रुपियाँ घटी एक सय छ ।”
“कपडा कति किन्नु छ ?”
“बाबुलाई एउटा भोटो र कछाड । आमा र बहिनीलाई एकुन्टा गुन्यू । पैसाले भ्याए मलाई कमिज र सुरुवाल, नभ्याए भोटो–सुरुवालको कपडा ।” “नुन–तेल पनि लानु छ, होइन ?”
“लानु छ । वर्षभरिलाई चाहिने नुन–तेल त लानैप्रयो ।” “नुन–तेल कति लाने ?”
“चौध कुरुवा नुन लानुपर्ला । तेल त्यस्तै बिस–बाइस कुरुवाजति लानैपर्छ ।”
उनको जुन हिसाब मैले सुनेँ त्यसबाट यो सहजै अनुमान गर्न सकिन्छ कि उनको गोजीमा भएको रकमको पाँच दोब्बर बढी रकमको आवश्यकता छ । तर उनी निश्चिन्त देखिन्छन् कि उनको गोजीको रकमले उनको आवश्यकता पूर्ति हुन्छ । मैले उनीसँग ठट्टाका रूपमा सोधेँ — “भाइ ! यसभन्दा बाहेक अरू पनि केही किन्नु छ कि ?”
उनी तुरुन्त जवाफ दिन्छन् — “अँ, चिनी र चियापत्ती पनि लानु छ । बाउलाई पेट दुखेको बेलामा तातो चिया खाएपछि सन्चो हुन्छ । सधैँ खाने होइन, कहिलेकाहीँ मात्र हो । मैले त बिर्सिएको !”
उनको कुराले मलाई हाँसो फुटायो । हिँड्दाहिँड्दै म टक्क रोकिएँ र उनलाई हेरेँ । घबराहटमा उनले भने — “धेरै चाहिने होइन, आधा धार्नी मात्र चिनी चाहिएको हो । किन हाँस्नुभयो ?”
मैले भनेँ— “म पनि चिनी खोज्न हिँडेको, पाएको छैन ।” “असनमा त पाइएला नि ?”
“खोइ, भन्न सकिन्न । तैपनि जाऊँ । पाइहालियो भने बेसै भयो ।” उनले मलाई तलदेखि माथिसम्म हेर्दै भन्छन् — “दाजुको घर कहाँ हो
कुन्नि ?”
मैले उत्तर दिएँ — “यहीँ काठमाडौँ नै हो भाइ ! किन र ?”
“तपाईँ पनि टाढैबाट आउनुभएको हो कि भनेर, अरू त केही होइन । किन, चिनी पाइँदैन र ?”
“पाइएको छैन ।”
“घरमा बाउले भनेथे, असन पुग्, त्यहाँ सब कुरा पाइन्छ । अलि पर जानू, कपडा पाइन्छ । कपडा किन्दा चाहिँ भनेजति नतिर्नू भनेर भनेथे । त्यहाँ निकै छट्टू देशी महाजन हुन्छन् अरे ! मलाई बाउले सबै कुरा सिकाएर पठाएका छन् ।”— तोपबहादुर बुद्धिमत्तापूर्ण ढङ्गले भन्दै जान्छन्— “ती महाजन हाम्रा कुरा गर्दैनन् अरे । अलि–अलि गरे पनि हामीले गरेभन्दा बेग्लै हुन्छ अरे !” उनको कुरा गराइमा कुनै बठ्याइँ छैन । मसँग कुरा गर्दा कुनै असजिलो महसुस गरेका पनि छैनन् । उनी भन्दै जान्छन् — “आज किनमेल सकेर भोलि सबेरै हिँडियो भने त पाँच दिनमा घर पुगिहालिन्छ । आउँदा त तीनै दिनमा आइपुगियो । जाँदा भारी हुन्छ ।”
उनको गोजीको पैसाले यहाँको बजारसँग मेल खाँदैन भन्ने विषयमा उनी अनभिज्ञ छन् । उनलाई विश्वास छ — उनले किनमेल गरिसके, अब उनी घर फर्कने तरखरमा छन् । सायद उनले घर छोडेको चार दिन भइसक्यो । अब घरको सम्झना आउन थाल्यो उनलाई । काठमाडौँबाट घरमा सामान उतारेपछि उनका बाबु, आमा र बहिनी खुसी हुने कुरा उनले सम्झन थालेको हुन सक्छ ।
मैले विस्तारै उनलाई सोधेँ — “कपडा कतिको किन्नु भनेर बाउले अह्राएका छन् ?”
“पाँच हातको बाक्लो खद्दरको कपडा बाउलाई भोटो, उनैलाई नौ हातको दुईदेखि दुई रुपियाँ सुकासम्म कपडा हेरी तिर्नू भनेका छन् । पोहोर– पोहोर बाउ आफैँ आउँथे । म यसपालि आएको । खोइ, पुगे मलाई राम्रै खालको कमिज–सुरुवालको कपडा लानुपर्ने । नपुगे पनि भोटो–सुरुवाल त लानैप्रयो । पैसाले भ्याए एउटा इस्टकोट पनि लान्छु । अँ, एउटा लाइटर पनि किन्ने आँट राखेको छु । हाम्रो गाउँका माथ्लाघरे काइँलाले लगेका छन् । झुलो–चकमक नै बोक्तैनन्, कति आनन्द ।”
उनका हिसाबले उनीसँग भएको रुपियाँले मनग्गे पुग्छ । त्यसैले उनले एउटा लाइटर किन्ने पनि आँट गरेका छन् । मैले सोधेँ — “भाइ ! मट्टितेल र नुनलाई कति तिर्नु भनेका छन् ?”
उनी सम्झँदै भन्छन् — “दस रुपियाँको नुन किन्नू, मट्टितेल बिस कुरुवाको एक बिस दस रुपियाँजति पर्छ । चार–पाँच रुपियाँमा खाली कन्टर पाइहालिन्छ । बढीमा एक बिस चौध–पन्ध्रजति मट्टितेलमा लाग्छ भनेका छन् ।” मैले भनेँ — “हिसाब गरेका छौ ? तिमीले भनेजतिमा माल पाइयो भने
पनि तिमीसँग भएको पैसाले भ्याउँछ ?”
“खोइ, त्यो त हिसाब गरेको छैन । हिजोदेखि म यही कुरा मनमा गुनिरहेछु । हिसाबै नपुग्ला कि भनेजस्तो छ । बाह्रबिसेमा कुखुरा साह्रै सस्तो प्रयो भनेजस्तो त मनमा लागेकै थियो । साँच्चै, मैले भनेजति माल मेरो पैसाले भ्याउँदैन कि क्या हो ?”
म उनलाई केही जवाफ नगरी हिँडि नै रहेँ । फेरि उनले सोध्ने कोसिस पनि गरेनन् । हामी हिँड्दै गयौँ । बाटोमा सडक पार गर्ने ठाउँमा म टक्क उभिएँ । उनी के अगाडि बढ्न लागे, उनको कुम समाती मैले रोकेँ । एउटा मोटर बेगसित हाम्रो अगाडिबाट गुड्यो । त्यसपछि अर्को, अर्कोपछि अर्को । हामी मोटरको ताँती नसकिएसम्म उभिइ नै रह्यौँ । त्यसै बखत तोपबहादुर भन्छन्— “अहो ! हेर्न पनि बिर्सेछु । बाटो काट्ता चारैतिर हेरी दगुर्नू भनेर बाउले भनेथे ।” उनको फतफताइसँग मलाई केही मतलब थिएन । मैले उनको स्वरमा स्वर मिलाउने चासो पनि देखाइनँ । ममा एउटै चिन्ता उठेको छ उनीप्रति कि उनको mक्रयशत्तिले एक वस्तुसम्म उपलब्ध हुन नसक्ने स्थिति छ । उनका बाउले एक्काईसओटा कुखुरा पठाएर त्यसको बराबरको किनमेल जो तोकेर पठाएका थिए त्यो वस्तु ठिकसँग बिकेको र काठमाडौँको दुई महिना अगाडिको बजारभाउ रहिदिएको भए तोपबहादुरले आशा गरेभन्दा बढ्ता सँगी–साथीलाई कोसेलीसमेत लान सक्थे । तर के गर्नु !अभावको कुरा ! न उनले ल्याएको वस्तु ठिकसँग बिक्यो, न बजारभाउ नै दुई महिनाअगाडिको जस्तो छ । आजभोलि काठमाडौँको कुनै बजारको निश्चित रूप छैन । चौबिस घण्टाभित्र शतप्रतिशतको बेगमा मूल्यवृद्धि भइरहेछ ।
हामी भोटाहिटी पुग्यौँ । मैले चिनीको खोजमा एक–दुई पसलअगाडि खडा भई सोध्न सुरु गरेँ । तोपबहादुर पनि म खडा भए हुन्थे र म हिँडे हिँड्दथे । यसै क्रममा एउटा दोकानदारबाट जवाफ पाएँ— “हिजोसम्म त थियो, दिएको थिएँ । अब चिनीको भाउ बढ्ने भएकाले डिलर आफैँले स्टक गरेका छन् । हामीलाई दिँदैनन् । हामीले कसरी दिनु ?”
दोकानभित्र पस्तै अनुरोधपूर्वक दोकानदारलाई भनेँ— “तपाईँकहाँ पाइन्छ भनेर धेरै टाढादेखि आएको हुँ । जति लिनुहुन्छ दिन्छु, दिनुप्रयो ।”
नरम मिजाससँग दोकानदार भन्छन्— “सत्ते छैन ! भए आफूलाई फाइदा हुने, तपाईँको पनि काम चल्ने, नदिने त कुरै छैन । तपाईँहरूकै सेवाका लागि त हो नि म बसेको ! हिजो मात्र आउनुभएको भए म जति पनि दिइपठाउँथेँ । आज छैन हजुर, माफ गर्नुहोस् !”
फेरि विनम्रतापूर्वक मैले भनेँ — “साहुजी ! मलाई धेरै होइन, आधा केजी मात्र, पन्ध्र–बिस जति लिनुहुन्छ ।”
उनले पनि विनम्र स्वरमा मलाई भने — “हेर्नुस् हजुर ! हाम्रो काम सामान बेच्ने । डिलरले मलाई जो भाउमा दिएको थियो, मुनासिब मुनाफा राखी बेचेँ । अब भाउ बढ्दै छ भनेर डिलरले हामीलाई सामान नदिएपछि हामीले कसरी बेच्ने, भन्नुहोस् त ? हो, हामीलाई थाहा छ, हाम्रा ग्राहकहरू मूल्यमा घटी–बढी कुनै वास्ता राख्तैनन् । सामान पाइयो भने भयो । अहिलेको समय पनि यस्तै छ । डिलरले मलाई निर्धारित मूल्यभन्दा बिस प्रतिशत बढी लिई एक सय बोरा चिनी दिएको थियो । मैले पनि सरकारी नियमअनुसार बिस प्रतिशतभन्दा बढी आफूलाई मुनाफा नराखी तीनै दिनमा सबै चिनी बेचिपठाएँ । छैन हजुर, सत्ते–सत्ते छैन ! माफ पाऊँ !”
निराश भएर म लामो सुस्केरा हाल्छु । भोटाहिटीसम्म आएको पनि केही लाभ भएन । उपायको खोजीमा मैले बिस्तारै दोकानदारसँग सोधेँ — “कहाँ पाइएला त ?”
“खोइ, असनमा त साल्ट ट्रेडिङको डिपो छ । भनेजति भने पाइँदैन होला । सुनेको छु, मच्छिन्द्रबहालमा दिँदै छ अरे !”
म दोकानबाट सडकमा झरेँ । तोपबहादुर चारैतर्फको रमितामा मस्त रहेछन् । मबिना उनी असन पुग्न सक्तैनन् । त्यसैले उनी मेरो प्रतीक्षामा छन् । मैले तोपबहादुरलाई झस्काउँदै भनेँ — “के हेरिरहेका तोपबहादुर ? हिँड, असन आइपुग्यो ।”
हामी केही मिनेटभित्रै असन दोबाटो पुग्दै छौँ । तोपबहादुरका लागि त सबै असन नै हो । तथापि मैले त्यस दोबाटोलाई मात्र असन सम्झेको हुँदा दोबाटोमै प्रुयाउने निश्चय गरेँ । मलाई पनि आफ्नो अभावपूर्ति गर्नु छ त्यसै दोबाटोमा पुगी । असनचोक प्रवेश नगर्दै तोपबहादुरलाई असन औँल्याइदिएँ । घरबाट हिँडेको चार दिनपछि टुङ्गोमा पुगेकामा तोपबहादुर हर्षित देखिन थाले । उनी आफ्नो नजरलाई चोकको चारैतर्फ दौडाउन थाले । बिसै पाइलाको दौरानमा हामी चोकको मध्यभागमा पुग्यौँ । मैले भनेँ — “भाइ ! यही हो असन ।”
मानिस, गाई, रिक्सा र गाडीको भिडमा आँखा घुमाउँदै तोपबहादुरले छक्क पर्दै भने — “यही हो असन ?”
“हो, यही हो ।”
मसँग तोपबहादुर यति विश्वस्त भइसकेका थिए कि उनले मेरो भनाइमा शङ्का गर्ने ठाउँ नै थिएन । उनले होइन पनि भन्न सकेनन् । अहिले उनले जुन असन पाए, त्यो असन उनको कल्पनाभित्रको थिएन । असनलाई सिङ्गो नेपाल सम्झने हाम्रा गाउँका दाजुभाइले पहिलोपल्टको दर्शनमा विश्वस्त नहुनु स्वाभाविक हो । यस्तै छ हाम्रो राजधानीको आवश्यक वस्तुहरूको बजार । तिस हजार स्क्वायर फिटमा अवस्थित असनमा घण्टौँमा लाखौँको कारोबार हुन्छ । सयौँ वर्षदेखि प्रख्यात यो बजार आज पनि त्यही रूपमा चलिरहेको छ । “मट्टितेल र नुन कहाँ पाइन्छ ?” तोपबहादुर मलाई सोध्छन् —“खोइ,
म त यहाँ अलमलिन्छु ।”
मैले चोकको कुनामा बोर्ड देखेँ ‘नेपाल आयल निगमबाट प्राप्त मट्टितेल यहाँ पाइन्छ ।’ त्यही बोर्डमुनिबाट सुरु भएको क्यू हाम्रो नजिकसम्म छ । मैले भनेँ — “भाइ !यही लाइनमा लाग, तिम्रो पालो आएपछि मट्टितेल थाप ।” उनले खुसी हुँदै भने — “त्यसो भए खाली कन्टर किन्नुप्रयो ।”
हाम्रो नजिकै खाली टिनहरू बेच्न राखेको ठाउँमा देखाउँदै मैले तोपबहादुरलाई भनेँ — “भाइ !खाली टिन यहाँ किन अनि लाइन लागेर मट्टितेल थाप । मलाई चिनी खोज्नु छ ।”
साल्ट ट्रेडिङको बोर्ड झुन्ड्याइएको दोकानतर्फ म लागेँ । त्यहाँ केवल बोर्ड मात्र छ, न मानिस न चिनी । मैले नजिकैको दोकानदारलाई सोधेँ । ‘सिद्धियो होला’ भन्ने जवाफ पाएपछि उनैको सल्लाहअनुसार मच्छिन्द्रबहाल जाने निश्चय गरेँ ।
तोपबहादुर चोकमा अलमलिएरै बसेका छन् । उनले आफ्नो किनमेल सुरु गरेका छैनन् । म उनीनजिकै गएर औँल्याउँदै भनेँ — “भाइ ! खाली टिन किन्ने त्यहाँ र मट्टितेल लिने त्यहाँ ! म गएँ है ?”
म उनको हार्दिक स्वीकृति पाउँदिनँ । उनले नरमाइलो किसिमले मुन्टो मात्र हल्लाए । म असनबाट मच्छिन्द्रबहालको बाटो लागेँ ।
मच्छिन्द्रबहालको चोकमा लाइन लगाई चिनी बाँडिरहेको देखेँ । देख्नेबित्तिकै म यति खुसी भएँ कि लाइनमा नलागी चिनीको बोराछेउमा उभिएर भनेँ — “साहुजी ! मलाई पनि चिनी दिनुहोस् ।”
बिक्रेता आफ्नै कार्यमा व्यस्त छन् । यसैबिच लाइनमा उभिएका एक भद्र पुरुषले मलाई भने — “तपाईँलाई चिनी चाहिन्छ भने लाममा लागेर आउनुहोस् । हामी पनि घण्टौँदेखि लाममा छौँ ।” ती व्यक्तिको वाक्य नटुङ्गिदै लाजले मेरो अनुहार रातो भयो । मैले आफैँले बुझ्नुपर्ने कुरा ती व्यक्तिबाट सुन्नुपर्दा मैले अप्ठ्यारो महसुस गरेँ । मैले केही भन्ने हिम्मत गरिनँ । मैले आफ्नो आँखा क्युमा दौडाएँ । सयौँ व्यक्ति उभिएका छन् । अन्यथा सोच्ने कुरै भएन । असजिलै मानेर पनि क्युमा आफूलाई सम्मिलित गराएँ ।
लाम बडो मुस्किलले चलेको छ । सयौँ व्यक्तिपछि मात्र आफ्नो पालो आउने स्थितिमा उभिएको म दुई घण्टा लाग्ने सहजै अनुमान गर्न सक्छु । दिन पनि ढल्किसकेको छ । सोचेँ, अब यहीँ चिनी लिएपछि साँझ पर्छ ।
झोला थाप्तै मैले दुई केजी मागेँ । आधा–आधा केजी मात्र दिने कुरा बिक्रेताले सम्झाए । आधा केजी चिनी लिई क्युबाट निस्किएँ ।
म असन हुँदै घरतर्फ लाग्छु । एकाएक मैले तोपबहादुरलाई एउटा टिनको छेउमा उभिएको देखेँ । मैले सोचेँ उनले मट्टितेल किनिसकेका छन् । तोपबहादुरको छेउमै गएर मैले सोधेँ — “भाइ ! मट्टितेल किनिसक्यौ ?” तोपबहादुरले मेरो अनुहारमा पुलुक्क हेरे । उनको गहभरि आँसु टल्पलिएको मैले देखेँ । उनले मलाई केही जवाफ दिएनन् । उनलाई मैले फेरि सोधेँ — “के भयो, मट्टितेल त किन्यौ होइन ?”
उनी असनको एक कुनामा आँखा फालेर टोलिएर बस्छन् । मलाई हेर्न सकेका छैनन् । मेरो प्रश्नको उत्तर दिन पनि कुनै चाख देखाउँदैनन् । मैले उनको मुन्टो मपट्टि फर्काएर सोधेँ — “के भयो तोपबहादुर ? भन न भन, के भयो ?”
प्रतिउत्तरमा उनको आँखाबाट आँसु झर्छ । उनी आफ्नो दौराको फेरले आँसु पुस्छन् र रुन्चे स्वरमा भन्छन् — “मट्टितेलमै मेरो सबै रुपियाँ सकियो । अब किनमेल गर्ने पैसा नै छैन । सामान नलगे घर फर्कनै पर्दैन । बाउले बर्सेनि त्यत्ति नै कुखुरा ल्याई वर्षभरिको सामान लान्थे । मैले मट्टितेल मात्र लग्दा घरभित्र पस्नै पर्दैन । फेरि घर जाने पैसा पनि छैन । सबै ती महाजनले लिए ।” मैले सोधेँ — “मट्टितेल कति लियौ ? कति पैसा दियौ ?”
उनले भने — “खाली कन्टर आठ रुपियाँमा लिएँ र लाममा बसेँ । धेरै बेरपछि आफ्नो पालो आयो । कति हालौँ भनेर महाजनले सोधे । बिस कुरुवा हाल भनेँ । तेल हालिसकेपछि रुपियाँ त जति दिए पनि पुग्दैन ल्याऊ भन्न थाले । एक बिस एक लिटर हालेको छ भनेर भने । मभन्दा पछाडिकाले ‘हिसाब पछि गर्दै गरौँला, महाजनले भनेजति रुपियाँ देऊ’ भने । भएभरको रुपियाँमा दुई रुपियाँ बाँकी राखी सबै दिएँ । लामबाट बाहिर निस्कनेबित्तिकै अर्का मान्छेले कन्टर समाती रखाइदिए । उनले तीन रुपियाँ मागेका थिए । मसँग दुई रुपियाँ मात्र बाँकी रहेको कुरा सुनाएँ । ‘पछि एक रुपियाँ दिनू’ भनी थुतिलिए । अब मसँग एक रुपियाँ पनि छैन । कसरी किनमेल गरूँ? कसरी घर जाऊँ?” उनलाई सम्झाउँदै भनेँ — “अब के गर्ने त ? तिमीसँग रुपियाँ नै कम
थियो । तिमीसँग मट्टितेलको साहुले चार बिस नौ रुपियाँ लियो । अब पैसा नभएपछि के गर्ने ? बाउलाई सबै कुरा सुनाउनू । के गर्छन् त बाउले ?” उनले भने— “घर जाने त बाटै मेटियो ।”
उनको समस्याको समाधान उनैसित सोधेँ — “के गर्छौ त ?”
“यो एक कन्टर तेल लानुभन्दा नलानु बेस छ । यो तेल बेच्नका लागि भनेको थिएँ । त्यो महाजनले बेच्ने भए किन्छु भनेका छन् । बेचेर रुपियाँ लिन्छु ।”— उनी भन्दै जान्छन्— “असनसोलमा मेरो दाजु कोइलाखानीमा काम गर्छन् । म पनि त्यहीँ गएर दुई–चार महिना काम गरी रुपियाँ कमाउँछु । अनि घरमा लानेजति सामान लिएर जान्छु ।”
“कहाँ हो असनसोल ? तिमी गएका छौ ?”
“गएको त छैन । जान आँटेपछि पुगिहालिन्छ नि ! के गर्नु घर जाने बाटै मेटिएपछि, अरू उपाय नै के छ र ?”
उनीसँग मट्टितेल लिने कुरा छिनिसकेका व्यक्ति हाम्रो अगाडि आई भन्छन् — “दिने हो ? लौ दिने भए दिइहाल, मलाई अर्कै काममा जानु छ ।” तोपबहादुरले मुन्टो हल्लाएर स्वीकृति दिए । ती व्यक्तिले आफ्नो पसल देखाउँदै ल्याउन अह्राए । तोपबहादुरको आग्रहअनुसार म पनि त्यहाँ गएँ । ती पसलेले मट्टितेल भरेर लिने आशय व्यक्त गरे । त्यसका लागि मैले स्वीकृति दिएँ । उनले टिन फोरी मेरै सामु मट्टितेल भर्दा सोह्र लिटर मात्र प्रुयाए । तोपबहादुरले एक्काइस लिटर लिएका थिए, तर अहिले भर्दा सोह्र लिटर मात्र पुग्यो । फेरि मैले दोहोरो भर्न लगाएँ । त्यति नै रहेछ । पसलेले सोह्र लिटरको अठसठ्ठी रुपियाँ, टिनको सात रुपियाँ गरी पचहत्तर रुपियाँ तोपबहादुरलाई जिम्मा लगाए ।
मट्टितेलमा कमी देखेर मैले आफ्नो चिनीमा पनि शङ्का उठाएँ । जोख्ता साँच्चै पचास ग्राम कम रहेछ । अब मेरो हातमा चिनी आधा केजी नभई चार सय पचास ग्राम मात्र छ । आफ्नै सामु बिक्रेताले जोखेर –भरेर दिएकोमा चित्त बुझाई हिँडेपछि फेरि पुगेन भन्न जानु आफ्नै मूर्खता हो । मैले सम्झेँ, यो नियन्त्रित मूल्यमा लिएको वस्तु यस्तै हुन्छ ।
तोपबहादुर र म असनचोकमा निस्कन्छौँ । अहिले उनको हातमा केवल पचहत्तर रुपियाँ मात्र छ । असनको नाटकमा उनले पूरा चौबिस रुपियाँ गुमाए । चौबिस रुपियाँले उनकी आमालाई वर्षभरि पुग्ने गुन्यु असनचोकमा बिलाएर गयो । अनि उनका बाबुलाई भोटो र कछाड, बहिनीलाई गुन्यु र आफूलाई नयाँ लुगा केवल सपना मात्र भयो । उनको घर वर्षभरि अन्धकार हुन्छ । परिवारको भान्सा वर्षभर अलिनो हुन्छ । उनलाई यो सम्झना भएन । उनलाई केवल सामानका लागि रुपियाँको आवश्यकता छ । उनले रुपियाँ कमाएर मात्र घर फर्कने निधो गरे । तोपबहादुर कोसौँ टाढादेखि पैताला खियाएर असन आइपुगे । जति उनी असनलाई श्रद्धा–विश्वास गर्दछन्, असन त्यति नै उनलाई हेला र शोषण गर्दछ । असन बुझ्दैन कि सकेसम्म उनलाई इमानदारीपूर्वक सहुलियत प्रदान गरेर खुसी तुल्याऊँ । ऊ त जान्दछ, यस्तै मूर्खहरूलाई नक्कली र मिसावटको सामान जिम्मा लगाएर बाँच्न । तोपबहादुरको आवश्यकता पूर्ति गर्न म असमर्थ छु । पाँच–दसको सहयोगले नहुने । त्यसैले म लाचार छु । म उपायरहित छु । म उनलाई विदेश भासिनबाट रोक्न सक्तिनँ !
तोपबहादुरसँग म दुःखित हुँदै भन्छु — “तिमी घर जाऊ भाइ ! लाहुरमा झन् बढी दुःख हुन्छ । कहिल्यै नगएको र नदेखेको ठाउँ । जाने आँट नगर । भोलि बिहानको बसमा बाह्रबिसे हुँदै घर जाऊ । तिम्रो घरमा आमाबाबुले तिमीलाई केही भन्दैनन् । विश्वास गर, घर जाऊ भाइ, घर फर्क !” उनी मलिन स्वरमा भन्दै जान्छन् — “म घर त जाँदै जान्नँ । के मुख लिएर म घर जानु ? बरु दाजु भएको ठाउँमा गई दाजुसँगै कोइलाखानीमा काम गर्छु, रुपियाँ कमाउँछु । अनि घर फर्कँदा भनेको भन्दा धेरै–धेरै माल लिएर जान्छु ।”
“आज कहाँ बस्छौ त ?”
“यतै कतै बसुँला ।” “म जाऊँ त ?” “हुन्छ ।”
“तिमी यतै बस्छौ ?”
“यतै त बस्नुपर्ला आज ।”
म तोपबहादुरसँग बिदा लिँदै आफ्नो बाटो समात्छु र सोच्तै जान्छु । यहाँबाट यसै गरी देशको युवाशक्ति विदेसिन्छ समय र परिस्थितिको चपेटामा परी । यो महँगी र उर्लिँदो बजारले तोपबहादुरजस्ता इमानदार श्रमजीवी यो देशले गुमायो । बुढाबुढी उसका आमाबाबुले एउटा सहयोगी छोरो गुमाए । उसकी बहिनीले माया गर्ने एउटा दाजु गुमाई । उसका सँगीसाथीले एउटा असल मित्र गुमाए ।