शुक्रबार
विक्रमको प्रतीक्षामा आजको मेरो पूरा शुक्रबार बिहान बितिसक्यो, अझ पनि आएका छैनन् । कहीँ बाहिर निस्कूँ भने पनि आइपुग्लान् भन्ने आशाले निस्कन खोजेर पनि निस्कन सकेको छैन । खाना खाने समय भयो । मैले निश्चय गरेँ— खाना खाउन्जेलसम्म पनि विक्रम आएनन् भने कतै बाहिर निस्कन्छु ।
विक्रम काठमाडौँमा हुर्केका केटा । सानै उमेरदेखि आफ्नो काम गरी आफ्नै खुट्टामा उभिएका ठिटा । उमेरमा मभन्दा सानै भए पनि परिपक्व र पाको विचार भएका विक्रम कुरा गर्दा दिल खोलेर आफूलाई पेस गर्छन् । वास्तवमा भनूँ भने म उनीसँग कुरा गर्न रुचाउँछु । उनीसँग मेरो भेट हुँदा म साह्रै रमाएको हुन्छु । हुन त उनको र मेरो कुनै लेनदेन व्यवहार छैन, केवल मित्रता मात्र हो । साथै उनी मेरो भाइको साथी हुँदा मलाई उनले ‘दादा’ भनी सम्बोधन गर्छन् । मैले उनलाई भाइको सङ्ज्ञा दिए पनि मित्रका रूपमा स्वीकारेको छु ।
विक्रमको व्यवसाय निर्माणसेवा हो । उनले करिब बाह्र वर्षदेखि निर्माणकार्यको ठेक्का लिने काम गरिआएका छन् । विकासोन्मुख देशमा निर्माणकार्य धेरै नै चल्ने हुँदा विस्तृत क्षेत्रको दृष्टिकोण राखी उनले यो व्यवसाय अपनाएका हुन् । उनले स–सानो कटेरोको निर्माण र मन्दिरहरूको जीर्णोद्धारको कामबाट आफ्नो कार्य सुरु गरेका हुन् । क्रमशः उनले आफ्नो कार्यक्षमताको विकास गर्दै बाटोघाटो, कलभर्ट–पुल र विशाल भवनहरू पनि बनाइसके । उनको भनाइअनुसार यो देशमा सबैभन्दा राम्रो व्यवसाय निर्माणसेवा हो । साधारणतः उनी इमानदार र नैतिक व्यक्तिमध्येका हुन् । तर यस व्यवसायभित्र आफ्नो इमानदारी र नैतिकता जोगाउन नसकेको कुरा पनि उनले समय–समयमा बताएका छन् ।
विक्रमसँग मेरो बराबर भेट भइरहन्छ । उनको र मेरो भेट भएपछि एक–दुई घण्टा बित्नुमा कुनै आश्चर्य छैन । स्पष्टवक्ता विक्रम कुराकानी गर्दा सम्पूर्ण शरीर फ्याँकेर वातावरणलाई रमाइलो तुल्याउँछन् । त्यसैले उनीसँग कुराकानी गर्न म ज्यादै नै रुचाउँछु ।
म खाना खाइसकेर कपडा लगाउँदै छु । एक्कासि ड्रइङरुममा गुन्जेको हाँसो मेरो कानमा पर्छ । हतारिँदै कपडा लगाई म ड्रइङरुममा पुग्छु ।
“दादा नमस्कार !”— विक्रम सोफाबाट उठ्तै मलाई अभिवादन गर्छन् । उनीसँग बसिरहेका एक अपरिचित व्यक्तिलाई सङ्केत गर्दै म विक्रमलाई भन्छु— “उहाँलाई मैले चिन्न सकिनँ !”
‘उहाँ हाम्रो साइटका इन्जिनियरसाहेब हुनुहुन्छ, दादालाई परिचय गराऊँ भनेर ल्याएको’ भन्दै विक्रम मेरो परिचय दिन्छन् ।
तीर्थरत्नले मेरो नाम मात्र सुनेका रहेछन् । धेरै दिनदेखि मलाई भेट्ने इच्छा व्यक्त गरेअनुसार विक्रमले तीर्थरत्नलाई ल्याएका रहेछन् । हुन त तीर्थरत्न एक इन्जिनिएर, उनको र मेरो विषय अलग–अलग भए तापनि विक्रमको मप्रति श्रद्धा र विश्वासले तीर्थरत्नलाई मसँग भेट्ने उत्कण्ठा जागेको रहेछ, जो मैले पहिलो कुराकानीको थालनीमै थाहा पाएँ ।
विक्रमले तीर्थरत्नका बारेमा धेरै सुनाए । उनी एक भलादमी र इमानदार इन्जिनियर रहेछन् । भारतको रुड्कीमा सिभिल इन्जिनियरिङको डिग्री प्राप्त गरेका तीर्थजीले दस वर्षदेखि श्री ५ को सरकारको सेवा गर्दै आएका रहेछन् । उनलाई एउटै दुःखले सताएको रहेछ । त्यो हो प्रमोसन । उनका साथीहरूमध्ये उनी मात्र असिस्टेन्ट इन्जिनियरको पदमा बस्नुपरेको छ । तीन जना त सुपरिटेन्डिङ इन्जिनियर भइसकेका रहेछन् । डिभिजन इन्जिनियर हुने प्रबल इच्छा राखेका तीर्थजी आफ्नो मान्छे माथि नभएको हुँदा प्रमोसन नभएको कुरा बताउँछन् ।
तीर्थजीका बारेमा अझ जानकारी लिने आशाले मैले सोधेँ— “तीर्थजी ! तपाईँले यो दस वर्षको अवधिमा कुन–कुन कार्यालयमा काम गर्नुभयो ?” उनले गम्भीर मुद्रामा जवाफ दिए— “भारतबाट आउनेबित्तिकै म खानेपानीमा खटिएँ । तीन वर्ष त्यहाँ काम गरेर खानेपानीका सम्बन्धमा केही जानकारी हासिल गरिसकेको थिएँ, सिँचाइ मन्त्रालयअन्तर्गत विभिन्न योजनामा काम गर्ने गरी सरुवा गरिदियो । खानेपानीमा काम गरिरहेकोलाई सिँचाइमा खटाएपछि मैले कसरी काम देखाउने ? कमसेकम एक–दुई वर्ष त नयाँ काम बुझ्नै लाग्छ । मैले सिँचाइमा केही काम देखाउन सकिनँ । फेरि दुई वर्ष पनि नपुग्दै विद्युत विभागअन्तर्गत जलविद्युत् आयोजनामा काम गर्ने गरी खटिएँ । यसै गरी सडक विभाग र स्थानीय विकास विभाग हुँदै अहिले भवन विभागमा छु । जहाँ गएँ, म त्यहाँ नयाँ रहेँ । केही जान्न र थाहा पाउन थालेपछि म हुत्तिन्थेँ एउटा सिकारु खेलाडीको खुट्टाबाट फुटबल हुत्तिएजस्तो ।” उनी भन्दै जान्छन्— “हेर्नुहोस् न, यी माथिल्लो दर्जामा बस्नेहरूले
के सोच्ता रहेछन् भने इन्जिनियर पढेर आउनेबित्तिकै सबै कुरा गर्न जानेको छ । कुनै ठाउँमा काम गर्दा त्यहाँको विषयमा सबै कुरा जानकारी भएपछि नै काम गर्न सकिन्छ । यो कुरा बुझ्ने होइनन्, जाने–बुझेर मैले काम नगरेको भनी चार्ज लगाउन मात्र सिपालु छन् । मेरो मान्छे माथि भइदिएको भए म आजसम्म चिफ इन्जिनियर भइसक्थेँ होला । किनभने एकै विभागमा बसेर काम गर्न पाएको भए त्यस कामको सम्बन्धमा मैले विशेष ज्ञान प्राप्त गर्ने थिएँ । अनुभवी र पुरानो हुँदै गएको आधारमा प्रमोसन दिनेलाई पनि सजिलो हुन्थ्यो । जुनसुकै कार्यालयमा म नयाँ र मेरा लागि कार्यालय नयाँ हुँदै गयो ।” मैले आफ्नो विचार व्यक्त गर्दै उनलाई भनेँ— “यसरी सबै अड्डा घुम्न पाउँदा सबै क्षेत्रको अनुभव हुन्छ, होइन र?”
उपहासका साथ मेरो विचारलाई काट्तै भने— “हो, ज्यादै अनुभव हुन्छ ! त्यही अनुभव गराउन त लोकसेवाले भेटनरी डाक्टरलाई स्वास्थ्यसेवामा खटाएको र हर्टिकल्चर पढेर आउनेलाई डिपार्टमेन्ट अफ कल्चरमा खटाएको ।” तीर्थजी लामो सास लिँदै गोजीमा चुरोट खोज्छन् । यत्तिकैमा विक्रमले आफ्नो गोजीबाट चुरोट निकालेर तीर्थजीलाई दिन्छन् । चुरोटको धुवाँ कोठाभरि छर्दै उनी भन्दै जान्छन् — “तपाईँले यहाँ कस्तो बुझ्नुभएको छ कुन्नि, मैले बुझेसम्म त यहाँ प्रशासनिक कुनै ठोस नीति नै छैन । निगाहमा बाँच्नुपर्छ । कसले के गर्न सक्छ, के गर्न सक्तैन, कुनै छानबिन छैन । जसले जसलाई जे गरे पनि हुन्छ । सुनवाइ कहीँ छैन । साँच्चै भनूँ भने मलाई यहाँ नोकरी गर्ने मन नै छैन ।”
तीर्थजस्तो एउटा देशको योग्य र जिम्मेवार व्यक्तिले यसरी असन्तुष्टि व्यक्त गरेकोमा मलाई नरमाइलो लाग्नु स्वाभाविक हो । यसअघि उनलाई मैले भेटेको पनि थिइनँ । यो पहिलो भेटघाटमै उनले आफ्नो बह पोखे । हुन त उनको मनको पीर म कुनै प्रकारले पनि हटाउन सक्तिनँ । मात्र सुनेर उनीप्रति सहानुभूति जनाउनेबाहेक मसँग कुनै उपाय छैन । यो कुरा उनले थाहा पाएर पनि उनी भन्दै जान्छन्— “मेरा पिताजीले मलाई भन्नुभएको थियो — ‘यो नेपालमा बाँच्नलाई बाङ्गो रुखलाई सोझो भन्नुपर्छ र कालोलाई सेतो भन्नुपर्छ, तर तँ त्यसो नभनेस् ।’ उहाँले यो पनि भन्नुभएको थियो— ‘अनुचित फाइदा उठाउने काम नगर्नू, त्यसबाट राष्ट्रलाई ठुलो घात पर्छ ।’ यही उहाँको आज्ञालाई पालना गरी मैले आजसम्म कुनै अनुचित फाइदा उठाउने काम गरिनँ, जसको फलस्वरूप मेरो ग्रुपमा म सबै पक्षमा गिरेको छु ।”
बिचैमा विक्रमले भने — “अहो ! उहाँ इन्जिनियरसाहेबको त के कुरा गर्नु ! मैले पनि ठेक्कापट्टाको काम गरेको दसौँ वर्ष हुन लाग्यो । सयौँ इन्जिनियर र ओभरसियरको सङ्गत गरेँ, तर उहाँजस्तो भने पाइनँ । दादालाई थाहा छ मैले धनकुटाको अस्पतालभवनको ठेक्का लिएको ? जम्मा छ लाखको ठेक्कामा दुई लाख पचास हजार त इन्जिनियरले मात्र लिए । म ठेकेदार, मलाई नै त्यो घर बनाएको चित्त बुझेको छैन । के गर्नु, आफूले भनेजस्तो नहुने ! उनले सिकाएजस्तो नगरे भवन पास पनि नहुने । उहाँ इन्जिनियरसाहेबलाई पनि यो सुनाइसकेँ । उहाँले मलाई भन्नुभयो, मबाट यो हुँदैन । ठिक छ ! उहाँले जे भन्नुहुन्छ हामीले गर्नु नै पर्छ ।”
विक्रमको कुराको सिलसिलामा तीर्थजी मलाई सम्बोधन गर्दै भन्छन् — “म भवनअन्तर्गत आजकल विक्रमजीले बनाउन लागेको भवनमा खटिएको छु । त्यस भवनको जगमा कङ्क्रिटिङ नगरी चार फिटको जगमा तीन फिट मात्र जग हालूँ, करिब चालिस हजार बचत हुन्छ, बिस हजार तपाईँ लिनुहोस् भनी उहाँले भन्दा मैले मानिनँ । कारण मैले यस्तो काम गर्ने विचार आफ्नो दिमागमा राखेकै छैन र आजसम्म गरिनँ पनि । यही मेरो कमजोरी भएको कारणले त कुनै योजनाको भाग मैले माथि प्रुयाउन सकिनँ । मबाट उनीहरूले केही प्राप्त गर्न सकेनन् । त्यसैले म अयोग्य भएँ ! केही नजान्ने भएँ !”
मैले उनलाई सम्झाउँदै भनेँ — “तीर्थजी ! यो त आ–आफ्नो प्रकृति र सिद्धान्तको कुरो हो । आज जसले अनुचित तरिकाले धन–सङ्कलन गरेका छन्, यस क्षणका लागि उनले आफूलाई खुबै बुद्धिमान् र बाठा सम्झेका होलान् । तर त्यो दिन पनि आउँछ, जुन दिन उनले शिर निहुराएर मर्नुपर्छ । तपाईँले आफ्ना पिताजीको आज्ञानुसार जो सिद्धान्त प्रतिपादन गर्नुभएको छ, त्यसमा तपाईँलाई आत्मगौरव हुनुपर्छ । सत्यनिष्ठा सधैँका लागि हुन्छ भने झूटो क्षणका लागि मात्र हुन्छ । त्यसैले जो तपाईँले सत्यतालाई अँगाल्नुभएको छ, त्यो नै तपाईँको विजय हो, हार होइन । ठिक छ, तपाईँलाई केही दिन दुःख दिए, प्रमोसन भएन, एउटा स्थिर र स्थायी कार्य भएन । तथापि अधैर्य नहुनुहोस् ! त्यो दिन पक्कै आउँछ ! त्यस्ता अत्याचारलाई प्रत्येक व्यक्तिले थुकेर समाज–बहिष्कार गर्छन् । तिनका अनुहार र छातीमा खाली खुट्टाले कवाज खेल्छन् र तिनका प्रत्येक रगतका थोपासँग यहाँको माटोले बदला लिन्छ । त्यति खेर तपाईँजस्ता इमानदारको कदर हुन्छ ।”
मेरो विचारलाई पुष्टि गर्दै विक्रमले भने — “हो, ठिक हो । हरेक कुराको सीमा हुन्छ । सीमा नाघेपछि कसैले सहन सक्तैन । यति भ्रष्टाचार भइरहेछ कि यो देशमा, बताएर साध्य छैन । काम गर्नेले अलिअलि खानु वा खान खोज्नु भन्ने कुरा साधारण हो । यहाँ त मूलबाटै उखेली जरैसमेत खान थाले । कसैलाई डर भएन । हुनु पनि कसरी ? सबै खान व्यस्त छन्, शुद्ध कोही छैनन् ।”
ठेकेदारीको अवधिमा विक्रमले विभिन्न मनोभावना भएका मानिसहरू भेटेको हुनुपर्छ । उनलाई यहाँको वर्तमान स्थितिको पूर्ण ज्ञान छ । हुन पनि किन नहुनु ? कामदार र श्रमिकहरूबिचमा रही चौबिसै घण्टा काम गर्नुपर्छ, ठेक्काको काम पूरा गर्न कर्मचारीको चाकरी गर्नुपर्छ । फेरि यो भ्रष्टाचारको मूल पनि त ठेकेदारी त हो ! सानो ठेक्कामा हजारको भयो भने ठुलो ठेक्कामा करोडको हुन्छ । त्यसैले विक्रमलाई यससम्बन्धमा पूरा ज्ञान छ ।
म विक्रमलाई सम्बोधन गर्दै भन्छु— “भाइ ! कुन त्यस्तो ठेक्कामा तिमीले बढी फाइदा उठायौ ?”
“कुन भन्नु खोइ, सानो–ठुलो गरी बिसओटाजति योजनाको काम गरेँ । धेरैमा त फाइदा भएन नै भने पनि हुन्छ । तीन–चार ओटा योजनामा त सोचेको भन्दा पनि बढी फाइदा भयो । त्यसैले सन्तुलनसम्म मिलेकै छ भन्नुप्रयो । जहाँसम्म बढी फाइदा उठ्ने कुरा छ, त्यहाँ नैतिकता र इमानदारीलाई छोड्नुपर्छ, फाइदैफाइदा छ ! यही योजना भन्ने कुरा छैन । आजसम्म मैले गरेको योजनामा उहाँ तीर्थ इन्जिनियरसाहेबबाहेक कोही इमानदार देखिनँ । उहाँलाई ‘इन्जिनियर अपवाद’ भने पनि हुन्छ । अरू जति पनि इन्जिनियर र ओभरसियर भेटेँ, खाने दाउबाहेक काम पक्कै छैन । हामीलाई कमभन्दा कम खान दिएर आफू बढीभन्दा बढी खान्छन् । यसैले कामको जिम्मेवारीका दृष्टिले विचार गर्ने हो भने यसै योजनामा बढी फाइदा भयो भन्न सकिन्न । नगदको दृष्टिले भन्ने हो भने सबै योजनामा फाइदै छ ।”
विक्रमको कुरा बिचैमा काट्तै तीर्थजी भन्छन्— “किन नकमाउनु ? जताततै कमाइ नै कमाइ ! ठेकेदारले होस्, इन्जिनियर एवं ओभरसियरले होस् या योजनासँग सम्बन्धित अरू अधिकारी र लेखापालले होस्, सबै त कमाइकै फेरमा छन् । योजनाको लक्ष्य एकतर्फ हुन्छ भने त्यसलाई पूरा गर्ने जिम्मेवारी लिएकाको स्वार्थ अर्कोतर्फ हुन्छ । परिणाम, योजना तहसनहस हुन्छ । हेर्नुहोस्, म दावाका साथ भन्छु, अहिले दस–पन्ध्र वर्षयता अधिराज्यभरि जति पनि भवन बनेका छन्, ती भवनहरूको कुनै ‘ग्यारेन्टी’ छैन । कुनै पनि समयमा चर्कनु, भत्कनुका साथै तुरुन्त पाताल हुन पनि सक्छन् । तपाईँले हालसालै खबरपत्रिकामा छापिएको समाचार पढ्नुभएको होला अथवा सुन्नुभएको होला, काठमाडौँको एउटा भवनमा बसेको मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयहरू रातारात त्यो भवन छोडी अर्को भवनमा सरेछन् । त्यो भवनमा कुनै पनि समयमा भत्कने लक्षणहरू देखापरेका छन् । भन्नुहोस्, कसले गरेको काममा को जिम्मेवार छ ?”
विक्रमले जानकारी पाएका रहेछन् त्यससम्बन्धमा । उनले तीर्थजीको भनाइमा सहमति जनाउँदै भने — “हो ! त्यो भवनका बारेमा मलाई पनि थाहा छ । करिब दस वर्षअघि मात्र सरकारी अमानतमा निर्माण गरिएको भवन हो । त्यस समयको खर्च र निर्माण भइरहेको भवन हेर्दा सयौँ वर्ष केही हुनु नपर्ने हो । अब यसबाट सहजै अनुमान गर्न सकिन्छ कि भवनमा निर्धारित लागतको पैँतिस प्रतिशत पनि लागेको छैन । बाहिरी रूप मात्र सिँगारेर चटक्क पारेको रहेछ । मैले पूरा अनुमान गरिसकेँ, भवनको कुन–कुन भागको काम नगरेर व्यक्तिगत स्वार्थको पूर्ति गरे ।”
ठेकेदार विक्रमलाई थाहा नहुने कुरै छैन । उनले सही ठेकेदारी गरेर कुनै हालतमा पनि पैसा कमाउन सक्तैनन् । उनले बारम्बर मलाई भन्थे — “के गर्नु दादा ! यो काम छोडेर अर्को काम गर्नुप्रयो ! यो चोरी–लुच्याइँ काम कति दिन गर्ने ? टेन्डर लड्न गयो, सबैभन्दा घटी नभई टेन्डर पास हुँदैन । काम नभएको झोकमा घटी नै दर कायम गरेर पनि काम लिनैप्रयो । नक्सा इस्टिमेटअनुसार काम गरौँ भने आफ्नो घरको पैसा लाग्छ । अनि के गर्नु, मनले नमानेर पनि देशलाई धोका दिनुपर्छ ।”
समय–समयमा विक्रमले गरेका अरू कुराहरू पनि मलाई सम्झना आउँछन् । एउटा ठेक्कामा उनले इन्जिनियरलाई मिलाउन नसकेकाले पचास प्रतिशत आफ्नो घरघरानाबाट नोक्सान परेको कुरा पनि मलाई बताएका छन् । विक्रमलाई यो ठेकेदारी लाइनको पूरा अनुभव छ — एउटा योजनाबाट सम्बन्धित अधिकारीले कति पाउँछन्, लेखापालले कति पाउँछन्, ठेकेदारले कति बचाउँछन् ।
केही क्षणको मौनतापछि मैले तीर्थजीलाई सोधेँ— “तीर्थजी ! तपाईँले धेरै कार्यालयमा काम गर्नुभएको रहेछ । तपाईँको अनुभवमा कुन कार्यालय तपाईँको अनुकूल हुन सक्यो ?”
मेरो प्रश्नले उनलाई अप्ठ्यारो पारेजस्तो लाग्यो । उनी निहुरिएर सोच्न लागे । फेरि मैले भनेँ — “तीर्थजी ! मेरो प्रश्न केवल ... !”
मेरो कुरा टुङ्गिन नपाउँदै उनले भने— “होइन ! यहाँलाई म भन्दै थिएँ । हेर्नुहोस्, साँच्चै भनूँ भने मेरो अनुकूल कुनै कार्यालय र योजना मैले पाइनँ । मैले अनुचित काम गरे सबै मसँग मिल्न सक्ने र सबैका लागि म राम्रो पनि । म तपाईँलाई स्पष्ट भन्छु, यो देशमा मेरो अनुकूलको कार्यालय पाइनँ र त्यस्तो कार्यालय छैन नै भने पनि हुन्छ । यसैले त कहिलेकाहीँ मलाई लाग्छ विदेशमा गई काम गरौँ ।”
उनी भन्दै जान्छन्— “हाम्रो देशमा जस्तो लुट त संसारको कुनै पनि मुलुकमा छैन । जति लुटे पनि छुट छ ।”
मैले उनलाई सम्झाउँदै भनेँ — “यो चरम सीमामा पुगिसक्यो । यसलाई कसैले सहन गर्न सकिरहेको छैन । यसका लागि विशेष व्यवस्थाको खोजीमा सबै लागिरहेका छन् । यसको अन्त्य हुने समय आइसकेको छ । तपाईँले जस्तै mव्यक्ति–व्यत्तिले असन्तोष व्यक्त गर्न थालिसकेका छन् । यसको आयु लामो छैन ।”
मेरो कुराको प्रतिक्रिया जनाउँदै विक्रम भन्छन्— “दादा ! जो तपाईँ भन्नुहुन्छ, त्यो हुन सक्तैन यो देशमा । यहाँका जनता हेर्नुहोस्, यहाँका हुनेखाने मानिसको मनोवृत्ति हेर्नुहोस् र जिम्मेवार अधिकारीको चित्तवृत्ति बुझ्नुहोस् । कुनै हालतले पनि यहाँ यसको अन्त्य हुँदैन । अझ यहाँ त होडबाजी चल्छ कसले बढी कमाउने भनेर । तपाईँ कुन वर्गलाई बढी नियन्त्रण गर्न सक्नुहुन्छ र कुन पक्षमा बढी निगरानी राख्न सक्नुहुन्छ ? असम्भव ! तपाईँलाई हाम्रो समाजका जान्ने–सुन्ने व्यक्तिहरूको अन्तस्करणको अभिप्राय के छ, थाहा छ ? मेरो छोरो पढे–लेखेर डाक्टर बनोस् या इन्जिनियर बनोस् । यदि प्राविधिक बन्न सकेको छैन भने प्रशासक बनेर धेरै पैसा कमाउने अड्डामा जाओस् भन्ने हुन्छ । यसैअनुसार जो गएका छन् यो देशमा हुने–खानेका रूपमा गनिन पनि पुगेका छन् । अब तिनका छोराछोरीलाई पनि त्यही बाटो ड्रोयाउँदै छन् । यो क्रमबद्ध चल्दै जान्छ । हेर्नुहोस् दादा ! कुनै पनि समाजमा धन हुनेको बढी बोलवाला चलेको हुन्छ । आजको समय धनको समय हो । तपाईँसँग धन छ भने सर्वशक्ति तपाईँसँग झुक्छ । म तपाईँको कुराप्रति विश्वस्त छैन ।”
मेरो साधारण विश्लेषणले जे देखेँ, त्यो भनेँ । विक्रमको तर्कपूर्ण कुरासँग म असहमत छैन, तथापि मलाई मेरो स्थितिको विश्लेषणप्रति पनि पूर्ण विश्वास छ । आज मेरो घरमा तीर्थजी आएर जो अवस्था मेरासामु राखे, निश्चय पनि यो सहन योग्य होइन । वर्तमान अवस्था वास्तविकतामा निन्दनीय स्थितिमा पुगेको छ । सम्पूर्ण समाजले यो अवस्थालाई सहन सकिरहेको छैन ।
तीर्थजी आफ्नो राय व्यक्त गर्दै भन्दछन् — “धेरै समयसम्म यही स्थिति रहिरहला भन्नेमा त म पनि विश्वास गर्दिनँ । यो वर्षाको भेल हो ! वर्षासम्म मात्र पानी धमिलो रहला । जब हिउँद आउँछ, आफैँ निर्मल, कञ्चन हुन्छ !” मैले तीर्थको रायलाई पुष्टि गर्दै भनेँ— “ठिक भन्नुभयो तीर्थजीले । जब चारैतर्फ पानीको अभाव र हाहाकार हुन्छ, सबै मूलहरू बन्द हुन्छन्, खोल्सा र खहरेहरू सुकेर जान्छन्, तब मात्र पानी निर्मल र शुद्ध हुन्छ ।”
यसैबिच तीर्थजी र विक्रमका लागि चिया आइपुग्छ । चियाका साथमा तीर्थजी चुरोट सल्काउँछन् । केही क्षणका लागि मेरो ड्रइङरुम मौन छ । केवल चियाको चुस्कीको मधुर ध्वनि मात्र गुन्जिरहन्छ । तीर्थजी चिया पिउँदा पनि केही सोचिरहेका छन् । म उनको अनुहार हेरेर सहजै अनुमान गर्न सक्छु कि उनी मसँग धेरै–धेरै आफ्ना व्यथा पोख्न चाहन्छन् ।
चियाको कप टेबलमा राख्तै विक्रम भन्दछन्— “यही विषयमा एउटा बडो रमाइलो घटना सुनाउँछु । कसरी चाँजोपाँजो मिल्ने रहेछ, सुन्नुहोस् ! करिब चार वर्षअगाडिको कुरा हो । कर्णाली अञ्चलको एउटा जिल्लामा एउटा झोलुङ्गे पुल बनाउनुपर्ने रहेछ । काठमाडौँबाट त्यस पुलको निर्माणको ठेक्का बन्दोबस्त भयो । करिब दस लाखमा मेरै साथी नजरमानले ठेक्का सकारे । त्यस योजनाका लागि एक जना ओभरसियर पनि खटिए । दुर्गम क्षेत्र भएको हुँदा ठेकेदारले केही पेस्की पनि पाए । बाँकी रकम ओभरसियर र दुई जना जनप्रतिनिधिको जिम्मा लगाई विभागले योजना सुरु ग्रयो । ठेकेदार काठमाडौँबाट बाहिर जानुपरेन । ओभरसियर बिदा मनाउन आफ्नो तराईको घरतर्फ तीन महिना बसेर आए । जनप्रतिनिधि प्लेन चढी दुई–तीन पटक जिल्ला ओहोरदोहोर गरे । पुल बनेर मानिसलाई सुविधा भएको कुरा पनि रेडियोले जिल्ला समाचारमा प्रसारित ग्रयो । फेरि पुल खोलाले बगाएको कुरा राजधानीबाट प्रकाशित हुने समाचारपत्रले छाप्यो । नजरमानसमेत चार जनाले बराबर हिस्सा बाँडे । पुल बनेको छैन भनेर कसैले प्रमाणित गर्न सक्ने कुरै भएन । पुल ठेक्का भएदेखि पुल बनेर खोलाले बगाएसम्मको प्रमाण दुरुस्त बनाएपछि कसले के गर्न सक्ने ? यसरी प्रमाण प्रुयाएर कार्य गरेपछि कसरी भ्रष्टाचार गरेको ठहर्छ ?”
विक्रमको भनाइले तीर्थजीलाई नमिठो हाँसो फुटायो । विक्रमसँग यसविषयमा अझ जानकारी लिन तीर्थजीले सोधे—“होइन, ठेकेदार र ओभरसियर योजनास्थलमै नपुगीकन पैसा पचाए ?”
“हो, किन पुग्नुप्रयो योजनास्थलमा घरमा बसी–बसी सबै प्रमाण बनेपछि ? जनप्रतिनिधिले साबिकको काठको साँघु खोलामा फालेर, साँघु खोलाले बगाएको सरजमिन मुचुल्का तयार गरे । झुट त कहाँ गरे र ? सानो काठको पनि साँघु नै हो, ठुलो फलामको पनि साँघु नै हो ! साँघु खोलाले बगाएको पनि पक्कै हो !” मैले जान्न खोजेँ — “त्यसो भए रेडियो–प्रसारण र समाचारको छपाइ आधिकारिक समाचार होइन रहेछ ?”
“हो !”
“कसरी प्रसारण भयो त ?”
“जसरी पहिलेदेखि भइआएको छ ।”
तीर्थजीले मलाई सम्झाउँदै भने — “हो ! यस्तो प्रमाण त मैले पहिले पनि पाएको हुँ ।” छोडिदिऊँ यो कुरालाई । म तपाईँहरूलाई अर्को रमाइलो कुरा सुनाउँछु ।
एक विभागले कुनै ठेकेदारलाई एउटा निश्चित ठेक्का पूरा गर्न सम्झौता ग्रयो । काम सुरु पनि भयो । ठेकेदार विदेशी थिए । उनले सोचे, मौकाको फाइदा किन नउठाउने ? यिनीहरूसँग पैसा छ, बुद्धि छैन । यसैबिच मन्त्रालयमा आवेदन गरेर सचिवजीसँग साँठगाँठ मिलाएछन् । दिनेले आफ्नो घरको सम्पत्ति दिनुपर्ने होइन । एक करोड रुपियाँ अर्कै विदेशी कम्पनीसँग ऋण झिकी ठेकेदारलाई मेसिन–औजार किनिदिएछन् । सम्झौता–सर्तअनुसार ठेकेदारले उक्त मेसिन–औजार चलाएबापत तोकिएबमोजिम बहाल बुझाउनुपर्ने रहेछ । नयाँ मेसिन–औजार चलाई ठेकेदारले काम पूरा गरे । ‘तिम्रो जुत्ता तिम्रै थाप्लोमा’ भनेजस्तो बहाल न सहाल, थोत्रो फलामे माल छोडी ठेकेदार चम्पट भएछन् ।”
तीर्थजी भन्दै जान्छन्— “कति गरूँ यस्तो कुरो, जति गरे पनि सकिँदैन । जता ह्रेयो यस्तै छ । म खानेपानीमा छँदा त्यस्तै भयो । पानीको पाइप राख्नुपर्ने हेभी, राख्छन् लाइट । मतलब कम मूल्यको । ‘किन यसो गरेको’ भन्दा ‘यो माटोमुनि रहने त हो नि, जस्तो राखे पनि केही वर्षमा फेर्नु नै पर्छ’ भन्ने जवाफ पाएपछि के गर्ने ? मैले यही देखेँ । कसैमा पनि नैतिकता छैन । यो केवल फटाहा, लुच्चाले मात्र बस्ने ठाउँ रहेछ । म त अब विदेशतिरै गएर काम गर्छु ।”
विक्रम बिचैमा बोल्छन्— “हाम्रा इन्जिनियरसाहेब सधैँ यही भन्नुहुन्छ । आखिर जहाँ गए पनि काम नगरी खान पाइने होइन । तपाईँजस्ता इन्जिनियर यो देशमा थोरै छन् । तपाईँको यहाँ जति इज्जत हुन्छ, अन्यत्र हुँदैन । तपाईँ यहाँको हावामा मिल्नुभएको छैन । मिलेपछि छोड्न पनि सक्नुहुन्न ।” “हेर्नुहोस् विक्रमजी ! मैले आफ्नो नैतिकता बेच्ने हो भने पहिले नै बेचिसक्थेँ । आजसम्म आफूलाई बचाएर राखेको छु । म एक्लो परेकोले नै विदेशिन खोजेको हुँ । सुन्न र देख्न नपरेपछि सन्चै हुन्छ ।”
मैले तीर्थजीलाई सान्त्वना दिँदै भनेँ — “तपाईँ जो सोच्तै हुनुहुन्छ, त्यो तपाईँको कमजोरी हो । तपाईँले बस्नुपर्छ यो देशमा, त्यो तपाईँको जीत हो ! समयको प्रतीक्षा गर्नुहोस्, त्यो मौका जरुर आउँछ !”
उनी बिस्तारै भन्छन् — “यहाँले ठिक भन्नुभएको हो ! तर के गर्नु, दस वर्षदेखि बिनाधागोको चङ्गा भएर घुमिरहेको छु ।”
यसैबिच विक्रम सोफाबाट जुरुक्क उठी घडीतर्फ हेर्छन् र हतारिँदै भन्छन् — “अहो ! आज दोस्रो तलाको ढलानका लागि सिमेन्ट र छड ल्याउनुपरेको थियो ।” मैले उनलाई भनेँ — “आज दिनभर फुर्सद लिएर आएको होइन र ? भर्खर एक बज्यो, केको हतार ?”
“एक घण्टाजति नै बसिएला भनेर आएको, तीन घण्टा भइसकेछ । मैले रुपियाँ छोडेको छैन । अरु इन्जिनियर भएको भए मसँग भएको तीन सय बोरा सिमेन्टले नै काम चलाउँथे । के गर्नु, तीर्थ इन्जिनियर साहेब मान्नु हुन्न । फेरि मलाई लप्पन–छप्पन गर्न मन पनि लाग्दैन ।”
उनको कुरालाई जोड दिंदै मैले भनें– “हो नि थोरै सिमेन्ट प्रयोग गरेर ढलान गर्दा फर्मा झिक्दा ढलान ओइरियो भने अर्को आपत !
उनले हाँस्दै भने— “ए, त्यस्तो त हुँदैन । पचहत्तर प्रतिशतसम्म सिमेन्ट कटाउँदा पनि ढलान त बस्छ, तर जति टिकाउ हुनुपर्ने हो त्योचाहिँ हुँदैन । तपाईँलाई साधारण नमुना दिऊँ । कोठा या घरको प्लास्टर गर्दा एक– चारको हिसाबले सिमेन्ट लाउनुपर्छ । तपाईँ एक–आठले लगाउनुहोस्, त्यति फरक पर्दैन । यसरी पचास प्रतिशत सिमेन्ट बच्न आउँछ । यो हिसाब ठेकेदारीको हो । आफ्नो घरमा भने प्रयोग गर्नुहुँदैन ।”
विक्रम हतारिन थालिसके । म भने तीर्थजीसँग अझै केही कुरा गर्ने पक्षमा छु र तीर्थजी पनि मसँग कुरा गर्न उत्सुक देखिन्छन् । विक्रमलाई रोक्तै मैले चियाको बार हालेँ ।
“ठिक छ, बरु चाँडो गरूँ ।” — विक्रम फेरि सोफामा बस्दै भन्छन् — “तपाईँहरूको आज कुरा टुङ्गिएन भने अर्को दिन भेटघाट गर्ने निश्चित गरौँला, हुन्न ?”
मैले तीर्थजीलाई सम्बोधन गर्दै भनेँ — “सबैभन्दा बढी खर्च गर्ने कार्यालयहरू कुन–कुन होलान्, यहाँलाई थाहा छ कि ?”
उनले तुरुन्त जवाफ दिए—“सडक विभाग त हो नि ! यो वर्ष मात्र करिब पौने एक अरब रुपियाँ खर्च गर्ने निधो थियो ।”
“कस्तो प्रगति भएको छ ?”
“कस्तो प्रगति भन्नु, ढाँटका निम्ति खाइपत्याएका छन् ।” “मतलब बुझिनँ मैले ।”
“कुरा सीधा छ । ठोस काम भएको कुनै देखिँदैन । योजनाको रकम पचास प्रतिशत पनि योजनामा सदुपयोग हुँदैन, के भन्नु ?”
उनी फेरि भन्दै जान्छन् — “यसै विभागअन्तर्गत चलेको एउटा ठेक्काको सम्बन्धमा तपाईँलाई बताउँछु । महेन्द्र राजमार्गको एउटा सानो खण्डलाई भएको बाटो बढाई पिच गर्न एउटा विदेशी कम्पनीलाई नौ करोडको ठेक्का दिइयो । काम लिएको एक वर्षमा काम समाप्त गरी भुक्तानी लिएर ठेकेदार हिँड्नेबित्तिकै बनाएको सबैजसो बाटो फुट्न–भत्कन थाल्यो । यस्तै छ ! जहाँको बयान गरे पनि सकिँदैन । सम्झँदै गयो झन् आफूलाई डाहा हुन्छ । देखेपछि भन्न मन लाग्छ । भने वैरी भइन्छ । यसैले त यहाँ मलाई बस्न मन लागिरहेको छैन ।”
तीर्थजी सुस्केरा हाल्दै गोजीबाट चुरोट निकाल्छन् र सल्काउँछन् । चुरोटको धुवाँमा आफ्नो आँखालाई अलमल्याएर बस्छन् । सायद हतारिएर होला । विक्रम चिया चाँडो भन्न ड्रइङरुमबाट बाहिर निस्के ।
एक छिनमै विक्रम सँगसँगै तीन कप चिया हाम्रो टेबलमा आइपुग्छ । म र विक्रम दुवैले चियाको कप समातिसक्यौँ । तीर्थजीको हातमा चुरोटको ठुटो सल्कि नै रहेको छ । तीर्थजीलाई बिउँझाउँदै मैले भनेँ— “तीर्थजी ! चिया लिऊँ । आज विक्रमलाई अबेर भएको छ । दुई–चार दिनपछि धेरै समय बस्ने गरी आउनुहोस्, फेरि बसौँला ।”
यो देशमा आफूलाई मिलाउन नसकेका तीर्थरत्नजी विदेशिने तरखरमा छन् । उनको प्रत्येक भनाइमा निराशा र असन्तोष व्याप्त छ । हुन पनि तीर्थजीजस्ता इमानदार व्यक्तिको खाँचो यो देशले बुझेको छैन अहिले । साथै, तीर्थजीले यो देशमा आफ्नो मूल्य सम्झेका छैनन् । फेरि मैले भनेँ — “तीर्थजी ! दुई–चार दिनपछि जरुर आउनुहोला ।”
दुवै नमस्कार गर्दै मसँग बिदा हुन्छन् । तीर्थजीले पिएर उडाएको ड्रइङरुमभरि छरिएको धुवाँमा म एक्लै केही क्षणका लागि हराउँछु ।