बारमा तेस्रो पटक भेट भएपछि उसले मलाई आफ्नो घर विशालनगरमा निम्त्यायो । उसको घर शिरीषका रूखहरूले घेरेको क्याम्पभित्र रहेछ । हामी त्यहाँ पुग्दा मध्याह्न भएको थियो र ठीक त्यही याम जहिले यी रूखहरूले आफूलाई नीलै बनाएर फुलाउँदछन् । घरको दायाँपट्टि ग्यारेजजस्तोमा एउटा पुरानो मोडेलको निजी मोटर राखिएको थियो । अलिक पर धेरै पञ्चरङ्गी फूलहरु बगल लगाएर फुलाइएका, बीचमा एक चोक्टा हरियो चौर नीला शिरीषका फूलहरूले झन्डै छोपिएको, ठीक त्यसै बीचमा मैले एउटी स्वास्नीमान्छे देखें छब्बीस वर्षकी ।
मेरो साथीले थाहा नपाउँदै मैले उसको रूपरङ्ग, लुगा लगाइ, उँचाइ, मोटाइ, हेराइ, हिंडाइ सबै पत्तो लगाएँ । सेतो सारी, सेतो ठुटे चोलो, लामो खुला केश, नराम्री भन्न नसकिने थिई ऊ । उसले हामीलाई हेरी, त्यही निधार खुम्च्याएर, त्यसपछि उत्सुकता नदेखाएरै ऊ इनारतिर लागी । म पनि उत्सुकतावश हेरिरहने मान्छे होइन । ममा केही विशेषता छैन ।
मेरो साथी भन्दै गइरहेको थियो “घर त अनकन्टारमा छ, तर असुविस्ता केही छैन… हो” । भन्दाभन्दै हामी मूल ढोकामा आइपुग्यौं । नीलो फूल र एउटी स्वास्नीमान्छे मेरो आँखाबाट ओझेल भइसकेका थिए ।
ऊ भन्दै थियो “यो तल्लो तला पनि बस्न लायकको छ, तर यहाँ कोही बस्दैन, खाली छ ।”
हामी भर्याङ उक्लन लागिसकेका थियौं । दोस्रो तल्लाको मटानको झ्यालनेर मैले अर्की स्वास्नीमान्छे देखें सोह्र वर्षकी । स्वास्नीमान्छेको उमेर पत्तो लगाउनु मेरो निम्ति कुनै समस्या होइन । ऊ केही अँध्यारो रोगनको तर आकर्षक टाइट कुर्तासुरुवालमा थिई । केही हतारिंदै ओर्लेर गई । मैले आँखा मात्र घुमाएर उसको आकर्षक नितम्बलाई हेरिरहें । यस स्थितिलाई आँखाभरि टिप्न नपाउँदै हामी दोस्रो तलाको मटान पार गरेर तेस्रो तलामा आइपुग्यौं । मेरो आँखाबाट एउटा झ्याल र एउटा आकर्षक नितम्ब ओझेल भइसकेको थियो । हामी छेउको ढोका खोलेर एउटा सुसज्जित ठूलो कोठाभित्र पस्यौं । केही ठूलठूला कोचहरू, केही ठूलठूला तस्वीरहरू, बीचमा सिङ्गमर्मरको गोलो टेबुलमाथि झ्याम्म पारेर शिरीषको फूल एउटा फूलदानमा सजाइएको थियो ।
फूलदान देख्नासाथ मैले झट्टे चौरको एक टुक्रामाथि हिंडिरहेको दुईवटा खुट्टाको सम्झना गरें, यो फूलदान अवश्य तिनै हातहरूले भरिएको हुनुपर्छ । कोठामा एक प्रकारको रमाइलो व्याप्त थियो । ऊ आफ्नै सिलसिलामा भन्दै गइरहेको थियो “हामी जाहान थोरै छौं, चुरुट लिनुस् । मेरो मुआ हुनुहुन्छ, बुबाको स्वर्गे भएको धेरै भइसक्यो । मुआ पनि मधेस जानुभएको छ, घरमा अहिले हामी चार जना मात्र छौं नोकरचाकरबाहेक ।”
मैले अड्कल लगाएँ । एउटा शिरीषको फूल, एउटा मटानको झ्याल, एउटा यिनै आफैं र अर्को ? अर्को को यिनी त अविवाहित हुन् । चुरुटको धूवाँमा उत्सुकता रिंगिंदै मेरो वरिपरि तथा उसको वरिपरि घुमिरहेको थियो । झ्यालबाट उसको पर्खालको छेउछेउमा लगाइएका शिरीषका नीला नीला फूलहरू हावामा हल्लिरहेका थिए र यिनैको फेद-फेदमा अरू कोही शायद ।
ऊ भन्दै थियो “मुआबाहेक मेरा तीन जना बहिनी छन् ।” उत्सुकताको एउटा लहर समाप्त भयो, मैले कानको नसालाई केही टड्कारो राखें ।
‘अघि फूलबारीमा उता गइरहेकी थिई, ऊ मेरी बहिनी, उसको नाउँ ‘मुजुरा’ हो ।”
‘मुजुरा’ मैले मनमनमा दोहोऱ्याएँ, मान्छेअनुसारको नाउँ पनि मीठो ।
“उसलाई अक्षर-ज्ञान दिइएको छ, घरमै बस्छे, विवाह भएको छैन ।”
मैले एउटा सुखको अनुभव गरें ।
ऊ भन्दै थियो “मेरी माहिली बहिनी !”
“मेरो नाउँ सकमबरी ।” बुलेट पड्केको जस्तो आवाजसाथ ढोकामा अर्की स्वास्नीमान्छे देखापरी चौबीस वर्षकी, मैले तर्सेर ढोकामा हेरें । पाँच फूट तीन इन्च जति अग्ली, सेती, बेपत्ताको दुब्लो शरीरमा अस्वाभाविक उठेको छाती, कोप्चो तर कालो र चम्किलो आँखामा रोल्डगोल्डको फ्रेम भएको चश्मा लगाएकी, पुरानो हिब्रू सिपाहीहरूको जस्तो एक इन्च डेढ इन्चको हिसाबले छाँटेर मुडुल्याएको बालभित्र सानू सेतो कानमा कालो ढुङ्गाको टप लगाएकी, भित्र पसी स्थिति जाम पर्यो । नाउँमा, व्यवहारमा, रूप-रङ्गमा पालैपिच्छे हाँस्न पर्ने मेरो खित्कामा पनि जाम पर्यो । जम्मा मिलाएर म हाँस्न पनि सकिनँ । केही पनि गर्न सकिनँ । मेरो साथीले लाज अनुभव गरेको मैले प्रस्ट देखिसकेको थिएँ ।
केही रातो भएर लाज पचाउँदै उसले भन्यो “यो मेरी बहिनी आई. ए. मा फस्ट डिभिजनमा आई र यता शारीरिक कमजोरीले गर्दा घरमा बसेकी छ ।” उसले नाउँ बताइदिएन र मैले लगत्तै बिर्सि पनि हालें । ‘नमस्ते’ मैले टाउको उठाएर हेर्दा ऊ आफ्ना झीना सेता औंलाहरूले अभिवादन बनाएर मलाई ठीक चुल्बुले बिरालीका जस्ता जिस्क्याउने आँखाहरूले हेरिरहेकी थिई । सिङ्गमर्मरको टेबुलमाथि राखिएको क्याप्सटन चुरुटको बट्टाबाट दुईवटा चुरुट झिकेर ऊ लमकलमक ढोकातिर गई । स्थिति अझ ठेकानमा आइपुगेको थिएन । मेरो साथीले शायद सबै आकस्मिकताहरूलाई ढाकछोप गर्नेको उद्देश्यले ऊ ढोकामा पुग्दा पछिबाट बोलायो “बरी ! चिया लिएर आउनू ।”
कुन्नि के बरी, कस्तो बरी, परिचयको क्रमशः आइरहेको सिलसिलामा एउटा पहिरो भत्काएर गई बरी, उसलाई सम्झिन अब छुट्टै समय चाहिन्छ, यहाँ साथीसँग बिताइरहेको समयले पुग्दैन । उसलाई सम्झिन अब एउटा कोठा चाहिन्छ, एउटा एकान्त चाहिन्छ । शिरीषको फूल स्मृतिमा त्यसै पुष्टिएर गयो, मटानको झ्याल अब उसको परिचय सोध्नु या भन्नुको कुनै तात्पर्य देखिएन । ऊ अवश्य यिनकी कान्छी बहिनी हुनुपर्छ र त्यस्तै कुनै बेपत्ताको नाउँ राखेकी होली । उसको परिचय पनि त्यो दिन अँध्यारैमा पर्यो ठीक उसको रोगनजस्तै अँध्यारो रङ्गमा ।
मेरो साथी अझ के-के भन्थ्यो कुन्नि, तर अलमलिरहेको जस्तो देखिन्थ्यो । स्थितिलाई पचाएर पनि शायद उसलाई पचाएजस्तो लागेन होला । ऊ छिटो-छिटो चुरुट तान्दथ्यो, घरी-घरी ढोकातर्फ हेर्थ्यो । म खोक्ने बहानाले उठेर झ्यालसम्म गएँ । त्यसपछि त्यहाँ न बरी नै आई न अरू कोही । नोकरको हात चिया आयो । हामी धेरै बेरसम्म घरको विषयमा, नोकरीको विषयमा कुरा गरिरह्यौं । बिदा भएर फर्कंदा बैठक कोठादेखि लिएर क्याम्पाको निस्कने ढोकासम्म कोही थिएन, एकदम चकमन्न थियो ।
० ० ० ०