डेथ भ्याली, डेथ भ्याली यस्तो पो जीवनको बोझ बोक्नुको अर्थ । यो पो हो एउटा लाश बाँचेर आएको जीवन, रित्तिएर आएको जीवन । आसामको सिमाना, मिसटीनमा मुसरीदाल र भात पाथी खाँदै मैले सम्झेको हुँ । अब ममा केही छैन, यो भ्वाङप्वाले पाइजामा र कमीजभित्र बसेको अस्तित्व विषुवत् जङ्गलको औले जरोले मार्न नसकेको मेरो शरीरमा अब केही छैन । शून्य छु बिलकुल, मेरा पापहरू जसलाई म मान्न तयार छैनँ, यति पाप हो भने धोइदिसक्थ्यो यो डेथ भ्यालीले । म निस्सार बाँचेको छु, अब स्वदेश जान पाइन्छ । तीन मिसटीन चुली भात, च्याङ्लो दाल, फर्सीको तर्कारी, अमृतजस्तै विचारधाराले मलाई डेथ भ्यालीमा पुऱ्याउँछ ।
किन बाँच्ने ? कसरी जिउँदो पुग्ने ? तर लाशजस्तो शरीर एकनास घस्रिरहेकै छ । छोडिदेऊ ! छोडिदेऊ ! बिरामीहरू आउन् अर्थात् मरे मरुन् अब मानवताले हात धोइसकेको छ । हरेश खाने ? क्या हो क्या हो बाँचिने हो कि ? सास छउन्ज्याल आश हुन्छ । काँचो आँप र खोर्सानी खाने हुँदा आउँ परेको छ, औले जरोको शिकार भएको छ । विषुवत् र रेखीय वनको बडेमा लामखुट्टेले कृपा गरिसकेको छ । खुट्टामा जुत्ता छैन । सब सपनाजस्ता भइसकेका छन् । सुबेदार सुयोगवीर सिंहको खाइलाग्दो शरीर टाट पल्टिसकेको छ । अनुहारमा चाया परिसकेको छ, हिंड्ने सामर्थ्य छैन, तर मर्न मन लाग्दैन ।
सम्झन्छु, किन मर्ने यहाँ कीराफट्याङ्ग्राजस्तो, हिंड्दै जाऊँ, हेरूँ, के हुन्छ, तर हात-खुट्टा गलेर आउँछ । खुकुरी छैन, वीरता छैन, धाक छैन, रवाफ छैन, मसँग आइरहेको साथीलाई बिन्ती गरेर भन्छु, “आज कतै बास बसौं, जरोले साह्रै विधि जीउ गलेको छ ।” साथीले एक झोला काँचो आलु ल्याएको छ, सलाई छैन, काँचो आलु ऊ खाऊँ भन्छ, “आज प्यारसुटले खाने सामान झारेको थियो यहाँ मर्दै गर्नेहरूको निमित्त, तर चियापत्ती मात्र रहेछ ।” दुवै निराश हुन्छौं । पेट मुसार्दै फेरि ऊ भन्छ, “यी ट्याङ्काहरूमा कति सामान होला अन्दाज गर त ?”
उसको आँखामा लोभको झिनो पर्दा देखिन्छ, यसै बेला ऊ मानिस हो कि भन्ने भान हुन्छ । बृटिशहरूले छोडेका गहुँगा बाकसहरू सब ताल्चा मारेका छन्, भित्र कति हीरामोती होला, सुन होला, चाँदीका सिक्का होलान्, सुनमा सन्तुलित कागजका नोटहरू, पार्कर र सेफर फाउन्टेनहरू के के, आह ! याल काडेर हामी त्यो बाकस हेरिहरन्छौं ।
“त्यो बाँसघारीभित्र एउटा टुक्रो ओभानो ठाउँ रहेछ, आज त्यहीं सुतौं है सुयोग ?” म घस्रिंदै त्यहाँ पुग्छु । साँझको रात घाम पोखिएको बाँसघारी- छेवैमा सानो कुलो बगिरहेको छ, म मुख जोतेर तिर्खा मेट्छु फेरि ओभानो ठाउँमा आएर पल्टन्छु । मेरो साथी एउटा टीनको टुक्राजस्तो हतियार उध्याइरहेको छ मलाई हेर्दै जोश देखाएर भन्छ, ” हिजोको जस्तो मरेको गाई भेट्टायो भने काम लाग्छ ।”
“काँचै खाने ?” मेरो स्वर कामिरहेको हुन्छ ।
“एकछिन घाममा सुकाउनुपर्छ ।” मभन्दा ऊ धेरै फूर्तिलो देखिन्छ किनभने उसलाई कामजरोले छोएकै छैन । उसलाई हेरेर र आफैँलाई हेरेर म सम्झिरहेछु, यस्तो अवस्थामा जे पनि खाइन्छ, जसरी पनि खाइन्छ । हामीलाई सास फेर्नको निम्ति जिउनुपर्छ । जाँडका कीराजस्ता मानिसहरू हामी, हामीलाई हाम्रो अस्तित्व जहाँ पनि कायम राख्नुपर्छ । यहाँ हामीले आत्महत्या गरिदिए के हुन्छ ? किन बाध्य भएर घस्रिरहन परेको हामीलाई गोब्रेकीराजस्तो । हामी खालि खानका निम्ति जन्मेका । अहिले त हामी जे पनि खाइरहेका छौं । शताब्दीपछि मान्छेका जमात किटाणुसरि भएपछि के खाने ? हामीलाई ढुङ्गामाटोले पुग्दैन । रुखपात खाइसक्छौँ अनि यो पृथ्वी सलहले उजाड पारेको वन जस्तै हुनेछ, चिल्लो र नाङ्गो । खानेकुरा सम्झँदा सम्झँदै म आँखाअघि अफिसरहरूका मेस टेबुल देख्न थाल्छु-रोस्ट, पुडिङ्ग, पराठा । मेरो मुखभरि पानी भरिएर आउँछ । अस्तिको दिन भगुवां शिखसँग खोसेर हामीले एक-अर्कालाई फाँको काँचो चामल पाएका थियौँ, आज काँचो आलु, भोलि के खाने ? एक-अर्कालाई खाने कि आफ्नै मासु खाने ?
रात पर्छ, जङ्गली कीरा-फटेङ्ग्राहरूको टिनिन आवाजसँगै आफ्नो नातागत शरीरबीच हल्लिरहेको मुटुको ढुकढुकी म सुन्छु । पटाकपुटुक खोक्रो बाँस पड्कन्छ । जराको रापले शिथिल भएको छु । घाँटी सुकेको छ, कहाँको चुरु र अये ! कल्पनामा म घ्याम्पोभरि निगार देख्छु र थुक निल्छु । मेरो साथीलाई निद्रा पर्दैन र सन्नाटालाई चिर्दै ऊ मलाई बोलाउँछ “सुयोग…!”
“हँ, किन बोलाएको ?”
“तिमी निदाएका छैनौ ? युद्धले हाम्रो के हाल बनायो हगि ? बाँचेर पुग्न सकौंला के हामी ?”
“के मरेर पुग्ने आशा गरेका छौ ? जिउँदै पुग्छौं, हरेश नखाऊ ।” मलाई विरोध जागेर आउँछ र जरोमा धताएको जस्तो कराउँदै जान्छु, “यो लडाइँ जित्नु र हार्नुसँग हाम्रो के स्वार्थ ? बाँचेर गयौं भने पनि हाम्रो विश्वासको आधार केही हुने छैन । विशेष मेरो, विशेष मेरो, अँ मेरो ।”
“धेरै नबोल सुयोग ! जरो बढ्यो भने भोलि हिँड्न सकिँदैन ।”
भोलि हुन्छ । टन्टलापुर घाममा तेर्सिको ढुङ्गे पहाडको उकालोमा धरमरिंदै हामी हिंडिरहेका छौं । ढुङ्गाको कापमा कतै-कतै गुराँसका पुड्का झ्याङहरू देखिन्छन्, म विचार गर्छु, हाम्रो देशमा पनि राताम्मे गुराँस फुल्छन् आह ! लालिगुराँस ।
तर हाम्रो देशमा गुराँसको बोट यति पुड्को हुँदैन । मलाई घरको सम्झना आउँछ । रुन मन लाग्छ गुराँसको फेदमा । एउटा ओसिलो ठाउँ, हिमाली चिसो हावा, हरियो बगेको पानी । पार्थक्यको कत्रो अभिशाप ! हरे ! घामले डढेको ढुङ्गे गोरेटो, बमले घाइते बनाएका गुराँसका बोटहरू, यिनीहरूकै फोसिलले एक दिन शायद देखाइदिनेछ हामी कत्रो अभिशाप खपेर जीवन नाउँको बोझलाई काँधमा हालेर यहाँ हिंडेका थियौं ।
छेवैमा बगल लगाएर सुताइएकी एउटी पञ्जाबिनीको लाश र मुन्टोमा मुख गाडेर एउटा बच्चाले दूध पिइरहेको छ । यो जस्ताको तस्तै उत्रिनुपर्छ फोसिलमा र म गिद्धहरूलाई पुकार गर्छु ‘नगाजे है यिनीहरूका लाशलाई, यो युद्धको स्मृतिचिह्न हो ।’
गढेका आँखा, दाह्री जुँगा खौरन नपाएर कालाम्मे अनुहार, धुजाधुजा परेमने पाइजामा, बीस ठाउँ फाटेको कमीज । मलाई हेरेर साथी हाँस्छ र उसलाई हेरेर म । हाम्रो हाँसो असाध्य मरन्च्याँसे हाँसो, टीठलाग्दो हाँसो । छेउछाउका ढुङ्गाहरूलाई मानिसको प्रगति देखेर शायद यस्तै मरन्च्याँसे हाँसो हाँस्न मन लाग्दो हो ।
दिन बित्छ, रात बित्छ र महिना बित्छ । हामी बाँचेर आएका छौं आसामको सीमानामा । हाम्रो अस्तित्व हामीसँग फर्केको छ र म मुसुरी दाल खाँदै विचार गरिरहेछु । अब उप्रान्तको हाम्रो जीवन, मेरो जीवन । खोइ भी. सी., खोइ तम्का, खोइ स्याबासी ! मभित्र एउटा मूल्यहीन मुटु, अपराधका खाटा बसिसकेका दुई-तीनवटा खतहरू, एउटा सास फेर्ने फोक्सो बस । सकमबरी ! म आफूभित्र एउटा मरुभूमि होइन त ? एउटा मुर्दाघर होइन त ? मेरो प्रेम गर्ने अधिकार खोसियो भन्ने के प्रमाण छ ? यौटा बूढो रक्याहा सिपाहीलाई तिमी मरे पनि आफ्नो आश्रय दिन तयार हुन्नौ, यो थाहा छ, तर किन – किन भौँतारिरहन मन लाग्छ कल्पनामा तिम्रो कार्टुन शरीरलाई च्यापेर । सधैं मेरो पहुँचबाट एउटा सुनौला टाउको फुस्कन्छ, टाढा पुग्छ, म जिल्लिएर हेरिरहन्छु ।
० ० ० ०