हिउँदको निखारले टड्कारा बनाइराखेका काठमाण्डूका वन, पहाडहरू वसन्तसँग एकपल्ट जम्काभेट गर्न क्रमशः नीला हुँदै गइरहेका थिए । क्षितिजमा एक धर्सो बसिसकेको पातलो तुवाँलोको बीचबाट सधैं घाम उदाउँथ्यो, सधैं अस्ताउँथ्यो । सधैं म आफूलाई अव्यक्त अवस्थामा टोलाएर हिंडिरहेको थिएँ । कति भावनाहरू, कति प्रेरणाहरू, कति बिन्तीहरू म आफैंमा उदाउँथें, अस्ताउँथे । साझै गएर प्रेम पोख्ने तथा छिठ्ठी लेख्नेजस्ता सस्ता कामहरू मबाट नहुने । कुनै पनि किसिमको अभिव्यक्ति मलाई नसुहाउने, आफू धृष्टता गर्न नसक्ने साथै सहन अथवा भुल्न पनि नसक्ने । सधैं हेरी हीन अवस्थामा म बितिरहेको थिएँ ।
एकपल्ट चौरमा बसी दिदी बहिनी गफ हाँक्न लागेका थिए । मेरो त्यस घरमा जानुमा उनीहरू कुनै सन्देह गर्न सक्दैनथे । म जहिले पनि जान्थें, तर एउटा कुरा फूलबारी, शिवको बैठक र मुआको कोठासिवाय अरू कोठामा मैले चिहाएरसम्म हेरिनँ । बरी शिवको बैठकमा धेरैजसो हुन्थी । मलाई देख्नासाथ बरीले के भनी कुन्नि मुजुरा हाँसी । ऊ आफू नहाँस्ने मान्छे । सुनगाभाको झ्याङ छेउछाउतिर डुल्ने बहाना गर्दै म उनीहरूको कुरामा ध्यान दिइरहेको थिएँ ।
बरीले चिच्च्याएर भनी, “सुयोगजी ! यता आउनुस् त ।” म नजिकै गएँ ।
बरीले ठट्यौली अभिव्यक्ति दिँदै भनी, “आजभोलि तपाईंलाई के भएको छ हँ ?”
मुजुरा नहुँदी हो त भन्ने थिएँ मलाई के भएको भनी । उसले लगातार भनिरहेकी थिई, “कालै डढिसक्नुभो । रक्सी मात्र कति खानुहुन्छ कुन्नि । आँखा हेर्नुस् कस्ता राता-राता भइसके । ओठ किन त्यस्तो नीलो भएको नि, नीलोतुथोजस्तो ।”
मुजुरा आफूलाई थाम्न नसकेर कोल्टे परिसकेकी थिई । मलाई असाध्य लाज लाग्यो । कुरा टुङ्ग्याउने उद्देश्यले मैले बरीलाई चुरुट दिँदै भनें, “भयो बरी ! भयो, भन्न पायो भन्दैमा तिमी मनपरी भन्छ्यौ ।” तर बरीको अन्तिम वाक्यले मलाई मर्ममा हिर्काइसकेको थियो ।
मायालाग्दा आँखाहरूले बरीलाई हेर्दै भनें, “हिजो सटके नाच ल्याएको थियो, रातभरि हेरेर बसिरहें ।” रक्सी पनि बढ्ता पिएको थिएँ, पछिल्लो वाक्यचाहिं मन-मनमा भनें ।
“ओहो ! सटके नाच पनि जागराम बसेर हेर्नुभएको ?”
“होइन, जागराम बस्नको निम्ति सटके नाच हरेको ।”
“सुयोग दाइलाई पनि जागराम बस्ने रोग लागेको छ कि ?” मुजुराले भूइँतर्फ हेर्दै भनी ।
मेरो मायालाग्दा आँखाहरूमा कति पीर देखा परिसकेको थियो, सकमबरीमा यो बुझ्ने क्षमता कहाँ ? साथै बुझोस् पनि किन ? त्यही हावभावमा ऊ भनिरहेकी थिई, “आजभोलि सुट सुट पनि फेरि-फेरि लाउनुहुन्छ, कुन्नि है सुयोगजी ! बुढेसकालमा के-के गर्न आँट्नुभो ।”
एउटा मार्मिक सत्य शायद आइरोनी शब्दको उत्थान यस्तै स्थितिबाट भयो होला । खल्तीबाट चुरुट झिकेर सल्काएँ, एउटा बरीतर्फ बढाएँ । आफ्ना पहेंला औंलाहरू उसले चुरुट च्याप्प समाती । मैले सम्झें ‘कहाँ लगेर कसरी विवश बनाउन सकिन्छ यो स्वास्नीमान्छेलाई ? कुन तत्त्वले पगाल्न सकिन्छ यसलाई अर्थात् कुन तथ्यले छुन सकिन्छ ? के मेरो जीवन बरीसँग यस्तै एउटा मृगतृष्णाको साइनोमा अल्झिरहने हो ? के म सधैं काकाकुलको तिर्खामा भौँतारिरहनुपर्ने हो ? कति निर्धो भइसकें म, खोइ मेरो सामर्थ्य ?’
मलाई सोध्न मन लाग्यो, ‘बरी ! तिमी कोसँग विवाह गर्छ्यौ ? तिमीले कसलाई रुचाएकी छ्यौ ?’ तर जहाँसम्म मलाई विश्वास छ भविष्यपट्टि ऊ त्यति निर्दिष्ट छैन, ऊ पनि आफूभित्र एउटा ढुङ्गा नै छ ।
शिव आइपुग्यो । हामी फेरि बैठकमा गएर गफ गर्न थाल्यौं । मलाई विश्वास लाग्न थालिसकेको थियो, शायद शिवले मलाई एउटा रक्सी खाने साथी मात्र बनाएको थियो । मसँग आत्मीय हुनुको उसको अर्को कुनै स्वार्थ थिएन, तर घरमा स्वतन्त्र रूपले हेलमेल हुन दिएकोमा लाग्थ्यो कहीं मुजुराको जिम्मा लाइदिने सुर त होइन यसको ? हुनसक्छ र नहुन पनि सक्छ । कुरैकुरामा त्यो दिन शिवले बरीलाई अब यो वर्षभरि घरमा राखेर कलेज पढाउने, तेज ऊ त्यसै छ, बी.ए. पास गरिसकेपछि बिहे गरिदिने भन्ने कुरा गर्यो । एउटा धेरै भलाद्मी शिक्षित मान्छेको खोजीमा ऊ छ । यो थाहा पाएपछि म आफू बसेको कुर्सीजस्तै जड भएर बसिरहें । हीनताको अनुभवले म राम्ररी कुरा पनि गर्न नसक्ने भइसकेको थिएँ । ‘फूलबारीमा पर्खंदै गर्छु’ भन्ने बहानाले म बाहिर निस्कें । ढोका अलिकयता शिरीषको रुखको ओझेल परेर बरी बसिरहेकी थिई । धमिलो साँझको एक लिप्टो छायामा कालो सारी लगाएकी ऊ एउटी भावनाजस्तै आफूमा टोलाएर बसिरहेकी थिई । यदि यो स्थितिमा म पनि उसको धेरै नजिक बसेर रौंहरूलाई सुमसुम्याउँदै भनिरहेको हुँदो हुँ, ‘तिम्रो निम्ति विवश भएर बाँचेको यो जीवन, डेथ भ्यालीमा घस्रेको भन्दा चर्को भइरहेछ बरी ! तिमी जीवनदान दिनुमा कति विश्वास राख्छ्यौ ?’ यस्तै के-के ।
मलाई ऊ बसेको धमिलो छायामा ऊसँगै एक मन, शरीर भएर बिलाइजान मन लाग्यो, हराइजान मन लाग्यो । सम्झें ‘यो अवश्य मृगतृष्णा होइन, यो त ठोस सत्य हो, लम्के भने पाउन सक्छु, पुग्न सक्छु’ तर यो क्षणिक भ्रममा म पर्न सकिनँ । म त आफैँलाई गिज्याइरहेको थिएँ, व्यङ्ग्य गरिरहेको थिएँ । म समावेशी हुन चाहन्छु उसको शरीरमा, आत्मामा, तर मेरो बाटो छैन । जहाँसम्म म पनि असफल हुन चाहन्नँ, म आफूलाई त्यति हतभागी सिद्ध गराउन चाहन्नँ । प्रेम जीवनको त्यति ठूलो दुःख होइन, मानिसलाई सुखी बन्ने साधनहरू धेरै छन्, तर खोइ… ! यसको पछि म धेरै तर्क गर्न सक्तिनँ । म त एउटा निकृष्ट मानिस हुँ, मैले जसजसलाई बलात्कार गरें, उनीहरूलाई प्रेम गर्न सकिनँ र जसलाई प्रेम गर्छु, उसलाई बलात्कार गर्न सक्तिनँ । असम्भव छ, म कल्पना मात्र पनि गर्न सक्तिनँ ।
मैले विश्वास गरें प्रेम केवल दुःख हो, निरर्थकता हो, नत्र हेडहन्टरकी छोरी, भैंसीगोठाल्नी तथा माटिनचीमाथि मरणान्त अपराध गरेर पनि आफैँलाई दुःखी अनुभव गरिनँ र सकमबरीलाई आज त हेरेरै माया गरेरै म अति दुःखी भइरहेछु । मैले के अपराध गरेको छु तिमीसँग ? प्रेम दुःख हो ? मलाई चिच्याउन मन लाग्यो । मनमनमा स्वीकार गरें साँच्चै सकमबरी एउटा इन्सेक्ट किलर सुनगाभाभन्दा बढी केही होइन, यद्यपि उसले रोपेका फूलहरू जीवनले परिपूर्ण भई हावामा फरफराइरहेका छन् । त्यसैले त ऊ भन्छे ‘यहाँ कीरा मरेको हेर्न कस्तो रमाइलो हुन्छ ।’ तर जीवनका अभिलाषाहरू यति सहजसँग तह लाग्दैनन् । म सन्तोष मान्न तयार छैनँ, कदापि छैन ।
साँझको छाया अझ गाढा भएर गयो र त्यही छेवैबाट भएर म र शिव बाहिर आयौँ । कस्तो लोभ लागेको मलाई त्यो एक चोक्टा अन्धकारको !
० ० ० ०