बरीसँग भेट भएपछि दोस्रोपल्ट शिरीषका रुखहरूले आफूलाई नीलै बनाई फुलाइसकेका थिए । चौरमा नीला फूलहरू भरेर सेतासेता खुट्टाहरूको, स्वागत गर्न थालिसकेका थिए । कति चाँडै एक वर्ष बितिसकेछ । कस्तरी यी रुखहरूले आफूलाई फुलाउन सके र हामी सक्तैनौं, कत्रो विवशता हामीमा छ । क्याम्पाको अलिक पर हुँदा नै मलाई यी फूलहरूमाथि ईर्ष्या हुन थाल्यो । सम्झें ‘संसारमा कतै पनि नीलो फूल नफुले हुन्छ । सपनामा पनि तर्साउन आउने ती फूलहरूको के काम ! फूल होइनन् सब आगाका फिगुङ्गा हुन् ।’
साँझ झमक्क परिसकेको थियो, यो शिवराज घरमा अवश्यै थिएन तर एउटा बहाना बनाएर म उसैलाई खोज्न गइरहेको थिएँ । बहाना गर्दा-गर्दा कति दिनहरू बितिसके, एउटा अर्को बहाना बनाउन मलाई के डर, के लाज ? मलाई लोभ लाग्थ्यो, कहिलेकाहीं यसरी बहाना बनाउन गएको बेला शिवराज नभए बरी आएर, अँध्यारो-उज्यालो जस्तो स्थितिमा होस् मसँग कुरा गरिरहन्थी ।
नीला पहाडहरूको नीलो छाया, नीला फूलहरूको सडकमा निलिएको रङ्ग, मनपर्दो बतास तर सम्झँदा तर सम्झँदा -सम्झँदै विरक्त लाग्थ्यो । म त चोर कुकुरझैँ गइरहेछु । पर्खालका मूलढोकाबाट भित्र पस्नासाथ अस्तिको साँझ देखेकै ठाउँमा त्यसरी नै उभिरहेकी बरीलाई मैले देखें । सम्झें ‘के खोज्न आउँदी रहिछ यस बेला आजभोलि, उही पनि त्यही निर्दिष्ट ठाउँमा ?’ ऊ घरपट्टि फर्केर उभिएकी थिई, तसर्थ मलाई देखिन ।
एउटा लोभलाग्दो साँझको अँध्यारोको एकटुक्रा आफ्नो, केवल आफ्नै मात्र बनाएर आफ्नो सेतो सानू गर्धनमाथि मुडुलो सुनौलो टाउको अड्काएर उभिएको उसको अस्तित्व फेरि पनि मलाई तस्वीरजस्तो लाग्यो । यस्तो तस्वीर जसलाई म जीवनपर्यन्त आँखामा उतार्न चाहन्थें, जुन तस्वीरलाई हेरेर चित्त बुझाउन सक्तिनँ । धूवाँको खिरिलो धर्सो हावामा अत्तिसिंदै विलिन हुँदै थियो । ‘उसले नदेख्ने गरी खुरुखुरु घरभित्र जान्छु र कराई भने ए देखिनँ भन्छु’ भनी विचार गर्दै एक किसिमको ठट्टा गर्ने भावनामा म उसको पछिसम्म गएँ तर वास्तविकतालाई कहाँ ठग्न सक्ने ? रुखको ओझेलमा सुनौलो टाउको र सेतो गर्धनलाई हेर्न पाइरहेछु, उही पनि पछाडिबाट । ‘यो टाउको त अप्राप्ति हो, यो गर्धन त मृगतृष्णा हो, आज त मनग्गे हेर्छु, हेरि नै रहन्छु । यही त हो नि बरीलाई पाएँ भन्नुको गर्व, बरीलाई हराएको मेरो विजय, मेरो सीमा, मैले मान्नुपर्ने मेरो सन्तुष्टि । माया लाग्दा लाग्दै उसलाई यसरी तिर्खाएर हेर्नु त हो नि मेरो जीवन । आह ! कति ठगिएको छु, कस्तरी वञ्चित राखिएको छु !’ हेर्दाहेर्दै म आत्मविभोर हुन थालें । मेरा नसाहरूमा रमाइलो रमझम सञ्चार हुन थाल्यो । मैले आफ्नो स्थितिलाई बिर्सन थालें । कस्तो-कस्तो एउटा उत्तेजनाले मलाई कस्दै ल्यायो । अनायास मैले भएभरको प्रेम पोखेर बोलाउन पुगेछु “बरी !”
उसले तर्सेर हेरी र अनुहार उज्यालो पार्दै कराई, “आम्मै ! सुयोगजी ! तपाईं !”
“यहाँ आऊ त ।” आज्ञाकारी बच्चीजस्तै ऊ मेरो धेरै नजिक आई सधैंजस्तै र भनी, “किन ?”
म आफ्नो नियन्त्रणमा थिइनँ, स्थिति छुट्टयाउन सक्ने सामर्थ्य ममा थिएन, म सर्वाङ्ग कामिरहेको थिएँ । आवेशमा आएर मैले उसको सेतो गर्धन अँठ्याएर उसको कमलो ओठमा म्वाइँ खाइदिएँ र आत्मतृप्तिको अनुभव गर्नै नपाई मलाई मोहले छोड्यो । डरलाग्दो सपनाबाट बिउँझेजस्तै म पसिनाले निथ्रुक्क भिजेको थिएँ, मुटु कामिरहेको थियो । के गर्ने, स्थितिलाई साट्न सकिंदैन,त्यो धृष्टतालाई अब फिर्ता लिन सकिंदैन । मलाई चक्कर लाग्न थाल्यो, शिरीषको रुखलगायत सकमबरीलाई साना-साना देख्न थालें । एकपल्ट भएभरको बलले आफूलाई नियन्त्रित पार्दै मैले बरीलाई हेरें, ऊ पनि टोलाएकी थिई ।
म तर्सिएको थिएँ एउटा कुकुरजस्तै, एउटा बोकाजस्तै । आउने जस्तोसुकै अपमान तथा प्रतिक्रिया सहनलाई, अरू मेरो उपाय नै के थियो र । वास्तविकतासँग स्पष्ट एकपल्ट खेल्नलाई म तयार बसिरहेको थिएँ । उसको आँखाको भाव पढ्ने सामर्थ्य ममा आइसकेको थियो । चश्माभित्रबाट गहिरिएर मलाई हेरिसकेपछि बरी लमकलमक गई, ढोकामा ओझेल भई । त्यो आँखाको हेराई नौलो हो, एकदम नौलो । मैले कति स्थितिमा उसलाई देखिसकेको छु तर यी आँखाहरूमा होइन । के गरेर हेरेकी हो बरीले मलाई ? किन त्यो अभिव्यक्ति सोझो मुटुमा गएर बिझ्छ ? किन उसले विरोध नगरेकी ? किन झम्टेर नआएकी ? किन नचिच्च्याएकी ? किन हल्ला नगरेकी ? म अर्न्तर्द्वन्द्वमा बौलाहा हुन खोजें । ममाथिको आकाश नै सम्पूर्ण हल्लेको जस्तो लाग्यो मलाई । म प्रश्नमाथि प्रश्न गरेर उल्टो खुट्टा फर्के ।
कस्तो अनौठो ! ऊ सरासर घरभित्र पसी । के गर्न आँटेकी हो उसले ? म सम्झँदै हिंडिरहें उसको आँखाको भाव । त्यो समर्थन शतप्रतिशत होइन, विरोध पनि होइन, क्रोध पनि होइन, लाज पनि होइन, यही हुन सक्छ शायद उसले भन्न खोजेकी थिई, ‘सुयोगजी ! मैले तपाईंबाट यो आशा गरेको थिइनँ ।’ अवश्य पनि ऊ जिल्लिएकी हो । के मैले उसोभए उसको जीवनभरि साँचिराखेको आस्थामाथि आक्रमण गरे त ? के मैले एउटी चोखी र अभिमानी स्वास्नीमान्छेलाई आफ्नो स्पिरिटले डढेको निलोतुथोजस्तो ओठले बिटुल्याइदिएँ ? के मैले फेरि अपराध गरें ? पाप गरें ? त्यो स्थिति पनि कुनै निष्कर्षमा पुग्नै नसक्ने स्थिति थियो । आफैँलाई सान्त्वना दिएँ, जो हुनु भइगयो अब पश्चाताप गर्नुको के अर्थ ?
यत्ति न हो म उनीहरूका आँखाबाट धेरै तल खस्छु, शिवको दृष्टिमा एउटा विश्वासघाती र हीन मानिस सिद्ध हुनेछु । सकमबरी थुक्छे मलाई । मेरो पो सत्य प्रेमको आवेग, पहिलो प्रेमको आवेग । बरीको त मर्यादाको प्रश्न छ आत्मसम्मानको प्रश्न छ । अब जे आइलागे पनि सहनुपरेको छ । बरीले भन्छे आफ्नो दाइलाई र शिव अनि के-के हुन्छ कुन्नि ?, एक मनले सम्भ यतिविधि आफैँलाई खसाएर हेर्ने हो र ? हुनसक्छ बरी कसैलाई केही नभन्दी हो र एकान्त पारेर मलाई सोद्धी हो ‘सुयोगजी ! अस्ति तपाईंले मलाई के गर्नुभएको, किन ?’ त्यस्ती फर्साइली पहिलो परिचयमा नै उखरमाउलो हुन आएकी, के ठेगान सहजसँग यो घटनालाई जीवनमय तुल्याउँदी हो । त्यसपछि आफ्नो मन उदाङ्गो पारेर म बताइदिनेछु कि साँच्चै म तिमीलाई प्रेम गर्छु । तिमीप्रति मेरो कुविचार छैन । कति महिनादेखि पिल्सिएर म तिमिलाई यही कुरा भन्न त खोजिरहेको थिएँ, यति त थाहा पायौ तिमीले कि कस्तो विवश अवस्थामा मैले तिमीलाई चाहेर आइरहेको छु, कति निर्धो बनरे म तिमीकहाँ आश्रय खोज्दै आइरहेको छु । तिम्रो जीत हो, मेरो हार । आँधी आउन लागेको कालो बादलको बीचमा एक धर्सो उज्यालो झिलिक्क देखेजस्तो एउटा क्षीण आशाको रूपमा एक कुरा विचारें । मन कताकता हलुङ्गो भयो ।
रात परिसकेको थियो । म निरुद्देश्य भौंतारिँदै लम्पसार तन्केर गएको सडकमाथि हिँडेर छुट्कारा खोजिरहेको थिएँ । लाग्यो ‘यो सडक कहिल्यै नसिद्धियोस्, यो स्थिति कहिल्यै नबदलियोस् यसैमा गाभियुन्, वास्तविकता र जीवन ।’ बिजुलीका लठ्ठाहरू एक-एक गर्दै ओझेल हुँदै थिए । अँध्यारो-उज्यालो, उज्यालो-अँध्यारोको जुलुसजस्तै मलाई व्यङ्ग्य गर्दै अघि बढिरहेको थियो ।
सम्झें, ‘आज जीवनमा सबभन्दा बढी निकृष्ट भएको छु, सबभन्दा बढी दुःखी भएको छु ।’ त्यही हो मेरो सबभन्दा बढी हीन अवस्था । शहरको हल्लीखल्ली सुनिन थाल्यो, सर्भिसको ओहोरदोहोर । म एउटा टाढाको भट्टीपसलमा आश्रय लिन पुगें । जे होस् आज त शिवराजलाई भेट्नु हुँदैन ।
मेरो भोलि निष्ठुरतासाथ आयो । त्यस्तै किसिमले बित्यो । मैले घरबाट निस्कने आँट गरिनँ । दिनभरि ओछ्यानमा गुटमुटिएर बसिरहें । आँखा झन् राता-राता भएका थिए । सम्झें ‘यस्ता पोख्न नसकिने पीरहरूको शिकार कहिल्यै नबन्नू । मान्छे एउटा पर्दा नभएको कोठाजस्तो खुला हुनुपर्छ तब खुसी भइन्छ । तर पोख्ने पनि कसरी यी महत्त्वहीन कुराहरू ! यो जीवन यस्तो ठाउँ हो जहाँ सन्तुष्टिको एउटा परिधि खिंचेर हामीले बाँच्नुपर्छ । सडकमा पछारिएर अलपत्र परेका अनुभूतिका प्रत्येक टुक्राहरूलाई स्याहार्दै जानुपर्छ, स्वीकार्दै जानुपर्छ । यस्तै हो यो जीवन, हामीलाई गुनासो गर्नु छैन’ तर यसको विपरीत मैले सन्तुष्टिको परिधि खिच्न सकेको थिइनँ ।
म एउटा अवरोधहीन जीवन जिउन चाहान्थें । तर विगतमा मैले जीवनलाई त्यति गहिरो माया छोडेको होइन । त्यो दुःखद परिणामलाई त्यही असहजतासाथ स्वजीकारी लत्त्याउनु मेरो सामर्थ्य थिएन, त्यो सीमामा म पुगेको थिइनँ । हुन त मजस्तो शून्यतामा खारिएर निस्किसकेको मान्छेले सन्तोषको घेरा हालेर आफूलाई त्यसभित्र थुनुवा पार्नु कुनै असम्भव थिएन तर त्यो परिस्थिति अर्कै, यसो भनूँ म तयार भइनँ ।
साँझ निस्कें, निरन्तर पस्रिएको सडकमाथि सधैंको रमिता गर्दै । नयाँ सडकमा टनाटन भीड भइसकेको थियो । विभिन्न मोडेलका मानिसहरू आफैं- आफैं कुन्नि कस्तरी अभ्यस्त हुँदै बाँच्दै गइराखेका तर प्रत्येक व्यक्तिलाई मैले नियास्रो देख्न थालें । सबै अव्यवस्थाका शिकार छन् तर व्यवस्थित हुन जानिसकेका ।
मैले सम्झें ‘म पनि एउटा व्यवस्थित मानिस भए यहाँ एउटा कुनामा अटाउनुपर्छ । मलाई कर लाग्छ हाँस्नु, बोल्नु, खानु र बाँच्नु । यो व्यवस्था हो, हामी यहाँ अभ्यस्त भइसकेपछि त्यो अभ्यस्तता नै हाम्रो जीवनको गतिशिलता भएर जाँदो रहेछ । मलाई अटाउने ठाउँ यद्यपि छँदैछ र हुँदै जानेछ जसरी तसरी । के हो र मेरो समस्या ? समस्या लिपिएका अखबारहरू, समस्या लेखिएका अनुहारहरू, गाभिएका छन् आपस्तमा, म छुट्टै कहाँ छु र ? समस्याको पनि यहाँ व्यवस्था छ । एउटा व्यवस्था जीवन हो, यही एउटा अभ्यस्तता जीवनको गति हो ।’ म गहिरिंदै गइरहेको थिएँ कालाकाला टाउकाहरूको माझमा ।
म पीपलको बोटनिर आइपुगेको थिएँ । एउटा चुरुट सल्काएपछि धूँवा उडाउँदै प्रत्येक आउने-जानेहरूलाई केलाउँदै आफैंसित छुट्कारा पाउन थालें । एक छिनलाई मस्तिष्क हलुङ्गो हुन लागिसकेको थियो । एउटा रिक्सावालले भएभरका अश्लील शब्दहरू दोहोऱ्याएर छेवैको बूटपालिस गर्ने केटालाई गाली गरिरहेको थियो, यसो हेरें उसको अनुहारमा अघाध सन्तुष्टि थियो, सम्झें ‘व्यक्त गरिरहेको छ आफूलाई । त्यसैमा सन्तुष्ट छ, चाहे त्यो गाली नै किन नहोस् ।’
एउटी टुरिष्ट ठिटी आफ्नो सुनौलो मुडुलो टाउको एक किसिमले हल्लाउँदै आउँदै थिई, पछिपछि चुरुटको मुस्लो धूवाँ निकाल्दै उसैलाई पछ्याइरहेछ, एउटा भुरा मगन्ते । सुनौलो टाउको र धूवाँले एकसाथ मलाई छुटकाराको संसारदेखि यथार्थमा पछार्यो । मैले उनीहरूलाई धेरै परसम्म हेरिरहें । बत्तीको प्याजी रङ्गको लाइटमा नयाँसडकको रात बिस्तारै लठारिंदै थियो । रात हो, तर मेरो हेराइले समातेको वातावरणभरि अँध्यारो कतै थिएन । अँध्यारोको कुनै अर्थ छैन । दिउँसो हामी अँध्यारोको सृजना गर्न सक्तछौं, रातभरि हामी डुलेर, पिएर हिँड्न सक्तछौं, यस्तो भइसकेको थियो काठमाण्डू । यहाँ रातबिरात सडकहरूमा मानिसको टाउको हराउँदैन । म धेरै बेर लगातार चुरुट तानेर त्यहीं उभिरहें ।
मानिसको भीड छाँटिन थालिसकेपछि भूगोलपार्कमा केहीबेर बसें । वरिपरिका बार र रेस्टुराँहरूले निम्त्याइरहेका थिए, तर त्यहाँबाट पनि आज मलाई भाग्नुपरेको थियो । केही समय बिताएपछि घडी हेरें र सम्झें ‘शिवराज यस बेला हतारिंदै घर जान्छ शायद गइसक्यो होला, हुनसक्छ आज आएन पनि !’
म ढिलोढिलो हिँडेर बारमा चियाउन पुगें । बियर र ह्विस्कीको बाससँग सम्मिलत भएर आएका बोतल र गिलासको आवाज, रक्स्याहा भाषा, रक्स्याहा उच्चारण, टेम्पोमा पुगिसकेकाहरू कोही बसेरै कोही अल्छी नमानी उठेर देखाइरहेका शेक डान्सका आफ्ना पाराका मुद्राहरू बारभित्र व्यवस्थित युगको व्यवस्थासँग कसै नखुम्चेर र नबिग्रेर बसेका थिए । सम्झें यहाँ पनि यिनीहरू आफैँलाई व्यक्त गरिरहेका छन् शेक डान्सका जथाभावी मुद्राहरूमा तर मेरो दिन म कसरी पनि व्यक्त हुन सक्तिनँ, केही बहाना गर्न सक्तिनँ । कुनामा झ्वाट्ट देखें शिवराज अहिलेसम्म नगई झन् ताउमा आएर बसिरहेको थियो । शिवराजले अवश्य मलाई पर्खेको हो नत्र यस बेलासम्म ऊ भागिसक्थ्यो र शिवराजलाई आज ताउमा आइरहेको छ र हुनसक्छ यो मेरै निम्ति हो । जे होस् स्थितिलाई साट्न सकिंदैन । मलाई देख्नासाथ शिवराजले जोशिएर भन्यो, “आउनुहोस् सुयोगजी ! तपाईंकै प्रतीक्षा थियो ।”
म झसङ्ग भएँ । शिवराजले झन् जोशिएर भन्यो, “आज ढिला गए पनि हुन्छ, बरीलाई सन्चो छैन । यस्तो बेला ऊ कोठाबाट बाहिर निस्कन्न ।”
‘बरीलाई सन्चो छैन’ यसले मलाई ठीक त्यही स्थितिमा कत्ति पनि छोएन तर अहिले छुट्काराको हलुङ्गो अनुभूति आफैंभित्र पाएँ, यसैकारण कि बरीले प्रतिक्रिया लिइन, शिवराजलाई थाहा छैन यी सब । पौडी खेलेर निस्कँदाको जस्तो आफैं छयाङ्ङ भएँ । म कसैलाई चर्को प्रेम गर्छु, उसको मन भएको उसको सिङ्गो शरीर जम्मामा सम्पूर्ण उसलाई पाउनको निम्ति मैले जीवनलाई चाहिनेभन्दा बढी अमिल्याइसकेको छु र यो छयाङ्ङ हुनु र छुट्कारा पाउनु मेरो उद्देश्य होइन, लक्ष्य होइन, उपलब्धि होइन । यी सब अचेतनामा टाँसिएर बसेका भए तापनि त्यो आवश्यक स्थितिमा मैले सबै बिर्सेको हुँ, जे होस् त्यो एउटा मीठो छुट्कारा थियो ।
बरी र मेरो बीचमा केही भइसकेको छ र म संसारदेखि भाग्न खोजेको कदापि होइन यसो भन्न सक्तिनँ पनि, यसले होइन कि भागेर जाने ठाउँ छैन तर मलाई एउटा प्रतिक्रियाको लोभ थियो । शिवलाई आज स्वभाविक पाउँदा मैले सोचेको हीनप्रतिक्रियाको निकै ठूलो ठूलो चोइटा खस्केर गयो, मैले राम्रै सपना देख्न थालें, बरीलाई सन्चो छैन यो कुनै विशेष कुरा भएन । सम्झें शिवराज पनि यो व्यवस्थलाई साह्रै विधि मेल खाने मान्छे हो, केही नहुनुमा यो मानिस त्यसै त्यसै भाग्छ, अर्थहीन भाग्छ, वास्तविकतालाई पैले पन्छाउँछ, आफूलाई बिर्साएर बाँच्छ । बरीलाई सन्चो नहुनु उसको पनि आफ्नो पाराको छुट्कारा रहेछ, के ऊ बरीदेखि पनि भाग्छ ? यथार्थमा भाग्न ऊ चाहँदैन, वस्तुतः पटाक्षेपमा गजधम्म बसेको जीवन नाउँले परिचित एउटा अपरिचित दुःखको, जसको एउटा जबरजस्त अस्तित्व छ, आफ्ना बाँचिरहेका क्षणहरूलाई उसले त्यसैको छुटकारास्वरूप मानेको छ । तर, तर के जीवन यस्तै छुट्कारा मात्रै हो र ?
के त्यो जड अस्तित्वको हामी हाराहारी छैनौं र ? मुखामुख छैनौं र ? यो भनूँ, काखैमा छैनौं र ? यदि हो र पनि बहानाको मुकुण्डो ओढेर शिवराज त्यो अस्तित्वलाई बिर्सन खोज्दै एउटा छुट्कारामा बाँच्छ भने निःसन्देह उसले बाँच्न जानेको छ । उसले व्यवस्थित बनाइसकेको छ आफूलाई, आफ्नै छाँटले आफ्नो पारामा । निष्कर्षमा पुगेँ ‘यो पनि आत्मविस्मृतिको एउटा विशेष साधन हो, शिव जोगी हो, महात्मा हो ।’
अकस्मात् मुखमा जति दिन ल्याएको गिलासलाई स्वीकार गर्दै मैले रक्स्याहा शिवराजका साना-साना आँखाहरू हेरें । शिवराज रक्स्याहा हो र म पनि । क्रमशः गिलासहरू खालि हुँदै गए । शिवराज सक्रिय भइसकेर पनि शिथिल हुन थालिसकेको थियो, म भर्खर सक्रिय हुँदै थिएँ । एकपल्ट भरी हुँदै फेरि तरल भएर बग्दै र रित्तिँदै मानिसहरू बाहिर निस्कन थालिसकेपछि शिवराजले घडी हेर्दै भन्यो, “अझ बस्नुहुन्छ कि सुयोगजी ! तपाईं ?”
मलाई के थियो, समर्थन गरेर टाउको हल्लाइदिएँ । शिवराज सधैं हेरी बढ्तै पिइरहेको थियो तर एउटा रक्स्याहाले अर्को रक्स्याहालाई के सुझाव दिने ? रेडियोमा विथोविन सङ्गीतको मन खल्बल्याउने धुन चर्किएर आइरहेको थियो । शिवराजलाई बढ्ता भइसकेकोले गर्दा मलाई डेरा जानुपर्यो भनी उसलाई पनि निकालें । रानीपोखरीदेखि उता राजपथ भएको ठाउँसम्म साइकल मैले डोऱ्याएँ, शिव बाँकटे हान्दै हिंड्यो । साइकल चढाएर उसलाई बिदा दिएपछि म एक्लो रत्नपार्कतिर आएँ । त्यस्तै स्थितमा अँध्यारो चाहिन्छ, हामीलाई एकान्त चाहिन्छ । चिसो चौतारोमाथि बस्दै सम्झन थालें ‘हरेक मानिस आफूसँग एक्लो कहिले हुन सक्तैन । यो जो हामी एकान्त भन्छौं, यो भ्रम मात्र हो । यो पीडित संसारलाई लत्त्याएर आफूलाई लत्त्याएर आआफ्नो आभासदेखि पनि एक्लो हुन सके ?’ छेवैको चौतारीबाट मीठो मसिनो खित्काको आवाज आयो । फर्केर हेरें उनीहरू एकअर्कालाई माया गर्न लागेका थिए-खुलस्त माया, निस्सङ्कोच माया ।
उनीहरूलाई एकान्त चाहिएको थियो, अँध्यारोको त गन्धमात्र भए पुग्छ । यो अँध्यारो हो भनी मानिलिए पुग्छ । मलाई भाग्न त मन लाग्यो तर भागिनँ | भाग्ने के काम ? पर्दा कहाँ छ र यस संसारमा ? नदेखेको जस्तो गरिदिए त पुगिहाल्यो नि । यसो गर्नु हामीलाई लत पनि त बसिसकेको छ । कुन यथार्थ यहाँ नाङ्गो छैन र ? जानी जानी यो पर्दा हो भन्दै सिथ्थै आफूलाई ठगेर हामीले भूल गरेका हौं । तर म त्यहाँ बस्न सकिनँ । उनीहरू पर्दा खोजिरहेका थिए । म पनि नदेख्ने प्रयत्नमा थिएँ, मायाको अतिक्रमण बढ्दै गएपछि मलाई सहिसक्नु भएन, उठेर बिस्तारै डेरातिर आएँ ।
० ० ० ०