हप्ता दिनपछि त्यो घटना अलिकति शिथिल भएर आयो, यसो भनूँ मलाई त्यस्तो लाग्यो । अब त्यो घटनाले आलो घाउको दुखाइ दिंदैन, फुटिसकेको थियो र दुख्न केही कम । स्थिति केही स्वभाविक भएजस्तो लाग्यो मलाई । त्यसपछि म बारमा गइनँ, शिवराज मबिना एक्लो हुँदैन, उसका अरू पनि धेरै साथीहरू छन् घरमा नभए पनि बाहिर भेट्नेहरू, त्यसैले शिव मलाई खोज्दै आएन पनि । शायद बरीले केही पनि भनिन होली, त्यस्तो कुरा आफ्नो दाइलाई भनोस् पनि किन ? त्यही मेरो बलियो सान्त्वना भएको थियो, तर मन एकतमाससँग छटपटिइरहन्थ्यो ।
लौ भनिन रे बरीले कसैलाई पनि तर उसले के सोची ? बिसन्चो त ऊ अवश्यै होइन होली तर उसलाई के भइरहेको छ ? अब शिवराजको घरमा नगएर यो कथालाई यसै टुङ्गयाइदिने हो ? त्यो मेरो माग थिएन, मैले खोजेकै अर्कै संसार थियो । मैले जानै परेको थियो त्यहाँ, तसर्थ दुई धारमा रेटिंदै रेटिंदै भए पनि अन्तमा म फेरि उही ढोका भएर त्यहाँ गएँ । मलाई कति विचारहरूले, समन्वयले घचेटेर कति अभिलाषाहरूले कुतकुत्याएर त्यो घरमा लगे, भनेर साध्य हुँदैन ।
प्रत्येक फूलबारीका निर्जीव वस्तुहरूले, ढोकाले, शिरीषका लादिएका हाँगाहरूले मलाई केही भिन्नता नदेखाई स्वागत गरे । नीला फूलहरू नीलै रङ्गमा थिए, हरियो चौर हरियैमा, कतै केही विकार थिएन । भोगटेको रुखमा धोती सुकाइरहेकी मुजुरालाई मैले पछिबाट देखें । उसले हेरी र कानकानसम्म हाँसी । यो घरमा केही भएको छैन, मुजुराले यही कुरालाई त प्रमाण दिइरहेकी थिई । मैले धेरै ठूलो बल पाएको अनुभव गरें ।
मुजुरा म भएतिर आई र आफ्नू मलिन भाषामा भनी, “शिव दाइ शहर जानुभएको छ, बस्दै गर्नुस् न, बरीलाई त सन्चो छैन ।” यसो भन्दा उसको अनुहारमा कुनै गह्रौंपना थिएन । यही कुरा हो शिवराजले बारमा सुनाएको र यही कुरा हो मुजुराले साता दिनपछि दोहोऱ्याएकी, मलाई अब बरीको सन्चो नहुनुले पोल्यो ।
कहाँको मीठो छुट्कारा, कहाँ यो घाँटी अँठ्याउने वास्तविकता । मलाई विश्वास लाग्यो कि मैले उम्कने बाटो पाएको छैनँ । मैले सोध्न पनि सकिनँ कस्तो किसिमको सन्चो नभएको हो बरीलाई ! यस्तो लाग्यो मेरो सोध्ने अधिकार पनि छैन, सोधिहालें भने पनि एउटा नाङ्गो सत्य खुल्ला भन्ने डर थियो । खुल्न त खुल्छ त्यो तर अहिले यो क्षण होइन । गाह्रो त ऊ अवश्य भएकी होइन । कारण शिवराज र मुजुराको भनाइ दुइटैमा गाह्रोपना थिएन ।
“अहिले जाऊँ, काम छ,” भन्दै म तल फर्कें, मुजुराले विरोध गरिन ।
बाटामा आइपुगेपछि सोच्न थालें ‘वास्तवमा बरीको सन्चो नहुनुको खास अर्थ के हो ? के-कति कारणले ऊ सन्चो छैन ? उसलाई के भएको छ ? सन्चो नहुनु अर्थात् बिछ्यौनामा परेकी छ ? हिंड्न, खान, मुख चलाउन ऊ सक्तिनँ सन्चो नहुनुको अरू पनि कारण हुन सक्थ्यो तर उसलाई त्यही दिनदेखि सन्चो छैन । बरीको उद्देश्य के हो ?’ मलाई भित्रभित्रै पीडाको अनुभव हुन थाल्यो ।
बरीको सन्चो नहुनुले नै मेरो उम्कने बाटो बन्द गरिदिएको छ ? होइन, अवश्य होइन, ऊ सन्चो भएर होस् चाहे नभएर मैले थाहा पाएँ मेरो चाहिने स्थिति उस्तै हो बरु बरी ठीक भइदिए हुन्छ । एक मनले लाग्यो के प्रमाण मेरै कारणले गर्दा उसलाई सन्चो नभएको हो भन्ने ? शिवराजले भनि त बस्छ नि कसरी बरी एकपल्ट हृदयरोगको शिकार पनि भएकी थिई, कसरी उसको शारीरिक कमजोरीले गर्दा उसलाई कहिले कलेज नपठाएर घरमै राख्न परेको छ । ऊ कुनै पनि कारणमा सन्चो नभएको हुन सक्छे तर त्यो सान्त्वना मेरो उद्देश्य होइन । म त्यो स्थितिदेखि भाग्न चाहँदैनथें ।
प्रश्नमाथि प्रश्न थपिएर म आफू पनि सन्चो नहोलाजस्तो भइसकेको थिएँ । मस्तिष्क भारी भइरहेको थियो । अहिले मध्याह्न नै छ कहाँ जाने, कता गएर भुलिने ? कतिवटा तथ्यहीन कुराहरू बनाउँदै, भत्काउँदै म लुखुरलुखुर डेरामा नै आएँ । कुनै पनि एउटा खास निष्कर्षमा पुग्न सकेको थिइनँ, पुग्ने पनि कसरी ? साँच्चै प्राणघाती सुनगाभाको बिरुवा हो बरी, उसले मलाई मारेर छाड्छ ।
पश्चाताप लाग्यो, कुन दिन शिवराजसँग मेरो चिनापर्ची भएछ, कुन दिन शिवराजले मलाई आफ्नो घर लगेछ । हरे ! यी दिनहरू मेरो इतिहासको पानाबाट खुरुखुरु मेटिए हुने, जीवनसँग खेल्नु सम्झेजति सजिलो रहेनछ । डेरामा आइपुगेपछि एउटा मधुरो आशाले मलाई लोभ्यायो । मैले काठमाण्डू छाड्ने विचार गरें । प्रेम दुःख नै हो । मेचमा आँखा चिम्लेर बसेपछि मैले देखें ऊ आफ्नो निकोटिन लागेका औंलाहरू हल्लाउँदै भन्दै थिई ‘आफ्नो निम्ति फुल्ने आफ्नै निम्ति फक्रिने । मर्नुजस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भँवरासँग लाप्पा खेल्नै पर्छ ? भर्न त पर्छपर्छ भने भँवराको चोट सहेर किन ? आफू मात्र भर्ने, आफ्नो इच्छाले झर्ने ।’ मनमनमा दोहोऱ्याएँ बाँच, बरी ! बाँच, आफ्नो निम्ति बाँच, अरू मरुन्, तिमीलाई के ? धेरै हो भन्नुपर्छ मैले तिमीलाई छुनसम्म पाएँ ।
पसल्नी मरिसकेकी थिई अरूले चिताएको समयभन्दा पहिले नै । यसैले साहू तीन-चार जना केटाकेटी तह लगाउँदै पसल गर्थ्यो । ठिटो आउन छोड्यो, अब उसको त्यहाँ केही छैन, दुःखी या सुखी त्यो मलाई थाहा थिएन तर विश्वाससाथ भन्न सकिन्छ त्यसले अवश्यै प्रेमलाई दुःखको रूपम ग्रहण गरेको थिएन । उसको प्रेम कुन सीमासम्म निस्सार थियो भन्ने कुरा उसलाई ज्ञान थिएन । पसल्नी आफूलाई खेलाउँदा-खेलाउँदै मरी, राम्रैसँग मरी । अब त्यो पसलभित्र खापाको ओझेल र छिंडीको अँध्यारोले आफूलाई फुका अनुभव गरेको थियो । अब लुकाउनुपर्ने वस्तु त केही थिएन ।
सम्झन थालें ‘प्रेमको मूल्य छैन, जस्तो यो छिंडीको अँध्यारो र खापाको ओझेल उनीहरूको प्रेमको मूल्य होइन, जस्तो मेरो भित्रभित्रै भुटभुटिएर खरानी हुनु मेरो प्रेमको मूल्य पनि होइन ।’ मलाई लाग्यो म कुनै प्रवञ्चनामा त छैन ? यी सब जो सपनाजस्तै बितरे गए, म त्यसलाई अस्वीकार गरूँ ? अस्वीकार गरिदिए म सुखी हुन सक्छु ? असम्भव । स्वीकार गरेरै पनि के सुखी छु अहिले ? कुन भावना त्यहाँ सारपूर्ण छ ? मानिस कहाँ सुखी छ ? कुन मानिस सुखी छ ? के बौलाएँ भने सुखी हुन्छु ? के म आत्महत्या गरेर सुखी हुन्छु ? मलाई छातिभरि उकुसमुकुस भएर आयो ।
उठेर पानी खाएँ, कोठामा ओहोरदोहोर गरें । पुराना प्रत्येक घाउहरूले पालैपिच्छे बेस्कन पोल्दै ल्याए । बरीलाई छोएर मैले राम्रो काम गरेको होइन । म भाग्छु, अवश्य भाग्छु । मलाई कराउन मन लाग्यो मानिस जहिले पनि विवश छ ।
० ० ० ०