हाम्रो नीयमबद्ध जीवनमा जुन मोड आएको थियो त्यो आफैँलाई पनि अनौठो लाग्ने भयो । म काठमाण्डू छोडेर भाग्न खोजें तर भाग्न सकिनँ । भागेर गएँ भने पनि यसभन्दा माथिल्लो तहको जीवन बिताउन सक्छु भन्ने कुरामा मेरो विश्वास मरिसकेको थियो । म तयार थिएँ यसलाई एउटा परिवर्तन मान्न, यस्तो परिवर्तन जसको कुनै विशेषता छैन र जसमा कुनै पनि मज्जा छैन । त्यो यस्तो परिवर्तन जसको दाँजोमा आफ्नो पहिलो स्थिति धेरै सुखद लाग्छ । त्यो आलो घाउ अब चहराउँदैन तर त्यसको खाटाले ‘शरीरको एक अङ्ग यस्तो विकृत बनाएदिएको छ, जसलाई हेरी हेरी तर्सिनुपर्छ । त्यही विकृतिमा आफूलाई ठड्याउन कर लाग्छ, देखाउन कर लाग्छ ।
केही दिनपश्चात् म फेरि गएँ र बरी आजभोलि सन्चो हुन्न-को स्तरमा उठेको एउटा वाक्यले आघात भएर आएँ । ऊ कहीं देखा परिन, शिवराजको बैठकसम्म पनि आइन । त्यसको केही दिनपश्चात् बाटामा शिवराजले भन्यो, “बरीलाई आजभोलि कुन्नि किन सन्चो हुँदैन ।”
तर यसो भन्दा ऊ रमाएको थिएन, उसले छुट्कारा अनुभव गरेन । उसलाई के हुन्छ, कसो हुन्छ भनेर सोध्न मैले आफूलाई कहिल्यै समर्थ पाइन । स्वीकार गर्नुपर्थ्यो म हीन र अपराधी मात्र नभएर एउटा कातर निष्क्रिय मानिस भएर बाँच्दै थिएँ । अब बरीको सन्चो नहुनुको कारण र अर्थ मलाई राम्रैसँग स्पष्ट भइसकेको थियो, यसमा कुनै सन्देह थिएन । मलाई विश्वास थियो बरी र म आफैँलाई सिवाय यो घटना कसैलाई थाहा छैन र कहिले हुने पनि छैन ।
विचार गर्थे म कातर, कमजोर मानिस तर बरी त्यस्ती होइन । उसलाई भएको के छ र ऊ यसरी मौन बसेकी किन उसलाई कसैले सोद्धैन ? किन उकुसमुकुस हुँदैन ? किन ऊ प्रतिक्रिया लिन्न ? उसको चरित्रले यो सङ्केत कहिले दिएन । यस्ता प्रश्नहरू जब मेरो मनभरि सलबलाउन थाल्थे लगत्तै धेरैवटा सम्भावनाको टुङ्गोमा पुगिहाल्थें । कसैलाई म मेरो विश्वासको कसीमा कसरी राखूं, कसैलाई म बाहिरबाट कसरी चिनूँ ? सम्भव छ अभिमानको, मर्यादाको, लाजको भारले थिचेर बरी यस्तरी मौन बसेकी होली र सम्भव छ शिवराजको विश्वासी हुनुको नातामा ऊ यस्तरी बसेकी र अनि सम्भव छ एउटा बूढो रक्स्याहा सिपाहीको नीलोतुथोजस्तो ओठको स्पर्श पाएर आफैं घृणाको आगोमा जल्दै खरानी बनेर बसेकी होली । यी सबै सम्भव थिए र यी सबैको एउटै निचोड टुङ्गो म पाउँथें, बरी मलाई घृणा गर्दिरहिछ अर्थात् थालिछ । आफू र आफूलाई परेको स्थिति मैले निकै कठिन पाउन थालें । जीवन तीतो भइसकेको थियो बरीलाई देख्न नपाउनुमा एउट पीर, घाउको खाटामा आफूलाई विकृत र बीभत्स समर्थन गर्दै हिँड्नु अर्को पीर । मेरा दिन र रातहरू बेस्कन गह्रौं हुँदै आए । आफूलाई घस्रेर हिँडेको स्पष्ट अनुभव भइरहेको थियो ।
बरी सन्चो छैन, हुन्न र आजभोलि उसलाई सन्चो हुँदैन भनी ओहोरदोहोर चर्चा अब एउटा समस्याको रूपमा आइसकेको थियो मलाई मात्र होइन शिवलाई पनि । यो मैले उसको हावभावबाट प्रष्ट थाहा पाइरहेको थिएँ । अब बारबाट ढिलो जाने उसको रहर हुँदैन, ऊ बलजफ्ती ढिलो जान्छ, अब यी सब हुनु उसको छुट्कारा रहेन ऊ बाध्य भएर ढिलो फर्कन्छ । र म मनमनै सोच्थें अब त्यो वास्तविकताको काखैमा शिवराज छटपटिएको छ । अब ऊ भागेर भाग्न सक्तैन, बहाना गर्न सक्तैन । स्वीकार गर्नुपर्थ्यो मैले बरीसँगै शिवराजलाई पनि रोग लगाइदिएको थिएँ ।
एकपल्ट बारमा उसले निधार गाँठो पारेर भन्यो, “सुयोगजी ! के हुन्छ कुन्नि बरीलाई पटक्कै राम्रो भएन । तपाईं उसको कोठामा गएर एकपल्ट हेर्नुस् त ऊ कस्तरी दुब्लाएकी छ ! तपाईं तर्सिनुहुन्छ ।”
उसका निर्धा आँखाहरूमा विवशता पोखिएर आउन खोज्यो । यी वाक्यहरूले ठीक नयाँ करौंतीले कलेजो रेटेको जस्तो एउटा सहिनसक्नु पीडाको मलाई अनुभव भयो, सपनामा धताएझैँ मैले रक्सीको गिलास हातमा लिएर ‘हो’ मात्र भनें र केही बेर निहुरेर बसिहरें । म किटेर भन्न सक्छु शिवराज दिनदिनै दुब्लो भएर गइरहेको थियो र उसका निर्धा आँखाहरूमुनि अस्पष्ट बस्न लागेका नीला दोबहरूले प्रमाण दिइरहन्थे, ऊ कसरी बरीको सजीवताबिना जीवनहीन हुँदो रहेछ ।
यहाँ म होइन शिवराजको अवस्था दयनीय थियो । कहिलेकाहीं साथीहरूको माझमा बसी त्यसै हाँस्ने बहाना गर्दै जब शिवराज पीरले खुम्चिएका गालाका धर्साहरूमा आफूलाई पलायन गर्ने निरर्थक प्रयास गर्थ्यो, त्यसबेला शिवराजको हात समातेर मलाई भन्न मन लाग्यो ‘शिव ! तपाईं भाग्न सक्नुहुन्न, त्यो मीठो छुट्कारा हामी दुइटैको जीवनो वास्तविकता होइन, बरु आउनुहोस् स्वीकार गरौं ।’ तर यी अभिव्यक्तिको सट्टामा सधैं म उसलाई पेगमाथि पेग थपेर अधमरो बनाइदन्थें, सत्यको नजिकै पुग्न नसक्ने म निष्क्रिय मानिस, मबाट अरू केही हुन सक्तैनथ्यो । उसको गालाका जीवनहीन धर्साहरूमा हाँसिएको मरन्च्याँसे हाँसोमा मेरो निम्त सधैं एउटा मार्मिक अर्थ खुल्थ्यो, तर त्यो मानिस म हुन सकिनँ, जसले एउटा पर्दाअघि निर्विरोध आएर शिवलाई भन्न सक्थ्यो ‘मैले तिम्री बरीलाई तिम्रो विश्वासको विरुद्ध हत्या गरिदिइसकेको छु र तिम्रो विश्वासको विरुद्ध बरीले आफ्नो आस्थालाई चकनाचुर पारिसकेकी छ ।’
मलाई लाग्थ्यो यो बरी सन्चो नहुनुको एउटा चर्चा जसले कुहिरो भएर बरी र मलाई प्रत्यक्ष, शिवराजलाई अप्रत्यक्ष रूपले बेहेको छ शायद त्यो कहिले फाट्दैन र हामी कहिले एउटा पर्दा उघारेर एकअर्कालाई हेर्न सक्तैनौ । के हाम्रो अन्त पनि यसरी नै हुन्छ ? म झस्कन्थें र विचार गर्थे ‘शिवराज किन बरीलाई त्यस्तरी माया गर्छ ? के यो मायालाई मस्तिष्कबाट खोतलेर मिल्काउन सकिन्न ? हामी एकअर्काको म्याग्नेटको तानातानमा किन अड्न परेको छ ? हाम्रो अस्तित्व आ-आफ्नो अस्तित्वमाथि अडेर कायम रहन सक्दैन ? किन हामीलाई अरूको हुनुको चेतना भइरहन्छ, किन हामी सधैं दुःखी छौं ? सिथ्थै शिवराज बरीलाई माया गर्छ, कति निरर्थक छ उसको माया ? सट्टामा बरीले के दिन सकी र उसलाई ?’
एक दिन, दुई दिन, हप्ता र महिना त्यसै खुस्केर गयो । हामीमा कुनै प्रगति देखिएन । बरी बिरामी भइसकेकी छ, कारण नभएको बिरामी अर्थात् उसले कसैलाई केही भनिन । शिवको भनाइअनुसार मैले लख काटें ऊ बाँच्न खोज्दिरहिछ तर जीवनलाई हेला गरेर, जिउनुको विश्वासलाई लत्त्याएर । बरी खान्छे, बोल्छे, सुत्छे तर ऊ बिरामी छे । शिवराजले बरीको निम्ति कति उपायहरू गरिरहेको छ तर सबै निरर्थक सिद्ध भएका छन् । शिवराजको अठोट थियो बरीलाई जसरी हुन्छ निको तुल्याउने, सधैं झैँ उसको बैठकमा आउने, समय बेसमय कुरा गरिदिने । तर स्थिति शिवराजको इच्छाको पनि विपरीत गइरहेको थियो ।
अन्तमा शिवराजले निर्णय दियो, “सुयोगजी ! बरी अब मान्छे होलीजस्तो लागेन, मधेस लिएर जान्छु शायद हावापानीको केही असर पर्न सक्छ ।” त्यस बेलाको उसको आँखाको अभिव्यक्तिलाई साँच्चै रोएको भन्न सकिन्थ्यो । त्यही अभिव्यक्तिमा उसले फेरि भन्यो, “बरीलाई केही भइहाल्यो भने म बाँच्न सक्तिनँ, साँच्चै म आत्महत्या गरिदिनेछु ।”
बिजुलीको करेन्ट लागेजस्तो मेरो स्नायुकेन्द्रमा शिवराजका कामेका शब्दहरू थर्किएर गए, मैले उसलाई हेरें मात्र मानौं म एउटा पशु हुँ । म उसको मर्म बुझ्न सक्छु तर भाषा बुझ्न सक्तिनँ र मर्मले केही फर्काउन सक्छु तर भाषाले होइन ।
० ० ० ०