यो त्यस्तै दिन त्यस्तै रात हो, यो त्यही बार हो र यो त्यही शिवराज हो । शिवराजले आत्महत्या गरेन व्यवस्थालाई स्वीकार गरेको छ, ऊ निरर्थक भाग्ने प्रयास गर्छ तर उसलाई भागेको जस्तो लाग्दैन, यसो भनूँ, उसले भाग्ने ठाउँ पाउँदैन । मानिसमा माया र भावनाको हत्या भइसकेपछि मानिस बाँच्छ र मानिस एउटा मेशिनभन्दा बढी केही होइन, यही सत्यलाई हामी शिव र म दुवैले आफैँमा प्रमाणित गरिरहेका छौं । बरी एउटा अमूल्यहीन मृत्यु मरेकी छ र शिवराज र म सारहीन जीवन बिताइरहेका छौं । अब शिवराजको भाग्नुको अर्थ छ उसलाई अब छुटकाराले होइन वास्तविकताले अँगालेको छ र म मैले वास्तविकताहरूलाई पचाइसकेको छु र अहिले सन्तुष्टिको एउटा परिधि खिँच्न सकेको छु । शिव र मेरो बीच अझ त्यो पर्दा बाक्लिएर बसेको छ, तर म खोल्न चाहन्नँ किनभने अब यसको अर्थ छैन ।
कहिलेकाहीँ बरीको प्रसङ्ग शिवराज आफैँले उठाउँछ र भन्छ, “सुयोगजी ! सुन्नुभो, बरीलाई आज मैले सपनामा देखेको थिएँ, मलाई किनकिन बरी मरेकी जस्तो लाग्दैन ।” त्यसपछि ऊ एक गिलास एकै सासमा उडाइदिन्छ । एउटा शब्दहीन पशुको विवशता ममा यद्यपि छँदैछ तर त्यस विवशतालाई अब परिभाषा लगाए आफैंलाई अमिल्याउनुको पनि कुनै अर्थ छैन । यसो भनूँ, प्रत्येक मेरा भावनाहरू अब सबै अर्थहीन भइसकेका छन् । शिवराज यो जीवनको व्यवस्थामा राम्रै व्यवस्थित भइसकेको छ तर उसलाई यसको चेनता छैन । म सचेत छु । अब म बरीको सम्झनालाई हेलै पचाउन सक्छु ।
गिलासभित्र दुइटा गहिरा काला आँखाहरू देख्छु, एउटा मुडुली टाउको देख्छु, पिइदिन्छु र सन्तुष्ट हुन्छु । मेरा आफ्ना औंलाहरू निकोटिनले पहेँलिसकेका छन् । ती सधैं म हेरिरहन्छु र सन्तुष्ट हुन्छु । बरीको अस्तित्व छैन र सम्झन्छु, यहाँ प्रेमको पनि अस्तित्व छैन । एउटा निस्सार संसारभित्र म बाँचिरहेको छु र सधैँ स्वीकार गर्छु म एउटा महाशून्यभित्र बाँचिरहेको छु ।
० ० ० ०