‘यो घरका केटीहरू अनौठा अनौठा छन्’ यही विचार गर्दै म सामुन्नेको चोकमा आइपुगिसकेको थिएँ । पहिलो पटक आएपछि पन्ध्र दिनको एउटा लामो पर्खाइ भनूँ, म्याद सिध्याउँदै दोस्रो पटक आएको थिएँ तर त्यो आउनुमा मेरो कुनै खास रुचि थिएन । रुचि हुनु अथवा रुचि देखाउने उमेर मेरो छैन, यो मलाई राम्रैसँग थाहा छ । एउटा नहेरेको तस्वीर फर्काउनु थियो शिवराजजीलाई, बढी केही थिएन । घरको वातावरण उस्तै थियो, मोटर त्यहीं थियो, त्यो एक चोक्टो चौरमा नीलो फूलको केही पातलिंदै गएको रङ्ग, केवल मुजुराको खुट्टा देखिएन ।
म केही खोज्दै गइरहेको थिएँ होला त्यसैले अनायास त्यो कलिलो घाममा झण्डै आङसम्म आएको जाईको झ्याङउता एउटा सुनौलो मुडुलो टाउको उठाएर पर्खालमा केही हेर्न लागेकी सकमबरीलाई देखें । धूवाँको एउटा खिरिलो घाममा टल्कँदै हराइरहेको देख्दा मैले थाहा पाएँ ऊ चुरुट तानिरहेकी छ । जाईको झ्याङमाथि टाँगिएको एउटा सुनौलो खप्पर, एक रेखा धूवाँ र अलिक माथि पर्खालमा झुण्ड्याएर फुलाइएका शायद सुनगाभाका केही बोटहरू आँखालाई केन्द्रीभूत पारेर खालि त्यही दृश्य मात्र हेर्दा त्यो साँच्चै एउटा अनौठो चित्रकलाको नमूना भइरहेको थियो । तर त्यो दृश्य मैले धेरैबेर हेरिन । आफू एक्लै पछिबाट आइरहेकोमा अलिक अप्ठ्यारो लाग्यो । बोलाऊँ भने नाउँ लिन असजिलो, खोकूँ अलिक अशिष्ट भइने । तर त्यस स्थितिमा उसले मलाई धेरै बेर राखिन । एकाग्र भएर बसेको बिरालोले कोही आएको थाहा पाउनासाथ लगत्तै टाउको घुमाएजस्तै फनक्क फर्केर हेरी । गला धेरै खुला भएको चोलोबाट देखिने गर्धनमुनिको हाड र बेस्कन उँभो उठेको छाती देख्दा हाँसो र वितृष्णाले एकसाथ मलाई छोप्यो । हो, मैले त्यतिमात्र हेरेछु, त्यति मात्र देखेछु ।
ऊ चाँडै विवशता अनुभव गर्ने खालकी स्वास्नीमान्छे थिइन, यो मलाई पनि पहिले ज्ञात भइसकेको थियो । त्यसैले उसले कुनै पनि बाधा अनुभव नगरी सजिलैसँग भनी, “दाइलाई भेट्न आउनुभएको होला, उहाँ बाहिरतिर जानुभएको छ, एकछिन पर्खनुहोस् ।”
“कति बेरमा आउनुहोला ?”
“अब आइहाल्नुहुन्छ” भन्दै जाईको झ्याङबाट लम्केर यता नछेलिने ठाउँमा आई । चुरुटको ठुटो उसका झिना औंलाहरूमा सतर्क अड्किएको थियो । एक अन्तिम सर्को तानेर उसले ठुटो भुइँमा फाली । म प्यान्टको खल्तीमा हात हालेर भूइँतिर हेरेर उभिएको थिएँ, उससँग बोल्ने मैले आवश्यकता देखिनँ ।
एकछिनको चकमन्नलाई चिर्दै उसले भनी “यहाँको डेरा शहरमा होइन ? मलाई शिवले भन्नुभएको ।”
प्रशस्त धृष्टता भएकी स्वास्नीमान्छे हुनुपर्छ यो, आफ्नो दाइलाई शिव नाउँले बोलाउँदी रहिछ । मैले उसको कुरा नसुनेकोमा उसले फेरि भनी, “कुरा सुन्नुभएन कि क्या ?”
त्यसपछि झसङ्ग भएको एउटा बहानाजस्तो गरेर मैले भनें, “होइन, यी पर्खालमा झुण्डयाएका सुनगाभाहरू कहाँबाट जम्मा गर्नुभएछ भनी विचार गर्दै थिएँ । यहाँ त अरू ठाउँमा मैले देखिनँ ।”
घामको उज्यालोमा मुखै उज्यालो पार्दै उसले भनी, “फूलको मलाई सोख छ ।”
शायद हाँस्नु र खुशी हुनुको उसको सीमा यति नै होला । ऊ भन्दै थिई, “यो विशेष ठाउँबाट मगाएको, यी फूलहरूको आफ्नो विशेषता छ, यता हेर्नुहोस्, यो हाँगामा कोपिलाजस्तो पलाएको छ, देख्नुभो, यो यही फूलको प्रमुख अङ्ग हो, यसले कीरा मार्छ । यसलाई जीवघातक सुनगाभा पनि भन्छन् । भँवरा, मौरी, अरिंगाल यहाँ आउनै हुँदैन ।”
उत्सुकतावश म पनि उसैको बगलमा उभिन पुगेछु, हावाको एउटा पातलो नदेखिने धर्सोले मात्र हामी दुईलाई अलग राखेको थियो त्यस बेला । ऊ प्रशस्त रमाउँदै भनिरहेकी थिई, उसको पातलो औंला फूलको छेउछेउमा हल्लिरहेको थियो, “भंवरा अथवा मौरीको स्वरको चेतना पाएपछि यी कोपिलाजस्ता थैलाहरूले आफ्नो मुख बाउँछन् । यहाँ के छ कुन्नि कीराहरू फूल छोडेर यसभित्र पस्छन् । एउटा थैलामा एउटा भँवरा पसिसकेपछि यसले आफ्नो मुख बन्द गर्छ । कीरा भित्र निसास्सिएर मर्छ, असाध्य रमाइलो हुन्छ । अहिले कीरा आएको छैन नत्र तपाईंले पनि देख्नुहुन्थ्यो सुयोगजी !”
मैले तर्सेर उसलाई हेरें, तर उसले मलाई हेरेकी थिइन, सम्झें स्वास्नीमान्छे साँच्चैकी धृष्ट हो, ऊ थिई धृष्ट मेरो के लाग्छ ! मलाई उसको अनुहार हेर्दा एउटा अर्कै भावनाले कुतकुत्यायो, यो सुनगाभाको फूलले कीरा मार्छ त ऊ यो विधि रमाउनुपर्ने किन ? अहिले त बोल्ने आवश्यकता मात्र हैन उससँग कुरा गरिरहन रहर लाग्यो । मैले खल्तीबाट चुरुटको बट्टा झिकेर उसलाई दिएँ, उसले निःसङ्कोच एउटा झिकी ।
सल्काइसकेपछि मैले सोधें, “भँवरा बस्नै नपाएपछि यो फूलको के अर्थ ?” पछिबाट लाज लाग्यो, कस्तो सस्तो कुरा सोधेछु, त्यसै त सिपाही, तर उसले मेरा कुरालाई त्यति सस्तोसँग लिइन । चुरुटको धूवाँ फुरुरु छोड्दै उसले भनी “फूल बिग्रँदैन, सुरक्षा पाउँछ ।”
उसप्रतिको मेरो रहर अझ बढ्दै गयो, मैले उसलाई नहेरी भनें, “त्यसो भए निरुद्देश्य यसलाई नफुलाउनुहोस्, फूलको कुनै न कुनै सार्थकता हुनैपर्छ । जुन फूलको फुल्नुमा र आफूलाई लुटाउनुमा केही विशेषता छैन, त्यसले जीवघाती तन्तु आफूसँग राख्छ भने त्यस विशेषतालाई के विशेषता मान्ने ? ओइलाउनु र झर्न त यसले पर्छ-पर्छ भने एउटा विद्रोहसँग खेलेर सिद्धिन किन नसक्ने !” मैले आफ्नो भनाइको प्रभाव उसको अनुहारमा हेर्न खोजें; तर ऊ जस्ताको तस्तै थिई, न मलाई नै हेरेकी थिई ।
त्यसपछि फूलबाट आँखा हटाएर मलाई हेर्दै भनी “फूलबाट तपाईं कति चाँडै जीवनको थोत्रो दर्शनतिर भाग्नुभयो !” मैले निधार गाँठो पारें, ऊ भन्दै गई, “आफ्नो निम्ति फुल्नु, आफ्नै निम्ति फक्रिनु, झर्नु जस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भँवरासँग लाप्पा खेल्नैपर्छ, झर्न त पर्छ-पर्छ भने भँवराको चोट सहेरै किन झर्ने ! आफू मात्र झर्ने, आफ्नू इच्छाले झर्ने ।”
कति निस्सार थियो उसको जीवनप्रतिको भावना र कति निष्ठुर पनि । ऊ मदेखि एक हातजति टाढा थिई । एक धर्सो हावाको भरमा मैले उसलाई छोएको छ भन्ने विश्वास पनि अब त अल्मलिइसकेको थियो ।
शिवराज आइपुगेको थिएन, मेरो रहर मेटिएको थिएन, मैले भनें, “त्यो त फूलको कुरा भयो ।”
“हो, जीवनलाई फूल सम्झनेहरूका कुरा ।”
मेरो अनुहारमा एउटा विकृत भाव क्रमशः आउन लागेको थियो । सारा स्थितिलाई लत्त्याएर भए पनि मैले उसको दुब्लो शरीरभित्र चलेको सास छातीको उठाइ र बसाइमा प्रस्ट हेरिरहेको थिएँ, मलाई रमाइलो अनुभव भइरहेको थियो । तर मलाई यस्तो हुन दिनु थिएन, मैले भनें, “भँवरासँग जुन लाप्पा खेलिन्छ त्यो लाप्पा कहाँ हो र ?”
उसले बीचमै कुरा काटी, “सोझो भन्नुस् न त्यो त प्रेम हो प्रेम । प्रेम पनि त कुनै बाध्यता होइन । प्रेममा गएर पिल्सिनैपर्छ, यो पनि कुनै अनिवार्य छैन । एक्लो बाँच्न सकिन्छ एक्लो ।”
“तपाईंको फूलले त्यो कहाँ सिकाएको थियो त ? आफू एक्लो बाँच्ने र भेटेकालाई मार्ने पो भनेको होइन ?”
उसले त्यही बुलेट पड्केको जस्तो आवाजमा भनी, “हो, त्यो फूलको कुरा भयो, तर मर्न आउने मर्छन्, मेरो भन्नु केही छैन । गर्मी भयो, भित्र हिंड्नुस् ।”
दोस्रोपल्ट सर्लक्क उभिएको शरीरमाथि राखिएको एउटा सुनौलो टाउको पछि लागेर म त्यस घरको मूलढोकाबाट फेरि त्यही बैठकमा गएँ । ऊ मलाई त्यहीं पर्खाएर गइहाली । आफैं सम्झन थालें कस्ती निस्सार स्वास्नीमान्छे छ यो । यसको रगतमा मानवविरोधी तत्त्व बहन्छ क्यार, तर होइन उसको दाइलाई ऊ माया गर्छे, त्यसैले शिवराज उसलाई अरूलाई हेरी बढ्ता माया गर्छ । सकमबरी के जीवनहीन प्रेमहीन होली त ? ऊ जस्ती होस् मेरो के लाग्छ ? मैले पनि पैंतालीस वर्षको उमेरसम्म कुन स्वास्नीमान्छेलाई प्रेम गरें र ? म प्रशस्त बूढो भइसकें, मलाई प्रेम र स्वास्नीमान्छेसँग के चासो, के स्वार्थ ?
एकछिनपछि ऊ ढोकाबाट कराउँदै आई, “तपाईंलाई शायद फूलको सोख छैन ।” उसले हातमा अर्को चुरुट लिएकी थिई ।
“एउटा सिपाही र फूल कस्तो अमिल्दो कुरा !” आफ्नो हाँसोको सीमा मोहडा उज्यालो पार्दै ऊ लगत्तै गई । मैले थाहा पाएँ ऊ हाँसेर गई, तर कस्ती रहिछ प्याच्चै सिपाही भनिदिई । शिवराजले मेरो सबै कुरा यसलाई भन्दो रहेछ,
गजबको मान्छे ! मैले पहिलो दिनै सम्झेको थिएँ यसलाई सम्झन एउटा छुट्टै कोठा चाहिन्छ, छुट्टै एकान्त चाहिन्छ, अवश्य चाहिन्छ । तर जे होस्, यसको धारणा स्वास्नीमान्छेमा लागू हुन सक्तैन, ऊ आफैँले पनि हुन सक्तैन । स्वास्नीमान्छे स्वास्नीमान्छे नै हो, फूल फूलै हो । म बूढो सिपाही मलाई… मलाई फूलको सौख छैन तथापि स्वास्नीमान्छे मेरो मस्तिष्क दुखेर आयो, मैले फूलदानमा भरिएका ताजा नीला फूलहरू खेलाएर आफैलाई बिर्सन खोजें । तर यहाँ पनि स्वास्नीमान्छे- यहाँ त झन् मुजुरा भन्ने स्वास्नीमान्छे छ, एउटी राम्री स्वास्नीमान्छे । भाग्यवश छिंडीबाटै बरीको नाउँ लिंदै शिवराजजी पस्यो, मैले केही छुटकारा अनुभव गरें ।
मलाई देख्नासाथ उसले भन्यो, “बरीले तलै भनी धन्दा नमान्नुहोस्, यसलाई आफ्नै घर सम्झनुभए हुन्छ ।”
मैले खल्तीबाट एउटी स्वास्नीमान्छेको नहेरिएको तस्वीर झिक्तै भनें ” तपाईंले यो तस्वीर हिजो मेरो डेरामा छोड्नुभएछ, म त्यही दिन भनी आएको, लिनुस् ।”
उसले तर्संदै भन्यो, “हरे ! म कस्तो लबस्तरो, अरू ठाउँमा छुटेको भए !” सकमबरीको तस्वीरलाई मायालु आँखाले हेर्दै उसले आफ्नो वालेट अघिल्तिर राख्यो । मेरो खल्तीबाट एउटा समस्या भाग्यो, एउटा मानवविरोधी तत्त्व भाग्यो, धृष्टता भाग्यो ।
बाहिरबाट आएको कचिङ्गलले हामी दुवै जना एकाग्र हुन सकेका थिएनौं । ऊ त सधैंको अभ्यस्त मान्छे, मलाईचाहिं अनौठो लागिरहेको थियो ।
“तिमी अलिक मधुरो स्वरले बोल्न सक्तिनौ बरी ?” एउटा बुढौली लागेको आवाज आउँछ ।
“कति चुरुट खानुपर्छ बरी, तिमीलाई ?” अर्को मसिनो लज्जालु आवाज आउँछ ।
“बरी दिज्यू ! लाहुरेहरूले गाउने गीत गाउनोस् न ।”
अनि एउटा फुक्का खित्का छुट्छ । मैले कुरा टाल्नलाई साथीसँग सोधें, “यहां सधैं तपाईं ताजा फूल राख्नुहुन्छ नि शिवराजजी ?” तर मैले कुरा थुत्ने उद्देश्यले भनेको होइन ।
उसले हाँस्दै उत्तर दियो, “बरीले भरिदिन्छे सधैं । मुजुरालाई यी सबको चाख छैन । मेरी कान्छी बहिनीसँग मेरो भेट नै हुँदैन । म उठ्दा ऊ पढ्न गइसकेकी हुन्छे, म फर्कंदा ऊ खाएर सुतिसकेकी हुन्छे ।” कुरा टुङ्गिन पाउँदैन, ढोकामा चिच्च्याएर देखा परी उही बरी ।
“शिव ! तपाईंलाई भान्सा गर्नु पर्दैन आज, आज हिंड्नुस् सुयोगजी, तपाईं पनि भान्सामा ।”
मैले लाज मान्दै भनें, “होइन, म डेरामा खाइहाल्छु नि ।”
“डेरामा कसले पकाइदिन्छ तपाईंलाई ? भान्से राख्नुभएको होला, मीठो लाग्छ के ? बिहा गर्नुस्, अब बूढो भइसक्नुभयो ।”
बरीका यी वाक्यहरूले एकक्षण त मलाई व्याकुल बनायो । सम्झें जथाभावी बोल्छे, कत्ति पनि लाज मान्दिन; साँच्चै कस्ती मापाकी छे यो स्वास्नीमान्छे !
कति सहजैसँग घरी सिपाही भन्छे, घरी बूढो भन्छे, यसलाई आफ्नो दाइको अलिक लाज पनि लाग्दैन क्यार । म बिदा लिएर छिटो-छिटो डेरातर्फ आएँ । बाटामा मलाई एउटै घाउले पिरोलिरह्यो । म बूढो भएछु, बूढो भएछु मात्र होइन, बूढो देखिएछु । तर टाउकोले टेकेर स्वीकार गर्नुपरेको थियो त्यस सत्यलाई । बूढो त म निश्चय नै भएको हो, कसो गर्ने ? तन्देरी देखिनलाई र केही पाउनलाई मेरो जीवनले पनि लोभ गर्ने हो र ? मसँग छ नै के र ? म त रित्तिसकेको एउटा भाँडो, एउटा निस्सारता हुँ । आफैंले आफैंलाई सान्त्वना दिएर पनि मैले कत्ति चित्त बुझाउन सकिनँ । दिनभरि मनमा अशान्ति भइरह्यो ।
त्यसपछि निकै दिन बित्यो, मैले बारमा जान छोडें । शिवराज पनि मकहाँ आउँदै आएन । त्यस घरमा तेस्रो पटक जाने आँट मैले गरिनँ । बरी एउटा ढङ्गले बोल्न जान्दिन, त्यहाँ किन जाने सिध्यै ? न सम्मान, न शिष्टाचार, न माया ।
उससँग भेट भएको दोस्रो पटकमै ऊ त्यस्ती, तेस्रो चौथो भेटमा अझ कस्ती होली ! के भन्छे, के भन्दिन । कति लाज पार्ने हुन् । केही हुँदैन रे मलाई आत्मग्लानि त हुन्छ । साँझ सधैं झ्यालबाट पेटीउताको चल्ती पसललाई हेरेर चित्त बुझाउँथें, यसभन्दा अर्को साधन नै मेरो थिएन ।
पसल हेर्दै विचार गर्थें ‘साँझको रमझम छिचोलेर पसले साहू सधैं घण्टा, दुई घण्टाको निम्ति कतै जान्छ । त्यसपछि सधैं पसल्नी र एउटा सोह्रवर्षे सोडा-पानी बेच्ने ठिटोको प्रेमकथा शुरु हुन्छ । त्यहीं लेखिन्छ त्यो कथा त्यहीं अव्यक्त र असीम भनिंदो सन्तोषको सीमामा पुगेर मेटिन्छ । पसल्नी विश्वासी छे ठिटोको निम्ति र ठिटो प्रेम गर्छ पसल्नीलाई, अति चर्को प्रेम, कुन्नि के लोभमा, कुन्नि के प्रेरणामा । यो पनि त जीवन हो, यो पनि त प्रेम हो ।
सुन्दथें पसल्नीका दुइटै फोक्सामा क्षयरोगका ठूल्ठूला खोपिल्टा परिसकेका छन् । मेरो भान्से केटो त्यहाँ सामान किन्न घिनाउँछ । अब हद्द बाँचे ऊ दुई वर्ष बाँच्ली, ऊ सबै भन्छ । कति अज्ञानी छे पसल्नी आफैंप्रति र कति सुखी पनि । उसले पनि आफूसँग एउटा जीवघाती तन्तु राखिदिए हुने, तर होइन ऊसँग छ के ? त्यो ठिटोलाई उसले आफ्नो छातीको सबै कीटाणु नासो दिएर मर्दिन त ? अवश्य यही हुन्छ ।
यस्तै त हो नि मानिसको प्रेम, जो कुनै पनि ठाउँमा आफ्नो अस्तित्वलाई कायम राख्छ । मानिसहरू निस्सार प्रेममा र प्रेम निस्सार मानिसहरूमा सँगै सधैं अँगालिएर हिंडेका छन् । खोक्रो फोक्सोमा सास फेरुन्ज्याल त्यो ठिटोसँगै पसल्नी प्रेम गर्छे । शायद मासुको तिर्खा मेट्छे र त्यो ठिटो पसल्नीलाई यस्तै सजिलो वातावरणमा पाउन्ज्याल प्रेम गर्छ, कुन्नि आफ्नो कुन तिर्खा मेट्छ । पसलको भित्री भागमा अँध्यारो पारेर पसल्नीलाई अंगालो हाल्दैमा ठिटोको प्रेम सीमित हुन्छ, के अर्थ छ त्यस प्रेमको ? के मूल्य छ त्यस प्रेमको ?’
यति विचार गर्दागर्दै म भौंतारिएर कहाँ पुग्छु, विचलित हुन्छु, मैले कसैसित प्रेम नै गरिनं तर मैले स्वास्नीमान्छेलाई छोएको छु । क्रमशः मेरो अनुहारमा म विकार अनुभव गर्छु र आफैलाई टोह्लाउन फेरि त्यो शिरीषको घारीभित्र लुकेको घर सम्झन्छु । हो, म बूढो भइसकें, ममा त्यो ठिटोको जस्तो ताउ आउँदैन, मलाई प्रेमको मूल्य खोज्नु छैन । अब त शिरीषका नीला फूलहरू पनि केही बेरङ्गी हुन थालिसके होलान्, आफ्नो रूखसँगको म्याद सिद्धयाएर, मोहलाई करबलले हटाएर झार्न थालिसके होलान् आफ्-आफैं, आफ्नै इच्छाले । कत्रो भिन्नता छ सकमबरी र पसल्नीमा, दुवै कस्तरी विपरीत दौडेका छन् । के हो र सकमबरी ? दँजाएर हेरे पसल्नीले माथ गरिदिन्छे बरीलाई ।
सडकमा साइकलको घण्टी बजेको सुनेर झस्कँदै मैले हेरें शिवराज आएको थियो । एक किसिमले मलाई खुशी पनि लाग्यो । ढोकाबाटै ऊ गुनासो गर्दै पस्यो, “तपाईं कस्तो बेपत्ता हुनुभएको, मैले फुर्सद पाइनँ रे तुपाईंको के काम, माया मार्न लाग्नुभो जस्तो छ ।” कुन्नि शिवराज किन मसँग साह्रै आत्मीय हुन चाहन्छ । शङ्का लाग्थ्यो, उसको पनि बिहे गरिदिनुपर्ने तीन जना बहिनीहरू छन्, तर शङ्का पनि कति व्यङ्गयात्मक, उसको त्यस्ता लहलहाउँदा सुकुमारी बहिनीहरू, कसमा के खोट छ र ?
मैले खुशी व्यक्त गर्दै भनें, “यता केही सञ्चो नभएर, नत्र आइहाल्थें नि !”
उसले विश्वास गरेन, मलाई हेरेर मेरो बिसञ्चो हुनुलाई पत्याएन । उसले भन्यो, “दुब्लाउनुभएको छैन नि ! औषधि खान छोड्नुभयो कि कसो ?”
“किन छाड्थें खानलाई जहाँ पनि भइहाल्छ नि । यो युग नै अल्कोहलको, यसदेखि टाढा कहाँ जानु छ र !”
त्यसपछि शिवराजलाई बोल्ने फुर्सद भएन । धेरै दिनको निचोड एकैचोटि निकाल्न चाहन्थ्यो ऊ । फेरि भरी बोतलहरू मगाइयो, रित्त्याइयो । कहाँदेखि कहाँ पुगियो । कहाँ पसल्नी, कहाँ सोडा-पानी बेच्ने ठिटो, कहाँ निस्सार प्रेम, कहाँ सकमबरी ! सबै बिर्सेर म केवल अल्कोहलको प्रतिक्रियामा सास फेरिरहेको थिएँ । बिदा हुने बेलामा वास्तविकताको एक तह पिल्साउँदै उसले भनिहाल्यो, “पर्सि बरीको जन्मदिन, तपाईंलाई निम्तो छ । कृपया उपहारजस्तो केही नलिएर आउनुहोला, त्यो बरी थाप्दिन । फेरि मुखमा झटारो हानेर फर्काउन बेर छैन ।”
मलाई साँच्चै मुखमा झटारो आएजस्तो लाग्यो, केही घोप्टेर भनें, “कोशिश गर्छु ।”
“कोशिश गर्छु होइन, म तपाईंलाई यहीं आएर लग्छु ।”
ऊ हतारिंदै गइहाल्यो । बसले छोडेको पेसिन्जरजस्तै म जिल्लिएर उभिरहें । सम्झेर आएर त उसले लग्छ लग्छ, कति ढिपी गर्न सक्छ शिवराज, तर जाने कसरी, बूढो मानिस ठाँटिएर आउँछ भन्ली कि ! सकमबरीको मुख न हो । उपहार नबोकी उही पनि उपलक्ष्य परेको दिनमा झ्याउरे भएर जाने पनि कसरी । ठाँटिएर त म सधैं हिंड्छु । यो सकमबरीलाई थाहै होला । हरे ! यो जन्मदिवस पनि मुजुराको भइदिए हुने । केही शानसँग त जान पाइन्थ्यो, तर यहाँ मुजुरा बैठकसम्म पनि देखापर्दिन । यसो दाउ गरेर भाग्नुपर्ला त्यो दिन, अवश्य भाग्छु, यही निश्चय गरें मैले ।
० ० ० ०