कति जन्मदिन मनाइयो त्यसको हिसाब के, तर त्यो जन्मदिवसमा, म नढाँटीकन स्वीकार गर्छु, मलाई केही भएको थियो, अर्थात् असमन्जसमा म अवश्य परेको हुँ । म दिउँसै आफैंमा कुनै विशेष कामको बहाना गर्दै डेराबाट निस्कें उद्देश्यहीन भौंतारिनलाई । उद्देश्यहीन त म यसै नै थिएँ तर विशेष त्यस साँझलाई आफूबाट केही पन्छाउनुपरेको थियो ।
सम्झें – कति काफर म ? कुन प्रेरणाले मलाई यसरी काफर हुन सिकाएको छ ? काफर कहिले थिएँ र ? म विश्वयुद्ध लडेर आएको मान्छे, सङ्गीन र बुलेटसँग खेलेर आएको, छिः यस्तो कुरा आफैँभित्र दोहोऱ्याउन पनि मलाई लाज लाग्यो । भूगोलपार्कको छेवैमा मैले चिनेको स्वरले बोलाएको सुनें, “कहाँ जान लाग्नुभयो, मैले तपाईंलाई भनेको होइन र ?”
त्यसपछि कति विवाद भयो स्मरणमा राम्रैसँग लेखिएको छैन । अन्त्यमा म लुरुलुरु त्यही शिरीषको घारीभित्र स्थित बिरानु घरको मूलढोकाबाट आफूलाई लगिरहेको थिएँ ।
मानिस कोही थिएन, शायद निम्त्याइनेमा म मात्र थिएँ कि । सम्झें शायद बरीकै कोठामा होला । उसका साथीहरू खाएर गइसके म आखिरीको पाहुना थिएँ होला, शिवराजको बैठक त्यस्तै सजावटमा त्यस्तै चकमन्न थियो । जुन आशा गरेको थिएँ, त्यो केही पनि थिएन । बैठकमा मलाई छोडेर ऊ भित्र गइहाल्यो, म झ्यालमा आएर बाहिर हेर्ने बहाना गर्न थालें ।
त्यही दिन मैले आफैंमा एउटा परिवर्तन अनुभव गरेको हुँ- त्यो के भने म सचेत रहन्थें, कुन्नि किन ? बूढो देखिइन थालेको म विशेष सकमबरीको आँखाले आफूलाई लुकाउन पनि कहाँ अनि कसरी ? मैले लुकाउन खोजें रे तर कटु सत्य कहाँ लुक्छ र ? साँच्चै लुक्दैन त ? मैले के आफूभित्र कुनै सत्यलाई लुकाएको छैनँ ? मेरो मस्तिष्कमा एउटा बोझजस्तो आएर बस्यो ।
स्नायुगतिको आवेगमा परेर मैले टेरेलिनको कोटमा सिउरेको ज्यास्मिनको कोपिला झिकेर झ्यालबाट मिल्काइदिएँ ।
“… हरे !” ढोकामा स्याम्पू लगाएर हरक उडेको सुनौला बालभित्र सानू अनुहारमा साना-साना आँखा टल्काउँदै, हुनसक्छ हाँसिरहेकी थिई बरी । सम्झेँ- बिरालोले जे पनि चाँडै देख्छ तर यस्तो होस् त्यो मेरो असफलता थियो; मानौं आज पनि दशा ठीक छैन । दोस्रो पटक उससँग भेट्दा बोल्ने जुन रहर थियो त्यो रहर मरिसकेको थियो । म पहिलेबाट चङ्खो भएर बसिरहें, अब के भन्ने हो ? यसको विपरीत टेबुलसम्म आएर उसले भनी, “सुयोगजी ! आज म चौबीस वर्ष पुगें ।” मलाई राम्रैसँग थाहा छ तर मैले यसो भनिनँ केवल साधुवाद दिए ।
मलाई वितृष्णा भइरहेको थियो उसप्रति, उसको प्रत्येक व्यवहारप्रति । उसले मलाई कोचमा बस्ने आग्रह गरी । हातमा चुरूटको एउटा सिङुगै बट्टा लिएर आएकी थिई, खोलेर मलाई दिई । सलाई कोरेर टाउको निहुराई मतिर, मेरो धेरै नजिक, हामी एउटा सग्लो चुरुट र बलिरहेको सलाईको दूरीमा टाढा थियौं एक-अर्कोदेखि ।
स्याम्पू र सुकुमेलको हलुका बासले मेरो नसा-नसा गलाउन खोजिरहेको थियो, तर सपनाजस्तै निद्राबाट चुँडिएर ऊ पर गई, त्यो अनुभवलाई मैले अनुभवसम्म गर्न पाइनँ । क्रमशः उसप्रतिको वितृष्णालाई हराएर मलाई रहर एउटा दिइरहेकी थिई साधारण रहर ।
हरियो हाएन्डलुमको धोतीभित्र पाँच फुट तीन इन्चको बाँसको लिङ्गोजस्तो शरीरमा सुनौला टाउको जडेकी सकमबरी मतिर प्रस्ट पिठ्यूँ फर्काएर उभिएकी थिई । केही बेर ऊ बोल्दै बोलिन । म पाँच फुट छ इन्चको जवान, जवान के नै बूढो, मभन्दा तीन इन्च कम उचाइमा र एक्काइस वर्ष सानो उमेरमा, सम्झँदा-सम्झँदै म एक्काइस कोस टाढा पछारिन पुगें शिवराजको बैठकको वास्तविकतादेखि । यो सब दँजाइरहन के आवश्यकता ? मलाई नियास्रो लागेर आयो । सम्झेँ कति निस्सार यो भावना ।
केही छिन टोलाएर ऊ कराउँदै शिवराजको खाट सोझी राखिएको दराजतर्फ गई । “आम्मै ! कस्तो कस्तो भुलिछु, शिवले मलाई के अढाएर पठाउनुभएको; तपाईंलाई त यो नभै हुँदैन रे नि ।” उसले पातला औंलाहरूले घाँटी समाएर एरिस्टोक्र्याट ब्राण्डीका दुइटा बोतल निकाली ।
सधैं उसदेखि मैले हीनता अनुभव गर्नुपरेको थियो, एउटा अरू बढ्यो, के भो त ? लत छैन भनेर के अस्वीकार गर्ने ? असम्भव थियो मेरो निम्ति । विश्वाससाथ नभै नहुने कुरा भनी स्वीकार गरें मैले । बोतल राखेर शायद गिलास लिन गई र भन्दै गई चर्को स्वरमा, “शिव रक्स्याहा, शिवको साथी रक्स्याहा ।”
म बूढो, रक्स्याहा, सिपाही । आफ्नो अघि लम्पसार तेर्सिएका मार्मिक विश्लेषणहरूले मेरो नामलाई सक्तो गिज्याइरहेका थिए । सुयोगवीर सिंह बूढो, रक्स्याहा, सिपाही, हावामा नाङ्गो खुकुरी नचाएर आएको यो मेरो इनाम । सँगाल्नुपरेको थियो यो मूल्य मेरो वीरताको, विश्वयुद्धमा खपेका मेरा अनुभूतिहरूको र डेथ भ्यालीमा घिसारेर कोसेली फर्काएको मेरो रित्तो जीवनको बरी आई किस्तीमा गिलास र सितनहरू बोकेर, पछिपछि शिवराज आयो ।
सधैंको मेरो साँझ, सधैँ दोहोरिएर आएको मेरो साँझ, सधैं आफूसँग भइरहने एउटा नियमबद्धता, मलाई फेरि रमाइलो लाग्यो । सकमबरी एउटा चुरुट सल्काएर कोचको आडमा उभिरही । शिवराजले बोतल खोल्दै भन्यो, “जय होस् बरीको, बरीको जन्मदिवस सधैं सधैं आइरहोस् ।”
“र बरी बूढी हुँदै जाओस्, शिवको आशिष्,” बरी कराई ।
म थाप्दै थिएँ उसका व्यङ्गयहरूलाई ।
शिवले विरोध गर्यो, “बूढी हुँदै जाऊ भन्या’ हो र ? धेरै वर्ष बाँच पो भनेको त !”
उसले निहुँ पाई, “के काम बाँच्ने ? बूढाबूढी भइन्ज्याल किन बाँच्ने ? शिव ! तपाईं आशिष् दिन जान्नुहुन्न, समयमा मर भन्नुपर्छ । के छोप्न बाँच्ने ?”
मैले हेरें, बरीले त्यो ठट्टा गरेकी थिइन । ऊ गम्भीर नै देखिन्थी । तपाईंलाई मर्ने कत्रो रहर भन्न मन लागेको थियो तर भनिनँ । ऊ त मानवविरोधी तत्त्व अनि म, म स्वास्नीमान्छेलाई प्रेम गर्ने शक्ति नभएको लाछी, निर्जीव, खूब मिलेको । मैले आफैँलाई स्वाभाविक तुल्याउनको निम्ति डराउँदै भनें, “मैले पनि तपाईंलाई आजदेखि बरी भनेर बोलाए कस्तो होला ?”
शिवराज खुशी भयो, “भन्नुस् भन्नुस्, अझ तिमी भन्नुस्, यिनीहरूलाई केको तपाईं ? आफ्नै बैनीहरू त हुन् नि !” अहिलेको पटक शिवराजलाई पनि मैले सारहीन पाएँ ।
बरीमा केही परिवर्तन आएको थिएन । बत्तीको टकमा टल्किएका चश्माभित्र आँखाको भाव पढ्न गाह्रो थियो । धेरै स्वास्नीमान्छेहरू उनीहरूको प्यारो नाउँले बोलाउँदा रमाइलो मान्छन्, खुशी हुन्छन् तर बरीले त्यो देखाइन, सहजसँग भनी, “तपाईंलाई जे इच्छा लाग्छ त्यही भन्नुस् ।”
त्यसपछि साबिकबमोजिम हाम्रो कुरा चल्यो । म सचेत भएर बोल्थें, झस्केर बोल्थें, बुलेट छेवैमा पड्केला भन्ने डर लाग्थ्यो । कुरैकुरामा बरीलाई सङ्केत गरी शिवराजले भन्यो, “सुन्यौ बरी ! सुयोगजी लडाइँको कुरा उठ्यो कि विरक्त हुनुहुन्छ, कस्तरी पन्छाउनुहुन्छ हामीलाई ।”
बरीले चुरुटको धूवाँ उडाउँदै भनी, “डर लाग्दो हो नि उहाँलाई !”
“केको डर सैनिकलाई,” शिवराज तर्स्यो ।
बरीले भनी, “लडाइँ त अपराध हो शिव ! जसको निम्ति लडौं, जसको हुकुमले लडौं, त्यो त व्यक्तिले व्यक्तिमाथि गर्नुपर्ने अपराध हो । प्रत्येक मार्नेहरूले आफ्नो निधारमा लेखेर ल्याउनुपर्ने अपराध । अपराध पोखिंदैन सितिमिति ।”
लडाइँबाट फर्किसकेको यतिका वर्षसम्म कसैले मलाई यस्तो निर्णय दिएको थिएन । कुन्नि बरीको उद्देश्य के थियो, तर के जान्दथी र बरी । हामी वीरताको नाउँमा मर्छौं, बलि लिन्छौं र बलि हुन्छौं । यो केको अपराध ?
“तपाईं पनि अपराधी” बरी झ्यालतिर गई । सुनसान रातमा आफू मात्र ब्युँझै भएको बेला अनौठो स्वरले कोही करायो भने कस्तो हुन्छ, हो, ठीक मलाई त्यस्तै भयो । चरक्क चिरेर एउटा प्रतिक्रिया मेरो मस्तिष्कमा वारपार दौड्यो बिजुलीको करेन्टजस्तो । मुटु निकै ठूलो ढुकढुकी लिएर बज्यो । दुई-तीन पल शिवराजले सोचेर भन्यो, “बरी ! उहाँले मान्छे काट्नुभएको छैन ।”
“मान्छे काट्नु मात्र अपराध हो र ?” बरी झ्यालबाट वर आई । म मर्माहत भएँ, गिलासको रक्सी स्वाट्टै पिएर विचार गरेँ, बरी केही जान्दिन । बरी एकदमै अपरिपक्व छे, अविकसित छे, तर बरीको उद्देश्य मैले बुझिनं । मेरो छेवैबाट ऊ बाहिर निस्की, उसको अनुहार जस्ताको तस्तै तटस्थ थियो ।
क्रमशः एउटा सुनौलो टाउको ओझेल भएपछि मैले शान्तिको सास फेरें । त्यस रात शिवले मलाई रक्सी खुवाउनसम्म खुवायो । अनुभवी हातहरूबाट तयार भएका तरकारीहरू, अरू मिष्टान्नहरू, कुनै गुनासो राख्नै नदिएर बरीले आफ्नो जन्मदिन मनाइदिई । म त्यहाँबाट बिदा हुँदा रातको एघार बजिसकेको थियो । शिवले उहीं सुत्ने आग्रह गरेको थियो, तर म तयार भइनँ । पानी पर्न नसकेर उकुसमुकुसमा छटपटिरहेको निखुर कालो रातलाई साइकलको एकनासे स्वाईं स्वाईं स्वरले चिर्दै जीउभरि रक्सीको गर्मी बोकेर म शहर आइपुगें । सन्तोषसँग लडिएर सुतें । बिहान उठ्दा ममा हिजोको प्रतिक्रिया तिर्खा हो कि भनेर ठम्याउन नसकिने कता कता तिर्खाजस्तो लागेको थियो । सधैंझैं मन खाली नै थियो ।
० ० ० ०