त्यसपछि धेरै समय बित्यो । बर्खा आफ्नो अन्तिम दिनहरूमा काठमाडौंको खाल्डोलाई भिजाउने प्रयत्नमा थियो । त्यही बीच मेरो पैंतालीस वर्षले मलाई बाध्य बनाएर छयालीसमा पछार्दै भाग्यो । आफैँभित्र पनि जतिसक्दो छलिन खोज्दै मैले त्यो दिन बिताएँ अर्थात् मनाएँ । मेरो बारमा जानु त्यस्तै थियो र शिवराजसँग भेट्नु त्यस्तै । हाम्रो नियमबद्धतामा कतै फरक आएको थिएन ।
भए तापनि मेरो एक्लो जिउनुको अध्यायमा नौला नौला कुराहरू थपिइसकेका थिए । म शिवराजको घरमा धेरै झ्याम्मिइसकेको थिएँ । उनीहरू सबै उस्तै थिए । शिवराज सारहीन बितिरहेको थियो । दिउँसोको परिश्रम, रातिको केही छिन रमाइलो । उसकी मुमाले एउटी दुलही भित्र्याएर बुहारीको रहर मेट्ने इच्छा धेरै प्रकट गरिसकेकी भए पनि शिवराज पलायन हुँदै बहाना गर्दै आइरहेको थियो, कुन्नि किन ? शिवराजलाई स्वास्नी पाल्न नसक्ने भन्ने डर पनि थिएन, जहाँसम्म उसले कसैलाई रोजेको पनि थिएन, रोजेको भए पनि ल्याउन सक्थ्यो । मभन्दा धेरै सुन्दर शिवराजलाई केटी नपाउने कुरै थिएन ।
म त्यहाँ प्रायः गइरहन्थें । सकमबरीको जीवन उस्तै थियो । मैले केवल उसलाई बरी र तिमीको साइनो लगाएर आफूलाई उसको धेरै नजिक अनुभव गर्थें । बरीको स्वभावसँग म अभ्यस्त भइसकेको थिएँ । उसलाई मैले सधैं उस्तै खरी, उस्तै निठुरी पाएँ ।
ऊ तरुनी थिई, बैंसमा फुलिसकेकी, तर कहिल्यै यस्तो देखाइन मानौं ऊ आफूप्रति सचेत नै छैन । जहिले गए पनि उसलाई घरैमा भेट्टाइन्छ । बाहिरको रमझममा उति चाख लिएको पनि देखिएन । एकनास चुरुट पिउँथी र म सम्झन्थें यत्ति रहेछ उसले जीवनमा विलासको नाउँमा केही भेट्टाएकी र कहिले सम्झन्थें बरी पनि केही रहस्य लुकाउँदी हो । धूवाँको मुस्लोभित्र कि अवश्य बरी भाग्दी हो धूवाँमा रङ्मगिएर, तर यी सब मेरा अड्कल मात्र ।
घरमा तिनीहरूलाई केही दुःख थिएन । झन् बरीले त आफ्नो दाइलाई पनि उधुम प्रभाव पारेकी थिई, यसैले ऊ समस्या र असन्तोषदेखि फुक्का नै थिई, मैले देख्दा । कति पटक कहिले चुरुट सल्काउँदा, कहिले केही दिंदा, केही देखाउँदा ऊ मेरो धेरै नजिक आइसकेकी थिई । कतिसम्म भने उसको तातो सास मैले आफ्नो अनुहारभरि अनुभव गरेको छु, तर उसको भाव बदलिंदैन कहिल्यै । मसँग कुनै प्रतिक्रिया लिन्न, सधैंको समागम सधैंको तटस्थ ।
मलाई लाग्थ्यो शायद बरीमा यौन भन्ने कुनै रोग नै छैन, कि त मेरो बूढो गन्धदेखि ऊ परिचित भइसकेकी छ, घृणा त ऊ मलाई शतप्रतिशत गर्दिन, तर त्यस्तो विधि बूढो नै पनि होइन ।
झन् शरीरको छाँटकाँटले केही त अझ पनि तन्नेरी देखाउँछ । पचास वर्षसम्म त यस्तै स्वास्थ्य रह्यो भने छल्न सकिन्छ आफैलाई नभए पनि अरूलाई । जेहोस्, ऊ स्वास्नीमान्छे म लोग्नेमान्छे भन्दैमा यथार्थको सिर्जना सहजसँग हुँदैन, कति कुराको मेल खानुपर्छ ।
ल मानें, बूढो भएको थिइन तर बरीसँग मिल्ती हुने मेरो उमेर होइन । शिव तीस-एकतीस वर्षको पट्टो छ, सकमबरीसँग झ्याम्मिएर कुरा गरेको कति सुहाउँछ, मलाई कहाँ सुहाउँछ ! शिवले एकपल्ट भनेको छ ऊ बरीलाई धेरै विश्वास गर्छ, आफैँलाईभन्दा बढी । सम्भव थियो – एउटी असामाजिक केटीको निम्ति विश्वास हुनु कुनै गाह्रो होइन ।
अब त मुजुरालाई पनि धेरै भेटिसकेको थिएँ । भेट्ने मात्रै होइन कुराकानी भइसकेको थियो । ऊ राम्री, विशेष आँखा, ऊ मिजासले बोल्थी, मिजासले व्यवहार गर्थी । ऊ आँखा जुधाएर हेर्दिनथी र छेउमा कहिल्यै आउँदिनथी । कुरैकुरामा त्यस्तै केही पर्यो भने ऊ कानदेखि अनुहारसम्म रातो हुन्थी । जे होस् उसको स्वभावमा तिरस्कार थिएन । माया त ऊ प्रस्ट भावमा भाषामा जनाउँथी कसैप्रति पनि यहाँसम्म कि एउटा कुकुरलाई पनि कुखुरालाई पनि ।
यद्यपि मुजुरालाई टाढैबाट हेरे तापनि देखे तापनि उसप्रति मेरो एक प्रकारको तृष्णा लुकेको थियो । छोएर मात्र, सुँघेर मात्र प्रेम हुने हो र प्रेम यसै हुन्छ, उसै हुन्छ तर यस विचारलाई म आफैं पनि मान्न तयार थिइनँ । प्रेम निस्सार; जम्मामा निरर्थक मेरो निम्ति । कहिलेकाहीं मुजुराको सोझो र निर्दोष गफ सुन्दा म उसको पछि घर, संसार, माया र धेरै जीवित वस्तुहरूको अस्तित्व झलझली देख्थेँ र मलाई आफू बाँचेको जीवन असाध्य खल्लो लाग्थ्यो र भन्न मन लाग्थ्यो, ‘मुजुरा ! मलाई पनि जीवनको भीख देऊ र खुशीयालीका केही टुक्राहरू ।’
यसरी मुजुरालाई पनि धेरै परिभाषा लगाउन खोजिरहन्थेँ । धेरैचोटि रक्सीको आवेगमा आएर मैले शिवराजलाई मुजुराको मसँग बिहे गरिदेऊ; सुखसँग राख्छु, एउटा संसार बनाउँछु भन्ने विचार चुहाउन-चुहाउन खोजेको हुँ, तर त्यतिसम्म आँट कहिल्यै गरिनँ । भनेको भए शिवराजले मलाई अवहेलना गर्ने थिएन, तर दुर्भाग्य ! भन्नै नसकिने ।
कुराहरू धेरै टाढा पुगिसकेका थिए । शिवराजकी कान्छी बहिनी – जसलाई घरमा सानु भनिन्छ – सँग पनि म राम्रैसँग बोल्ने भइसकेको थिएँ । उसलाई घरमा त्यति भेटिन्न; साथीहरूसँग ऊ प्रायः यताउता गइरहन्थी । ऊ आफ्नो मिलेको शरीरलाई सधैं अत्याधुनिक फेशनमा लपेट्ने गर्थी । कुनै दिन पछिबाट देखें भने उसलाई भ्याइन्जेलसम्म हेर्थें । कहीं भेटें भने ‘कहाँ हिंडेकी सानु’ र घरमा भेटें भने ‘आज घुम्न नजाने सानु ?’ यति नै म सोधिहाल्थें ।
अझसम्म म उनीहरूकै आफ्ना निजी कोठामा गएको थिइनँ । सानु कहीं जानु नपरे किताबमा भुलेर बस्थी । शिवको भनाइमा बरी खूब पढ्ने, तर त्यो अवस्थामा मैले प्रायः देखिनँ । बरु चुरुट उसको हातमा सधैं देख्थेँ । यसै सिलसिलामा मैले कतिपल्ट उसलाई ‘क्यान्सर लाग्ला है, बरी !’ भनेर गिज्याउँथें, ऊ सधैं ‘स्वागत छ’ भनी जवाफ दिन्थी ।
जम्मामा उनीहरू सबै बेसै थिए । विकृतिहीनता, उत्ताउलोपना उनीहरूमा देखिएन । मुजुरा र सानु दुवै मलाई ‘सुयोग दाइ’ नाउँले बोलाउँथे, तर बरीलाई ‘सुयोगजी’ भन्ने रहर कहिल्यै मेटिएन । पाए त ऊ बाबुको पनि नाउँ काट्दी हो, के ठेकान ? मलाई बिहे गर्नुस् भनेर प्रायः उनीहरू गिज्याइरहन्थे । एक किसिम म पनि अभ्यस्तजस्तै भइसकेको थिएँ ।
एकपल्ट मुजुरालाई मैले भनेको थिएँ, ‘केटी पाइएन, खोजिदिनुस् न,’
उसले हाँसेर भनी, ‘केटी पाइएन भन्न त लाज लाग्नुपर्छ, कस्तैले पनि पाउँछ ।’
बिचरी उसलाई के थाहा ? केटी, विवाह भन्ने शब्दहरू म आफैंप्रति कति व्यङ्ग्यपूर्ण थिएँ ।
मलाई भन्न मन लाग्यो- प्रेम गर्ने शक्ति भए, स्वास्नी स्थापना गरेर एउटा कोठामा जीवनको बिहानी डाक्ने क्षमता भए मुजुरा ! शिवसँग मागेर तिमीलाई नै लगिहाल्थें नि ।
कहिले त यस्तो कुरा भयो कि म आफैँभित्र फाटिइन्थें, चिरिइन्थें । नरमाइलो लाग्थ्यो । सबै र बरीसँग चुरुट उडाएर बिर्सने बहाना गर्थें । मेरो त्यस्तो अवस्था बरीले लक्ष्य गर्दी हो जस्तो मलाई लाग्दथ्यो, तर यो उसले भनिन । चस्माभित्र उसका टड्कारा आँखाहरू चल्दाचल्दैखेरिको बिरालोजस्तो लागे तापनि ऊ सोझै झम्टिने, चिथोर्ने खालकी थिइन । शिरीषका ताजा नीला फूलहरू पहिलाएर बढेको मेरो यो घरसँगको घनिष्ठता यस्तै थियो, यति मात्र थियो । अब त क्रमशः ती हाँगाहरूलाई पातहरूले नङ्गयाउन थालिसकेका थिए ।
० ० ० ०