शरद् ऋतुको एक बिहानीको कुरा हो । दशैं आउनलाई कत्ति पनि टाढा थिएन । शिवराजको बैठककोठामा म एक्लै थिएँ, शिवलाई नै पर्खिरहेको थिएँ । म माथि आएर बसिरहेको कसैलाई थाहा भएन क्यार, विशेष बरीलाई ।
त्यसैले त मैले झ्यालबाट हेर्दा ऊ हरियो दूबोमाथि पर्लक्क पल्टेर के गरिरहेकी थिई कुन्नि, बिहानीको घाम ताप्न निस्केको सर्पजस्तै आफ्नो लामो शरीरलाई जतिसक्तो सजिलो र फुकी मुद्रामा राखेकी थिई । उसलाई त्यस अवस्थामा देख्नासाथ साँच्चैको सर्प देखेजस्तै मेरो आङ एकपल्ट सिरिङ्ग भयो, तर अहिले हामी मैले हेरेको ठाउँदेखि ऊ पल्टेको ठाउँसम्म भएको दूरीले अलग थियौं एक-अर्कादेखि । मैले भाग्ने चेष्टा गरिनँ, नहेर्ने चेष्टा पनि गरिनँ । यसो भनूँ मैले सकिनँ ।
सम्झें, देखी भने ‘अशिष्ट, बेसोमती सिपाहीको जात’ भन्ली । शिवराज आइपुगे के भन्ला ? तर ती सब मैले सोचें मात्र मलाई आँट आइरहेको थियो जस्तो पनि स्थिति सहनलाई । यति जाबो दृश्य पनि नहेरेर म आफैँले आफैँलाई किन मारूँ, के त्यति पनि मेरो अधिकार छैन ? मेरो जीवनमा राखेकै के छ र, आँखाको स्वादजस्तो एउटा साधारण सुखदेखि आफूलाई वञ्चित राख्न नसक्नु कुनै अपराध हो र ? कुनै पाप हो र ?
बरी गइसकेकी थिई, मैले झ्याल छोड्न सकेको होइन । म त्यहीं आड लिएर सम्झिरहें, कुनै विरोध र विवादको नभैकन, मैले धेरै स्वास्नीमान्छेहरूलाई नजिकदेखि नाङ्गो हेरिसकेको छ । बरीको त त्यो अवस्था होइन, यसरी बस्दा उसलाई सुहाएको थियो, त्यसैले हेरें, होइन, सधैं हेरिरहेको; हेर्न मन लागेर हेरें । मानिस आफैँलाई किन छल्न सक्थ्यो र, तर मैले हेरेको फुका अवस्थामा बसेकी बरी र कुनै पनि नाङ्गो स्वास्नीमान्छे मैले हेरिसकेको मिलाएँ; अहँ, दुइटामा कुनै सामञ्जस्य आउन सकेन; खोजेर पनि, चाहेर पनि र स्वीकार गरे केही बिराएछु । यदि बरीलाई पनि आज मैले नाङ्गो देखेको भए के हुने थियो ? के हुने थियो- यो प्रश्नसँग गाँसेर मैले एउटा ठूलो स्पष्ट पूर्णविराम राखी आफूलाई स्वाभाविक बनाउँदै झ्यालबाट वर आएँ ।
केही छिनपछि स्यान्डलको टकटकसँग चुरुटको बास बैठकभित्र आयो । त्यसै नै मानिसको जात जानेर, बुझेर ढोङ गर्छन्, मैले पनि केही थाहा नपाएजस्तै तर्सेर बरीलाई हेरें । बिचरी उसले मलाई देखेकी रहिनछ, मुख उज्यालो पार्दै भनी, “कहिले आउनुभयो सुयोगजी ? म त देउताथान जान लागें मुआसँग ।”
मैले सोधें, “तिमी पनि देउतामा, पूजामा विश्वास गछर्यौ बरी ?”
“गर्छु र गर्दिनँ पनि ।” ऊ नजिकैको कोचमा बसिसकेकी थिई ।
“किन ?” मैले अचम्म मान्दै प्रश्न गरें ।
“ढुङ्गा न हो, उसको अघि कस्तै अपराध गरे पनि यो उसले कसैलाई भन्ने होइन । यसैले विश्वास गर्छु र चाहिएको खण्डमा झकझकाउँदा पनि भन्ने कुरा भनिदिँदैन, त्यसैले अविश्वास गर्छु । यसभन्दा बढी यौटा ढुङ्गासँग हाम्रो विश्वासको के अर्थ ?”
यहाँ पनि बरीको उद्देश्य मैले बुझिनँ तर सक्दो हाँस्ने प्रयत्न गर्दै मैले भनें, “कति सजिलो अर्थ दिएर तिमीले डुबुल्की हान्यौ । ईश्वरको अस्तित्व त्यतिसम्मै सीमित छ र ?”
उसले लगत्तै विरोध गरी, “ईश्वर नभन्नुस्, ईश्वरत्व भन्नुस् । भावना न हो ।”
ठुटो चुरुट आस्ट्रेमा हाल्दै गर्दा उसलाई पनि मैले एउटा भावनाजस्तो मात्र देखें, कोरा नफष्टाएको भावना, जसलाई मानिस हो भनी एउटा भावनाको माध्यमबाट सम्झिदिए पुग्दछ ।
मैले अनायास भनें, “त्यसो भए अब बरी नभनेर बरीत्व भन्नुपर्यो !”
“किन तपाईं मेरो अस्तित्वमा शङ्का गर्नुहुन्छ ? बरी भन्नुस्, मेरो सम्पूर्ण अस्तित्व देखिइन्छ, छोइन्छ ।” ऊ अर्को चुरुट सल्काउँदै थिई । निकोटिनले पहेंलिएका खिरिला औंलाहरूको बीच प्रायजसो डढिरहेको चुरुट र धूवाँ देख्दा किन-किन त्यो दिन त मलाई झर्को लागेर आयो तर के भन्ने । त्यसैले त्यस झर्कोलाई पनि साधारण ठट्टा गरेर पचाउन खोजें, “तिम्रो ईश्वरत्वलाई पनि अब चुरुट खान सिकाइदेऊ बरी ! उसलाई पनि मान्छेको संसारमा बस्दा बस्दा दिक्क लागिसक्यो होला ।”
हुनसक्छ ऊ हाँसेकी होली, अनुहार बेस्कन उज्यालो पार्दै भनी, “अनि क्यान्सर लागेर ईश्वरत्वको पनि मृत्यु होस् चाँडै !”
प्रत्येक मृत्यु र अन्त शब्द निस्कनासाथ तिम्रो अनुहार यसरी उज्यालिन्छ भन्न मलाई मन लागेको थियो, तर अर्कै भनें, “तिमीलाई चुरुट नखाऊ भन्यो भने पीर लाग्छ बरी ?”
उसले चर्को स्वरमा सजग हुँदै भनी “हो ।”
“अहिले मैले तिमीलाई चुरुट नखाऊ भनें भने तिमी के गर्छौ बरी ?”
“मोजसँग दसओटा खाइदिन्छु ।”
मलाई कता-कता चोट लाग्यो । सम्झें साँच्चैको कठोर हो यो स्वास्नीमान्छे, अरूलाई पीर पर्ला भन्ने त यसलाई कत्ति वास्ता रहँदैन । उससँग चुरुट नखाऊ भन्नु आफैँले हार खानु मात्र थियो, मैले त्यस विषयलाई त्यहीं स्थगित गर्दै भनें, “ईश्वर क्यान्सर लागेर मरेपछि तिम्री संसारको के अवस्था हुन्छ ?”
“जस्तो छ त्यस्तै चल्दै जान्छ, मनुष्यत्वको मृत्यु भए कुरा अर्कै !” ऊ दराजतर्फ गइरहेकी थिई ।
यतिबाटै मैले बरीको ईश्वरप्रतिको धारणा थाहा पाइसकेको थिएँ । ऊ ईश्वरको अस्तित्वलाई मान्दिन साथै मानिसप्रति उसको कुनै असल धारणा छैन सम्झें । कुन आस्थामा बचाएकी होली बरीले आफूलाई ! केही खोज्दै थिई ऊ दराजभित्र । उसको एक हत्केलाभरिमा आउन सक्ने गर्धन, मसिना कैला रौंहरूले छोपिएको सानू टाउको के निस्सार अड्किएको छ ? हावामा ? अकारणमा ? शिवको अध्ययनमा बरी त्यस्ती होइन, मलाई यही नै एउटा सान्त्वना थियो ।
ऊ मलाई हेर्दै नहेरी गइसकेकी थिई, कुन प्रेरणाको बलले म सोध्न पुगेछु, “बरी ! तिमी ईश्वरलाई मान्दिनौ, आफ्ना दुःख र अपराधहरू पखालेर निरोगी हुन चाहने अभागीहरू कहाँ जानु ? तिमी भए के गर्थ्यौ बरी ?”
यो प्रश्न सोधुँला भनी सोधेको होइन मैले । अचेतन मनबाट सोधेछु भने त कुन्नि, सचेत भएर त मैले सोधेको पटक्कै होइन । सोधिसकेपछि लाग्यो व्यर्थै सोधेछु, तर उसले आफ्नो टाउको फर्काएर पनि खिल्ली उडाउने, बिझ्ने आँखाले हेरिरहेकी थिई ।
विवश मलाई आफ्नो प्रतिक्रिया सहेर बसिरहनुपर्यो । “अपराध गरिसकेपछि म त्यसलाई पखाल्ने काम गर्दिनँ सुयोगजी ! पखालेर अपराध पखालिन्छ ? कस्तो हाँसोउठ्दो !”
मैले धेरै नै निन्याउरो मुख लगाएर सोधें, “त्यसो भए हामीमा अर्थात् हामी मानिसहरूमा सम्झौता कसरी ल्याउने ?”
उसले भनी, “ईश्वरत्वको अघि अपराध पखाल्ने काम बिलकुल निरर्थक, अझ मूर्खता हो । कृपया मेरो विचारलाई मान्यता नदिनुहोला । अँ, बरु मानिसको अघि पखाले केही हलुका हुन सक्छ अर्थात् आत्मसन्तोष हुन सक्छ । मानिसमा सम्झिदिने शक्ति हुन्छ, त्यत्ति नै हो ।”
उसको सानू घिच्रो अँठ्याएर मलाई सोध्न मन लागेको थियो, ‘के तिमी नै बोलेकी हौ बरी ?’
तर मेरो विचारधारालाई त्यसै लत्त्याएर उसले सोधी, “किन सुयोगजी ! तपाईंको छातीभित्र पनि उकुसमुकुस छ जस्तो छ नि, सिपाहीको के विश्वास !”
मलाई सर्वाङ्गै चिसो भएजस्तो लाग्यो । चिसो मान्छेको चिसै कुरा । बढ्ता बोल्ने मलाई आवश्यकता भएन “सिपाही अविश्वासको मात्र अङ्ग हो र ?” यही एक वाक्य भनेर मैले बरीलाई बिदा दिएँ ।
उससँग मलाई दया माग्नु थिएन । बरीसँग यस्तोउस्तो कुरा भएर पराजित भएको घटना लेखेर साध्य हुँदैन, सन्तोष छ उसले मलाई कहिल्यै उपदेश दिइन, कहिल्यै सहानुभूति देखाइन । सधैं पराजित हुँदै गए तापनि मलाई किनकिन बरीको कुरा सुन्न रहर लाग्थ्यो । बरीसँग मेरो रहर ठीक काँढाबीच फुलेको गुलाफलाई हात रगतपच्छे पार्दै टिप्नु अथवा भिरालोमा फलेको काँडेदार वन-ऐंसेलुको भरिलो दाना टिपेर क्वाप्प मुखमा हाल्नुजस्तै थियो। जतिसक्तो अप्ठ्यारो हुँदै मलाई बरीलाई पछ्याइरहन मन लाग्थ्यो, निरुद्देश्य र बिनाअर्थ । यति मात्र उसप्रतिको मेरो रहरको सीमा होइन ।
कहिलेकाहीं मलाई बरीको सानू घाँटीको रहर लाग्थ्यो, कैला रौंहरूले छोपिएको मुडेको टाउकोको रहर लाग्थ्यो र उसको अस्वाभाविक उठेको छातीको रहर लाग्थ्यो, तर यस रहरलाई म स्वास्नीमान्छे देख्दा लोग्नेमान्छेलाई हुने रहरभन्दा बढी केही मान्न तयार भइनँ । त्यसैले त आज बरीलाई नाङ्गी देखेको भए भन्ने प्रश्नसाथै पूर्णविरामको चिह्न लगाएर म भागेको हुँ । नाङ्गी स्वास्नीमान्छे हेरेर आइसकेका मेरा आँखाहरूले आज लुगा लगाएकी बरीलाई देख्दा अनायास अपराधको परिभाषा आफैँभित्र खेलाउन सक्नु मेरो महत्ता थियो, निःसन्देह मेरो महत्ता थियो । बरीलाई टपक्क टिपेर छयालीस वर्षको उमेरमा मलाई आफ्नो जीवन अमिल्याउनु थिएन, निस्सारतामा पलापिन अभ्यस्त भइसकेको मलाई जीवनदेखि डर लाग्छ, के हो र सकमबरी ? के छ र उसमा ? भन्ने आफैँले आफैँलाई फुस्ल्याउन दिएको एउटा खोक्रो सान्त्वनामा म सधैं उसलाई बाँधेर राख्थें ।
मलाई स्वास्नी स्थापना गर्नुमा विश्वास थिएन, कतै कसैले विवाहको कुरा उठाइदिए म झल्झली मुजुरालाई सम्झन्थें र सम्झन्थें शायद यस्तै हुँदी हो स्वास्नी। यदि शिवराजले मेरा बहिनीहरूमा छानेर लैजाऊ भने म मुजुरालाई लगेर मेरो कोठामा टाँगिदिन्थें । मेरी स्वास्नी भनेर उसको निधारमा लेखिदिन्थें । मैले खुलस्त भएर भने तापनि मुजुराप्रतिको मेरो विचार पनि निराधार थियो, तथ्यहीन थियो । बैठकमा बसेर सम्झँदा-सम्झँदै कायल भएँ म, जम्मामा निराधार र तथ्यहीन ।
सम्झें – एउटा रमाइलो कथा हो मुजुरा, जसलाई मनभरि पढ्न सकिन्छ, एउटा सुखदायी दृश्य हो आँखाभरि हेर्न सकिन्छ, तर किरिया हालेर भन्न सकिन्छ मुजुरासँग मेरो प्रेम भएको हैन, स्वास्नीलाई प्रेम पनि गर्नैपर्छ भन्ने कुरा मलाई थाहा छैन । प्रेम कत्रो झूटो, कत्रो उपहास, कत्रो निरर्थकता !
पसल्नी एक कोपरा रगत बान्ता गरेर सुस्त भएकी छ, एउटा छोरो कमा लागेको छ उनीहरूको प्रेम-कथामा । ठिटो छेवैमा ल्याम्पोस्टमा टाँस्सिएर उभिएको छ, सिमेन्टीजस्तै आफैँभित्र अव्यक्त मुद्रामा रित्तो हात, रित्तो मन । कुकुरनी लखेट्न नसकी हारेर फर्केको मरन्च्याँसे भुसिया कुकुर उस्तै सान्त्वना र उस्तै व्यथा लिएर ठिटोको खुट्टानिर बसेको छ । दुवै झुम्रे देखिन्छन् दुवै लखतरान देखिन्छन् । साँझको ध्वाँसे रङ्गले पोतिएको पेटीमाथि हिँड्न नियमबद्ध रात आइरहेको छ, रित्तो मन, रित्ता हातहरूलाई उसको भन्नु केही छैन । पेटीको विपरीत झ्यालमा बसेर म पनि हेरिरहेको थिएँ हत्केलाबाट चिप्लँदो साँझलाई र सम्झिरहेको थिएँ मेरो अस्तित्वले कति अमेल खान सक्छ एउटा हरूवा कुकुर, हरूवा प्रेमदेखि । हामी तीन जनामा केको पर्दा छ र यहाँ, म आधुनिक बारमा भाग्छु, ठिटो भट्टीमा जान्छ र कुकुर, कुकुर घाँटी ठड्याएर रुन्छ र व्यक्त गर्छ आफैँलाई, कति मिल्दोजुल्दो हाम्रो अस्तित्व !
जीवन युगको यस्तो तहमा आएर ठप्प लाग्दो रहेछ र हामी यसैमा पनि बाँच्दा रहेछौं, हामी गतिहीन भइसक्छौं, तर हाम्रो गति रोकिंदैन । यसरी बाँच्नुको फोस्रो अर्थमा झुलाएर मैले पनि आफैंलाई आफ्नो लक्ष्यतिर लगें । छीन र कचीनको बस्तीमा घ्याम्पाभरि- भरि जाँड र रक्सी पिउने लत भएका मेरा नसाहरू पेगको चुभुर्कोमा कत्ति भिज्दैनन् । त्यसैले रक्सीलाई म जीवनको पलायन मान्दिनँ, रक्सीमा डुबेर म सलबलाउन सक्तिनँ । खुलस्त स्वीकार गर्छु यो मेरो नैतिक पतन होइन, मेरो हीनता होइन ।
शिवराज आएको थिएन, शायद आउँदैन होला, म यही सम्झिरहेको थिएँ। परिचित रक्स्याहाहरूको अर्डर बारको ठिटोले नबोली पूरा गरिदिन्छ । हाम्रो जीवनको छाप उसको अनुहारमा परिसकेको हुन्छ । लत, असफलता, असन्तोष, झर्को, विरोध र पलायनको ऊ एउटा जिउँदो नमूना देखिन्छ । रक्सीको टिप उठाएर शायद ऊ भाग्छ यस सीमाबाट बाहिर कि त कुनै मायालुको न्यानो अँगालोमा कि त कुनै दरिद्र आमाको झुत्रे सुकुलमा आफ्नो कमाइ बुझाउन ।
सम्झिरहेको थिएँ, शिवराज आइपुग्यो सधैंको भन्दा केही खस्किएको अनुहारमा ।
“सुयोगजी ! बजारमा पानामा चुरुट पाइँदैन, ब्ल्याकमा एक पेटी भनेर आएको छु, अहिले जाँदा लिएर जानुपर्छ ।”
चुरुटको पेटीपछिल्तिर मैले एउटा सुनौलो टाउको कल्पना गरिसकेको थिएँ । त्यसैले मैले उस्तो प्रमुखता दिइनँ उसका कुरालाई । उसले फेरि भन्यो, “बरी भोलि मधेस जाँदैछ महिना दिनको निम्ति ।”
त्यसपछि उसले धेरै के के भन्यो, तर मैले उसको मुख चलेको मात्र देखें । मलाई यो भएको थियो भनी म किटेर भन्न त सक्तिनँ, जे भएको थियो त्यो मेरो जीवनमा कहिल्यै भएको थिएन, नौलो अनुभव । ‘बरी भोलिदेखि यहाँ हुन्न’ यत्ति नै प्रशस्त थियो मेरो निम्ति आफैँलाई बलियो मुक्का ख्वाएर पछारिनलाई वास्तविकताको ठूलो फाँटमा जहाँ सपना, कल्पना र ढोंग केही थिएन, केवल एउटा वास्तविकता । म आफैंमा एउटा रित्तो भाँडोमा अनुभव गर्न थालें रित्तो बोतलको असमर्थता, आफूबाट भागेको तरललाई बटुल्न नसकी जिल्लिएको, मैदानबीच एकलासे रुख आफ्नै हाँगाबाट उडिसकेको बकुल्लालाई पछ्याउन नसकी टोलाएको, नितान्त एक्लो कस्तो नाङ्गो वास्तविकता जसलाई आफूभित्र छोप्ने,लुकाउने कुनै साधन छैन ।
“जमेर बस्नुभएछ सुयोगजी ! बोल्नुहुन्न नि !” शिवराजको यही वाक्यले मलाई झस्कायो । मरन्च्याँसे हाँसो हाँस्दै बरीको जस्तो ओठ दिएको शिवराजलाई मैले हेरिरहें, आफूभित्रको उदाङ्गोपनलाई सक्तो छोप्न खोजें । ऊ भन्दै थियो, “प्लेनको टिकट पाइएन, बाइरोडको टिकट लिएर आएको छु ।” सन्तोष लाग्यो शिवराजले मेरो अनुहारको भावको लख काटेन । ऊ त्यस्तो ठम्याउने मानिस पनि होइन ।
स्थितिदेखि फुत्कन खोज्दै मैले भनें, “त्यहाँ चुरुट पाइन्न र ?”
सिलसिलामा मिल्ने प्रश्न नभए तापनि शिवराजले भन्यो, “पाउँदो हो, नपाइए गाह्रै पर्ला भनेर ।”
त्यसपछि बरीको जानाका कारणहरू उसले बताएन र चाँडै बारबाट निस्क्यो । अन्तिम ग्राहक बनेर म पनि निस्कें निराश्रित, मेरो छयालीस वर्षका निख्लाम हुर्केका दिनहरूमा पहिलोपटक स्वास्नीमान्छेको निम्ति विवशता अनुभव गर्दै ।
क्रमशः चिसो हुन लागेको रात, स्याँठले निकै हान्थ्यो । रित्तिसकेको सडकै सडक आफूलाई घिसार्दै रत्नपार्क आइपुगें । सम्झन थालें ‘यही मुटुले कति स्वास्नीमान्छेलाई काखमा उठाएर फेरि तिरस्कार गरिदिएको छु तर, स्वास्नीमान्छे आफूदेखि टाढा हुँदा रित्तो र एक्लो अनुभव गरेको छैन । बरीसँग अब त्यो घरमा महिना दिनको निम्ति भेट हुँदैन, यत्ति न हो मेरो समस्या ? फेरि मलाई यो छटपटी किन ? कुन आसक्तिको सम्बन्ध राखेको छु र मैले बरीसँग ? के चाहन्छु म बरीदेखि ? को हो बरी मेरो ? बरी नहुनुमा किन मभित्रको लोग्नेमान्छे यसरी विचलित हुन्छ ? तिमीप्रति मेरो यो यौनको भोक होइन बरी ! किनभने त्यो पनि राम्रैसँग अनुभव छ मलाई किनकि तिमीलाई नाङ्गो हेर्दा म झस्केको छु । तिम्रो गर्धन र छातीको रहर यो होइन बरी ! किनभने अँध्यारोमा एक्ली तिमीलाई कतिचोटी पाएको छु, म जे पनि गर्न सक्थें । तिम्रो मुखबाट आएको सुकुमेलको बास र तिम्रो शरीर छोएर आएको हावाबाट नै मैले आफूलाई सन्तुष्ट बनाएको छु, यसैले कि तिमीप्रति मेरो यौनको तीव्र भोक छैन । तिमीलाई देख्दाखेरीको मेरो रहर रहर मात्रै हो, एउटा लोग्ने मान्छेको विवश रहर । ‘म निष्कर्षमा पुग्न सकेको छैन । लाग्यो कुन अचेतनामा स्याहारेछु मैले बरीको नफस्टाएको कोरा भावनाजस्तो जीवनलाई, एउटा लामो कार्टुन शरीरलाई ।
कति बेर रत्नपार्कको चिसो चौतारीमा उद्देश्यहीन आफैँलाई पर्खाएर म बिस्तारै डेरातर्फ फर्कें । मस्तिष्कभरि विवशता बोकेर हिँडेको मेरो निर्धा शरीरलाई मेरै खुट्टाहरूले जिस्क्याउँदै लगिरहे । डेरा पुगेर फेरि रक्सी थपें, भात खाइनँ । पहिलोपल्ट निन्याउरो मुख लाएर म खाटमा पल्टिरहें ।
सम्झें ‘बरी भोलि जाँदैछ, तर फर्कन्छे ।’ यहाँ पुगेर पनि मेरो छटपटीले आड पाउन सकेन । कता-कता आफैंमा फाटिएर, आफैंसित गुनासो गरें ‘कहीं प्रेमजस्तो निकृष्ट र निरर्थक सत्यमाथि बलि जान लागेको त होइन ? कहीं यही कोमल र कलिलो भावनाको शिकार हुन लागेको त होइन मेरो बूढो शरीर, मेरो खरो जीवन, जम्मामा मेरो निस्सार जीवन ? यदि हो भने यो नाङ्गो उपहासलाई मैले कसरी सहने ? यो कटु व्यङ्ग्यलाई मैले काँधमा कसरी थाप्ने ?’
निद्रा र अनिंदो अवस्थाको माझमा झुण्डिएको त्यो रात म सुतेको पनि होइनँ, नसुतेको पनि होइनँ । रातभरि मलाई चुरुटको धूवाँको मुस्लोले ऐंठन पारिरह्यो, सपनाजस्तो ठाउँमा । कतिपल्ट धुवाँमा निसासिएर म बाहिर आउन खोजें । रातभरि मलाई सुनौलो टाउकोले तर्साइरह्यो, निकोटिनले पहेंलिएका औंलाहरूले घाँटीमा मुसार्न आइरहे । सक्तो मैले आफैँलाई उम्काउन खोजें तर रातभरि पाँच फुट तीन इन्चकी एउटी मुडुली स्वास्नीमान्छे मसँग बसिरहीं ।
तिर्खाले व्याप्त भएर पानी पिउन उठ्दा मलाई आफैंप्रति दया लागिरहेको थियो । रातको शून्यतालाई चिर्दै हिस्टेरिकजस्तो मलाई चिच्याउन मन लाग्यो ‘बरी ! तिमीसँग त मेरो प्रेम भएछ क्यार’ तर यो उपहासको बोझ बोक्न नसकी म पिरोलिन थालें । अप्ठ्यारोमा निस्केको पिलोजस्तो म कहाँ लगेर देखाऊँ यस विवशतालाई ? चुरुट तानेर रात काट्न बहाना गर्न खोजिरहें र सम्झिरहें ‘कति हीन म, साथै कति निर्धो ? जापानको गोलीबाट बचेर आएको म यही दिनको उपहास सहनलाई होला । मैले आफैलाई निस्सार तुल्याई सँगालेको जीवन यही विवशतामा पिल्सनलाई होला । कति घिनलाग्दो सत्य सजिलै अस्वीकार गर्न नसकिने !’
रिमझिम उज्यालो हुँदा म राता आँखाहरूलाई सजीव केही नभएको जस्तो बनाउन झ्यालको चिसो हावा थापेर बसिरहें । अनिंदोले कपाल दुखेको थियो, रक्सीको गर्मीले पेट र छातीको उकुसमुकुस हराएको थिएन । पातलो तुवाँलोले एक पत्र छोपेको आकाश उज्यालिन लागेको थियो । खरानी रङ्गमा भरखर जाग्न थालेको काठमाण्डू कति विरक्तलाग्दो देखिन्थ्यो । यन्त्रचालितजस्तै म मुखसुख धोएर आफ्नो नयाँ सुटमा निस्कें, त्यही सुट जुन बरीको जन्मदिवसमा एकपल्ट लगाएको थिएँ ।
बरीलाई पुऱ्याउन जाने मेरो आवश्यकता थिएन, शिवराजले मलाई बोलाएको पनि होइन, म त्यसै भौँतारिएर बस छुट्ने ठाउँको अलिक पर गएर रोकिएँ केवल ऊ बस चढेर गएको हेर्न । बिरानो टोलमा पस्न हिचकिचाएको निर्धो लूते कुकुरजस्तो आँट र भर नपुगेर टाढा बसिरहें कसैले देख्ला भन्ने डर खपेर ।
ऊ आई, हातमा यौटा ब्याग झुण्ड्याएर । शिव आयो अलिक ठूला एअरब्याग बोकेर । एउटा काम गर्ने स्वास्नीमान्छे र ऊ बस चढिसकेपछि झ्यालबाट ऊ निकै बेर शिवराजसँग कुरा गरिरही । मलाई जीवनमा पहिलोपल्ट एउटा लोग्नेमान्छेसँग ईर्ष्या भइरह्यो । बसले एक मोड खाएर ओझेल भइसकेपछि काठमाण्डू मात्र होइन, मलाई मेरो संसार शून्य लाग्यो, बिरानु लाग्यो । लाज पचाउँदै, आफूभित्र तर्सिंदै मैले मनभित्र दोहोऱ्याएँ ‘मेरी सकमबरी ! म तिमीलाई प्रेम गर्छु ।’
फर्कंदा मेरो प्रत्येक पाइलाले मलाई व्यङ्गय गरिरहेको थियो, प्रत्येक परिचित मोडले, प्रत्येक परिचित पसलले र प्रत्येक अभ्यस्त अँध्यारा गल्लीहरूले मलाई गिज्याइरहेका थिए । भुसिया कुकुरहरू मलाई हेरेर एकतमासले भुकिरहेका थिए । म प्रत्येक थोत्रा ट्रकको अघि पनि हीनता अनुभव गरिरहेको थिएँ, नयाँसडकको मुखमा बस पर्खिरहेका बैंसालुको एक जोडादेखि छिटो आँखा बचाएर भागें ।
प्रेम मेरो निम्ति व्यङ्ग्य भएर उभिएको थियो । मनभित्र बरीको प्रेमलाई लुकाएर शायद बाँकी जीवन यस्तै हीन बनेर बिताउनु छ । बूढो लाहुरेले खल्तीमा सजाएको रुमालजस्तो, बूढो रुखमा बेमौसममा टुसाएको मुनाजस्तो, बैंस गइसकेपछि नाकको डँडाल्नीमा आएको डण्डीफोरजस्तो बरी मेरो मुटुमाझ निर्धक्क पल्टिदिई । यो त भयो मेरो व्यङ्ग्य, यस विडम्बनालाई म हाँसी-हाँसी सहिदिन सक्थें ।
लौ मानें, मैले प्रेम गर्न थालेछु, एउटी मभन्दा बाइस वर्ष सानी ठिटीलाई, एउटा निस्सार बितिरहेकी स्वास्नीमान्छेलाई, के भो त ? प्रेम अन्धो छ-को नातामा म भन्न जाउँला ‘ बरी !’ म तिमीलाई प्रेम गर्छु भन्न, प्रेम जसको बीचमा पनि त हुन सक्छ, तर मेरी सकमबरी ! यो बूढो रक्स्याहा सिपाहीलाई के भनेर तिमी आफ्नो छातीमा स्थान दिइरहौली र ? तिमीले बूढो भनेर मानिसको बूढो हाडमा तिमी पलाइसकिछौ, अब के भनेर मेरो बूढो प्रेमको प्रतिक्रिया दिएर तिमी आफ्नो कपाल दुखाइरहौली ? कुनै दिन यो सस्तो परिभाषा लिएर तिम्रो सामु म आफ्नो सत्य -अभिव्यक्ति ओकल्न आउँला, तिमीले अवश्य मलाई गतिलो झापड हान्नेछौ, मेरो मुखभरि थुक्नेछौ । प्रेम नहुँदा पनि मेरो निमित्त निस्सार नै थियो र अब भएपछि पनि निस्सार । के मूल्य मेरो ? के मूल्य मेरो प्रेमको ?
० ० ० ०