बरीको अनुपस्थितिमा पनि म त्यो घरमा गइरहें । कुन्नि त्यहाँ जानमा म के सन्तुष्टि पाउँथें ? चुरुटको मात्रा मेरो बढेको थियो, चुरुट लगातार तानिरहनुमा म अर्कै सन्तुष्टि पाउँथें ।
इन्सेक्ट-किलर सुनगाभाका फूलहरू हातहरूले छोएर पनि एउटा सन्तुष्टि लिन्थें । यति थिए मेरो सन्तुष्ट हुनुको सीमा तथा साधन । सन्तुष्टि मैले खोजेर लिनुपर्थ्यो, बाँच्ने बहाना गर्नुपर्थ्यो, नत्र मभित्रको अव्यक्त असन्तोषले मलाई एकनास खाइ नै रहेको थियो । यति विवश म, आफैँले एउटा घेराको सृजना गरी त्यसमै रङमङिएर, भुलेर हिंडिरहनुपर्ने । कहिलेकाहीं त शिवराजलाई हेरेर पनि म चित्त बुझाउँथें, शिवराजसँग बरीको र शिवराजसँग मेरो पनि घनिष्ठता छ, अनि लाग्थ्यो त्यसै ।
महिना दिनपछि ऊ आई, केही अझ दुब्लाएर । त्यही साँझ मैले उसलाई हेरें । एउटा घेराभित्र थुनिएको, एउटा सीमादेखि उता जान असमर्थ, मेरो उसलाई भन्नु केही थिएन ।
उसले मलाई एक दिन भनी “सुयोगजी ! दुब्लाउनुभएछ,” र मैले स्वीकार गरें । मधेसबाट फर्केर आएपछि उसले केश छोटयाइन, कान छोप्ने गरी, घिच्रो छोप्ने गरी पलाएको थियो उसको केश । मलाई स्वास्नीमान्छेको लामो केश भएको मन पर्थ्यो ।
यसैले मैले उसलाई एक दिन भनें, “बरी ! तिमीलाई केश पालेको कति सुहाएको छ, अब त पाल्ने गर है !”
त्यसको तीन दिनपछि जाँदा एक इन्चको हिसाबले केश छाँटेर ऊ बसिरहेकी थिई, हरिद्वारमा केश फालेर आएकी विधवाजस्ती, भरखर मुडुलाएर छोडेकी बौलाहीजस्ती भएर । उप्रान्त मैले केही भन्ने साहस गरिनँ, मलाई चोट लाग्यो, उसदेखि विरक्ति लाग्यो, तर यो मूल्यहीन चोट विरक्तिले मलाई उसको मोहदेखि टाढा लगेन । सम्झें ‘कति विपरीत गएकी छ ऊ मदेखि, उसको बाटो पहिलाएर म कहाँ सक्छु र ! मेरो उल्टो दिशातिर हिंडिरहेकी हुन्छे ऊ जहिले पनि । एउटा नदीको जहिले पनि म उँभो लागेको छु र ऊ सलसल्ती विपरीत बगेर गएकी छ, त्यस भँगालोलाई फर्काएर एकपल्ट मेरो आफ्नो बाटोतर्फ बगाउनु अनि त्यसको पछि केही कुरा नसम्झे हुन्छ, त्यसैले यो मेरो कथा अति दयालाग्दो र अति हीन ।
प्रेम निस्सार मानिसहरूसँग निस्सार प्रेमसँग सधैं हातेमालो गरेर हिँडेका छन् । प्रेमको अस्तित्व रहेको छ निस्सारतामा र म पनि एउटा निस्सार प्रेमलाई छातीमा च्यापेर हिंडिरहेको छु । प्रमाणित गरिरहेको छु आफैँलाई, दुःखको गोरेटोका जीवनलाई बोकेर हिँड्नुपर्छ, भोगेर हिँड्नुपर्छ । कति कठिन छ यो जीवनसँग पार पाउनु, सबै रित्याएर, हराएर पनि बाँचिन्छ, केही नपाउनलाई बाँचिन्छ ।’
यसरी प्रशस्त विचारहरू खेलाएर डुलिरहें काठमाण्डूका सडक, गल्ली, होटेल र बारहरूमा । पोखिने मेरो कुनै साधन थिएन, ठाउँ थिएन । मेरो छातिमा प्रेम एउटा गतिलो खाडल खनेर बसिरहेको थियो । दुब्लाउनु के थियो अझ बूढो देखिइनु थियो । उमेरले बूढो बनाएको मानिस, छालाले बूढो बनाएको मानिस, पीरले खुम्च्याएको अभिव्यक्ति, सहर्ष स्वीकार गर्दै जाँदै थिएँ नाङ्गो वास्तविकतालाई र सान्त्वना दिन्थें आफैँलाई यस्तै हो नि मान्छेको प्रारब्ध भनी ।
हिउँदमा कठ्याङग्रिएर दिनहरू बित्न लागेका थिए । तुषारो र कुहिरोले खेलेर उजाड बनाएको काठमाण्डू, बरीको फूलबारी, शिरीषका रुखहरू, दूबोको चौर, आश्रय पाउन धाएको कुकुरको जस्तो मेरो अस्तित्वलाई लिएर पृथ्वी घुम्दै थियो नियमबद्ध ।
माघको बीच महिनाहुँदो सानु पोइल गई । शिवराजले केही दिन बेइज्जतीको अनुभव गर्यो । मजुराले र आमाचाहिंले सम्झौता गर्ने प्रस्ताव राखे, मुजुराको भन्नु थियो, “एक-अर्का रुचाएर गएदेखि कसको के लाग्छ र ? उनीहरू जीवन बनाएर बस्न सकिहाल्छन् नि । सानु कुनै खराब चालचलन भएकी केटी होइन ।”
शिवराजले बरीलाई सोद्धा बरीले यति नै भनी रे, “मात्तिएकी ठिटी, कत्रो हतार परेको बिहे गर्नलाई !” त्यसपछि उसले कहिल्यै सानुको नाउँ लिइन, सानुलाई हेर्ने इच्छा प्रकट गरिन । एक किसिमले चटक्कै बिर्सिदिई, फेरि समागम भई आफैंमा ।
यी सबै अव्यक्त भएर मैले सहिरहेको थिएँ, हेरिरहेको थिएँ । कोरा आदर्श र कोरा भावनामा मेरो जीवन पलापिन असम्भव हुँदै गयो । जति चिन्दै गयो बरीलाई उति म फस्दै जान्थें, उति सम्मोहित हुँदै जान्थें र उति उसप्रतिको मेरो रहर तीव्र हुँदै गयो । मेरो रित्तो मस्तिष्कमा एउटै शब्द वारपार खेलिरहन्थ्यो त्यो हो सकमबरी । जत्ति टाढा भगाउन चेष्टा गर्थें, उति म उसको नजिक हुरुक्क भइरहेको पाउँथें । सधैंभरि एकतमाससँग म उसलाई सम्झिरहन्थें, कत्रो व्यङ्ग्य ! ममा एउटा लोभको सञ्चार भइसकेको थियो सिङ्गो बरीलाई पाउन । घाँटी, छाती र टाउको नभएको बरीलाई होइन र यी नभएर विरोध मात्र ओगटेको उसको आत्मालाई होइन । उसप्रतिको शारीरिक रहरसँगसँगै उसलाई पनि, जम्मा बरीलाई एउटी ठोस सकमबरीलाई सम्पूर्ण उसदेखि कुनै उसको मानसिकता नछुट्टयाएर, उसदेखि कुनै उसको आसक्ति नछुट्टयाएर । म अँगाल्न चाहन्थें बरीलाई, सम्पूर्ण उसलाई आफूभित्र र समावेश गराउन चाहन्थें आफैंमा ।
नश्वरतामाथि आफैँलाई अड्न दिन सकिनँ । तिम्रो नश्वर शरीर मलाई चाहिँदैन, तिम्रो आत्मालाई साँचो माया गरेको छु भनी मैले मलाई भ्रममा राख्न सकिनँ । यो ढोंग र असत्य भावनाको आधारमा मैले आफूलाई सन्तुष्ट बनाउन सकिनँ । मानिस अज्ञानी हुनु नै सुखी हुनु हो । मलाई सिङ्गो ऊ र सम्पूर्ण ऊ चाहिएको थियो । शिवसँग यो पीर पोख्नु आत्महत्या गर्नु बराबर थियो । मैले राम्रोसँग अध्ययन गरिसकेको थिएँ, मुजुरा हो भने कुन्नि त सकमबरीलाई एउटा बूढो रक्स्याहाको हात छोड्नु शिवको निम्ति पनि आत्महत्या गर्नु थियो । कुनै पनि अवस्थामा बरीलाई उसले मेरो अघि बलि दिँदैन । अब पनि काठमाण्डूबाट भागिनँ भने मेरो बहुलाउनु निश्चित थियो । भाग्ने कुरा सम्झ्यो कि भन् नरमाइलो लाग्थ्यो । प्राप्तिदेखि टाढा अनकन्टारमा अन्धाधुन्ध आफूलाई निर्वासित गरिदिएर कसरी बाँच्ने, अनि म निसास्सिएर आउँथें ।
कहिले लाग्थ्यो, सम्पूर्ण आफूलाई पखालेर, पगालेर मन र मस्तिष्क जम्मै उदाङ्गो देखाएर यदि नयाँ जीवन शुरु हुने सम्भावनाको अस्तित्व कहीं भए मैले पनि बरीसँग जीवन दान मागे हुँदैन ? आफ्नो दुःख बिर्साएर, अतीत बिर्साएर, अपराध बिर्साएर मैले एकपल्ट आफैंलाई कसीमा राखेर हेर्नुपर्ने हो । हुनुसक्छ ऊ मलाई तिरस्कार गर्छे, घृणा गर्छे र शक्तिले पुगे मार्न बेर लाउँदिन, एउटा सत्य त खोलिन्छ । यति थाहा पाउनेछ उसले, कसरी सुयोगवीर सिंहले सारा जीवनका अनुभूतिलाई निरर्थक आफूबाट चिप्लन दिएर, खोक्रो बाँचेर, रित्तो बाँचेर, आफ्नो छयालीस वर्षको उमेरमा सारा मन उदाङ्गो पारी एउटी चौबीस वर्षकी ठिटीसँग सत्य प्रेमको प्रतिक्रिया मागेको थियो । यति त थाहा पाउनेछ उसले, मैले उसलाई कस्तो दयनीय अवस्थामा प्रेम गरिरहेको छु । केही हुलुङ्गो त हुनेछु म, केही सुखी त हुनेछु । चिच्च्याउन मन लाग्थ्यो ‘मेरी चोखी सकमबरी मलाई पनि चोखिन त देऊ बाँच्न त देऊ ।’
एउटा व्यथा बोकेर म बाँचिरहें । रक्सीसँग पिउँथें उसलाई फेरि रक्सीको छोडाइसँगै तर लगाइराख्थें । सम्झन्थें म कहाँबाट कहाँ आइपुगें । दँजाएर हेर्थें आफ्ना अनुभूतिहरूलाई र निष्कर्षमा पुग्न चाहन्थें, मेरो बाँच्नुको कुनै मूल्य छ कि छैन ? कसरी मूल्यहीन गुज्रेर गएका छन् ममाथिबाट युगका पाङ्ग्राहरू र कति निकृष्ट हुर्केको छु म । एक-दुई-तीन गर्दै पल्टन्छ, पुरानु इतिहास र यसैमा म आफ्नो मूल्य खोज्थें र सम्झन्थें कसले मलाई के मूल्य दिन सक्छ ? के महत्त्व दिन सक्छ ? मेरो कुन स्थान छ यस युगमा ? मलाई भनेर बाँच्नुको कुन सान्त्वना छुट्टयाइएको होला ? के न्यास दिन्छ मलाई सभ्यता र प्रगतिले ? के पुरस्कार दिन्छ मलाई मानवताले ? कुन हो मेरो आश्रय ?
० ० ० ०