एउटी क्षीण ठिटीको अनुहार मेरो अघि उत्रन्छ र आँखा तरेर जान्छ । बलिया-बलिया हात-खुट्टा, गहुँगोरो रोगन, कुनै चेतनशीलता नलुकाएका सफा आँखाहरू, लट्टा परेको केश, महोगनीको रुखको आडमा शिकार गर्न बसेकी, म सम्झँदै जान्छु । मध्यरात भएको होला, क्यामोफ्लेज भएर बसेको सैनिक बहादुरको उपस्थिति थाहा नपाई खोलाको कुलुलु स्वरसँगै बहलिएर ऊ बसेकी छ । जुनको रङ्गमा पहेंलिएकी, जङ्गली फूलको बाससँग अभिव्यक्त भएकी, यदि कसैलाई स्वर्गालु भन्न सके ऊ त्यही हो । अज्ञान, निरपराध, अस्तित्वको कीराले कतैबाट नखाएकी सग्ली उसलाई हेरेर मात्र बस्न सकिन्न ।
के थाहा उसलाई बिचरी, आज मानिस कहाँ पुगेको छैन ? कसरी यो आधाराततिर अभेदको जङ्गलमा पनि ऊ एक्ली छैन ? यो गोर्खा रेजिमेण्ट बसेको जिल्ला हो, यहाँ भरेभोलि जापानीहरू आइपुग्न सक्छन् बम खस्न सक्छ, कति सिपाहीहरू लुकेर बसेका छन् पोथ्रापोथ्रीतिर मार्न कि मर्न भनी, तर उसलाई यसले कत्ति विचलित पार्दैन ।
शिकार भेट्टाएदेखि एउटी स्वास्नीमान्छे नाङ्गा पाखुराहरूलाई जूनमा टल्काएर केन्द्रित भएको छ । जति उसलाई हेर्दै जान्छु, मलाई क्याममोफ्लेजको बन्धनले घाँटी निमोठ्न थाल्छ, युद्धले पिरोल्छ, विरोध गर्दै झ्याङबाट फुत्कन मन लाग्छ, मेरो क्षणिक अस्तित्वमाथि मलाई मोह भएर आउँछ, मलाई त्यो स्थिति लुट्न मन लाग्छ । म मनमनै भन्न थाल्छु ‘ए छीनकी सुकुमारी छोरी ! मेरो मात्र होइन, यहाँ तिम्रो जीवनको पनि अस्तित्व छैन, मेरो मात्र होइन, तिम्रो मृत्युको पनि अर्थ छैन । यो युद्धको घनघोर क्षेत्रभित्र हामी दुइटैको मृत्यु छैन । तिमी र ममा के दुश्मनी छ र ? तिमी के पाउँछयौ अनि म के पाउँछु र यो युद्ध जितेर होस् वा हारेर !
हिजो मात्र तिम्रो हेडहन्टर बाबुको निम्तोमा तिमीले मान्द्रोमा पस्केको भात र ठाउँ-ठाउँमा सजाएको अर्नाको फिलो तिम्रो कुकुर र म साथै बसेर आएका हौं । घ्याम्पाभरि रक्सी खुवाएर कस्तरी तिमी खुशी भएकी थियौ । तिमी नै त हौ बाहिर आएपछि पनि अर्नाको सिङभरि रक्सी बोकेर मतिर झम्टिने, तिम्रा पाखुराहरूको विरोध नै गर्न सकिनँ, घटघटी पिइदिएँ । शायद मेरो खाँदिएको बलिष्ट शरीर देखेर तिमी मोहित भएकी थियौ, त्यसैले आफ्ना हेडहन्टर बाबुलाई के के भन्दै मलाई देखाइरहेकी थियौ । कति सरलता थियो तिमीमा, हामी यतिका गोरा-काला पाहुनाहरूको माझ पनि तिघ्रा जम्मै देखाएर हिंडिरहेकी थियौ । तिम्रा आँखाहरूमा कति कमला भावनाहरू पढ्न पाइन्थ्यो, तर हामी सिपाहीको जात हामीलाई के वास्ता र हगि ? तिमीलाई देख्दा मलाई हाम्रो पहाडको किरात स्वास्नीमान्छेहरूको सम्झना आएको थियो, तर तिम्रो बाबु र उनीहरूको बाबुमा धेरै फरक छ ।
शायद यही नै हाम्रो संस्मरणमा अन्तिम अध्याय हुन सक्छ, हामी भोलि मर्न पनि त सक्छौं, के ठेगान ? तिम्रो सिकुवामा जमघट भएर नाच्दा साँच्चै मैले सबै भुलें, हामीतिर लम्किरहेको मृत्यु पनि, बर्माको सीमान्तमा अघिल्लो मोर्चामा परेको मेरो अस्तित्व पनि । हाम्रा कर्णेल नाच्दा तिमी किन त्यस्तरी हाँसेकी, तिमी पनि हाँस्न जान्दछयौ ? तिमीमा पनि जीवनका सपनाहरू सञ्चार हुन्छन् तिमी पनि शिरमा फूल सिउरेर सङ्लो कुलोमा आफ्नो अनुहार हेर्दै मुस्कान भर्न सक्छ्यौ ? तिमी पनि बैंसको ढुकढुकी अनुभव गछर्यौ ? तिमी नाच्दिरहिछौ, म पनि त तिम्रो बगलमा नै नाचिरहेको थिएँ । ननाचे त तिम्रो बाबुले टाउको काट्ला भन्ने डर । तिम्रो बाबुका अङ्गरक्षकहरू भाला लिएर बसिरहेका थिए ।
तिम्रो घरको वातावरणको माध्यामबाट, तिम्रो माध्यामबाट मैले जीवनका सबै दिनहरू बिर्संदै थिएँ । यसरी नै असार महिनाभरि खेतको आलीमा नाच्छन् तिमीजस्तै हाम्रा किराँतका छोरीहरू, केंवराको फूलजस्ता पहेंला गालाहरू थर्क्याउँछन् । यसरी जीवनको तीक्ष्णताबाट आफूलाई सधैं अलग राख्न सके तिमी र मलाई सुखको परिभाषा कसले दिनुपर्थ्यो र ! जे होस् तिमीले बिर्साएकी हौ मलाई ।’
बिस्तारै मलाई एउटा सहिनसक्नु विरक्तिले छोप्छ, सम्झन्छु, म चितुवा झ्याङबाट बुर्लुक्क उफ्रिन तयार । म आफैँलाई धेरै नियन्त्रणमा राख्न सक्तिनँ, म क्यामोफ्लेजमा बाँधिइन्नँ र झ्याङबाट बाहिर निस्कन्छु । जूनमा टलक्क टल्केको मेरो कमरपेटी देखेर ऊ झस्कन्छे आफ्नो तीर सोझ्याएर मलाई हेर्छे । मेरो सङ्गीन र बन्दूक देखेपछि उसले आफ्नो तीर थन्क्याउँछे ।
म उसको अघि पुग्छु, रात, सन्नाटा, ऊ र म, मलाई मीठो सपनाजस्तै लाग्छ त्यो क्षण । म आफ्नो भाषामा उसलाई फकाउन थाल्छु रानी भन्छु, सुकुमारी भन्छु, आफ्ना सबै प्रयोगहरू गर्छु, तर उसको असभ्य मन कत्ति पनि राजी हुँदैन । ऊ मलाई बुझ्दै नबुझी बसिरहन्छे । क्रमशः मलाई दिक्क लाग्दै आउँछ । हामी मर्दैछौं र यो एक रात मलाई देऊ भनी याचना गर्छु, ऊ नटेरेर उठ्न खोज्छे ।
म उसलाई अँगाल्न झम्टन्छु, ऊ विरोध गर्दै घचेट्छे । म उसलाई अँठ्याउन असमर्थ हुन्छु, मलाई पछारेर ऊ जान्छे, तर म परास्त हुन्नँ । जे होस् म लोग्नेमान्छे, मलाई रिस उठ्छ यौटी असभ्य केटीको फूर्ति देखेर । लगत्तै उठ्छु, पछिबाट उसको छरिएको चुल्ठो समातेर उसको कमलो ओठमा मुक्का हान्छु । ओठमा एक धर्सो रगत बग्छ, तर ऊ हेडहन्टरकी छोरी बल दँजाउन हिचकिचाउँदिन । मेरो डर मान्दिन, आँखा सक्तो फुलाएर मलाई चुनौती दिन्छे । म मात्तिइन्छु, असह्य हुन्छु अनि म राइफलको बडले टाउकोमा हिर्काएर उसलाई बेहोश बनाउँछु । ऊ झ्याङमाथि सर्लम्म ढल्छे ।
यसरी ऊ मेरी हुन्छे सम्पूर्ण मेरी । यो अनकन्टारमा को छ र ? कसले देख्छ र ? जसरी खेले पनि हुन्छ यो जिउँदो लाशसित । सम्झन्छु एक सुकुमारी ! तिमी र ममा कुनै दुश्मनी छैन । म जापानको हातमा मर्छु, त्यो पनि मर्नु नै हो, तिमी तिम्रो बस्तीसँगै एक चिहान हुन्छयौ, त्यो पनि मर्नु नै हो । हाम्रो मृत्युमा कुनै विशेषता छैन, तिमी मर मेरो हातबाट, त्यो पनि तिम्रो मर्नु नै हो । मृत्युलाई होइन आऊ जीवनलाई एकपल्ट अर्थपूर्ण सिद्ध गरिदिऊँ ।
उसलाई म खेलाउन थाल्छु । एउटी नाङ्गो स्वास्नीमान्छेको शरीरसँग रातभरि द्वन्द्व गरेर बस्छु । उसका प्रत्येक अङ्गसँग खेल्छु, प्रत्येक सुख भोग्छु । पशु भए सन्तुष्ट भइसक्थ्यो, तर मेरो मान्छेवृत्ति सन्तुष्ट हुँदैन । तुम्बीको पानी खुवाएर उसलाई होशमा ल्याउन खोज्छु तर सङ्गीन र मान्छेको उन्माद लछारपछार भएपछि ऊ चल्मलाउँदिन ।
धेरै बेरपछि पनि उसको शरीरलाई सम्पूर्ण खेलाएँजस्तै मलाई लाग्दैन । उसको नाङ्गो छाती आफ्ना बर्बर हातहरूले चिथोरेर रक्ताम्मे पारिदिन्छु । आकाशमा ताराहरू एक-एक गर्दै लुक्दै जान्छन् । अन्तरिक्ष खैरो रङ्गले पोतिन्छ । म थाक्छु र उसको निर्जीव शरीर झ्याङभित्र लुकाएर हेर्छु । ऊ निर्विरोध टोलाएकी हुन्छे, हेडहन्टरकी छोरी मानौँ ऊ सम्झिरहेकी छ, कस्तो अनिश्चित यो जीवन ! कस्तो सस्तो यो मृत्यु ! फिलामा, पेटमा, छातीमा नीला दागहरू स्पष्ट देखा परिरहेका हुन्छन् ।
यस्तै थियो उसको अन्त, हेडहन्टरकी छोरीको अन्त, हिटलरको महत्त्वाकाङ्क्षामा गाभिएको एउटा अन्त, बृटिशहरूको साम्राज्यवादको वेदीमा बलि गएको एउटा अन्त, एउटा निरपराध अन्त । सम्झँदै उसलाई रित्त्याएर आफूलाई रित्याएर म फर्कन्छु । केही होइन यो, मैले जीवनलाई अर्थपूर्ण सिद्ध गराएको हो । त्यस ठिटीको अनुहारबाट फुत्केर एउटा सुनौलो टाउको भाग्छ, म विचलित भएर हेर्छु र दोहोऱ्याउँछु, ‘मेरी सकमबरी ! तिमीमा आएर आश्रय खोज्छ मेरो जीवनले, यस्तरी नभाग । आऊ ! म तिमीलाई बलात्कार गर्न सक्तिनँ ।’
० ० ० ०