माखरिङ्गको रमाइलो कचीन बस्तीदेखि छर्लङ्ग देखिने वन, पाखा, काँडे गुलाफमा फलेको भैंसीगोठाल्नी कचीन, एउटा स्मृतिको पाना पर्लक्क पल्टेर उदाङ्गो हुन्छ । साँच्चै उसको गालामा सधैं गुलाफ फुलेको हुन्छ, ओठमा गुलाफ फुलेको हुन्छ । १९४१ को मे महिना, गुलाफको ऋतु, क्याम्पको अलि पर पाखामा म डुलिरहन्छु जमदारी बिल्ला जडेको फराकिलो कुम, कुखुरे छाती लिएर ।
बिदाको दिन, कचीन रक्सी-चुरुटमा आफ्ना सबै नसाहरू भिजाएर भाग्छु । क्याम्पभित्र खालि लोग्नेमान्छेको सङ्गति झर्कोलाग्दो हुन्छ । नाक-मुख मिलेको कलिलो अनुहार भएको रङ्गरूप देख्दा नसा तातिएर आउँछ र जिस्क्याउन मन लाग्छ ।
सम्झन्छु यो मेरो दोष होइन । नैतिक नियमिततामा चलिरहेको संसार चलाउन खोजिरहेको संसारमा लोग्नेमान्छे-स्वास्नीमान्छेको बीच एउटा पर्दा रहेको छ भन्ने सत्य हामीले भुलिसकेका छौं । स्वास्नीमान्छे नपाएर समयौनिक सम्बन्धबाट सन्तुष्ट हुन जानिसकेका सिपाहीहरूको जातले मानवीय सभ्यतादेखि छुट्टै एउटा भ्रममा आफ्नो प्रवृत्तिलाई बानी पारिसकेको भए यसमा उसको के दोष ? कति दयनीय अवस्था छ हाम्रो । लोग्नेमान्छेले लोग्नेमान्छेबाट तृप्ति पाउन सक्तैन अनि भाग्न मन लाग्छ चुरुमा डुबाएर अभिलाषाहरूलाई ।
“के छ यार ! शिकार पाएनजस्तो छ नि !” एउटा साथी कानकानसम्म हाँसेर जान्छ । “शिकारको के दुःख यार !” भन्दै म एउटा गुलाफको कोपिलालाई ओठमा जोरेर राख्छु, हत्केलाभित्र रगड्छु अनि बूटले कुन्चिदिन्छु । मेरो मुट्ठीबाट फुस्कन्छन् रमका केही ट्याब्लेटहरू र एउटा लय हाः हाः रेलीमाई छङ छङ गर्ने खोला । भैंसीगोठाल्नी नजिकैबाट गइरहेकी छ आफूलाई एउटा सिङ्गो गुलाफमा फुलाएर । पहेंलो गुलाफ जस्तो अनुहारमा रातो गुलाफको ओठ, थेप्चो नाक, चिम्सा आँखाहरू चुरु पोखेर लोभ्याइरहेको छ एउटा विदेशीलाई । म सुसेल्दै उसलाई साउती गर्छु । ऊ तर्केर जान्छे ।
म उसैको भाषामा बोलाइदिन्छु, ‘मेरी मायालु ! कति निर्दयी तिमी ।’ म उसको पछिपछि जान्छु । एउटा सिपाहीले उसलाई पछ्याइरहेको छ, बोलाइरहेको छ । नजिक पुगेर म उसका पाखुरा समाउँछु, केही चाँदीका दामहरू हत्केलामा राखेर देखाउँछ, औंलामा टल्किरहेको बर्मीज रुबीको औंठी देखाउँछु, उसले तिरस्कार गरेर हेरिदिन्छे । र भन्न खोज्छे शायद, ‘यी सबैको आवश्यकता छैन मलाई, दया गर्न सिक ।’
म उसको गाला सुमसुम्याउँदै उसलाई बुझाउँछु, ‘मेरी मायालु ! हामी मरिरहेकाहरूसँग आदर्शको पर्खाल किन राख्नुपर्यो, आऊ लुट्न देऊ, तिमी पनि लुट मलाई ।’ बीन बजाएर लठ्ठाएको सर्पजस्तै ऊ मेरो भरमा एउटा घारीभित्र पस्छे । उसको अनुहारबाट क्रमशः गुलाफका पत्रदलहरू निमोठिएर झर्न थाल्छन् । उसलाई म मनखुशी लुट्छु, ऊ निर्धो देखिन्छे ।
बिस्तारै म आफ्नो औंलाबाट रुबीको औंठी झिकेर उसलाई लगाइदिन्छु, ऊ विरोध पनि गर्दिन । त्यो दिन र त्यो रातमा केही अन्तर छैन । सम्झन्छु हामी बमवर्षक विमानहरूको छत्रछायामा छौं, सङ्गीनहरूको जन्जीरभित्र, बमको धूवाँभित्र । हामी जीवनको उपभोग गरिरहेका छौं । विवश आँखाहरूले मलाई हेर्दै मानौं भनिहेको छ, ‘बिहे गरेर बसौं न गोर्खा ! यो शरीर तिम्रै हो ।’
‘मेरी मायालु !’ म उसलाई सान्त्वना दिएर फर्कन्छु । कछाडभरि आलो रगतको टाटो समाल्दै ऊ फेरि आफ्ना हत्केलाहरू उठाउँछे र साना आँखाहरूको साङ्ग्रो पीर दुई थोपा आँसु व्यर्थ पुस्छे । किन रोएकी होली ऊ ? के छ र यहाँ रुने-रुवाउने सत्य ? कस्तो नसम्झेकी त्यत्रो दामी औंठी पाएर पनि ? मैले के गरें र उसलाई ? अझ गोराहरूले जस्तो चक्कु प्रयोग गर्नुपरेन । मेरो सिलसिला यहीं टुङ्गिन्छ ।
“के यार ! यहाँ किन ?” अर्को अल्लाररे देखापर्छ । म उसलाई इशाराले घारीतिर देखाइदिन्छु । ऊ लम्कन्छ । आफैँलाई केही हलुङ्गो अनुभव गर्छु । क्रमशः रात पर्छ । रोलकल, रमकल, मादलको टाङटुङ एउटा विरक्त अनि एकसुरे लय हाः हाः रेलीमाई छङ छङ गर्ने खोला । खोला रेलीमाई छङ छङ गर्ने खोला । कृत्रिम छाती बनाएर मारुतीको ढाँचा झिक्न कम्मर मर्काउँदै एउटा साथी आउँछ । स्वर चर्किन्छ, मादल घन्किन्छ, अनि म बिर्संदै जान्छु आफैँलाई । रमले रन्काएर जीउ लाटो भइरहेको हुन्छ ।
बिहान एउटा साथीले सुनाउँछ, ‘एउटी भैंसीगोठाल्नी कचीन रगतपच्छे भएर लडिरहेकी थिई, काली-निली भइसकेकी, पापीहरू ! मर्ने गरी सास्ती दिन्छन् ।’ उस्तादले उर्दी सुनाउँछ ।
फष्ट सेभेन्थ गोर्खा राइफल्स बटालियन अर्डर कम्पनी १, २, ३, ४, ५ लङ् मार्च फम माखरिङ, प्लाटुनकमाण्डर सुयोगवीर सिंह । म टल्केको बूटमा आफ्नो अनुहार हेर्न खोज्छु । बिदा माखरिङ माखरिङको वन-पाखा ! म मेरी साथीको कैफियतलाई महत्त्व दिन्नँ । सङ्गीनले रोपेर रक्ताम्मे शरीर, ग्रेनेडले भुँडी पड्केर उछिट्टिएका आन्द्रा, बोसेआन्द्रा, लाशमाथि लाश गिद्ध उडाएर, स्याल रिङ्ग्याएर कोभन्दा को कम । के हो र मृत्यु ? खल्तीभरि हाराकिरी गरे मर्नेका औंलाहरू बोकेर, मुर्दाका औंलाहरू बोकेर एउटा जापानी स्वदेश फर्किने क्षीण आशामा बाँचिरहेको छ, कति निस्सार ! म विचार गर्छु कस्ता यिनीहरू खल्तीका औंलाहरूले तर्साउँदैनन् क्यारे ? हामीले के लानु स्वदेशमा ? लडाकूहरूका टाउका ?
एउटा रुबीभित्र अलमल परेको गुलाफ, बलात्कृत गुलाफसँग मिलेर जुर्मुराउँछ सुनौलो टाउको । कति विवश म उसलाई छुन पनि सक्दिनँ, माया पोख्न पनि सक्दिनँ । कचीनको रगत-आँसुलाई मूल्य दिन नसक्ने म, अब जुनसुकै आँसुमा किन नरोऊँ ? को मेरो पीर बुझ्न सक्छ र ? जे होस्, मलाई एउटा सानोतिनो आश्रय चाहिन्छ ।
रातबिरात मलाई कराउन मन लाग्छ, ‘मेरी सकमबरी ! जीवन त्यति निस्सार छैन होला । इन्सेक्ट किलर सुनगाभाको पातमा किन रमाइरहन्छ्यौ ? कपाल पाल न बरी ! कति सुहाउँछ, तिमीलाई चिनियाँ पत्थरको गहना मन पर्छ ? तिमी पनि पत्थरजस्तै छ्यौ ।’
अङ्ग्रेजी सोप्रानोजस्तो धुनसँग थर्किंदै एउटा शालीन अनुहार देखा पर्छ, लुङ्गी र गन्जीमा कसिएकी बर्माको जङ्गलमा फुल्ने सुनगाभाजस्ती, मेरो मस्तिष्क दुखेर आउँछ । म छटपटिन्छु तर पल्टाइदिन्छु इतिहासको एक पाना । मुटु भित्रसम्म चिरिएर जान्छ .।
“कसो हो सुबेदार सुयोगवीर सिंह !” क्यान्टिनमा कफी खाएर फर्कंदा मसँगैको साथीले भन्छ, “माटिनची आज पनि आएकी थिई, यतै बिहे गर्ने सुर छ कि यार ?”
“हुन्न यार ! घोडाको कवाफ खुवाइदिन्छे, बर्माको सुनगाभाजस्ती छ हेर्दा, ख्वान्नियो पाँ ।” म जोडसँग हाँस्छु । म हाँसेको कारण ऊ सहजैसँग बुझ्छ ।
पिडाउँगको जङ्गलभरि फुलेको रातो र पियाजी सुनगाभाजस्तै रहरलाग्दी, कहिल्यै तिर्खा नमेटिने राम्री छे माटिनची, बर्मेली किसानकी छोरी । उसलाई सधैं म मेरो ख्वान्नियो पाँ भनी गिज्याइदिन्छु, ऊ फूल फुलेको जस्तो मस्किदिन्छे । म सधैं भेट्छु, सधैं के के लिन्छु उसदेखि सिथ्थैमा, ऊ मलाई सधैं बिहे गरौं भन्छे र यही आश्वासनमा म उसको ओछ्यानमा गएर रात-रातभरि सुतिदिन्छु, मेरो ओछ्यानमा ल्याएर रात-रातभरि सुताउँछु । मायाबिना, म सधैं निलिदिन्छु उसको अस्तित्वलाई, उसको कुमारित्वलाई । म सधैं भन्छु, “अब चाँडै बिहे गर्ने है, माटिनची !”
यसरी माटिनचीसँग म पल्किएको एउटा गोरो अफिसरले सुइँको पाउँछ र एक दिन प्याच्चै भन्छ, “हेलो गोर्खा सुबेदार ! मलाई पनि मिलाइदेऊ न तिम्रो अर्किड बिउटी ।”
म उसलाई टारेर हिँड्छु र मनमनै भन्छु, ‘कहाँ दिन्छु र मोरो खैरेलाई, जति पायो उसैले राखूँ भन्दो रहेछ । हामी ‘गोर्खा बहादुरलाई पनि साझा नभएको माल चाहिन्छ । भर्खर त झ्याम्मिएकी छे मेरो ख्वान्नियो पाँ ।’ किनकिन अरूसरह माटिनचीलाई खेलाउन मन लाग्दैन, उसलाई विशेष रूपले हेर्न मन लाग्छ, शायद उसले सधैं मलाई भविष्यको लोग्नेको रूपमा हेरिदिएर होला । त्यसो नगरे त ऊ मान्दिन नि, फेरि कताको बिहे, कताको घरबार, सके यी पनि मर्दी हो ग्रेनेडले भुँडी पड्केर ।
गिलासभरि अये भरेकी, आँखाभरि पनि अये भरेकी मलाई आज विशेष प्रयोजनसाथ भात खुवाउन बसेकी छ माटिनची । नप्पीको गन्ध विचार गर्छु, सर्प-भ्यागुतो के-के हालेर बनाएको होला, र पनि त्यसै-त्यसै मीठो लाग्छ, वातावरण नै मीठो लाग्छ, माटिनची नै मीठो लाग्छ । पछिबाट उसले लजाउँदै भन्छे, “अब कति दिन पर्खने ? साथीहरू कति जनाले गोर्खा लोग्ने ल्याएर बसिसके ।”
“ख्वान्नियो पाँ !” म उसको चिउँडो उठाएर भन्छु, “भोलि बिहे गर्ने कि पर्सि बिहे गर्ने ?” म त रातभरि आफ्नो काखमा पल्टेकी माटिनचीलाई मात्र देख्छु र सम्झन्छु भोलि त आउँदै आउँदैन ।
मलाई अँगालो हाल्दै ऊ भन्छे, “हाम्रो छोराछोरी भयो भने के गर्ने ?”
“घाँटी निमोठ्दै मारिदिने, यत्रो युद्धको गजमौरोमा केको छोराछोरी !” तर यसो भन्दिनँ, “तिमीलाई रहर मेटिन्ज्याल छोराछोरी बनाइदिउँला, फिकर नगर ख्वान्नियो पाँ ! तिमीजस्ती राम्री स्वास्नी पाउनु पनि मेरो सानोतिनो भाग्य हो र ? म घर फर्किन्नँ, तिमीलाई बिहे गरेर तिमीसँगै तिम्रो खोर्सानी र अदुवाबारी गोडेर जीवन बिताइदिउँला । अब लडाइँ थामिन्छ, हामी कति सुखी हुनेछौँ ।”
यो म बोलेको होइनँ, म राम्रैसँग थाहा पाउँछु । मेरो झूटो सान्त्वनाको ऊ सङ्केत पाउँछे क्यार, मेरो कमीजको कलरमा झुन्डेर रुन थाल्छे र भन्छे, “आज त म छोड्दिनँ तिमीलाई, मैले असाध्य नराम्रा सपना देखेको छु । गोर्खा दाइ ! मलाई मारेको पाप लाग्ला नजाऊ ।” आज किनकिन माटिनचीको आँसु रोकिंदैन । कति फकाउँछु, कति मनाउँछु हुँदैन । ऊ आँसुको भल बगाइदिन्छे, म चट्टानजस्तै अडान दिएर बसिरहन्छु । ऊ मान्दिन, मलाई रिस उठ्दै जान्छ, सम्झन्छु यी स्वास्नीमान्छेहरू कति रुन्चे हुन्छन् । आँखा पछिल्तिर आँसुको पैंटो राखेका छन् कि यिनीहरूले, जतिखेर पनि रुन्छन्, जति चाहिए पनि आँसु बगाउँछन् । रोएर जीवन बित्ने हो र ? कस्ता मुर्खहरू !
म जान तयार हुन्छु, माटिनची मेरो खुट्टाछाँद हालेर रुन्छे । हटाउन खोज्छु हुँदैन र जमाएर लात कस्छु उसको कमलो छातीमा र भाग्छु ब्यारेकतिर ।
“बृटिश कर्णेल स्टेफेन रातभरि मातेर रोए, स्वास्नी छोराछोरीको सम्झना आएर,” मेरो नम्बरी साथीले भन्छ ।
म हाँस्दै भन्छु, “कस्तो निरर्थक, त्यति सानु मुटु हुने मान्छे के कर्णेल भएर बसिरा’को !”
तर रुनुपर्छ स्टेफेनले, ऊजस्तै, मजस्तै अरू धेरैले । हाम्रो बटालियन फलाम डिस्ट्रिक्टको अघिल्लो मोर्चामा अब मजस्तै अरू धेरैले । हाम्रो बटालीयन फलाम डिस्ट्रिक्टको अघिल्लो मोर्चामा अब तुरुन्तै हिँड्नुपर्छ । सीमान्तमा जापानी प्याराट्रपहरूले बिताइसके । तोजोका रक्तबीजहरू छपछप्ती आइसके । यही हो मर्ने बेला, भी. सी कमाउने मौका, खून त्यसै उम्लेर आउँछ, अनायस हात खुकुरीको बींडमा पुग्छ ।
“नं. ३३५० सुबेदार सयोगवीर सिंह !” गोरा क्याप्टेन धाप मार्न आउँछ तर उसलाई थाहा छैन म कति निष्क्रिय मानिस छु । पर्सिपल्ट माटिनची गिलासभरि अये भरेर पर्खिन्छे उसको छातीमा नीलडाम अझ दुख्दैछ तर देखेर पनि गोर्खा बहादुरको बूटलाई नै प्रेम गर्छे एउटा लोग्ने घरमा पस्ने साइतको । तर म भागिसकेको हुन्छु सुनगाभाको जङ्गलदेखि टाढा, जीवनको रहरदेखि टाढा, अर्थदेखि टाढा । माटिनचीले थाहा पाउँछे गोर्खा बहादुर भागेको कुरा र पासो हालेर मर्न सक्छे विष खाएर मर्न सक्छे एउटा सस्तो मृत्यु ।
मलाई हाँसो उठ्छ, सम्झन्छु, के गरें र मैले ? एउटा सुनगाभाको फूल कलिलैमा टिपेर बूटले कुल्चिसकें बढी के गरें ? यति नै यदि अपराध हो भने, यति नै यदि कलङ्क हो भने यो जीवन नबाँचे हुन्छ । नरोए हुन्छ । नरोऊ मेरो ख्वान्नियो पाँ ! एउटा विश्वासघाती गोर्खा बहादुरलाई सम्झेर, किनभने ऊ पनि मर्न जाँदैछ वेदीतिर ।’
माटिनची आँसुमा पौडी खेल्दै सकमबरीको मुडुलो टाउको मतिर आउँछ। म समाउन खोज्छु अनि त्यो अदृश्य हुन्छ । स्वीकार गर्छु जीवनमा दुर्दशाको अन्त छैन । म त मरिनँ मृत्युको मुखमा पनि ।
ना येड्फुज्हा, ना येड्येफुज्हा ।
शौयाः चौयाः भ्ये भ्ये खाः
छि खयी टस्याउँ ह्या अन्ट वये ट्वेला ।
शैले सप्चेमा चान्ट्वे हलेला ।
म्वाउ में मिद्धा स्वे मादा ।
बह्य नाउँ ल्हे तिस्याः मप्चेपा से गवा ।
सोप्रानोको धुनले पछार्छ मलाई वास्तविकताको संसारमा । मेरो मुटु एकपल्ट फेरि भित्रदेखि चिरिएर आउँछ । शायद यसरी पिरलिएर बस्नु नै मेरो जीवनको सान्त्वना रहेछ, यही नै होला मेरो आश्रय । अब सन्तुष्टिको एउटा तक्मा भाग्नुपरेको छ युगसँग ।
० ० ० ०