आठौं र नवौं दिन
दिनगन्तीका हिसाबले यो आठौँ दिन भए पनि उसको एउटा विषय र प्रसङ्गको समाप्ति भएको दिन हो आज । बाहिर झमझम पानी परिरहेछ । नीलालाई पानी परेको सारै मन पर्छ । पानी भन्ने दृश्य र शब्दसँगै पनि उसको ठूलो मोह छ । उसका मनपर्ने वस्तुहरूको सूचीमा पानीको नाम एक नम्बरमै राख्नुपर्ला । तर उसलाई यति विघ्न मनपर्ने पानीको विध्वंस देख्दै, सुन्दै र बुझ्दै आएपछि हिजोआज पानी पर्दा पनि उसलाई डर लाग्छ । आफूले जन्माएको सन्तान विध्वंसक भएपछिको सन्तानप्रतिको मोहजस्तै भएको छ— पानी हिजोआज उसका लागि । यही पानीका कारण हजारौँ मानिस मरेका र लाखौँ मानिस घरबारविहीन भएको समाचार टेलिभिजनमा हेरेपछि पानीप्रतिको उसको वितृष्णा बर्सेनि बढ्दै गएको हो । त्यसैले हिजोआज आफ्नो हट्टाकट्टा लायकदार र सुन्दर आबारा छोरोजस्तै भएको छ पानी उसका लागि । उसको कोठाको झ्यालबाट वर्षाको सङ्गीत सुन्दै र एकनासको बर्साइ हेर्दै ऊ आनन्द र पीडाको दोसाँधमा पौडिइरहेकी छ, तर वर्षालाई नीलाका अनुभूतिसँग कुनै सरोकार छैन । मान्छेका विकासका ठूलठूला उपलब्धिलाई निमेषभरमै तुच्छ तुल्याउन सक्ने प्रकृतिको लीलाबाट मानवजाति अझैसम्म पराजित भएको कुराले पनि उसलाई नमीठो पीडा दिने गर्छ ।
वर्षाको गति अलि मत्थर भएजस्तो छ । केहीअघि बर्सेको पानी पोख्ने क्रममा बलेँसीको धारो अग्रगतिमा छ, तर पानी त्यतिविधि मनपर्ने नीलालाई बलेँसीको पानीको धारो भने मन पर्दैन । पानी रोकिएको धेरै बेरसम्म पनि बलेँसीको धारो खसिरहँदा उसको मन यसैयसै विरक्त हुन खोज्छ ।
अब पानी पर्न पूरै छोडेको छ र बलेँसीबाट पानी खसिरहेको कर्कश आवाज भने उसका कानमा ठोक्किइरहेको छ । हिजोमात्र किनेको कोरियन कम्बलले टाउकोसमेत छोपेर उसले आफूलाई त्यो आवाजबाट पर पार्न खोजी, तर त्यो आवाजले भने उसलाई कम्बलभित्र पनि लखेटिरह्यो । बरु भरखरै किनिएको नयाँ कम्बलको एक किसिमको बास्ना भने उसको नाकले सम्हाल्न लागेको छ । धेरै बेरसम्म ऊ मुख छोपेर सुत्नै सक्तिन । बानी नै छैन । एकदम निसास्सिन्छे । त्यसैले केही बेरमै उसले आफ्नो मुखबाट कम्बल हटाई । लामोलामो सास फेरेर आफूलाई कैदमुक्त अनुभूतिमा ल्याइप्रुयाई । बलेँसीको पानी खसेको आवाज अझै एकनासले कोठाको वातावरणमा फैलिएका कारण उसको मन एकतमासको भइरह्यो । नयाँ कम्बलको गन्धले भने उसको मनमा एक किसिमको आनन्द छाउन खोजेको छ । बलेँसीको धाराले डुबाउन लागेको बेला नयाँ कम्बलको हरकले बचाउन लागेको जस्तो लाग्यो उसलाई । मानिसलाई डुबाउन र बचाउन कत्ति पनि बेर नलाग्ने कुरा पनि यस बेला उसका मनमा आए ।
ओछ्यानमा लमतन्न परेर नै ऊ आफ्नो नयाँ कोठा नियाल्दै छे । एकजना मानिसलाई जीवनयापनका लागि चाहिने सबै कुरा छन्— उसको यो एककोठे घरमा । एउटा सुत्ने कोठा, सँगै टाँसिएको सानो भान्साघर र सँगै स्नानगृह भएको शौचालयले गर्दा यहाँ उसका सामान्य आवश्यकता सजिलै पूरा हुन्छन् । यसबाहेक टी.भी., फ्रिज, ओभन, वासिङमेसिन, इमेल र इन्टरनेट जोडिएको कम्प्युटरसमेतको व्यवस्थाले गर्दा उसको यो घर कुनै पनि सम्पन्न मानिसको घरकै हाराहारीको सुविधादायी थियो । त्यसो त इमेल र इन्टरनेटका बारे उसलाई त्यति राम्रो ज्ञान पनि छैन र उसको राख्ने विचार पनि थिएन । तर उसकी छोरी स्मृतिले सारै नै रहर गरेकी हुनाले उसले पनि इमेल र इन्टरनेट राखेकी हो । “मामु, तिमीले इन्टरनेट र इमेल राखिनौ भने म बेलायत गएपछि कसरी हामी कुराकानी गर्ने ?” स्मृतिले त्यसपछि इमेल र इन्टरनेटका फाइदाहरूको बेलीबिस्तार लगाएकी थिई । छोरीको रहर पूरा गर्ने इच्छाले नै उसले कम्प्युटर र इमेल पनि आफ्नो घरमा राखेकी हो । यो उसको सानो घरमा सबै कुरा हुँदाहुँदै पनि यस घरमा पाहुनापाछाका लागि भने कुनै व्यवस्था छैन र त्यसरी व्यवस्था नभएको कुराले उसलाई नमज्जा हुनुको सट्टा मज्जा लागेको छ; किनभने आजसम्मको अनुभवले पाहुनाहरूबाट कुनै रमाइलो अनुभूति सँगाल्ने अवसर उसले पाएकी छैन । सुखका बेलामा डकारीडकारी खाने तिनै पाहुनाले दुःखका बेला उपहास गरेको अनुभव पनि उसले सँगालेकी छ । त्यसैले अबको यो नयाँ घरमा पाहुनाको ‘प’का लागि पनि स्थान नराख्दा उसलाई एक किसिमको अनौठो सुखद मिठास भएको छ । त्यसो त यो तयारी घर किन्ने क्रममा दुईओटा र तीनओटा सुत्ने कोठा भएका घरहरू पनि दलालद्वारा उसलाई नदेखाइएका होइनन् । आफ्नी एकमात्र छोरी स्मृति पनि लगत्तैजसो विदेश पढ्न जाने र उसका लागि छुट्टै कोठाको व्यवस्था गर्ने कुरामा स्वयम् स्मृतिले नै पनि अस्वीकार गरेकी हुनाले उसले यही एककोठे घर नै रोजेकी हो । त्यसैले आफूसँग पर्याप्त धन हुँदाहुँदै पनि उसले आफूबाहेक अरूका लागि नहुने यो घर किनेकी हो ।
हिजोसम्म मानिस भन्ने जीवसँगको आत्मीय न्यानोले भिज्ने उसलाई आज तिनै मानिसको सूक्ष्मांशले पनि पिरोल्न थालेको छ । मानिसको गल्लो स्वादले आजित भएकी ऊ अब मानिससँग ननजिकिने निर्णयमा पनि पुगेकी छ ।
बिहा गर्ने, घर बनाउने वा किन्ने र छोराछोरी पाउने कुरा आफूले चाहेर मात्र हुँदैन भन्ने भनाइमध्ये घर बनाउने कुरामा चाहिँ उसको पनि सहमति भएको छ । पाँच वर्षअघि अर्थात् दर्पणसँग पारपाचुके गर्नासाथ उसले घर बनाइहाल्न वा किनिहाल्न खोजेकी थिई । त्यस बेला जति नै कोसिस गर्दा पनि भनेजस्तो घर नपाउनाले उसले आफ्नो इच्छा थन्क्याउनुपरेको थियो । त्यसपछिका समयमा पनि एउटा न एउटा बाधा अडचनले उसको घरसम्बन्धी इच्छा थाँती रहेको थियो । यस बीचका समयमा ऊ भाडाका घरमा बसेकी थिई । पैसा तिरेपछि महानगरमा राम्राराम्रा घर नपाइने कुरा पनि थिएन, तर जति नै सुविधासम्पन्न घरमा गतिलो भाडा तिरेर बस्दा पनि आफ्नोपनको अनुभूति भने उसले पाउन सकेकी थिइन । सबै कुराको सुख भएर पनि भाडाका घरमा पराईपनको अनुभूतिमै उसले पाँच वर्ष बिताई सकेकी थिई ।
यो घर हिजो मात्र किनिएको भए पनि यसको पृष्ठभूमि भने छ महिनाअघि नै सुरु भएको थियो । उसको अफिसकै एकजना साथीले चिनाइदिएको रामजी शर्मा नाम गरेको दलालले उसलाई यो घर किन्ने वातावरण मिलाइदिएको थियो ।
महानगरीय जीवनको अर्को फाइदा पनि उसलाई भएको थियो । उसका लागि आवश्यक सम्पूर्ण सामग्रीहरूको सूचीमात्र उसले दिएकी थिई । उसका मागअनुसारका सम्पूर्ण सामग्रीहरूको व्यवस्था रामजीले नै गरिदिएको थियो र उसले सोअनुसारको भुक्तानीमात्र गरेकी थिई । आफूले चाहेअनुसारको घरमा ऊ आजैदेखि मालिक्नी भएको गर्वसमेत समेटेर बसिरहेकी छ ।
अहिले बाहिर साँझ पर्न लागेको छ । खास रुखपात नभएको यो परिसरमा पनि भँगेराहरूको चाँचाँ चीँचीँ सुनिँदै छ । चराचुरुङ्गीको बास बस्ने बेलाको खैलाबैला र बिहान उठेर होहल्ला गर्ने शैली उसलाई मन पर्छ ।
आभासको घरपरिसरमा केही ठूलठूला रुखहरू पनि भएकाले त्यहाँ भँगेराका साथसाथै ढुकुर, कोइली, काग, लामपुछ्र्र्रे, रुपीलगायत अरू कतिपय नयाँ र राम्राराम्रा चराचुरुङ्गीहरू पनि देख्न पाइन्थ्यो । हिजो साँझ र बिहान पनि त्यहाँ उसले डढेको मन बोकेर ती चराचुरुङ्गी हेरेको कुरा उसका सम्झनामा यस बेला पनि ताजै छ ।
यो राजधानीको साँगुरो बसाइमा आभासको घरबासको क्षेत्र निकै फराकिलो मान्नुपर्छ । एउटा खानदानी परिवारको एक्लो छोरो आभासलाई सम्भ्रान्त भन्न सकिने धेरै आधारहरू छन् । मधेसमा मौजासमेत भएको आभासको काठमाडौँको घर उसको कलाकार बाबुका सिर्जनाहरूको सङ्ग्रहालय नै हो भन्दा पनि फरक पर्दैन । मनग्गे उमेर बाँचेर दिवङ्गत भइसकेको आभासको बाबु साँच्चै मरिसकेको हो र ? भन्ने प्रश्नले आभासका घरमा बसुन्जेल उसलाई बारम्बार पच्छ्याइरहन्थ्यो । घरको हाताभित्र प्रवेश गर्नासाथ ढोकैदेखि लिएर हरेक कोणप्रतिकोण, कोठाचोटा जताततै आभासका बाबुको कलाकारिता बाँचिरहेको देखेपछि नै उसलाई आभासको कलाकार बाबु मरेको छैन, ऊ त्यो घरभरि बाँचिरहेको छ भन्ने अनुभूतिले छोपेको थियो । आभासका नाताले त्यस घरमा प्रवेश गरेकी उसलाई त्यसरी हरेक ठाउँमा उसको बाबु सलबलाएको त्यो घर आभासको जस्तो कत्ति पनि लागेन । कसोकसो त्यस घरमा उसलाई आफू निसास्सिएको जस्तो लाग्यो । “आभास ! तिमी किन यो घरमा बसेको, यो घर त तिम्रो कलाकार बाबुको नामको सङ्ग्रहालय बनाउनु राम्रो हुन्छ ।” आफ्ना मनमा आएका “यी चित्र र मूर्तिका डङ्गुर आभासले किन जम्मा गर्नुपरेको होला ?” भन्ने भावनालाई उसले यसरी व्यक्त गरेकी थिई । आफूलाई मनमा लागेको कुरो तुरुन्तै अभिव्यक्त गरिहाल्नुपर्ने खालको उसको स्वभावले गर्दा पनि उसले आफ्ना मनमा त्यस बेला उब्जेका कुराहरू आभासलाई सुनाउन अनुकूल शब्द राखेर नै भनेकी थिई । आफ्नो मुखबाट शब्दहरू खुस्किसकेपछि भने “आभासलाई मैले भनेका कुराले चित्त पो दुख्यो कि ? उसको बाबुका चित्र र मूर्ति राखेको कुराको मैले उसका घरमा प्रथम प्रवेशकै दिनमा यसरी भन्नुहुन्थ्यो कि हुँदैनथ्यो ?” भन्ने पछुतोजस्तो पनि उसलाई हुन खोजेको थियो । “काँ त्यसो भनेर हुन्छ र ? विदेशतिरजस्तो यता सरकारले कलाकारको संरक्षण गर्ने चलन छैन । बुबाहजुरका कलाकृति कति छन् कति ! यहाँ भएका त बुबाहजुरलाई मनपरेका र मलाई पनि मनपरेका केही कलाकृति मात्रै हुन् । कुनै दिन हाम्रो मौजामा तिमीलाई लैजान्छु अनि देखौली तिमीले बुबाहजुरका सम्पूर्ण सिर्जनाहरू ।” आभासले उसको अपेक्षाविपरीत अझ आफ्नै बाबुको कलाकारिताको बखान गरेको थियो । “मैले उहाँले थोरै कलाकृति सिर्जना गर्नुभएको भनेकी कहाँ हुँ र ? यस्ता कलाकृति नै कलाकृति भएको घरलाई त कलाकै सङ्ग्रहालय बनाउनुपर्छ पो भनेकी हुँ ।” नीलाले आफूभित्र भएको कलाकृतिप्रतिको वितृष्णालाई लुकाउन खोज्दै भनेकी थिई । “नीला ! तिमीले भनेको कुरा यहाँ त्यति सजिलो छैन । अहिलेको परल मोल मात्रै पनि सरकारले मलाई दिन सक्तैन । यत्रो सम्पत्ति उपयोग गर्न नसक्ने सरकारलाई मैले यसै सुम्पने कुरा पनि त भएन । मैले अहिले बुबाहजुरका कलाकृतिहरूको जति संरक्षण गरेको छु त्यति यहाँ अरू कसैले गर्दैनन् नीलू ।” आभासले आफ्ना यी कुराहरू केही जोस र केही आर्द्रता मिसिएको स्वरमा भनेको थियो । आभासका पछिल्ला वाक्यले नीलाका मुखमा पनि बुजो हालिदिएजस्तै भएर यो कुरो फेरि उनीहरूबीच कहिल्यै आएन पनि । त्यसो त त्यस बेला नीलाले आभासका लागि आफ्नो मुख बन्द गरे पनि उसको अन्तर्मन आभासका कुरामा पटक्कै सहमत हुन सकेको थिएन । “कठै आभास ! तिमी अस्तित्वविहीन भएर यो घरमा कसरी बाँचेका छौ ?” उसको मनान्तरमा आभासका लागि दयाका यस्ता भावना उब्जेका थिए ।
त्यसपछिका दिनमा आभाससँग उसको कलाकार बाबु अथवा उसको घरबारे नीलाले कहिल्यै टिप्पणी गर्न उपयुक्त ठानिन । बरु अब उसले आफूलाई आभासकी प्रेमिकाभन्दा बढी सो गृहपरिसर भ्रमणका लागि आएकी पर्यटकको अनुभूतिमा ड्रोयाएकी थिई । चित्रकला र मूर्तिकलाप्रति खास कुनै रुचि नभएकी ऊ अब घण्टौँसम्म आभासका बाबुका कलाकृतिमा आफूलाई भुलाउने व्यर्थ प्रयत्नमा लागेकी थिई ।
आभाससँग परिचय हुनासाथ नीला उसको घरमा पुगेकी पनि होइन । त्यसो त आभास उसका लागि नवपरिचित मानिस पनि थिएन । नीलाको पूर्वपति दर्पणका झुन्डका झुन्ड साथीमध्येकै एउटा साथी आभास पनि हो । आभाससँग बिहे गर्नुभन्दा पच्चीस वर्षअघिदेखि नै आभाससँग नीलाको परिचय थियो । नीलाका लागि दर्पणका अरू साथीभाइ र आभासबीच एउटा घटनाका कारण अन्तर परेको थियो । घटना यस्तो थियो— स्मृति जन्मेका बेला नीलालाई रगत चढाउनुपर्ने भएको थियो । त्यस बेला आभासले नीलाका लागि रगत दिएको थियो । अहिलेको जस्तो ब्लड ब्याङ्क त्यस बेला भइदिएको भए आभासले उसलाई दिएको रगतको महत्व आभासकै सेरोफेरोमा घुम्ने थिएन । आफूलाई रगत दिने आफ्नो रक्तसमूहको व्यक्तिसमेत बिरामीका मान्छेले बन्दोबस्त गर्नुपर्ने समयमा नीलाको ओ पोजिटिभ समूहको रगत उसका परिवारमा कसैको पनि नभएपछि एउटा सङ्कटकालीन अवस्थाको सिर्जना भएको थियो । त्यस क्षण आभासले नीलाका लागि आफ्नो रगत दान गरेको कुरा पछि दर्पणका मुखबाट उसले सुनेकी थिई । त्यसपछि स्मृतिको पास्नीका बेलामात्रै आभाससँग उसको भेट भएको थियो । “तपाईंले मलाई आफ्नो रगत दिएर ठूलो गुन लगाउनुभयो । त्यस बेला तुरुन्त रगत नपाएको भए सायद म ...” नीलाले भावविभोर भएर कृतज्ञता ज्ञापन गरेकी थिई । “हामीकहाँ रक्तदान गर्ने परिपाटी सुरु नभएकाले यो ठूलो कुरा भएको हो । विदेशतिर यो सामान्य कुरो हो । तपाईं स्वस्थ्य हुनु भो । मेरो रगत बेकार भएन ।” आभासले जवाफ दिएको थियो । आभासको कुरो साँचो हुँदाहुँदै पनि उसको बोल्ने अथवा उसलाई जवाफ फर्काउने शैली नीलालाई पटक्कै मन परेन । केहीअघि आभाससँग कुरा गर्दागर्दै नीला भने संवेदनापूर्ण भावमा झन्नैझन्नै तरल हुन खोजेकी थिई, तर आभासले उसको संवेदनात्मक आवाजको कम्पन महसुस नै गरेको थिएन । “कस्तो रुखो मानिसको रगत मेरो शरीरमा परेछ ।” त्यस बेला उसलाई कसोकसो आफैँदेखि वितृष्णा हुन खोजेको थियो ।
त्यसपछिका दिनहरूमा आभाससँग उसको खास भेटघाट पनि भएन, न त उसले नै आभाससँग भेट्ने चासो लिएकी थिई । त्यसो त दर्पणका साथीहरूमध्येको एउटा साथीका रूपमा कहिलेकाहीँ उनीहरूका घरमा भित्रिने आभासको क्रम भने रोकिएको थिएन । आभाससँगको आकर्षण भग्नावस्थामा पुगे तापनि आफ्नो शरीरमा उसको रगत पनि मिसिएको कुराले गर्दा नीलाले दर्पणका अरू साथीभाइलाईजस्तै आभासलाईचाहिँ चटक्कै बिर्सिन भने सकेकी थिइन । यौवनावस्थाका प्रारम्भिक क्षणमा जीवनमा आफूले चाहेकाचाहेका कुराहरू मात्र हुन्छन्जस्तो नीलालाई लाग्थ्यो । तर जीवन भोग्दै जाने क्रममा उसका आफ्नै सोचाइलाई ऊ आफैँले गलत भन्न बाध्य हुनुपरेको थियो । जीवनयात्राका पथहरूमा आफैँले पहिल्याउनुपरेका अनकण्टार जङ्गलका काँडेदार झाडीहरूले गर्दा आफ्ना पूर्वविचार र कट्टर धारणाहरूलाई नीला स्वयम्ले समेत झिक्न नसक्ने र देख्न नसक्ने पारेर आफैँले गहिरो खाडल खनेर पुर्नुपरेको थियो । आफूले नरुचाएको मानिस पनि कुनै दिन घनिष्ठ हुन सक्छ र आफूले नरोजेको बाटो पनि कुनै समय आफ्नो लक्ष्यबिन्दु बन्न सक्छ भन्ने कुरा उसको र आभासको सम्बन्धले अहिले उसलाई छर्लङ्गै पारेको छ । सातओटी सौता खेपेर पनि पातिव्रत्य धर्ममा अडिग उसकी हजुरआमा र दुई जोईको साझे पोई पाएर पनि पतिपरायणा उसकी आमाको संस्कार ओढेकी नीलाले उसका आँखा छलेर रन्डीबाजी मात्रै गर्ने लोग्नेलाई पनि स्वीकार गर्न सकिन । कालान्तरमा आफ्नो इज्जत र प्रतिष्ठाका रूपमा नीलाको अस्तित्वलाई आफ्ना पूजाकोठामा राख्न खोज्ने दर्पणको संसार नीलाले नै भताभुङ्ग पारिदिई । एउटा झूट र आडम्बरपूर्ण लोग्नेस्वास्नीको सम्बन्धलाई उसले स्वीकार गर्नै सकिन । उसको अन्तर्मनले स्वीकार गर्न नसकेको दर्पणको नामको पोतेको झुत्तो लगाउन पनि नीलाले सकिन । दर्पणको देखावटी सम्बन्धलाई नीलाको आत्माले अङ्गीकार गर्न सकेन । सोकेसमा सजाएर राखिएको दाम्पत्यसम्बन्धमा मानिसहरू कसरी बाँच्न सक्छन् ? अहँ ! उसले दर्पणसँगको सम्बन्धलाई सजाएर राख्न सक्तैसकिन । त्यसैले कुण्ठाग्रस्त जीवनयापन गर्न नसक्ने मनस्थितिमा उसले आफ्नो स्वत्वप्राप्ति खातिर आफ्नै प्रिय छोरी स्मृतिको जीवनलाई पनि खण्डित पार्ने दुस्साहस गरी ।
नीला आफ्ना तरङ्गहरूमा नराम्रोसँग जेलिँदै थिई । त्यसै बेला बाहिर कसैले डोरबेल थिचेको थियो । कोठामा रात पसिसकेको र बत्ती पनि नबालिएकाले अँध्यारोले आफ्नो साम्राज्यको परिचय दिन थालिसकेको थियो । यो कोठाको पहिलो अँध्यारो भोग्न लागेकीले झन्नै छामछाम छुमछुम गर्दै उसले कोठाको बत्ती बाली । दुधिया मर्करीको उज्यालोले अँध्यारोलाई कोठाबाट निमेषभरमै लघारेको थियो । त्यसै बेला उसका आँखा भित्ते घडीमा परे । बेलुकीको सात बजिसकेको थियो । ढोकाको बाहिरपट्टि भएको सानो बरन्डामा पनि बत्ती बालेपछि ढोकामा राखिएको सुरक्षाप्वालबाट चियाएर उसले बाहिर डोरबेल थिच्ने मानिसलाई चिन्ने प्रयास गरी । यस्तै बाह्रतेह्र वर्षको जस्तो देखिने एउटा केटो ढोकामा उभिएको थियो । नचिनेको केटाले त्यसरी डोरबेल थिच्नु, साँझ परिसकेको बेला; उसलाई अचम्म लाग्दालाग्दै त्यस केटाले हातमा झुन्ड्याएको झोलामा उसका आँखा परे । झोला देख्नासाथ उसलाई त्यसै बिहानको कुरो पूर्वस्मृति भएर आयो । “साहुनीलाई तिम्रो पसलबाट सामानहरू प्रुयाउने गर्नू” बिहान मात्रै रामजीले यसै घरपरिसरको नजिकको एउटा पसलेलाई आदेश दिएको थियो । नीलाका घरायसी दैनिक आवश्यकताका वस्तुहरूको खरिद प्रक्रियाबारे नीलासँग कुराकानी गरेका आधारमा रामजीले पसलेसँग नीलालाई चिनापर्ची गराउने क्रममा नीलाको यो समस्या पनि समाधान भएको थियो । सबै घरेलु आवश्यकताका वस्तुहरूले खचाखच भरिएको पसलको त्यो कालो वर्णको साहूले रामजीका कुरा स्वीकार गरी हाँसेर टाउको हल्लाएको थियो । “त्यो त भइहाल्छ हुजुर ! बरु कुन बेला कति मालसामान पठाउनुपर्ला हुजुर ?” पसलेले आफ्ना पान खाएर कालाम्मे भएका घिनलाग्दा दाँत देखाउँदै प्रश्न गरेको थियो । त्यसपछि रामजीले नीलाका अनुहारमा प्रश्नात्मक दृष्टिले हेरेको थियो । “बेलुकी दुई पौन्ड दूध, एक पौन्ड पाउरोटी र आधा दर्जन फुल पठाइदिनुस् न ।” उसले रामजीका प्रश्नात्मक दृष्टिको जवाफ पसलेलाई दिएकी थिई । यस बेला झोला बोकेको त्यो केटो देख्नासाथ उसलाई बिहानका तिनै प्रसङ्गको सम्झना भएको थियो । त्यसैले उसले निर्धक्क भएर आफ्नो ढोका उघारेकी थिई । नभन्दै ढोका उघारिसक्न मात्रै के पाएकी थिई उसले, “साहुनी सामान” भन्दै केटाले हातको झोला उसका हातमा थमाएको थियो । केटाका हातबाट झोला लिएर कोठामा प्रुयाएपछि सबै सामान उसले एकएक गर्दै जाँचेकी थिई । उसका मागबमोजिमका सामान त्यहाँ भएको ठहर गरिसकेपछि ढोका बाहिरै उभिएको केटालाई उसले परिचयात्मक दृष्टि दिन खोजेकी थिई । “भोलि बिहान ल्याउनुपर्छ ?” केटाले ढोकाबाट भित्र डराएको भावले हेर्दै सोधेको थियो । निक्खर कालो वर्णको कपालमा तेल राम्ररी हालेको सुग्घरी केटो थियो त्यो । पहिलोपटक नीलाले केटाको अनुहार राम्ररी हेरेकी थिई । केटो कालो भए पनि तेजवान् थियो । “तिम्रो नाम के हो ?” उसले केही हाँस्न खोज्दै भनेकी थिई । “कृष्ण” उसले फटाफट जवाफ दिएको थियो । “कृष्ण ! भोलि बिहान मेरा लागि यो लिस्टको सामान ल्याइदेऊ है !” नीलाले अहिलेको सामानको बिलमा भएको रकम भुक्तानी गर्दै भोलि ल्याइदिनुपर्ने सामानको सूची पनि केटाको हातमा थमाएकी थिई । “बिहान कति बजे ल्याउने ?” केटाले सूची आफ्नो सर्टको गोजीमा हाल्दै आफ्नो केही बोधोबोधोजस्तो स्वरमा सोधेको थियो । केटामा केही कुरो मिलेको छैनजस्तो उसलाई सुरुमै लागेको थियो, तर यही कुरो मिलेको छैन भन्ने किटान उसले गर्न सकिरहेकी थिइन । अहिले भरखरै मात्र ऊ छर्लङ्ग भएकी थिई । कृष्णको आवाज निकै अस्वाभाविक रूपले बोधो थियो । त्यति तेजिलो देखिने केटाको आवाज भने अनौठो किसिमको सुन्दा उसलाई कस्तोकस्तो लागेको थियो । जताततै व्याप्त यस्ता अनमेलहरूप्रति उसका मनमा ससानो विद्रोह झुल्किन खोज्दाखोज्दै उसले आफूलाई त्यताबाट पन्छाई । “बिहान सात बजे ल्याइदेऊ न !” त्यसपछि कृष्ण बिदा भएको थियो । अब नीला पनि ढोका थुनेपछि यन्त्रवत् आफ्नो बिछ्यौनामा पुगेकी थिई ।
आज दिउँसो अलि अबेरै लन्च खाएको हुनाले नीलालाई भोक लाग्ने बेला पनि भएको थिएन । त्यसैले यस बेला यो एकान्तमा ढल्केर आफ्नो जीवनलाई पुनरावलोकन गर्न उसलाई मन लागिरहेको थियो । उसका जीवनमा पाँच वर्षअघि पनि एउटा यस्तै मोड आएको थियो । त्यो मोड पार गरिसकेकी उसलाई त्यसैअनुरूपको यो मोड पार गर्न सजिलो लाग्नुपर्ने हो तर त्यसो भइरहेको थिएन । आफ्नो सप्ताहव्यापी वैवाहिक जीवन भरखरै विसर्जन गरेर आउँदा आज पनि उसभित्र निस्तब्धताका कल्याङकुलुङहरूले होहल्ला मच्चाइरहेका छन् । एउटा सूत्र कण्ठ गरेपछि त्यस्तै खालका जति पनि हिसाब मिलाउन सकिने जस्तो हुँदो रहेनछ जीवन । धेरै जानेपछि झनै कठिन पो हुँदोरहेछ जीवनको हिसाब मिलाउन । एउटा लामो समयसम्मको दाम्पत्य भोगेर असफल भएको अनुभव सँगालेकी ऊजस्ती आइमाईले फेरि दाम्पत्य भन्ने क्षेत्रमै किन प्रवेश गर्नुपरेको थियो र ? नगर्नु प्रवेश गरिसकेपछि पुनः बाहिर निस्कनु नै किन पर्थ्यो र ? यतिखेर उसको आफ्नै मन बेलाबेला आफैँसँग वैरी हुन खोज्दै थियो । चाहँदानचाहँदै आएको आफ्नो जीवनको यो समयले आफूलाई गिज्याएको अनुभूतिसँग भाग्दाभाग्दै आज बिहान मात्रै फेरि पनि ऊ स्मृतिलाई भेट्न गएकी थिई । आफ्नो वातावरणको चारैतिरको दृष्टिप्रहारबाट मर्मान्त ऊ स्मृतिका अघिल्तिर पुग्दा भने एउटा सुरक्षाकवचमा भएको महसुस गर्छे । स्मृति उसकी छोरी हो अथवा उसैले जन्माएकी उसकी आमा हो भन्ने अनुभूति नीलालाई धेरैपटक भएको छ । उसको सुखदुःखलाई नजिकैबाट महसुस गर्नु र उसका दुखेका घाउहरूमा मलम लगाउनु स्मृतिको स्वभावै भइसकेको छ । “मैले स्मृतिलाई नजन्माएको भए यति ठूलो संसारमा मेरो भन्ने को हुन्थ्यो होला ?” उसको मानसपटलमा उब्जने प्रिय प्रश्न हो यो । आफूले भोग्दै आएको जीवनमा आफूले गर्दै नगरेको पापको परिणामजस्तो लाग्ने यो संसारमा ईश्वरको अस्तित्व छ भन्ने कुरामा उसलाई विश्वास हुन सकेको छैन । यति हुँदाहुँदै पनि स्मृतिको अनुराग पाएको तथ्यसत्यबाट भावविभोर भएको क्षण भने आफूले यो जन्म र पूर्वजन्ममा समेत गरेका पुण्यकर्मबापत ईश्वरबाट प्रदान गरिएको वरदान पक्कै पनि स्मृति नै हो जस्तो लाग्छ उसलाई ।
“स्मृति म आभाससँग बस्न सकिनँ” स्मृतिलाई जानकारी दिने क्रममा ऊ पग्लन खोजेकी थिई । “ड्याम केयर मम्मी, तिमीलाई जस्तो गर्दा राम्रो हुन्छ, त्यस्तै गर । मलाई जुनसुकै सर्तमा पनि मेरो ह्यापी मम्मी चाहिन्छ ।” स्मृतिले उसलाई आफ्नो अँगालोमा बाँधेर भनेकी थिई । उसको स्नेहसिक्त अँगालोमा बाँधिएपछि संसारका सम्पूर्ण सुखहरू एकैचोटि आफूमाथि खनिएको अनुभूतिले पनि नीलाका संवेदनाका बरफहरू पग्लिएर बग्न लागेका थिए । “नो नो मम्मी ! नो, म तिम्रो आँखामा आँसु हेर्न सक्तिनँ ।” स्मृतिका आँखामा आँसुका परिचयहरू सलबलाएको देखेपछि नीलाले पनि कठोर भएर आफ्नो आँखामा उर्लिसकेको बाढीलाई रोकेर डिलसम्म पनि आउन दिएकी थिइन; आँखैभित्र सुकाएकी थिई । “तिम्रा लागि ह्यापी न्युज छ मम्मी ! तिम्रो ड्रिम पूरा भएको छ, मैले चार वर्षको स्कलरसिप पाएँ । नेक्स्ट विक म लन्डनमा हुनेछु । यू नो मम्मी ! तर तिमीलाई मैले धेरै मिस गर्नेछु । वट ह्वाट क्यान आई डू मामु ! यो तिम्रो पनि इच्छा हो । चार वर्षको कुरा न हो । तिमीले आफ्नो राम्रो केयर गर्नु । पर्सि म तिमीसँगै रात बिताउने गरी आउँछु । अनि हामी रातभरि कुरा गरौँला । ओ के मम्मी ! बाइ मम्मी !” उसका गालाभरि म्वाइँ नै म्वाइँका वर्षा गरेर स्मृति उससँग छुट्टिएकी थिई । स्मृतिसँग टाढिनेबित्तिकै चर्को घाममा ठूलो रुखको सियालबाट बाहिरिनुपरेजस्तै भएर नीला बाफिएकी थिई ।
स्मृतिको बाबु अर्थात् दर्पणसँग उसले पारपाचुके गर्दा स्मृतिको उमेरै कति थियो र ! बाह्र वर्षकी सानी केटीले पनि बाबु र आमामध्ये एकजनामात्र रोज्न पाउने अवस्थामा आमालाई नै रोजेर उससँग आएकी थिई । आमा रोजेर आएकी उसलाई नीलाले पनि आफैँसँग राख्न सकेकी थिइन । स्मृतिको उज्ज्वल भविष्यका निम्ति उसलाई राम्रो आवासीय स्कुलमा भर्ना गरेर नीला स्मृतिको भविष्यप्रति आशान्वित पनि थिई । आफूले नभोगेको सुखभोग गर्न स्मृति सक्षम होस् भन्ने नीलाका चाहनाहरू हिजोआज नीला आफैँका लागि प्रश्नचिह्नजस्ता भएका छन् । नीलाले नभोगेका सुखभोग गराउने प्रयत्नमा नीला आफूले नभोगेका दुःखहरू पनि कतै नीलाकै कारण स्मृतिले भोगिरहेकी त छैन ?
त्यसो त नीलाले आफ्ना जीवनका कुनै पनि तीतामीठाहरू स्मृतिसँग लुकाएकी छैन । उसले आभाससँगको आफ्नो प्रेमप्रसङ्ग र पछि आभाससँग बिहा गर्ने कुृरा पनि छोरीलाई भनेकी थिई । “मामु ! तिमी खुसी हुन्छ्यौ भने मलाई केही छैन । तर लोग्नेमान्छेलाई मैलेभन्दा तिमीले बढी चिनेकी छ्यौ । आभाससँग तिमीले सजिलै जीवन बिताउन सक्छ्यौ ?” पन्ध्र दिनअघि मात्रै स्मृतिले उससँग प्रश्न गरेकी थिई । “मम्मी ! मान्छेहरू बिहा नगरी किन बस्न सक्तैनन् ? बिहे गरेपछि पनि सुखी त हुँदैनन् । फेरि किन ? अब त होमो युग आइसक्यो । म त लोग्नेमानिससँग बिहे गर्दै गर्दिनँ ।” त्यस बेला स्मृतिले यो कुरा ज्यादै गम्भीर मुद्रामा भनेकी थिई । स्मृतिको पछिल्लो समलिङ्गी बिहेको कुरा सुन्दा त्यस बेला नीलाका शरीरभरि काँडा उम्रेका थिए । “... धत् लाटी, त्यस्तो कुरा गर्नुहुन्न” नीलाले डराएर छोरीका अनुहारमा हेर्दै भनेकी थिई । त्यस बेला नीलाका आँखामा, मनमा अथवा जताततै आभासको प्रेमको छायाँमात्र नशा भएर टाँसिएको थियो । त्यसैले त्यस बेला स्मृतिले भनेका कुराहरू नीलाले बुझेकी थिई अथवा बुझेजस्तो मात्रै गरेकी थिई । अहिले आभासको नशाबाट मुक्त भइसकेकी नीला भने त्यस बेला स्मृतिले भनेका वाक्यहरूले आफ्नासामु उभिएर आफैँलाई व्यङ्ग्य गरिरहेको अनुभूतिमा पिरोलिॅदै थिई । त्यसैले आज नीला आफ्नी किशोरी छोरी स्मृतिका प्रौढ विचार दाँजिदा आफ्नो विचार बोकेको तराजुको पल्ला अकासिन पुगेको अनुभूति गर्दै थिई ।
हुन पनि स्मृति आफ्नो उमेरभन्दा कैयौँ गुना धेरै बुद्धि भएकी छ । स्मृतिका सन्तुलित विचारहरूका सामु नीलाले आफूलाई पटकपटक पराजित पाएकी छ । “स्मृति ! तिमीले मलाई आफ्नो अपराधी सोच्ने गर्छ्यौ होला । मैले गर्दा तिमी आफ्नो बाबुसँग पनि टाढा भयौ ।” स्मृति होस्टलबाट घरमा आएर नीलासँग बसेका बेला एकरात नीलाले उससँग भनेकी थिई । जोसुकैको पनि परिवार देख्ता अथवा बाबुआमा, छोराछोरी सँगसँगै हिँडेबसेको देख्ता नीलालाई एककिसिमको अपराधबोध हुने गर्थ्यो । “मेरी स्मृतिको परिवार मैले भत्काएँ । एक टुक्रा आफ्नो सुखका लागि मैले उसलाई एक्ल्याएँ । मेरा सुखका लागि सदा समर्पित छोरीको सुखका बारे किन मैले कहिल्यै सोचिनँ ? जुन बेला सोचेँ त्यस बेलासम्म समय बितिसकेको थियो ।” नीलाका मनमा हिजोआज बुर्कुसी मार्ने व्यथाहरू थिए— यी । धेरै समयसम्म आफूभित्र पाकिसकेका अपराधभावका पीडाहरू त्यस रात नीलाले आफ्नी मायालु छोरीसामु पोखेर आफू हलुङ हुन खोजेकी थिई । “माम्मा ! तिमीले मलाई नचिनाएको भए ऊ मेरो बाबु हो भन्ने कुरो पनि मलाई थाहा हुने थिएन । मेरो बाबु त जो पनि हुन सक्थ्यो तर मेरी आमा तिमी मात्रै हुन सक्छ्यौ । मैले त बिर्सी पनि सकेँ; कोही मेरो बाबु थियो । टेस्टट्युब बेबीको रूपमा आफूलाई सम्झे भइहाल्छ नि ! अथवा हामी सम्झौँ; मलाई जन्माउनका लागि तिमीले कुनै औषधी खाएकी थियौ । रोग निको भएपछि औषधीकै नाम घोकेर, औषधी समातेर कोही बस्छ त ? टेक इट इजी मम । यस्तो फाल्तू कुरामा टाइम वेस्ट नगर डियर ! तिमी किन ट्रेडिसनल थोत्री आइमाई हुन्छ्यौ जहिले पनि ? त्यसैले दुःख पनि पाउँछ्यौ । मान्छे बन मान्छे । म्यान म्यान नट उमन; उमन मात्रै कहिल्यै हुनुहुँदैन ।” त्यस रात जोसिलो पाराले बोलिरहेकी आफैँले जन्माएकी छोरीका अत्याधुनिक विचार सुनेर नीला छक्क परेकी थिई ।
त्यसपछिका दिनहरूमा नीलालाई स्मृतिका “मान्छे बन मान्छे, आइमाई मात्र कहिल्यै हुनुहुँदैन”ले बारम्बार थप्पड हानेको अनुभूति भइरहन्थ्यो । समयको पछिल्लो फेर समातेर विचारको र व्यवहारको पनि फराकिलोपनसँग नजिकिइसकेकी आफ्नी छोरीका कतिपय कुराहरूसँग सहमत भएर पनि ती विचारलाई व्यवहारमा ऊ आफैँले पालन गर्ने क्रममा भने नीला जहिले पनि पछाडि नै परिरही । नीला आफू सोह्र वर्ष पनि पुग्दानपुग्दै दर्पणसँगको प्रेमको आकर्षणमा परेर अठार वर्षकै कच्चा वयमा बिहेको जन्जालमा फसेकी थिई । त्यसैले नीलाले आफ्नै साँचोमा स्मृतिलाई पनि ढाल्ने असफल प्रयत्न गरेकी थिई । “तिम्रो कोही ब्वाइफ्रेन्ड होला नि ?” सोह्र वर्ष पुगेकी स्मृतिलाई अर्थात् पोहोरको लामो बिदामा घर आएको बेला उसले सोधेकी थिई । “ओहो मम्मी ! फेरि तिम्रो कुरा आफ्नै ट्रयाकमा पुग्यो । केको ब्वाइफ्रेन्ड ? कस्तो ब्वाइफ्रेन्ड ? के तिमी केटाबाहेक केही सोच्न सक्तिनौ । वट आइ डोन्ट लाइक दिज डर्टी ब्वाइज । आई ह्याभ सो मेनी गर्ल फ्रेन्ड एन्ड आई इन्जोइ विथ देम । मामु ! यस्तो कुरा सोचेर समय बर्बाद गर्नुहुन्न” नीलाको प्रश्नको लक्ष्य बुझेर पनि नबुझेको जस्तै गरी स्मृतिले हाँसेर जवाफ दिएकी थिई । “होइन मैले तिम्रो प्रेमीको कुरा पो गरेकी ।” नीलाले छोरीका अघिल्तिर आफूलाई अझ खोलेकी थिई । “मम्मु, तिमी कस्तो चाइल्डिस कुरा गर्छ्यौ । प्रेमस्रेम वाहियात, म त्यस्तो गर्दिनँ के ! आफ्नो क्यारियर बनाउनुपर्छ क्यारियर । देन इफ आइ विल म्यारी, आइ विल म्यारी विथ ओन्ली गर्ल नेभर ब्वाइ ।” स्मृतिका कुरा सुनेर नीलाका शरीरभरि त्यस बेला पनि काँडा उम्रिएका थिए । आफ्नै सन्त्रासले सन्त्रस्त नीलालाई स्मृतिका अडानयुक्त भनाइले थप सन्त्रस्त पारेका थिए । “सृष्टिको विपरीत जानु मानवीय धर्म होइन छोरी । तिमीले कुनै पुरुषसँगै बिहे गर्नुपर्छ ।” नीलाले डराउँदै भए पनि छोरीसँग भनेकी थिई । “नो मम वी डोन्ट बिलिभ इन योर सीली रिलिजन एन्ड योर ओल्ड नेचर । तिम्रो सृष्टिको कुरा अब पुरानो भइसक्यो । भन; तिमीलाई कतिओटा सृष्टि चाहिन्छ र कस्तो सृष्टि चाहिन्छ ? आई क्यान बाइ इट इन मार्केट एन्ड योर रिलिजन ? द्याट बाएस्ट फर उमन, आई कान्ट फलो इट । बुझ्यौ मामु ! समयभन्दा धेरै बूढो र थोत्रो छ तिम्रो धर्म ।” सन्तुलित विचारमा व्यक्तिएका स्मृतिका विचारहरूलाई पराजित गर्नसक्ने विचारको एक अंश पनि आफूसँग नभएर नीलाको मुख बन्द भएको थियो । आफूले कल्पना पनि गर्न नसकेका कुराहरू आफ्नै छोरीका मुखबाट व्यक्त भएको अवस्थामा पनि नीलाको छाती गर्वले फुल्न खोजेको थियो । यसरी छोरीका विचारका अघि आफ्ना विचारहरू पङ्गु भएको महसुस गर्दा पनि ऊ दुःखी भएकी थिइन । “मैले पनि आफ्नो उमेरलाई स्मृतिले जस्तै सदुपयोग गर्न सकेको भए !” त्यस बेला जीवनमा पहिलोपल्ट आफू बूढी भएजस्तो लागेको थियो नीलालाई । उसलाई स्मृतिका सामु आफू बाउन्ने भएजस्तो पनि लाग्यो । स्मृतिका परिपक्व विचार र जीवन जिउने अठोटप्रति नीला आफैँले थाहा नपाउने गरी नजानिँदो ईर्ष्या पनि उसभित्र पलाउन खोजेको थियो ।
●
सम्झनाका भेलहरूलाई केही बेर रोक्ने प्रयत्न गरी नीलाले । घरछेउको सडकमा मोटर गुडेको आवाज केही धीमा भएको थियो । भित्ते घडीमा भरिएको सुगाको आवाजले दश बजेको सूचना दिइसकेको थियो । नीलालाई केही भोक लागेजस्तो पनि भएकाले उसले ग्याँस बालेर दुइटा फुल र एक प्याकेट दूध पनि उमाल्न बसाली । आज एक सातापछिको यो उसको पहिलो एक्लो खानपिन थियो । त्यसो त एक्लै खान छोडेको समयलाई इमानदारीसाथ उल्लेख .गर्नुपर्दा उसले बितेको एक वर्षका धेरैजसो बेलुकीका खानपिनको उल्लेख गर्नैपर्ने हुन्छ । आभाससँग सुखद रूपले बितेका ती समयहरूमा उसले पुनः एक्लो खानपिनमा फर्कनुपर्नेछ भन्ने कल्पना पनि गरेकी थिइन । यस बेला पनि जनावरले खाएजस्तै एक्लै खानुपर्दा नीलाका मनभित्र नमीठो गरी दुख्यो ।
एक वर्षअघि एउटा डिपार्टमेन्टल स्टोरमा आभाससँग नीलाको अचानक भेट भएको थियो । आभासको परिचित स्वरूपलाई लत्याउन नसके पनि उससँगको अनाकर्षणले गर्दा नीलाले त्यस क्षण आभासलाई नदेखेजस्तै गरेकी थिई । “नीलाजी !” आभासले उसका अघिल्तिर उभिएर उसलाई बोलाएको थियो । बाध्य भएर नीलाले त्यस दिन उससँग बोल्नुपरेको थियो । साधारण भलाकुसारीपछि त्यस दिन उनीहरू छुट्टिएका थिए । संयोग भनौँ या के ? भोलिपल्टै ब्याङ्कको नीलाको क्यासकाउन्टरमा आभास उभिएको थियो । त्यस दिन ड्युटी पनि नीलाकै भएका कारण आभासको चेक पनि नीलाले नै क्यास गरिदिएकी थिई । साधारण बोलचाल र मुस्कानको आदानप्रदानपछि आभास फर्केको थियो । “यसलाई कसरी चिनेकी नीला ? यसकी स्वास्नीले पनि यसलाई डाइभर्स गरेकी नि !” नीलाकी सहकर्मी उर्मिलाले आभास मूलगेटमा पुग्दानपुग्दै भनेकी थिई । उर्मिलाको कुरा सुनेर नीला छक्क परेकी थिई । “तिमीले आभासलाई कसरी चिनेकी नि !” उर्मिलाका प्रश्नको जवाफ दिनुको साटो नीलाले उर्मिलासँग नै प्रतिप्रश्न गरेकी थिई । “मेरो छिमेकी हो यो । बिचराकी स्वास्नी पनि हिँडी, छोराछोरी बोडर्स छन्, बाउआमाअघि लगाइहाल्यो । अहिले कोही छैन परिवारमा । त्यत्रो घरमा एक्लो छ । नोकरचाकरहरू मात्रै छन् । अर्काको त्यस्तो वैराग देख्दा मेरो त मनै नरमाइलो हुन्छ । तर यो मान्छे किन हो कुन्नि हामीलाई देख्दा पनि हम्मेसी बोल्दैन । एकदमै सामुन्ने नै प्रयो भने बोल्छ । अहिले पनि मोराले नदेखेजस्तो ग्रयो । हाम्रो त बूढा पनि यो मोराको पीर गर्छन् ।” उर्मिलाले आभास उससँग नबोलेको तुस पोख्दै आभासबारे केही जानकारी पनि दिएकी थिई । त्यस दिन उनीहरूबीच आभासबारे अरू केही कुरा पनि भएन । दुवै आआफ्ना कार्यव्यस्ततामा लागेका थिए ।
“आभास र उसकी स्वास्नीबीच किन डाइभर्स भएको रहेछ ?” नीलाले भोलिपल्टको लन्चआवरमा आफूलाई उर्मिलाका अघि पोख्नबाट रोक्न सकेकी थिइन । हिजो आभासको दाम्पत्यजीवनबारेको आफ्नो कहानीसँग मिल्दोजुल्दो कहानीको उठान उर्मिलाका मुखबाट सुनिसकेपछि त्यसको बाँकी अंश थाहा पाउने कुतूहलताले उसलाई छोपिसकेको थियो । “के जान्नु ? हामीले देख्दा दुवै राम्रै थिए । ऊ पनि हुनेखानेकी छोरी, पढेलेखेकी केटी । अझ दुवैले एकअर्कालाई रोजेरै बिहे गरेका थिए । जोडी पनि खूबै मिलेकोजस्तो लाग्थ्यो हामीलाई त । आभाससँग मेरो त्यति हिमचिम भएन तर उसकी स्वास्नी रूपासँग मेरो दोहोरो कुराकानी पनि हुने गर्थ्यो । मान्छे मिजासिली थिई रूपा । खूब हाँस्नु बोल्नुपर्थ्यो ।” उर्मिलाले सहज भएर आफूले जानेजति आभासपुराण सुनाएकी थिई ।
“कति भयो उनीहरूको डाइभर्स भएको ?” नीलाले थप उत्सुकता देखाएकी थिई । “भयो होला तीनचार वर्ष” उर्मिलाले भनेकी थिई । उर्मिलाका कुरा कतै टाढाबाट आएको जस्तो लाग्यो त्यस बेला नीलालाई । “उसले अझै बिहे गरेको छैन त ?” नीलाले निर्विकार भावमा उर्मिलाका अनुहारमा हेरेर सोधेकी थिई र सोधी सक्तानसक्तै उसलाई आफूले अनावश्यक र फाल्तू प्रश्न गरेको अनुभूतिले गाँजेको थियो । “आभासले बिहे गर्नुनगर्नुसँग मैले सरोकारै किन राख्नुपरेको छ र ?” नीलाले मनमनमा भनेकी थिई । “छैन; ए साँच्चि तिमीहरूले बिहे गरे हुन्छ नि ! दुवै डिभोसी ! आभासले तिमीलाई नै पर्खेजस्तो छ । लौ यो कुरा त मलाई कहिल्यै पनि सम्झना नै आएन ।” उर्मिलाको उल्लासित आवाजले नीला पनि सपनाबाट बिउँझिएजस्तै भएकी थिई । “लौ नीला गज्जब हुन्छ । मलाई त खूबै जँच्यो बाबै यो कुरा । हैन; हिजोअस्ति नै किन यो कुरा मेरो बुद्धिमा नफुरेको होला ?” उर्मिला टाउको समातेर नीलाका अनुहारमा हेर्दै हाँसिरहेकी थिई । “त्यस्तो कुरा नगर उर्मिला । मैले आभाससँग बिहे गर्न सोधेको हो र ?” नीलाले केही रिसाउन खोजेको आवाजमा भनेकी थिई । “हेर उर्मिला, कसैका बारेमा जानकारी लिन खोज्नु उससँग बिहे गर्नकै लागि हुन्छ कि क्या हो ? तिमीलाई त्यस्तो छ भने तिमीले नै गरे पनि भइहाल्छ नि ?” उर्मिलाको ठट्यौलो कुराकानीलाई नीलाले झगडालु बाटोतिर लान खोज्दै भनेकी थिई । “म त तिमीजस्तो खाली भएकी भए तिमीसँग सल्लाह गरिरहन्थेँ र ? के गर्नु आफ्नो त अजङ्गको बूढो छ, मरे छोड्दैन । एउटा दापमा दुइटा तरवार हाल्न मिल्दैन प्यारी ! त्यसो भएर पो स्वादिलो केटो आफूले चाख्दैनचाखी तिमीलाई सुम्पन खोजेको; गुन मान्नु छैन, नरिसाउन मोरी । एकवारको जिन्दगी किन खिया पार्छ्यौ ? भनेजस्तै वर भेटे के रुँगेर बस्छ्यौ ? मह देखेपछि झिँगाहरू भन्किहाल्छन् । थपक्क बट्टा बन्द गर; ढुक्क पनि हुन्छ ।” उर्मिलाले मायालु पाराले भनेकी थिई । उर्मिलाका अघि रिसाएको अनुहार पारेर बसेकी नीलालाई झन्नै झन्नै अर्तीजस्ता लाग्ने उर्मिलाका शब्दहरूले नीलाका मनमस्तिष्कमा डेरा जमाइसकेका थिए । त्यसपछि उर्मिलाले पनि केही भनिन र नीला चुप थिई ।
“नीला ! भोलिको डिनर मेरो घरमा छ है ! मेरो बूढाको प्रमोसनको उपलक्ष्यमा केही साथीहरू बोलाएका छौँ ।” नीला र उर्मिलाबीच आभासबारे कुराकानी भएको केही हप्तापछि उर्मिलाले एक दिन नीलालाई उसका घरमा निम्त्याएकी थिई । “रातिको कार्यक्रममा घर फर्कन अबेर हुन्छ, म आउन्न । सुदेशजीलाई मेरो तर्फबाट बधाई सुनाइदेऊ ल उर्मिला ।” नीलाले तर्कंदै भनेकी थिई ।
●
अहिले भरखरै कतै गाडीको हर्न बजेको आवाजले नीलाको निद्रा बिउँझेको छ ।
सडकछेउको घर हुनुको पीडा र सुख दुवै भोग्न पाइने घर रहेछ यो । बितेका जिन्दगीका पानाहरू पल्टाउँदापल्टाउँदै हिजो राति नीला कतिखेर निदाई ? उसैले पत्तै पाइन । बितेको रातको बाह्र बजेको सुगाको आवाज भने उसलाई सम्झना छ ।
यस बेला बाहिर उज्यालो राम्ररी छरिएको थिएन । नीलाले सेतो पर्दा उचालेर बाहिर परपरसम्म आँखा प्रुयाएकी थिई । सडक र किनारामा घरहरू टाढाटाढासम्म देखिएका थिए । सडकमा मोटरको घुइँचो भइसकेको थिएन । सडकमा मानिसहरूको आवागमन पनि फाट्टफुट्ट मात्र देखिँदै थियो ।
“ओहो अफिस जानुपर्छ” नीलाको मनले सम्झन खोज्यो र एकैछिन कुनै बोझले थिच्न लागेजस्तो पनि भयो उसलाई । आज त्यसैत्यसै थकाइ लागेजस्तो भएको थियो उसलाई । तर जिम्मेवारीको कुर्सीमा बसेपछि अफिस नजाँदा झन् ठूलो पीर हुने गर्छ । अफिस जाने मनस्थितिमा आउन लागेकै बेला ऊ झल्याँस्स भएकी थिई । आज शनिवार, बिदा । बिदाको स्मरणले केहीअघि मात्रै उसका मनमा थुप्रिएको बोझ पन्सिएर हलुको भयो । कोठाको हावामा बिहानीपखको मीठोखाले चिसो मिसिएको थियो । फागुन महिनाको बिहानी काठमाडौँको रमणीय मौसम हुने गर्छ । आभासको ठूलो महलजस्तो घरको सानदार रहनसहनमा हिजोसम्म बिताएको बिहानीको झझल्को पनि आयो नीलालाई । तर त्यहाँ आफूले बिताउनुपरेको पछिल्लो समयको कष्टकर अनुभूतिलाई बिसाउन पाएको आजको बिहानीले आनन्दको अनुपम नसा दिएको महसुस गरेकी थिई नीलाले । नीलाले कम्बलको मीठो न्यानोमा आफूलाई लुकाउँदै आँखा चिम्ली, तर निद्राचाहिँ उसलाई लागेन ।
●
“बेलुकी तिमीलाई तिम्रो घरसम्म मोटरमा प्रुयाइदिने व्यवस्था गरुँला भएन त ?” उर्मिलाले नीलालाई त्यस दिन उम्कन दिएकी थिइन र त्यस साँझ उर्मिलाको निम्तो मान्न उसका घरमा नीला निकै सजिएर पुगेकी थिई ।
“नीला, तपाईं त पहिलाभन्दा पनि राम्री हुनुभएछ ।” आभासले एकान्त पाउनासाथ भनेको थियो । “ए हो र !” नीलाले अप्ठ्यारो मान्दै हाँसेर भनेकी थिई । धेरै समयपछि कुनै पुरुषले आफ्नो प्रशंसा गर्दा नीलालाई कताकता काउकुती लागेजस्तो भएर रमाइलो पनि लागेको थियो ।
त्यस दिन उर्मिलाले जानीजानी नीला र आभासलाई मात्र एउटा टेबुलमा राख्ने व्यवस्था मिलाएकी थिई । तीन पेग रक्सी पिइसकेपछि आभास निकै भावुक भएको थियो । “दर्पण र तिमीबीच के र किन भयो मलाई थाहा छ नीला ! दर्पणले आइमाईलाई कुन्नि के ठान्थ्यो । तर नीला ! म रूपालाई धेरै माया गर्थें । तिमीलाई थाहा छैन; म सबैलाई माया गर्छु । मैले रूपालाई पनि धेरै माया गरेँ तर उसले मलाई बुझिन । मेरो मायालाई लत्याएर गई । म अहिले पनि उसलाई माया गर्छु जबकि अब ऊ अरू कसैकी भइसकी । हिजो ऊ मेरी थिई । आजकी पराई उसलाई होइन हिजोकी मेरी रूपालाई मैले माया गर्न पाउन्नँ त ?” त्यसपछि आभास सानो बच्चा रोएजस्तै गरी रोएको थियो ।
“आभासजी ! लोग्नेमानिस भएर यस्तो कमजोर हुनुहुन्न । तपाईंले अर्को बिहे गरेर आफ्नो संसार निर्माण गर्दा भइहाल्छ नि ! दर्पणले बिहे गरेर दुदुई जना छोराछोरी पनि जन्माइसक्यो ।” नीलाले आभासलाई सान्त्वना दिने क्रममा सल्लाह पनि दिएकी थिई । “नीला म दर्पणजस्तो मानिस होइनँ । रूपाले छोडेर गएपछि म धेरैसँग नजिक भएँ तर बिहा गर्ने निर्णय भने गर्न सकिनँ । बिहा गर्ने इच्छा हुँदाहुँदै पनि रूपाको झझल्कोले आजभोलि आइमाईसँग म नजिकिन सक्तिनँ । चौथो पेग रक्सीको अन्तिम घुट्को निल्दै आभासले भनेको थियो । त्यसपछि भने उसले रक्सी थपेन । नीलाको जीवनचर्याका विषयमा आभासले निकै रुचि लिएर उसलाई खोतलेको थियो । उनीहरूबीच कुराकानी भइरहेका समयमा एकदुईपटक उर्मिला आएर उनीहरूका कुराकानीमा सामेल भएजस्तै गरेर केहीबेर बस्तै आभासका आँखा छलेर नीलालाई चिमोट्दै जान्थी । उर्मिलाको घरको त्यस दिनको पार्टी नीलालाई पनि निकै रमाइलो लागेको थियो । सुदेशजीले पैसा निकै खर्च गरेर खानपिनको राम्रो बन्दोबस्त गरेका थिए । निकै ठूलो आँगनमा आठदस जोडी पाहुनाहरू रमाएर रात बिताउँदै थिए । “उहाँहरू दुवैजना पुराना मित्र हुनुहुँदो रहेछ !” उनीहरूलाई एउटै टेबुलमा बसालेको केही बेरपछि उर्मिलाले सुदेशजीसँग आभास र नीलालाई संयुक्त रूपले पनि चिनाएकी थिई । प्रायः दम्पतिलाई मात्रै निम्त्याइएको त्यस पार्टीमा सुदेशजीले आफ्नो छिमेकी आभास र पत्नीसखी नीलालाई प्रश्नात्मक दृष्टिले हेरेका थिए । उर्मिलाको अर्थपूर्ण आवाजको त्यो भनाइपछि सुदेशजीका दृष्टिमा तुरुन्तै परिवर्तन देखिएको थियो । सन्तुष्ट मुद्रामा दुवैलाई हेरेर औपचारिक कुराकानीपछि सुदेशजी उर्मिलाका साथमा अरू पाहुनातर्फ लागेका थिए । आभासलाई रक्सीको नसाले असामान्य भावुक बनाउँदो रहेछ । आफूले लामो समयदेखि कठोर ठानेको आभासको यो रूप आफ्नासामु खुलेकोमा नीला छक्क परेकी थिई । धेरैदिनपछि पाएको पुरुष सामीप्यले नीलाको रात पनि नसालु भएको थियो । नपिउँदा नपिउँदै पनि उसलाई एक किसिमको उन्मादले छोपिसकेको थियो ।
त्यस रात उर्मिलाले नीलालाई आभासकै मोटरमा उसको घरसम्म पठाएकी थिई । “नीला ! कहिलेकाहीँ मलाई तिम्रो घरमा आउन मन लागे अनुमति दिन्छ्यौ ?” गाडीबाट ओर्लन लागेका बेला नीलाका अनुहारमा हेरेर आभासले प्रश्न गरेको थियो । झन्नै तीन घण्टा लामो एकान्तवार्ताले आभास र नीलाबीचको तपाईंको पर्खाल आभासले ढालिसकेको कुरा नीलाले त्यस बेला मात्रै थाहा पाएकी थिई । नीलालाई पनि यो भत्काइएको पर्खाल रमाइलो लाग्यो । “आउनुस् न, किन नहुने !” नीलाले हतारहतारमा जवाफ फर्काएकी थिई । तर उसले भने त्यस दिन आभास अगाडि उभिएको तपाईंको पर्खाल भत्काउन सकेकी थिइन । आभासका आँखामा देखापरेका नसाका लहरले नीलालाई रमाइलो डरको अनुभूतिले छोपेको थियो । हतारहतार “शुभरात्रि !” भन्दै निकैबेर आफूलाई एकनास हेरिरहेको आभासलाई बिदा गरेर नीला आफ्नो डेरामा प्रवेश गरेकी थिई ।
“हिजो कत्तिको मज्जा आयो त महारानी ?” उर्मिलाले अफिसमा एकान्त पाउनासाथ नीलाको भुँडीमा आफ्नो चोरऔँलाले छेड्दै सोधेकी थिई । “तिम्रो घरको पार्टीमा जहिले पनि मज्जा नै आउँछ नि !” नीलाले हाँस्दै जवाफ दिएकी थिई । “ए मैयाँ मसँग लाटी भएर देखापर्नु पर्दैन; मैले मेरो घरको पार्टी सोधेकी होइन । आभाससँगको मज्जाको कुरा पो सोधेकी नखरमाउली ! हिजो राति त टीनएजलाई पनि बिर्साउने शैली थियो नि तिमीहरूको । आज मसँग थाहै नपाएको स्वादजस्तो गर्छे वा यो मान्छे !” उर्मिला अझै इतरिँदै थिई । “त्यस्तो केही होइन है !” नीलाले फेरि पनि सरल उत्तर दिएकी थिई । “हुँ ... आभासको गाडी त निकै अबेर फर्केको थियो नि !” उर्मिलाले आँखा सन्काउँदै एकै सासले सोधेकी थिई । “तिमी मारी हत्ते मलाई प्रुयाउनासाथ बाटैबाट उनी फर्केका हुन् । मलाई छोडेपछि उनी कता गए मलाई के थाहा भन त ?” नीलाले निश्छल भावले उत्तर दिएकी थिई । केहीबेर नीलाका अनुहारमा हेरेर उर्मिलाले ठूलै खेलमा हारेको अनुहार बनाई । “रानी ! माछा निकै स्वादिलो छ, उम्कन नदेऊ, पछि पछुतो पर्ला ! मैले निकै विचार गरेर जोडी बाँधिदिन खोजेकी हुँ ।” उर्मिलाले गम्भीर स्वरमा पनि उत्ताउलिएर भनेकी थिई । “हिजो हनिमुन रिन्यु गरेजस्तो छ नि, म्याडमको आजको कुरा निकै रसिलो छ ।” नीलाले पनि उर्मिलाकै रङ्गमा रङ्गिँदै भनेकी थिई । “काँ र, आफ्नो भाग्यमा कहाँको हनिमुन ! बूढो मान्छे टिल्लाराम आफू जिल्लाराम । रातभरि कल्पिँदै सुतियो । आफ्नो त घर न घाटजस्तो छ बाबै ! त्यसै भएर तिम्रो र आभासको जोडी बाँधिदिएर एउटा पुण्यकर्म गर्न पाए अर्को जन्ममा आफूले पनि मोज गर्न पाइन्थ्यो कि भन्या ! खोई हिजोको तिम्रो प्रगति सुन्दा त मैले आशै मारेँ बा !” उर्मिलाको अनुहारमा साँच्चै विषादका रेखाहरू छरपस्ट देखिए । उर्मिलाको गम्भीरताले नीलाको पनि मुटुनजिक छोयो । उर्मिलाका कुराले नीलालाई पनि नरमाइलो लाग्यो ।
त्यसो त उनीहरूको त्यो नरमाइलो क्षणिक रह्यो । त्यसपछि उर्मिलाले चाहेकै कुरा भएको थियो अर्थात् पर्सिपल्टै बेलुकी सात बजे नीलाको ढोकाको कलबेल थिचिएको थियो । यो कलबेल थिच्ने अरू कोही नभएर आभास नै थियो । आभासले त्यस रातको निकै लामो समय नीलाका कोठामा बिताएको थियो । एउटी आइमाई र एउटा लोग्नेमानिस अनि उनीहरूको पीडा पनि साझा भएपछि उनीहरूको त्यो समय आपसी पीडा निवारणमै बितेको थियो । दुवैले एकअर्काको पीडानिवारणलाई प्राथमिकता दिए अथवा आपसी आनन्दको खोज गरे; त्यो उनीहरूले नै जान्ने विषय हो । तर एउटा कुराचाहिँ सत्य थियो त्यस रात छुट्टिने बेलामा दुवैलाई नछुट्टिएरै रात बिताउने इच्छा भएको थियो ।
त्यस रात आभास पनि सन्तुष्ट भएरै आफ्नो घर फर्केको थियो । त्यसै गरी नीलाले पनि पुरुषबाट प्राप्त गर्न सकिने आनन्द यति धेरै हुनसक्छ र त्यस आनन्दले जीवनको गतिहीनतामा थप उर्जासमेत प्रदान गर्छ भन्ने कुरा पच्चीस वर्षे पुरुष समागमको इतिहासमा पहिलोपल्ट महसुस गरेकी थिई । धेरै लामो समयपछिको पुरुषसंसर्गकै अथवा अरू नै कुनै तत्वको समागम थियो त्यो रात ! उसले ठम्याउन भने सकेकी थिइन । यद्यपि आफ्ना जीवनमा पुरुषसमागमबाट अपार आनन्द प्राप्त गरेको पहिलो अनुभव नीलाले गरेकी थिई ।
दर्पणसँग पारपाचुके गरिसकेपछि एक्लो जीवन बिताउने क्रममा केही पूर्वपरिचित पुरुषहरू र केही नवपरिचित आफ्नै सहकर्मीहरूले पनि नीलासँग पटकपटक नजिकिने चाहना प्रत्यक्ष र परोक्षमा पनि नराखेका होइनन् । त्यस्ता पुरुषहरूमा अधिकांश विवाहित अधबैंसे थिए । ती अधबैँसेहरू आफ्ना स्वास्नीका अघि नीलासँग बोल्न पनि रुचाउँदैनथे, अझ नचिनेको झैँ अभिनय गर्न पनि पछि पर्दैनथे । स्वास्नीका आँखाबाट ओझेल पर्नासाथ नीलाको बफादार नोकर नै बनुँलाजस्तो गरेर उसका नजिक आउन खोज्थे । त्यस्ता हरेक लोग्नेमानिसहरूमा उसलाई दर्पणको झझल्को आउँथ्यो । दर्पणले नीलाका आँखा छल्नासाथ नीलाकै साथीहरू, नातेदार दिदीबहिनीहरू र घरमा काम गर्न राखिएका जातकुजातका नोकर्नीहरूलाई समेत ओछ्यानमा सुताएका चित्रहरू नीलाका आँखामा सजीव भएर नाच्ने गर्थे । त्यसैले कामपिपासु भएर आफूलाई ललाउनफकाउन आउने पुरुषहरूसँग नीला पग्लिनुको साटो घृणा र आक्रोशले तमतमाउने गर्थी । एउटी एक्लै बसेकी आइमाई पुरुषसंसर्गविना बाँच्नै सक्तिन भन्ने धारणामा अभिशप्त नीलाको यौवन भोग्न नपाएका तिनै पुरुषहरू मध्ये केही नीलाको मिथ्या बदनामीमा र कोहीचाहिँ नीलाको स्त्रीपनामा नै आशङ्का व्यक्त गरेर शङ्कास्पद चर्चापरिचर्चा गर्न गराउन पनि पछि पर्दैनथे ।
यसरी आफ्नो यौवनको उन्मादलाई दर्पणका कुत्सित सम्झनाहरूमै समर्पण गरिसकेकी नीलाको दमित स्त्रीपनलाई आभाससँगको एकै पटकको संसर्गले जगाइदिएको थियो । हुन पनि त्यस रातपछिका धेरै रातहरू नीलाले आभासको अभावको छटपटीमै बिताएकी थिई भने कैयौँ रात र दिन आभासबाट प्राप्त सुखको समुद्रमा पौडेर बिताएकी थिई ।
विगतलाई केही बेर थन्क्याएर नीला वर्तमानमा फर्केकी थिई । यस बेला कोठाभित्र बाहिरको उज्यालोले आफ्नो साम्राज्य फैलाइसकेको थियो । मन नभए पनि नीला आफ्ना नित्यकर्म सम्पादन गर्न जुटेकी थिई । ऊ बाथरुममै भएको बेला फोनको घन्टी बजेको थियो । “मेरो नम्बर कसैलाई थाहा थिएन, सायद रङनम्बर होला !” नीलाले फोनको रिसिभर उठाउँदै सम्झेकी थिई ।
“नीला ! बधाई छ; घर किनेको पनि हामीलाई थाहा नदिने ! तिमी त कपटी मान्छे हौ, आभासले पनि फोन नगरेको । पख न तिमीहरूलाई !” फोनमा उर्मिला चर्किरहेकी थिई ।
“तिमीलाई मेरो नम्बर कसले दियो !” नीलाले आफ्नो कुतूहलता पोखी ।
“रामजी हिजो तिमीले दिएको तिम्रो चेक क्यास गर्न आएको थियो । उसैले भनेर थाहा पाएँ । तिमीहरू त्यत्रो ठूलो आभासको घर छोडेर किन त्यत्ति सानो फ्ल्याटमा गएका होलाउ भनेर म त छक्क पनि परेँ । कतै हनिमुन मनाउने नयाँ तरिका पो हो कि पनि भन्ठानेँ ।” नीलाको जानकारी लिनेभन्दा पनि उर्मिला छिल्लिने अवस्थामा पुगेकी थिई । “उर्मिला ! सबै कुरा भेटेर भनुँला, अहिले म बिजी छु, फोन राख्छु है !” नीलाले उसको प्रतिउत्तर नै नपर्खी फोन राखी । समयले मानिसलाई कति परिवर्तित गर्दो रहेछ । अस्तिसम्म
यही उर्मिलाले गरेका ठट्टाले नीलाको तनमनमा काउकुती लगाउँथ्यो । तर आज उसले गरेको ठट्टाले उसको तनमनमा आगो लागेजस्तो भएको थियो ।
हुन पनि एक वर्षसम्म आभासको प्राप्तिका लागि नीला तडपिएको कुरा उर्मिलालाई मात्रै राम्ररी थाहा थियो । आभास र नीलाबीच पुल बनेकी उर्मिलालाई आभास र नीलाबीच अब कहिल्यै नगाँसिने भँगालो परिसकेको कुरा पनि बिचरा उर्मिलालाई के थाहा होस् र ! त्यो बरी त आफूले एउटा जोडी मिलाउन पाएको उमङ्गमा अझै पनि रमाइरहेकी थिई ।
नीलालाई चियाको तलतलले सतायो, तर कृष्णले अझै चियापत्ति ल्याइप्रुयाएको थिएन । उसले भित्ते घडीमा आँखा प्रुयाई । भरखर साढे छ बज्दै रहेछ । उसले डाइनिङ कुर्सीमा बसेर हिजोको अखबार पढ्न खोजी । नीलाका आँखा अखबारमा भए पनि उसको मन कसै गरे पनि अखबारमा अडिन सकेको थिएन । उसको मन आफ्ना भरखरैजसो बितेका दिनहरूका मानसचित्र पहिल्याउने धुनमा थियो । आभासले बिहे गर्ने त्यत्ति इच्छा गरेको थिएन तर नीलालाई
भने बिहा नगरी यसरी दिन प्रतिदिन आभाससँग गहिरिँदै गएको उनीहरूको सम्बन्धले अत्याउन लागेको थियो । समाजको अवैध परिभाषाले गर्दा उनीहरूबीचका सुखद क्षणलाई पनि सङ्क्रमित पार्न लागिसकेको अनुभूति नीलाले गरेकी थिई । त्यसैले वैवाहिक बन्धनमा बाँधिने हतार पनि नीलाले नै गरेकी थिई । गुह्येश्वरीको मन्दिरमा गएर उनीहरूले एकअर्कालाई फूलका माला लगाइदिएका थिए । आफ्नो परम्परा थाम्ने नाउँमा आभासले नीलाको सिउँदो काँचो सिँदुरले रङ्गाइदिएको थियो र नीलाले पनि आफ्नो निधार आभासका खुट्टामा राखेर आफू उसप्रति समर्पित भएको प्रमाण पेस गरेकी थिई । ईश्वरबाहेक कसैलाई साक्षी नराखी उनीहरूले बिहे गरेका
थिए । बिहेको अघिल्लो दिन आभासले नीलालाई उसको छोरो विवेक र छोरी अंशुसँग परिचय गराउन उनीहरूको स्कुल प्रुयाएको थियो । आफ्नी छोरी स्मृतिकै हाराहारीका आभासका छोराछोरी देख्दा नीलालाई आफ्नी छोरीको झझल्को लागेको थियो । त्यस बेला आभासले छोरासँग खास केही भनेको थिएन । तर छोरीसँग भने एकान्तमा निकै बेर कुरा गरेको थियो । त्यसपछि उनीहरू चारैजना एकै ठाउँमा बसेर केहीबेर कुराकानी गरेका थिए । “अंशु ! तिमीलाई पनि घरमा आउँदा एक्लोपन हुनेछैन ।” आभासले आफूलाई एकान्तको साथीको आवश्यकता पूरा गर्ने क्रममा नीलासँग बिहा गर्न लागेको कुरा भन्दै पछिल्लो वाक्य बोलेको थियो । “पापा, हजुरको सुखका लागि जसो गरिसिन्छ मलाई राम्रो लाग्छ ।” यसो भन्दाभन्दै अंशुको गला भारी भएको नीलाले चाल पाएकी थिई । आभासका गालामा म्वाइँ खाएर नीलालाई हात हल्लाउँदै रुन्चे हाँसो हाँसेर अंशु बिदा भएकी थिई । अंशुका पछिपछिजस्तो विवेक पनि गएको थियो । त्यस बेला अंशुको हाँसोका पछाडि लुकेको पीडाले नीलालाई भने निकै बेरसम्म पछ्याइरह्यो । आभाससँग घनिष्ठ भएको एक वर्ष एक महिनापछि नीला आभासकी जीवनसँगिनी भएर उसका घरमा पुगेकी थिई ।
●
डोरबेल बजेकाले नीलाका सम्झनाका तरङ्गहरू स्थगित हुन पुगे । “कृष्ण आयो होला !” नीलाले पूर्वानुमानसाथ ढोका खोलेकी थिई । नभन्दै कृष्ण आफ्ना दुवै हातमा झोला झुन्ड्याएर उभिएको रहेछ । ङिच्च हाँसेर अनुहारमा परिचित भाव ल्याउँदै र आफ्ना सेता दाँत देखाउँदै ऊ यथावत् उभिइरह्यो । उसको उपस्थिति अब नीलाका लागि पनि परिचित र औचित्यपूर्ण भएकाले नीलाले ढोका उघार्दै उसलाई आफ्ना मुस्कानले स्वागत गरेकी थिई । कृष्ण सामान बोकेर उसको पछिपछि भित्र कोठामा आएको थियो । कृष्ण नीलाको कोठालाई बडो चाख मानेर हेर्दै आफ्ना कलिला हातहरूले सामान बोकेर उभिई नै रहेको थियो । नीलाले सामान त्यहीँ राख्ने आदेश दिएकी थिई र उसलाई बस्ने अनुमति पनि दिएकी थिई, तर पनि ऊ बसेन । उभिएरै आफ्नो खल्तीबाट भरखरै ल्याइएका सामानको बिल नीलाका अघि तेर्स्याएको थियो । नीलाले पनि त्यहीँ टेबुलमा भएको आफ्नो हाते झोलाबाट पैसा झिकेर उसलाई दिई । पैसा गनेर खल्तीमा राख्दै ऊ डराएको भावमा मुस्कुराउन खोज्दै बिदा भएको थियो । त्यसपछि नीलाले पनि ढोका लगाएकी थिई ।
सामानबाट चियापत्ति र चिनी झिकेर पहिले नीलाले चिया बनाई । आफ्नो नयाँ घरको पहिलो कप चियाले उसलाई एक किसिमको अनौठो तृप्ति दियो । चियाको तलतल मेटिँदा नमेटिँदै ऊ आफ्ना तरङ्गका लहरहरूमा पुनः डुबुल्की लगाउन थाली ।
●
त्यसो त बिहे गरेर मात्रै नीला आभासका घरमा भित्रिएकी होइन । बिहे हुनुभन्दा एक वर्षअघि नै उनीहरूको तनमनले एकअर्काको आवश्यकता अनुभव गर्न थालेपछि आभासले लगत्तैजसो उसलाई त्यस घरमा प्रुयाएको थियो ।
पहिलो दिन आभासको सुत्ने कोठामा पुगेको बेला सर्वप्रथम उसको बिछ्यौनाको गोडामुन्तिर टाँगिएको सेतो बिरालोको ठूलो फोटो देखेर नीला निकै अचम्मित भएकी थिई । हुन पनि बिरालाको यति ठूलो तस्बिर उसले आजसम्म कसैको सुत्ने कोठामा पनि देखेकी थिइन । बैठककोठामा भने मानिसहरूले बाघको वा मृगको छाला अथवा कुनै जीवजन्तु वा अरू कसैका पनि तस्बिर वा पेन्टिङहरू सजाएको नीलाले नदेखेकी होइन । तर सुत्ने कोठामा त्यत्ति ठूलो बिरालाको तस्बिर पहिलोपटक देख्दा नीलालाई हुनसम्मको अचम्म लागेको थियो । त्यसो त विवाहित जोडीका सुत्ने कोठामा उनीहरूका रमाइला तस्बिर अथवा कुनै प्रेमपरिणय झल्कने जीवन्त तस्बिर सजिएको पनि उसले नदेखेकी होइन । दर्पणकै घरमा पनि उनीहरूको सुत्ने कोठामा नीला र दर्पणको स्वयंवरका बेला खिचेको तस्बिरलाई चाँदीको फ्रेममा हालेर उसले आफैले नै सजाएकी पनि थिई । “बिरालो मेरो अत्यन्त प्यारो जीव हो । नीला म बिरालोलाई खूबै माया गर्छु; यो तस्बिर मैले बाल्यकालमा पालेको बिरालाको हो । मेरा बुबाले खिच्नुभएको हो यो तस्बिर । तिमीलाई कस्तो लाग्यो ?” नीलाले बिरालाको तस्बिरलाई निकै छक्क परेर हेरेको देखेपछि त्यस बेलाको नीलाको कौतूहल मेटाउने प्रयास आभासले गरेको थियो । आभासका कुरा सुनेपछि बिरालाको मायाले हो अथवा उसका स्वर्गवासी बाबुले खिचेको तस्बिर भएकाले त्यो तस्बिर आभासले सुत्ने कोठामा टाँगेको हो ? नीलाले त्यस बेला बुझ्न सकेकी थिइन । त्यस दिन आभासको बिछ्यौनामा उनीहरू पहिलोपल्ट रमाउन खोजेका थिए । आभासको अनुभूति त ऊ के जानोस् तर त्यस दिन नीलाका अनुभूतिमा भने आफू र आभासका बीच बिरालाको त्यो तस्बिर आएको थियो । तेस्रो अस्तित्वको उपस्थितिको आभासले कति कोसिस गर्दा पनि त्यस समयको साँचो रमाइलो उसले प्राप्त गर्न सकेकी थिइन । त्यसैले आभासको सुत्ने कोठाबाट बाहिर निस्कँदा नीलाले त्यो बिरालाको तस्बिरलाई मनपराएर हेर्न सकिन ।
“म पैँतालीस वर्षको भएँ र अहिलेसम्म मैले सातओटा बिरालाहरू पालिसकेँ । सबैभन्दा पहिले थिई नैनकला, त्यसपछि चुआ, हेन्द्री, वंशी, रूपेश, मनमती र सबैभन्दा पछिल्लोचाहिँ अनङ्ग हो । नीला तिमीलाई बिरालो कस्तो लाग्छ ?” बैठककोठामा बसेर चिया पिइरहेको बेलामा आभासले नीलालाई आफ्ना बिरालाहरूको छोटकरी इतिहास भन्ने क्रममा अप्रत्याशित रूपमा नीलाको बिरालो रुचि जान्न खोजेको थियो । अचानक आभासको प्रश्नले केहीबेर त नीला अकमक्क नै परेकी थिई । “यसबारे मेरो कुनै अनुभव छैन । हेर्दा त राम्रै हुन्छ, तर मैले नपालेको हुनाले जीवजन्तुका विषयमा म यसै केही भन्न सक्तिनँ ।” नीलाले तटस्थ भएर जवाफ दिएकी थिई । “ए त्यस्तो मनै नपर्ने वा डराउने त केही छैन हैन ?” आभास आश्वस्त हुन खोजेको थियो । “डर त मलाई बाघसँग पनि लाग्दैन, बिरालो जाबोसँग के डराउनु !” नीलाले पनि आफ्नो साहसको परिचय जोसिलो पाराले दिन खोजेकी थिई । “ए ! बाघसँग पनि नडराउने, अनि मसँग नि !” आभासले गिज्याएको पाराले भन्दै नीलालाई अँगालामा बाँधेको थियो । “तिमीसँग पनि !” नीला निख्रिँदो बैँस पोखेर हाँसेकी थिई । “हो महारानी तिमीसँग त मै डराउँछु, हायलकायल पारिदिँदी रैछ्यौ !” नीलाका हात समातेर आफ्नो बिहान मात्र खौरेको गालामा दल्दै आभासले भनेको थियो । आभासका कुराले नीलाका अनुहारमा पनि केही सरमका छिटाहरू देखापरेका थिए । दुवैले एकअर्काका आँखामा हेराहेर गरिरहे र दुवै एकैचोटि खित्का छाडेर हाँसेका पनि थिए । हाँस्दाहाँस्दैको आभासका अनुहारमा अचानक पीडाका केही रेखाहरू पनि देखेर नीलालाई नरमाइलो लाग्न खोज्दै थियो । “एउटा कुरा सुन्छ्यौ नीला ! रूपालाई बिरालो पटक्कै मन पर्दैनथ्यो । उसले मेरो अनङ्गलाई त विष पनि खुवाउने प्रयत्न गरेकी थिई । ऊ बिरालाको नामै सुन्न सक्तिनथी ।” अचानक आभासको स्वरमा भारीपन आउन लागेको जस्तो नीलालाई लाग्यो । तीन सीटे सोफामा उनीहरू त्यस बेला बसेका थिए । कसोकसो नीलाको काखमा आफ्नो टाउको राखेर आभास ढल्किसकेको थियो । “मैले रूपालाई धेरैचोटि भनेँ, म बिरालोलाई माया गर्छु । तिमीले मेरो प्यारो बिरालोलाई दुर्व्यवहार नगर । म आफूलाई कसैले नराम्रो गरे पनि सहुँला तर मेरो बिरालालाई नराम्रो गर्ने कसैको आशय पनि सहन सक्तिनँ । तर उसले कहिल्यै मेरो कुरै सुनिन; एउटा कानले सुनेजस्तो गरेर अर्को कानले उडाइदिन्थी । उसले एकनास मेरो बिरालाको खेदो गरिरही, तर मैले भने झन्झनै बिरालोलाई माया गरिरहेँ । अनङ्गभन्दा अघिकी मेरी बिराली मनमती पनि कालगतिले मरेकी हो जस्तो मलाई लाग्दैन । बेलुकी म सुत्ने बेलामा सद्दे भएकी बिराली बिहान म उठ्दा मरिराखेकी थिई । म कति रोएँ मनमती मर्दा, तर रूपाले पटक्कै शोक गरिन । त्यस बेला त मैले रूपामाथि शङ्का पनि गरिनँ तर अनङ्गलाई कीटनाशक औषधी मिसाएको मासु उसले खुवाएको थाहा पाएपछि भने मनमतीलाई पनि उसैले मारेकी हो जस्तो मलाई लागेको छ ।” निक्कै लामो सास फेरेर आभासले भनेको थियो ।
आभासका कुरा सुनेपछि त्यस बेला नीलालाई आभासप्रति हुनसम्मको सहानुभूति पलाएको थियो भने रूपाप्रति ऊ थाहै नपाई आक्रोशित हुन पुगेकी थिई । “रूपाले नै अनङ्गलाई विष खुवाएको तिमीले कसरी थाहा पायौ त ? अनि अनङ्ग म्रयो ?” नीलाले बिरालाको कथामा रुचि लिएर सोधेकी थिई । “अनङ्गले मासु चाट्नासाथ बान्ता गर्न खोजेको रहेछ । संयोगले त्यस बेला म अनङ्गलाई खोज्दै त्यहाँ आइपुगेको थिएँ । अनङ्गले मासु खान सकेन र स्वाँस्वाँ गर्न थाल्यो । म आत्तिएर हत्तपत्त अनङ्गलाई मोटरमा हालेर पशु डाक्टरकहाँ पुगेँ । नभन्दै डा. कायस्थले अनङ्गलाई बान्ता गराए । “यसले कीटनाशक विष खाएको छ ।” डा. कायस्थले भने । त्यसपछि डाक्टरले अनङ्गलाई एउटा सुई दिएपछि उनले लेखिदिएका औषधीहरू पनि किनी म घर फर्केको थिएँ । म घरमा पुग्दा अनङ्गको भाँडामा भएको मासु त्यहाँ थिएन । नोकरचाकरलाई सोध्दा “हामीलाई थाहा छैन” भने । रूपालाई सोध्दा उसले “मैले फालिदिएँ” भनी । “किन फाल्यौ” भनेर मैले सोध्दा उसले कुनै जवाफ दिइन । त्यसपछि मैले रूपालाई नै सोधेको थिएँ— “आज अनङ्गलाई कसले मासु खान दिएको थियो ?” “मैले” रूपाले निकै
कठोर आवाजमा जवाफ दिएकी थिई । “अनि मासुमा विष पनि तिमीले मिसाएको हो ?” मैले रूपाका अनुहारमा आँखा गाडेर हेर्दै सोधेको थिएँ । तर मेरो पछिल्लो प्रश्नको जवाफ रूपाले दिइन । ऊ बोल्दै बोलिन ।
त्यसो त रूपा यो घर छोडेर गइसकेपछि पनि धेरैपछि मात्र रूपाका राखनधरन गर्ने बाकसमा मैले कीटनाशक औषधीको सिसी फेला पारेको थिएँ ।
आभासको स्वरमा निराशाको व्यापकता थियो । त्यस बेला नीलालाई आभासप्रति धूमधाम प्रेम उर्लेर आएको थियो र रूपाप्रति घनघोर वितृष्णा । “कस्ती हत्यारिणी आइमाई ?” नीलाले रूपाप्रतिको आफ्नो मनको फोहोर मनमनै पोखेकी थिई । त्यस बेला बाहिर देखिने गरी भने नीलाको दाहिने हात आभासका छातीका रौँ सुमसुम्याउन व्यस्त थियो । “अनङ्ग अहिले कहाँ छ त ?” नीलालाई आफूले नदेखेको त्यो दयनीय जीव पनि हेरूँ हेरूँ लागेको थियो त्यस क्षण । “रूपाले घर छोडेर हिँडेको दुई वर्षपछि अनङ्ग पनि म्रयो । भोलि अनङ्ग मरेको दुई वर्ष पुग्छ ।” आभासको स्वर केही भक्कानिएको पनि थियो । नीलाले आभासले चाल नपाउने गरी उसका आँखामा हेरी । उसका चिम्लिएका आँखाका डीलबाट आँसुका थोपा खस्लान्खस्लान् जस्तो गरेर फेरि भित्रै फर्किएका थिए । त्यसपछि त्यस दिन उनीहरूबीच अरू केही कुराकानी भएन । त्यसपछिका दिनहरूमा पनि बिरालो या त्यससम्बन्धी कुनै कुरा भएको थिएन । यत्ति हो; आभासको सुत्ने कोठाको बिरालाको तस्बिर भने नीलाका लागि प्रिय हुनै सकेको थिएन । आभासको बिरालो प्रेमको कथा सुनिसकेपछि नीलाले आभाससँग त्यो तस्बिर सुत्ने कोठाबाट बाहिर निकाल्ने प्रस्ताव राख्न सक्ने कुरा पनि थिएन ।