छैटौं दिन
“नीला, तिम्री छोरी स्मृतिले फोन गरेकी छिन्” बिहानै आभासले उसलाई उठाउँदै भनेको थियो । त्यसपछि नीला हत्तपत्त सिरानको टेबुलमा भएको फोन उठाउन पुगेकी थिई । “मामु ! हाउ आर यू, आर यू ओके ?” स्मृति बोल्दै थिई । “हेर न आज राति मैले तिमीलाई सपनामा एकदमै हाँसिरहेको देखेँ । तिमीले भनेको सपनामा हाँसेको देख्दा नराम्रो हुन्छ भन्ने सम्झेर तिमीलाई फोन गर्न मन लाग्यो ।” फोनमा उताबाट आएको स्मृतिको मायालु आवाज उसले सुनिरही । “भनन मामु, आर यू ह्यापी ?” स्मृति प्रश्न गर्दै थिई । नीलाले फोन उठाउनासाथ “स्मृति !” भन्नुबाहेक कुनै शब्द बोलेकी थिइन । अब झनै ऊ भक्कानिएर बोल्नै नसक्ने भएकी थिई । उसले स्मृतिलाई कुनै जवाफ दिन सकिन । “मामु के भयो तिमीलाई ? तिमी आज दिउँसो मेरो टिफिन टाइममा स्कुलमा आऊ ल ! प्रिन्सिपलसँग रिक्वेस्ट गरेर मलाई भेट ल ? मैले अहिले राखेँ ।” त्यसपछि फोनको लाइन काटिएको थियो । लाइन काटिइसकेको फोन हातमा लिएर नीला धेरैबेर त्यत्तिकै सुतिरही । नीलाका आँखाबाट आँसु बगिरहेका थिए भने वेदनाको गाँठो परेर उसको मनको भित्री तहमा उसलाई दुःखिरहेको थियो ।
जहिले र जतिखेर पनि उसकै सुखको मात्र चिन्ता गर्ने स्मृतिको सम्झनाले उसलाई धेरै बेरसम्म रुवाई नै रह्यो । “मैले उसको सुख कहिल्यै सोचिनँ; आफ्नो सुखप्राप्तिका पछाडि दौडिरहेँ । मेरो सुखचाहिँ सीताले रामलाई लिन पठाएको स्वर्णमृगजस्तै भयो ।” नीलाका आँखाबाट थप आँसु बगाउन उसैका विचारहरू पनि प्रयत्नरत थिए ।
“म किन स्मृतिसँग नबोलेकी हुँला ! उसले अब कति पीर मान्नेछ । हे भगवान् ! अब म के गरूँ ? स्कुलमा फोन भए पनि विद्यार्थीलाई फोनमा बोलाउँदै बोलाउँदैनन् ।” केही अघि स्मृतिसँग फोनमा बोल्न नसकेको पछुतोले अब उसलाई सताउन थालेको थियो । “किन म जे कुरा पनि समय बितिसकेपछि मात्रै बुझ्छु; जब बुझ्छु बुझेको पनि कुनै अर्थ हुँदैन ।”
“अफिसबाट लन्च आवरमा स्मृतिलाई भेटेर आउनुप्रयो ।” नीलाले मनमनमा ठहर गरी । स्मृतिलाई भेट्न जाने कल्पना मात्रले पनि उसको शरीरमा स्फूर्ति आयो । ऊ उठेर नित्यकर्ममा लागी । नीला चङ्गा भइसक्ता नसक्तै आभास पनि उसको बिरालोलाई बिहानको ताजा हावा खुवाएर आइपुगेको थियो । “ए तिमी त रेडी भइसकिछौ; म पनि फ्रेस भइहाल्छु है ! अनि सँगै ब्रेकफास्ट खाने ।” आभासले उसलाई देखेर भनेको थियो ।
आभास तयार भएर आउन्जेल नीला आजका अखबारहरूमा अलमलिएकी थिई । “तिमीलाई ढीलो भयो होला हैन ? ल जाऔँ ।” त्यसपछि उनीहरू डाइनिङ रुममा गएका थिए ।
“म तिमीलाई प्रुयाउन जान्छु” ब्रेकफास्ट खाँदाखाँदै आभासले भनेको थियो । आभासका कुरा सुन्नासाथ नीलाको ओइलाएर झर्न आँटेको मन पनि जाग्न खोजेको थियो । निमेषभरमै आमूल परिवर्तन हुन सक्ने आफ्नो मन देखेर ऊ आफैँ छक्क पनि परेकी थिई । पुलकित मनका कारण अचानक आफूमा भरिएको उत्साह सँगाल्दै ऊ मोटरसम्म पुगेकी थिई । “हेर न, हिँड्ने बेलामा यो पछि लाग्यो । यसलाई पनि मोटरको बानी पार्नुप्रयो ।” मोटरमा ड्राइभिङ्ग सीटमा बस्न लागेको आभासका छातीमा उसको बिरालो टाँसिएको थियो । त्यो दृश्यले नीलाको एकैछिनअघि उम्रिएर पलाउन लागेको उत्साह फेरि ओइलायो । उसको अनुहारमा केही क्षणअघि मात्रै देखापरेको चहक झ्याप्प निभेको थियो । “एकैछिन पनि बिरालो नभई हुँदैन यसलाई, कस्तो वाहियात मानिस रहेछ !” नीला आक्रोशित समेत भएकी थिई । तर मनमा जत्रै आँधीहुरी चले पनि नीला आफूलाई संयमित पारेर, सबै कुरा लुकाएर सामान्य अवस्थामै रही ।
आफ्नो आक्रोश आफूभित्रै बलपूर्वक दबाउने प्रयत्नमा ऊ केही शिथिल पनि भएकी थिई ।
नीलाको अफिस आइपुगेको थियो । नीला भारी मन बोकेर मोटरबाट ओर्लेकी थिई । आभास र नीलाका बीचमा बिरालो बसेको थियो । नीला ओर्लेपछि बिरालो र आभास मात्रै मोटरमा थिए । नीलाले मन नपराएको दृष्टिले बिरालोलाई हेरी र आभासलाई पनि हेरी । आभास हाँसिरहेको थियो । नीलाले पनि उसको हाँसोको प्रतिउत्तरमा हाँस्न खोजी र जबर्जस्ती ओठमा मुस्कान ल्याएर आभासलाई औपचारिक बिदाइ गर्न हात पनि हल्लाएकी थिई ।
“मिस्टर नीलाजी त ह्यान्डसम पनि हुनुहुँदोरहेछ नि !” “नीलाजीभन्दा भाग्यमानी को होला र ! धन र रूप दुवै भएको मान्छे पाउनु चानचुने कुरा हो र !”
नीला मोटरबाट ओर्लेको दृश्य हेरिरहेका उसका केही सहकर्मीहरूका भनाइ पालैसँग उसैतर्फ लक्षित थिए । नीला भने निर्विकार भावले आफ्नो कार्यव्यस्ततामा अलमलिन खोजिरहेकी थिई ।