दोस्रो दिन
“नीला ! आज हामी नारायणघाट हाम्रो खेतीमा पुगेर आऊँ । तिमीलाई पनि देखाइदिन्छु । धेरै दिन भयो म नगएको । यात्रा रमाइलो लाग्छ मलाई; अझ साथमा तिमी भए पछि झनै रमाइलो हुन्छ ।” बिहान सबेरै आभासले नीलालाई भनेको थियो । वीरगन्ज जाँदा बसबाट देखेको भए पनि नीलाका लागि नारायणघाट त्यत्ति परिचित ठाउँ थिएन । नीलाले ब्याङ्कबाट तीन दिनको बिदा लिएका कारण उसलाई अरू दुई दिनसम्म केही चिन्ता थिएन । “मेरो भोलिसम्म मात्र बिदा छ ।” नीलाले आभासलाई आफ्नो बिदाबारे पुनः जानकारी गराएकी थिई । “मलाई थाहा छ; त्यसैले त आजको रात त्यहाँ बस्ने, भोलि बेलुकी यहाँ आइहालिन्छ । तिम्रो अफिस पर्सिदेखि जानुपर्ने हैन ?” आभासले सोधेको थियो ।
बाटाका लागि चाहिने सरसामानहरू आभास आफैँले नोकरहरूको सहयोगमा मोटरमा राखेको थियो । उसले सबै तयारी गरिसक्ता बल्लतल्ल नीला आफू तयार भएकी थिई । बिहानको खाना अलि छिट्टै खाएर उनीहरू नारायणघाटका लागि हिँडेका थिए । “नीला ! तिमी यो पेन्टिङ्सँगै उभिऊ त म तिम्रो फोटो लिन्छु ।” आभासले उसको बाबुका पेन्टिङहरू टाँगिएको हलका अघि उनीहरू पुग्नासाथ टक्क उभिएर भनेको थियो । आभास नीलाको फोटो खिच्न एकदमै तयार थियो । आभासका हातमा क्यामेरा भएको कुरा पनि नीलाले चाहिँ भरखरै मात्र याद गरेकी थिई । आफू उभिएको भित्तातिर फर्केर नीलाले हेरी । त्यहाँ एउटा अमूर्त पेन्टिङ थियो । त्यो पेन्टिङ राम्रो थियो । पेन्टिङ अमूर्त भएको कारण नीला र आभास दुवैले आआफ्ना कल्पनाका दृश्यहरू त्यहाँ देख्थे । नीला त्यो पेन्टिङमा पहाडका थुम्काहरू र रुखहरू देख्थी भने आभास त्यस पेन्टिङमा बिरालाहरूको झुन्ड देख्थ्यो । आभासको मन परेको पेन्टिङमध्येको एउटा विशेष पेन्टिङ थियो त्यो । त्यसैले नीलालाई त्यस पेन्टिङसँग फोटो खिच्नुको कुनै तुक नभए पनि आभासको खुसीका लागि ऊ पेन्टिङसँगै उभिई र आभासले आफ्नो रुचिअनुरूप नीलाको तस्बिर क्यामेरामा कैद गरेको थियो ।
त्यसो त आभासले नीलाको यो पहिलो तस्बिर खिचेको पनि होइन । आभासलाई हातमा क्यामेरा भएपछि फोटो खिचिरहन मनलाग्दो रहेछ । उसले यसअघि अर्थात् नीला र आभासको घनिष्ठता भए यता नीलाका सयौँ तस्बिरहरू खिचेको थियो । “किन यतिविघ्न तस्बिर खिच्छौ । के काम यत्तिका तस्बिर ? एकैखाले यत्तिका तस्बिरको अर्थ नै के छ र !” नीलाले एकदुईपटक नजानिँदो विरोध पनि जनाएकी थिई । “तिमीलाई थाहै छैन नीला ! यो संसार परिवर्तनशील छ । यहाँ हरेक पलपलमा परिवर्तन हुन्छ । तिमी भन्छ्यौ एकै किसिमका तस्बिर खिचेको भनेर, यो कुरा सम्भव नै छैन । एउटा फोटो खिचिसक्ता नै तिमीमा कति ठूलो परिवर्तन आइसकेको हुन्छ । अर्को कुरा मलाई लाग्छ मेरा हातमा क्यामेरा होस् अनि म तिम्रो तस्बिर खिचिरहूँ ।” कविजस्तो भएर कवितामा बोलेको थियो ऊ । हुन पनि कहिले नीलाको टाउकाको मात्रै, कहिले उसको आॅखालाई महत्व दिएर, कहिले कपाललाई महत्व दिएर, कहिले नीलाले मोटर साइकिल हाँकेको भावमा, कहिले मोटर, कहिले ट्रक र घोडा हाँकेका समेत तस्बिरहरू आभासले खिचेको थियो । एउटै मानिसका यत्ति धैरै तस्बिर पनि खिचिँदोरहेछ भन्ने कुरा पनि नीलाले आभासकै साहचर्यबाट थाहा पाएकी थिई । नारायणघाट पुग्नुअघि पनि राजमार्गका अधिकांश सुन्दर दृश्यहरू भएका ठाउँहरूमा आभासले नीलाको तस्बिर खिचिरह्यो । नारायणघाटस्थित उसको मौजामा पुग्दा आभासले नीलाका तस्बिर खिचेरै तीनओटा रीलहरू सिद्ध्याइसकेको थियो ।
फलफूलका बगैँचाहरूले घेरिएको आभासको खेती निकै मनोरम थियो । मोटरमा चढेर घुम्दा पनि झन्नै तीस मिनेटभन्दा बढी समय लाग्ने उसको मौजा परिसरको क्षेत्रफल कति होला भन्ने अनुमान नीलाले गर्न सकिन । आभासको त्यस मौजाको हेरचाह गर्ने सरयुग भन्ने मानिस रहेछन् । निकै मोटा सरयुग मिजासिला भएकाले नीलालाई पराईपनको अनुभूति पनि हुन पाएन । सरयुगकी स्वास्नी र बुहारीले नीलाको ज्यादै खातिरदारी गरेका थिए । सरयुगका बाजेको पालादेखि नै सरयुगहरूले उनीहरूको यो मौजाको रेखरेख गर्दै आएका रहेछन् । तर सरयुगभन्दापछि अब कसले यहाँको हेरविचार गर्ला भन्ने कुरामा सरयुग चिन्तित रहेछन् । किनभने सरयुगको एकमात्र छोरो रामप्रताप कलेजोको बिमारीले भरखरैमात्र मरेको रहेछ । छोरो बिरामी परेको थाहा पाइसकेपछि पनि नातिको आकाङ्क्षाले दुई वर्षअघि उनीहरूले बुहारी भित्र्याएका रहेछन्, तर उनीहरूको इच्छा दैवलाई मन्जुर भएन । अहिले युवती विधवा बुहारीको भविष्यको चिन्ताले समेत उनीहरूलाई गालेको रहेछ ।
तराईवासी मधिसे समुदायका सरयुगको परिवारमा उनीहरूको आफ्नो संस्कारका साथसाथै आभासको राणाखानदानको संस्कारको पनि मिसावट भएको रहेछ । “राजालाई गुन्द्रुक मीठो लाग्ने भएकाले यो ग्न्द्रुक रामप्रतापकी आमाले आफैँ बनाएकी हो हजुर !” सरयुगले बेलुकीको खानपिनका बेला भनेका थिए । “खूवै मीठो पनि छ; काकीलाई भोलि बिहानको खानामा तामाबोडी पकाउन भन्नुस् है सरयुगकाका ?” गुन्द्रुक र भातको स्वाद लिँदै आभासले भनेको थियो । “बुझ्यौ नीला, मम्मीहजुर स्वर्गे भएपछि मलाई मीठो लाग्ने खानेकुरा यहाँ सरयुगकाकीले मात्रै खुवाउनु हुन्छ ।” आभासले सरयुगको अनुहारमा हेर्दै भनेको थियो । “हजुर, अब यो संसारमा हाम्रो पनि राजाबाहेक को छ र ? आज राजा सवारी भएकाले मात्रै रामप्रतापकी आमा कति दिनपछि भान्साघरमा आएकी हो । नत्र भान्सामा बुहारीले जे बनाई त्यही हो । हाम्रो स्वादको मीठो सबै रामप्रतापले लिएर गइहाल्यो ।” बोल्दाबोल्दै सरयुगको गह भरिएर आएको थियो । “राजा ! यो हजुरलाई मीठो लाग्ने कुखुराको भित्र्याँस ।” त्यसै बेला रामप्रतापकी आमा खानेकुरा लिएर आएकी थिइन् । “काकी पेट भरिइसक्यो, अझै खानेकुरा ल्याउँदै हुनुहुन्छ ।” आभासले खुसी हुँदै भनेको थियो । हुन पनि खाना अत्यन्तै सुरुचिपूर्ण र सुस्वादु थियो । नीलालाई पनि निकै लामो समयपछि यति स्वादिलो खाना खाएको अनुभूति भएको थियो । उनीहरूको खानपिन सरयुगकै घरमा भए पनि सुत्न उनीहरू
आफ्नै निवासमा पुगेका थिए । सरयुगको घरबाट पैदल हिँड्दा मुस्किलले पाँच मिनेटको फरकमा आभासको घर थियो । मान्छे नबसेको त्यो घर पनि सफा सुग्घर र झकिझकाउ थियो । बगैँचामा पनि मौसमअनुसारका फूलहरू फुलिरहेका थिए । बिजुलीबत्तीको उज्यालोमा बगैँचाको रौनकले घरलाई थप आकर्षक बनाएको देखिन्थ्यो । राम्ररी हेरविचार गरिदिने मानिस भएमा मानिस नै नबसेको घर पनि राम्रो हुँदोरहेछ जस्तो लाग्यो नीलालाई ।
घरबाहिर मात्रै नभएर घरभित्र पनि एकदमै सफासुग्घर, सजिसजाउ र व्यवस्थित देख्दा नीलालाई अचम्म पनि लागेको थियो । आभासको काठमाडौँ विशालनगरस्थित निवास र यहाँको निवासमा एउटा कुराको चाहिँ गजब समानता थियो । यहाँ पनि तँछाड र मछाड गरिरहेका मूर्ति र पेन्टिङहरू देखिन्थे । आभासले भनेजस्तै अझ काठमाडौँमा भन्दा धेरै कलाकृति यहीँ थिए । सरयुगकाका उनीहरूलाई प्रुयाएर फर्किसकेका थिए । नीला छक्क परेर मूर्ति र पेन्टिङका डङ्गुर हेरिरहेकी थिई । “बुवाहजुर धेरैजसो यसै घरमा राज हुन्थ्यो । विशालनगरमा त्यति मनपराइबक्सन्न थियो । मलाई पनि सानो छँदा काठमाडौँ पटक्कै मन पर्दैनथ्यो । ठूलो स्कुलमा पढाउनका लागि मम्मीहजुर मलाई लिएर काठमाडौँमै राज भयो । अहिले मलाई खाना पकाएर खुवाउने दलबहादुर दाइले त्यस बेला बुवाहजुरको खानपिन हेर्थे । मम्मीहजुर मलाई होस्टलमा राख्न मन नपराउने, बुवाहजुरलाई काठमाडौँ बस्न मनै नपर्ने र मेरो शिक्षाका लागि यहाँ राम्रो स्कुल नभएका कारण बुवाहजुर र मम्मीहजुर धेरैजसो अलगअलग्गै बस्नुहुन्थ्यो ।” आभासले आफ्नो विगत नीलाका सामु उघार्न खोजेको थियो । “यहाँ यस्तो रमाइलो रहेछ । तिमी किन काठमाडौँ बसिरहेको होला ?” नीलाले आभासका अनुहारमा हेर्दै भनेकी थिई । “अँ ऽऽऽऽ हेर न केटाकेटीमा यहाँ एकदमै रमाइलो लाग्थ्यो । हिजोआज यसो कहिलेकाहीँ भनेको भिन्नै हो; यहीँ बस्न त मनै लाग्दैन । काठमाडौँकै बसाइको बानी परेछ । अनि के त रानी अब यतै बस्ने त ?”
कुराकानी गर्दागर्दै उनीहरू सुत्नेकोठाको ढोकामा पुगिसकेका थिए । “तिमी बसे त म बसिहाल्छु नि ! मलाई त सारै रमाइलो लाग्यो ।” नीलाले सुत्ने कोठाभित्र प्रवेश गरेर भनेकी थिई । “तिमी जहाँ म त्यहीँ, तिमी नभएपछि जस्तै रमाइलो ठाउँ पनि नरमाइलो हुन्छ ।” आभासले सुत्ने कोठामा भएको भव्य एवम् विशाल पलङमा नीलालाई लडाएर म्वाइँ खाँदै भनेको थियो । आभासको स्पर्शले रोमाञ्चित भएकी नीलाले केहीअघि मात्रै आभासको यति विघ्न सम्पन्नताका अघि आफू आर्थिक रूपले पुड्को भएको अनुभूति पनि यस बेला बिर्सेकी थिई ।
“रूपाले यो घर सारै मन पराएकी थिई; काठमाडौँमा छोराछोरीको स्कुल बिदा हुनासाथ ऊ यता आउन कर गर्थी ।” नीलालाई अँगालोमा बाँधीबाँधी आभासले भनेको थियो । प्रेमपरिणयको संसारमा प्रवेश गर्न लागेकी नीलालाई यस्तो रमाइलो क्षणमा आभासले यसरी रूपाको कुरो उप्काएर वातावरण नै चिस्याएको अनुभूति भएको थियो । “यस्तो ठाउँमा यस्तो राम्रो घर । बगैँचा कसलाई पो नराम्रो लाग्ला र !” रूपालाई सामान्यीकरण गरेर भए पनि नीलाले आफ्नो मनको तुस फाल्न खोजेकी थिई ।
त्यसपछि यात्राको थकाइसमेतले गर्दा सुन्दर बिछ्यौना देख्नासाथ नीलाका आँखालाई निद्राले छोप्न खोजेको थियो । हतारहतार शौचालय पसेर मुक्त भएपछि नीला रात्रिपोसाक पहिरिएर बिछ्यौनामा सुती आँखा चिम्लिएर दिनभरिको थकाइ मार्न खोज्दै थिई । त्यसै बेला भरखरै मात्र बिछ्यौनामा आइपुगेको आभासले नीलाका नजिकमा आएर आफ्नो दाहिने हातको चोर औँलाले नीलाका ओठमा घर्षण गरेको थियो । तर नीलाले आँखा नखोलेर निदाएकै अभिनय गरिरही । त्यसो त नीलाको निद्रा आभासको स्पर्शले कता हो कता भागेको थियो । केहीछिनअघि मात्रै निद्रा र थकाइले गलेको नीलाको शरीर आभासको स्पर्शले तरोताजा भएर शरीरभरि स्फूर्ति पनि सञ्चार भइसकेको थियो । भित्रभित्रै काउकुतिएकी नीलाले आँखा चिम्लीचिम्ली आफ्ना ओठमा मुस्कान छरेकी थिई । बिस्तारै आँखा खोलेकी नीलाले आफूलाई नै एकटकसँग हेरिरहेका आभासका एकजोडी आँखालाई पनि झट्टपट्ट आफ्नै आँखामा कैद गरेकी थिई ।
त्यसपछि नवीन परिवेशमा पूर्वमिठासको पुनरावृत्तिको समय उनीहरूमाझ निर्विघ्न बितेको थियो । “आहा जीवन कति रमाइलो हुँदो रहेछ ! सुख यसरी मानिसका रौँका त्यान्द्रात्यान्द्रामा पनि सञ्चारित हुन सक्तो रहेछ ।” त्यस रात आभासको अँगालोमा निदाउनुअघि नीला यस्तै अनुभूतिहरूले खचाखच भरिएकी थिई ।