सन्दर्भ : उसको लोग्ने र बिरालो
(लेखकीय)
आफू यस धर्तीमा उपस्थित भएको झन्नै आधा शताब्दी पुग्नै लागेको यस घडीमा मैले चौथाइ शताब्दीको दाम्पत्यअनुभव पनि सँगालिसकेकी छु । यसै अनुभवका आधारमा मलाई लाग्छ मानिस स्वयंमा अर्धनारीश्वर हुँदाहुँदै पनि प्रकृति र पुरुषको समागमबिनाको मानवजीवन अधुरो हुन्छ । अनि अनुभवकै कथा भन्ने हो भने अबको युगमा संसारको सबैभन्दा जटिलतम काम भनेकै दाम्पत्यजीवनको चिरस्थायित्व हो जस्तो मलाई लागेको छ । त्यसो त आज मैले लेख्न लागेको विषय मेरै लागि पनि नवीनतम छ । म आफू मानवतावादको हिमायती भएका कारण मैले पुरुषवाद, नारीवाद वा अन्य जातीय र साम्प्रदायिक वादका कुराहरूलाई हेय दृष्टिले हेर्दै आएकी हुँ । अर्थात् आजभन्दा पहिले मैले नारीवादी भएर खासै कलम समातेकी थिइनँ । विगतका ती घडीहरूमा भविष्यको कुनै कालखण्डमा मेरो कलमले पनि कट्टर नारीवादी कुरा लेख्न अग्रसर हुनेछ भन्ने कुरो मेरो कल्पनामा पनि थिएन । यी जाग्रत् अवस्थाका कुरा थिए तर अहिले लाग्छ आफ्नै सुषुप्त मनस्थितिसँग मेरै परिचय रहेनछ ! अहिले मलाई लागिरहेछ आफू र आफ्नो वातावरणका नारीहरू फगत् नारी हुनुको पीडाले आहत हुने गरेका सत्य प्रसङ्गप्रति मेरो चेतना अभिमुख हुँदा मेरो सुषुप्तावस्था जागेको हुनुपर्छ । त्यसैले यस बेला मैले नारीवादको आवाजसँग आफ्नो आवाज मिसाउनामा नै आफू नारी हुनुको धर्मबोध गरेकी छु ।
म भन्न सक्तिनँ; मातृसत्तात्मक युगमा दाम्पत्यजीवन कायम राख्नका लागि पुरुषहरूले केकति मानसिक र शारीरिक यन्त्रणाहरू भोग्नुपरेको थियो । यस जगत्मा मेरो प्रवेशको अवधि प्रबल पितृसत्तात्मक थियो । त्यसैले मैले बाल्यकालमै आफ्नी आमाको मुखबाट पितृसत्ताका अधीनमा क्रूरतापूर्ण जीवन बाँचेका मेरै हजुरआमा, जिजुआमाहरूका कथा सुनिसकेकी थिएँ । त्यसै गरी मेरै पितामा रहेको पितृसत्तात्मकताको दारुण छायांशद्वारा मेरी आमामाथिको आंशिक दासत्वले समेत ममा पितृसत्ताप्रतिको विद्वेष पैदा गराउनमा सघाउ प्रुयाएको हुनुपर्छ । आमाले आफूले भोगेका जीवनका कथा सुनाएका बेला म आक्रोशित पनि हुने गर्थें “तपाईं कसरी सहनुहुन्थ्यो आमा ! तपाईंले किन विद्रोह गर्नुभएन ?” म प्रश्न गर्थें । “हामी तिमीहरूजस्तो सक्षम थिएनौँ; सहनु र सहन नसके मर्नुबाहेकको विकल्प हामीसँग थिएन” मेरी आमाको जवाफ हुने गर्थ्यो ।
बाल्यकालदेखि यौवनावस्थामा पुगुन्जेलसम्ममा म पितृसत्ताको दासत्वप्रति आन्तरिक रूपले विद्रोही भइसकेकी रहेछु, तर यति हुँदाहुँदै पनि पुरुषप्रतिको प्राकृतिक आकर्षणबाट मुक्त हुने मेरो सामर्थ्य भएन र म फेरि दाम्पत्य नै वरण गर्न पुगेँ । वास्तवमा सबैभन्दा कठिन परिस्थितिको सिर्जना त्यस बेला हुँदो रहेछ जब मानिस बाहिर देखिँदा एक किसिमको र भित्र अर्कै किसिमको हुँदोरहेछ । अर्थात् दोहोरो मानसिकतामा बाँच्ने मानिसलाई जीवन कष्टकर हुनु स्वाभाविक पनि रहेछ । पितृसत्ताप्रति अन्तर्हृदयबाट वितृष्णा बोक्ने नारीहरूले पुरुषसँग नै विवाह गरेपछि भोग्नुपर्ने मानसिक कष्टको अनुभव मैले पनि सङ्ग्रहित गर्नुपरेको छ ।
पितृसत्तामा दाम्पत्यको जुन चिरस्थायित्वको उदाहरण पेस गरिन्छ त्यो क्रूरताको शासनमा टिकेको हो । मलाई लाग्छ; मातृसत्तामा पनि दाम्पत्यको आयु लामै थियो होला ? किनभने सत्ता भएपछि एउटा शासक र अर्को शासित हुने गर्छ । शासकको शासकत्वका कारण शासित वर्ग अधीनस्थ रहने गर्छ । स्वाभाविक रूपले शासक शक्तिशाली हुन्छ भने शासित निरीह हुन्छ । शासकलाई निरीहमाथि शासन गर्न सजिलो हुन्छ । त्यहाँ निरीहहरूका विद्रोहका मसिना स्वर सुनिए पनि युद्धको सम्भावना भने क्षीण रहन्छ । शक्तिशालीले निरीहमाथि शासन गरेकाले पनि दाम्पत्य जीवनको चिरस्थायित्वको गौरवगाथा गाउन सकिन्थ्यो । यसै कारणले पनि त्यस कालमा परिवार बलियो भएको सत्यलाई स्वीकार गर्नै पर्छ ।
शासनको अर्थ र औचित्य नै गलत हो भन्नु पनि मेरो मान्यता होइन । जसरी जीवन र जगत्कै सुसञ्चालनमा अनुशासनको अपरिहार्यता छ त्यसरी नै सुशासनको पनि औचित्य र महत्वलाई नकार्न सकिँदैन । तर शासनका नाउँमा हुने क्रूरता वा बर्बरताप्रति म विद्वेषित छु । मातृसत्ताको पतनको कारण पनि अनुशासनहीनता नै हो भने पितृसत्ताको अधोगतिको कारण पनि पुरुषद्वारा नारीमाथि गरिने क्रूर र बर्बर व्यवहार नै हुनेछ । त्यसै गरी पितृसत्ताद्वारा प्रतिपादित पुराना ढुसी परेका मूल्य र मान्यतालाई आदर्शको सीमा मानेर नारी भएर जन्मनुकै कारण दोस्रो दर्जाको नागरिक हुनुको पीडा भोग्नुपर्ने बाध्यता मलाई स्वीकार्य छैन । एउटा बेइमान पुरुष ऊ पुरुष हुनाकै कारण सामाजिक दृष्टिमा उसका बेइमानी पनि क्षम्य हुन्छन् । तर एउटी नारीले भने ऊ नारी भएर जन्मनाका कारण उसको इमानदारीलाई पनि दण्डित गरिने पितृसत्तात्मक उपजबाट म स्वयं पनि प्रताडित भएकाले मैले यस सन्दर्भको कटु अनुभव पनि सँगाल्नुपरेको छ ।
एउटै गर्भबाट उत्तिकै कष्ट खपेर जन्माइएका दुई सन्तानमध्ये एउटाले स्त्री जात हुनु परेकाले अवमूल्यित हुनुभन्दा ठूलो असमान व्यवहार के होला ? आफ्नै जननीले पितृसत्तारूपी लागूपदार्थको नसामा परेर आफ्नै रगतको सिर्जना छोरी जातलाई असमान व्यवहार गर्नु नारी जातिका लागि कठोर यन्त्रणा हो । यस्ता यन्त्रणाको भुक्तभोगी बेलाकुबेला मैले पनि हुनुपरेको छ । हरेक दृष्टिले आफ्नो सहकर्मी पुरुषबराबर मात्र नभएर अझ दक्षसमेत हुँदाहुँदै पनि आइमाई भएकै कारणले दोस्रो दर्जामा परेको पीडा मैले पनि भोगेकी छु । यसरी आफू पीडाको गर्तमा डुबेका बेला मैले आफूभन्दा अघिल्लाअघिल्ला पुस्ताका नारीहरूले नारी हुनाका कारण भोग्नुपरेका दारुण यन्त्रणाको कल्पना गर्दै बेलाकुबेला आफूले भोग्नुपरेका पीडाबाट राहत लिने गरेकी छु ।
समयको ठूलो विशेषता नै यसको परिवर्तनशीलता हो । यसै परिवर्तनको प्रतिफलस्वरूप शिक्षा र चेतनाका कारण निरीह नारी सक्षम हुँदै जाँदा पुरुषशासकका शासनमा शोषित भएर बस्ने अवस्था नरहनु पनि स्वाभाविक हो । हिजो अज्ञानता अर्थात् पशुसरहको जीवनयापनका क्रममा व्यतीत जीवनशैली आजको नारीचेतनाले किमार्थ स्वीकार गर्न सक्तैन । बरु अब बिस्तारै नारीले आफू स्वयं शासकको कुर्सीमा बस्ने आकाङ्क्षा राख्नु अनौठो पनि होइन । जसले गर्दा परम्परागत रूपमा शासन गर्दै आएका पुरुषवर्ग आफ्नो समकक्षमा बस्न हिम्मत गर्ने अथवा आफूमाथि शासन गर्न उद्यत नारीवर्गप्रति द्वन्द्वित हुनु पनि अनौठो भएन । मलाई यो पनि थाहा भएन; मातृसत्तापछि सहजै पितृसत्ता आयो अथवा यसरी सत्तापरिवर्तनका क्रममा ठूलै र लामै सङ्घर्ष भएको थियो । तर अहिले पितृसत्तासँग मातृसत्ताको द्वन्द्वको युग बितिरहेको मैले अनुभूत गरिरहेकी छु । हुन त एउटा वर्ग शासक र अर्को वर्ग शासित भएपछि स्वतः अर्को सत्ताको प्रारम्भ हुन्छ । यस अर्थमा मूल्य र मान्यताहरूको परिवर्तनको यो समय दाम्पत्यसम्बन्धका लागि दुरुह भएको छ । खासमा यस बेला हामी नारीपुरुषसम्बन्धको सङ्क्रमणकाल भोगिरहेका छौँ । त्यसैले मलाई लाग्छ स्त्रीपुरुष दाम्पत्यसम्बन्धका लागि यो युग कठिनतम युग हो ।
आफू मानव भएर जन्मन पाउनुको अनन्त गौरवमा गौरवान्वित हुँदै र नारी हुनाको शतत आनन्दमा रमेका बेला पितृसत्तात्मक प्रताडनास्वरूप आइमाई हुनुपरेको केही पीडा मैले पनि भोग्दै आएकी छु । यस्तो बेला आफूले सँगालेका अनन्त र शतत गौरव तथा आनन्दले केही पीडालाई जित्नुपर्ने हो तर त्यसो हुँदैन । सायद शासित भएर रहनुपरेको आत्महीनताले ममाथि शिर उठाएर पनि होला केही पीडाले गौरव र आनन्दलाई पराजित गरिदिन्छ र म आइमाई हुनुको पीडामै रन्थनिने गर्छु । हुन त पितृसत्ताको आयु लम्बिनुमा शासित भएर रमाउने आइमाईकै हूल नै प्रमुख कारक हो । हुन पनि सङ्ख्यात्मक रूपले हेर्ने हो भने अहिले पनि शासित हुनमा रमाउने आइमाईकै बाहुल्य रहेको छ । आफ्नो स्वत्व र स्वाभिमानसँग कुनै सरोकार नभएका पशुतुल्य खान र बाँच्नमै रमाउने आदत भएका ती समूह जिम्मेवारीविहीन निर्धो हुनुको आनन्दमा नै जीवन बिताइरहेछन् । पुरुषहरूद्वारा नारीमाथि शोषण हुनाका प्रमुख कारक तत्व नै यस्ता नारीहरू हुन् । खास अर्थमा नारी अस्तित्व प्रवर्द्धनका खतरनाक अवरोध भनेका पुरुष मात्र नभएर त्यस्ता प्रवृत्तिका नारीहरूसमेत हुन् ।
त्यसो त शासनका राम्रा पक्षहरू भएको कुरा पनि नकार्न सकिँदैन । संरक्षकत्व प्रदान गर्ने शासनलाई अस्वीकार गर्न पनि सकिँदैन । तर महिलामाथिको पुरुषशासन थोरैजसो संरक्षणतर्फ र धेरैजसो शोषणतर्फ उन्मुख रहेको पाइन्छ । मनोरञ्जन र श्रम प्राप्त गर्ने साधनका रूपमा पुरुषका लागि महिलाको धेरैजसो भूमिका हुने गरेको छ । उनीहरूको आफ्नो यही भूमिकामा अधिकांश महिलाहरू रमाउने गरेको पनि पाइन्छ । आफ्नो स्वत्वसँग परिचय नै नभएका त्यस्ता महिलाहरू पनि यसै युगमा रमाएर बाँचिरहेको देखिन्छ । एउटा पुरुषसँग दुई नारीले एकैपटक बिहा गरेर नारीअस्मितामाथि कलङ्क लगाउने नारी पनि एक्काईसौँ शताब्दीमा समेत भेटिएका छन् । आर्थिक दासत्वका कारण बाध्य भएर सौता स्वीकार्ने नारीलाई निरीह भन्न सकिन्छ तर सौता खेप्दा आफूले पनि गौरव गर्ने र अरू आइमाईले पनि त्यस्तै व्यवहार खेप्नुपर्छ भन्नुचाहिँ विडम्बना हो ।
‘विवाहित स्वास्नीमान्छे उसको लोग्नेकी रन्डी हो’ भन्ने जर्ज बर्नार्डशाको भनाइसँगसँगै तसलिमा नसरिनको स्वीकृतिसँग असहमत हुन पनि सकिन्न । वास्तवमा वैवाहिक जीवनले पुरुषलाई एउटी आइमाई भोग्ने वैधता प्रदान गर्छ । त्यसो त वैवाहिक पद्धतिद्वारा नारीका लागि पुरुष पनि यौनसाथीका रूपमा सामाजिक स्वीकृति प्रदान गरिएको हो । तर कति आफ्नै आत्महीनताका कारणले र कतिचाहिँ पितृसत्ताको प्रकोपका कारणले पनि अधिकांश विवाहित नारीले समेत यौनकुण्ठा भोगेका दृष्टान्त पाइन्छन् । आइमाई लोग्नेमानिसका लागि भोग्या ठहर गरिएका छन् तर पुरुष आइमाईका लागि भोग्य भनिँदैनन् । दुवै एकअर्काका लागि हुनुपर्नेमा पितृसत्ताले नारीसमर्पण र त्यागको थोत्रो महिमा गानमा नारी जातिलाई भुलाएको छ । दुःख, कष्ट, वेदना र अप्राप्तिका आगोमा जल्नु नारीको महानता हो भन्ने कथाको नसामा नारीलाई लठ्याउने काम पितृसत्ताले गर्दै आएको छ । आफ्ना आवश्यकता, अधिकार र आकाङ्क्षाको माग गर्ने आइमाई पितृसत्ताद्वारा निर्माण गरिएको समाजका लागि बाइफाले, दुश्चरित्रा र कलङ्कित हुन्छे । आफ्ना सम्पूर्ण इच्छा र आकाङ्क्षाहरूलाई दमन गरेर कुण्ठित भएपछि मानसिक र शारीरिक रोगले निरीह भएर जीवन बिताउने नारीलाई महान् र सम्पूज्य ठहर गर्दै पितृसत्ता आफ्नो शासनको जरो दह्रो पार्ने क्रममा यस्ता नारी अनुयायीहरूकै शीर्षस्थ भएर बसेको छ ।
नारीपुरुष एकअर्काका आवश्यकता हुन्, यी दुवैको समागमले नै मानवको अस्तित्व अक्षुण्ण रहन सक्छ । यी ध्रुवसत्य कुरा हुन् । त्यसैले दुवैले एकअर्काको सम्मान गर्न सक्नुपर्छ । पुरुष र स्त्रीको एक जोडीबाट उनीहरूको संसार निर्माण गर्न सकिने प्राकृतिक एवम् प्राग्नियम भएकै कारणले होला पुरुष र स्त्रीका आआफ्ना किसिमका महत्ता छन् । प्रकृतिपरक रूपमा स्त्री पुरुष हुन सक्तिन र पुरुष पनि स्त्री हुन सक्तैन । यस अर्थमा दुवैले एकअर्काको अस्तित्वको कदर गर्नुपर्छ । अहिले पनि पुरुष हुनुको दम्भ बोकेर कतिपय पुरुष नारीलाई हेय दृष्टिले हेर्छन् । त्यसै गरी शक्तिशाली नारीका ओतमा पुरुषको अस्तित्व निरीह देखा नपरेको पनि होइन । मलाई यी दुवै कुरा बेठीक लाग्छन् । म सहअस्तित्व र समानताप्रति आस्थावान् छु ।
●
मलाई थाहा छैन समाजमा प्रत्यारोपित पारम्परिक भनिने मूल्य र मान्यताको जरो कति बलियो छ । मैले उल्लेख गरिसकेँ; नारीवादी आन्दोलनको नाराजुलुसमा म कहिल्यै सहभागी भएकी छैन । नारीवादी भनिने कुरामा मलाई हीनताबोधसमेत हुने गर्थ्यो । तर समयको परिवर्तन र जीवनका अनेकौँ अनुभवहरूको सङ्कलनपछि मैले नारीवादी आन्दोलनका समर्थनमा केही लेख्नु आफू नारी हुनुकै औचित्य ठहर गरेँ । आफूलाई फगत् नारीवादको सीमारेखामा बाँध्न नचाहेर आफूलाई मानवतावादी भन्न रुचाउने मैले मानवताको शिखर टेक्ने क्रममा नारीवादी भ्रयाङको खुडकिलो टेक्नैपर्ने आवश्यकता महसुस गरेँ । मेरा यिनै दृष्टान्तहरूको उपजस्वरूप मैले मेरो यो उसको लोग्ने र बिरालोको सिर्जना गरेकी हुँ ।
मैले माथि उल्लेख गरेका कुरा मेरो यस उपन्यासका विषयवस्तु होइनन् । कति मान्छेहरू नातेदार नहुँदानहुँदै पनि नातेदारमा पर्छन् । माथिको पृष्ठभूमि र मेरो यो उपन्यासको झन्नैझन्नै त्यस्तै नाता छ । मेरो उपन्यासको विषयप्रसङ्ग अर्कै भए पनि मेरो यो उपन्यास उभिने धरातल भने माथि उल्लिखित कुराहरू नै हुन् भन्ने कुरामा कुनै शङ्का छैन । यस उपन्यासभित्रका कति कुरा म स्वयंले भोगेका सत्य हुन् भने कतिपय कुरा यसै विश्वका आधुनिक युगसँगसँगै बाच्नुपर्ने बाध्यता भोगिरहेका मानिसहरूकै कथाहरू हुन् । त्यसैले यस उपन्यासभित्र मैले केही आफ्नै कथा, केहीचाहिँ मैले देखेका र सुनेका कथा अनि केही केहीचाहिँ मेरा अनुभूतिमा सङ्ग्रहित विश्वपरिवेशका घटनाप्रतिघटनाहरू बुनेकी छु । पुरुष र स्त्रीको सामाजिक वैधताप्राप्त सम्बन्धलाई आजसम्म दाम्पत्यसम्बन्ध भनिँदै आएको छ । पति र पत्नीको सम्बन्धलाई दाम्पत्य भनिएको छ । पति भन्नाले मालिक अर्थात् शासकको अर्थ लाग्छ भने पत्नी भन्नाले पतिको अधीनस्थ भन्ने अर्थ पनि पति शब्दले नै बोध गराउँछ । यसै गरी प्राचीनकालमा पनि प्रचलित समलिङ्गीहरूको बढ्दो सङ्ख्या, सञ्चारद्वारा सङ्कुचित विश्वपरिवेश र थप युगीय जटिलताका कारण यसले अहिले बढी व्यापकता प्राप्त गर्दै आएको देखिन्छ । त्यसैले हिजोआजको नवीनतम संसारमा स्त्रीस्त्री र पुरुषपुरुषबीच विवाह गर्ने प्रचलन भएकाले यस परिप्रेक्ष्यमा दाम्पत्यको अर्थ लिङ्गभेद नभएर समलिङ्गीसमेत हुन पुगेको छ । अब दाम्पत्यसम्बन्ध भन्नाले समलिङ्गी विवाहलाई पनि स्वीकार गर्नुपर्ने बेला आइसकेको छ । विश्वका कतिपय मुलुकले समलिङ्गी विवाहलाई कानुनी मान्यतासमेत प्रदान गरेका छन् भने कतिपय मुलुकमा कानुनी मान्यताप्राप्तिका लागि समलिङ्गीहरूबाट सङ्घर्षसमेत भइरहेको छ । हाम्रै नेपालमा पनि समलिङ्गी विवाहका नमुना प्रस्तुत हुन थालेका समाचारहरू प्राप्त हुन लागेका छन् । मलाई लाग्छ स्त्री र पुरुषको एकअर्को लिङ्गप्रतिको विकर्षणकै कारण आज समलिङ्गी आकर्षण बढ्न थालेको हो । पुरुष र स्त्रीको आकर्षणलाई प्राकृतिक सम्बन्ध भनिन्छ भने समलिङ्गी आकर्षणलाई अप्राकृतिकताको परिभाषाले परिभाषित गरिएको पाइन्छ । मलाई लाग्छ पुरुषस्त्रीसम्बन्धको बढ्दो तनाव र विकर्षणका कारण विखण्डित यो सम्बन्धको प्रतिफल नै समलिङ्गी सम्बन्ध हो । बीसौँ शताब्दीको उत्तरार्धमा सुरु भएको समलिङ्गी विवाह द्रुततर गतिले फैलिँदो छ । भाडाका गर्भका कुराहरू, वीर्य बैङ्कका कुराहरू, लोग्ने स्वीकार नगरी सन्तान जन्माउने कुराहरू र हिजोआज मानव क्लोनिङका कुराहरूसमेत चर्चामा आएका छन् । संसारको प्राकृतिक विनाशकारितातर्फ लक्षित यस्तो कदमको बढ्दो प्रकोपले मानवजगत्मा निःसन्देह भयावहता ल्याएको छ । त्यसैले मानव जातिको भविष्य र वर्तमान अस्तित्वरक्षाका बारे पनि चिन्तित हुने समय आइसकेको छ । मानवको विकासशीलताले कतै मानवकै विनाश त गर्ने हैन ? आज चिन्तित छन् चेतनशीलहरू ।
आपसी प्रेमसम्बन्धलाई कायम राख्न सक्नु नै पुरुषस्त्रीका बीचको सम्बन्धको सफलता अथवा चिरस्थायित्वको कारण हो । मेरो यस उपन्यासको प्रमुख विषयवस्तु पनि फगत् स्त्रीपुरुषबीचको दिगो सम्बन्ध र उनीहरूबीचको प्रेमको निरन्तरताको समस्या नै हो । प्रेमको खोजीमा सुरु भएको उपन्यासको अन्त्य पनि प्रेमको अप्राप्तिमै टुङ्गिन्छ । पुरुषस्त्रीबीचको सम्बन्धलाई कायम राख्ने अथवा प्रगाढ पार्ने सन्दर्भमा प्रेमको भूमिका नै सर्वोपरि हुने कुरामा मेरो उपन्यास लक्षित रहेको छ, तर प्रेम के हो ? प्रश्नहरूबीच जेलिएको मेरो उपन्यासको कथावस्तु खासै निष्कर्षमा पनि पुग्न सकेको छैन । ठूलाठूला पण्डित, दार्शनिक र व्याख्याताहरूले परिभाषित गर्दा पनि ती परिभाषाभित्र ‘प्रेम’ अट्न सकेको छैन । त्यसैले मैले यस्तो निष्कर्ष निकाल्न पनि सकेकी छैन; किनभने मैले बुझ्न सक्ने विषयवस्तु नै भएन यो ।
लोग्ने र स्वास्नीबीचको सम्बन्धको तेजाव भनेको त्यहाँ आउने कुनै पनि तेस्रो अस्तित्व हो भन्ने कुरामा मेरो उपन्यासकारले निर्क्योल गर्न खोजेको छ । पुरुषले बाँडिएकी स्त्री रुचाउँदैन भने स्त्री पनि बाँडिएको पुरुषसँग समर्पित हुन सक्तिन । यस अर्थमा मेरो उपन्यासकी नायिका बेइमानीपूर्ण वा कुण्ठाग्रस्त दाम्पत्यसम्बन्धको साटो इमानदारीसाथ सग्लो अस्तित्ववरणतर्फ पलायन भएकी छ । भौतिक विकास र प्राप्तिको चरमबिन्दु टेकिसकेको मानव सभ्यता वर्तमानमा मानवीय मूल्यमान्यताको खोजीमा छ । आपसी सम्बन्ध कायम राख्ने क्रममा मान्छेका असफलताका कथाहरू यत्रतत्र सुनिन्छन् । अझ खास गरेर स्त्रीपुरुषभन्दा पनि पतिपत्नी हुनासाथ त्यो सम्बन्धको स्थायित्वबारे प्रश्नचिह्न बन्दै जानु पनि आजको युगको समस्या देखिएको छ । प्राकृतिक आकर्षण र प्राकृतिक आवश्यकताकै कारण एकअर्कासँग नजिकिने र हुरुक्क हुने यी दम्पतिहरू छोटै समयमा किन एकअर्कासँग विरक्त हुन्छन् ? अझ त्यो पनि युगल प्रेमपछि परिवर्तित दाम्पत्य सम्बन्धको चिरस्थायित्व हिजोआज शङ्कास्पद भएको छ । सुखद प्रेमको परिणाम दुखद हुनुले निश्चय नै प्रेमको सुखानुभूतिमा पनि प्रश्नचिह्न खडा गरेको छ । आखिर किन टुक्रिँदै छन् पारिवारिक सम्बन्धहरू ? किन वितृष्णाका भुमरीभित्र पर्दैछन् स्त्रीपुरुषसम्बन्धहरू ? मलाई लाग्छ अत्याधुनिक युगमा प्रवेश गरिसकेको मानवसभ्यताका लागि आज सबैभन्दा समाधान गर्न कठिन समस्या नै यही भएको छ ।
मानिसको मनका अजस्र बिन्दुहरू हुन्छन् । संसारको सबैभन्दा कठिन काम मानिसको पहिचान गर्नु अथवा उसका मनका बिन्दुहरू पहिल्याउनु हो । त्यही मानसिक बिन्दुमध्येको कुनै बिन्दुलाई पहिल्याउने प्रयास मैले यस उपन्यासमा गरेकी छु । त्यसो भनेर मैले कठिनतम मार्गको यात्रा गर्ने साहस गरेँ भन्न किमार्थ चाहेकी होइन । तर एउटा दुरुह मार्ग प्रवेशको आकाङ्क्षा भने मैले पक्कै गरेकी छु ।
प्रेमको मिठास कायम रहन नसके कुनै पनि सम्बन्ध खोस्टोसरह हुन्छ । प्रेम गरेर वैवाहिक जीवनमा प्रवेश गर्न चाहनेहरूले आपसी मूल्याङ्कन गर्नुपर्छ । वैवाहिक सम्बन्ध भत्कनु भनेको जीवनले ठूलै दुर्घटना भोग्नु हो । सम्बन्ध गाँसिइसकेपछि चुँडिनु भनेको पनि एउटा दुःखद घटना हो । त्यसैले सम्बन्ध गाँस्नुअघि त्यो सम्बन्धको निरन्तरताका विषयमा सोच्नुपर्दो रहेछ जस्तो मलाई लागेको छ । प्रेम गरेपछि चिरकालसम्म प्रेमकै अपेक्षा हुनु पनि गलत होइन । प्रेमले एकअर्काप्रति समर्पण खोज्छ । प्रेमको अमरता पनि आपसी समर्पणमा निर्भर गर्छ । हरेक प्रेम गर्ने जोडीले विवाह गर्नुअघि आपसी समर्पणको जाँच गर्नुपर्छ भन्ने मान्यतातिर मेरो ‘उसको लोग्ने र बिरालो’ उन्मुख भएको छ । मानवजीवनसँग गाँसिएको प्रेम र विवाहका साथै विवाहोत्तर सम्बन्धको दिगोपनको समस्यासँग सम्बन्धित ‘उसको लोग्ने र बिरालो’ आधुनिक युगका प्रकृति र पुरुषबीचको सम्पूर्ण कथा नभएर उनीहरूको सम्बन्धको एउटा सूक्ष्म झिल्को मात्र हो । मानव मनको जटिलता, मानव व्यवहारको परिवर्तनशीलता र मान्छे भएपछिका समस्यासँग सम्बन्धित ‘उसको लोग्ने र बिरालो’ पाठकहरूसमक्ष प्रस्तुत गर्न पाउँदा मैले आफूलाई हलुङ्गो महसुस गरेकी छु ।
खास गरेर प्रेमिल जोडीले यस उपन्यासमा प्रेमको अर्थ खोज्ने र विवाहित जोडीले आपसी समर्पणको मर्म खोज्ने प्रयास गरेको खण्डमा मेरो लेखनधर्म सार्थक हुने कुरामा म आशान्वित छु ।
● इन्दिरा प्रसाई